Thursday, August 18, 2011

धर्मसंकट - भाग १


चिकित्सकको जीवन बाहिरबाट हेर्दा खेरी कति सजिलो, कति सुविधा सम्पन्न लाग्छ होला तपाईहरुलाई। चिल्लो गाडी, ठूलो बंगला, दिनकै हजारौंको कमाइ, अझ समाजमा सम्मान र सान पनि। तर बाहिरबाट हेर्दा जति सान, जति ऐस आरामको जिन्दगी देखे पनि उसको जीवन पनि साधारण मानिसको जस्तै चुनौतिहरुले भरिएको हुन्छ। साधारण जीवनमा जस्तै सयौं धर्मसंकटहरुको सामना गर्नुपर्छ। मेरो छोटो चिकित्सकरुपी जीवनका केहि धर्मसंकटहरुको बारेमा म यहाँ चर्चा गर्दैछु। यो यसको पहिलो भाग हो। 

विभिन्न थरीका कथा व्यथाहरु सुन्नु छ भने अस्पतालको आकस्मिक कक्षमा बस्नुपर्दोरहेछ, त्यो पनि अझ सरकारी अस्पतालको। गरीब, केही नभएका, कोही नभएका मानिसहरु ठूलाठूला रोगहरु लिएर आउने गर्छन्। हार्ट एट्याक, स्ट्रोक, क्यान्सर आदी आदी। यस्तो लाग्छ भगवानले नि उनिहरुलाई अझ दु:ख दिनका लागि यसो गरेका हुन्। उपचार त गर्नैपर्यो। तर के ले गर्ने उपचार। नेपाल सरकारले गरिबहरुका उपचारको लागि केहि थरिका औषधीहरु, भर्ना, जाँचका लागि सरकारी अस्पतालमा गरिने खर्चहरु सित्तैमा गरिने व्यवस्था नगरेको होइन। तर हाम्रो सरकारी अस्पतालहरुको अवस्था यति दयनिय छ कि साधारण खालका उपचार र जाँच बाहेक यहाँ केहि हुदैंनन्। बाजेको पालादेखिको सरकारी अस्पतालमा इमरजेन्सी भिडियो एक्सरे हुदैंन, सिटि स्क्यानको त मेसिनै छैन। सिटि स्क्यानको मेसिन भएको सरकारी अस्पताल त सायद वीर अस्पताल मात्रै हो की। त्यसको पनि हालत कति गएगुज्रेको छ भन्ने समाचार केहि दिन अघि एउटा राष्ट्रिय दैनिकमा आएको थियो। अनि त्यस्ता जाँचहरु गराउन या त नजिकैको प्राइभेट नर्सिङ होममा पठाउनुपर्छ, या त अति नै गरिब छन् भने विना ती जाँच सरकारको नि:शुल्क औषधी (प्राय: गरेर सलाइन पानी) दिएर राख्नुपर्छ।

चिकित्सकको हिसाबले चांहि के अफ्ठ्यारो पर्छ भने विरामीको उपचार राम्रो भईरहेको हुदैंन भन्ने थाहा हुन्छ, राम्रो उपचार गर्न के गर्नुपर्छ भन्ने पनि थाहा हुन्छ, तर गर्न भने केहि सकिदैंन। अलिकति पैसाको बन्दोबस्त गर्न सके, त्यो जाँच गर्न सके, त्यो औषधी चलाउन सके विरामीको राम्रो उपचार हुन्थ्यो भन्ने हुन्छ, तर गर्न केहि सकिदैंन।

अस्ति भर्खरैको कुरा, पश्चिमतिरको एक जना महिला आफ्नो श्रीमानसँग देखाउनका लागि लामो दुरी पार गरेर आएकी थिइन्। जीउ सुन्निने, दुख्ने, आलस्य हुने, पेट दुख्ने जस्ता थुप्रै समस्याहरुका लागि उनले पहिले देखि नै थरीथरीका ठाँउको थरीथरीका औषधीहरु खाएकी रहिछिन्। तर अलिअलि ठिक हुने फेरी बल्झिने रे। अनि अहिले चाहिँ खाली औषधी मात्र लिएर जाने रे, जाँचहरु गर्न, भर्ना भएर बस्न पैसा छैन रे। १०-११ वर्ष अगाडी गलगाँडको अप्रेशन गरेर फालेको भनी घाउको दाग देखाएपछि भने मेरो दिमागमा हाइपो थाइरोइडिजम (Hypothyroidism) मात्रै घुमिरह्यो। लक्षणहरु लगभग धेरै मिल्छन्, शारीरिक जाँच गर्दा चांहि ठ्याक्कै भन्न गाह्रों थियो। थाइरोइड फङसन टेस्ट (Thyroid Function Test) गर्नु जरुरी थियो। तर समस्या थियो, पैसाको। नि:शुल्क गराँऊ भने सरकारी अस्पतालमा उक्त जाँच हफ्ताको एक पटक मात्रा हुने, त्यो पनि रिपोर्ट आउन कती दिन लाग्ने हो थाहा नहुने। केही दिन कुरेर जान्छ गरेर जानुस् भनौ भने कहाँ बस्ने, होटेलमा बस्ने पैसा नि हुनु पर्‍यो। बाहिर प्राइभेटमा गर्न लगाउ भने घर फर्कनलाई मात्र पैसा छ रे। औषधी दिउँ भने थाइरोइडको रगत जाँच नगरी दिन नमिल्ने। मलाई कस्तो धर्मसंकट... अनि गर्ने के त।

यो जाँच गर्न आवश्यक छ भनेर जति बुझाएपनि अन्त्यमा उनिहरुको एउटै कुरा हुन्थ्यो। अहिले औषधी मात्र लैजाने, त्यसले ठिक हुदैं गयो भने पछि पैसा मिलाएर जाँच गरौंला। अन्त्यमा मैले हार मानेर उपचार गर्न नसके पनि हानी चाँहि नपुर्याउनु भन्ने कुरालाई सम्झेर ग्यास्ट्राइटिसको लागि केहि औषधीहरु लेखेर पठाइदिएँ। घर फर्केपछि पनि मनमा चाहिँ चुकचुक लागि रह्यो। मैले राम्रोसँग सम्झाइन कि, केहि गरी त्यो टेष्ट गरेर रोग पत्ता लागेको भए उपचारले उनी पूरै ठिक हुन्थिन् कि, एउटा समस्याको लागि आएको विरामीलाई राम्रोसँग पत्ता नलगाई अर्कैको लागि औषधी लेखेर पठाएर केहि नराम्रो गरें कि आदि प्रश्नहरु मनमा खेलिरहे।

त्यस्तै अर्को प्रसंग पनि जोडौं।

बाहिर नर्सिङ होममा देखाएर आएको स्किजोफ्रेनिया (Schizophrenia) को विरामी भर्नाको लागि भनेर सरकारी अस्पतालको इमरजेन्सीमा आयो। (स्किजोफ्रेनिया कस्तो रोग हो भन्ने बारे यो लिन्कमा हेर्नु होला। http://en.wikipedia.org/wiki/Schizophrenia . यस्को बारेमा लेख अर्को समय लेखौला ) पाल्पाको दुर्गम गाँउतिरबाट आएको विरामी र उसको श्रीमानको लवाइ हेरेर नै अनुमान लगाउन सकिन्थ्यो, उनीहरु कति गरीब होलान् भनेर। विरामी जचाँउन सिधै सरकारी अस्पतालको ओपीडी नआएर कसरी उनीहरु महंगो नर्सिङ होम पुगे, त्यो मलाई थाहा भएन। चिकित्सकले त्यहाँ उनीहरुलाई कति पैसा बुझाउन लगाए, त्यो पनि मलाई थाहा भएन। तर भर्नाको लागि सरकारी अस्पताल जानु भन्दा "अस्पताल कता हो, हामीलाई त केहि थाहा छैन, कसैले बाटो देखाइदिनु" भन्दैथिए रे। धन्न त्यहि नर्सिङ होममा काम गर्ने एकजना महिलाले सरकारी अस्पतालसम्म पुर्याइदिन आएकी थिइन्। तर विडम्बना अस्पतालमा कहि कतै बेड खाली नभएको अवस्था थियो। अब गर्ने के त?? यता उता नजिकै आफन्तको घरमा बस्नु भनौं भने पनि कताकताको मान्छे चिनेजानेको कोहि पनि छैन। सँगै काम गर्ने दाईले भन्नुभयो, मानसिक रोगीलाई राखेर उपचार गर्ने फलानो संस्था छ, त्यहि पठाइदिउ। तर त्यहाँ पनि पैसा अलि बढि नै लाग्दो रहेछ। विचरा उनीहरुसँग त फर्कनलाई पनि बल्लबल्ल पुग्ने मात्रै पैसा रहेछ। २-३ हजार लिएर आएका रे, बाटोमा खाँदा बस्दा, नर्सिङ होममा औषधीमा खर्च भयो रे। एक महिनाको लागि औषधी किनेर घरै लानु न त भनेको, त्यो पैसाले औषधी किने घर कसरी फर्कने फेरी.. अब गर्ने के? अर्को धर्मसंकट... 

गर्न सकिने केहि थिएन तर म पछिल्लो पटकको जस्तो चुकचुकाउँदै बस्न पनि चाहन्नथें। त्यसैले एकछिन सोंचे र खल्तीबाट केहि पैसा निकालेर दिई "यसको एक महिनाको लागि पुग्ने औषधी किन्नुस् र बाँकि पैसा आफैंसँग राख्नुहोला" भनेर भने। त्यो बेलामा के गर्नु उपयुक्त हुन्थ्यो, मलाई थाहा भएन, तर मेरो तर्फबाट गर्न सकिने मैले गरेको थिएँ। म ठुलो समाज सेवी होइन वा कसैलाई देखाउनका लागि भनेर मैले त्यसो गरेको थिइन। मैले कुनै ठुलो काम गरे भनेर पनि भन्दिन। किनकी त्यसमा मेरो व्यक्तिगत स्वार्थ थियो। आफ्नै मनको सन्तुष्टिका लागि मैले त्यसो गरेको थिएँ।

तपाईंहरु मध्ये कतिलाई लाग्न सक्ला, यसले जाबो त्यति पैसा दे'को रहेछ के के न गरे भनेर सुनाउँदो रहेछ। हो, त्यो ठुलो सहयोग केहि थिएन, त्यसले उनीहरुको जीवनमा केहि परिवर्तन पनि नल्याउँला। तर मैले भन्न खोजेको के भने हामी मध्ये धेरैले यस्ता सानातिना सहयोगहरु गर्नसक्छौं। सहयोग गर्नका लागि गोजी हैन, मन चाहिन्छ। पैसाको समस्या सबैलाई हुन्छ, पैसा कसैलाई पनि पुगेको हुदैंन, तर सहयोग गर्ने मन छ भने धेरैथोरै निकाल्न सकिन्छ। उदाहरणका लागि तपाईं यदि हरेक शुक्रबार जस्तो सिनेमा हल पुग्नुहुन्छ भने एक हप्ता नजानुस्, १-२ सय त अवश्य बँच्छ। यदि हरेक विकइन्डमा साथीहरुसँग बस्नुहुन्छ भने एउटा विक इन्ड नबस्नुहोला, २-३ सय त अवश्य नै बचाँउन सकिन्छ। त्यस्तै २० हजारको मोबाइल किन्ने सोचाइ छ भने अलि कम्प्रोमाइज गर्नुहोस्, १५ हजारको किन्नुस्, ५ हजार त बचाउन सकियो नि। यस्ता सानातिना कुराहरुबाट पनि अलिअलि बचाउ गर्न सकिन्छ। यदि त्यसरी नि भएन भने आफ्नो वार्षिक आयको सीमित प्रतिशत दीनदु:खीहरुको लागि भनेर छुटट्याउन सकिन्छ। मुश्लिमहरुको धर्ममा नै त्यस्तो भनेको हुन्छ रे। त्यसैले सहयोग गर्नाको लागि गोजी दह्रों हैन, मन कमलो चाहिन्छ, सहयोगको भावना हुनुपर्छ। मन्दिर मन्दिर चाहार्दै देवीदेउताको पूजा गर्नु, बली चढाएर पाप पखाल्नुको साटो गरीब दु:खीहरुको लागि सानोतिनो सहयोग गर्नुहोस् र त्यसैमा आफ्नो मनको शान्ति पाँउनुहोस्। धार्मिक यज्ञहरुमा हजारौंको दान (धेरैजसो उधारोमा गर्छन् र आफ्नो नामको खोक्रो प्रचार गर्दै सम्मानको दोसल्ला ओढ्छन्) गरेर आफ्नो नाम माइकमा फुकाउनु भन्दा गरीब रोगीहरुको सेवामा लागेको सहि संस्था, व्यक्तिलाई सहयोग दिनुहोस्, त्यो उत्तम हुन्छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' कविताको लिङक छोड्दै यो लेखको अन्त्य गर्छु।
http://sanjaal.com/ganthan/562/articles/laxmi-prasad-devkota-yatri/
यी त भए एक खाले धर्मसंकटको कुरा। अर्को खालको धर्मसंकटको कुरा अर्को भागमा है।

6 comments:

  1. great dr samir.oh my god dr haru laai ta jhan thulo dharma sankat po hune rahe6.thank you for sharing dr samir.you are great.maina pradhan

    ReplyDelete
  2. गोविन्द शर्माSeptember 6, 2011 at 8:32 PM

    डाक्टर साब नमस्कार
    म एक स्वास्थ्य छेत्रमा ३२ वर्ष बिताईसकेको तर साधारण स्वाथ्यकर्मी परें अत:तपाई जस्तो निष्ठावान डाक्टर कमै देखेको छु यसरि ज्ञान र अनुभब बाँड्नु भएकोमा यहाँलाई धेरै धेरै साधुबाद टक्र्याउन चाहन्छु... धन्यवाद||

    ReplyDelete
  3. गोविन्द जी नमस्कार,
    प्रशंशाको लागि धन्यवाद। मानिस साधारण वा असाधारण भन्दा पनि सबैले आफ्नो कर्म गर्ने हो। तपाईंहरु गाउँगाउँ(डाक्टर नपुग्ने ठाउँहरुमा)पुगेर जुन सेवा गर्नुहुन्छ, त्यो निकै नै प्रश्न्सनीय छ। तपाईंको स्वास्थ्य क्षेत्रको लामो अनुभवबाट केही बाढ्न चाहनुहुन्छ भने यो ब्लगमा तपाईंलाई स्वागत छ।

    ReplyDelete