Monday, February 18, 2013

माफ गर्नुहोला, म यो काम गर्न सक्दिनँ।


र्मसंकट – भाग लेखेपछी यो अर्को विषयमा धर्मसंकट – भाग लेख्ने भनी धेरै अघी सोचेको थिएँ तर विभिन्न कारणले गर्दा लेख्न पाएको थिइन। आज कान्तिपुरको यो समाचार पढेपछि ती पुराना कुराहरु फेरी लेख्नैपर्ने गरेर उर्लिए। तर शिर्षक चै बद्लेर लेखेँ किनकी अब मेरो लागि यो 'धर्मसंकट' रहेन। 

एकाबिहानै घरको फोन बज्यो। फोन मेरो लागि रहेछ, ममीले बोलाउनुभयो। आँखा मिच्दै "हेलो" भनेको त एकजना चिन्ने दिदीले "भाई मलाई क्यान्सर भएको कागज बनाउनुपर्ने भयो"। म झसंग भएँ। "तपाईलाई के भयो र? केको क्यान्सर, कैले भयो।" मेरो निद्रा सब उड्यो। "हैन के, भिनाजुको सरुवा यता मिलाउनका लागि श्रीमती विरामी छ र घरतिर बसेर उपचार गराउन सजिलो पर्छ भनेर कागज बनायो भने माथि अफिसबाट सरुवा मिलाउन पनि सजिलो पर्छ रे, त्यसैले भाईलाई सम्झेको नि। आफ्नो मान्छे काम लाग्ने भनेको यस्तैमा त हो नि।" मलाई आफू 'इमोसनल ब्ल्याकमेल' भइरहेको फिल भयो। मैले अनकनाएर भनें "त्यस्तो कागज बनाउन अलि गाह्रों पर्छ की, हामीसँग त्यस्तो हस्पिटलको लेटर प्याडको कागज नै हुदैंन।" उहाँले अलि जोड दिन खोज्नुभो, म भने तर्किन खोजें। पछि मैले "हुन्छ मिलेछ भने तपाईंलाई खबर गर्छु नि" भनेर फोन राखें। पछि के भएछ कुन्नि उताबाट फोन नै आएन, मैले गर्ने त कुरै भएन।

अर्को घटना, अमेरिकामा रहेका एकजना साथीले एकदिन फेसबुकमा मेसेज गरे, "मलाई एउटा सहयोग गर्नुपर्यो यार। मलाई नेपालमा हुँदा कुटपीट गरिएको एउटा मेडिकल कागज बनाउनुपरेको छ, यस्सो एकदुईवटा हड्डी भाँच्चिएको, अस्पताल भर्ना गरिएको, त्यहाँको कुनै अस्पतालको कार्डमा।" मैले बुझे अनुसार उसलाई नेपालमा फर्कन ज्यानको जोखिम भएको जस्तो कागज देखाएर अमेरिकाको बसाई सहज बनाउनु थियो। उ मेरो नजिकको साथी भएकोले र अमेरिकामा रहँदा मलाई सहयोग पनि गरेकोले मैले अफ्ठ्यारो मानेपनि नाईं भने भन्न सकिनँ। मैले उता पठाउनका लागि पुरानो  मितीमा उसलाई अपरिचित मान्छेहरुले आक्रमण गरेर घाइते बनाएको र अस्पतालमा भर्ना भएर उपचार गराइएको कागजपत्र तयार पनि पारें तर पछि उतैबाट खबर आयो "अहिलेलाई मिल्यो, त्यो कागज पठाउनु पर्दैन।" लामो सास तान्दै मैले त्यो कागज च्यातेर फालिदिएँ।

आज कान्तिपुरमा यो समाचार पढेंपछि ती कुराहरु फेरी झल्यास्स सम्झें। यो कुनै नयाँ घटना होइन। माथिका त मैले कागज बनाउनु नपरेका घटनाहरु भएँ। तर मैले पनि कहिले 'एपेन्डिसाइटिस' भएर अप्रेसन गर्नुपर्ने वा सिकिस्त विरामी भएर अस्पताल भर्ना भएको नक्कली कागजहरु बनाएको छु। र त्यसबापत केही रकम लिएको पनि छु। तर मेरो उद्धेश्य उनीहरुसँग पैसा लिएर पैसा होइन बरु साँच्चिकै अफ्ठ्यारोमा परेकोलाई सहयोग गर्ने भन्ने मात्रै हो। तर त्यस्तो काम 'परोपकारीता' शब्द भित्र अटाउन मिल्दैन। सबैले त्यस बापत पैसा लिन्छन् र मैले पनि लिएको छु। सायद पत्रकार महोदयले भर्खरै मात्र थाहा पाउनुभएको हो की। मलाई लाग्छ नेपालका हरेक डाक्टरलाई यस्तो कागज बनाउनका लागि अफर राखिएको होला। कहिले चिनेको मान्छेको मार्फत त कहिले पैसा दिन्छु भनेर र धेरैले बनाएका पनि होलान्।

'छोरा फिर्ता गराउन आमा विरामी भएको कागजात बनाएर रकम असुलेको'
यसलाई 'रकम असुलेको' भन्न मिल्छ र? उनले म यस्तो कागज बनाइदिन्छु भनेर बोलाएर पैसा लिएर त्यो कागज बनाइदिएको हो र? साथीको अनुरोधमा मात्र बनाइदिएको भनेर त समाचारमै लेखिएको छ। यदी उनले पैसा नलिइ बनाइदिएको भएँ चाहीं के त्यो ठिक काम हुन्थ्यो त? ठग्ने उदेश्यले उनले त्यो कागज बनाएको हो जस्तो त समाचार मात्रै पढ्दा पनि देखिदैंन। हो, त्यस्तो नक्कली कागज बनाउनु गैरकानुनी हो तर जब पैसा लिइदैंन तब ठिक, आफ्नो नाम, एनएमसी नं लेखेर नक्कली कागज बनाएर पैसा लिंदा चाहीं बेठिक?

मैले यहाँ 'त्यस्तो कागज बनाएर पैसा लिन पाउनुपर्छ' भनेर भन्न खोजेको होइन, बनाउन पाउनुपर्छ नि भनेको होइन। म त त्यस्तो कागज बनाउन नै हुन्न भन्छु। यस्ता नक्कली कागज सहजै बन्ने भएकाले नै विदेशमा नेपालमा बनेको रिकमेन्डेसन लेटर, अन्य सरकारी कागजलाई पत्याउन छोड्दै गएको। तर ग्रिनकार्ड पाउन र विदेश छिर्नका लागि बिहे र हनिमुन त नक्कली गरेर देखाउने हामी नेपालीहरुका लागि यो त सामान्य कुरा नै होला।

कहिलेकाहीं 'मेरो छोरालाई घर फर्कन छुट्टि नै दिएन, जस्सरी नि उसलाई फर्काउनका लागि यो कागज बनाइदिनुपर्यो बाबु, बरु जति परेपनि तिरौला' भनेर आमाहरु विन्ति गर्न आउँछन्, कहिले श्रीमतीहरु श्रीमान फर्काउन सहयोग गर्नुपर्‍यो भनेर आउछन्। पैसाको लोभमा भन्दा नि दु:ख परेकोलाई सहयोग हुन्छ की भनेर नै त्यस्तो कागज बनाइदिने गर्थें। तैपनि म प्राय: त्यस्तो कागज बनाउन गाह्रों नै मान्ने गर्थे। अझ कागज बनाउन आएकाहरु भन्ने गर्छन् "किन डराउनु भएको डाक्टरसाब केही हुदैंन, त्यहाँ कम्पनीमा देखाउने मात्रै हो, कसैले हेर्ने होइन क्यारे।" यस्ता कागज बनाएर केस अनुसार, बनाउनेलाई कत्तिको आवश्यक परेको हो त्यस अनुसार हजार, २ हजार लिएर अर्काको अफ्ठ्यारोको फाइदा लिने डाक्टरहरु पनि नभएका होइनन्। काम अवैध हो तर भैरहेको छ र भैरहन्छ पनि, किनकी त्यस्ता कागज चाहिने मान्छे भइनै रहन्छन्।

यस्ता कामलाई व्यवस्थित बनाउनुपर्ने, रकम असुले बापत राजस्वमा दाखिला नभएको, सरकारी अस्पतालले साँच्चै अफठ्यारोमा परेकोलाई नि:शुल्क सहयोग गरिदिनुपर्ने...

नक्कली कागज बनाउने कामलाई कसरी व्यवस्थित गर्ने? यस्ता काम त व्यवस्थित होइन बन्द गरिनुपर्छ। जुन काम गैरकानुनी हो, गलत हो, त्यो पैसा लिए पनि गलत हुन्छ, सहयोगका लागि गरिएपनि गलत नै हुन्छ। यो कानुनको नजरमा 'गलत काम'को आम्दानी पनि राजस्वमा दाखिला गर्न मिल्ला र पत्रकारज्यू? अझ साँच्चै अफ्ठ्यारोमा परेकोलाई चाँही सरकारी अस्पतालले नि:शुल्क त्यस्तो नक्कली कागजात बनाइदिनुपर्ने रे। यो कस्तो खालको सुझाव हो? हो कोही साँच्चिकै नै अफ्ठ्यारोमा परेका हुन्छन् र तीनलाई त्यस्तो कागजले सहयोग पनि पुग्छ। तर त्यो काम गैरकानुनी हो भने ल अब तपाईंहरु नै भन्नुस् त्यस्तो काम गर्ने की नगर्ने? मेरो त दिमागले भन्छ 'नगर', मुटुले भन्छ 'यति सानो सहयोग त हो नि गर'। तर यस्ता समाचार पढेपछि म चाँही यस्तो काम नगर्नेमा पुगें। कोही यस्तो साँच्चै अफ्ठ्यारोमा परेर आउनुभयो भने भन्नेछु "तपाईंलाई परेको अफ्ठ्यारो सुनेर मलाई दु:ख लाग्यो तर माफ गर्नुहोला म यसमा सहयोग गर्न सक्दिनँ।