Thursday, August 29, 2013

मिठो झुट कि तितो सत्य: के चाहनुहुन्छ?

पोस्ट ड्युटीमा मज्जाले आराम गर्ने विचार 'थ्यो तर केही कुराले मलाई लेख्न वाध्य बनायो। म प्राय: कुनै कुरा (राम्रो होस् या नराम्रो)ले मन छोयो भने लेख्ने गर्छु। आज पनि अचानकै मैले आफुलाई लेख्न वाध्य भएको पाएँ।

आन्द्रामा प्वाल परेर दिसा पेट भरी फैलिएको अवस्था ‘पर्फोरेसन पेरिटोनाइटिस/ Perforation peritonitis’ भएको विरामी र आफन्तसँग कुरा गरेर हामीले अप्रेसन गर्नुपर्ने भनेर सम्झाएका थियौ। “अवस्था सिकिस्त रहेको, त्यसैले अप्रेसन गरेर विरामीलाई आइ सि यु राख्नुपर्ने हुनसक्ने, अवस्थामा अझै जटिलता आउनसक्ने तैपनी अहिलेको अवस्थामा अप्रेसनको विकल्प नरहेको र त्यो नगर्दा लगभग मृत्‍यु निस्चित रहेको र गरेमा सुधार हुनसक्ने सम्भावना रहेको” पनि भनेका थियौ। एक जना आफन्तले सोधे- "उहाको त चिनी रोग पनि छ अनी चिनी बढेको बेलामा त घाऊ निकै हुँदैन रे नि, अनी यस्तो बेलामा नि अप्रेसन गरेर घाऊ निको हुने ग्यारेन्टी दिनसक्नुहुन्छ त?" मलाई आफुले विरामिको अवस्थाको गम्भिरता बुझाउन नसकेको हो कि जस्तो नि लाग्यो, किनकी मेरो कुरा एउटा, उनिहरुको बुझाई अर्को भएको जस्तो लाग्यो। यहाँ ज्यानमै आफत आइसक्या’छ उनिहरु घाऊ निको हुने नहुनेमा अड्क्याछन्। घाऊ त पाक्ला नपाक्ला ज्यान बच्नुपर्‍यो नि, अनी त्यो सुगरको लेभल त घटाऊन सकिहालिन्छ नि। फेरी आम मानिसको बुझाउ कती सोझो हुन्छ भने यस्मा यो गर्नै हुन्न, त्यो गर्नै पर्छ भन्ने। चिनी रोगमा सबैको घाऊ पाक्ने त हैन नि, घाऊ निको हुन ढिलो हुने सम्भावना बढी मात्रै त हो नि। हामीले बुझाउने तरिका अनी उनिहरुको बुझाईमा कती फरक हुन्छ।

कुरा नबुझेको हो कि भनेर म पटक पटक गएर सम्झाए तर अप्रेसन गरेर नि ठीक हुने 'झुठो' ग्यारेन्टि नपाएकाले उनिहरु खुशी थिएनन्, शायद अप्रेसन गरेर नि ठीक नहुने भए किन गर्नु भनेर सोच्दै थिए कि, वा अप्रेसन गरेर नि ठीक पार्ने ग्यारेन्टि दिन नसक्ने डक्टरसँग के उपचार गराउनु भनेर सोच्दै थिए कि। म अनुमान मात्रै लगाउन सक्छु। तर एकछिन पछी थाहा भयो उनिहरु उपचार नै नगराउने भनेर हस्पिटलबाटै Left against medical advice गरेर गए रे। दु:ख लाग्यो, कुरा बुझाउन नसकेर हो कि उल्टो बुझेर हो कि नबुझेर हो, एउटा बाँच्नसक्ने जिन्दगी विना उपचार अस्पतालबाट फर्कियो। उस्लाई केही नहोस् वा उनिहरुलाई अर्को हस्पिटलमा भए नि जाने बुद्धी आओस्, त्यही कामना मात्र गर्नसक्छु अब त म।

अर्को घटना, २ हफ्ताकी सुत्केरी ‘ज्वरो आयो, पिडुला दुख्यो’ भनेर आएकी थिईन्, यस्तोमा पहिलो शंका डि भि टि अर्थात डिप् भेन थ्रोम्बोसिस (Deep Vein Thrombosis) नेपालीमा भन्दा ‘खुट्टाका शिरा/ रक्तनलीहरुमा रगत जमेको अवस्था’ नै हुन आउछ। त्यही अनुसार खुट्टाको रक्तनलीको डोप्लर/ Doppler गर्दा रोग त्यही नै देखियो। यो रोग बाहिरबाट हेर्दा साधारण देखिन्छ, ज्वरो आको, खुट्टा दुखेको मात्रै हुन्छ तर यस्मा जटिलता आइ खुट्टाका रक्तनलीमा जमेको रगत फोक्सोको रक्तनलीमा गएर अड्की फोक्सोमा रक्त संचालन नै बन्द भै सास फेर्न गाह्रो भै ज्यानसम्म जान सक्छ/ Pulmonary Embolism। अनी यस्को उपचारमा रगतलाई पातलो गर्नुपर्ने हुन्छ, जुन हेपारिन वा एल एम डब्ल्यु एक्स/LMWX नामको औषधीबाट गरिन्छ। यो उपचार दुई धारको तरवार जस्तो हो, रगत हुनुपर्ने जती पातलो नभए जमेको रगतले समस्या दिनसक्ने र हुनुपर्ने भन्दा बढी पातलो भए विभिन्न अङबाट रक्तस्राव हुनसक्ने खतरा रहन्छ। विरामीलाई उपचार शुरु गर्नु अघी आफन्तलाई यि सबै कुराको जानकारी त दिनुपर्‍यो नि।

यि सबै कुरा भनेर “यस्तो रोग हो, उपचार यसरी गरिन्छ, यस्तो यस्तो समस्या 'हुनसक्छ', तर हामी आफ्नो तर्फबाट गर्नसक्ने सबै कुरा गर्छौ। जहाँ पनि गर्ने उपचार यही हो” भन्दा उनिहरु आत्तिए। “तपाईं त विरामीको यो विग्रन सक्छ त्यो हुनसक्छ भन्नुहुन्छ कसरी उपचार गर्ने” रे। अरे बाबा अहिले हामीले “विरामिलाई सबै ठीक हुन्छ, न आत्तिनुस्, केही बिग्रदैन” भन्यो अनी पछी रोगको जटिलताको कारणले विरामीलाई केइ तलमाथी भो भने डक्टरको लापर्वाही, अस्पताल दोषी भनेर उफ्रन्छन्। यि यस्ता रिस्क त तपाईं जहाँसुकै उपचार गराउनुस् न, हुन्छ नै। त्यो रिस्क त विरामी र उस्का आफन्तले निर्णय गरेर लिने कुरा हो नि, यस्मा डक्टरले केइ गर्न सक्दैन। १००% विरामी ठीक त संसारको कुनै कुनाको डक्टर, अस्पतालले नि गर्न सक्दैन।

अनी हामीलाई रोग अवस्थाहरुको जटिलताहरुको बारेमा सुन्ने बानी नभ'को हो कि के हो, यस्तो यस्तो हुनसक्छ भन्यो भने सब डरले कालोनिलो हुन्छन्। यो यो हुनसक्छ को मतलव यो हैन कि तपाईंकै विरामीलाई हुन्छ, १०० जनामा ५-१० जनामा यस्तो हुनसक्छ, अरु ९०-९५ जना त केइ नभै ठीक भएरै जान्छन् नि। हामी खाली ग्यारेन्टिका साथ यो भन्न सक्दैनौ कि तपाईं त्यो ९५ जनामा पर्नुहुन्छ कि ५ जनामा। उपचार गरे ९५ प्रतिशत ठीक हुने सम्भावना छ र नगरे रोग निकै हुँदैन भने त्यस्मा नि उपचार गर्ने कि नगर्ने भनेर सोचिराख्नु पर्छ र? उपचार नै नगर्ने भन्दा त यो फायदाकै सम्झौता हुन्छ हैन र? तर हामीलाई पहिलेदेखी नै डक्टरले हुनसक्ने जटिलताहरु बारे शायदै सुनाउथे, अझ पहिले पहिले प्राइभेटमा त विरामी तर्सेर अर्कोमा जाला भनेर ‘सबै ठीक हुन्छ’ भनेर झुटो आस्वासन नि दिईन्थ्यो। यस्ता झुटा आस्वासन केही नहुदासम्म त गज्जब लाग्छन्, त्यस्तो डक्टर अती सिपालु, जान्ने, ‘भगवान’ झै लाग्छ तर त्यो झुट सधैं सत्य रही नरहनसक्छ। अनी त्यो बेला के हुन्छ आँफै सोच्नुहोला।

म एउटा कुरा नढाँटीकन ‘फ्र्यान्क्ली’ भन्छु है - कुनै पनि डक्टर, अस्पतालले “जस्तोसुकै रोगको पनि ग्यारेन्टिका साथ उपचार गर्दिन्छु, केही कम्प्लिकेसन आउँदै आउँदैन” भन्न सक्दैन। यदी कसैले त्यस्तो भन्छ भने उस्ले तपाईंलाई मिठो झुट बोलिरहेको हुन्छ। होला सामान्य रुघाखोकीमा ९९%, ९९.९% ठीक होला तर सबै ठीक हुन्छ वा तपाईंलाई ठीक पार्दिन्छु भनेर ग्यारेन्टि दिन सक्दैन, दिन मिल्दैन पनी। त्यसैले कृपया डक्टरहरुसँग उपचारको ग्यारेन्टि नमाग्नुहोला, त्यो झुटो आस्वासन हुनेछ बरु के के उपचार गर्न सकिन्छ, विकल्प के के छन्, कुन तरिकाबाट गर्दा फाईदा बढी छ, कम्प्लिकेसन रोक्न के के गर्नसकिन्छ आदी बारे खुलेर छलफल गर्नुस्। त्यसो भएमा हामी नि खुशी हुनेछौ किनकी त्यो नै सही तरिका हो।

हामीले रोगको अवस्था, रोगीको अवस्था, उपचारको तरिका, हुनसक्ने जटिलता विरामी र उस्का परिवारलाई भन्ने उनिहरुलाई तर्साउनलाई भन्ने हैन, आफ्नो रोग, अवस्थाको बारेमा जान्नु उनिहरुको अधिकार भएर हो, सो जानेर त्यस अनुसार आफ्नो लागि ठीक के हुन्छ आँफैले निर्णय गर्न सकुन् भनेर हो। किनभने रोग आफ्नो, शरीर आफ्नो, खर्च आफ्नो, अनी निर्णय नि आफ्नै हुनुपर्छ, हामी डक्टरहरु त सो अनुसार सेवा गर्ने, मद्दत गर्ने मात्रै हौं।

धन्न दोस्रो विरामी चै भर्ना हुन मानिन् र उन्को उपचार शुरु गरियो। अब हामीले उनलाई ठीक पार्न आफ्नो तर्फबाट सक्दो गर्नेछौ, बाँकी भविश्य त कस्ले पो देखेको छ र?
बाँकी पढ्नुहोस् >>

Tuesday, August 27, 2013

मेरो विरामी ठीक त हुन्छ नि??

स्को उत्तर हुन्छ, हुँदैन वा थाहा छैन मात्रै हुनुपर्ने हो। तर म यो प्रश्नले त्यो भन्दा धेरै कुरा सोध्न खोजेको, धेरै कुरा जान्न खोजेको देख्छु। यो प्रश्नले विरामीको वा उस्को आफन्तको स्वास्थ्य प्रतिको चिन्ता त झल्किन्छ नै, अझ बढी शंका, अविश्वास पनि देखाउछ। मेरो विरामीको उपचारमा केही लापर्वाही त भ'को छैन, यो ठाउँमा राम्रो उपचार गर्न नसक्ने त हैन, ठुलो ठाउँमा लानुपर्ने हो कि, बेलैमा भन्दैनन् अनी पछी ढिलो भएर भनेपछी गाह्रो त हुने हैन? रोगको बारेमा यिनिहरुले केही लुकाइरहेका त छैनन्? जताततै लापर्वाही मात्रै भईर'को समाचार आउछ, हिजोआज अस्पताल, डक्टरको भर नै हुँदैन। के हो के हो।


यि सब शंका, अबिश्वासको बाहिर प्रकट भएको रुप चै माथिको प्रश्न हो जस्तो लाग्छ।


हामीलाई नि विरामीलाई सहानुभूति दिन मन लाग्छ, तपाईंको रोग निको हुन्छ, निश्चिन्त हुनुस् भन्न मज्जा लाग्छ, तर धेरैजसो अवस्थामा हामीलाई त्यो कुरा थाहा हुँदैन, वा भनौ त्यस्को ग्यारेन्टी दिन सक्दैनौ। हामी डक्टर हौं, ज्योतिषी हैनौं, कस्को भविष्यमा के छ कस्तो छ, ठोकेर भन्न सक्ने। हामी कसैको उमेर तोक्न सक्दैनौ। हामीले त बस् पढेको आधारमा, संसारभर गरिएका अध्ध्यनहरुका आधारमा कस्तो रोगमा कस्तो उपचार गर्ने, ठीक हुने सम्भावना कती हुन्छ, रोगमा के के कम्प्लिकेसन आउनसक्छ भनेर भन्ने मात्रै हो। कुरा नलुकाइ भन्दा तथ्यान्कहरुको आधारमा यो रोगको ५ वर्षे, १० वर्षे बाच्ने सम्भावना कस्तो छ भनेर मात्र हामी भन्नसक्छौ, यो रोगमा यती प्रतिशतमा यस्तो खाल्को कम्प्लिकेसन देखिएको छ मात्र भन्नसक्छौ। तोकेर यही विरामीमा यस्तो हुन्छ, यो ठीक हुन्छ, यस्मा रोग बिग्रेर जान्छ, यो विरामी बाच्दैन भन्न सक्दैनौ।


जानी जानी त कस्लाई आफ्नो विरामीलाई दु:ख दिन, नराम्रो गर्न मन लाग्छ होला र? हामी नि मान्छे हौं नि यार। हामीमा नि अलिअली मानवता, सम्वेदना त छ नि साथी हो। तर हिजोआज केही मान्छेहरुको कुरा सुन्दा डर लाग्छ, पत्रपत्रिकामा छापिएका न्युज अनी कमेन्ट पढ्दा जिरिङ्ग हुन्छ। हुन त यो हिंस्रकता, आक्रोस समाजका सबै क्षेत्रमा बढेको छ, त्यसैको एउटा रुप स्वास्थ्य क्षेत्र माथि खनिएको मात्रै हो। एउटा त बढेको आक्रोस त्यसमाथि लगातार आउने लापर्वाहीका समाचारले बढेको डर। अनी विचारा विरामीहरुले नि के गरुन्?


“डक्टरहरु कस्तो रुखो हुन्छन्, विरामीलाई रोग ठीक हुन्छ, नआत्तिनुस् भनेर हौसला बढाउन नि सक्दैनन्” भनेको कती सुनिन्छ। यो पहिले देखी सुनिआएको कुरा हो तर अचेल यस्तो हुनुमा म एउटा कारण देख्छु। हामी चाहेर नि हाम्रा विरामिलाई सान्त्वना दिन, रोग निको हुन्छ न आत्तिनुस् भन्न सकिरहेका छैनौं। हिजो आज म कुनै पनि विरामीलाई "तपाईं ढुक्क हुनुस्, चिन्ता नलिनुस्, केही हुँदैन" भन्न सक्दिन। कतै त्यस्को गलत अर्थ त लाग्ने हैन? मैले केही हुँदैन भनेको छु भरे केही भयो भने मलाई त दोष दिन, भकुर्न आउने हैन भन्ने डर रहन्छ। किनकी भविष्य कस्ले पो देखेको छ र? एउटा साधारण दुखाईको औषधी दिदा त रियाक्सन भएर ज्यान गएको छ, सामान्य अप्रेसन गर्दा नि विरामीको मृत्यु भएको छ। ल गल्ती नै भए त चित्त बुझाउनु ठाउँ नि हुन्छ, हाम्रो तर्फबाट गल्ती भएको थियो, हामीले सजाय पाउनुपर्छ वा उनिहरुले क्षतिपूर्ति पाउनुपर्छ भन्ने। लाखमा एक जनालाई हुने औषधीको रियाक्सनमा नि डक्टर दोषी, रोगको आफ्नै हुनसक्ने कम्प्लिकेसनमा पनि डक्टरकै लापर्वाही भन्ने आवाज आउन थालेपछि हामीले नि आफ्नो टाउको त बचाउनै पर्यो नि। अनी हिजोआज हामी ‘डिफेन्सिभ मेडिसिन’ प्राक्टिस गर्न वाध्य भएका छौं, ‘डिफेन्सिभ काउन्सेलिङ’ गर्ने भएका छौ।


साधारण रुघाखोकीको विरामिलाई औषधी दिदा नि सोध्छन् यो कुनै ठुलो रोग त हैन नि, पछी गएर दु:ख त दिदैन नि, यो औषधीले केही हानी त गर्दैन नि। मलाई थाहा छ उनिहरु ग्यारेन्टी खोजिरहेका हुन्छन्, ‘धन्दा नमान्नुस् तपाईंलाई सब ठीक हुन्छ, यो औषधीले तपाईंलाई एक्दम राम्रो गर्छ’ भन्ने सुन्न खोजिरहेका हुन्छन्। मलाई नि थाहा छ रुघाखोकी ज्वरो भएका ९०% भन्दा बढीलाई खासै केही हुँदैन, आँफै हराएर जान्छ, मेरो विरामिको नि निको हुने चान्स ९०% भन्दा नि बढी छ तर त्यो ५-६% मा को पर्छ को पर्दैन म भन्न सक्दिन। कस्को रुघाखोकी भाईरल ज्वरो कम्लिकेटेड हुनजान्छ म कसरी भन्नसक्छु? मेडिसिन एक हिसाबले भन्दा प्रोबाबिलिटीको साइन्स हो। अनी मैले डिफेन्सिभ तरिकाले डिप्लोम्याटिकरुपमा भन्नुपर्ने हुन्छ - "ठीक हुनुपर्ने हो, धेरैको ठीक हुन्छ, कसैकसैमा जटिलता आउनसक्छ, तपाईं त्यसमा पर्नु हुन्छ हुन्न म अहिले भन्न सक्दिन। तर गर्नसकिने र गर्नुपर्ने उपचार हामीले दिएका छौं र दिनेछौ पनि।" हिजोआज धेरै डक्टरहरुले यस्तै भाषा बोल्ने गरेका छन्। वास्तवमै भन्ने हो भने बोल्नुपर्ने भाषा यस्तै हो। यदी हामी आँफैलाई विरामिको भोली के हुन्छ, रोगले कुन मोड लिन्छ थाहा छैन भने हामीले विरामिलाई जे थाहा छ त्यो भन्ने हो, नभएको र नहुने कुराको सान्त्वना दिनु हुँदैन, “सबै ठीक छ, ठीक हुन्छ, मैले सबै ठीक पार्दिन्छु” जस्ता गफ दिनु हुँदैन। तर जे जस्तो भए नि तपाईंको स्वास्थ्य राम्रो पार्न मैले आफुले सकेको गर्नेछु भन्ने विश्वास चै दिलाउन सक्नुपर्छ।


विरामीहरुले नि बुझ्नुपर्ने हो हाम्रो लिमिटेसन, हाम्रो काम गर्ने तरिका, हामीले उपचार गर्ने पद्धती। हामीले विरामीको नाडी छामेर मात्र यो रोग लागेको छ, यो यो गर्नुपर्छ भनेर भन्न सक्दैनौ। कती अवस्थामा समस्या अनुसार सानो ठुलो जाँचहरु गर्नुपर्ने हुन्छ, उपचार पद्धती नि थरीथरीका हुन्छन्, हरेकका आफ्नै फाईदा बेफाईदा हुन्छन्। कस्तो खाल्को उपचार गर्ने, कुन आफुलाई ठीक हुन्छ भनेर डक्टरहरुसँग राम्ररी बुझेर आँफैले निर्णय लिने हो। हामी कहाँ चै तपाईं डक्टर तपाईंले पो भन्ने त, के गर्दा ठीक हुन्छ, हामी त तपाईंकै भरमा छौ भन्ने चलन छ। तर त्यस्तो हैन, विरामिले डक्टरलाई सर्वस्व सुम्पने हैन, उसँग आफ्नो समस्या, त्यस्को हल छलफल पो गर्ने हो त। एलोप्याथिक मेडिसिनमा रोगको पहिचान, उपचार कसरी गरिन्छ भन्ने जानकारी यहाँ पढ्न सक्नुहुन्छ- मेडिकल साइन्सका केही कुराहरु..


अर्को बुझ्नुपर्ने कुरा के हो भने औषधी शुरु गर्न सधैं रोग कन्फर्म हुनुपर्दैन र अझ हाम्रो जस्तो गरिव देशमा यो सम्भव पनि छैन। अनी सधैं रोग कन्फर्म हुन कुरिरहनु हानिकारक नि हुनसक्छ। त्यसैले त धेरै जसो उपचार 'क्लिनिकल डायग्नोसिस'को आधारमा शुरु गरिन्छ। यो विरामीको समस्या, डक्टरले गर्ने जाँच अनी साधारण ल्याब टेस्टहरुको आधारमा गरिन्छ र यो कुनै हचुवाको उपचार हैन, ज्ञान र अनुभवका आधारमा गरिने डायग्नोसिस हो र यो धेरै जसो ठीक पनि हुन्छ।


अनी अर्को कुरा चै कृपया सधै आफ्नो रोग रिपोर्टहरुमा मात्र नखोज्नुहोला। भिडियो एक्सरेमा एपेन्डिसाइटिस देखायो भने मात्र अप्रेसन गर्ने हो नत्र त नगर्ने, एकजना विरामीका बुवाले भन्दैथिए। आफुलाई यस्तो पेट दुखिरछ, यत्रो जाँच गर्यो केही देखिदैन। रगत पिसाब एक्सरे जम्मै ठीक छ भने मलाई भको चै के हो त डक्टरसाब।। कुनै पनि रिपोर्ट १००% भन्ने हुँदैन, नत्र अर्को पल्ट भेट्न जाँदा आफ्नो डक्टरलाई सोधी हेर्नुस्।


थाहा छैन यस्तो अवस्थामा कहिले सुधार आउने हो। यो लेख्दै गर्दा कोशी अञ्चल अस्पतालका डक्टरहरुले विरामिका आफन्तहरुबाट भएको आक्रमणका कारण काम गर्न नसकिने भन्दै सामुहिक राजिनामा दिएको समाचार आएको छ। दु:खलाग्दो अवस्था हो। आशा गरौ, यो अबिश्वासको वातावरणमा छिट्टै सुधार आओस्। हामी सबै पोजिटिभ भै लाग्यौं भने म यो असम्भव देख्दिन।

बाँकी पढ्नुहोस् >>

Saturday, August 10, 2013

स्वास्थ्य खोज्दै देश.....

कलेजमा लन्चको समय हुदै थियो, म खाना खाइहोरी लाइब्रेरी पुगें । थोरै मात्र समाचार र धेरै विज्ञापन छापिने हाम्रा राष्ट्रिय दैनिकहरुहरुमा पढौं-पढौं लाग्ने समाचार अझै निकै कम हुन्छन। कान्तिपुरको प्रथम पृष्ठ र अन्नपूर्ण पोस्टको भित्री पानामा छापिएको समाचारहरुले मेरो ध्यान आकर्षित गर्यो। यीनै समाचारहरुले मलाई धेरै पहिले देखि मनमा गाँठा परेर रहेका सुर्कनेहरु खोल्न यो लेख लेख्न प्रेरित गर्यो।
कान्तिपुर दैनिकमा हेडलाइन बनेर आएको समाचार थियो: “मुगुमा सुत्केरीको वेहाल, कसैलाई रगत छैन कसैलाई उपचार”। अन्नपूर्ण दैनिकको खबर थियो “समयमा उपचार नपाउदा शिशुको मृत्यु”। 

स्वस्थ जीवन जीउन पाउनु हरेकको जीवनको न्युनतम र आधारभूत आवश्यकता हो। स्वस्थ मानिसले स्वस्थ समाज बनाउन सक्छ। स्वस्थ समाजबाट नै सम्वृद्ध र सम्मुनत राष्ट्र निर्माण हुन्छ। तर यीनै स्वास्थ्य सेवाको न्युनतम मापदण्डको घेराभन्दा माथि उठ्न नसकेको कारण हाम्रो देश आफै एउटा जटिल विमारबाट ग्रस्त छ। यसकै परिणामस्वरूप आजभोलि यस्ता समाचारहरु एकपछि अर्को गर्दै आइरहेका छन्। यस्ता कारुणिक र हृदयस्पर्सी घटनाहरुले हाम्रो देशको स्वास्थ्य संरचना र स्वास्थ्य सेवाको कहालीलाग्दो अवस्थाको चित्रण गरेको छ।

अब एकपटक सोच्नैपर्ने वेला आएको छ, यो स्थिति कहिलेसम्म? कहिलेसम्म सुत्केरी आमाहरु उपचारको अभावमा अस्पतालको वेडमा यसरीनै वेहोस भैरहने? कहिलेसम्म समयमा उपचार नपाउदा शिशुहरूले अकालमै जीवन गुमाउने? कहिलेसम्म हामी सरकारी नालायकपना र निरिह डाक्टरहरुलाई धिकार्दै बस्ने? हो अब जवाफ खोज्ने वेला आएको छ।

कहाँ छ त समस्या? किन घट्छन यस्ता घटनाहरु?
कुनै पनि देशको स्वास्थ्य क्षेत्र राम्रो हुनुमा ३ ओटा संरचना बीच उचित तालमेल हुनु जरुरी छ: पहिलो सरकारी संयन्त्र, दोश्रो चिकित्सक र स्वास्थ्य जनशक्ति अनि तेस्रो आम जनता।

१. सरकारी संयन्त्र: देशको स्वास्थ्य क्षेत्र सुदृढ बनाउनुमा सरकारी संयन्त्रको मुख्य भूमिका रहेको हुन्छ। चिकित्सक र दक्ष जनशक्तिलाई कार्यक्षेत्रमा खटाउने देखि लिएर नियम कानुनको तर्जुमा र पालना गराउने सम्म सराकारी संयन्त्रको हात हुन्छ। हाम्रो देशमा अहिले हरेक निर्वाचन क्षेत्रमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र हुने र त्यहाँ कम्तिमा पनि एक जना एम.बी.बी.एस. चिकित्सक हुनैपर्ने व्यवस्था छ। तर विडम्बनाको कुरा कती दुर्गम जिल्लाहरुमा प्राथमिक स्वास्थ्य केन्द्र त के, जिल्ला अस्पतालनै डाक्टर विहिन छन्। उचित तलव, सुबिधा र साधन स्रोत उपलब्ध गराएर चिकित्सकहरुलाई दुर्गम भेगमा रही उपचार गर्नसक्ने वातावरण सिर्जना गर्नु राज्यको दावित्व हो तर ऊ यहाँ चुकेको छ।

२. चिकित्सक र स्वास्थ्य जनशक्ति: पछिल्लो समयसम्म लगभग १३०००जना चिकित्सकले मेडिकल काउन्सिलमा रजिस्ट्रेसन भए पनि यी मध्ये लगभग आधा चिकित्सक विदेश पलायन भएका छन्। नेपालमै रहेका चिकित्सक पनि शहर केन्द्रित छन्। सरकारी छात्रवृतिमा पढेका र निश्चित समय सरकारले खटाएको ठाउँमा सेवा गर्छु भनेर हस्ताक्षर गरेकाहरु पनि दुर्गममा जान आनाकानी गरिरहेका छन्। आवश्यकताभन्दा थोरै मात्र रहेको जनशक्ति अनि त्यहि थोरैमा पनि रहेको यस्तो किचलो पनि यस स्थितिको एउटा कारण हो।

३. आम सर्वसाधारण: आफ्नो सबैभन्दा ठूलो डाक्टर आफैं हो। जवसम्म हरेक मानिस आफ्नो स्वास्थ्यमा आफै सचेत हुदैन, अरु वाहिरी कुराहरु स्वत गौंण भैदिन्छ्न। जनमानसमा चेतनाको स्तरको कमी र त्यसले गर्दा Health seeking behavior  र Healthy attitude को अभाव अर्को कारण हो। जानेबुझेको र थाहा भएको स्वस्थ व्यवहार पनि आफ्नो जीवनमा लागु नगर्दा पनि यो स्थिति आउन सक्छ।

समाधान के त?
समाधान समस्यामै लुकेको हुन्छ। समस्याको पहिचान गरिसकेपछि यी तिनवटै संयन्त्रले आफ्नो तवरबाट हल निकाल्नुपर्छ।
१. सरकारले व्यवस्था भए अनुरुप दरबन्दीमा चिकित्सक खटाउने,
२. चिकित्सकहरुलाई उचित तलव र उपचारको लागि चाहिने औषधी, अन्य साधान श्रोतको व्यवस्था गर्ने, इमान्दार र लगनशील चिकित्सकहरुलाई पुरस्कृत गर्ने,
३. चिकित्सकहरुले पनि देशको अवस्थालाई मध्यनजर गर्दै आफ्नो वलबुताले भ्याएसम्म स्वास्थ्य स्थितिको उत्थानको लागि पहल गर्ने,
४. आमसर्वसाधारण पनि आफ्नो स्वास्थ्यमा सचेत हुने, स्वस्थ व्यवहार अपनाउने, र जानेबुझेका कुरा आफ्नो जीवनमा पनि लागु गर्ने अनि अरुलाई पनि सिकाउने
५. स्वास्थ्यको व्यापारीकरण, यस क्षेत्रमा खुलेर लागिपरेका माफियाहरु पनि पहिचान गरेर त्यस किसिमको प्रवृति निर्मुल गर्न राज्य र आम सर्वसाधारण लागिपर्ने,
६. राज्य, चिकित्सक र आम सर्वसाधारण सबैले हातेमालो गर्दै सौहार्दतापूर्ण तरिकाले काम गर्ने

अन्त्यमा, 
स्वस्थ समाज, स्वस्थ देश र स्वस्थ संसार निर्माणको सपना साकार पार्ने मन्त्र जप्दै अगाडी बढिरहेको एउटा चिकित्साशास्त्रको विध्यार्थीको नाताले यस्ता घटनाहरु निश्चय नै मेरा लागि पनि चुनौती हुन्। यस्ता चुनौतीहरुसंग डराएर भाग्नुभन्दा पनि डटेर सामना गर्नुपर्ने आगामी दिनको टड्कारो आवश्यकता हो। अत: विसंगति र वेथितिलाई चिर्दै, आफ्नो मन, वचन र कर्मले भ्याएसम्म स्वस्थ र सम्वृद्ध नेपाल निर्माणको विगुल फुक्दै आम जनताको स्वास्थ्य उत्थानको निम्ति जीवनभर लागिरहने प्रण गर्दछु । 

पुरुषोत्तम अधिकारी @puruad
एम. बी. बी. एस., दोश्रो वर्ष
गण्डकी मेडिकल कलेज 
पोखरा, नेपाल।

बाँकी पढ्नुहोस् >>

Monday, August 5, 2013

मानवता VS नियम


बीपी कोइराला स्वा वि प्र, धरानको 'बीपीमाछट्पटाउदै सुत्केरी,चिकित्सक रमिते' भन्ने खबर अन्नपूर्ण पोस्टमा छापिएपछी धेरैलाई डक्टरहरुप्रती घ्रिणा आयो होला, कस्तो मानवतै नभ'का डक्टरहरु रैछन् भन्ने लाग्यो होला। कतीले सामाजिक सन्जालहरुमा त्यस्को लिन्क राखी पैसाले डक्टर बनेकाहरु, यस्ता डक्टरलाई कार्वाही गर्नुपर्ने पनि भन्नु भो। घटना दु:खद हो, मलाई नि नराम्रो लाग्यो। अस्पतालको अघी बेडको अभावमा कसैले आफ्नो बच्चा गुमाउछ भने त्यो भन्दा नराम्रो कुरा के होला , त्यस्पछी अस्पताल डक्टरप्रती कम्ता रिस नउठ्ला र। त्यो एकदमै स्वाभाविक हो। पत्यार लाग्दैन भने एक्छिन आफुलाई उस्को ठाउँमा राखेर सोच्नुस्।

यो लेख कसैको बचाउ गर्न, कसको दोस, को निर्दोस भन्न लेखिएको हैन। यो मात्र मेरो अनुभव भावना हो।

हाम्रो देशको धेरैजसो ठुला राम्रा अस्पतालहरुमा विरामीहरुको चाप अती नै धेरै छ। अस्पतालले धान्नसक्ने भन्दा धेरै, बेड सन्ख्या भन्दा धेरै विरामी दैनिकरुपमा ओपिडी इमर्जेन्सीमा आउछन्। राजधानीको टिचिङ अस्पतालको इमर्जेन्सी ओपिडीको भिड सबैले देख्नु भएकै होला। ओपिडीमा कती विरामी टिकट नपाएर फर्कन्छन् भने इमर्जेन्सीमा एउटै बेडमा , जनासम्म राखेर उपचार गराइरहेको हुन्छ। अन्त पठाउन नसकिएर, वा पठाउदा नि जान नमानेर, नसकेर। त्यो हाम्रो चाहना हैन, विरामीलाई एउटै बेडमा खादेर, दु: दिएर हामीले के पाउछौ ? हामी विरामीलाई सहयोग गर्न बसेका हौ नि। तर त्यस्मा नि 'विरामीलाई यस्तरी कोचेर राख्ने! यस्तो असुविधा दिने, हामी टिचिङमा राम्रो हुन्छ भनेर पो 'को, झन यस्तो पो रैछ, विरामीसँग कस्तो खेलबाड गरेको, लापर्वाही गरेको' भन्ने गाली इमर्जेन्सीमा काम गर्ने डक्टर, नर्सहरुले बेलाबेलामा भेटीर'का हुन्छन्। अब भन्नुस् विरामीलाई त्यसरी राख्नुमा कस्को दोष? के इमर्जेन्सीका डक्टरले जानीजानी, दु: दिनलाई, लापर्वाही गर्नलाई त्यसो गरेका हुन् जस्तो लाग्छ तपाईंलाई? अनी एउटै बेडमा २-३ जना राखेर नि ठाउँ नपुगेर अब सक्दैनौ बा भनेर विरामीलाई रिफर गर्नुमा कस्को दोष? डक्टरकै?? यो सिस्टमको खराबी हो। अनी मारमा पर्छन् डक्टर नर्सहरु।

हरेक अस्पतालमा यती विरामी आउनसक्छन् भनेर निश्चित बेड सन्ख्या, निश्चित डक्टर, नर्स अन्य कर्मचारी तोकिएको हुन्छ। समय अनुसार यो कुराको परिमार्जन नगरिएर हो वा गरेको भन्दा नि विरामी धेरै आएर हो प्राय: ठुला सेन्टरका अस्पतालहरुमा अनुमान गरिएको भन्दा धेरै नै विरामी हुन्छन्। मैले देखेको एउटा मुख्य कारण पेरिफेरीका अस्पतालहरुले तोकिए अनुसार सेवा दिन नपाएका, नसकेका, विरामीलाई यहाँ पनि उपचार हुन्छ भनेर विश्वास दिलाउन नसकेका, अर्थात चिकित्सा प्रणालीप्रती विरामीहरुको अविश्वास नै हो हेटौंडाबाट, पश्चिमबाट कती विरामी सानासाना समस्याका लागि चितवन, काठमाण्डौ पुगिरहेका हुन्छन, जबकी तीनको उपचार त्यही क्षेत्रका अस्पतालमा गर्न सकिन्थ्यो गरेको भए सेन्टरका अस्पतालमा भिड कम हुन्थ्यो। यो विश्वासको वातावरण खस्कदै जानुमा हामी सबैको गल्ती , डक्टर, नर्सहरुले राम्रो उपचार हुन्छ भनी विश्वास दिलाउन नसकेको, विरामीहरुले नि चाहिने भन्दा बढी शंका गरेको, अनी मिडियाले नि राम्रो कुरालाई नलेखी नराम्रा कुरा खोजिखोजी प्रचार गरेको आदी आदी।

क्षमता भन्दा धेरै विरामी आए के गर्ने?

तपाईंको घर कती जनासम्म पाहुना आए भने राम्रो सेवा सत्कार दिन सक्नुहुन्छ? जना, १० जना? एउटा छोटो कथा, मानौं जाडोको महिनामा एक्जना दयालुको घरमा - गरेर १० जना पाहुना आए रे। उस्ले बल्लतल्ल गरेर १० जना पाहुनालाई नै राम्ररी सत्कार गर्दै थियो रे। त्यही बेला कताकताबाट अर्को जना फेरी थपिए रे। उस्लाई मन ती अन्तिममा 'को पाहुनालाई नि आफ्नैमा राखेर सक्दो मद्दत गरुँ तर चाहना मात्र भएर भएन आफ्नो क्षमता पनि हेर्नुपर्यो। अनी त्यस्तोमा उस्ले आफ्नो असक्षमता देखाएर तिन्लाई "अरु कुनै घरमा पाहुना जानुहोला" भन्दा अरु घर टाढा भएकोले " यही बस्छु, अन्त जान सक्दिन, भित्र नदिने भए यही बाहिरै सुत्छु" भनेर रातभर खुला आकाशमै सुते रे। तर विहान हेर्दा जाडोले गर्दा तीनको मृत्यु भएको रहेछ। अब भन्नुस् यस्तो बेलामा दोश कस्को हुन्छ? हामीले ती दयालु घर मालिकले १० जनालाई आतिथ्य सत्कार दे'को कुराको सम्मान गर्ने कि ती एक जनालाई बचाउन नसकेकोमा दोस दिने? ती ११औ पाहुनाको मृत्यु हुनुमा कस्लाई दोसी देख्नुहुन्छ? के सबै कुरामा कुनै - जनालाई दोश दिदैमा समस्या समाधान हुन्छ?

डक्टर भएपछी आफ्नो साथीभाइको वकालत गरिहाल्यो भन्नु होला। तर मैले नि त्यस्तो परिस्थितीमा काम गरेको छु, त्यस्तो अफ्ठ्यारो भोगेको छु त्यसैले मलाई थाहा , चाहना भएर मात्र गर्न सकिदैन। शायद नेपालमा काम गर्ने धेरै डक्टर, नर्सहरुले यस्तो भोगेका छन् होला। कुनै अस्पतालले 'को जती सबैलाई राखेर जाननसक्ने, नचाहनेलाई भूईमै भएपनी राखेर उपचार गर्छन्, जस्ले धेरैले सेवा पाउछन तर सिमित स्रोत, जनशक्ती, साधनको कारण सेवा स्तरिय हुन सक्दैन। कुनै अस्पतालले भने बेड सन्ख्या भन्दा बढी विरामी भर्ना लिदैनन्, जस्ले 'को सबैलाई सेवा दिन सकिदैन, रिफर गर्नुपर्ने हुन्छ तर भर्ना भएर बसेकालाई भने स्तरिय सेवा दिन सजिलो हुन्छ।

कुरा त्यत्रो अस्पतालमा एउटा विरामी अट्ने ६ फिटको ठाउँ नि खाली नभएको भन्ने हैन। कुरा कती विरामिलाई सेवा दिनको लागि कती डक्टर, नर्स छन्, वार्डमा कती बेड छन् भन्ने हो। तर एउटा कुरा नि चिनेको मान्छे 'को भए, पहुचवाला 'को भए नियम मिचेरै भएपनी एक्स्ट्रा बेड बनाउने, भर्ना गर्ने गरिन्छ, यो चलन नेपालका सबै ठाउँमै छ। मलाई मन नपर्ने कुरा यही हो। यदी नियम लाग्छ भने चिनेको मान्छे नभएको, गरिवहरुलाई मात्र किन नियम लाग्छ? उनिहरुप्रती किन हाम्रो नियम कठोर हुन्छ धनी, पहुचवालाप्रती किन नियम लचकदार बन्छ? नियम लाग्छ भने सबैको लागि बराबर लाग्नुपर्छ। सडक दुर्घटनामा मान्छे घाइते 'को भन्दा मार्नु सजिलो, सस्तो हुन जाने त्यसै गर्न उक्साउने जस्तो हाम्रो देशको नियमका बारेमा के भन्नु खै?


मानवता VS नियममा जब मानवतालाई नियमले सपोर्ट गर्छ, सिस्टमले साथ दिन्छ तब त्यो फक्रेर आउछ, तर जब मानवताको पक्षमा लाग्ने बाटो अफ्ठ्यारो हुन्छ, नियमको विरुद्धमा जानु हुन्छ तब थोरै मात्र त्यो बाटोमा हिंड्न सक्छन्। कोइ मान्छे डक्टर हुँदैमा त्यत्तिको बहादुर हुन्छ, हुनुपर्छ भन्न मिल्दैन। कोइ हुन्छन कोइ हुँदैनन् त्यो आफ्नो आफ्नो कुरा हो। अनी यो कुरा कस्तो हो भने बाहिर बसेर भन्न सजिलो हुन्छ, आँफैलाई पर्दा भने गर्न गार्हो हुन्छ। जब सिस्टमले तपाईंलाई, तपाईंले चाहेको कुरालाई सपोर्ट गर्दैन नि तब त्यस्को विरुद्धमा लाग्न ठुलो इक्ष्याशक्ती चाहिन्छ। 

माफ गर्नुहोला, कुरा अली फिलोसफिकल हुँदै गयो। भन्न खोजेको के भने जबसम्म नियमले मानवतालाई पूरा सपोर्ट गर्दैन, मानवता नियमको लडाईं चली नै रहन्छ। कती बेला कस्ले जित्छ भन्ने चाँही आ-आफ्नो कुरा।
बाँकी पढ्नुहोस् >>