विश्वास भनेकै सबैभन्दा ठूलो कुरा रहेछ। हामीले उनको मनमा हाम्रो उपचार पद्दतिप्रति विश्वास दिलाउन सकेनौं, अनि उनी बरु धामीझाँक्रीलाई देखाउँछु भनेर अस्पतालबाट LAMA(Left Against Medical Advice) मा गइन्। त्यसमा उनको कुनै गल्ति छैन। उनको कुरा नि ठिकै हो नि, "औषधी गर्ने भनेको त ठिक हुनका लागि पो हो त, औषधी खाँदा झन च्याप्ने भएपछि के का लागि औषधी।" उनी केही दिन अघि खुट्टा दुख्ने, झमझमाउने र औंलाको टुप्पो कालो भएको समस्या लिएर अस्पताल आएकी थिइन्, औषधी गर्दागर्दै अस्पतालमै रहँदा उनको समस्या बढेर गयो। कैलेकाइ औषधी गर्दागर्दै पनि रोग बढ्नसक्छ, रोग र औषधीको लडाईंमा सधैं हामी जित्न सक्दैनौ भनेर उन्को चित्त बुझाउन सकेनौं।

उनी एलोप्याथिक उपचार पद्दतिमा विश्वासै नगर्ने पनि होइनन्। नभए त अस्पताल नै किन आउँथिन् र? तर हाम्रो उपचार गर्ने तरिका कस्तो छ भने हामी रोगका बारेमा धेरै कुरा गर्छौं, पढ्छौं, पढाउँछौं, रोग बोकेर आएको विरामीलाई भने बिर्सन्छौं। आफ्नो उपचार के भैरहेको छ, के कस्ता जाँचहरु भैरहेको हो, के रोगको शंका वा डायग्नोसिस भएर कस्ता प्रकारका औषधी चलिरहेका हुन्, यो रोगमा के कस्ता जटिलताहरु आउन सक्छन् जस्ता सबै खालका प्रश्नहरु विरामीका मनमा उठिरहेका हुन्छन्। चाहे त्यो उनीहरुले भनुन् या नभनुन्। यी सबै कौतुहलता मेटाएर रोग, उपचारका बारेमा सल्लाह गरेर समझदारी पो उपचार अगाडी बढ्नुपर्ने होइन र? अनि पो विरामीको पनि चित्त बुझ्छ र डाक्टरको पनि।
जानुभन्दा अघि उनले भनेका असन्तुष्टिहरु पनि यस्तै थिए। "दिनदिनै घोचेर रगत निकालेको निकाल्यै छ, यत्रा दिन औषधी खायो २० को १९ पनि भएन, के रोग हो पत्ता लगाउन नि सक्या होइन, के भैर'को हो नि भन्ने होइन, रोग झन झन बढेर ग'को छ। अनि किन अस्पताल बस्ने?"
मलाई एलोप्याथिक पद्दतिको यही कुराहरु मन पर्दैनन्।
हामी ठूलाठूला कुरा गर्छौं र जसका लागि यत्रो पढेको 'विरामी'लाई नै हामी बिर्सन्छौं। टाउको दुखेको विरामी आयो भने हामी सिटी स्क्यान गराउन भन्छौं न की उसलाई सान्त्वना दिएर हुनसक्ने कारणहरुबारे छलफल गर्छौं, वा उसको जिन्दगीमा आएका उतारचढावका बारेमा चर्चा गर्छौं, जुन उसको टाउको दुखाइको कारण हुनसक्छ। हामीलाई यस्ता कुरा गर्ने फुर्सदै हुदैंन। भएपनि हामीलाई यस्ता कुरा कसरी गर्ने, विरामीलाई काउन्सेलिङ कसरी गर्ने भनेर सिकाइएकै हुदैंन। हामीलाई त यस्ता समस्या वा रोग भएका विरामीलाई यो यो जाँच गर्ने, यो औषधी चलाउने भनेर मात्र पढाइन्छ। अनि हामी विरामीसँग त्यो जाँच गर्नका लागि पैसा छछैन, त्यो औषधी किन्दा उसले विहानबेलुकाको छाक काट्नुपर्ने पो हो कि भनेर सोध्नै बिर्सन्छौं।
अर्को कुरा भनेको हामी,
हाम्रो सेवा एकदमै महंगो हुन्छ। धामीले अलिकति चामल मन्छेर एउटा रातो भालेको भरमै रोग ठिक पारिदिन्छ भने को दिनदिनै आफूलाई ठूल्ठूला सूईले घोचाउन, महंगा औषधी खान अस्पताल धाओस्। उनीहरुको विश्वास जित्नसक्ने केही त कुरा हुनुपर्यो हामीमा पनि।
अनी फेरी धामीझाँक्री उनीहरुले बुझ्ने भाषामा कुरा गर्छन्, उनीहरु भूतप्रेत लागेको, कुलदेवता रिसाएको, ग्रह बिग्रेको कुरा गर्छन् र त्यसकै उपचार गर्छन्।
हाम्रो बोली विरामीहरुका लागि अर्कै दुनियाको जस्तो हुन्छ। हामी स्ट्रोक, हार्ट अट्याक, क्यान्सरका कुरा गर्छौं, जुन होला भनेर उनीहरुले कहिल्यै सुनेका र सोचेकै हुदैंनन्। अनि के आधारमा उनीहरुले हामीलाई विश्वास गर्ने? उनीहरुको लेभलमा रहेर उनीहरुले बुझ्ने भाषामा रोग र उपचारका बारेमा सल्लाह गरे पो उनीहरुको पनि चित्त बुझ्छ, होइन र?
केही दिन अघी मेरो एकजना डाक्टर साथीको आफन्त पर्ने पनि भर्ना भएकी थिइन्। जाँचको क्रममा फोक्सो, कलेजो जस्ता विभिन्न अंगहरुमा क्यान्सर फैलिएको पत्ता लाग्यो तर उपलब्द सबै किसिमका जाँच गर्दा पनि कुन अंगको क्यान्सर भन्ने चाँही पत्ता लगाउन सकिएन। अनि उनले हल्का व्यंगात्मक पारामा भने "के का लागि अस्पताल बस्ने भनेर हामीलाई आश देखाउन सक्नुपर्यो नि, यो गरियो, यो बाँकी छ, यसबाट यस्तो पत्ता लाग्नसक्छ, विरामीको लागि यो फाइदा छ भनेर हामीलाई विश्वास दिलाउनसक्नुपर्यो नि, अनि पो अस्पताल बसिन्छ, नत्र किन बस्ने?" मैले भने "त्यो त आइडियल कन्डिसन हो साथी।" साँच्चै नै हुनुपर्ने त त्यस्तो हो। हामी पढेको, बुझेको मान्छेले विश्वास दिलाउनका लागि च्यालेन्ज गर्दा त दिन सक्दैनौं भने नबुझ्ने विरामीहरुको त के हालत होला? हुन नि हो, विरामी र विरामीको परिवारको विश्वास जित्न नसकी तपाईं कसरी उपचार शुरु गर्नुहुन्छ? त्यो त उपचारको पहिलो कदम हो। तर हाम्रा अस्पतालहरुमा (विशेषगरी सरकारी अस्पतालहरुमा) "राख्न मन भए राख्नुस्, नत्र हामीलाई के को टाउको दुखाई" भन्या जस्तो व्यवहार गरिन्छ।
अँ, उनी भन्दैथिइन् "बरु केइ लागुसागु पो लागेको हो की, त्यस्तो भ'को हो भने औषधीले काम गर्दैन, बरु म धामीझाक्रीलाई पनि देखाउँछु।" उनको कुरा पनि ठिकै हो, औषधीले काम पनि गरिरहेको छैन, कसैले यसले काम गर्छ भनेर विश्वास पनि दिलाउन सकेको छैन भने के का लागि यो महंगो औषधीको मात्र भर परेर बस्ने? हामीले विरामीहरुको राम्रो गर्ननसकेको अवस्था, अनि विश्वास पनि जित्न नसकेको बेलामा आफ्नै एलोप्याथिक पद्धतिको फुँइ मात्र लगाइरहनु पनि उचित हुदैंन। उनीहरुलाई आफ्नो इच्छा अनुसारको अल्टरनेटिभ उपाय अपनाउन दिनुपर्छ। तर यो अलि फरक अवस्था थियो। रिपोर्टहरुमा खासै खराबी नदेखिए पनि रोग लगभग निश्चितै थियो। फैलन सक्ने पूरापूर सम्भावना भएको रोगको विरामीको पनि 'मात्र विश्वास' जित्न नसकेर उपचार गर्न नपाइएकोमा भने थकथकी लागीरह्यो। अनि थाहा भयो, विश्वास जित्नु भनेको कति ठूलो कुरा रहेछ भनेर।