Sunday, July 21, 2013

ओपिडीमा विरामी रोईदिदा...

मर्जेन्सीमा विरामी, विरामीको आफन्त रोएको देखिनु सामान्य भए नि ओपिडीमा प्राय: यस्ता घटना देखिदैनन्। मानसिक रोगको ओपिडीमा कहिलेकाही डिप्रेसनका विरामी रुनुलाई छोड्ने हो भने प्रायओपिडीमा यस्तो दृश्य देखिदैनन्।

यस्ता दृश्यको एक दुई पटक प्रतक्ष्य दर्शी भएको छु। अस्ति भर्खरै हाडजोर्नीको ओपिडीमा एक जना महिला खुट्टा दुख्ने झमझमाउने भनेर आईन्, लामो समय देखीको समस्या, धेरै ठाउँमा देखाईसकेको, थरीथरी औषधी खाँदा नि खासै सुधार नभको रे। कसैले नशाको, कसैले हड्डीको, कसैले मानसिक रोग भन्दै औषधी दे'का थिए रे तैपनी ठीक भएन रे। मलाई चै उन्को कुरा सुन्दा मानसिक समस्या हुनसक्ने लागिर'को थियो। सुनेको भरमा कसरी लाग्नसक्छ भन्नु होला। खासमा विरामीका लक्षणको प्रकृति हेरेर त्यो अनुमान लगाउन सकिन्छ। प्राय: मा हुनसक्ने रोगको लिस्टमा शुरुमै मानसिक रोग राखिदैन, तर विरामीको समस्यालाई समेट्न सक्ने कुनै नि फिजिकल रोग नदेखिएमा, शारीरिक जाँच, ल्याब परिक्षणमा केही नि खराबी नदेखिएमा भने शंकाको सूई मानसिक रोग तिर मोडिन्छ।

ती महिलालाई नि मैले त्यही कुरा राखें। अनी उन्ले भनिन्मलाई एक दुई जना डाक्टरले नि त्यसै भन्थे औषधी नि दिएका थिए तर मैले त्यस्तो चिन्ता नै लिन्न, मलाई कसरी मानसिक रोग हुनसक्छ।“ मैले तिन्लाई भनें – “चिन्ताले मानसिक रोग गराउन, बढाउन सक्छ तर चिन्ता नभैकन मानसिक रोग हुनैसक्दैन भनेर सोच्नु गलत हो। जसरी चुरोट, रक्सीले रोग गराउछ, बढाउछ तर यस्को मतलव यो हैन कि त्यो खाने सबैलाई रोग लाग्छ नखाने सबै स्वस्थ हुन्छन्। त्यसरी सोच्नु गलत हुन्छ। अनी अर्को कुरा चिन्ता भन्ने लिन्छु भनेर लिने होइन, लिन्न भन्दा भन्दै नि आँफै आईदिन्छ। सकेसम्म आँफैले कन्ट्रोल गर्नसके राम्रो तर यदी त्यस्ले तपाईंको जीवनमै असर गरिर'को , तपाईंलाई अफ्ठ्यारो पुर्याइरको भने औषधी खानु ठीक हुन्छ।“

अनी मैले कुराकानीकै क्रममा उन्को दैनिक जीवनका अन्य कुराहरु, घरपरिवारको सहयोग, असहयोगका कुरा खोतल्न थालेँ। त्यस्पछी विस्तारै उन्को मनका चिन्ताहरु खुल्न थाल्यो। श्रीमानको राम्रो सपोर्ट भए नि सासु, ससुराले चैऔषधी, उपचारमा जत्ती खर्च गरेनी ठीक नहुने कस्तो रोग लागेको हो तलाई” भनेर नराम्रो लाग्ने गरी भन्छन् रे। अनी उन्ले झन अर्को अचम्म लाग्ने कुरा भनिन्उन्ले चिनेको कसैको नि यस्तै हातखुट्टा दुख्ने रोगथ्यो रे, केइ होइन भन्दाभन्दै पछी क्यान्सर भएर मरे रे, मलाई नि त्यस्तै होला कि भन्ने डर लाग्छ, छोराछोरीको चिन्ता लाग्छ।“ यती भनिसक्दा उन्को आँखा रसाइसकेका थिए। अनी बोल्दाबोल्दै उन्को आँखाबाट आसुको धारा बग्यो, आसु पुछ्दै उनी आफ्ना कुरा भन्दै गईन्। मैले उन्को अनुहारमा हेरेर हातमा हल्का समातेरनरुनुस्, त्यस्तो ठुलो रोगको संकेत देखिदैन, तै नि तपाईंको श्रीमानको सहयोग छ, तपाईंले आफ्नो तर्फबाट गर्नुभा'छ, हामीले आफ्नो तर्फबाट गरेका छौ, चिन्ता नलिनु” भनेर भनें। 

उन्लाई मानसिक रोगको डक्टरलाई भेट्न मनाउन, मानसिक रोग हुनसक्छ भनेर सम्झाउन निकै गार्हो पर्‍यो। पछी उन्लाईएकपल्ट मानसिक रोगको डक्टरलाई भेटेर कुरा गरेर मात्रै आउनुस्, औषधी लेख्नुहोला खानैपर्छ भन्ने छैन, अनी फेरी यहाँ आउनुस् अनी कुरा गरौला” भनेर पठाएँ। त्यहा नि उन्को थप काउन्सेलिङ भएछ, फर्केर आउँदाऔषधी खान्छु” भनिन्। जानेबेलामातपाईंसँग यती कुरा भन्दा मलाई मनै हल्का भयो, मेरो कुरा सुनिदिनुभएकोमा धन्यवाद” भनिन्, मैले हल्का मुस्काएर टाउको हल्लाएँ मात्र। त्यतीबेलाको खुशी म वर्णन नै गर्नसक्दिन।  

हामी सबैलाई यत्तिकै सन्तुष्ट बनाएर पठाउन चाहन्छौ तर कहिले समयले दिदैन, कहिले हाम्रो आफ्नै लिमिटेसन हुन्छ, कहिले के हुन्छ। तर एउटा कुरा चै के हो भने विरामीलाई जती बढी टाइम दिन सकियो त्यती उनिहरुको समस्याको बारेमा थाहा हुन्छ, त्यस्को कारण पत्ता लाग्छ, रोग पत्ता लाग्छ। हामीलाई सोच्दा साधारण लागे पनि उनिहरुले त्यस्लाई कती पिडा दिईर'को हुन्छ भन्ने कुरा त्यस्पछी मात्र थाहा हुन्छ। मैले कती विरामी भेटेको छु यो पछी गएर क्यान्सर हुन्छ कि, फलानाको नि पहिले यस्तै पछी ख्याल नगर्दा क्यान्सर भएर, रोग बिग्रेर मर्यो, मलाई नि त्यस्तै डर लागेको भन्छन्। हामी कहिले समय अभावका कारण, कहिले समय दिने बानी नै नभएको कारणह्या, केइ हैन यो, धेरै चिन्ता नगर्नुस्” मात्र भनेर पठाइदिन्छौ, जानेबेलामा उनिहरुको आँखामा विश्वस्त नभएको, चिन्ता अझै बाँकी रहेको भाव मैले धेरै पटक देखेको छु। उनिहरु फर्केर कि अर्को डक्टरको मा जान्छन् कि त्यो शंका, पिडा बोकेरै, दबाएरै बस्छन्। 

त्यसैले नि मलाई जेनेरल प्राक्टिसको होलिस्टिक अप्रोच/Holistic approach मन पर्छ, अर्थात रोग वा अङको नभएर सिङो विरामीको उपचार गर्ने। प्राय: अन्य स्पेसलिस्टले भने आफ्नो भागको मात्र हेर्ने अनी अरु अङको सानो मात्रै समस्या भन्न खोजे भने नि यो रोगको डक्टरलाई गएर भेट्नुस्” भनिहाल्छन्। स्पेसलिस्ट केयर पाउने हिसाबले त्यो कुरा ठीक हो तर त्यसो हुँदा विरामी सिङो मान्छेबाट अङअङमा बाढिन्छ जस्तो लाग्छ। त्यो सबैलाई समेटेर, उस्लाई पूरा मान्छेको रुपमा बुझ्ने उपचार गर्ने डक्टर नि हुनुपर्छ, जुन एउटा फ्यामली फिजिसियन वा जेनेरल प्राक्टिसनर नै हुनसक्छ।

आफ्नो अगाडि कोही रोइदिदा नराम्रो कस्लाई लाग्दैन र। हामी डक्टरहरु नि मान्छे नै हौं के रे। उनी रुँदा मलाई नि नराम्रो लाग्यो नै तर केही खुशी नि थिएँ किनकी मान्छे जोसुकै को अगाडि हाँस्न सक्छ तर कसैको अघी रुनको लागी उस्ले रुने मान्छेको विश्वास जितेको हुनुपर्छ, उ अगाडिको मान्छेसँगकम्फर्टेबल’ हुनुपर्छ। मलाई आफुले  उन्को त्यो विश्वास जित्न सकेकोमा खुशी लागेको थ्यो, उन्को कुरा शेयर गर्न कम्फर्टेबल हुनसकेछु भन्नेमा गर्व लागेको थ्यो।

हाम्रो समाजमा धेरैलाई 'मानसिक रोग' भनेको पागल हुनु हो, दिमाग बिग्रनु हो भन्ने विश्वास छ। मानसिक रोग लाग्यो भन्नु ‘डेरोगेटरी/Derogatory’ शब्द जस्तै गरी लिन्छन्। यस्का बारेमा पछी लेखौला, अहिलेलाई चै विरामीसँग जती कुरा गर्‍यो, समय वितायो उनिहरुको समस्याको बारेमा, त्यस्को भित्री कारणको बारेमा अनी विरामी ‘एज अ पर्सन’को रुपमा नि चिन्न सकिन्छ र उपचारमा सजिलो हुन्छ भन्दै यो लेख यही टुङ्याउछु। 
बाँकी पढ्नुहोस् >>

Saturday, July 13, 2013

यही कुराको डर थियो, जुन अहिले भैरहेको छ।

यही कुराको डर थियो, जुन अहिले भैरहेको छ।

हुन त यो अगाडीदेखी भैरहेको कुरा हो, समाचारमा मात्रै नआ'को हो। अली अली पहिले नि हुन्थे तर अहिले बढेको चै 'रियाक्सनरी' व्यवहार हो। विरामी अस्पतालमा ठीक हुनैको लागि आउछन्, तर सबै विरामी ठीक पार्नसक्ने ग्यारेन्टी न कसैले दिन सक्छ र न कसैले सबैलाई ठीक पार्न नै सक्छ। त्यो असम्भव कुरा हो। विरामीको रोग अनुसार, अवस्था अनुसार उपलब्ध औषधी, प्रबिधी प्रयोग गरी सन्चो बनाउन सक्दो प्रयास गर्ने को चै बरु ग्यारेन्टी दिन सकिन्छ र दिनु पनि पर्छ। तर हिजो आज अस्पतालमा हुने हरेकजसो विरामीको मृत्‍युमा डक्टर र नर्सको लापर्वाही देख्ने र अस्पतालसँग क्षतिपूर्तीको लागि दवाव दिने नराम्रो चलन बसेको छ, त्यसैको प्रतीकृयात्मक व्यवहारमा यो देखिन थालेको हो।

कुरा एकदम सिधा छ, प्राइभेट नर्सिङ होम, अस्पतालहरु नाफाका हिसाबले खोलिएका हुन्, पैसा लिन्छन् अनी सेवा दिन्छन्। अनी त्यस्मा नि हिजोआज विरामीलाई केइ भैहाल्यो कि अस्पताल तोडफोड गर्ने, डक्टरको लापर्वाही देखीहाल्ने कुसंक्रितीका कारणले जो कोही नि सिकिस्त विरामी आफ्नो अस्पतालमा भर्ना गरेर रिस्क लिन चाहन्न। कस्लाई पो जानीजानी खतरा मोल्ने इक्षा हुन्छ र? त्यसैले त सानो भन्दा सानो समस्याको लागि नि विरामीहरु काठमान्डौ रिफर गरिन्छन्। विरामीलाई डक्टर र अस्पतालप्रती विश्वास छैन, डक्टरले नि रिस्क आफ्नो टाउकोमा किन लिओस्। साधारण ज्वरोका विरामी ३-४ दिन ठीक भएन भने काठमान्डौ दौडाइन्छन्, साधारण अप्रेसन नि “हैन राम्रो ठाउँमै लानुपर्छ, यहाँको त भरै छैन” भनी राजधानी कुदाइन्छन्। जस्तोसुकै सानो समस्याको लागि नि वरीष्ठ विशेषज्ञको खोजी हुन्छ। टाउको दुख्यो भने न्युरोलोजिस्ट, पिसाब पोल्यो युरोलोजिस्ट, छाती दुख्यो कार्डियोलोजिस्ट, खोकी लाग्यो पल्मोनोलोजिस्ट। अनी सानोसानो समस्यामा नि “के हो, के हो गरौ न” भनेर विरामीहरु नै ठुल्ठुला जाँचहरु गराउन प्रेसर दिन्छन्। टाउको दुख्यो सिटी स्क्यान, लड्यो कि एक्सरे, अझ थर्ड पार्टीले तिरिदिने एक्सिडेन्ट केस हुनुपर्छ, टाउको देखी खुट्टा सबैको एक्सरे, सिटी गराउछन् हिजोआज।

गल्ती दुबै पक्षको हो।

हामीले भरपर्दो विश्वासको बातावरण दिन सकेनौं, विरामी र सेवाग्राहीहरुले हामीलाई विश्वास गर्न सकेनन्। अवस्था अझै बिग्रिसकेको छैन। अस्पतालमा हुने हरेक जस्तो मृत्‍यु लापर्वाहीकै कारण हुँदैन। लापर्वाहीको शंका लाग्छ भने कानुनीरूपमा अघी बढ्नुपर्‍यो न कि तोडफोड गरेर क्षतिपूर्ती असुल्ने मात्रै। अनी आफ्नो, आफ्नो विरामीको रोगको बारेमा सक्दो जानकारी लिनुपर्‍यो, रोग ठ्याक्कै पत्ता नलागेपनी के को शंका गरेर, के ‘प्रोभिजनल डायग्नोसिस’ राखेर कस्तोकस्तो उपचार भैरहेको हो त्यो बुझ्नुपर्‍यो। अस्पताल भर्ना गरेको छ भन्दैमा सबै डक्टर, नर्सलाई छोड्न मिल्दैन। रोग, अवस्थाका बारेमा बुझेर केकस्ता उपचार उपलब्ध छन्, केके गर्न सकिन्छ डक्टरसँग खुलारूपमा सल्लाह गर्नुपर्छ। त्यस्तै डक्टरहरुले नि विरामीको रोग, अवस्थाका बारेमा सबै जानकारी दिनुपर्छ। अहिलेको अवस्था, हुनसक्ने कम्प्लिकेसन, चलिरहेको उपचार आदीको सक्दो जानकारी दिनुपर्छ। यि कुराहरु विरामी, उस्का परिवारले सोचेको जस्तो कम्प्लिट नहुन सक्छ, किनकी सबै ठाउँमा सबै खालका प्रविधी, जाँचहरु हुँदैनन्, सबै डक्टर सबै रोगको विशेषज्ञ नि हुँदैन, त्यसैले आफ्नो लिमिटेसन नि भन्न हिच्किचाउनु हुँदैन। विरामी पक्षले नि यस्लाई पोजिटिभ्ली लिनसक्नुपर्छ न कि अविश्वास बढाउनेरूपमा।

बेलैमा यसमा सबैको ध्यान गएन भने अवस्था झन विकराल हुनसक्छ। अनी विरामी र डक्टरले एक अर्कालाई विश्वासै नगर्ने, ठुला शहर बाहिर विरामिको उपचार गर्नै नसकिने, सानो भन्दा सानो समस्याको लागि नि राजधानी जाने र पठाउने, ठुला शहरका अस्पतालमा थाम्नै नसक्ने भिड लाग्ने अनी प्राइभेट अस्पतालहरुले सिकिस्त विरामी नलिने, अस्पताल् तोडफोड झन बढ्ने हुनसक्छ।


आशा छ, यस्तो बिषयमा यस्को दोष उस्को दोष भन्नु भन्दा नि हामी सबै विश्वासको बातावरण बनाउनको लागि आफ्नो तर्फबाट आजैबाट सक्दो प्रयास गर्नेछौं।
बाँकी पढ्नुहोस् >>

Monday, July 1, 2013

हेल्थ क्याम्प: अर्को अनुभव

हेल्थ क्याम्पहरुमा कथा सुन्नको लागि जान्छु, सबैको सबै त सुन्न भ्याउँदिन तर सकेको जती सुन्छु। ति मेरा लागि मौकाहरु हुन्, गाउँगाउँ भित्रका, अस्पताल पुग्न सकेका-नसकेका दुवै थरीकाहरुको कथा सुन्ने, हेर्ने मौका, उनिहरुको नाडी छाम्ने मौका। यस्पाली नि छोटो सुचनामा म देवघाट जानको लागि तयार भएँ। हिजोआज मलाई देवघाट भन्यो कि अमर न्यौपानेको ‘सेतो धर्ती’ याद आउछ, अनी त्यस्का बुढी आमाहरु। क्याम्पमा पनि मैले त्यस्तै बुढाबुढी आमाबुवाहरुसँग भेट होला भन्ने सोचेको थिएँ र भयो नि त्यस्तै। मलाई थाहा थियो वर्षौंदेखिका स्वास्थ्यका समस्याहरुका लागि यि एक दिने क्याम्पहरुले खासै केही गर्ने वाला छैन तैपनी ति बुढी आमाहरुको केही भने नि कथाव्यथा सुन्न पाउदा मलाई खुशी लाग्यो।

हाड-जोर्नीको ओपिडीमा बसेकोले सबका सब घुँडा र ढाँड दुख्ने समस्या लिएर आएका थिए। कसैको समस्या १० वर्ष, कसैको २० वर्ष पहिले देखिको। यती लामो समय देखिको समस्यामा मैले एक्छिन हेरेर केही ट्याब्लेट (सिटामोल र ब्रुफेन) बाँडेर के नै पो गुन लगाउन सक्थे र? त्यसैले म मैले दिने गोलीमा भन्दा नि मैले बोल्ने बोलीमा बढी ध्यान दिईरहेको थिएँ। ठुलो अस्पतालको ठुलो डक्टर आफ्नै नजिकै गाउँमा आफुहरुलाई जाँच्न आइपुगेको भन्ने थाहा पाएर त्यो भिड जम्मा भएको थियो रे। मलाई थाहा थियो हाम्रो लिमिटेसन, हामीले के गर्नसक्छौ र के सक्दैनौ भन्ने। तर उनिहरुको लागी उनिहरुको कुरा मात्रै सुन्दिए पनि, दुखेको ठाउँमा छोएर मात्रै जाँची दिएपनी, हात समातेर हाँसेर बोलिदिए मात्रै पनि पुग्थ्यो, अनी केइ ट्याब्लेट र तागत दिने भिटामिनको झोल दिए पुग्थ्यो।


एक जना आमा अर्की उनी भन्दा नि बुढीलाई देखाउदै भन्दैथिन् “यस्तो उमेरमा उन्को छोरा भनाउदाले यहाँ छोडेर गयो, हेर्ने स्याहार्ने कोही छैन, उ बेलामा उस्लाई स्याहारेको के सम्झन्थ्यो त, तपाइ चै आफ्नो आमालाई त्यस्तो नगर्नु होला है, पढेको भनेर के गर्ने आज भोली त पढेकै को बुद्धी हुँदैन।“ मैले टाउको हल्लाएर “हस्” मात्रै भनें। बुढाबुढीहरु पनि थरीथरीका थिए, खोइ चुपचाप आफूलाई परेको स्वास्थ्य समस्या मात्र भन्थे भने कोही छोडेर आएको घर परिवार देखी सबैका कुरा सुनाउथे, कोही आफ्नो नाम नबोलाएसम्म बाहिर कुरेर बस्थे भने कोही ढिलो भयो भनेर भित्रै हल्ला गर्न आइपुग्थे। दाँत नभएका थोते मुख तन्काएर चाउरी परेको अनुहार झन खुम्चाएर हासेको ति अनुहारहरु हेर्दा अर्कै खुशी लाग्थ्यो।


एक जना विरामी, शायद उनी चै आश्रमकी थिईनन् क्यारे, को समस्या सुनेर मलाई ‘मानसिक रोग’ जस्तो लागिर'को थियो अनी उनी आँफै पनि भन्दै थिईन “पहिले देखाउदा पनि डक्टरले मलाई त्यसो भनेको थियो तर मलाई मानसिक रोग हुनै सक्दैन, मैले त्यस्तो चिन्ता नै लिन्न, बरु मलाई नसा सम्बन्धी रोग चै हो जस्तो लाग्छ।“ मैले उन्लाई “मानसिक रोग चिन्ता गर्नेलाई मात्र हुने हैन, अरुलाई नि हुनसक्छ, अनी मानसिक रोग भन्दैमा सबै पागल, जे पायो त्यै गर्ने पनि हैन, यो विभिन्न थरीको हुन्छ, र हामी धेरैलाई “मानसिक रोग लाग्यो” भन्दा नराम्रो लाग्छ तर यो रोग पनि अरु रोग जस्तै औषधी गर्‍यो भने ठीक हुन्छ” भनी भनें। मैले उन्को कती चित्त बुझाउन सके थाहा छैन तर छेउछाउका बुढी आमाहरुले भने बुझेर हो कि के हो टाउको हल्लाए झै लागेको थियो।

हाम्रो समाजमा जे समस्या नि ‘कमजोरी’ले गर्दा होला भन्ने चलन छ अनी तागतको औषधी भिटामिन खाने। यो कहाँ कसरी शुरु भयो थाहा छैन तर जस्तै बुढाबुढीहरुलाई नि ‘भिटामिन’ भनेको चै थाहा हुन्छ है। ‘तपाईंलाई यो आवश्यक छैन’ भनेर बहस गर्नु भन्दा एउटा सिसी लेखिदियो, सित्तैमा तागतको औषधी दिए भनेर खुशी पनि हुन्थे। यस्ता केही अचम्मका विश्वासहरु हाम्रो समाजमा चली आएका वा चलाइएका छन्। जस्तो - गर्मी लाग्यो भने वा तातो शरीरकोलाई ‘सलाइन पानी’ चढायो भने ठन्डा हुन्छ र ठीक गर्छ, सलाइन पानीले गर्दा निमोनिया हुन्छ, एक्स-रे गर्‍यो भने भित्रको सब रोग छर्लङ हुन्छ, अझ भिडियो एक्स-रे गर्‍यो भने त झन जस्ताको तस्तै देखिन्छ, औषधीले जे पनि निको हुन्छ, एन्टीबायटिकले कमजोर बनाउछ अनी आयुर्बेदिकको साइड एफेक्ट हुँदैन, जन्डिसको लागि आयुर्बेदिक औषधी राम्रो हुन्छ, जहाँ जे दुखे नि नसाको समस्या हुनसक्छ, आदी आदी। यो लिस्ट लामो छ। यस्ता विश्वासहरु हामी स्वास्थ्यकर्मीहरुले रोग बुझाउदा, उपचार बारे सम्झाउदा गरेको काउन्सेलिङबाट जन्मेका कुराहरु हुन्। कती चै नबुझेका र अर्ध बुझेका स्वास्थ्यकर्मीहरुले थाहा भ'को भन्दा बढी बोलेर र कती चै बुझेका स्वास्थ्यकर्मीहरुले थाहा भ'को जती नि बुझाउन नसकेर र नखोजेर यस्ता भ्रमहरु शुरु भएका जस्तो लाग्छ। अनी कती चै विरामी र उन्का परिवारले भनिएको भन्दा बढी वा भन्दै नभनेको कुरा नि बुझेर नि हो। 


कतीका समस्याहरु चै त्यहाँ हेरेर मात्रै केही गर्न नसकिने खालका थिए, थप जाँच गर्नलाई अस्पताल जानै पर्ने थियो। तर त्यसो भन्दा 'हामीलाई कल्ले अस्पताल लान्छ र, हाम्रो लागि कल्ले खर्च गर्छ र बाबु' भन्ने जवाफ पाइयो। के भन्ने अनी। देशका यस्ता जेष्ठ नागरिकहरुको स्वास्थ्यको जिम्मा कस्ले लिने हो? सामान्यतया त परिवारले नै लिन्छ हाम्रो देशमा, तर परिवारबाट त्यागिएकाहरुको त कि समाज कि सरकारले त लिनुपर्‍यो नि। यस्तो बेलामा चै सरकारीरुपमा नै स्वास्थ्य विमा हुनुपर्छ भन्ने लाग्छ मलाई।


अन्तमा, यस्ता हेल्थ क्याम्पहरुले गाउँ गाउँका विरामीहरुलाई डक्टरहरुको केही मात्रामा भए नि सेवा पाउने मौका मिल्छ साथै यो मौकामा औषधी बाढ्ने र रिफरलमा आफ्नो अस्पताल तान्ने काम मात्र नगरि स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने, शिक्षा दिने काम पनि गर्नसके राम्रो हुन्छ भन्ने लाग्छ।
बाँकी पढ्नुहोस् >>