Monday, July 1, 2013

हेल्थ क्याम्प: अर्को अनुभव

हेल्थ क्याम्पहरुमा कथा सुन्नको लागि जान्छु, सबैको सबै त सुन्न भ्याउँदिन तर सकेको जती सुन्छु। ति मेरा लागि मौकाहरु हुन्, गाउँगाउँ भित्रका, अस्पताल पुग्न सकेका-नसकेका दुवै थरीकाहरुको कथा सुन्ने, हेर्ने मौका, उनिहरुको नाडी छाम्ने मौका। यस्पाली नि छोटो सुचनामा म देवघाट जानको लागि तयार भएँ। हिजोआज मलाई देवघाट भन्यो कि अमर न्यौपानेको ‘सेतो धर्ती’ याद आउछ, अनी त्यस्का बुढी आमाहरु। क्याम्पमा पनि मैले त्यस्तै बुढाबुढी आमाबुवाहरुसँग भेट होला भन्ने सोचेको थिएँ र भयो नि त्यस्तै। मलाई थाहा थियो वर्षौंदेखिका स्वास्थ्यका समस्याहरुका लागि यि एक दिने क्याम्पहरुले खासै केही गर्ने वाला छैन तैपनी ति बुढी आमाहरुको केही भने नि कथाव्यथा सुन्न पाउदा मलाई खुशी लाग्यो।

हाड-जोर्नीको ओपिडीमा बसेकोले सबका सब घुँडा र ढाँड दुख्ने समस्या लिएर आएका थिए। कसैको समस्या १० वर्ष, कसैको २० वर्ष पहिले देखिको। यती लामो समय देखिको समस्यामा मैले एक्छिन हेरेर केही ट्याब्लेट (सिटामोल र ब्रुफेन) बाँडेर के नै पो गुन लगाउन सक्थे र? त्यसैले म मैले दिने गोलीमा भन्दा नि मैले बोल्ने बोलीमा बढी ध्यान दिईरहेको थिएँ। ठुलो अस्पतालको ठुलो डक्टर आफ्नै नजिकै गाउँमा आफुहरुलाई जाँच्न आइपुगेको भन्ने थाहा पाएर त्यो भिड जम्मा भएको थियो रे। मलाई थाहा थियो हाम्रो लिमिटेसन, हामीले के गर्नसक्छौ र के सक्दैनौ भन्ने। तर उनिहरुको लागी उनिहरुको कुरा मात्रै सुन्दिए पनि, दुखेको ठाउँमा छोएर मात्रै जाँची दिएपनी, हात समातेर हाँसेर बोलिदिए मात्रै पनि पुग्थ्यो, अनी केइ ट्याब्लेट र तागत दिने भिटामिनको झोल दिए पुग्थ्यो।


एक जना आमा अर्की उनी भन्दा नि बुढीलाई देखाउदै भन्दैथिन् “यस्तो उमेरमा उन्को छोरा भनाउदाले यहाँ छोडेर गयो, हेर्ने स्याहार्ने कोही छैन, उ बेलामा उस्लाई स्याहारेको के सम्झन्थ्यो त, तपाइ चै आफ्नो आमालाई त्यस्तो नगर्नु होला है, पढेको भनेर के गर्ने आज भोली त पढेकै को बुद्धी हुँदैन।“ मैले टाउको हल्लाएर “हस्” मात्रै भनें। बुढाबुढीहरु पनि थरीथरीका थिए, खोइ चुपचाप आफूलाई परेको स्वास्थ्य समस्या मात्र भन्थे भने कोही छोडेर आएको घर परिवार देखी सबैका कुरा सुनाउथे, कोही आफ्नो नाम नबोलाएसम्म बाहिर कुरेर बस्थे भने कोही ढिलो भयो भनेर भित्रै हल्ला गर्न आइपुग्थे। दाँत नभएका थोते मुख तन्काएर चाउरी परेको अनुहार झन खुम्चाएर हासेको ति अनुहारहरु हेर्दा अर्कै खुशी लाग्थ्यो।


एक जना विरामी, शायद उनी चै आश्रमकी थिईनन् क्यारे, को समस्या सुनेर मलाई ‘मानसिक रोग’ जस्तो लागिर'को थियो अनी उनी आँफै पनि भन्दै थिईन “पहिले देखाउदा पनि डक्टरले मलाई त्यसो भनेको थियो तर मलाई मानसिक रोग हुनै सक्दैन, मैले त्यस्तो चिन्ता नै लिन्न, बरु मलाई नसा सम्बन्धी रोग चै हो जस्तो लाग्छ।“ मैले उन्लाई “मानसिक रोग चिन्ता गर्नेलाई मात्र हुने हैन, अरुलाई नि हुनसक्छ, अनी मानसिक रोग भन्दैमा सबै पागल, जे पायो त्यै गर्ने पनि हैन, यो विभिन्न थरीको हुन्छ, र हामी धेरैलाई “मानसिक रोग लाग्यो” भन्दा नराम्रो लाग्छ तर यो रोग पनि अरु रोग जस्तै औषधी गर्‍यो भने ठीक हुन्छ” भनी भनें। मैले उन्को कती चित्त बुझाउन सके थाहा छैन तर छेउछाउका बुढी आमाहरुले भने बुझेर हो कि के हो टाउको हल्लाए झै लागेको थियो।

हाम्रो समाजमा जे समस्या नि ‘कमजोरी’ले गर्दा होला भन्ने चलन छ अनी तागतको औषधी भिटामिन खाने। यो कहाँ कसरी शुरु भयो थाहा छैन तर जस्तै बुढाबुढीहरुलाई नि ‘भिटामिन’ भनेको चै थाहा हुन्छ है। ‘तपाईंलाई यो आवश्यक छैन’ भनेर बहस गर्नु भन्दा एउटा सिसी लेखिदियो, सित्तैमा तागतको औषधी दिए भनेर खुशी पनि हुन्थे। यस्ता केही अचम्मका विश्वासहरु हाम्रो समाजमा चली आएका वा चलाइएका छन्। जस्तो - गर्मी लाग्यो भने वा तातो शरीरकोलाई ‘सलाइन पानी’ चढायो भने ठन्डा हुन्छ र ठीक गर्छ, सलाइन पानीले गर्दा निमोनिया हुन्छ, एक्स-रे गर्‍यो भने भित्रको सब रोग छर्लङ हुन्छ, अझ भिडियो एक्स-रे गर्‍यो भने त झन जस्ताको तस्तै देखिन्छ, औषधीले जे पनि निको हुन्छ, एन्टीबायटिकले कमजोर बनाउछ अनी आयुर्बेदिकको साइड एफेक्ट हुँदैन, जन्डिसको लागि आयुर्बेदिक औषधी राम्रो हुन्छ, जहाँ जे दुखे नि नसाको समस्या हुनसक्छ, आदी आदी। यो लिस्ट लामो छ। यस्ता विश्वासहरु हामी स्वास्थ्यकर्मीहरुले रोग बुझाउदा, उपचार बारे सम्झाउदा गरेको काउन्सेलिङबाट जन्मेका कुराहरु हुन्। कती चै नबुझेका र अर्ध बुझेका स्वास्थ्यकर्मीहरुले थाहा भ'को भन्दा बढी बोलेर र कती चै बुझेका स्वास्थ्यकर्मीहरुले थाहा भ'को जती नि बुझाउन नसकेर र नखोजेर यस्ता भ्रमहरु शुरु भएका जस्तो लाग्छ। अनी कती चै विरामी र उन्का परिवारले भनिएको भन्दा बढी वा भन्दै नभनेको कुरा नि बुझेर नि हो। 


कतीका समस्याहरु चै त्यहाँ हेरेर मात्रै केही गर्न नसकिने खालका थिए, थप जाँच गर्नलाई अस्पताल जानै पर्ने थियो। तर त्यसो भन्दा 'हामीलाई कल्ले अस्पताल लान्छ र, हाम्रो लागि कल्ले खर्च गर्छ र बाबु' भन्ने जवाफ पाइयो। के भन्ने अनी। देशका यस्ता जेष्ठ नागरिकहरुको स्वास्थ्यको जिम्मा कस्ले लिने हो? सामान्यतया त परिवारले नै लिन्छ हाम्रो देशमा, तर परिवारबाट त्यागिएकाहरुको त कि समाज कि सरकारले त लिनुपर्‍यो नि। यस्तो बेलामा चै सरकारीरुपमा नै स्वास्थ्य विमा हुनुपर्छ भन्ने लाग्छ मलाई।


अन्तमा, यस्ता हेल्थ क्याम्पहरुले गाउँ गाउँका विरामीहरुलाई डक्टरहरुको केही मात्रामा भए नि सेवा पाउने मौका मिल्छ साथै यो मौकामा औषधी बाढ्ने र रिफरलमा आफ्नो अस्पताल तान्ने काम मात्र नगरि स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने, शिक्षा दिने काम पनि गर्नसके राम्रो हुन्छ भन्ने लाग्छ।

No comments:

Post a Comment