Wednesday, October 12, 2011

डाक्टर भगवान होइन। Doctor is not a GOD.



लाई कहिलेकाही इमर्जेन्सीमा सब विरामीहरुको बीचमा बसेर मज्जाले हाँस्न मन लाग्छ। मलाई पागल नठान्नुहोला। जब कुनै पनि कुरा तपाईंको नियन्त्रण भित्र हुन्छ वा तपाईंले कुनै पनि काम आफ्नो तरिकाले, राम्रो तरिकाले गर्न भ्याउनुहुन्छ तब तपाईंलाई यस्तो बेमौसमको हाँसोको जरुरत पर्दैन। तर जब कुनै कुरा तपाईंको हातबाट बाहिर जान्छ, तपाईं त्यसको लागि केहि गर्न सक्नुहुन्न, त्यतिबेला तपाईं कराएर, रोएर, झगडा गरेर आफ्नो प्रेसर रिलिज गर्नुभन्दा हाँसेर हल्का महसुस गर्न सक्नुहुन्छ। 'मुन्नाभाई एमबीबीएस' को प्रोफेसर अस्थानाको जस्तै।

तपाईं एकपटकमा कति जना विरामी हेर्न भ्याउनुहुन्छ, एक दिनमा कति विरामी हेर्नुहुन्छ भनी विकसित मुलुकका डाक्टरलाई सोध्नुहोस् जवाफमा २०-२५ भन्दा बढि पाउनुहुन्न। एउटा विरामीलाई कम्तिमा पनि ९-१० मिनेट त हेर्ने गरिन्छ। अब हाम्रो अवस्थाको कुरा गर्नुहोस्। प्राइभेट होस् वा सरकारी वा मेडिकल कलेज विरामीको भीड त हामी सबैले देखेकै कुरा हो। त्यत्रो भीडलाई सीमीत संख्याका डाक्टरहरुले जाँच गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा एउटा विरामीलाई शायदै ५ मीनेट समय दिन सकिन्छ होला। अझ सरकारी अस्पतालको अवस्था त झनै दयनीय हुन्छ। एउटा विरामी जाँचीरहेको हुन्छ, अरु १०जना विरामी उसका कथा सुनिरहेका हुन्छन्। यस्तोमा विरामीको कुराको गोपनीयताको कुरा त नसोचे नि हुन्छ। भ्याइनभ्याइकन विरामी हेरेको बेलामा केको गोपनीयता? मैले यो भनेर मेरो संवेदनहीनता देखाएको होइन, यो हाम्रो वाध्यता हो। यदी मजाले समय दिएर विरामी हेर्ने हो भने दिनभरका विरामी जाँचेर सक्न दुई दिन लाग्छ होला। त्यसैले जब सेवा लिनेको र दिनेको संख्या बीच ठूलो फरक हुन्छ तब दिइने सेवामा नचाहदाँनचाहदैं पनि केहि कमि हुनजान्छ। जस्तो हरेक वार्डमा ८ विरामी बराबर १ नर्स हुनुपर्ने अन्तराष्ट्रिय मान्यता छ, तर हाम्रो देशमा १ नर्सले २०-२५ सम्म विरामी हेर्नुपर्ने हुन्छ। एउटै डाक्टर ओपीडि, वार्ड कुद्नुपर्ने हुन्छ। अनि कसरी गुणस्तरिय सेवा दिन सकिन्छ?

यस्तोमा स्वास्थ्यकर्मीको लापरवाही हुदैंहुदैंन भनेर म भन्न सक्दिनँ तर कति बेलामा चाहेर पनि सबैलाई समयमा सोचेको जस्तो सेवा दिन सकिदैन। यो हाम्रो बाध्यता हो। यसलाई सधैं लापरवाहीको नाम नदिइयोस्। यसले त्यस्तो भ्याइनभ्याइको वातावरणमा पनि सक्दो काम गरिरहेकाहरुलाई पनि निरुत्साहित बनाउने काम गर्छ। विरामी र उनका परिवारले आफ्नो मात्र समस्या नहेरी स्वास्थ्यकर्मीहरुले कस्तो वातावरणमा काम गरिरहेका छन् त्यो बुझिदिने थोरै मात्र प्रयास गरिदिनुभयो भने पनि हाम्रो लागि काफि हुन्छ।

अझ हाट बजारको जस्तो दृश्य त हाम्रा इमर्जेन्सी कक्षहरुमा देख्न सकिन्छ। जेसुकै, जस्तोसुकै समस्याको लागि पनि इमर्जेन्सी छिर्ने हाम्रो नराम्रो बानीले गर्दा पनि यस्तो भीडभाड भएको हो। सानोभन्दा सानो समस्याका लागि पनि इमर्जेन्सीमा चाँडो हुन्छ भनेर देखाउन आइपुग्छन्। साधारण ढाड दुखेको सामान्य, टाउको दुखेको, दाँत दुखेको देखी लिएर दादको, छाला चिलाएको विरामीहरुसम्म पनि इमर्जेन्सीमा आइपुग्छन्। कति त यो वार्ड कहाँ, त्यो वार्ड कहाँ भनेर सोध्नका लागि पनि इमरजेन्सी छिर्छन्, जुन कुरा बाहिरका गार्डहरुलाई सोधेर पनि पत्ता लगाउन सकिन्छ। कोही भने अस्पताल बाहिरै घर भएकाहरु पनि दिनभरी ओपीडीमा नदेखाएर जब रात पर्छ अनि समस्या पर्ला जस्तो लागेर इमर्जेन्सी आइपुग्छन्। मैले यसो भनेर हामी यस्ता विरामीलाई इमर्जेन्सीमा हेर्दैनौं भन्न खोजेको होइन। हामी आएका विरामी सबैलाई हेर्छौं तर यस्ता सामान्य समस्याका विरामीले गर्दा वास्तविक इमर्जेन्सी वा आकस्मिक सेवा चाहिएका विरामीलाई पर्याप्त समय दिन सकिदैंन र यी समस्याहरु इमर्जेन्सीमा नभई ओपीडीमा देखाउनुपर्ने समस्याहरु हुन्। हुन त यो हामी सबैको समस्या हो। पर्याप्त अस्पताल र डाक्टरहरु नहुँदा विरामी भएपछि समस्या लिएर कहाँ जाने त? उहि २४सै घण्टा खुल्ने, जुनसुकै रोगको उपचार गर्नैपर्ने इमर्जेन्सीमा। अझ रोगको मात्र उपचार गर्नुपरे त ठिकै हुन्थ्यो, कहिले त अस्पतालको जुनसुकै कुनामा जेसुकै समस्या परेपनि उजुरी गर्ने ठाँउ बन्नपुग्छ, इमर्जेन्सी। हुन त यसमा विरामीका आफन्तहरुको मात्रै गल्ति होइन। अस्पतालको व्यवस्थापन पक्षको पनि कमजोरी हो। त्यस्ता समस्याहरु बारे, अस्पतालका अन्य समस्याहरु बारे सोधपुछ गर्ने छुट्टै स्थानको व्यवस्था गरेमा यो समस्या केहि कम हुने थियो कि। साथै आममानिसहरु पनि आफ्नो स्वास्थ्य बारे जानकारी राख्ने, समयमै सचेत हुने गर्नुपर्छ, जब पर्‍यो राती, तब बुढी ताती गर्नु हुँदैन।

अस्पताल एउटा सम्वेदनशील स्थल हो, यो सबैलाई थाहा छ। तर यो सम्वेदनशीलता स्वास्थ्यकर्मीको तर्फबाट मात्र खोज्न चाँहि मिल्दैन। सम्वेदनशील क्षेत्र हो भने विरामी र विरामीका आफन्तहरु पनि जिम्मेवारपूर्ण तरिकाले प्रस्तुत हुनुपर्छ। अस्पतालमा विरामीको उपचार गर्न लग्ने हो। त्यहाँ कुनै जादुको छडि हुदैंन न कुनै जादुगर बस्छ त्यहाँ न त भगवान नै। डाक्टर भनेको पनि मानिस नै हो, मानिसको शरीर, रोग, त्यसको उपचारको बारेमा केहि पढेको, केहि जानेको मानिस। एक पल्ट छोएमै ठिक हुने, बोलेमै ठिक हुने भन्ने चाँही विरामीको डाक्टरप्रतिको विश्वास हो। त्यो विश्वासको हामीले सम्मान गर्नुपर्छ र डाक्टर र विरामीको सम्बन्धमा दुई पक्षिय विश्वास सबैभन्दा ठूलो कुरा हो। तर त्यहि विश्वासको कुनै डाक्टरले गलत फाइदा उठाउँछ, त्यसमा घमण्ड गर्छ भने त्यो राम्रो डाक्टर होइन। त्यस्तै त्यो विश्वास 'डाक्टरले जेपनि गर्नसक्छ' भन्ने अन्धविश्वाससम्म पुग्न दिनुहुदैंन। किनभने यो अन्धविश्वास टुट्यो भने सबैलाई नराम्रो धक्का लाग्छ, जुन भयानक रुपमा पनि बाहिर आउनसक्छ। अस्पतालमा विरामीको जाँच गरेर रोग अवस्था पत्ता लगाएर त्यसको उपचारका लागि विरामी, उसका परिवार र डाक्टर मिलेर सौहार्दपूर्ण वातावरणमा छलफल गरेर उपचार गर्ने हो। तर यहाँ त कहिलेकाहि कतिसम्म हुन्छ भने "मेरो विरामीलाई केहि भयो भने तलाईं मैले जानेको छु" भन्ने सम्म पनि सुनिन्छ। त्यस्तो तातो रिस र फुर्ति देखाउने ठाँउ हो र अस्पताल? अनि कहिले चाँही "विरामी ठीक हुने ग्यारेन्टि चाहियो" भन्ने पनि सुनिन्छ। अस्पताल भनेको विरामीको ज्यानको ग्यारेन्टि दिने ठाँउ होइन। क्षमा गर्नुहोला, यो सुन्दा नमिठो, नराम्रो सुनिएला, तर वास्तविकता यहि हो। अस्पतालमा ग्यारेन्टि दिएर कुनै पनि डाक्टरले उपचार गर्न सक्दैन। यदि कसैले त्यस्तो गर्छ भने त्यो नराम्रो मेडिकल प्राक्टिस हो। किनभने चिकित्सा शास्त्रमा कुनै पनि रोगको ग्यारेन्टि उपचार भन्ने हुदैंन। यसको उपचार यो, यो नभए त्यो, त्यो नभए अर्को, अर्को भन्ने हुन्छ। सबै रोगको उपचार सम्भव पनि हुदैंन। त्यस्तै हरेक अवस्था, औषधी र अप्रेशनका आफ्नै समस्या र जटिल अवस्थाहरु पनि हुन्छन्। बाहिर सामान्य लाग्ने समस्या पनि भित्र ठूलो हुनसक्छ। सामान्य लाग्ने औषधीले पनि ज्यानैजाने रियाक्सन गर्न सक्छ। सानो भनिएको अप्रेशन पनि समस्या आइदिएर जटिल हुनसक्छ। त्यसका लागि लापर्वाही नै हुनुपर्छ भन्ने छैन।

हामी समाचारमा कति सुनिरहेका हुन्छौं। खुट्टा भाँचेको विरामीको अप्रेशन गर्दा विरामीको ज्यान गयो। बाहीरबाट हेर्दा त ठूलै लापरवाही भएको जस्तो लाग्छ। तर हाड भाँचिदाको कम्प्लिकेसन स्वरुप फ्याट इम्बोलिजम/Fat embolism (हाडभित्रको बोसो रगतमा गएर फोक्सोमा पुगॆर पल्मोनरी इन्फार्कसन जस्तो प्राणघातक अवस्था) हुनसक्छ। त्यस्तै हिंडेर आएको विरामी मर्यो वा मार्यो भन्ने पनि सुनिन्छ। तर विरामीको अवस्था कस्तो थियो, उसका रिपोर्टहरुले के देखाएको थियो भनेर जान्ने प्रयास गरिदैंन। हेमोग्लोविन १ र प्लेटेलेट हुदैं नभएको विरामी, रक्तचाप २२०/१२० भएको विरामी, आन्द्रामा प्वाल परेर पेरोटिनाइटिस/Peritonitis भएको विरामी पनि हिडेरै आएको हुनसक्छ। साधारण लाग्ने टिटिको सूई, दुखाईको सूईको पनि ज्यानै जाने एलर्जीसम्म हुनसक्छ। अब तपाईंहरु आफैं भन्नुस्, यी सबै कुराको जानकारी भएको कुनै पनि डाक्टरले कसरी विरामीको ग्यारेन्टि लिनसक्छ? कदापी सक्दैन। र त्यो लिने कुरा पनि होइन। यो रोग भएको विरामीको यति प्रतिशतमा यस्तो हुन्छ, यतिमा यस्तो हुन्छ, यति पूर्णरुपमा ठिक हुन्छ भन्न सकिन्छ, तर यहि विरामी ठिक हुन्छ र यहि विरामीमा थप जटिलता आउँछ भनेर त कसरी भन्ने खै?

तर यो भनेर डाक्टरले विरामी उपचारको जिम्मेवारीबाट पन्छिन मिल्दैन। उपचार गर्नु उसको कर्तव्य हो। उपचारका साथै रोग र उपचारका कारणले आइपर्नसक्ने सबै मूख्य र जटिल खालका समस्याहरुबारे राम्ररी जानकारी दिनु पनि उपचार गर्ने डाक्टरको कर्तव्य हो। र यहि कुरामा चाँही हाम्रा धेरैजसो डाक्टरहरु कमजोर हुन्छन्। डाक्टरले विरामीलाई पर्याप्त समय दिन नसकेर हो वा नचाहेर हो वा विरामी र आम मानिसले बुझ्ने भाषामा डाक्टरी भाषाका समस्याहरु बुझाउन गाह्रो परेर हो, रोग र विरामीको अवस्थाका बारेमा विरामी र उसका आफन्तलाई राम्रो जानकारी नभएको र नदिइएको धेरै नै देखिने गर्छ। र विरामी र डाक्टरका बीचको अविश्वासको खाडल बढाउने काममा यसैको ठूलो हात हुन्छ। त्यसैले मिसअन्डरस्ट्यान्डिङको यो समस्यालाई कम गरी डाक्टर र विरामी बीचको अविश्वासको यो खाडल केहि कम गर्न सके विरामी र उसका परिवार सेवाबाट सन्तुष्ट हुनुका साथै बेलाबेलामा हुने रोगको कम्प्लिकेसनलाई पनि डाक्टरको लापरवाहीको नाम दिने नराम्रो प्रथा पनि केहि घट्ने थियो की?

मैले यी सबै कुरा भनेर डाक्टर वा अन्य कुनै पनि स्वास्थ्यकर्मीको लापरवाही ढाकछोप गर्न खोजेको होइन वा त्यस्ता लापरवाही अवश्यम्भावी छ भनेर नजरअन्दाज गर्न भनेको पनि होइन। मात्र विरामीको उपचारको क्रममा डाक्टरको जिम्मेवारी मात्रै खोज्ने तर आफ्नो जिम्मेवारी र कर्तव्य चटक्कै विस्रने गर्नुभएन भन्न खोजेको हुँ। हामी डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुमा पनि कमजोरी नभएको होइन। हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं। तर विरामीको उपचारको क्रममा हामी सकेसम्म ती सबैलाई बिर्सेंर काम गर्ने प्रयास गर्छौं र विरामी र उसका परिवारको तर्फबाट पनि त्यस्तै व्यवहारको आशा राख्छौं, जुन स्वाभाविक पनि हो, होइन र?

अस्तु।

बाँकी पढ्नुहोस् >>

Wednesday, September 28, 2011

टिटि भ्याक्सिन/TT vaccine


टिटि भनेको टिटानस टोक्सोइड हो। यो भ्याक्सिन टिटानस रोगबाट बच्नको लागि दिइन्छ। तर हाम्रो देशमा सम्भवत: सबैभन्दा बढि दुरुपयोग हुने भ्याक्सिन यहि होला। हामी सानोभन्दा सानो काटेको, कोतरेको, छाला गएको जस्तोसुकै घाउको लागि पनि टिटानसबाट बचाउने भनेर यो भ्याक्सिन लगाइहाल्छौं। त्यसो गर्न या त अस्पतालका स्वास्थ्यकर्मीले नै सल्लाह दिन्छन् या त आफैं भएपनि लगाउने भनेर भन्छौ। कहिले हामीले सोचेका छौं कि यो कस्तो खालको भ्याक्सिन हो, यसले के काम गर्छ, कति पटकसम्म लगाउन सकिन्छ, जस्तोसुकै घाउमा पनि यो लगाउनै पर्ने हो कि होइन, यसका बेफाइदा छन् कि छैनन्। आज यी सबैको बारेमा चर्चा गरौं।

पहिले भ्याक्सिनको बारेमा केहि जानौं।
भ्याक्सिनको काम शरीरमा रोग प्रतिरोधक क्षमताको विकास र वृद्धि गर्ने हो। भ्याक्सिनहरु प्राय: गरेर तीन प्रकारका हुन्छन्। लाइभ एट्टेनुएटेड/Live attenuated, किल्ड/Killed र टोक्सोइड/Toxoid।

भ्याक्सिनले कसरी काम गर्छ? 
भ्याक्सिन बनाउनको लागि रोग लगाउने किटाणु/Virus, जीवाणु/Bacteria लाई मारेर वा जिउदो भएपनि रोग लगाउन नसक्ने अवस्थाको बनाएर वा ती किटाणु, जीवाणुले बनाउने रोग लगाउने पदार्थको प्रयोग गरिन्छ। लाइभ एट्टेनुएटेड/Live attenuated भन्नाले त्यसमा रोग लगाउने किटाणु वा जीवाणु जिउदै हुन्छ तर मानिसको शरीरमा प्रवेश गरेपनि तीनलाई रोग लगाउन नसक्ने गरी निस्क्रिय बनाइएका हुन्छन्। किल्ड/Killed भ्याक्सिन रोग लगाउने जीवाणु वा किटाणुलाई विभिन्न तरिकाले मारेर तयार पारिएका हुन्छन्। त्यस्तै टोक्सोइड/Toxoid भ्याक्सिन जीवाणु वा किटाणुले बनाउने रोग लगाउने पदार्थ/Toxin बाट तयार पारिएका हुन्छन्।

यी सबै खालका भ्याक्सिन लगाएपछि ती पदार्थ शरीरभित्र प्रवेश गर्छन्, जसलाई निस्क्रिय पार्न शरीरले प्रतिरोधक पदार्थ एन्टिबडि/Antibody बनाउँछ। शरीरमा भ्याक्सिनको रुपमा प्रवेश गराइएको पदार्थले एन्टिजेन/Antigen को काम गर्छ र त्यसको विरुद्धमा शरीरले त्यसलाई निस्क्रिय पार्ने पदार्थ बनाउँछ, जसलाई एन्टिबडि भनिन्छ। शरीरले यी सबै कुराको सम्झना राख्ने गर्छ। अत: भविष्यमा त्यस्तै खालको किटाणु वा जीवाणुको संक्रमण हुँदा शरीरले त्यसका विरुद्धमा प्रतिरोधक पदार्थ/Antibody बनाइ रोग लाग्नबाट जोगाउँछ।

टिटानस टोक्सोइड भ्याक्सिन नामले भनेजस्तै एउटा टोक्सोइड भ्याक्सिन हो। यो टिटानस रोग गराउने जीवाणु क्लसट्रीडियम टेटानी/Clostridium tetani ले उत्पादन गर्ने टक्सिन टेटानोस्पाज्मीन/Tetanospasmin बाट तयार पारिएको हुन्छ।

टिटानस/धनुस्टन्कार, डिपीटी/DPT र हाम्रो देशमा त्यस्को अवस्था कस्तो छ?
टिटानस रोग मुख्यतया सुत्केरी हुने बेलामा फोहर गरेर सुत्केरी गराइयो भने, खिया लागेको वा फोहर ब्लेडले बच्चाको नाल काटियो भने आमा र बच्चामा हुनेगर्छ। बच्चामा हुने त्यसखालको टिटानसलाई नियोनेटल टिटानस/Neonatal Tetanus भनिन्छ। नेपालबाट नियोनेटल टिटानस उन्मुलन भैसकेको भनेर सन् २००५ डिसेम्बरमा भनिएपनि २००७ मा १३ जना यसका रोगी बच्चाहरु भेटिएका थिए।

यो रोगबाट आमा र बच्चालाई बचाउनका लागि गर्भ रहनसक्ने उमेरका महिलाहरु/Reproductive age group women लाई गर्भवती भएको बेलामा वा अन्य समयमा टिटि भ्याक्सिन लगाउने गरिन्छ। यो सुई गर्भवती भएको समयमा जतिसक्दो चाँडो पहिलोपटक र त्यसको कम्तिमा ४ हप्तापछि दोस्रो पटक लगाउनुपर्छ। त्यसको ६ हप्तामा वा अर्को गर्भ रहने बेलामा तेस्रो पटक, त्यसको १ वर्षमा वा अर्को गर्भ रहँदा चौथो पटक र त्यसको १ वर्षमा वा अर्को गर्भ रहँदा पाँचौ पटक गरी जीवनभरमा जम्मा ५ पटक लगायो भने जिन्दगीभरलाई पुग्छ। यसको तेस्रो पटकसम्मको डोज/dose ले ५ वर्ष र चौथो पटकसम्मको डोजले १० वर्ष टिटानस रोगबाट बचाँउछ।

त्यस्तै बच्चाहरुलाई नियमित खोपको कार्यक्रम/Extended Program of Immunization/EPI अन्तर्गत डिपीटि सुई लगाउने गरिन्छ। यसले बच्चालाई डिपथेरिया/भ्यागुते रोग, परट्युसिस/Pertusis/लहरे खोकी र टिटानस/धनुषटंकार रोगबाट बचाउने गर्छ। यो खोप बच्चाहरुलाई २,४ र ६ महिनाको उमेरमा दिइन्छ। चौथो डोज १५-१८ महिनामा र पाँचौ डोज ४-६ वर्षको उमेरमा दिने गरिन्छ। यी नियमित समयका भ्याक्सिनका डोजहरु छुटेमा त्यहि अनुसारका सुझावहरु छन्, जुन लेखका विषयभन्दा बाहिर पर्छ।
समग्रमा जम्माजम्मी पाँचवटा टिटि भ्याक्सिन र हरेक १० वर्षमा एउटा बुस्टर डोज लगाएमा त्यसले जीवनभरीलाई पुग्छ। 

हाम्रो देशमा यो खोप कार्यक्रमको प्रभावकारीता राम्रो छ। EPI भनिने यसको प्रभावकारीता डिपीटीको तेस्रो डोज/DPT3 कति प्रतिशतले लगाउँछन् भन्नेबाट निकालिन्छ, जुन सन् २००९ मा करिब ८२% थियो।

कुनै पनि समयमा घाउ हुँदा वा काट्दा टिटि सुई लगाउने वा नलगाउने भन्ने कुरा घाउको प्रकृति, कत्तिको फोहर लागेको छ अर्थात् टिटानस हुने सम्भावना छ कि छैन भन्ने कुरा र विरामीले विगतमा कतिवटा भ्याक्सिन लिएको थियो, पछिल्लो भ्याक्सिन कति समय अगाडि लिएको थियो भन्ने कुरामा भर पर्छ।

टिटानस हुनसक्ने घाउहरु/Tetanus prone wounds भन्नाले गहिरो काटेको घाउ, जनावरले टोकेको घाउ, फोहर, माटो, गोबर लागेको घाउ, पीप जमेको वा पाकेको घाउ, जलेको घाउहरुलाई जनाउँछ। यस्ता घाउहरु भएको अवस्थामा पनि कम्तिमा ३ वटा टिटि सुई (डिपीटि समेत गरेर) लगाएको छ र अन्तिम डोज लगाएको ५ वर्षभन्दा बढि समय भएको छैन भने थप भ्याक्सिन लगाउनु जरुरी हुदैंन। अझ साधारण खालको र फोहर नभएका घाउहरुमा त पछिल्लो भ्याक्सिन लगाएको १० वर्षसम्म अर्को टिटि भ्याक्सिनको आवश्यकता पर्दैन। त्यस्तै डिपीटिका सबै खोपहरु लगाएका बच्चाहरुलाई ६ वर्षसम्मको उमेरसम्ममा थप टिटि भ्याक्सिनको जरुरत नै हुदैंन।

घाउको प्रकृति, उमेर, टिटि लगाएको समय आदिका आधारमा टिटि भ्याक्सिनको आवश्यकताको वृस्तित विवरण यो लिन्कमा हेर्नसक्नुहुन्छ

यसका बेफाइदा वा हानीहरु के के हुन्?
हरेक औषधीका फाइदा, बेफाइदा दुवै हुन्छन् भन्या जस्तै यसका पनि बेफाइदाहरु छन्। यसको प्रयोगले कसैकसैमा एलर्जी देखिने हुनसक्छ। छालामा राताराता दागहरु देखिने, चिलाउने, ज्वरो आउने देखि लिएर खतरनाक र ज्यानै जाने एलर्जीक प्रतिकृया/Allergic reaction पनि हुनसक्छ। त्यस्तै लाखौंमा १-२ जनालाई विभिन्न प्रकारका नसासम्बन्धी रोगहरु/Neurological disorders देखिन सक्छ। याद गर्नुहोस् नसा सम्बन्धी रोग र मानसिक रोग/Psychiatric Disorder भनेका फरक रोगहरु हुन्। 

लगातार बढि मात्रामा भ्याक्सिन लगाउने र चाहिने भन्दा बढि लगाउने गर्नाले माथिका बेफाइदाहरु हुने सम्भावना बढेर जान्छ। त्यसैले विरामीलाई बेनिफिट अफ डाउट/Benefit of doubtको नाममा हरेक साना घाउहरुमा टिटि भ्याक्सिन लगाउने सल्लाह दिनु पनि राम्रो उपचार पक्कै होइन।

यसको दुरुपयोग किन भैरहेको छ? 
यसको दुरुपयोग हुनुमा धेरै कारणहरु छन्। जस्तै:

१. यो भ्याक्सिनको बारेमा जानकारी नहुनु।
धेरैजसो मानिसहरु (र कतिपय स्वास्थ्यकर्मीहरुको पनि)को सोचाइ जस्तो यसले तपाईको भैसकेको घाउबाट हुनसक्ने टिटानसबाट सामान्यतया बचाउदैंन। यसले त भविष्यमा हुनसक्ने टिटानसको लागि एन्टिबडि बनाउनलाई प्रेरित गर्ने काम मात्रै गर्छ। यो एउटा एक्टिभ भ्याक्सिन भएकोले यसले काम गर्न यो शरीरमा प्रवेश गरिसकेपछी कम्तीमा शरीरलाई यसको विरुद्ध एन्टिबडी बनाउने समय चाहिन्छ। तपाईं हामीले सोचेका जस्तो काम गर्ने भ्याक्सिन प्यासिभ भ्याक्सिन/Passive vaccine हो, जसलाई टिटानस इम्युनोग्लोबुलिन/Tetanus immunoglobulin भनिन्छ।

२. आफ्नो भ्याक्सिनेसन अवस्था/vaccination status को बारेमा राम्रो जानकारी नराख्नु। 
हामी मध्ये धेरैले बच्चामा सबै खोपहरु लगाएका छौं, तर कमैसँग मात्र ती लगाइएका खोपहरुका कागजपत्र होलान्। आफूले लगाएका खोपहरुको विवरण भएमा भविष्यमा त्यस्तै प्रकारका खोपहरु थप्नु पर्ने, नपर्ने जानकारी लिन धेरै सजिलो हुन्छ। साथै अनावश्यक रुपमा खोपहरु लिइराख्नुपर्दैन।

३. टिटानस रोगको बारेमा जानकारी नहुनु।
हामी के सोच्छौं भने फलामले काट्यो कि टिटानस हुन्छ, घाउ भयो कि टिटानस हुन्छ। तर सफा घाउ छ, साधारण खालको घाउ छ र आफुले बच्चामा डिपिटि र पछि त्यसको बुस्टर डोज/Booster dose पनि लगाएको छ भने तपाईं आत्तिनुपर्दैन। तपाईंको शरीरमा टिटानससँग लड्ने एन्टिबडि पर्याप्त मात्रामा भएको खण्डमा टिटानस हुदैंन। त्यस्तै टिटानसबाट बच्ने उपाय टिटि खोप मात्र होइन। घाउ भएपछि त्यसलाई राम्रो तरिकाले साबुन पानीले सफा गर्ने, त्यसमा माटो, गोबर पर्न नदिने, सुत्केरी गराउँदा सफा, नयाँ ब्लेडले नाल काट्ने, सफा हातले सुत्केरी गराउने गर्नाले पनि टिटानसको सम्भावनालाई धेरै कम गर्छ।

४. सस्तो र सर्वसुलभरुपमा टिटि खोप पाइनु। 
अन्य खोपहरु जस्तो यो महंगो र पाइन गाह्रों हुदैंन। तर त्यसो भनेर यसको दुरुपयोग गरिनु उचित हुदैंन।

अन्त्यमा, 
विना जानकारी कुनै पनि खोप वा सुई लिनु हानिकारक हुनसक्छ। त्यसैले त्यस्तो सुई लिनु अघि त्यसको बारेमा, त्यसले गर्ने कामको बारेमा, आफुलाई त्यसको आवश्यकता भएनभएको बारेमा राम्रो जानकारी लिनु स्वस्थकर हुन्छ। सस्तो छ, सर्वसुलभ छ भन्दैमा अनावश्यक र हानीकारक हुनसक्ने कदम नचालौं।

स्रोतहरु:
बाँकी पढ्नुहोस् >>

Wednesday, September 21, 2011

Polycystic ovary syndrome (डिम्बाशयमा पानीका फोकाहरु हुने सिन्ड्रोम)


यो सिन्ड्रोमको नामले महिलाको डिम्बाशयमा थुप्रै पानीका फोकाहरु हुने अवस्थालाई जनाउँछ तर यो सिन्ड्रोम त्यतिमा मात्र सिमित छैन। स्टेन लेभेन्थल सिन्ड्रोम(Stein-Leventhal Syndrome) भनेर पनि भनिने यो अवस्थामा महिलाहरुमा हर्मोनको अनियमितताको कारणले विभिन्न प्रकारका लक्षणहरु देखिन्छन्। महिनावारीमा गडबडी, महिनावारी हुदैं नहुने/ Primary amenorrhoea, थोरै हुने/ Oligomenorrhoea, भएपनि डिम्बाशयबाट डिम्ब ननिस्कने/ Anovulation, जसले गर्दा गर्भ रहन नसक्ने वा गाह्रो हुने, मोटोपना, मधुमेह, उच्च रक्तचाप जस्ता विभिन्न थरिका समस्याहरु यो सिन्ड्रोममा देखिन सक्छन्। यसलाई छोटकरीमा पीसिओएस (PCOS) पनि भनिन्छ। 
नेपालमा यसका रोगीको संख्या यतिनै भन्न सकिने गरी अध्ययन भएको छैन। तर अमेरिकामा करिब ५-१०% महिलामा यो समस्या देखिने गर्छ र बाझोपनाको एउटा प्रमुख कारणको रुपमा यो सिन्ड्रोम पर्छ। प्राय: गरेर १५-२५ वर्षभित्रको उमेरमा यो सिन्ड्रोम देखिनेगर्छ। प्राय:जसोमा महिनावारीमा समस्याहरु देखिएर यो रोग शुरु हुने भएपनि कसैकसैमा पछिसम्म पनि थाहा हुदैंन र बाझोपना भएर जाँच गर्दा मात्र यो पत्ता लाग्ने गर्छ। 


यसका लक्षणहरु के के हुन्? 
यसमा देखिने प्रमुख समस्या भनेको हर्मोनको गडबडी हो। महिलाहरुमा हुने महिला हर्मोनहरु इस्ट्रोजन/Estrogen र प्रोजेस्टेरोन/Progesterone हुन्, जुन डिम्बाशयले उत्पादन गर्छन्। त्यस्तै एलएच/LH र एफएसएच/FSH हर्मोनहरु पनि हुन्छन्, जुन पिट्युटरी ग्रन्थि/Pituitary Gland (मस्तिष्कभित्र हुने एउटा ग्रन्थि) ले उत्पादन गर्छ। यी हर्मोनहरुको स्तर र काम ठिक मात्रामा हुँदा महिलामा सामान्यरुपमा हरेक महिनामा महिनावारी हुने, महिनाको एक पटक डिम्बाशयबाट डिम्ब निस्कने र गर्भधारण सम्भव हुने र महिलामा हुने अन्य शारीरिक परिवर्तनहरु हुनेगर्छ। 
त्यसैले यो सिन्ड्रोममा महिनावारी सम्बन्धी समस्याहरु देखिने गर्छन्। महिनावारी शुरु नै नहुने, धेरै अन्तरालमा हुने, धेरै रगत बग्ने, महिनावारी भएपनि डिम्बाशयबाट डिम्ब ननिस्कने जस्ता समस्याहरु देखिने गर्छन्। त्यस्तै महिला हर्मोनको मात्रामा कमि र पुरुष हर्मोन एन्ड्रोजन/Androgen को मात्रा बढि हुने हुँदा शरीरमा पुरुषको जस्तो शारीरिक परिवर्तनहरु/Hirsutism (बढि रौंहरु आउने, दाह्रींजुंगा आउने, स्वर मोटो हुने, पुरुषको जस्तो तालु खुइलिने) हुनसक्छ। 
त्यस्तै अन्य लक्षणहरुमा मोटोपना, मधुमेह (शरीरमा इन्सुलिनले राम्रो काम नगर्ने हुँदा/Insulin resistance), घाँटी, कुइनाका छालामा कालो दागहरु/Acanthosis nigricans देखिने आदी पर्छन्। त्यस्तै रगतमा नराम्रो बोसो एलडिएल/LDL को मात्रा बढ्ने र राम्रो बोसो एचडिएल/HDL को मात्रा घट्ने, उच्च रक्तचापको समस्या देखिने पनि हुनसक्छ। 
माथिका लक्षणहरु, मुख्यरुपमा महिनावारीको गडबडी, गर्भ रहन समस्या र पुरुषको जस्तो शारीरिक परिवर्तनहरु, भएको महिलामा भिडियो एक्सरेमा डिम्बाशयमा पानीका फोकाहरु/Cysts(सिस्टहरु) देखिएमा त्यसलाई पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम (PCOS) भन्ने गरिन्छ।


यो सिन्ड्रोम किन र कसरी हुन्छ? 
माथि भनिएजस्तै महिला हर्मोनहरु (इस्ट्रोजन/Estrogen, प्रोजेस्टेरोन/Progesterone, एलएच/LH र एफएसएच/FSH) को गडबडीको कारणले यसका लक्षणहरु देखिन्छन्। त्यसैले गर्दा नै डिम्बाशयमा पानीका फोकाहरु जस्तो देखिने गर्छ। त्यस्तै पुरुष हर्मोन एन्ड्रोजेन/Androgen को मात्रा बढ्नाले पुरुषमा जस्तो शारीरिक परिवर्तनहरु देखिने गर्छ। तर हर्मोनहरुमा त्यो गडबडी किन देखिन्छ भन्ने कुरा चाँही थाहा हुनसकेको छैन। कसैमा यो समस्या वंशानुगत रुपमा देखिन्छ भने वातावरणीय कुराहरुको पनि प्रभाव रहेको देखिन्छ। 


यो सिन्ड्रोम कसरी पत्ता लाग्छ?
कसैलाई माथि भनिए जस्तो लक्षणहरु (महिनावारीको गडबडी, पुरुषको जस्तो शारीरिक परिवर्तनहरु, अत्यधिक मोटोपना आदि देखिएको छ भने स्त्रीरोग सम्बन्धी विशेषज्ञको सल्लाह लिनुपर्छ। यी लक्षणहरु डिम्बाशयका एन्ड्रोजन उत्पादन गर्ने ट्युमरहरु, थाइरोइड/Thyroid हर्मोनको कमि, प्रोलाक्टिन/Prolactin हर्मोनको ट्युमर, स्टेरोइड/Steroid जस्ता विभिन्न औषधीहरुको लामो सेवन आदी अवस्थाहरुमा पनि देखिन सक्छन्। त्यसैले पीसिओएस भनेर भन्नुभन्दा अघि विभिन्न जाँचहरु गरी अन्य अवस्थाहरुलाई छुट्याउनुपर्छ। 


यो रोग पत्ता लगाउनका लागि माथि भनिएका जस्तै विभिन्न हर्मोनहरुको जाँच, रगतमा ग्लुकोजको मात्राको जाँच, रगतमा बोसोको मात्राको जाँच जस्ता रगतका जाँचहरु गर्न सकिन्छ। तर अलि महंगो र हाम्रो देशमा सजिलै उपलब्द नहुने यी जाँचहरु कमै मात्रामा गरिन्छ। बरु यी जाँचहरु भन्दा तल्लो पेटको भिडियो एक्सरे बढि मात्रामा गर्ने गरिन्छ। यसमा भिडियो एक्सरेमा डिम्बाशयमा पानीका फोका जस्ता आकारहरु देखिन्छन्। तर थाहा पाउनुपर्ने कुरा के हो भने यस्ता पानीका फोकाहरु हुदैंमा विरामीलाई पीसिओएस छ भन्न मिल्दैन। किनभने साधारण ओभेरियन सिस्ट, डिम्बको संक्रमण, क्यान्सर, डिम्बाशयको विकासमा हुने गडबडी जस्ता विभिन्न समस्याहरु पनि यस्तै खालका पानीका फोकाहरु देखिनसक्छन्। त्यसैले भिडियो एक्सरेको रिपोर्टको पछि मात्र नलागेर चिकित्सकसँग आफूमा देखिएका लक्षणहरुबारे राम्रोसँग छलफल गरी यो समस्या भएनभएको निश्चित गर्नुपर्छ। 
त्यस्तै डिम्बाशयका क्यान्सरहरुसँग छुट्याउनका लागि सिटी स्क्यान, एमआरआइ पनि गर्नुपर्ने हुनसक्छ।

यो सिन्ड्रोममा के के समस्याहरु देखिनसक्छन्? 
पीसिओएस भएका महिलाहरुलाई निम्नलिखित समस्याहरु हुने बढी सम्भावना रहन्छ। 
इन्सुलिनले काम नगर्ने/Insulin resistance, मधुमेह, 
पाठेघरको क्यान्सर, 
उच्च रक्तचाप, 
रगतमा बोसोको मात्रामा गडबडी हुने अवस्था/Hyperlipidemia, 
मुटु सम्बन्धी रोगहरु, हार्ट एट्याक, 
बाझोपना/Infertility, 
डिप्रेसन, मानसिक चिन्ता/Anxiety आदी 


यसको उपचार के हो? 
यसको उपचार मुख्यरुपमा चार कुरामा केन्द्रित हुन्छ। 
रगतमा इन्सुलिनको मात्रामा सन्तुलन ल्याउने, मधुमेहबाट बचाउने वा त्यस्को उपचार गर्ने, 
गर्भ रहन भएको समस्याको उपचार गर्ने, 
महिलामा देखिएका पुरुषका शारीरिक परिवर्तनको उपचार गर्ने र 
महिनावारीको समस्याको उपचार र पाठेघरको क्यान्सरबाट बचाउ गर्ने। 


मोटोपना हुने, मधुमेह हुने, रगत र शरीरमा बोसोको मात्रा गडबडी हुने भएकोले कम कार्बोहाइड्रेट भएको खाना खाने, फलफूल, हरियो सागसब्जीको नियमित सेवन गर्ने, नियमित व्यायाम गर्ने गर्नाले तौल घटाउनका साथै यसमा देखिने समस्या पनि घटाउन मद्धत गर्छ। 
रगतमा इन्सुलिनको मात्रामा नियन्त्रण गर्न र मधुमेहको उपचारका लागि मेटफर्मिन/Metformin, ग्लिटाजोन/Glitazone जस्ता खाने चक्कीहरु प्रयोग गर्न सकिन्छ। 
त्यस्तै बाझोपनाको लागि क्लोमिफेन साइट्रेट/Clomiphene citrate औषधी प्रयोग गर्न सकिन्छ। यो सिन्ड्रोममा गर्भ रहन समस्या रहनुको कारण डिम्बाशयबाट नियमितरुपमा डिम्ब ननिस्कने भएर हो। यो औषधीले डिम्बाशयलाई डिम्ब उत्पादन गर्नका लागि प्रेरित गर्छ र गर्भ रहने सम्भावना बढ्न जान्छ। त्यस्तै एलएचआरएच/LHRH जस्ता हर्मोनहरु पनि प्रयोग गर्न सकिन्छ। साथै आइभिएफ/In-Vitro Fertilization वा कृत्रिम गर्भाधारण पनि गराउन सकिन्छ। 
महिलामा देखिएका पुरुषको जस्तो शारीरिक परिवर्तनहरुको उपचारका लागि साधारण गर्भनिरोधक पिल्स/Oral contraceptive pills वा एन्टिएन्ड्रोजन/Anti-androgen भएको पिल्स प्रयोग गर्न सकिन्छ। गर्भ रहन समस्या परेको अवस्थामा गर्भ निरोधक पिल्सले कसरी फायदा देला भनेर अचम्म लाग्नसक्छ। तर यसमा महिलामा हुनुपर्ने हर्मोनहरु आवश्यक मात्रामा हुन्छ, त्यसैले यसको नियमित सेवनले महिनावारी नियमित हुनुका साथै शरीरमा महिला हर्मोनको मात्रा सामान्य राखी महिलाको शारीरिक परिवर्तन फर्काउन पनि मद्धत गर्छ। तर विरामीलाई गर्भ बसाउने इच्छा छ भने पिल्सभन्दा अरु औषधीहरु प्रयोग गर्नु उचित हुन्छ। जस्तै पिसाब लगाउने औषधी स्पीरिनोल्याक्टोन/Spirinolactone को एन्टीएन्ड्रोजन असरबाट पनि फायदा लिनसकिन्छ। 


अन्त्यमा
पीसिओएस/PCOS भनेको भिडियो एक्सरेमा डिम्बाशयमा पानीका फोकाहरु देखिनु मात्र कदापी होइन। त्यसको साथमा महिनावारीमा समस्या, गर्भ रहन समस्या साथै पुरुषको जस्तो शारीरिक परिवर्तनहरु देखिने जस्ता लक्षणहरु पनि विरामीमा देखिए मात्र पीसिओएस छ भन्न सकिन्छ। त्यस्तै यसका रोगीलाई भविष्यमा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगहरु, पाठेघरको क्यान्सर हुने सम्भावना सामान्य महिलामा भन्दा बढि रहन्छ। 

स्रोतहरु:
http://www.medicinenet.com/polycystic_ovary/article.htm#1whatis
बाँकी पढ्नुहोस् >>

Friday, September 16, 2011

लेख, प्रतिक्रिया र त्यसपछीको प्रतिक्रिया


यो लेख माइ संसारमा सेप्तेम्बर १६, २०११ मा 'आन्दोलन सर्वोच्चको फैसलाविरुद्ध हैन ढिलासुस्तीको विरोधमा' शीर्षकमा छापिएको थियो। 

माइ संसारमा प्रकाशित डा. बद्री चापागाईंले लेख्नुभएको लेख 'सर्वोच्चको फैसला विरुद्ध चिकित्सक किन आन्दोलनमा?' पढें र त्यसका प्रतिकृया स्वरुप आएका भनाइहरु पनि प्राय: सबैजसो पढें। यो सबै पढेपछि केहि कुरा लेख्न मन लाग्यो।

पहिला लेखको बारेमा केहि कुरा भनौं। लेखको शिर्षकले भनेको जस्तो मन्त्रालयको छात्रवृतिमा पढेका चिकित्सकहरु आन्दोलनमा त छन् तर त्यो सर्वोच्चको फैसलाको विरुद्धमा होइन रहेछ। मैले यहि आन्दोलनका एक सक्रिय साथीसँग कुरा गरेको थिएँ। उनी भन्दै थिएँ- "सर्वोच्चले त त्यो सेवा अवधिलाई ५ वर्ष बनाउनैपर्छ भन्ने कुरालाई गलत ठहराइ सकेको छ र जसको २ वर्ष सेवा अवधि पुगीसक्यो उनीहरुलाई क्लियरेन्स गरिदेउ भनेर मन्त्रालय र विभागलाई पनि आदेश दिईसकेको छ तर मन्त्रालय र विभागले त्यसलाई कार्यान्वयन गर्नमा ढिलासुस्ती गरिरहेको छ। र यो आन्दोलन त्यसको विरुद्धमा हो न कि सर्वोच्चको फैसलाको विरुद्धमा।"

यो बाहेक उहाँले यो लेखमा लेख्नुभएको धेरै कुरामा सत्यता छ। छात्रवृतिमा पढेका चिकित्सकहरुलाई २ वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियम लागु भएपछि धेरै चिकित्सकहरु कहिल्यै नसुनेको र नपुगेको गाँउहरु पुगेका थिए। मेरै कति साथीहरु गाडी, मोटरसाइकल त के हिडेर जान पनि गाह्रों हुने ठाँउहरुमा पुगेर काम गरेका थिए। त्यसरी नियम बनाएर चिकित्सकहरुलाई गाँउगाँउ त पुर्याइयो तर त्यहाँ बसेर उनीहरुले काम गर्ने वातावरण छ वा छैन भनेर माथिल्लो निकायले कहिले जानकारी लिने कोशिश गर्यो त? गरोस् पनि कसरी माथिल्लो निकायमा भएकालाई मात्र प्रचारबाजीको लागि "गाँउगाँउमा डाक्टर पुर्याएका छौं है" भनेर सानसँग सबैलाई सुनाउदैंमा फुर्सद छैन। मैले यहाँ 'काम गर्ने वातावरण' भनेर कुनै सुविधा, बस्ने क्वार्टर, सुरक्षाको कुरा गरेको हैन। चिकित्सक कुनै जादुगर होइन, उसले कुनै जादुको छडी घुमाएर रोग पत्ता लगाएर अनि उपचार गर्ने। उसले रोग पत्ता लगाउनको लागि उसलाई ल्याब, एक्स-रे को सुविधा हुनु जरुरी हुन्छ, जसले रोगको राम्रो पहिचान गरी उपचार गर्न उसलाई सहयोग पुर्याउँछ। तर यहाँ गाँउगाँउमा डाक्टर पुर्याउने नाममा मात्र डाक्टरलाई त्यहाँ जाने नियुक्ति पत्र दिएर माथिल्लो निकाय आफ्नो जिम्मेवारीबाट पन्छियो। एक्सरे बोकेर जाने काम, ल्याबको काम चिकित्सकको होइन, यी सबको व्यवस्था सरकार मन्त्रालयले हेर्नुपर्थ्यो।

यही लेखका लेखक डा. बद्री चापागाईंले केहि वर्ष अगाडी एभिन्युज च्यानलको एउटा कार्यक्रममा भनेका कुरा म अझै पनि सम्झन्छु। एभिन्युज च्यानलले त्यतिबेला पश्चिमका अति पीछडिएका विभिन्न क्षेत्रका बारेमा रिर्पोटिङ गरिरहेको थियो र त्यहींको अस्पताल (शायद जिल्ला अस्पताल)मा काम गरिरहनु भएको थियो उहाँले। "विरामीको उपचारका लागि हामी हाम्रो तर्फबाट प्रयास गर्छौं, तर ल्याब, एक्सरे जस्ता सुविधा भएमा रोगको पहिचान र उपचारमा हामीलाई सजिलो हुन्थ्यो। सरकारसँग यो कुरामा ध्यान पुर्याउन माग गर्छु।" उहाँले भन्नुभएको थियो। मैले भन्न खोजेको के भने चिकित्सक मात्र पुर्याएर मन्त्रालय र नेताले प्रचार त खुबै कमाउलान् तर वास्तविकतामा त्यहाँका जनतालाई सोचे जतिको फाइदा चाँही हुदैंन। त्यसैले नियम बनाउँदा प्रचारमुखी भन्दा पनि अलि व्यवहारिक र बढि परिणाममुखी बनाउनुपर्यो र त्यही अनुरुप कार्यान्वयन पनि हुनुपर्यो।

लेखमा भएको बालकको तस्वीर शायद त्यही बेलातिरको होला। तस्वीरसँग जोडिएको उहाँको छुट्टै कथा होला, त्यो बच्चालाई ठिक बनाएर उहाँले घर नि पठाउनु भयो होला तर लेखसँग तस्वीर अलि असम्बन्धित जस्तो लाग्यो।

उक्त लेखका प्रतिक्रियाहरुको बारेमा चर्चा गर्दा केहि प्रतिक्रियाहरु अति नै तल्लो स्तरमा गरिएका छन्। ती प्रतिक्रियाहरुको बारेमा म यति मात्रै भन्न चाहन्छु। मान्छेले अरु प्रति गर्ने बोली,व्यवहारले नै उसको स्तर निर्धारण गर्छ। हुन त आजभोलि हाम्रो देशमा जताततै तातो रिस पोख्ने चलन नै चलेको छ, शायद व्यवस्थाको अस्थिरताले गर्दा पनि हो की। त्यसैले पनि त्यस्तै खालका प्रतिक्रिया धेरै आएका र त्यस्तै प्रतिक्रियाहरुमा हरियो अंक ज्यादा भएको होला। तर पनि त्यसो भनेर आफ्नो मर्यादा र सभ्यता त छोड्न भएन नि।

अरु केही प्रतिक्रियाहरु पढ्दा धेरैमा केही गलत बुझाइ/मिसअन्डर स्ट्यान्डिङ भएको जस्तो लाग्यो। त्यसलाई मेटाउने प्रयास गर्दैछु।
१. छात्रवृतिमा पढेका चिकित्सकहरु दुर्गममा गएर काम गर्नबाट भाग्न खोज्छन्।
केहीको हकमा यो सत्य होला तर धेरैजसो यसलाई एउटा मौकाको रुपमा हेर्छन्। केहि सिक्ने, केहि अनुभव बटुल्न पाउने र देश देख्न पाउने एउटा सुनौलो मौका। कतिले यो दुई वर्षले भर्खरै एमबीबीएस सकेका चिकित्सकहरुमा परिपक्वता/म्याच्युरिटी ल्याउनलाई सहयोग गर्छ नि भन्छन्। त्यसैले उनीहरुको माग नि दुर्गममा काम गर्न जानु नपरोस् भन्ने कदापी होइन। बरु त्यहाँ बसुन्जेलसम्मको अवधीलाई बढि परिणाममुखी बनाउने भन्ने हो। ल्याब, एक्सरे लगायतका सुविधा, भिडियो एक्सरे जस्ता उपयोगी जाँचहरुको ट्रेनिङ र सुविधा आदी उपलब्द गराउने मागहरु हुन्।

२. अर्को माग भनेको एम डी पढाइका लागि केही सिटहरुको व्यवस्था गर्ने भन्ने हो।
धेरैजसोको प्रतिक्रियामा चिकित्सकहरुलाई सकेसम्म गाँउमा काम गर्न लगाएर सरकारले उसमाथि गरेको खर्च जसरी नि उठाउनु बुद्धिमानी हो र ठिक हो भनेको पाइयो। तर यसलाई यसरी सोचौं न। बरु २ वर्ष दुर्गममा काम गर्न लगाउने अनि त्यो अवधीमा उसले गरेका कामका आधारमा उच्च शिक्षाका लागि उसलाई थप सहयोग प्रदान गर्ने र भविष्यमा विशेषज्ञ/स्पेसलिस्टका रुपमा गाँउगाँउमा सेवा गर्न लगाउने। त्यसो गरे कसो होला? उहाँहरुको माग पनि त्यहि हो। ५-५ वर्ष एमबीबीएसको डिग्रीमा मात्र झुण्डिएर बसेर विरामी मात्रै हेर्यो भने त पढेका धेरै कुरा विर्सिन्छ किनकी साधारण ज्वरो र झाडापखालाका विरामी मात्र हेर्दा पढेको धेरैजसो कुरा प्रयोगमा आउँदैनन्। त्यसैले बरु २ वर्षको सेवा पछि एमडीको लागि सिटहरु दिने र भविष्यमा पनि पहिलेको जस्तै गाँउमा गएर सेवा गर्ने मन्जुरीनामा गर्ने। वास्तवमा लोकसेवा आयोगबाट सरकारी अस्पतालमा काम गरेका चिकित्सकहरुलाई यस्तो सुविधा छ तर छात्रवृतिमा पढेकाहरुलाई 'करारका डाक्टर' नाम दिएर यो सुविधाबाट बन्चित गरिएको छ।

३. छात्रवृतिमा पढेका सबै विषयका सबैलाई यो नियम एकै प्रकारले लाग्नुपर्ने हो।
देशका सबै नागरिकको देशप्रति जिम्मेवारी हुन्छ, तर छात्रवृतिमा पढेका कुनै पनि विषय माथि राज्यले थप लगानी गरेको हुनाले उसको राज्यप्रति थप जिम्मेवारी हुन आउँछ। यस्तोमा यो विषय उ विषय भन्ने हुनुहुदैंन भन्ने मेरो सोचाइ छ। त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गत छात्रवृति पाएर विभिन्न प्राइभेट मेडिकल कलेजहरुमा एमबीबीएस पढेका चिकित्सकहरुलाई मात्र होइन टिचिङ हस्पिटल महाराजगंज, वीपीकोस्वाविप्र धरानमा पढेका चिकित्सकहरुलाई पनि यस खालको नियम लागु हुनुपर्छ भन्ने मेरो सोचाइ छ। किनकि झट्ट सुन्दा मन्त्रालयबाट मात्रै छात्रवृतिमा पढेको जस्तो लाग्छ तर टिचिङ हस्पिटल, वीपीकोस्वाविप्रमा पनि पढ्दा त्यो वा त्यो भन्दा कम खर्छ लाग्छ र सरकारले उसमाथि नि उत्तिकै खर्छ गरेको हुन्छ। तर माथि भनेको जस्तो डाक्टर पठाउने नियम मात्र बनाएर जबरजस्ती लाद्ने होइन कि डाक्टरलाई सहयोगी र आवश्यक सुविधाहरु पनि गाँउगाँउमा पुर्याउनुपर्छ साथै उच्च शिक्षाका लागि सिटहरुको व्यवस्था गरिदिनुपर्छ।

कति साथीहरुले कमेन्ट गर्दा पुरा लेख पनि नपढि कमेन्ट गर्नुभए जस्तो लाग्यो। शायद व्यस्तताले हो वा कमेन्ट गर्ने हतारले हो। लेखको प्रतिकृयामा आएका चिकित्सा सेवाको व्यापारिकरण, चिकित्सकहरुबाट भएको लापर्वाही, बाटोमा एक्सिडेन्ट हुँदा सधैं गाडी र ड्राइभरकै दोस देखे जस्तै विरामीको मृत्‍युमा चिकित्सककै दोस, लापर्वाही देख्ने पुर्वाग्रही सोचाइ आदीको बारेमा अरु कुनै लेखहरुमा चर्चा गरौला। आजलाई यति नै।

बाँकी पढ्नुहोस् >>

Saturday, August 20, 2011

इसिजी र जिन्दगी (ECG & Life)


जिन्दगी भनेको आरोह अवरोहको अर्को नाम हो, परिवर्तनको अर्को संज्ञा हो। हरेक पलमा परिवर्तन भैरहेको हुन्छ। यो जीवनका बाटाहरुमा कहिले सुख आँउछ त कहिले दु:ख आउँछ। सुख आयो भनेर मात्तिनु र दु:ख पर्यो भनेर आत्तिनु हुदैंन। किनकी जिन्दगी यसैको अर्को नाम हो, जिन्दगीको मजा यसैमा छ।

केहि दिन अघि एक जना साथीको फेसबुक स्ट्याटसमा देखेको थिए, जिन्दगी भनेको इसिजी (ECG) जस्तै हो, माथितल वेभ आएको इसिजी नर्मल भएजस्तै उतार चढाव भएको जीवन सामान्य हो। उकाली ओराली भएन भने जसरी इसिजीले मानिसलाई मृत घोषित गर्छ, त्यसरी नै ती विनाको जीवन मृतप्रा:य हुन्छ।

एकदमै घत लाग्यो यो कुरा। हुन पनि हो, सामान्य व्यक्तिको इसिजीमा विभिन्न प्रकारका वेभहरु हुन्छन्, माथितल गरेका धर्काहरु हुन्छन्। ती मुटुमा भइरहेका विधुत्तीय तरंगका संकेतहरु हुन्।

सामान्य इसिजी यस्तो हुन्छ।


जिन्दगीका आरोह अवरोहका घटनाहरु जस्तै यसमा पनि एउटा निश्चित नियम अनुसार माथितल गर्दै वेभहरु आइरहेका हुन्छन्। यो ब्रम्हाण्डमा हरेक कुरालाई चलाउने नियम हुन्छ, जबसम्म त्यो कुरा आफ्नो नियममा चल्छ, त्यो सामान्य हुन्छ। नियम छोडेपछि त्यो बिग्रन थाल्छ, अधोगतितिर लाग्छ।

नियम बिगारेर चलिरहेका केहि इसिजीहरु:

यो भेन्ट्रिकुलर ट्याकिकारडिया (Ventricular tachycardia)हो।


यो भेन्ट्रिकुलर फिब्रीलेसन (Ventricular fibrillation) हो।


मुटुका भेन्ट्रिकलको जुनसुकै भागहरुबाट विधुतीय तरंगहरु उत्पन्न हुन थालेपछि (जुन सामान्य होइन) इसिजीमा यस्तो देखिन्छ। तत्काल डिसी सक (DC shock) दिएर मुटुका तरंगहरुलाई सामान्यमा फर्काउने उपचार गर्नुपर्ने हुन्छ।

यो हार्ट एट्याक (Heart attack) हुँदाको इसिजी हो।


यो एट्रियल फिब्रीलेसन (Atrial fibrillation) को इसिजी हो।


अन्त्यमा, यो चाँही मुटुमा केहि विधुतीय तरंग नहुदाँको स्थिती अर्थात मुटुले काम नगर्दाको अवस्था अर्थात् असिस्टोल (Asystole) हो।


कहि पढेको थिएँ, असिस्टोल भनेको सबैभन्दा स्टेबल/stable इसिजी वेभ हो अर्थात् असिस्टोल भनेको सबै उकाली ओरालीहरु चढेर थाकेर, आरोह अवरोह देखेर सन्तुष्ट भएर सधैंको लागि विस्राम गरेको मुटुको चाल हो, अझ भनौं मानिसको चाल हो।

यी माथिका भावनाहरु आज विहान विहानै इसिजी, मुटु र मानिसका जिन्दगीका भिन्नभिन्न चालहरु देखेर, त्यसका उपचार गर्ने प्रयास गरेर तर अन्त्यमा हार मानेर बस्दा मनमा उठेका हुन्।

बाँकी पढ्नुहोस् >>

Thursday, August 18, 2011

धर्मसंकट - भाग १


चिकित्सकको जीवन बाहिरबाट हेर्दा खेरी कति सजिलो, कति सुविधा सम्पन्न लाग्छ होला तपाईहरुलाई। चिल्लो गाडी, ठूलो बंगला, दिनकै हजारौंको कमाइ, अझ समाजमा सम्मान र सान पनि। तर बाहिरबाट हेर्दा जति सान, जति ऐस आरामको जिन्दगी देखे पनि उसको जीवन पनि साधारण मानिसको जस्तै चुनौतिहरुले भरिएको हुन्छ। साधारण जीवनमा जस्तै सयौं धर्मसंकटहरुको सामना गर्नुपर्छ। मेरो छोटो चिकित्सकरुपी जीवनका केहि धर्मसंकटहरुको बारेमा म यहाँ चर्चा गर्दैछु। यो यसको पहिलो भाग हो। 

विभिन्न थरीका कथा व्यथाहरु सुन्नु छ भने अस्पतालको आकस्मिक कक्षमा बस्नुपर्दोरहेछ, त्यो पनि अझ सरकारी अस्पतालको। गरीब, केही नभएका, कोही नभएका मानिसहरु ठूलाठूला रोगहरु लिएर आउने गर्छन्। हार्ट एट्याक, स्ट्रोक, क्यान्सर आदी आदी। यस्तो लाग्छ भगवानले नि उनिहरुलाई अझ दु:ख दिनका लागि यसो गरेका हुन्। उपचार त गर्नैपर्यो। तर के ले गर्ने उपचार। नेपाल सरकारले गरिबहरुका उपचारको लागि केहि थरिका औषधीहरु, भर्ना, जाँचका लागि सरकारी अस्पतालमा गरिने खर्चहरु सित्तैमा गरिने व्यवस्था नगरेको होइन। तर हाम्रो सरकारी अस्पतालहरुको अवस्था यति दयनिय छ कि साधारण खालका उपचार र जाँच बाहेक यहाँ केहि हुदैंनन्। बाजेको पालादेखिको सरकारी अस्पतालमा इमरजेन्सी भिडियो एक्सरे हुदैंन, सिटि स्क्यानको त मेसिनै छैन। सिटि स्क्यानको मेसिन भएको सरकारी अस्पताल त सायद वीर अस्पताल मात्रै हो की। त्यसको पनि हालत कति गएगुज्रेको छ भन्ने समाचार केहि दिन अघि एउटा राष्ट्रिय दैनिकमा आएको थियो। अनि त्यस्ता जाँचहरु गराउन या त नजिकैको प्राइभेट नर्सिङ होममा पठाउनुपर्छ, या त अति नै गरिब छन् भने विना ती जाँच सरकारको नि:शुल्क औषधी (प्राय: गरेर सलाइन पानी) दिएर राख्नुपर्छ।

चिकित्सकको हिसाबले चांहि के अफ्ठ्यारो पर्छ भने विरामीको उपचार राम्रो भईरहेको हुदैंन भन्ने थाहा हुन्छ, राम्रो उपचार गर्न के गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ, तर गर्न भने केहि सकिदैंन। अलिकति पैसाको बन्दोबस्त गर्न सके, त्यो जाँच गर्न सके, त्यो औषधी चलाउन सके विरामीको राम्रो उपचार हुन्थ्यो भन्ने हुन्छ, तर गर्न केहि सकिदैंन।

अस्ति भर्खरैको कुरा, पश्चिमतिरको एक जना महिला आफ्नो श्रीमानसँग देखाउनका लागि लामो दुरी पार गरेर आएकी थिइन्। जीउ सुन्निने, दुख्ने, आलस्य हुने, पेट दुख्ने जस्ता थुप्रै समस्याहरुका लागि उनले पहिले देखि नै थरीथरीका ठाँउको थरीथरीका औषधीहरु खाएकी रहिछिन्। तर अलिअलि ठिक हुने फेरी बल्झिने रे। अनि अहिले चाहिँ खाली औषधी मात्र लिएर जाने रे, जाँचहरु गर्न, भर्ना भएर बस्न पैसा छैन रे। १०-११ वर्ष अगाडी गलगाँडको अप्रेशन गरेर फालेको भनी घाउको दाग देखाएपछि भने मेरो दिमागमा हाइपो थाइरोइडिजम (Hypothyroidism) मात्रै घुमिरह्यो। लक्षणहरु लगभग धेरै मिल्छन्, शारीरिक जाँच गर्दा चांहि ठ्याक्कै भन्न गाह्रों थियो। थाइरोइड फङसन टेस्ट (Thyroid Function Test) गर्नु जरुरी थियो। तर समस्या थियो, पैसाको। नि:शुल्क गराँऊ भने सरकारी अस्पतालमा उक्त जाँच हफ्ताको एक पटक मात्रा हुने, त्यो पनि रिपोर्ट आउन कती दिन लाग्ने हो थाहा नहुने। केही दिन कुरेर जान्छ गरेर जानुस् भनौ भने कहाँ बस्ने, होटेलमा बस्ने पैसा नि हुनु पर्‍यो। बाहिर प्राइभेटमा गर्न लगाउ भने घर फर्कनलाई मात्र पैसा छ रे। औषधी दिउँ भने थाइरोइडको रगत जाँच नगरी दिन नमिल्ने। मलाई कस्तो धर्मसंकट... अनि गर्ने के त।

यो जाँच गर्न आवश्यक छ भनेर जति बुझाएपनि अन्त्यमा उनिहरुको एउटै कुरा हुन्थ्यो। अहिले औषधी मात्र लैजाने, त्यसले ठिक हुदैं गयो भने पछि पैसा मिलाएर जाँच गरौंला। अन्त्यमा मैले हार मानेर उपचार गर्न नसके पनि हानी चाँहि नपुर्याउनु भन्ने कुरालाई सम्झेर ग्यास्ट्राइटिसको लागि केहि औषधीहरु लेखेर पठाइदिएँ। घर फर्केपछि पनि मनमा चाहिँ चुकचुक लागि रह्यो। मैले राम्रोसँग सम्झाइन कि, केहि गरी त्यो टेष्ट गरेर रोग पत्ता लागेको भए उपचारले उनी पूरै ठिक हुन्थिन् कि, एउटा समस्याको लागि आएको विरामीलाई राम्रोसँग पत्ता नलगाई अर्कैको लागि औषधी लेखेर पठाएर केहि नराम्रो गरें कि आदि प्रश्नहरु मनमा खेलिरहे।

त्यस्तै अर्को प्रसंग पनि जोडौं।

बाहिर नर्सिङ होममा देखाएर आएको स्किजोफ्रेनिया (Schizophrenia) को विरामी भर्नाको लागि भनेर सरकारी अस्पतालको इमरजेन्सीमा आयो। (स्किजोफ्रेनिया कस्तो रोग हो भन्ने बारे यो लिन्कमा हेर्नु होला। http://en.wikipedia.org/wiki/Schizophrenia . यस्को बारेमा लेख अर्को समय लेखौला ) पाल्पाको दुर्गम गाँउतिरबाट आएको विरामी र उसको श्रीमानको लवाइ हेरेर नै अनुमान लगाउन सकिन्थ्यो, उनीहरु कति गरीब होलान् भनेर। विरामी जचाँउन सिधै सरकारी अस्पतालको ओपीडी नआएर कसरी उनीहरु महंगो नर्सिङ होम पुगे, त्यो मलाई थाहा भएन। चिकित्सकले त्यहाँ उनीहरुलाई कति पैसा बुझाउन लगाए, त्यो पनि मलाई थाहा भएन। तर भर्नाको लागि सरकारी अस्पताल जानु भन्दा "अस्पताल कता हो, हामीलाई त केहि थाहा छैन, कसैले बाटो देखाइदिनु" भन्दैथिए रे। धन्न त्यहि नर्सिङ होममा काम गर्ने एकजना महिलाले सरकारी अस्पतालसम्म पुर्याइदिन आएकी थिइन्। तर विडम्बना अस्पतालमा कहि कतै बेड खाली नभएको अवस्था थियो। अब गर्ने के त?? यता उता नजिकै आफन्तको घरमा बस्नु भनौं भने पनि कताकताको मान्छे चिनेजानेको कोहि पनि छैन। सँगै काम गर्ने दाईले भन्नुभयो, मानसिक रोगीलाई राखेर उपचार गर्ने फलानो संस्था छ, त्यहि पठाइदिउ। तर त्यहाँ पनि पैसा अलि बढि नै लाग्दो रहेछ। विचरा उनीहरुसँग त फर्कनलाई पनि बल्लबल्ल पुग्ने मात्रै पैसा रहेछ। २-३ हजार लिएर आएका रे, बाटोमा खाँदा बस्दा, नर्सिङ होममा औषधीमा खर्च भयो रे। एक महिनाको लागि औषधी किनेर घरै लानु न त भनेको, त्यो पैसाले औषधी किने घर कसरी फर्कने फेरी.. अब गर्ने के? अर्को धर्मसंकट... 

गर्न सकिने केहि थिएन तर म पछिल्लो पटकको जस्तो चुकचुकाउँदै बस्न पनि चाहन्नथें। त्यसैले एकछिन सोंचे र खल्तीबाट केहि पैसा निकालेर दिई "यसको एक महिनाको लागि पुग्ने औषधी किन्नुस् र बाँकि पैसा आफैंसँग राख्नुहोला" भनेर भने। त्यो बेलामा के गर्नु उपयुक्त हुन्थ्यो, मलाई थाहा भएन, तर मेरो तर्फबाट गर्न सकिने मैले गरेको थिएँ। म ठुलो समाज सेवी होइन वा कसैलाई देखाउनका लागि भनेर मैले त्यसो गरेको थिइन। मैले कुनै ठुलो काम गरे भनेर पनि भन्दिन। किनकी त्यसमा मेरो व्यक्तिगत स्वार्थ थियो। आफ्नै मनको सन्तुष्टिका लागि मैले त्यसो गरेको थिएँ।

तपाईंहरु मध्ये कतिलाई लाग्न सक्ला, यसले जाबो त्यति पैसा दे'को रहेछ के के न गरे भनेर सुनाउँदो रहेछ। हो, त्यो ठुलो सहयोग केहि थिएन, त्यसले उनीहरुको जीवनमा केहि परिवर्तन पनि नल्याउँला। तर मैले भन्न खोजेको के भने हामी मध्ये धेरैले यस्ता सानातिना सहयोगहरु गर्नसक्छौं। सहयोग गर्नका लागि गोजी हैन, मन चाहिन्छ। पैसाको समस्या सबैलाई हुन्छ, पैसा कसैलाई पनि पुगेको हुदैंन, तर सहयोग गर्ने मन छ भने धेरैथोरै निकाल्न सकिन्छ। उदाहरणका लागि तपाईं यदि हरेक शुक्रबार जस्तो सिनेमा हल पुग्नुहुन्छ भने एक हप्ता नजानुस्, १-२ सय त अवश्य बँच्छ। यदि हरेक विकइन्डमा साथीहरुसँग बस्नुहुन्छ भने एउटा विक इन्ड नबस्नुहोला, २-३ सय त अवश्य नै बचाँउन सकिन्छ। त्यस्तै २० हजारको मोबाइल किन्ने सोचाइ छ भने अलि कम्प्रोमाइज गर्नुहोस्, १५ हजारको किन्नुस्, ५ हजार त बचाउन सकियो नि। यस्ता सानातिना कुराहरुबाट पनि अलिअलि बचाउ गर्न सकिन्छ। यदि त्यसरी नि भएन भने आफ्नो वार्षिक आयको सीमित प्रतिशत दीनदु:खीहरुको लागि भनेर छुटट्याउन सकिन्छ। मुश्लिमहरुको धर्ममा नै त्यस्तो भनेको हुन्छ रे। त्यसैले सहयोग गर्नाको लागि गोजी दह्रों हैन, मन कमलो चाहिन्छ, सहयोगको भावना हुनुपर्छ। मन्दिर मन्दिर चाहार्दै देवीदेउताको पूजा गर्नु, बली चढाएर पाप पखाल्नुको साटो गरीब दु:खीहरुको लागि सानोतिनो सहयोग गर्नुहोस् र त्यसैमा आफ्नो मनको शान्ति पाँउनुहोस्। धार्मिक यज्ञहरुमा हजारौंको दान (धेरैजसो उधारोमा गर्छन् र आफ्नो नामको खोक्रो प्रचार गर्दै सम्मानको दोसल्ला ओढ्छन्) गरेर आफ्नो नाम माइकमा फुकाउनु भन्दा गरीब रोगीहरुको सेवामा लागेको सहि संस्था, व्यक्तिलाई सहयोग दिनुहोस्, त्यो उत्तम हुन्छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' कविताको लिङक छोड्दै यो लेखको अन्त्य गर्छु।
http://sanjaal.com/ganthan/562/articles/laxmi-prasad-devkota-yatri/
यी त भए एक खाले धर्मसंकटको कुरा। अर्को खालको धर्मसंकटको कुरा अर्को भागमा है।

बाँकी पढ्नुहोस् >>

Saturday, August 6, 2011

डिप्रेसन रोग (Depression)

साउदी अरब काम गर्न गएका २५ वर्षिय खड्बहादुरलाई राती निद्रा नपर्ने, मनमा अनेकौं कुरा खेल्ने गथ्र्यो। पेट पोल्ने, खानामा पटक्कै रुची नहुने गथ्र्यो। उनी त्यहाँ गएको दुई महिना भएको थियो। शरिर झमझम गर्न थाल्यो, आफुलाई हाँसखेल गर्न पटक्कै मन नहुने, काम गर्न जाँगर नहुने, दिनदिनै घरपरिवारको सम्झना आइरहने, बेलुकीपख चर्को टाउको दुख्ने गथ्र्यो। मन चिन्ताले पिडित हुन्थ्यो। दिन काट्न अत्यन्त गाह्रो हुन्थ्यो। विदेशमा एकछिन बस्ने मन हुन्थेन। आफुलाई अत्यन्त दुखी सम्झन्थे, उनी। उनले त्यहाँ उपचार गराउन खोजे पनि निको भएन र अहिले उनी स्वदेशमै आई उपचार गराईरहेका छन्। उनको यो समस्यालाई डिप्रेसन रोग (Depression) भनिन्छ। अहिले उनको स्वास्थ्य राम्रो भएको छ।


रोग पत्ता नलाग्दा यस्ता विरामीहरु अनेकौ औषधि पसल चार्हछन्। कतिपय बिरामी पुरानो उपचार धामीझांक्रि लगाउछन् जसवाट रोग त निको हुदैन बरु आवश्यक उपचार पाउन भने ढिला हुन्छ। नेपालमा डिप्रेसन रोगको मुख्य कारणहरुमा पारिवारिक कलह, कार्य असफल हुनु, श्रीमान बिदेशिनु, प्रेममा वियोग, आफन्त वा नजिकको मानिस मर्नु, बिदेशमा बस्नु, ब्यापारमा नोक्सानी, जागिर छाड्नु/जानु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनको असर आदि पर्दछन्। कतिपय डिप्रेसन रोगका विरामीहरुलाई निद्रा नपर्ने हुन्छ। डिप्रेसनका बिरामीहरु आत्तिने खालको सपना देख्छन्। धेरै डिप्रेसनका बिरामी आफुलाई असफल ठान्छन् र भविष्यप्रति निराशाबादी हुन्छन्। कोही यौन क्रियामा कमि भयो भन्ने समस्या लिई डाक्टरकहाँ आउँछन्। डिप्रेसन रोग हो भन्न डिप्रेसनका लक्षणहरु कम्तीमा २ हप्तासम्म रहनुपर्छ। विश्व स्वास्थ्य संगठनले डिप्रेसन जिवनकालमा पुरुषमा १५% र महिलामा २५% सम्म हुने बताएको छ। महिलामा डिप्रेसन बढी हुने खास कारण थाहा भएको छैन तर सहन सक्ने क्षमता महिलामा कम हुने भएकोले रोग बढी लागेको भन्ने अनुमान छ।


डिप्रेसन रोग परापूर्वकालदेखि देखिदैं आएको रोग हो । डिप्रेसन रोग धेरै मानिसमा पाइने रोग हो । डिप्रेसन रोग लागेको बिरामीलाई आफूलाई अर्कै रोग लागेको भान हुन्छ। पटक पटक उपचारको शिकायत गर्ने धेरै परिक्षण रगत एक्सरे आदि जाँच गर्ने तर रोग नभेटिने यो रोगमा केहि विरामी पिडा सहन नसकी आत्महत्या गर्ने गरेको पनि पाईएको छ। एकै पटक धेरै अंगको लक्षणहरु देखिने समस्या छ भने त्यो डिप्रेसन पनि हुनसक्छ।

डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन्। शारिरिक रोग जस्तै क्यान्सर, चिनीको रोग, थाइराइड ग्रन्थिको गडबडी तथा दिर्घ रोगीहरुमा पछि गएर डिप्रेसन रोग लाग्ने सम्भावना बढी रहन्छ।

डिप्रेसनका बिरामी एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन्। जस्तै परिक्षामा १ पटक फेल भएमा अब सधै फेल भइन्छ भनी आतिन्छन्, जुन गलत हो। कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाईबाट पिडित हुन्छन्। मनमा यस्ता सोचाई लिन्न भनेपनि ती सोचाइ आउनाले छटपटि महसुस गर्छन्। डिप्रेसनका बिरामीको मस्तिष्कको परिक्षण सि टि स्क्यान(CT scan), एम आर आई(MRI) गर्दा कुनै खरावी देखिदैन तर न्यूरोट्रान्समिटर (Neurotransmitter) को मात्रा जाँच, जुन अत्यन्त शुक्ष्म परिक्षण मानिन्छ र साधारणतया सम्भव पनि छैन, गर्दा सेरोटोनिन (Serotonin) तथा नरइपिनेफ्रिन (Nor-epinephrine) भन्ने केमिकल मस्तिष्कमा घटेको देखिन्छ।




डिप्रेसनका बिरामी रोगको कारण अनौठो लक्षण देखाउँदा कुटाई खाने, बोक्सीको आरोप पाउने गरिएको पनि भेटिएको छ। मानसिक रोगको झन्डै एक तिहाई हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफुलाई नसाको रोग लाग्यो भन्न रुचाउँछन तर आफु पागल बनिन्छ भन्ने ठूलो पिर उनीहरुमा हुन्छ। वास्तवमा यो रोग पागल हुनु भन्दा फरक हो र यो अर्को रोगमा परिणत हुदैन।

माथिको भनाईबाट के प्रष्ट हुन्छ भने डिप्रेसन रोग एक जटिल रोग हो। यस रोगका बिरामीहरुका लक्षणहरु एकै प्रकारका हुँदैनन्। उपचार गरे यो रोग निको हुन्छ। यो रोग पहिचान गर्न धेरै डाक्टरलाई गाह्रो हुन्छ किनकी प्राय: डाक्टरहरुले विरामीले जे समस्या भनेका छन्, त्यसै अंगको रोगको बारेमा मात्र सोच्छन् र विरामीहरु पनि प्राय: त्यहि अंगको वा रोगको विशेषज्ञलाई आफ्नै हिसावले देखाउने गर्छन्।

समुदायमा ५% मानिस डिप्रेसन रोगबाट पिडित छन्, जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हुदैंनन्। समुदायमा प्राय: सुनिने आत्महत्याकॊ घटनासँग कुनै न कुनै रुपमा डिप्रेसनको सम्बन्ध हुने गर्छ। डिप्रेसन रोगका विरामी नसा पोल्यो, नसा दुख्यो, नसा सड्कियो, नसा छिन्यो, रगत बिग्रियो, नशा झमझम ग-यो भन्दै अस्पतालअस्पताल धाँउने गर्छन्।



लक्षणहरु
क) २ हप्ता भन्दा बढी समयसम्म दिक्क लागि रहने।
ख) रुन मन लाग्ने निराशा हुने, hopeless, helpless र worthless महसुस गर्ने।
ग) एक्लै वस्न रुचाउने।
घ) झर्को लाग्ने, दिक्क मान्ने।
ङ) बोल्न मन नलाग्ने।
च) छटपटी हुने, छाती दुख्ने, पेट दुख्ने, हातखुट्टा झमझम गर्ने, पैतला पोल्ने, तालु पोल्ने, मुख सुक्ने। कति विरामीहरु विभिन्न प्रकारका अनौठा लक्षणहरु लिएर आउँने गर्छन्।
छ) आत्मग्लानी हुने।
ज) भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाई रहने।
झ) निदाउन गाह्रो हुने, निद्रा कम पर्ने, विहान चाँडै बिउझने।
 
ञ) खानामा रुचि नहुने ।
ट) शारीरिक सम्पर्क गर्न रुचि नहुने ।
ठ) आफुलाई बेकम्मा सम्झने । टाउको दुख्ने, फूर्ती नआउने ।
ड) मर्न पाए हुन्थ्यो भन्ने। कसैकसैले आत्महत्याको प्रयास पनि गर्छन् र सफल पनि हुन्छन्।
ढ) बारम्बार रुने ।
ण) शंका लाग्ने र कानमा आवाज आउने पनि कसैकसैमा पाइन्छ ।
यो रोग पटक पटक दोहरिन पनि सक्छ ।



डिप्रेसन रोग बिभिन्न किसिमका हुन्छन्
न्युरोटिक डिप्रेसन- यस्ता बिरामीहरु मलाई कस्तो रोग लाग्यो भनि चिन्ता गर्छन।
साइकोटिक डिप्रेसन- यस्ता बिरामीहरु अरु मानिसदेखि संका गर्ने गर्छन।
सेनाइल डिप्रेसन- बुढेसकालमा देखिने डिप्रेसनलाइ सेनाईल डिप्रेसन भनिन्छ। यस्ता बिरामीहरु प्राय: आत्महत्या गर्ने डर हुन्छ। एक्लै बोल्ने, एक्लै हाँस्ने पनि गर्न सक्छन्।
डिप्रेसन स्टूपर- यस्ता बिरामी अत्यन्त नचली नवोलि बस्छन्, कोहि बिरामीहरु त्यसरी बस्दा आँखामा आँसु बगाइरहन्छन्।
एजिटेटेड डिप्रेसन- यस्ता बिरामीहरु अत्यन्त छटपट गर्छन्। एक ठाउँमा बस्न सक्दैनन्। आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन्।
रेटार्डेड डिप्रेसन- यस्ता बिरामीहरु बहूत कम बोल्छन् र टोलाउने गर्छन्।
बच्चामा देखिने डिप्रेसन- बच्चामा दखिने डिप्रेसन केहि फरक हुन्छ। पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण लिई यस्ता बिरामी आउछन्।
बयस्कमा पाईने डिप्रेसन- यस्ता बिरामीहरु अनेक शारिरिक लक्षण लिइ पटक पटक डाक्टरकहाँ धाउछन्।
जाडो महिनामा पाईने डिप्रसन- केहि डिप्रेसन जाडो महिनामा मात्र देखापर्छ। यस्तो डिप्रसनलाई जाडो महिनामा पाउने डिप्रेसन भनिन्छ। रात लामो हुनाले मेलाटोनिन (Melatonin) भनिने हर्मोन गडबडी हुँदा यो देखिन्छ।
छोपिएको डिप्रेसन(Masked Depression)- यस्ता बिरामी बाहिरी रुपमा खुसि देखिन्छन् तर जब बिरामीको बारे हामी जानकारी लिन्छौ तव बिरामी रुने गर्छन।
दोहोरिएको डिप्रेसन(Recurrent Depression)-करिव ५०% बिरामीहरुमा डिप्रेसन रोग दोहोरिने सम्भावना रहन्छ। औषधी छुटाउने, बिरामीको घरायसि वातावरण राम्रो नहुनाले र कहिलेकाही औंषधी सेवन गर्दागदै पनि यस्तो हुन्छ।



विभिन्न कारणले गर्दा डिप्रेसन रोग लाग्दछ। 
वंशानुगत रुपमा सर्ने।
Neurotransmitter को गढबढी जस्तै- Dopamine, Serotonin र Norepinephrine।
मस्तिस्कमा कुनै खराबी वा रोग भएमा।
आमा बाबुबाट बाल्यवस्थामा टाढा रहनाले।
हर्मोनको गडबडी जस्तै थाइराइर्ड, एड्रिनल, ग्रोथ(Growth) हर्मोनको गडबडी भएमा।
लामो समय सम्म लाग्ने शारीरिक रोग लागेमा, जस्तै चिनिको रोग, मृगौलाको रोग आदि।
विरामी हुनु अघिको व्यक्तित्व।
तात्कालिन घटनाक्रम जस्तै नजिकको मानिस मर्नु, नोक्सानी हुने कुनै पनि घटना घट्नु।
पारिवारिक अस्वस्थ सम्बन्ध।
लागू पदार्थ सेवन गर्नाले।
गर्भवस्थामा संक्रमण भएर मस्तिष्कको वृद्धि रोकिनु।
समाजबाट टाढा रहनाले, बसाइ सर्नाले।



डिप्रेशन रोगका विरामीहरु कस्ता कस्ता समस्या लिएर आउछन्? 
विरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउंछन।
कतिपय विरमीहरु आफुलाई क्यान्सर लागेको शंका गर्छन।
कोही घांटिमा केहि अड्कियो भनी आत्तिन्छन।
कोही यौन अंगको समस्या, यौन क्रियामा कमी भएको बताउछन।
कोही विरामीहरु वारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउंछन।
कोही मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्दछन्।
कोही ढाड दुख्ने, जोर्नि दुख्ने समस्याको सिकायत गर्छन।
कोही खाना अपच हुने, पाचन शक्तिमा कमी आएको शिकायत गर्छन।
कोही काम्ने र बक्ने गर्छन र बोक्सी लागेको विस्वास गर्छन।
कोही अचानक वेहोस भएको बताउंछन।
डिप्रेशनका विरामी एक्लै शान्त ठांउमा बस्न रुचाउंछन। रेडियो सुन्ने, टिभि हेर्ने चाख हुदैन। बढि चिन्ता गरिरहने र आफ्नो जिवन देखि नै हरेस खाएका हुन्छन।



(यो लेखका लागि डा. सि पी सेढाईंलाई धेरैधेरै धन्यवाद। उहाँ हाल चितवन मेडिकल कलेज, भरतपुरमा मानसिक रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ।)

बाँकी पढ्नुहोस् >>