Saturday, December 14, 2013

महिनावारी के हो? किन र कसरी हुन्छ? All about menstruation.

हिनावारी वा मासिकस्राव महिलाहरुमा हुने एउटा नियमित प्रकृया हो। महिलाहरु प्रजनन कृयाको लागि शारीरिक रूपमा सक्षम रहेको यो एउटा संकेत पनि हो। यस्लाई ठेट नेपाली भाषामा 'नछुने हुने' भनिन्छ, जस्को सिधा अर्थले भने झै यो हुने बेलामा महिलालाई भान्छामा छिर्न नदिने, अरुबाट टाढा राख्ने कतिपय ठाँउमा छुट्टै झुपडीमा बस्नुपर्ने (छाउपडी)चलन हाम्रो समाजमा अझै छ। साथै यस्तो बेला पूजा गर्न नदिने, धार्मिक कार्यमा भाग लिन नदिने त्यसो गरे अपशकुन हुन्छ, भगवान रिसाउछन् भन्ने नि गरिन्छ। कतिले यस्तो बेलामा पूजाआजा, व्रतमा बस्न नमिल्ने भनेर त्यसैको लागि औषधी खाएर महिनावारी पछाडि सार्ने पनि गर्छन्। हाम्रा धर्महरुले जसको कारणले हाम्रो समाजले पनि महिलाहरुमा हुने यो एकदमै सामान्य शारीरिक प्रकृयालाई अझै सामान्यरुपमा लिईसकेको देखिदैन। स्वयम् महिलाहरुले पनि प्रजनन शिक्षाको कमिले गर्दा यस्लाई सजिलोरुपमा लिन सकिरहेका हुँदैनन्।

मासिकस्राव वा ‘महिनावारी हुनु’ भनेको महिलाको बाहिरी प्रजनन अङ योनीबाट लगभग हरेक २८दिनमा ३-५दिनसम्मको लागि रगत बग्ने प्रकृया हो। महिनावारी शुरु हुने उमेर(१३-१४वर्ष) Menarche र महिनावारी रोकिने उमेर(४५-५५वर्ष) Menopauseको वरीपरीका केही वर्षहरुमा यो चक्र केही अनियमित हुनु सामान्य मानिन्छ नभए बीचका अवधीमा सामान्य अवस्थामा यो चक्र एकदमै नियमित हुन्छ।

वास्तवमा भन्ने हो भने महिलाहरुको प्रजनन उमेर (लगभग१३-५५ वर्षको उमेर) यही चक्रमा घुमेको हुन्छ, जुन प्राय: २८दिनको हुन्छ। यो किन कसरी हुन्छ भनेर सरल भाषामा जान्ने प्रयास गरौं। यसको लागि पहिले यो बुझ्न चाहिने केही शब्दहरु तिनका अर्थ जानौं।


  • महिलाहरुको शरीरमा मुख्य दुई महिला हर्मोन वा केमिकल बन्ने गर्छ; एस्ट्रोजन (Estrogen) प्रोजेस्टेरोन (Progesterone)
  • मस्तिष्कको तल्लो भागमा रहने पिट्युटरी (Pituitary) ग्रन्थीबाट निस्कने अर्को दुई हर्मोन; एल एच (LH- Luteinizing Hormone) एफ एस एच् (FSH- Follicle Stimulating Hormone) 
  • महिलाको भित्री प्रजनन अङ्हरु; पाठेघर(Uterus) डिम्बाशय(Ovary)
डिम्बाशय, जसबाट हरेक महिनावारीको लगभग मध्यभागमा एउटा डिम्ब(Ovum) निस्कने गर्छ।
पाठेघर, जस्मा डिम्बाशयबाट निस्किएको डिम्ब गएर फर्टिलाइजेसनको लागि शुक्रकिट(sperm)को प्रतिक्षामा १२-२४घण्टासम्म रहन्छ केही गरी फर्टिलाइजेसन भएमा त्यसलाई हुर्काउने बढाउने गरेर भ्रुण बनाउने काम हुन्छ।

  • फर्टिलाइजेसन(Fertilisation) भनेको डिम्ब शुक्रकिट मिलेर जाइगोट भ्रुण बन्ने प्रकृया हो।

अब महिनावारी चक्रको कुरा गरौं।

रगत बग्न शुरु गर्ने दिनलाई पहिलो दिन मानेर यो चक्र प्राय: २८ दिनको हुन्छ। यसलाई दुई भागमा बाढ्न सकिन्छ। यसको मध्य भागतिर डिम्बाशयबाट डिम्ब निस्कन्छ, जस्लाई ओभ्युलेसन(Ovulation) भनिन्छ, यस्लाई आधार मानेर यो अवधीलाई दुई भाग लगाउन सकिन्छ। ओभ्युलेसनभन्दा अघिको अवधी फोलिक्युलर अवधी(Follicular phase) ओभ्युलेसनभन्दा पछीको अवधी लुटियल अवधी(Luteal phase)

नयाँ चक्रको शुरुवातसँगै पिट्युटरी ग्रन्थिबाट निस्कने एफ एस् एच्(FSH) हर्मोनको प्रभावले गर्दा डिम्बाशयमा रहेका डिम्ब बन्ने खालका कोषहरु विस्तारै विकसित हुँदै फोल्लिकल(follicle)बन्छन्। यी केही फोल्लिकलहरु मध्ये हरेक चक्रमा एउटा मात्र फोल्लिकल डिम्ब बन्नको लागि छानिन्छ, जुन अझै विकसित हुँदै ग्राफियन फोल्लिकल(Graffian follicle)बन्छ। यो ग्राफियन् फोल्लिकलले एस्ट्रोजन हर्मोन बनाउछ, जसले पाठेघरको भित्री तह इन्डोमेट्रियम(Endometrium)लाई कोषहरुको तह थपेर बाक्लो बनाउने, रक्तनलिहरु बढाएर रगतको साथमा अक्सिजन, पोषण पुर्याउने काम गर्छ। जती दिनहरु बित्दै जान्छ त्यती ग्राफियन फोल्लिकल ठुलो हुँदै जान्छ(२०-२६मीमीसम्म), त्यस्ले निकाल्ने एस्ट्रोजन हर्मोनको मात्रा शरीरमा बढ्दै जान्छ उक्त हर्मोनको प्रभावले पाठेघरको भित्री तह नि बाक्लो हुँदैजान्छ।

यो अवधीभर एस्ट्रोजन हर्मोनले पिट्युटरीबाट हुने एल एच्(LH) हर्मोनको उत्पादनलाई नेगेटिभ फिड्ब्याक दिएर दबाएर राखेको हुन्छ। यो चक्रको लगभग बीचमा पुगेपछी, ग्राफियन् फोल्लिकल पूर्ण विकसित भैसकेपछि अचानक एउटा परिवर्तन हुन्छ, जसले गर्दा एस्ट्रोजन हर्मोनले यसअधी नेगेटिभ फिड्ब्याक गरेको दबाएको एल एच्(LH) को उत्पादनलाई अबबाट पोजिटिभ फिड्ब्याक दिएर बढाउन पो थाल्छ। यो पोजिटिभ फिड्ब्याकको कारणले यो बेला महिलाको शरीरमा एल एच्(LH) हर्मोनको मात्रा १० गुणासम्म बढ्नेगर्छ। यो प्रकृयालाई मिड साइकल एल एच् सर्ज(Midcycle LH surge) भनिन्छ। यो एउटा महत्वपूर्ण प्रकृया हो, यसको लगभग ३६ घण्टापछी डिम्बाशयमा विकसित ग्राफियन फोल्लिकल फुटेर डिम्ब निस्कन्छ। यसरी निस्किएको डिम्ब फेलोपियन ट्युब(Fallopian tube)को बाटो भएर पाठेघरको भित्री भागमा गएर बस्छ। यो बेलामा अर्को परिवर्तन पनि हुन्छ, डिम्ब निकिएपछी बाँकी रहेको ग्राफियन् फोल्लिकल, जस्लाई अब कर्पस लुटियम(Corpus luteum)भनिन्छ, बाट एस्ट्रोजनको सट्टा अर्को महिला हर्मोन प्रोजेस्टेरोन (progesterone) हर्मोन धेरै निस्कन थाल्छ। यही विन्दुबाट महिनावारीको अर्को भाग लुटियल अवधी(Luteal phase)पनि शुरु हुन्छ।

यस्पछी केही दिनसम्म लगातार बढीरहने प्रोजेस्टेरोन हर्मोनले गर्दा पाठेघरको भित्री भागलाई झन बाक्लो हुने, त्यस्मा ग्रन्थिहरु बढ्दै जाने, त्यसका रक्तनलिहरु लामो तर घुमाउरा हुँदै जाने हुन्छ। यो सबै परिवर्तनको कारण पाठेघर डिम्ब शुक्रकिट मिलेर बन्ने जाइगोट(zygote)लाई बचाउन विकास गर्न तयार भैरहेको हुन्छ। साथै प्रोजेस्टेरोन हर्मोनले पिट्युटरी ग्रन्थीलाई अरु एल एच्(LH) हर्मोन बनाउनबाट पनि रोक्छ, जस्ले गर्दा शरीरमा एल एच् हर्मोनको मात्रा एक्कासी घट्न शुरु हुन्छ। यदी डिम्ब शुक्रकिट बीच मिलन (फर्टिलाइजेसन) हुनसकेन भने प्रोजेस्टेरोन हर्मोन बनाइरहेको कर्पस लुटियम मर्दै जान्छ प्रोजेस्टेरोन एस्ट्रोजन दुवै हर्मोनको मात्रा पनि घट्न थाल्छ।

यसरी घट्दै गएको हर्मोनको कारणले कोषहरु थुप्रिएर, रक्तनलीहरु बढेर, पोषक तत्व थुप्रिएर बाक्लो भएर बसेको पाठेघरको भित्री भागमा परिवर्तन देखिन थाल्छ, विस्तारै रक्तनलीहरु खुम्चिएर मर्न थाल्छन्, अरु कोषहरु पनि मर्न थाल्छन् र रक्तस्रावको रुपमा ती सबै कुरा बाहिर आउछन्। यसैलाई नै महिनावारी भएको भनिन्छ। हरेक महिना महिलाहरुमा हुने हर्मोनहरुको उतारचढाव, पाठेघर, डिम्बाशयमा हुने परिवर्तन, महिनावारीको चक्रमा हुने परिवर्तनहरुमा यो एउटा मात्रै बाहिरबाट देख्न सकिने प्रकृया हो। यो बेलामा लगभग ३-५दिनसम्म ५०-२००मिलीसम्म रगत बग्ने गर्छ। यसरी एउटा चक्र सकिएपछी महिलाहरुमा हर्मोनहरुको मात्राको, डिम्बाशयभित्रको, पाठेघरको भित्री सतहको अर्को नयाँ चक्र फेरी शुरु हुन्छ।


यति थाहा पाइसकेपछी महिनावारी महिलाहरुमा हुने एउटा एकदम नियमित शारीरिक प्रकृया हो भनेर बुझ्न गार्हो नपर्ला। यो बेलामा हुने हर्मोनको उतारचढावका कारणले उनिहरुमा केही शारीरिक तथा मानसिक परिवर्तन देखिने, रगत बाहिर निस्कदा पाठेघर खुम्चने कारणले पेट दुख्ने, ढाड दुख्ने, कमजोरी महसुस हुने हुनसक्छ। यस्तो बेलामा छि: छि: गरेर छुट्याउने, पर एक्लै राख्ने, छाउपडीमा राख्ने भन्दा सरसफाइमा ध्यान दिन लगाउने, माया, सहयोग गर्ने, पौष्टिक खान दिने गर्नुपर्छ। 

यस बारे अझ राम्ररी बुझ्न युट्युबका यी भिडियोहरु हेर्नसक्नुहुन्छ। 
1. Ovulation and menstrual cycle

2. Ovulation

बाँकी पढ्नुहोस् >>

Saturday, November 23, 2013

प्लास्टिक सर्जरी एक प्रकारको आर्ट हो।


- डा. बुद्धिनाथ अधिकारी, एमएस, एमसिएच (प्लास्टिक सर्जरी)

बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट एमबिबिएस र जेनेरल सर्जरीमा एमएस गरेर हालै मात्र टिचिङ अस्पताल महाराजगन्जबाट प्लास्टिक सर्जरीमा एमसिएच पूरा गर्नुभएका डा. बुद्धिनाथ अधिकारी हाल चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज(नयाँ मेडिकल कलेज)मा कार्यरत हुनुहुन्छ। उहाँ नेपालबाटै एमसिएच डिग्री हासिल गर्नेमा प्रथम हुनुहुन्छ भने नेपालभरिकै दोस्रा एमसिएच प्लास्टिक सर्जन हुनुहुन्छ। प्लास्टिक सर्जरीसम्बन्धी मैले उहाँसँग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत छ।

तपाईं मेडिकल क्षेत्रमा अनि प्लास्टिक सर्जरीमा कसरी आउनुभयो?
मेरो ममी विराटनगरभन्दा बाहिर ल्याब टेक्निसियनको काम गर्नुहुन्थ्यो, जहाँ गईरहन्थे। त्यही विरामीहरु देखिरहने भएर होला डक्टर बन्ने चाहना आएको। प्लास्टिक सर्जरी पढ्ने चाहना चाँही जेनेरल सर्जरीमा एमएस गर्दा प्लास्टिक सर्जनसँग काम गर्ने पाएपछी आयो, यो विधा अरु भन्दा अलि भिन्न भएको, एक प्रकारको आर्ट जस्तो, जिग्सा पजल(Jigsaw puzzle) मिलाएको जस्तो, इम्याजिनेसन(imagination)को प्रयोग गर्नुपर्ने आदी भएकोले यो विधा मलाई मन परेको हो।

प्लास्टिक सर्जरी प्राक्टिस गर्न के डिग्री चाहिन्छ?
सर्जरीमा मास्टर्स एमएस गरेपछी अर्को तीन वर्ष प्लास्टिक सर्जरीमै एमसिएच गर्नुपर्छ। एमबिबिएस बाटै जोड्ने हो भने लगभग साँढे एघार वर्ष लाग्छ। अन्य हप्ता, महिना, महिनाका छोटा ट्रेनिङ कोर्सहरु पनि हुन्छन्, जस्मा कुनै एक विधासम्बन्धी ट्रेनिङ हुन्छ।

प्लास्टिक सर्जरी भनेको के हो?
प्लास्टिक सर्जरीमा विभिन्न विधाहरु पर्छन्। सबैभन्दा ठुलो चाँही हो, जस्मा जन्मजातै वा पछी बिग्रिएका, बाङिएका, नराम्रो भएका अङहरु बनाउने, मिलाउने काम हुन्छ। यस अन्तर्गत निको नभएका घाऊहरु, जन्मजात वा दुर्घटनाका कारण भएका घाऊहरु, रेडियोथेरापी वा क्यान्सरको अप्रेसनपछीका घाऊहरु, खाटे घाऊहरु(Bed sores), छालाका क्यान्सर, मुख, अनुहार खुँडो को उपचार आदी पर्छन्।
अरु विधाहरुमा
बर्न सर्जरी(Burn surgery), जस्मा आगोले पोलेका विरामीको उपचार, अप्रेसन तथा पछी गएर बिग्रिएका, बाङिएका अङहरुको उपचार पर्छ।
कस्मेटिक सर्जरी(Cosmetic surgery), जस्मा अनुहार वा अन्य देखिने भागमा रहेका पूराना घाऊ, खत, दाग, कोठी, सिस्ट(cyst), ट्युमर आदीको अप्रेसन पर्छन्। पेट घटाऊने लिपोसक्सन(liposuction), स्तन सानो, ठुलो पार्ने, नाक, कान, आँखा चाहेजस्तो मिलाउने, बोटोक्स(Botox), फिलर(Filler)ले चाउरी परेको हटाउने आदी पनि यसै अन्तर्गत पर्छन्।
ह्यान्ड सर्जरी(Hand Surgery) अन्तर्गत ठुला तथा जटिल हातका घाउहरु, स्नायु(Nerve), टेन्डन(Tendon), रक्तनलीहरु(Blood vessels)का अप्रेसन पर्दछन्।
पाँचौ विधा माइक्रोसर्जरी(Microsurgery) हो, जस्मा मीमी भन्दा साना आँखाले देख्न गार्हो पर्ने अङ्हरु जस्तै मसिना स्नायु, रक्तनलीहरु, टेन्डनहरुका साथै भ्यासेक्टोमी रिभर्सल(Vasectomy reversal) अप्रेसन आदी पर्दछन्।
धेरैको सोचाइ जस्तो प्लास्टिक सर्जरीमा प्लास्टिक वा पोलिथिनको प्रयोग हुने चै हैन। प्लास्टिक’ शब्द ग्रिकबाट आएको हो, जस्को अर्थबिग्रिएका अङ्हरुको ढाँचा मिलाउने काम’ हुन्छ।

प्लास्टिक सर्जरीमा दागै नआउने अप्रेसन गरिन्छ भनिन्छ नि? के यो सत्य हो?
शरीरको कुनै पनि भागमा चिरा लगाएर अप्रेसन गरेपछी दाग आउछ नै। प्लास्टिक सर्जरीले चिरेपछी आउने दागलाई मिलाएर लुकाउने, अनुहारको मुजामा नदेखिने गरेर पार्ने, मुखभित्रबाट गर्ने, इन्डोस्कोप, माइक्रोस्कोप प्रयोग गरिने भएकोले दाग अन्य सर्जरीमा जस्तो ठुलो र प्रोमिनेन्ट(prominent) नहुने हुन्छ। तर धेरैले सोचे जस्तो दाग नै नहुने भने हैन।

प्लास्टिक सर्जरीका खतराहरु के के छन्?
% जतीमा माइनर कम्प्लिकेसनहरु हुनसक्छन्, जस्तो कि घाऊ निको हुन बढी समय लाग्ने, घाऊ पाक्ने जस्ले गर्दा दाग ठुलो रहने आदी। ठुला जटिलताहरु भने % भन्दा नि कममा मात्रै देखिन्छन् बेहोसीका औषधी, प्रकृयाले ज्यान जाने सम्भावना ५७,००० मा जतीलाई रहन्छ।
पूराना रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, क्यान्सर, रगत बग्ने रोगहरु(Bleeding disorders), औषधीको एलर्जी, लामो समयदेखी रक्सी चुरोट खाने बानी, बुढाबुढीहरुमा घाऊ निको हुन ढिलो हुने अन्य जटिलता देखिने सम्भावना अलि बढी रहन्छ।

किन प्लास्टिक सर्जरीबाट गराउने ?
हरेक मान्छेको घाऊ भिन्दाभिन्दै हुन्छ तर निको हुने तरिका सबैको उस्तै हो। तपाईंले कुनै पनि दागलाई राम्ररी हेर्नुभो भने थाहा हुन्छ, दाग रहेको ठाउँ, त्यस्को उबडखाबड, लम्बाइ, चौडाइ, त्यस्को रङ आदिले त्यस्लाई राम्रो नराम्रो देखाउने हो। प्लास्टिक सर्जरीमा यी सबै कुरालाई मिलाएर माइक्रोस्कोपबाट अप्रेसन गर्ने हुनाले दाग सानो मिलेको हुन्छ।

दाग हटाउनको लागि अप्रेसनको विकल्प छैन ?
अप्रेसन विना दाग पूरै हटाउन नसके पनि ७०% जती रङ फिका /फेड गराउन सकिन्छ। यस्का लागि - महिनासम्म लाग्नसक्छ। यदी समय रङले गर्दा मात्रै दाग नराम्रो देखिएको हो भने अप्रेसन बाहेकका विधिबाटै उपचार गराउनु राम्रो हुन्छ। अप्रेसन बाहेकका अरु उपायहरुमा विभिन्न मलम लगाउने, लेजर/laser, Dermabrasion, Currattege, Electrodessication, Cryotherapy आदी पर्छन्। तर उबडखाबड भएका, लम्बाइ चौडाइका कारणले नराम्रो देखिएका, क्यान्सरको शंका भएका घाऊ, दागहरुलाई अप्रेसन गरेकै उचित हुन्छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ?
स्थानिय रुपमा उपलब्ध सामानहरुको प्रयोग गरिने भएकोले हामीले गर्ने प्लास्टिक सर्जरी धेरैले सोचेजस्तो महँगो हुँदैन। राम्रो देखिनु सबैको अधिकार हो दागहरुले पूराना दुर्घटनाहरुको सम्झना दिईराख्ने दाग हटाइएपछी आत्मविश्वास पनि बढ्ने भएकोले त्यस्ता समस्याको समाधान खोजेको राम्रो।

तर भन्नै पर्ने एउटा कुरा- यो कुनै चमत्कार हैन, अनुहार पूरै परिवर्तन गरेर फ्लिमको हिरो जस्तो देखिन खोज्ने, मोटिभेसन(motivation) नभएका, ग्यारेन्टीको उपचार खोज्ने, धेरै नै एक्स्पेक्टेसन(expectation) राख्ने विरामिलाई यस्बाट सन्तुस्टी नमिल्न सक्छ। यी सबै कुरा बुझेर नै प्लास्टिक सर्जरीको लागि वा भनौं कुनै पनि उपचारको लागि निर्णय गर्नु ठीक हुन्छ।
बाँकी पढ्नुहोस् >>

Sunday, November 17, 2013

एउटा डाक्टरको आत्मविश्लेषण

१८ हजारभन्दा धेरैपटक सेयर गरिएको अनि ३ सयभन्दा धेरै कमेन्ट गरिएको कमला थापाजीको लेख ‘डा. भगवान, जवाफ देउ, मेरो बच्चा कसरी मर्‍यो?’ पढेपछि लाग्यो- “यत्ति धेरैले हामी चिकित्साकर्मीहरुको व्यवहारमा, काम गर्ने शैलीमा असन्तुष्टि देखाउँदा समर्थन जनाए, आफ्ना कटु अनुभवहरु पनि त्यसैमा थपेर सुनाए भने पक्कै पनि हामीमा केही खोट त छ।” अनि बसें, आफू र आफ्नै पेशाकर्मी साथीहरुको चिरफार गर्न।

कसैले तपाईंको व्यवहार, कामको पद्दति, विश्वसनीयतामाथि प्रश्न उठाउँछ भने के गर्नुहुन्छ? त्यसको गतिलो जवाफ दिनुहुन्छ, त्यसलाई चुप लगाउने प्रयास गर्नुहुन्छ। तर धेरैले धेरैपटक त्यसो गरे भने के गर्नुहुन्छ? त्यो बेलामा धेरैलाई चुप लगाउनुको साटो आफूमै पो केही कमजोरी छ कि, गल्ती मेरै पो हो कि, त्यसलाई सुधारेर आफू कसरी राम्रो, विश्वसनीय बन्ने भनेर आत्मविश्लेषण गर्नुपर्छ, गर्न जरुरी हुन आउँछ।

चिकित्सा पेसा र हामी स्वास्थ्यकर्मीमाथि व्यवहार राम्रो नभएको, विरामीप्रति संवेदनशील नभएको, सेवाको पेशालाई व्यापारीकरण गरेकोदेखि बिरामीको ज्यानमाथि खेलबाड गरेको, लापरवाही गरेर ज्यान लिएकोसम्मका आरोपहरु विगत केही वर्षदेखि लाग्ने गरेका छन्। यो क्रम घट्दो हैन, बढ्दो छ। तर पनि यो कम गर्न, यस सम्बन्धी कारबाही गर्न गम्भीरतापूर्वक काम भएको देखिँदैन। गल्ती हुँदै नभएको, सिस्टमको कमजोरी, अर्काको गल्ती, अरु विविध कारणहरुलाई एकातिर थाती राख्ने हो भने हामीमा भएको कमजोरीका घटना पनि प्रसस्तै देखिन्छन्। आउनुहोस्, आज हामीमा भएका केही कमजोरीहरुको कुरा गरौं, आत्मविश्लेषण गरौं, हामीप्रति उठेका शंका, अविश्वास, दोषका आवाज मनन गरेर हामी आफू कति ठीक कति बेठीक छौं भनेर चिन्तन गरौं। यो अविश्वासको वातावरण कम गर्नेतर्फ एक कदम अगाडि बढौं।

हामी घमण्डी छौं
हो, हामी धेरैजसो घमण्ड गर्छौ, डक्टर हुनुमा, नर्स हुनुमा, आफ्नो पेशाको कारणले गर्दा अरुभन्दा अलिकति भए पनि माथि रहेको सोच्छौँ। अलि अलि घमण्ड ठीक पनि हो तर यो व्यवहारमै देखिने गरेर, हामी र विरामीबीचको सम्बन्धमै असर पर्ने गरेर हुनु हुँदैन। सायद वर्षौंदेखि र अहिले पनि कति ठाउँमा डक्टरलाई भगवानसँग तुलना गरिने, समाजमा माथिल्लो दर्जामा राखेर हेरिने अनि सामान्यतया सम्पन्न घरको वा डाक्टर भएपछि सम्पन्न हुने भएकोले पनि यो घमण्ड रहेको हुनसक्छ। तर वास्तवमा पेशाले नै कोही ठूलो वा सानो हुने त हैन नि। व्यवहार सम्मानजनक हुनुपर्‍यो, काम त्यस्तो गर्नुपर्‍यो। अनि डाक्टर भनेका त बिरामीका साथी जस्तो हुनुपर्ने हो, जसले उसको स्वास्थ्यमा परेको समस्या नजिकबाट बुझेर त्यसलाई कम गर्न आफ्नो अनुभव, ज्ञान प्रयोग गर्छन्। बिरामी र डाक्टर, नर्स एउटै लेबलमा रहनुपर्‍यो, सेवा लिन आएको भनेर उ सानो हुने र उनीहरुलाई हाम्रो जरुरत छ भनेर हामी ठूलो हुने हैन।

बिरामी र बिरामीको परिवारसँग हामीलाई मिठो बोल्न, राम्रो व्यवहार गर्न आउँदैन
हो, मिठो बोल्ने डाक्टर मैले पनि कमै देखेको छु। तनावको वातावरणमा काम गर्नुपर्ने, माग अनुसार जनशक्ति नभएकाले कामको लोड अत्याधिक भएकोले, काममा सन्तुष्टि नभएकोले हो कि धेरैजसो डक्टर, नर्सहरु बिरामीहरुसँग झर्केको नै देखिन्छन्। बिरामीहरु पनि रिसाइ पो हाल्छन् कि, केही भनी पो हाल्छन् कि भनेर डाक्टरहरुसँग सजिलै बोल्न सक्दैनन् र हच्किन्छन्। केही कुरा चित्त नबुझेर सोध्यो भने "तपाई डाक्टर कि म डाक्टर?" "एउटै कुरा कत्ति सोधेको?", “तपाईंलाई मात्र यस्तो परेको हो र?” भन्ने जवाफ झर्केर आउँछ। थोरै बोल्ने, भेट्न गार्‍हो हुने, सधैं व्यस्त रहने व्यक्ति ठूलो हो भन्ने सोचाइले पनि काम गरेको हुनसक्छ। बरु नर्सहरुसँग बिरामी र उनका आफन्तहरु सहज मान्छन्। उनीहरुसँगै नजिक हुन्छन् पनि। मैले यहाँ व्यवसायिक निकटताको कुरा गरेको हुँ, जुन डाक्टर र उसको बिरामीबीच अलि कमै देखिन्छ।

पछिल्लो पटक टिचिङ अस्पतालको सुत्केरी वार्डमा भएको घटनामा लेखक र उनको परिवारको दु:खप्रति म समवेदना व्यक्त गर्दछु। यस्तो दु:खको बेलामा पनि उत्तेजित नभई स‌ंयम तरिकाले लेखमार्फत प्रस्तुत हुनुभएकोमा उहाँलाई धन्यवाद। यस्ता कुराहरु बाहिर आउनैपर्छ र यिनका बारेमा छलफल गरिनु जरुरी पनि छ। त्यो घटनामा लापरवाही भएको नभएकोबारे मलाई जानकारी छैन तर मेरो अनुभवमा प्राय: गल्ती उपचारमा भन्दा पनि बिरामीहरुसँग त्यसबारे गरिने छलफल, व्यवहार, कुराकानीको तरिका आदिमा हुन्छन्। अनुसन्धानले पनि भनेका छन् कि तपाईं आफ्नो बिरामीसँग राम्रो तरिकाले बोल्नुहुन्छ, राम्रो व्यवहार गर्नुहुन्छ भने तपाईं माथि कानुनी कार्वाही, दोष लाग्ने सम्भावना कम रहन्छ।

९ महिना गर्भमा राखेर अनि अन्तिम समयमा शिशु गुमाउनु पर्दाको पीडा त्यो भोगेको एउटा महिलाले मात्रै अनुमान गर्नसक्छिन्। तर दिनहुँ त्यसता र अझै दु:खद् मृत्यु अनि पीडाका घटना देख्ने हामी डाक्टर, नर्सहरुका लागि त्यो यति सामान्य भइसकेको हुन्छ कि त्यस्तो बेला हामी एकछिन बिरामीसँग बसेर सामान्य दु:खमनाउ गर्न पनि बिर्सन्छौं, सहानुभूति देखाउन भुल्छौं, आफ्नो यो व्यवहारको लागि व्यस्ततालाई मात्र दोष दिनु अलि उचित हुँदैन। त्यो हाम्रो बानी नै छैन, हामीलाई सिकाइएको नै छैन। हामी रोगलाई हेर्छौ, रोगको उपचार गर्छौं, हामीलाई रोगीको के चिन्ता। हाम्रो लागि विरामी एउटा केस हो, उसकै अगाडी बसेर हामी उसकै रोगको बारेमा छलफल गर्छौ, भए भरको नबुझिने मेडिकल शब्दहरुमा कुराकानी गर्छौं, तर बिरामीसँग थोरै बोल्छौं, उसलाई सामान्य शिष्टाचार देखाउन बिर्सन्छौं, मानवीय व्यवहार गर्न भुल्छौं, उसको मनमा के प्रश्न, दुबिधा चलिरहेको होला बुझ्न खोज्दैनौं, जाँचको बेलामा उसको अप्ठ्यारोपन बुझ्दैनौं, प्राइभेसी दिन बिर्सन्छौं, किनकी यी सबै हाम्रा दैनिकी भैसकेका छन्, हामी यसरी नै गर्दै आइरहेका छौं, बिरामीहरुको लागि पो यो पहिलोपटक हुन्छ, नौलो हुन्छ। त्यसैले हामी हाम्रो ठाउँमा बसेर हेर्दा हाम्रा कृयाकलाप, व्यवहार ठिकै लाग्छन् तर एक पटक बिरामीको ठाउँमा बसेर हेर्नुस् त, वा त्यो बिरामीको ठाउँमा आफ्नो मान्छेलाई राखेर हेर्नुस् त, अनि थाहा हुन्छ कि?

हामीलाई बिरामी र उसका आफन्तलाई राम्रो काउन्सेलिङ गर्न आउँदैन
हामी स्वास्थ्यकर्मीहरुको काम मान्छेहरुसँग व्यवहार गर्ने, जिउँदो मान्छेको उपचार गर्ने हो, न कि कुनै भावना, सोचाइ, मन नभएको मेसिनको। त्यसैले उपचार भनेको ठूलाठूला जाँचहरु, महँगा औषधी, अप्रेसन मात्रै हैन। बिरामीको पीडा, भावना, चाहना बुझ्ने, त्यसको सम्मान गर्ने पनि एउटा स्वास्थ्यकर्मीको कर्तव्यभित्र पर्छ।

मैले देखे, सुने, भोगेअनुसार काउन्सेलिङ कसरी गर्ने भनेर हामी मध्ये धेरैलाई थाहा छैन। रोगबारे जानकारी दिने, “यो हुनसक्छ, त्यो हुनसक्छ, ज्यान जानसक्छ” भनेर ठूला ठूला मेडिकल भाषामा बिरामी र उसका आफन्तसँग कुराकानी गर्नु मात्रै काउन्सेलिङ हैन। कहीँ पढेको थिएँ, डक्टरहरुले बोलेको ७०-८०% कुरा सामान्य मानिसले बुझ्दैनन् रे। हामीलाई पो त्यही पढेर आएको ब्याकग्राउन्डमा “यत्ति त बुझिहाल्छन् नि” जस्तो लाग्छ, तर मानव शरीरको सामान्य पनि ज्ञान नभएका विरामी, उसका आफन्तले कसरी बुझुन् तपाईं हाम्रा मेडिकल शब्दावलीले भरिएका कुराकानी।

'आइ सि यु'मा राख्न लाग्दा निमोनिया भ'को विरामीलाई किन ‘आइस’ मा राख्ने, झन चिसोले निमोनिया बढ्दैन र? भन्ने रगतको जाँच भनेको सबै एउटै हो भनि पटकपटक कति जाँच गरेको भनी सोध्ने, मुटु नचलि अन्तिम अवस्थामा पुग्दा छाती थिचेर गरिने सिपीआरलाई ‘झन विरामीको छाती थिचेर मार्यो’ भन्ने जस्ता कैयौं उदाहरणहरु छन्। विरामीले हाम्रा कुरा, काम गर्ने तरिका बुझ्दैनन् र हामीले चाहिने जति बुझाउन सकेका छैनौं। तपाईंले काउन्सेलिङ गरेपछि एक पटक सोध्नुस् त "ल भन्नुस् तपाईंले के के बुझ्नुभो” भनेर। तपाईंले बोल्दा "हजुर हजुर" भनेर धेरैले टाउको हल्लाए पनि प्राय:ले के बुझे भनेर भन्न सक्दैनन्।

हाम्रो बोलीमा 'इम्प्याथी' हुँदैन। "मैले तपाईंको दु:ख बुझेको छु, हामी सबै तपाईंको, तपाईंको बिरामीको लागि सक्दो प्रयास गर्दैछौं, गम्भीरतापूर्वक लागि पारेका छौं" भनेर हामीले बोलिमा अनि व्यवहारमा पनि देखाउन सकेका हुन्नौं। "बिरामीको अवस्थामा खासै सुधार छैन, मुटुको धड्कन बढी छ, प्रेसरको लागि औषधी चल्दैछ, पिसाब राम्रो भ'को छैन, होस ठीक छैन, अझै केही दिन भन्न सकिन्न।" हाम्रो काउन्सेलिङ यस्तो हुन्छ। अरे, बिरामी मेसिन हो र, उसको बारेमा यसरी जानकारी दिन? कि हामीले मेसिन बनाइदियौं? सबैभन्दा मानवता हुनुपर्ने भनिने पेशामा खै हाम्रो मानवीय स‌ंवेदना ? कृपया यसको लागि व्यस्ततालाई मात्र दोष नदिनुहोला। मान्नुस् यो हामीलाई आउँदैन, यो हामीलाई सिकाइएकै छैन। र सिक्नु, जान्नु जरुरी छ।

दोष मात्र देख्यो भन्नुहोला तर नर्सिङ क्षेत्रमा पनि बिरामीसँग नराम्ररी बोल्ने, गाली गर्ने, जति बोलाँउदा नि नहेरिदिने, रुखो व्यवहार गर्ने जस्ता घटनाहरु मैले देखेको, सुनेको र भोगेको छु। तपाईंलाई कामको लोड होला, एक जनाले १०-२० जना बिरामीलाई औषधी दिने, पल्स, प्रेसर लिने, वार्डका अरु बिभिन्न काम गर्नुपर्ने होला तर त्यो अत्यधिक लोडको रिस तपाईंले बिरामीमाथि पोख्न पाउनुहुन्न। बरु हामीलाई काम गर्ने मान्छे पुगेन, लोड बढी भयो भनेर व्यवस्थापनलाई भन्ने हो। (हुन त माथिका ले पनि सुनिदिए पो, त्यो समस्या आफ्नै ठाउँमा छ।) लोड नै भएपनि मिठो बोलिरहेका, मज्जाले खटिरहेका, तैपनि मुस्काइरहेका नर्सहरु पनि मैले देखेको छु। त्यसो भए तपाईं चाहिँ किन फरक नि, तपाईंलाई मात्र त्यसो गर्न केले रोक्ने नि? हो यसमा आँउछ आत्मविश्लेषणको कुरा, मैमा पो केही खराबी छ कि, मैले सुध्रिनुपर्छ कि भन्ने कुरा।

हामी पैसाको पछि दौडेका छौं, सेवाको पेशालाई व्यापार बनाएका छौं
यो दोष पनि हामीले स्विकार्नैपर्छ, चिकित्सापेशाको हिजोआज व्यापारिकरण भएकै हो। एमडी सम्मको पढाईमा एक, डेढ करोड नै लगानी गर्नुपर्ने भएपछि पढाइ सकेर काम गर्दा जस्को पनि उद्देश्य त्यो लगानी उठाउने नै हुन्छ, त्यो स्वाभाविक नै हो। तर व्यापारीकरणको सिमाले मानवताको परिधि नाघ्नु भएन। सक्ने बिरामी त ठिकै छ खर्च गर्छन् नसक्ने, नभएका बिरामीलाई नि किनबेच गर्ने (प्राइभेटमा रिफर गरेर चर्को फी असुल्ने), रेगुलर ओपिडीमा राम्रोसँग नहेरी पेइङमा बोलाउने, क्लिनिकमा पठाउने, रेगुलर अप्रेसनमा सकेसम्म थोरै गर्न खोज्ने, चर्को मूल्य तिराएर पेइङ अप्रेसन गराउन लाउने, कमिसनका आधारमा महँगा औषधी, महँगा जाँचहरु गराउन लाउने जस्ता कामहरु हामी डाक्टरहरुबाट नभएका हैनन्। हुन त दुधले नुहाएको को होला र? “अरुले गरेका छन् भने हामीले चैँ किन गर्न नहुने” भन्नेहरु पनि होलान्। तर अरुले गलत गर्‍यो भन्दैमा आफुले पनि त्यस्तो गर्नुलाई जायज मान्नु कतिसम्म ठीक हो, आफैँ विचार गर्नुहोला।
मलाई एक जना साथीले ट्विटरमा सोध्नुभएको थियो, के तपाईं दिनको २-४ जना बिरामी फ्रीमा हेर्न सक्नुहुन्छ? पर्‍यो भने २-४ जना मात्रै हैन, १०-१२ जना पनि हेर्नसक्छु तर मैले बिरामी जाँचेर मात्रै रोग निको हुँदैन, औषधी किन्नुपर्‍यो, जाँच गर्नुपर्‍यो। चिकित्सासेवा भनेको जोइन्ट एफोर्ट हो, त्यसैले नि:शुल्क सेवा दिने, सेवामा छुट दिने कुरा सिस्टम र नियमको माध्यमबाट आएको राम्रो। मेरो एकजना साथीले आफूले बिरामी हेरेर उस्को उपचारमा आफूले अर्को डाक्टरलाई रिफर गर्नु बाहेक खासै उपलब्धिको काम गर्ननसकेको भनेर आफ्नो ओपिडी टिकटको पैसा नै फिर्ता दिएको पनि देखेको छु। सबैलाई यस्तै हुनुपर्छ भनेर म भन्दिन, तर सेवा, मानवता र व्यवसायको सन्तुलन हुनु जरुरी छ, हाम्रो पेशामा।

अन्त्यमा, एउटा इन्जिनियरमा, एउटा सरकारी कर्मचारीमा, एउटा प्राइभेट कर्मचारीमा, एउटा नेतामा, एउटा कलाकारमा, एउटा पत्रकारमा, एउटा व्यापारीमा, एउटा किसानमा, एउटा मजदुरमा, एउटा विरामीमा, एउटा विरामीको कुरुवामा र समग्रमा भन्दा एउटा मान्छेमा जे जे कमी, गुण, अवगुण हुन्छन् ती सबै हामीमा पनि छ, किन कि हामी नि मान्छे हौं। तर कमजोरी हुनु नराम्रो कुरा हैन, कमजोरी छ भनेर स्वीकार नगर्नु, त्यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर नसोच्नु, त्यसको लागि काम नगर्नु चाहिँ बरु ठीक हैन। आउनुहोस् साथीहरु, हामी आफूमा भएका कमजोरीहरुलाई स्वीकार गरेर सुधारको लागि पाइला चालौं। मेरो आफ्नै एउटा पूरानो लेख 'डाक्टर भगवान हैन' भन्नेबाट मलाई मनपरेको एउटा वाक्य यहाँ लिन्छु, 'हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं।' कृपया हामीलाई भगवान नबनाउनुस् र दानव पनि नबनाइदिनुस्, किनकि हामी दुवै हैनौं।

आशा छ यो लेखले हामी चिकित्साकर्मीहरुलाई आफू आफूमा आत्मविश्लेषण गर्न, म कति ठीक छु म कति बेठीक छु भनेर आफैँले मुल्याङ्कन गर्न अभिप्रेरित गर्छ। किनकि आत्मविश्लेषण नै अगाडि बढ्न पहिलो कदम हो। अनि अरुको हामीप्रति हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउला कि?

सेतोपाटीमा यो लेख 'बच्चा गुमाएकी आमाको प्रश्नपछि टिचिङकै डाक्टरको आत्मविश्लेषण: हो, हामी घमण्डी छौं' शिर्षकमा छापिएको थियो। 
बाँकी पढ्नुहोस् >>

Saturday, October 19, 2013

Health camps: Are they needed?

-Dr. Amit Jha, ENT Resident, NMC, Birgunj

To any question like this, there is never an absolute answer. There’s always a fraction that supports with a yes and the remaining objects with a negative answer.  Moreover, no study has been carried out on this subject so as to get a reference answer.

I, occasionally, browse through the photos folder on my laptop and this is how the idea of writing this piece of article came to me. I found a few folders of photos of the health camps that I attended. As a doctor, I was a part of several health camps over last few years. So are all the doctors in Nepal. Most of the camps were one-day-health-check-up camps while a few of them spanned over days. I have mixed experiences of health camps and hence, my answer for the above question is neither a yes nor a no. This might sound diplomatic but it’s true.

The benefits of health camps:
There are benefits for both the organizing team and the patients. For the organizing team members, it’s an opportunity for them to travel to new places, meet new people and learn a few health issues and diseases prevalent in that particular community. For the organizers, they get a platform to advertise themselves. For the patients, they get to see a doctor, probably for the first time in their lives (for many of them). The most remarkable of such camps are the eye-camps. Thousands would have to live as visually impaired if these camps were not organized.

The drawbacks of health camps:
Every year a lot of money is spent by government, NGOs/INGOs and individuals for health camps. But the benefits do not reciprocate the amount of money spent. This can be justified by the fact that regular health camps usually do not make a remarkable difference in the lives of the people of the community. A large number of patients usually visit just to get free medicines or visit just because the checkup is free. Hence, genuine patient number too few in camps. Next, if any patient needs hospital admission or operation, the patients are referred to the camp-organizing nursing homes or private hospitals. Getting admitted, treated and/or operated in a nursing home or private hospital could be unaffordable for most of the patients.

What does a rural community in Nepal need?
Nepal is an undeveloped country with little chances of improvement in near future. Because there has been no stable government over last few decades, all the sectors of the country including the health sector lie in the doldrums. A typical rural community in Nepal, if not deprived of, has just poorly developed and maintained schools, health posts and other infrastructure. All they need is regular access to basic needs of life including regular access to health services. Health is not a one day affair. A community is going to need health services round the year. And this is what I mean by regular access to health services.

The solutions:
Rather than organizing general free health camps, camps should be slightly modified.
1.       Organizing screening camps where a patient in a community is screened for a particular disease for eg. DM, TB, HTN, HIV, UV prolapse, Hernia etc. and all those identified with disease managed promptly either in their community or by the referral to higher center.
2.       There are a few foreign hospital based organizations that come to Nepal each year with a team of doctors, nurses and paramedics and operate on the patients of a particular locality in a week long or more camps. Nepalese doctors are not allowed to practice even in Nepal without an NMC number and abroad without having a medical practicing license of that country. In such a scenario, how do we trust anyone from abroad just coming and operating on our countrymen? The manpower in Nepalese health sector has increased several folds over last ten years when such organizations first came to Nepal. Hence, rather than coming to Nepal once or twice a year and operating, they should rather focus on developing the infrastructure and collaborating with the local community to have a health service provider round the year and specialist visiting on a routine basis.
3.       The same goes for the medical colleges or private hospitals organizing camps. Rather than having health camps, they should establish a community based center in the peripheral areas with ample facilities and manpower. This would benefit patients requiring emergency attention as well as the patients with chronic disease and those requiring follow-up.
4.       If having community based health centers (point no. 3) are not feasible, given the vast rural area and its remoteness, health camps should be organized at regular intervals. Once, a health camp concluded, the date for next camp should be announced so as to benefit the patients with chronic disease and those requiring a follow-up. Nobody is happy to wait, but once a person knows how long he should wait, waiting could be agreeable.
Conclusion:

An optimal level of health is not a destiny but a dynamic process. To achieve this, institutions, individual and the community should work together in close co-ordination. The time, effort and money should be invested in the best possible way to have the maximum benefits. Nevertheless, the government policies play a major factor.

This article is written by Dr. Amit Jha @amitjha086,  ENT Resident, NMC, Birgunj. He blogs at 'Amit Jha blogosphere'
बाँकी पढ्नुहोस् >>

Saturday, September 14, 2013

अनुमानको भरमा उपचार!!!

‘अनुमानको भरमा वीर अस्पतालमा शल्यकृया’, यो शिर्षकमा भदौ २८को ‘अन्नपूर्ण पोस्ट’मा र त्यसैको केही हरफ ‘सेतोपाटी’मा प्रकाशित भएको थियो। समाचार लेख्ने पत्रकारको आशय 'वीर अस्पतालमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएको र त्यहाका रेजिडेन्टहरु हड्तालमा भएको' प्रती ध्यानाकर्षण गराउने जस्तो देखिन्छ। तर उन्ले दिएको लेखको शिर्षक र ‘एपेन्डिसाइटिसको अनुमानको भरमा शल्यकृया गरियो’ भन्ने उदाहरण उपयुक्त छैन। बरु शिर्षक मुनीको यो 'वीरमा सिटिस्क्यान बिग्रियो/रेडियोलोजीका सबै सेवा प्रभावित' वाक्यले लेखको आशय अनी सत्य उजागर गर्छ।

'अनुमान' भनेको के हो? के अनुमानको भरमा उपचार गर्नु गलत हो?
के तपाईं आफ्नो उपचार शुरु गरिनु अघी तपाईंको डक्टर १००% रोगमा कन्फर्म होस् भन्ने चाहनुहुन्छ। त्यसो भए तपाईं प्याथोलोजिस्टको मा देखाउन जानुभए हुन्छ। क्लिनिकल मेडिसिनमा सधैं रोग कन्फर्म भएर मात्र उपचार थाल्नु सम्भव हुँदैन र त्यो गर्न खोज्नु हानिकारक पनि हुनसक्छ। किनकी कहिले रोग शुरुको अवस्थामा हुनसक्छ र जतिसुकै ल्याब टेस्टहरुमा पनि केही खराबी नदेखिन सक्छ। कहिले रोग पत्ता लगाउने टेस्टहरु उपलब्ध नहुन सक्छ। कहिले विरामीको अवस्था यती नाजुक हुन्छ कि टेस्टहरुमा अमुल्य समय खर्च गर्दा उपचार ढिलो हुन गई ज्यान मै खतरा आउन सक्छ।

ज्वरो आएको, खोकी लागेको विरामी जस्को रगत जाँच, एक्सरेमा केही खराबी देखिएन, त्यस्लाई कसरी उपचार गर्ने? खकार जाँच, छातीको सिटी स्क्यान सब गर्ने? सबको रिपोर्ट आओस् अनी उपचार शुरु गरौला भनेर बस्ने? ती सबैमा नि केही खराबी देखिएन, रोग पत्ता लागेन भने के गर्ने? “तपाईंको रोग हामीले पत्ता लगाउन सकेनौ, घर जानुस्” भन्ने? कि हुनसक्ने 'छातीको सन्क्रमण' को लागि अनुमानको भरमा औषधी शुरु गर्ने? यस्लाई तपाईं अनुमान, हचुवा, गेस भन्न सक्नुहुन्छ। यस्लाई मेडिकल भाषामा 'क्लिनिकल डायग्नोसिस' भनिन्छ, जुन वर्षौ पढेको, सयौ हजारौ विरामी हेरेको अनी ईपिडेमियोलोजिकल ज्ञानको आधारमा गरिन्छ।

लामो समयदेखी खोकी लागेको, खकारमा रगत देखेको कती विरामीमा जती टेस्ट गरेपनी क्षयरोग देखिदैन, त्यस्को मतलब त्यो विरामिलाई क्षयरोगको औषधी दिनु के गल्ती हुन्छ? कि जब खकारमा देखिन्छ तब मात्र क्षयरोगको औषधी शुरु गरौला भनेर बस्ने? हाम्रो जस्तो क्षयरोग अती नै धेरै पाइने ठाउँमा यस्तो अवस्थामा ‘स्पुटम नेगेटिभ’ अर्थात खकारमा नदेखिएको टिवी भनेर क्लिनिकल डायग्नोसिस र अन्य हुनसक्ने रोगहरु 'रुल आउट' गरेर टिवीको औषधी शुरु गर्ने गरिन्छ र यसो गर्नु धेरैजसो बेला ठीक र फायदाजनक पनि हुन्छ।

एपेन्डिसाइटिस पनि भिडियो एक्सरेबाट पत्ता लगाइने रोग हैन, यो एउटा क्लिनिकल डायग्नोसिस हो। पेटको दाँयातिर दुख्ने, ज्वरो आउने, खाना नरुच्ने आदी लक्षण र क्लिनिकल जाँचमा नि त्यही अनुसारको ‘फाइन्डिङ’ अनी रगत जाँचहरुले त्यस्लाई सपोर्ट गर्छ भने त्यो बेला ‘एपेन्डिसाइटिस’ भनेर अप्रेसन गर्न सकिन्छ। भिडियो एक्सरे, सिटी स्क्यान नै चाहिन्छ भन्ने छैन। र भिडियो एक्सरेले सधैं साँचो भन्छ, सबै छर्लङ देखिन्छ भन्ने पनि हैन। त्यो पनि गर्ने मान्छेको ज्ञान, अनुभव, मेसिनको गुणस्तर, विरामीको रोगको, शारीरिक अवस्था जस्ता विभिन्न कुरामा भर पर्छ।

मलाई के लाग्छ भने रोग पत्ता लगाउने डक्टरले, डक्टरको ज्ञान, अनुभवले हो, नकी महँगा महँगा जाँचहरुले। ति जाँचहरुले त डक्टरलाई रोग पत्ता लगाउन सपोर्ट मात्रै गर्ने हुन्।

कती साथीभाइहरुले भनेको सुनेको छु “डक्टरले रोगै पत्ता लगाउन सकेन, हचुवामा औषधी दियो।“ तर उपचार शुरु गर्नु अघी हरेको डक्टरसँग कुनै एक वा केही ‘प्रोभिजनल डायग्नोसिस’ हुन्छ र हुनैपर्छ र त्यसैको आधारमा नै उस्ले उपचार शुरु गर्ने गर्छ। यो नै संसारभरका डक्टरहरुले अप्नाउने तरिका हो। विकसित देशमा ठुलाठुला जाँच सुलभ हुन्छन् र डक्टरलाई तिन्ले डायग्नोसिसमा सपोर्ट गर्छन् जुन हामीकहा सधैं सम्भव हुँदैन। कति विरामि, आफन्तले भनेको सुन्छु “कती डक्टरकोमा चहारे, कुनै पनि डक्टरले रोग पत्ता लगाउनै सकेन अनी लास्टमा मानसिक रोग पो भन्दियो र औषधी शुरु गर्दियो।“ यस्तो सुन्दा अचम्म लाग्छ, हुन त कम्जोरी हाम्रै होला, हामीले नै राम्ररी बुझाउन नसकेको होला। मानसिक रोग कुनै पनि जाँच, ल्याब टेस्ट वा सिटी स्क्यान, एम आर आइ मा देखिने कुरा हैन, यो त विरामीसँग डक्टरले गर्ने कुराकानी, क्लिनिकल जाँचका आधारमा पत्ता लगाइने कुरा हो। अब यस्मा कस्तो खाल्को रोग पत्ता लगाई खोज्नु भएको हो, कस्तो खाल्को रिपोर्टमा रोगको डायग्नोसिस खोज्नु भएको हो, थाहा भएन।

हामी डक्टरहरु पनि विरामीको समस्या सुन्ने, क्लिनिकल जाँच गर्ने भन्दा नि ल्याब टेस्ट, भिडियो एक्सरे, सिटी स्क्यानमा हाम्फालिहाल्छौ, अनी विरामीहरु नि डायग्नोसिस् लेखिएको ल्याब रिपोर्ट खोज्छन्। यस्का कारण धेरै हुनसक्छन्।

आफुलाई औषधी शुरु गर्नु अघी आफ्नो डक्टरसँग “मेरो रोग के हुनसक्छ” भनेर छलफल गर्नुस्। उपचार शुरु गर्नुअघी रोग पत्ता लाग्नु धेरै राम्रो हो, तर यो सधैं सम्भव हुँदैन तर डक्टरसँग केही न केही क्लिनिकल डायग्नोसिस् हुन्छ, त्यस्को बारेमा नि छलफल गर्नुहोस्।

तर यो पनि साँचो हो कि कती पटक क्लिनिकल डायग्नोसिस् गलत हुनसक्छ। ‘टिवी’ भनेर उपचार शुरु गरिएकोमा पछी गएर त्यो फोक्सोको क्यान्सर हुनसक्छ। ‘ग्यास्ट्राइटिस’ भनेर औषधी खाँदै बसेको अन्त्यमा नामै नसुनेको अर्कै रोग हुनसक्छ। एपेन्डिसाइटिस भनेर अप्रेसन गरेको पेटको ‘टिवी’ निस्कन सक्छ, वा ‘मिकल्स डाइभर्टिकुलाइटिस’ हुनसक्छ वा एपेन्डिक्स नर्मल हुनसक्छ। १०-१५% केसमा एपेन्डिसाइटिस भनेर अप्रेसन गरिदा नर्मल एपेन्डिक्स भेटिन्छ, यो संसारभरीकै डाटाले भनेको कुरा हो। कती बेलामा रोग के हो पत्ता लगाउनलाई नै पेट चिर्नुपर्ने हुन्छ किनकी कुनै पनि जाँचले ठीक डायग्नोसिस् दिएको हुँदैन।

त्यसैले त म भन्छु हामी डक्टरहरु मान्छे हौ, हामीले पढेको ज्ञानको आधारमा, विरामी जाचेको अनुभवका आधारमा र ल्याब टेस्ट, रेडियोलोजिकल र अन्य टेस्टहरुले गरेको सपोर्टका आधारमा नै रोग पत्ता लगाउने र उपचार गर्ने हो। हामीसँग कुनै जादुको छडि हुँदैन, घुमायो सब कुरा छर्लङ, सब रोग ठीक। हामीमा धेरै लिमिटेसन हुन्छन्, अझ हाम्रो जस्तो अविकसित देशमा जहाँ रोग पत्ता लगाउन सहयोग गर्ने राम्रा ठुला जाँचहरु सर्वसुलभ हुँदैनन् त्यस्तोमा त हामी झन बढी क्लिनिकल ज्ञानमा भर पर्नुपर्ने हुन्छ र हाम्रो लिमिटेसन झन बढेर जान्छ।

विरामी, विरामीका आफन्तहरु र उपचार गर्ने डक्टर र पूरै टिमले यो कुरा थाहा पाउनु जरूरी हुन्छ। अनि सर्वसाधारणले जस्लाई सबैभन्दा बढी सुन्छन्, पढ्छन्, हेर्छन् अनि विश्वास नि गर्छन्, राष्ट्रको चौथो अङ पत्रकार साथीहरुले नि यो कुरा बुझ्नु एकदम जरुरी छ, किनकी समाजको दृष्टिकोण तपाईंहरुले समाचार सम्प्रेषण गर्ने तरिकाले नै बन्ने गर्छ।

यो पनि हेर्नुहोस्-
मानवता vs नियम

बाँकी पढ्नुहोस् >>