Tuesday, July 19, 2011

सर्पको टोकाइ र त्यसको उपचार (Snake bite and it's management)

र्मी र वर्षायामसँगै तराई र भित्री मधेसका भागहरुमा सर्पहरु देखिन थाल्छन् र त्यससँगै सर्पको टोकाइबाट पिडित विरामीहरुको पनि अस्पतालमा भिड लाग्ने गर्छ। गर्मीका बेला हरेक दिन सर्प (विषालु र अविषालु दुवै)ले टोकेका विरामीहरुको अस्पतालमा लाम हुने गर्छ। आज यहि सर्पको टोकाइ, विषालु सर्प र त्यसको टोकाइ कसरी चिन्ने, त्यसको घरेलु उपचार र अस्पतालको उपचारका बारेमा चर्चा गर्दैछु। 

नेपालको तराईका भेगहरुबाट पहाडको ४८०० मीटरको उचाईसम्ममा करिब ७७ प्रजातिका सर्पहरु पाइन्छन्, जसमध्ये २१ थरिका विषालु सर्पहरु हुन्। नेपाल र यस वरपरका देशहरुमा प्राय: गरेर पाइने विषालु सर्प दुई समुहका हुन्छन्। इलापीडे/Elapidae परिवार र भाइपरिडे/Viperidae परिवार। इलापीडे परिवारमा किङ कोब्रा/King cobra, कोब्रा/गोमन, करेत/krait पर्छन भने भाइपरिडे परिवारमा भाइपर/बाधे, पीट भाइपर/Pit viper पर्छन्। 

नेपालमा हरेक वर्ष करिब २०,००० सर्पदंशका घटना हुने र त्यसमा करिब २०० जनाले ज्यान गुमाउने अनुमान गरिएको छ। पूर्वका १० जिल्लाका अस्पतालहरुमा गरिएको एक अध्ययनले वर्षमा ४०७८ जनालाई सर्पले टोकेको, जसमा ३७९ लाई विषालु सर्पले टोकेको पाइएको थियो, जुन करिब ९% जति हुन आउँछ। त्यस्तै विषालु सर्पको टोकाइपछिको मृत्युदर करिब २१.३% देखिएको थियो। मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाइ देखिएको थियो। 

विषालु सर्पका विष सामान्यतया दुई प्रकारका हुन्छन्। न्युरोटक्सिक/Neurotoxic र हेमाटोटक्सिक/Hematotoxic
गोमन र करेत दुवै न्युरोटक्सिक समुहमा पर्छन् भने भाइपर हेमाटोटक्सिकमा पर्छ।

विषालु सर्प र त्यसको टोकाइ कसरी चिन्न सकिन्छ?

सबै विषालु सर्प चिन्ने ठ्याक्कै तरिका यहि हो भनेर भन्न सकिदैंन। तर केही बढि पाइने प्रजातिहरुलाई तिनीहरुको विशेष गुणका आधारमा चिन्न सकिन्छ। जस्तै गोमन रिसाएको बेलामा आफ्नो टाउको उठाएर फिजाउने गर्छ। करेतमा प्राय: गरेर कालो सेतो दागहरु हुन्छन्। त्यस्तै भाइपरमा पनि सेतो कालो छिर्केमिर्के धब्बाहरु हुन्छन्।
चित्र: करेत/Krait

सर्पको टोकाइबाट कसरी बच्न सकिन्छ?
प्राय:जसो सर्पहरु रिसाहा हुदैंनन् र मानिसलाई त्यसै टोक्दैनन्। केहि गरेर मानिसको सम्पर्कमा आएमा वा जानी नजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि यसले टोक्ने गर्छ। यसको टोकाइको शिकार विषेश गरी खेतीकिसानी गर्ने व्यक्तिहरु हुने गर्छन्। 
यसको टोकाइबाट बच्ने केहि साधारण उपायहरु:
१. आफ्नो ठाँउ वरिपरि पाइने सर्पहरुको बारेमा जानकारी राख्ने। ती कस्तो ठाँउमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढि सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ।
२. वर्षाको समयपछि, खेत रोपाइका बेलामा सर्पको बारेमा विशेष ध्यान पुर्याउनुपर्छ। किनभने यस्तो बेला सर्पहरु बाहिर निस्कने सम्भावना बढि हुन्छ।
३. रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती, टर्चलाइट, लालटिन लिएर मात्रै निस्कने गर्नुपर्छ। एक अध्ययन अनुसार करिब ७५% विषालु सर्पको डसाईका घटनाहरु रातको समयमा भएको पाइन्छ।
४. सर्प पाइनसक्ने ठाँउमा जानुपर्दा घुँडासम्म आउने छालाको जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ।
५. जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हुदैंन। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने हुदैंन, त्यसैले सकेसम्म खाली हातले छुने वा समाउने कोशिश गर्नु हुदैन।
६. सम्भव भएसम्म भुईंमा नसुत्ने। सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ।
७. रुख, जमिनमा भएका प्वालहरुमा जथाभावी हात छिराउनु हुदैंन।
८. जुत्ता लगाउँदा जुत्ता भित्र राम्रोसँग हेरेर मात्रै लगाउनुपर्छ।
९. भ्यागुता, मुसा, चरा, छेपारो आदी सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुदैंन।
१०. सम्भव भए घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ।
११. सर्पको डसाईमा गरिने प्राथमिक उपचार र प्रतिविष/Antisnake venom पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालका बारेमा जानकारी राख्नुपर्छ।







चित्र: सस्केल्ड भाईपर/Saw-scaled Viper 




सर्प डसाईका चिन्ह र लक्षणहरु के के हुन्?सर्प भन्ने वित्तिकै विषालु हुन्छ भन्ने विश्वास व्याप्त भएकोले जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केहि लक्षणहरु देखिन सक्छन्। जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुदैं जाने, रक्तचाप घट्ने, बेहोस हुने आदी। अचम्म लाग्न सक्छ, तर यी सबै लक्षणहरु विष नभएको सर्पले टोक्दा पनि धेरै डराएमा देखिनसक्छ। तर पनि सर्पले टोकेका हरेक विरामीलाई सकेसम्म चाँडो नजिकको अस्पताल पुर्याउनुपर्छ।

त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केहि माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजो आज पनि गर्ने गरिन्छ) त्यस्ले रक्तसंचारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मर्ने पनि हुनसक्छ।
यी त भए विष बाहेक अन्य कुराका असरहरु। अब सर्पको विषका कारणले देखिने लक्षणहरुको कुरा गरौं।

डसेको भाग र त्यस वरपरमा देखिने लक्षणहरु:-
डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, तर सधैं यो देखिन्छ भन्ने छैन।
डसेको भाग दुख्ने, सुन्निने
घाउ हुने, रगत बग्ने
फोका उठ्ने, नीलडाम बस्ने
नजिकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने
पछि गएर डसेको ठाँउमा संक्रमण हुने, पाक्ने र अंग नै कुहिने पनि हुन्छ। यस्तो विशेषगरी भाइपर र गोमनको डसाइमा हुने गर्छ।


सम्पूर्ण शरीरमा देखिने लक्षणहरु:-
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने
हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने।
डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठुलाठुला राता दागहरु देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने, मष्तिस्कमा रगत बग्ने आदि। यी रगत बग्ने लक्षणहरु मुख्यतया भाइपर जातका सर्पहरुको डसाइमा देखिने गर्छ, किनकी यिनीहरुका विष हेमाटोटक्सिक अर्थात् रगतको जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन्।

त्यस्तै गोमन, करेत (जसको विष न्युरोटक्सिक अर्थात् स्नायुहरुमा असर गर्ने र प्यारालाइसिस गराउने खालका हुन्छन्)हरुको डसाइमा हातखुट्टा झमझमाउने, स्वाद लिने र सुँघ्ने शक्तिमा ह्रास आउँदै जाने, आँखाको ढकनी भारी हुने, स्वर परिवर्तन हुँदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रों हुने, मुखबाट र्याल बगिरहने, स्वास फेर्न गाह्रों हुने र नसकिने, हातखुट्टा लुलो हुने र पूरै शरीरको प्यारालाइसिस हुने जस्ता लक्षणहरु देखिन्छन्।
सर्पको डसाईको असर लामो समयपछि पनि डसेको ठाँउको मांसपेशी मरेर जाने, अंगहरु काम नलाग्ने हुने, स्नायुमा असर गरेर वा मष्तिस्कका रगतका नली फुटेर रगत बगी हातखुट्टा नचल्ने, मृगौलाले काम नगर्ने रुपमा देखिनसक्छ।



सर्पको डसाईको उपचार के हो?
प्राथमिक उपचार:- 
सर्पले डसेको व्यक्ति प्राय: अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ।
टोकेको भागलाई धेरै चलाउनाले विष छिटो र बढि मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने। हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ।
गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट माथि हल्का प्रेशर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ, यसलाई प्रेशर इमोबिलाइजेसन विधि/ Pressure immobilization method भनिन्छ। पहिलेपहिले गरिने जस्तो एकै ठाँउमा एकदमै कस्सेर बाँध्नु हुदैंन। कस्सेर बाँध्नाले त्यसभन्दा मुनिकॊ भागमा रक्तसंचार पूरै बन्द भई उक्त भाग मरेको कैंयौ घटनाहरु भएका छन्।

विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको प्रयोग शुरु नभएसम्म त्यो प्रेशर ब्यान्डेज खोल्नुहुदैंन।
सकेसम्म चाँडो विरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। यसोगर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने।



प्रतिविष/Anti Snake Venom (ASV)को प्रयोग
विषालु सर्पको डसाईको अन्तिम र एकमात्र उपचार भनेको प्रतिविषको प्रयोग हो। र कुन विरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण र गाह्रों निर्णय हो।
नेपालमा प्रयोग गरिने प्रतिविष/Polyvalent ASVले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, रसेल्स भाइपर र सस्केल्ड भाइपर) को टोकाइमा काम गर्छ। यसको पनि आफ्नै खराब असरहरु छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिदैंन।
यो सर्पदंश उपचार केन्द्रहरुमा नि:शुल्क पाइन्छ।
यसका खराब असरहरु धेरै हुने भएकोले, बढि महंगो हुने भएकोले र सीमित मात्रामा मात्र उपलब्द हुने भएकोले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षणहरु नदेखिइकन प्रयोग गर्नुहुदैंन।
यसले कसैकसैमा डरलाग्दो रियाक्सन/Hypersensitivity reaction गर्नसक्ने भएकोले यो दिनु अघि एड्रेनालिन/Adrenaline औषधि तयार राख्नुपर्छ।
बच्चालाई र वयस्कलाई प्रयोग गरिने प्रतिविषको मात्रा एउटै हुन्छ।
यसको अनावश्यक व्यक्तिलाई र आवश्यकभन्दा बढि प्रयोग गर्ने कि्रयाकलापलाई कम गर्न पहिलेका अनुसन्धानहरुका आधारमा ३० भाइल प्रतिविषको प्रयोग सम्बन्धि अनुसन्धान भरतपुर अस्पतालमा हाल भइरहेको छ। 



सर्पको डसाईपछि के नगर्ने? 
टोकेको ठाँउमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने, त्यसो गर्दा विषभन्दा रगत बढि गई विरामीको मृत्यु हुनसक्छ।
चलचित्रहरुमा देखाएको जस्तो मुखले चुसेर विष निकालेर फाल्न सकिदैंन। बरु मुखमा घाउहरु छ भने त्यस्तो गर्नेलाई नै विष लाग्नसक्छ, त्यसैले त्यस्तो प्रयास नगर्ने।
धामीझांक्रीको उपचार, विष सोस्ने कालो ढुंगा/ Snake stone को उपचार तर्फ लागेर महत्वपूर्ण समय नगुमाउने। विश्वासका आधारमा यी उपचारले मानसिकरुपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछ भने उपयुक्त उपचारको ढिलाइमा विरामीको ज्यान जानसक्छ।
घाउलाई टोकेको अंगलाई अनावश्यकरुपमा नचलाउने।
चिकित्सकले नभनेसम्म केहि नखाने, नपिउने।
विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कस्सेर बाँध्ने गर्नुहुदैंन। यसले फाइदाभन्दा बेफाइदा बढि गर्छ।


सम्पर्क:
भरतपुर अस्पताल, भरतपुर ०५६-५२०१११, ५२५१०१
सर्पदंश उपचार केन्द्र, चारआली, झापा ०२३-४६०१०७
नेपाल रेडक्रस सोसाइटि, दमक ०२३-५८०१७६



अन्त्यमा
यो लेख लेखीरहँदा विषालु सर्पले टोकेर विषका लक्षणहरु देखिइ प्रतिविष/ASV चलाएर भरतपुर अस्पतालमा एउटी बच्चीको उपचार भइरहेको छ। हामी सबै मिली उसको शिघ्र स्वास्थ्य लाभको कामना गरौं र सर्पको बिगबिगी हुने यो मौसममा होसियार रहौं। 


स्रोतहरु:

1. Snake and snake bites in Nepal

2. Guidelines for clinical management for snake bites in South-East Asia region http://203.90.70.117/PDS_DOCS/B0241.pdf
3. Snake bite
4. Snakebite
5. Snake stones

बाँकी पढ्नुहोस् >>

Monday, July 11, 2011

डरलाग्दो डेंगु (Dengue Fever)

न् २००६ भन्दा अघिसम्म डेंगु ज्वरोको हामीले नाममात्र सुनेका थियौं। त्यतिखेर नेपालमा पहिलो पटक देखिएको डेंगु ज्वरोको प्रकोप हरेक वर्षजस्तो बढिरहेको छ। प्राय: गर्मी र वर्षाको मौसममा मध्य र पश्चिमका तराईका जिल्लाहरुमा यसको विरामीहरुको संख्या ह्वात्तै बढ्ने गरेको पाइन्छ। यी मौसममा यो रोग सार्ने लामखुट्टे प्रशस्त मात्रामा हुनाले पनि यो रोग बढि देखिने गरेको हो। आज यहि डेंगु रोगका बारेमा केहि जानकारी दिने प्रयास गर्दैछु।

डेंगु ज्वरो भनेको के हो? 
यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो। यो भाइरस ४ प्रकारका हुन्छन्। डेंगु भाइरस-१, २, ३ र ४ (DENV-1, 2, 3, 4)। एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ, अर्थात् एकपटकको संक्रमणपछि लाइफ लंग इम्युनिटि (lifelong immunity) हुन्छ। तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केहि समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ।
डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन्।
१. साधारण डेंगु ज्वरो (Dengue Fever)
२. डेंगु हेमोरेजिक ज्वरो (Dengue Hemorrhagic Fever)
३. डेंगु शक सिन्ड्रोम (Dengue Shock Syndrome)
यो भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ।

डेंगु ज्वरोका लक्षणहरु के के हुन्?
यसका मुख्य लक्षणहरु अत्यधिक ज्वरो आउने (१०४-१०५ डिग्री फरेन्हाइट सम्म), सम्पूर्ण शरीर दुख्ने, छालामा राताराता दागहरु देखिने हुन्। अत्यधिक जीउ दुख्ने भएकोले यस रोगलाई अंग्रेजीमा ब्रेकबोन फिभर (Breakbone Fever) पनि भनिन्छ।

एडिज लामखुट्टेले टोकेर यो भाइरसको संक्रमण भएको धेरैजसोलाई कुनै समस्या नदेखिने वा साधारण डेंगु ज्वरो मात्र आउने हुन्छ। यो बेलाका लक्षणहरु साधारण रुघाखोकीको जस्तो नै हुने गर्छ र ज्वरोको साधारण उपचार, आरामले मात्रै यो ठिक भएर जान्छ। बच्चाहरुमा ज्वरोको साथमा छालामा राताराता दागहरु देखिने गर्छ भने वयस्कहरुमा ज्वरोसँगै जीउ दुख्ने, आँखाको गेडीको पछाडि दुख्ने (Retroorbital pain), टाउको दुख्ने आदि समस्याहरु देखिने गर्छन्। लामखुट्टेले टोकेर भाइरस सारेको करिब ३-१४ दिनमा यस्ता लक्षणहरु देखिने गर्छन्।
धेरैजसोमा साधारण असर मात्रै गरेपनि केहि प्रतिशतमा भने यसका अन्य जटिल अवस्थाहरु जस्तै डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोम देखिने गर्छ।
डेंगु हेमोरेजिक ज्वरोमा नाम अनुसारकै शरीरका विभिन्न भागहरुमा रक्तनलीहरुबाट बाहिर रगत बग्ने गर्छ। रक्तनलीहरुका भित्ताहरुबाट रगत चुहिने र रगत जमाउने कोष प्लेटेलेट(Platelet) हरुको कमि र कलेजोमा पर्ने खराब असरका कारणले पेटमा पानी जम्ने(Ascites), फोक्सोमा पानी जम्ने(Pleural effusion), छालामा रगतका केसिकाहरु फुटेर सानासाना राता दागहरु देखिने देखि लिएर पेटमा, मष्तिस्कमा रगत बग्ने जस्तो ज्यानै जाने अवस्था पनि आउन सक्छ।
त्यस्तै त्यसपछिको अवस्था डेंगु शक सिन्ड्रोममा रक्तचाप कम भएर जान्छ र अन्तत: शरीरका महत्वपूर्ण अंगहरुमा रगत र अक्सिजन नपुगेर विरामीको मृत्यु हुनजान्छ।
डेंगु ज्वरोका यी पछिल्ला दुई खतरनाक अवस्थाहरु संक्रमण भएकाको ५% भन्दा कमलाई मात्रै देखिने गर्छ र प्राय:लाई त्यो भन्दा अघि पनि डेंगु भाइरसको संक्रमण भएको हुन्छ। अर्थात् एकपटक डेंगुको संक्रमण भैसकेपछि फेरी अर्को पटक अर्को खालको डेंगु भाइरसको संक्रमण भएमा जटिलता आउने सम्भावना धेरै बढि हुन्छ।









डेंगु ज्वरो कसरी सर्छ? 
यो रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन। डेंगु ज्वरो लागेको विरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज/Aedes)मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ। डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउँदा, अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ। तर यसको रोगीलाई छुँदा, स्याहार गर्दा, सँगै उठबस गर्दा, सँगै खाँदा भने यो रोग सर्दैन।

एडिज लामखुट्टे कसरी चिन्न सकिन्छ? 
यो खालको लामखुट्टेका खुट्टाहरुमा सेतोकालो दागहरु हुन्छन्। यिनीहरुले प्राय: विहान र बेलुकाको समयमा टोक्ने गर्छन्। र यी लामखुट्टेहरुले जमेको पानी, गमलाका पानी, ट्वाइलेटका ट्यांकी, फालिएका टायरहरुमा जमेको पानी आदिमा अण्डा पार्ने गर्छन्। 
चित्र: चितवनमा पाइएको एडिज/Aedes लामखुट्टे।सौजन्य: डा. अरुण सेढाई 

डेंगु ज्वरोको कसरी उपचार गरिन्छ? 
यसका लक्षणहरु (ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने), विरामी बस्ने वा गएको स्थानमा डेंगुको प्रकोप, लामखुट्टेको प्रकोप आदि सबै कुरालाई ध्यानमा राखेर डेंगु हुनसक्ने, नसक्ने बारेमा पत्ता लगाउन सकिन्छ। त्यसका साथै विरामीको जाँच गर्दा ज्वरो, छालामा राता दागहरु, कलेजो सुन्निएको, फोक्सोमा पानी जमेको, पेटमा पानी जमेको, रक्तचाप कम भएको आदिका अनुसार पनि डेंगु ज्वरोको उपचार शुरु गरिन्छ। साथै यसको लागि रगतका विभिन्न जाँचहरु पनि गर्ने गरिन्छ। सेतो रक्तकोषहरुको संख्या(WBC count), प्लेटेलेटको संख्या(Platelet count), कलेजोमा कति असर गरेको छ भनेर गरिने जाँचहरु(लिभर फंसन टेस्ट/ LFT), रगतमा विभिन्न लवणहरुको मात्रा(सोडियम/Sodium, पोटासीयम/Potassium), क्रियटिनिनको मात्रा(Creatinine), छातीको एक्सरे, पेटको भिडियो एक्सरे आदि जाँचहरु रोगीको अवस्था र रोगको जटिलताहरु हेरेर गर्ने गरिन्छ। साथै यो भाइरसको संक्रमणपछि हुने इम्युनोलोजिकल रियाक्सन (Immunological reaction)लाई जाँच्ने एलाइजा टेस्ट (Dengue ELISA test)ले पनि यसको बारेमा राम्रो जानकारी दिन्छ। यी जाँचहरुका बारेमा आफ्नो चिकित्सकसँग राम्ररी छलफल गर्नुपर्छ।

प्राय: भाइरल संक्रमणहरु जस्तै साधारणतया यो पनि आफैं ठिक हुने गर्छ। यसको लागि खास उपचारको आवश्यकता पर्दैन। ज्वरोको लागि  NSAIDS, एस्पिरिन/Aspirin भन्दा सिटामोलको प्रयोग गर्नु उचित हुन्छ। वान्ता हुने, खानामा अरुची हुने कारणले शरीरमा पानीको कमि हुने भएकोले प्रशस्त मात्रामा पानी सेवन गर्नुपर्छ। साथै आराम पनि गर्नुपर्छ।
रोगको अवस्था र जटिलताका आधारमा सपोर्टिभ उपचार (Supportive treatment) गर्ने गरिन्छ। जस्तै- रक्तचाप कम भएको बेलामा सलाइन पानी (नर्मल सलाइन/Normal saline, रिङ्गर ल्याक्टेट/Ringer lactate आदि दिनुपर्छ। त्यस्तै रगतको कमि वा रगतमा प्लेटेलेटको कमि भएमा त्यहि अनुसार रगत दिनुपर्ने हुन्छ। साथै विरामीको अवस्था हेरेर विरामीलाई अस्पतालको वार्डमा वा सघन उपचार कक्षमा भर्ना गर्नुपर्ने हो सल्लाह गर्नुपर्छ।
यस्ता उपचारबाट डेंगु ज्वरोको मृत्युदर २०% बाट १% भन्दा कममा झार्न सकिन्छ।

अरु कुनकुन रोग वा अवस्थाहरुसँग यो रोग झुक्किन सक्छ? 
उस्ताउस्तै लाग्न सक्ने रोग वा अवस्थाहरुलाई मेडिकल भाषामा Differential Diagnoses भनिन्छ। मलेरिया, मेनिन्जाइटिस, इन्फ्लुएन्जा, लेप्टोस्पाइरोसिस/Leptospirosis, भाइरल हेपाटाइटिस, टाइफाइड, अन्य ब्याक्टेरियल संक्रमणहरु, संक्रमणले गर्दा हुने रक्तचापको कमि (सेप्टिक शक/Septic shock) आदि। यी विभिन्न रोगहरुका लक्षणहरुसँग मेल खाने भएकोले यसको उपचार गर्दा यी रोगहरु पनि हुनसक्ने सम्भावनालाई विस्रनुहुदैंन।

यो रोगबाट कसरी बच्न सकिन्छ?
डेंगु रोगको विरुद्ध खोपको विकास गर्ने प्रयासहरु भैरहेका छन् तर प्रयोगका लागि उपलब्द भैसकेका छैनन्। त्यसैले यसबाट बच्ने एउटै मात्र उपाय भनेको यसका भाइरसलाई सार्ने लामखुट्टेको नियन्त्रण गर्ने र त्यसको टोकाइबाट बच्ने हो। सुत्ने बेलामा झुल लगाएर सुत्ने, घर वरिपरि सफा राख्ने, फोहोर पानी जम्न नदिने, हातखुट्टा छोप्ने गरी लामा कपडा लगाउने, घर वरिपरि लामखुट्टे मार्ने औषधीहरु छर्ने गर्नुपर्छ। त्यस्तै सरकारी स्तरमा गाँउशहरमा फोहर जम्नसक्ने खाल्डोहरु पुर्ने, लामखुट्टे मार्ने औषधीहरु छर्ने, डेंगु ज्वरोको बारेमा जनचेतना जगाउने कार्यक्रमहरु गर्ने गर्नुपर्छ।

स्रोतहरु:






बाँकी पढ्नुहोस् >>

Wednesday, June 29, 2011

विरामीसँग "तपाईंको रोग साधारण हो" भनेर झुट बोल्नु अघि...


ओपीडीको दृश्य 

रगतको जाँच भिडियो एक्स रे सिटी स्क्यान सबैको रिपोर्ट हेरिसकेपछि चिकित्सकले विरामीको छोरालाई विरामीलाई बाहिर राखेर आउन भने। बुवालाई बाहिर राखेर आएपछि छोरासँग कुरा गर्दै भने "उहाँलाई फोक्सोको क्यान्सर भएको छ र सबैतिर फैलिएको छ। लगभग अन्तिम जस्तै अवस्था छ।"
वार्डको दृश्य
आफ्नो बुवालाई क्यान्सरको शंका लागेपछि छोराले चिकित्सकलाई कुनामा बोलाएर सबै कुरा सोधे र भने "कृपया बुवालाई चाँही नभनीदिनुहोला टेन्सन बढि लिनुहुन्छ।" चिकित्सकले हुन्छ भनेर स्वीकृति जनाए।  
आइसीयु को दृश्य
पेटको क्यान्सरका लागि एकदिन अघि अप्रेशन गरिएका आफ्ना मित्रलाई भेट्न आएका एक नाम चलेका र अनुभवी चिकित्सकले मलाई भनॆ "उहाँलाई चाँही क्यान्सर हो भनेर भनेको छैन है। तिमीले नि नभन्नु नि।" मैले सहमतिमा टाउको हल्लाएँ।

यी दृश्यहरु कुनै काल्पनिक घटनाहरु होइनन्, मैले देखेका भोगेका अनुभवहरु हुन्। यस्ता घटनाहरु अस्पतालमा सामान्य रुपमा घटिरहेका हुन्छन्।

हाम्रो नेपाली समाजमा विरामीलाई साधारणतया रोगको बारेमा जानकारी दिने प्रचलन छैन। विरामी प्राय: गरेर कोहि बुझ्ने आफन्तसँग आएका हुन्छन् र सबै जाँचपछि उसैलाई नै रोग र उपचारको जानकारी दिने गरिन्छ। अझ रोग जटिल किसिमको छ, उपचार गर्न नसकिने अवस्थाको छ भने त विरामीलाई बाहिर राखेर मात्र विरामीको अवस्थाका बारेमा कुराकानी शुरु गर्ने गरिन्छ। 

किन त्यसो गरिन्छ भन्ने प्रश्नको जवाफमा प्राय: "विरामीलाई भनेर उहाँलाई टेन्सन मात्र धेरै पर्छ, रोगले भन्दा पहिले चिन्ताले जानुहोला भन्ने डर वा जति बाँच्नुहुन्छ हाँसीखुशी बाँच्नुहुन्छ नि बेकारमा किन भनिरहनु पर्यो र?" आदी आउने गर्छ। प्राय: चिकित्सकहरुले नभन्ने कारण पनि त्यस्तै हुन्छ। त्यस्तै कसैले चाँही विरामीलाई भनेपछि टेन्सन हुन्छ, अनि कसले सम्झाउने विरामीलाई, विरामीलाई भनेर बुझ्ने होइन किन भनिरहने, नलाग्नु रोग लागिसक्यो अब भनेर विरामीलाई अझ दु:ख किन दिने आदि कारणहरु दिने गर्छन्। 

कुनै पनि ठूलो दु:ख परेपछि वा चिन्ताको कुरा सुनेपछि मानिसको सामान्य प्रतिकृया कस्तो कस्तो हुन्छ, भन्ने बारेमा कुब्लर रोस मोडल/Kubler-Ross Model (जसलाई दु:खका पाँच अवस्थाहरु/Five stages of Grief भनेर पनि भनिन्छ)ले राम्ररी बयान गरेको छ। विश्वप्रसिद्ध मानसिक रोग विशेषज्ञ एलिजावेथ कुब्लर रोसले लेखेको पुस्तक 'On Death and Dying' मा यी अवस्थाहरुको बारेमा वृस्तितमा बयान गरिएको छ(1,2)
यी अवस्थाहरु हुन् (3):-

डिनायल(Denial)-यो अवस्थामा विरामीले "मलाई केहि भएकै छैन, म एकदम ठिक छु, मलाई केहि हुनैसक्दैन, मलाई यो रोग लागेकै छैन।" जस्ता कुराहरु भन्ने गर्छन्। यो दु:खप्रतिको प्रतिकृयाको एउटा अस्थायी अवस्था हो।

एंगर(Anger) वा रिस- "मलाई नै किन? यसको लागि को दोषी छ?" जस्ता प्रश्नहरु यो बेलामा आउने गर्छन्। यो अवस्थामा आफू, आफ्ना परिवार, साथीभाइ र भगवानप्रति समेत रिस उठ्न सक्छ। यो अवस्थामा भएका विरामीलाई हेरचाह, स्याहार गर्न धेरै गाह्रों हुन्छ। तर यो पनि दु:खलाई निको गर्ने प्राकृतिक प्रकृयाको एउटा महत्वपूर्ण अवस्था हो। 

बार्गेन(Bargain) वा मोलतोल गर्नु- "थोरै अरु बाँच्न पाएँ भने.. मेरा नातानातिनीलाई मात्र हेर्न पाएँ भने… म राम्रो मानिस बन्ने कोसिस गर्छु, यदि मैले अरु केहि समय पाएँ भने.." जस्ता कुराहरु यो बेलामा आउने गर्छ। यो अवस्थामा उसले आफू मर्दैछु भन्ने थाहा पाएको हुन्छ, तरपनि केहि उपायले अरु बढि बाँच्न सकिन्छ कि भनेर भगवान वा दैवी शक्तिलाई पुकार गर्छ।

डिप्रेशन(Depression)- यो अवस्थामा विरामीले आफ्नो मृत्युलाई अवश्यम्भावी देख्छ। अनि उसको जीवन शुन्य हुन्छ, सबै कुरा सकिएको झैं भान हुन्छ। केहि कुराको पनि रुचि महत्व रहदैन। जुनसुकै कुरामा पनि "म अब मर्दैछु, जे भए नि के भो र" भन्ने भावना आउने गर्छ। अरुसँग भेट्न, बोल्न मन लाग्दैन। यो अवस्थाको मानिसलाई जवरजस्ती रमाइलो गराउन, हसाँउन खोज्नुहुदैंन। यो एउटा प्राकृतिक प्रकृया हो। दु:खको समाचार थाहा पाएर, आफ्नो आउँदै गरेको मृत्यु थाहा पाएर यस्तो हुनु स्वाभाविक हो।

एक्सेपटेन्स(Acceptance)- विरामीलाई आफ्नो अवस्थाको बारेमा ज्ञान हुन्छ, त्यो केहि गरेर पनि बदल्न सकिदैंन भनेर उसले थाहा पाँउछ र यो कुरालाई उसले स्वीकार्छ। र बाँकिको समय उसले कसरी बिताउने भनेर निर्णय गर्नसक्छ। 
यी अवस्थाहरु एकपछि अर्को आउनै पर्छ भन्ने छैन, कुनै पनि अघिपछि आउनसक्छ र हरेक व्यक्तीमा सबै अवस्था देखिनैपर्छ भन्ने पनि छैन। 

त्यसैले विरामीले उसको उपचार नहुने रोगको बारेमा थाहा पाएर चिन्ता मात्रै लिन्छन्, टेन्सन मात्रै गर्छन, डिप्रेशनमा मात्रै जान्छन् भन्नु गलत हुन्छ। प्रकृतिले हामीलाई दु:खहरुसँग लड्ने, त्यसलाई जितेर अगाडि बढ्ने विभिन्न उपायहरु दिएको हुन्छ। मात्र हामीले त्यसलाई विश्वास गरी साथ दिनु जरुरी हुन्छ। यदि माथिका उदाहरणमा जस्तै मीठो झुठ मात्रै बोलिएको भए 'अन्तर्मनको यात्रा' जस्तो राम्रो पुस्तक हामीले पढ्नै पाउने थिएनौं होला। लेखक जगदिश घिमिरेले आफूलाई मल्टिपल माएलोमा (Multiple myeloma) नामको रक्तक्यान्सर भएको र आफ्नो आयु केहि महिना मात्र बाँकी रहेको ज्ञान भएपछि उपचारको क्रममा सो पुस्तक लेखेका हुन्, जसले मदन पुरस्कार लगायत अन्य थुप्रै पुरस्कार र लाखौं पाठकको मन पनि जित्यो।

त्यसो भने विरामीलाई के भन्ने त "तपाईंको रोग उपचार गर्न सकिदैंन, तपाईं अब चाडैं मर्दै हुनुहुन्छ" भनेर भन्ने? मैले त्यसो भन्न खोजेको होइन। हो, सत्य तितो हुन्छ, तर त्यो तपाईंको भन्ने तरिकामा पनि भर पर्छ। नराम्रो दु:खको समाचार कसरी सुनाउने (Breaking bad news) भन्ने विषयको एउटा छुट्टै पाटो छ, जुन शायदै कुनै मेडिकल कलेजमा सिकाइन्छ (4,5)। विरामीको त्यस्तो अवस्थाका बारेमा विरामीलाई जानकारी दिँदा कस्तो वातावरणमा दिने, कस्ता शब्दहरुको प्रयोग गर्ने, विरामीका प्रश्न, आशाहरुलाई कसरी सम्बोधन गर्ने, विरामीलाई कसरी बाँकी रहेको समयको सदुपयोग गर्न सिकाउने, कसरी जस्तोसुकै अवस्थामा पनि म तपाईंको साथ छु भनेर भन्ने कुराहरु महत्वपूर्ण हुने गर्छन्। त्यस्तै साँचो कुरा भन्ने भनेर जवरजस्ती विरामीलाई सबै कुरा भन्नु पनि हुदैंन। विरामीसँग कुरा गरेर कति कुरा थाहा पाउने उसको इच्क्षा छ भन्ने बुझ्नुपर्छ र त्यहि अनुसारको जानकारी दिनुपर्छ। पश्चिमी देशका मानिसहरुको तुलनामा एशियालीहरु यस्तो समयमा आफ्ना आफन्तहरुसँगै भएको रुचाँउछन् र आफु कति बाँच्छु भन्ने सम्बन्धमा छलफल गर्न चाँहदैंनन् भन्ने कुरा अनुसन्धानहरुमा देखिएको छ (6)। यो सामाजिक सांस्कृतिक संरचनाको फरकले गर्दा भएको हुनसक्छ। विरामीको यस्तो चाहनाको सम्मान गर्नुपर्छ। 

अन्त्यमा, 
शुरुमा दिइएका जस्ता अवस्थाहरुमा आफूलाई पाउँदा विरामिलाई "तपाईंलाई साधारण पेट दुखेको मात्रै हो, ५-६ दिनमा ठिक हुन्छ" भनेर मिठो झुठ बोल्नु अघि अलिकति समय निकालेर विरामीको अवस्था आशाका बारेमा राम्ररी बुझी, विरामीको कति थाहा पाउने चाहना छ बुझी, "तपाईंलाई यस्तो यस्तो भएको छ, उपचारहरु यस्तो यस्तो हुन्छन्, ठिक हुने नहुने यस्तो सम्भावना छ, तर जस्तोसुकै अवस्थामा पनि म तपाईंलाई सजिलो पार्न र तपाईंको उपचारको लागि तपाईको साथ हुन्छु। तपाईंलाई लागेका कुनै पनि प्रश्न मलाई सोध्न सक्नुहुन्छ।" भनेर साँचो कुरा तर सहयोगी, सहृदयी र सान्त्वनाका शब्दहरुका साथ भन्न सकिन्छ कि भनेर एकपटक सोचीदिनुभयो भने म मेरो यो लेख फलदायी भएको ठान्नेछु।

स्रोतहरु:


बाँकी पढ्नुहोस् >>

Saturday, June 25, 2011

ढाडको पानीको जाँच (Cerebro-Spinal Fluid Examination)


चिकित्सकहरुले कहिलेकाहि विरामीको ढाडबाट पानी निकालेर जाँच्नुपर्ने भनेर भनेको सुन्नभएको होला। तपाईहरुलाई अचम्म लाग्नसक्छ ढाडबाट कस्तो पानी निकाल्ने हो भनेर। आज म यहि जाँचका बारेमा केहि जानकारी दिने प्रयास गर्दैछु।
यो जाँचलाई मेडिकल भाषामा लम्बर पंचर (Lumbar Puncture)वा सी एस एफ (Cerebro-Spinal Fluid) जाँच भनिन्छ।

लम्बर पंचर (Lumbar Puncture) भनेको के हो? 
यो मेरुदण्डको तल्लो भाग, जसलाई लम्बर रिजन भनिन्छ, मा सुईको सहायताले घोचेर त्यसभित्र भएको पानी अर्थात् सेरब्रो स्पाइनल फ्लुड (Cerebrospinal fluid) निकाल्ने प्रक्रिया हो। उस्ताउस्तै लाग्ने भएपनि छातीबाट पानी निकाल्ने अर्थात् प्लुरल ट्यापिङ (Pleural Tapping)भन्दा यो फरक जाँच हो।

सेरेब्रो स्पाइनल फ्लुड भनेको के हो? 
हाम्रो केन्द्रिय स्नायु प्रणाली (Central Nervous System), मष्तिस्क र सुषुम्नालाई सुरक्षाका लागि बाहिरबाट तीन तह भएको एउटा झिल्लीले ढाकेको हुन्छ, जसलाई मेनिन्जिज (Meninges) भनिन्छ। त्यसैको इन्फ्लामेसनलाई मेनिन्जाइटिस भनिन्छ। हेर्नुहोस्- http://myhealthynepal.blogspot.com/2011/04/itis.html
उक्त मेनिन्जिजका तहहरु भित्र एक प्रकारको तरल पदार्थ हुन्छ, जसलाई सेरेब्रो स्पाइनल फ्लुड भनिन्छ।

किन गरिन्छ लम्बर पंचर?
प्राय: जसो यो सेरेब्रो स्पाइनल फ्लुड निकालेर जाँच्नका लागि गरिन्छ। मेनिन्जाइटिस, इन्सेफलाइटिस जस्ता मष्तिस्कका संक्रमणहरु, जीबीएस (GBS), मल्टिपल स्क्लेरोसिस्(Multiple sclerosis) जस्ता केन्द्रिय स्नायु प्रणालीका रोगहरु पत्ता लगाउन र तीनका उपचारमा सी एस एफको जाँच अत्यन्त जरुरी हुन्छ। त्यस्तै यसको जाँचबाट मष्तिस्कको क्यान्सरहरु, मष्तिस्क वरिपरिको रगतका नलीहरु फुटेर रगत बग्ने रोग (सब एराक्नोएड हेमोरेज/Sub Arachnoid Hemorrhage वा एस ए एच) का बारेमा पनि महत्वपूर्ण जानकारी पाउन सकिन्छ।
यी त भए रोगहरुका बारेमा जानकारी लिन गरिने कारणहरु। तर यो प्रक्रिया उपचारका लागि पनि गर्ने गरिन्छ। जस्तो बच्चा निकाल्नका लागि गरिने अप्रेशन (सीएस/CS) गर्दा प्राय: ढाडभन्दा मुनि बेहोस बनाएर गर्ने गरिन्छ। यसको लागि लम्बर पंचर गरेर मेनिन्जिजका बीचमा बेहोस बनाउने औषधी हाल्ने गरिन्छ, जसले गर्दा त्यो भागभन्दा मुनिको भाग मात्र बेहोस हुने गर्छ।
त्यस्तै मेनिन्जिजको बीचको उक्त ठाँउमा डाइ/कन्ट्रास्ट हालेर माएलोग्राफी (Myelography), एक प्रकारको जाँच गर्ने गरिन्छ।

यो जाँच कसरी गरिन्छ?
यो जाँच प्राय: इमरजेन्सी वा वार्डमा गर्ने गरिन्छ। चिकित्सकले तपाईंलाई वा तपाईंका नजिकका आफन्तलाई यो जाँच किन गर्न लागिएको हो भनेर जानकारी दिन्छन्।

यो जाँच गर्दा तपाईलाई समतल सतहको बेडमा देब्रे कोल्टे पारेर सुताइन्छ र खुट्टा खुम्चाएर छातिसम्म ल्याउन लगाइन्छ। यसो गर्दा मेरुदण्डहरु बीचका खाली भागहरु खुल्न जान्छ, जसले गर्दा लम्बर पंचरका लागि सूई छिराउन सजिलो हुन्छ।

त्यसपछि सूई छिराउने स्थान (लम्बर भर्टिबा/Lumbar vertebrae, तेस्रो र चौथोको बीचमा र त्यसको वरिपरि)लाई सफा गरेर लाटो बनाउने औषधी लिग्नोकेन लगाइन्छ। अनि लम्बर पंचर निडल, जुन अरु सूईभन्दा अलि लामो हुन्छ, ती मेरुदण्डहरुका बीचबाट छिराएर सीएसएफ हुने स्थानसम्म पुर्याइन्छ। यसो गर्दा कहिलेकाहि त्यो ठाँउमा भएका स्नायु, नसाहरुलाई लाग्नसक्ने भएकोले खुट्टातिर झमझमाउने वा दुख्ने हुनसक्छ।

सीएसएफ भएको स्थानमा सूई पुगेपछि त्यसबाट विस्तारै सीएसएफ बग्न थाल्छ, जुन जाँचका लागि प्राय गरेर तीनवटा भाँडाहरुमा जम्मा गरिन्छ। त्यसपछि सूईलाई झिकेर उक्त स्थानमा सानो ब्यान्डेज लगाइन्छ जुन करिब २४ घण्टापछि निकाल्न सकिन्छ।
यो जाँचमा साधारणतया ३० देखि ४५ मिनेट लाग्नसक्छ।


यो जाँच प्रक्रियाका कारण के के समस्याहरु हुन सक्छन्? 

टाउको दुख्ने (Post LP headache/पोष्ट एलपी हेडएक) 
यो समस्या करिब ३०%मा देखिने गर्छ। यो समस्या कम गर्नका लागि एलपी गरीसकेपछि आधा-एक घण्टासम्म समतल बेडमा सुत्ने, प्रशस्त मात्रामा झोलपदार्थ, पानी पिउने गर्नुपर्छ। धेरै नै टाउको दुख्यो भने चिकित्सकको सल्लाहमा दुखाइको औषधी खान सकिन्छ। कहिलेकाही एलपी गरेको ठाँउबाट सेरेब्रो स्पाइनल फ्लुड लिक भएमा, निरन्तर बगीरहेमा पनि लगातार टाउको दुखिरहने हुनसक्छ। त्यसो भएमा चिकित्सकलाई जानकारी गराउनुपर्छ।

ढाड र त्यसभन्दा तलको भागहरुमा दुखाइ
एलपी गर्दा सूई छिराउने स्थान तपाईंको सुषुम्ना भन्दा तल रहेको हुन्छ। त्यसैले प्रत्यक्ष रुपमा सुषुम्नालाई सूईले असर पार्ने सम्भावना साह्रैं कम रहन्छ। तर सुषुम्नाका तल्लो भागबाट निस्किएका नसाहरुको सम्पर्कमा सूई आउनसक्छ, जसले गर्दा ढाड र तलको भागहरुमा झमझमाउने र दुख्ने हुनसक्छ। यी असरहरु प्राय: गरेर केहि समयका लागि मात्र हुन्छन्।

एलपी गरेको ठाउँबाट रगत बग्ने समस्या 
विरामीलाई रगत जम्ने सम्बन्धी रोग (Bleeding Disorder/ब्लिडिङ डिसअर्डर) छ भने यस्तो समस्या हुन सक्छ। त्यसैले आफुलाई त्यस्तो रोग पहिले देखि भएनभएको जानकारी एलपी गर्न अघि चिकित्सकलाई गराउनुपर्छ।

ब्रेन स्टेम हर्निएसन(Brain-stem herniation) 
एलपीको सबैभन्दा डरलाग्दो तर कमै मात्र हुने कम्लिकेसन हो यो। इन्ट्राक्रेनियल प्रेसर (Intracranial pressure)अर्थात मष्तिस्क भित्रको प्रेसर धेरै बढेको अवस्था (जुन प्राय: गरेर मष्तिस्कका ट्युमरहरुमा हुनेगर्छ) मा एलपी गर्नाले मष्तिस्कको तल्लो भाग ब्रेनस्टेम(Brainstem) तल झरेर हर्निएट (herniate) भएर च्यापिन जान्छ। जसले गर्दा विरामीको मृत्यु पनि हुनसक्छ। त्यसैले एलपी गर्नु अघि विरामीको राम्रोसँग जाँच गरेर मष्तिस्क भित्रको प्रेशर बढे नबढेको हेर्ने गर्नुपर्छ।

सीएसएफको जाँचको सामान्य रिपोर्ट कस्तो हुन्छ?

रंग: सफा, पानीजस्तो
निकाल्दा खेरीको प्रेशर:  ७०-१८० mmHg
प्रोटिन: १५-६० mg/dL
ग्लुकोज: ५०-८० mg/dL
कोषहरुको संख्या: ०-५ सेतो रक्तकोषहरु, ० राता रक्तकोष
त्यस्तै माइक्रोबायलोजिकल जाँचहरु (ग्राम स्टेन/Gram's stain, ए एफ बी स्टेन/AFB stain, कल्चर/Culture) गरेर सीएसएफमा कुनै किटाणुहरु भएनभएको हेर्न सकिन्छ। साथै मष्तिस्क र सुषुम्नाका क्यान्सरहरुको बारेमा र अन्य थुप्रै रोग र अवस्थाहरुका बारेमा सीएसएफ जाँचबाट जानकारी पाउन सकिन्छ।


आफ्नो र आफ्नो विरामीको सीएसएफको रिपोर्टका बारेमा, त्यसमा देखिएका खराबीका बारेमा, त्यसले उपचारमा पुर्याउने असरका बारेमा आफ्नो चिकित्सकसँग राम्ररी छलफल गर्नुपर्छ।
बाँकी पढ्नुहोस् >>

Saturday, May 14, 2011

सिटामोलबारे केही जानकारी



सिटामोलको नाम नसुनेको र सिटामोल नखाएको मानिस त शायदै होलान्। सिटामोल सबैभन्दा सरल र सुलभ औषधीहरुमा पर्छ, जुन खानको लागि नेपालमा मात्र हैन, विकसित देशहरुमा पनि डाक्टरको सल्लाहको आवश्यकता पर्दैन र साधारण पसलहरुमा पनि यो सजिलै उपलब्द हुन्छ। आज यहि सिटामोलको बारेमा केहि जानकारी दिने प्रयास गर्दैछु।  

सिटामोल अर्थात् पारासिटामोल/ Paracetamol एक प्रकारको दुखाइ कम गर्ने (पेनकिलर/ Analgesic) र ज्वरो कम गर्ने (Antipyretic) औषधी हो। यसले कसरी काम गर्छ भनेर ठ्याक्कै भन्न सकिदैंन, तर यसले मष्तिस्कमा प्रोस्टाग्लान्डीन (Prostaglandin) भन्ने पदार्थको उत्पादनमा कमि ल्याउँछ र हाम्रो दुखाइ सहनसक्ने क्षमतालाई बढाउँछ भनेर भन्ने गरिन्छ। त्यस्तै मष्तिस्कमै रहेको शरीरको तापक्रम नियन्त्रण गर्ने केन्द्र (Temperature regulating center) मा असर गरी ज्वरो घटाउने काम पनि गर्छ। तर NSAIDs को तुलनामा यसको एन्टी-इन्फ्लामेटरी एक्सन (इन्फ्लामेसनलाई कम गर्ने क्षमता )एकदमै कम हुन्छ। भन्नुको अर्थ इन्फ्लामेसनले भएको दुखाइ वा ज्वरोहरुमा यसको प्रभावकारीता NSAIDs को भन्दा कम हुन्छ।
इन्फ्लामेसन भनेको के हो भन्ने जान्न यो लिन्क हेर्नुहोस्।

कुन कुन अवस्थामा सिटामोलको प्रयोग गर्न सकिन्छ?

यो विशेष गरी दुखाई कम गर्न र ज्वरो कम गर्न प्रयोग गर्ने गरिन्छ। यसले रोगलाई भन्दा नि लक्षणलाई मात्र ठिक गर्ने काम गर्छ। हाडजोर्नी सम्बन्धि दुखाइ, विभिन्न प्रकारका टाउको दुखाइ आदीमा यो सेवन गर्न सकिन्छ। त्यस्तै साधारण भाइरल ज्वरोको साथसाथै अन्य संक्रमणले गर्दा आउने ज्वरोहरुमा पनि यसको प्रयोग गर्न सकिन्छ। ओस्टियोआर्थाइटिस (Osteoarthritis) मा हुने हाडजोर्नीहरुको दुखाइका लागि यो आइबुप्रोफेन जस्ता NSAIDs हरु जत्तिकै प्रभावकारी हुन्छ।  
सिटामोल बढि मात्रामा प्रयोग गरिने अवस्थाहरु:
माइग्रेन, टेन्सन हेडएक (Tension Headache) जस्ता टाउको दुखाइहरुमा,
ओस्टियोआर्थाइटिस जस्ता हाडजोर्नी सम्बन्धि दुखाइहरुमा,
भाइरल ज्वरो आएको अवस्थामा

त्यस्तै ब्रुफेन जस्ता NSAIDs हरु खान नमिल्ने अवस्थाहरु जस्तै ग्यास्ट्राइटिस, पेटको अल्सर भएको अवस्थामा सिटामोल सुरक्षितरुपमा प्रयोग गर्न सकिन्छ, किनकि यसले ग्यास्ट्राइटिस बढाउने गर्दैन।
बच्चाहरुमा भाइरल ज्वरो भएको बेला एस्पिरीन/ Aspirin दिनाले मष्तिस्क र कलेजोमा घातक असर पार्ने अवस्था रेज सिन्ड्रोम/ Reye’s Syndrome हुनसक्ने सम्भावना हुन्छ। त्यसैले त्यस्तो अवस्थामा सिटामोल वा अन्य NSAIDs हरु सुरक्षित मानिन्छन्।

कस्तोकस्तो रुपमा बजारमा पाइन्छन् र कति मात्रामा खानुपर्छ?
सिटामोल प्रायः गरेर ५०० मी.ग्रा.का ट्याबलेटको रुपमा बजारमा पाइन्छ। साथै बच्चाहरुको लागि १२५ मी.ग्रा. प्रति ५ मीली वा २५० मी.ग्रा. प्रति ५ मीली को सिरप (Syrup)/ झोलरुपमा पाइन्छ। त्यस्तै इन्जेक्सनको लागि १५० मी.ग्रा. प्रति १ मीली मा पाइने गर्छ। बजारमा विभिन्न कम्पनीका विभिन्न नामका सिटामोलहरु पाइन्छन्। ती नामहरुलाई ब्रान्ड नेम (Brand name) भनिन्छ, जुन कम्पनी अनुसार फरक फरक हुनेगर्छ। तर त्यसमा सानो अक्षरमा कुन औषधी छ भनि लेखिएको हुन्छ, जसलाई केमिकल नेम (Chemical name) भनिन्छ। औषधी किन्दा त्यो पनि हेर्ने गर्नुपर्छ।
त्यस्तै यो अन्य औषधीहरुसँगको विभिन्न कम्बिनेसनहरुमा पनि पाइने गर्छ। जस्तै सिटामोल र आइबुप्रोफेन (Ibuprofen), सिटामोल र कोडिन (Codeine), सिटामोल र एन्टिहिस्टामीनिक (Anti-histaminics) - रुघाको लागि आदि।
यो एकपल्टमा ५००-१००० मी.ग्रा. सम्म प्रत्येक ४-६ घण्टामा दैनिक मात्रा ४ ग्रामभन्दा बढि नहुने गरी सेवन गर्न सकिन्छ। बच्चाहरुको लागि १५ मी.ग्रा./केजी प्रत्येक पल्टको हिसाबले प्रत्येक ४-६ घण्टामा दिन सकिन्छ।

यसले के के खराब असरहरु (side effects) गर्न सक्छन् र अन्य औषधीहरुसँग यसले कस्तो प्रतिक्रिया (reactions) गर्छ?
यसको साइड इफेक्ट धेरै नै कम हुन्छ। NSAIDsको जस्तो ग्यास्ट्राइटिसका समस्याहरु, प्लेटेलेटको काममा असर गरी पेट, आन्द्राहरुमा रगत बग्ने समस्या सिटामोलको सेवनपछि देखिदैंन।
गर्भवती महिला, स्तनपान गराइरहेका महिलाहरुले पनि सुरक्षित रुपमा यसको सेवन गर्न सक्छन्।
यसको मुख्य साइड इफेक्ट भनेको अत्यधिक मात्राको सेवनले कलेजोमा पार्ने खराब असर हो। सिटामोलको मेटाबोलिजम/ metabolism (सरल रसायनमा टुक्राउने प्रक्रिया) कलेजोमा हुन्छ। अत्यधिक मात्राको सेवनले कलेजोले त्यो मेटाबोलिजम राम्रो र पूर्णरुपमा गर्न सक्दैन र त्यसका हानिकारक मेटाबोलाइट/metabolite हरुले कलेजोमा असर गरी एक्युट लिभर फेलर (Acute Liver Failure) गराउने गर्छ। एकैपटकमा ७-१० ग्राम सिटामोल (१४-२० वटा ५०० मी.ग्रा.का ट्यावलेटहरु) को सेवनले कलेजोमा यस्तो नराम्रो असर पर्ने गर्छ। बच्चाहरुमा १४० मी.ग्रा./केजी तौल भन्दा बढि सिटामोलको सेवनसँगै कलेजोले काम गर्न छोड्छ। तर कलेजोको रोगी वा रक्सी सेवन गर्नेहरुमा अझ कम मात्राको सेवनमै पनि कलेजोमा खराब असर देखिने गर्छ। अमेरिका, बेलायत जस्ता विकसित देशहरुमा आत्महत्याको लागि सिटामोलको अत्यधिक मात्रामा सेवन गर्ने गर्छन्।
अन्य औषधीहरुसँग पनि यसले खासै प्रतिक्रिया गर्दैन, तर माथि भनिए जस्तै कलेजोमा मेटाबोलाइज हुने हुनाले कलेजोमा असर गर्ने औषधीहरु जस्तै आइसोनाइजिड/ Isoniazid, रिफाम्पीन/ Rifampin, कारबामेजेपीन/ Carbamazepine आदीले सिटामोलको प्रभावकारीतालाई केहि कम गर्ने गर्छ।

स्रोतहरु:


बाँकी पढ्नुहोस् >>

Friday, May 6, 2011

अन्धकार विरुद्धको लडाईं - मोतिबिन्दु (Cataract) बारे केही जानकारी



केहि दिनपछि लेख्छु भनेको केहि हप्ता र महिना नै हुन लागेछ। त्यसको लागि क्षमा चाहन्छु। कामको व्यस्तता अरु विषयका लेखहरु लेख्ने मन आदि कारणले गर्दा यो शिर्षकको लेखलाई चाँही बिर्सन पुगेछु।

यो चित्र केहि साथीहरुले भन्नुभएको जस्तै मोतिबिन्दु (Cataract) को हो।

मोतिबिन्दु संसारमै र नेपालमा पनि अन्धोपनाको एउटा प्रमुख कारण हो। मोतिबिन्दु भनेको आँखाको लेन्सको पारदर्शितामा कमि आइ हेर्ने क्षमतामा कमि आउने वा पूर्णरुपमा बन्द हुने रोग हो।  

यो रोग कसरी हुन्छ?
यो रोग कसरी हुन्छ भन्ने बुझ्नको लागि हाम्रो आँखाले कसरी काम गर्छ भनेर बुझ्नु जरुरी हुन्छ। कुनै पनि वस्तुबाट परावर्तन भएको प्रकाश (वस्तुमा ठोकिएर फर्किएको प्रकाश) हाम्रो आँखाको कोर्निया (Cornea)- आँखाको सबैभन्दा अगाडीको पारदर्शी तह, बाट छिरेर अर्को पारदर्शी भाग लेन्स हुदैं पछिल्लो भागमा भएको प्रकाश सेन्सिटिभ तह रेटिनामा गएर ठोकिन्छ। उक्त प्रकाशले रेटिनामा रसायनिक प्रक्रिया गराएर त्यहाँका स्नायुहरुलाई उत्तेजित गर्छ र अप्टिक स्नायु (Optic nerve) ले त्यो खबर मष्तिस्कमा लैजान्छ र हामीले त्यो वस्तु देख्छौं।

मोतिबिन्दु रोगमा पारदर्शी हुनुपर्ने लेन्स विभिन्न कारणले गर्दा अपारदर्शी हुनजान्छ, जसले गर्दा रेटिनामा बन्ने आकृति स्पष्ट हुदैन र व्यक्तिको दृष्टि कमजोर हुनजान्छ।  

यो रोग किन हुन्छ?
लेन्स मुख्यरुपमा प्रोटिन र पानी मिलेर बनेको हुन्छ। यसका प्रोटिनहरु निश्चित तरिकाले मिलेर बसेका हुन्छन् र लेन्स पारदर्शी हुन्छ। तर उमेर बढ्दै जाँदा लेन्सका प्रोटिनहरु बस्ने तरिकामा गडबडी आउँछ र लेन्सको पारदर्शीतामा पनि कमि आउँदै जान्छ र मोतिबिन्दु रोग हुन्छ।

बढ्दो उमेरको कारणले हुने मोतिबिन्दुले संसारको अन्धोपनाको करीब आधा भाग ओगट्छ। तर यो अन्य थुप्रै कारणहरुले गर्दा पनि हुने गर्छ। आँखामा कुनै किसिमको चोट लाग्नाले पछि गएर मोतिबिन्दु हुनसक्छ। त्यस्तै मधुमेह (चिनी रोग) का कारणले पनि मोतिबिन्दु हुनसक्छ। कुनै औषधीहरु लामो समयसम्म सेवन गर्नाले पनि मोतिबिन्दु हुनसक्छ। जस्तै- दम, जोर्नीहरु दुख्ने रोगका लागि भनेर खाइने औषधी स्टेरोइड (प्रेडनिसोन/ Prednisone) को लामो सेवनले आँखामा यस्तो समस्या आउन सक्छ। त्यस्तै कसैकसैमा विभिन्न प्रकारका वंशानुगत रोगहरुका कारणले पनि सानै उमेरमा मोतिबिन्दु देखिन सक्छ।

यसका लक्षणहरु के के हुन् र यो रोग कसरी पत्ता लाग्छ?
शुरुको अवस्थामा यसको खासै लक्षण देखिदैंन। पछिपछि हेर्ने क्षमतामा कमि आउने, प्रकाश, बत्तीको वरिपरि गोलो घेरा (Halo) देखिने, धमिलो देखिने, अध्यारोमा हेर्न गाह्रों हुने आदि समस्याहरु देखिने गर्छन्। त्यस्तै कसैमा एउटै वस्तु दुईटा देखिने (Double vision) पनि हुनेगर्छ। चश्मा वा कन्ट्याक्ट लेन्स लगाएर पनि देख्ने क्षमतामा खास सुधार नभएको महसुस हुनसक्छ।

मोतिबिन्दु अन्तिम अवस्थामा वा मच्युर स्टेज (Mature stage) मा हो भने लेन्स पूर्णरुपमा सेतो र अपारदर्शी हुन्छ र बाहिरबाट हेर्दा माथिको चित्रमा जस्तो देखिने गर्छ। तर यदि यो शुरुको अवस्थामा छ भने आँखाको डाक्टरले जाँचेर मात्र रोग पत्ता लाग्ने गर्छ। साथै डाक्टरले स्लिट ल्याम्प (Slit Lamp) बाट आँखाको जाँच गरेर लेन्सको अवस्था विस्तृत रुपमा थाहा पाउने गर्छन्। त्यस्तै देख्ने क्षमता (भिजुअल एक्युटि/ Visual acuity) को परिक्षणमा पनि खराबी देखिन्छ।

मोतिबिन्दु रोग पूर्णरुपमा क्लिनिकल्ली नै पत्ता लाग्छ, यसको लागि कुनै रगत जाँच वा अन्य ल्याव परिक्षण गरिराख्नु जरुरी हुदैंन। यसरी मोतिबिन्दुको परिक्षण गर्दा आँखामा हुनसक्ने अन्य समस्याहरुको पनि जाँच गर्ने गरिन्छ।

यसको उपचार के हो?
यो रोग औषधीले ठिक हुदैंन। यसको उपचार भनेको अप्रेशन गरेर बिग्रेको लेन्स फाल्ने र अर्को लेन्स राख्ने हो। तर मोतिबिन्दु हुने बित्तिकै अप्रेशन गरिहाल्नुपर्छ भन्ने हुदैंन। यसले आफूलाई खास समस्या दिएको छैन भने यसको अप्रेशनलाई पछाडि सार्न सकिन्छ। ढिलो गरेर अप्रेशन गर्दा यो जटिल हुने समस्या यसमा हुदैंन। डाक्टरसँग सल्लाह गरेर कहिले अप्रेशन गर्दा ठिक हुन्छ भनेर निर्णय गर्न सकिन्छ। कहीलेकाही आँखाका अन्य समस्याको राम्रोसँग जाँच गर्नको लागि लेन्स पारदर्शी हुनुपर्छ। जस्तो मधुमेहले आँखाको पर्दा रेटिनामा पार्ने असर (डायवेटिक रेटिनोप्याथी/ Diabetic Retinopathy) को जाँच गर्न आदि। त्यस्तो बेलामा मोतिबिन्दु भएको लेन्सले समस्या दिएमा शुरुकै अवस्थामा पनि अप्रेशन गर्न सकिन्छ।

यसको अप्रेशन अत्यन्त सुरक्षित हुन्छ तर कहीलेकाही संक्रमण, राखिएकॊ लेन्स ठिक ठाँउमा नबस्ने, रेटिना उप्किने (रेटिनल डिट्याचमेन्ट/ Retinal Detachment) आदि जटिलताहरु देखिने गर्छन्।

यसको अप्रेसनलाई सरल भाषामा भन्नुपर्दा यसमा लेन्सको क्याप्सुल/ Capsule (लेन्सलाई ढाकेर राख्ने झिल्ली) मा सानो प्वाल पारेर त्यसबाट पुरानो बिग्रेको लेन्स निकालिन्छ र त्यसको ठाँउमा नयाँ लेन्स राखिन्छ।

यो अप्रेशन गरेपछिको अवस्था कस्तो हुन्छ?
यो अत्यन्तै सानो र छोटो समयमा गरिने भएकोले १-२ दिनभन्दा बढि अस्पताल बसिरहनु पर्दैन। मोतिबिन्दुको अप्रेशनका शिविरहरुमा सयौं अप्रेशनहरु विना जटिलता थोरै समयमै गर्ने गरिन्छ। मोतिबिन्दुले गर्दा मात्रै आँखा नदेख्ने समस्या भएको हो भने यसको अप्रेशनपछि दृष्टि पूर्णरुपमा ठिक हुन्छ। तर कहीलेकाही मोतिविन्दुको साथसाथै अन्य समस्या पनि भएको अवस्थामा यसको नतिजा सोचेजस्तो राम्रो नहुनसक्छ।

अन्त्यमा, 
तिलगंगा आँखा अस्पतालका वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतले मोतिबिन्दुको अप्रेशन गर्ने आफ्नै तरिकाको विकास गर्नुभएको छ, जुन सरल र सस्तो पनि छ। एउटा लेन्सको करिब ५ डलर पर्ने यस्तो अप्रेशनको भने करिब २५ डलर पर्ने गर्छ, जुन विकसित देशहरुमा गरिने अप्रेशनभन्दा २० गुणा कम पर्न जान्छ। उहाँको यो अप्रेशनको तरिकालाई रुइटेक्टोमी (Ruitectomy) पनि भनिन्छ। उहाँले अविकसित र विकासशील देशका डाक्टरहरुलाई यो सरल प्रविधि सिकाउने पनि गर्नुहुन्छ। उहाँ र उहाँको कामको बारेमा अझ थाहा पाउन हेर्नुहोस्-

स्रोतहरु:
बाँकी पढ्नुहोस् >>

Monday, April 25, 2011

आइ सि यु मा युद्धको अनुभुति



आइ सि यु को ड्युटी कहिलेकाहि मलाई एउटा युद्धभुमी जस्तो लाग्नेगर्छ। एकछिन अघि आफूसँग राम्ररी बोलीरहेको, कुरा गरिरहेको विरामी एकछिनमा अचेत भएर सुतिरहेको हुन्छ। जसरी युद्धभुमीमा कुन गोलीको शिकार कुन साथी हुने हो थाहा हुदैंन, त्यसरी नै आई सि यु मा कुन बेलामा कुन विरामीलाई कुन रोगको के जटिल अवस्था (complications) आउने हो, कुन विरामीले जीवनको अन्तिम संघर्ष गर्ने हो सजिलै भन्न सकिदैंन। अस्पतालका अरु वार्डहरुमा र इमरजेन्सीमा पनि विरामी नमर्ने होइनन्, तर अस्पतालकै सबैभन्दा सिकिस्त विरामीहरु राखिने आई सि यु मा दिनहुँ जस्तो विरामीहरु मर्न थालेपछि भने मलाई यस्तो सोचाइ आउन थालेको हो।

मृत्यु जीवनको एउटा शास्वत सत्य हो। तर दैनिक जीवनको भागदौड, समय र परिवर्तनसँगै दौडने होडबाजीमा हामी धेरैले यो सत्यलाई बिर्सिरहेका हुन्छौं। मृत्यु हाम्रो लागि नबोलाइकन आएको, खबरै नगरी आएको शत्रु जस्तो हुनजान्छ। वास्तवमा यो त जीवनको शुरुवातसँगै जोडिएर आएको हुन्छ।

डाक्टर नर्सहरु कठोर हृदयका हुन्छन्, अर्काको दुःख सजिलै बुझ्न सक्दैनन्, विरामीको मृत्युले पनि उनीहरुलाई केहि असर गर्दैन भनेर धेरैले भन्ने गरेको पाएको छु। यो केहि मात्रामा सत्य पनि हो। हामी केहि मात्रामा कठोर हृदयका हुन्छौं र हाम्रो पेशाले हामीलाई यस्तो बनाएको हुन्छ। हरेक दिनजस्तो जीवन र मृत्युको लडाईंको प्रत्यक्षदर्शी बन्नुपर्ने हाम्रो पेशामा समयले हामीलाई कठोर हृदयको बनाइदिएको हुन्छ। विरामीको मृत्यु विरामीको परिवारको लागि सबैभन्दा बढि दुःखको घटना हुन्छ, तर उसको उपचारमा संलग्न डाक्टर र नर्सहरुका लागि पनि त्यो एउटा नमिठो कुरा हुन्छ। त्यो उनीहरुको प्रयास असफल भएको संकेत हुनेगर्छ। तर असफलताको त्यही एक सम्झनालाई काखी च्यापेर बसिरहन सम्भव हुदैंन। त्यस्ता नमिठा यादहरु संगालेर अगाडि हिडिरहनुपर्छ, त्यसबाट शिक्षा लिएर भविष्यमा अघि बढिरहनुपर्छ। त्यसैले त एउटा विरामीलाई बचाउन गरिएको अथक, तर असफल प्रयासका पसिनाहरु सुक्न पनि नपाई हामी उसलाई उसको आफन्तको जिम्मा लगाई अर्को विरामीको सेवाको लागि तयार हुन्छौं। यसलाई हाम्रो हृदयको कठोरताको रुपमा नहेरियोस्। हामी समयले दिएको शिक्षाले गर्दा, जीवन र मृत्युको हुने युद्धको दैनिक जस्तो प्रत्यक्षदर्शी बन्दा बन्दा र अर्को त्यस्तै जिन्दगीको लडाईको लागी सहयोग गर्नुपर्ने कर्तव्यका कारणले गर्दा केहि कठोर भएका हुन्छौं।

मेडिकल लाईफको शुरुवातका दिनहरुमा अर्थात् इन्टर्नसीपको बेलामा विरामीको मृत्यु धेरै ठूलो कुरा हुन्थ्यो। त्यस्तो घटनाको त्यो भन्दा पहिले प्रत्यक्ष अनुभव नभएर पनि होला, जीवन र मृत्युको लडाईंलाई र त्यसमा मृत्युको जीतलाई त्यति नजिकबाट नहेरिएकोले पनि होला, विरामीको मृत्युमा कति साथीहरु कुनामा बसेर मन अमिलो पारेर आँसु खसाल्ने गर्थे र दिनभर ढोका थुनेर कोठामा बस्ने गर्थे। तर समयसँगै आएको परिपक्वता भन्नुपर्छ यसलाई, आज हामी यसलाई सहजरुपमा लिनसक्छौं, जीवनको शास्वत सत्यलाई हामी सजिलै स्विकार्न सक्छौं। कृपया यसलाई हाम्रो कठोरताको रुपमा नलिइयोस्।

यस्ता घटनाहरुले हामीलाई हाम्रो limitation को ज्ञान दिलाएको हुन्छ, हाम्रो धरातल देखाएको हुन्छ। कोहिकोहि विरामी र उनका आफन्तहरुले भन्ने जस्तो डाक्टर एउटा भगवान कदापी हैन। उसले त मात्र मानव शरीरको बारेमा पढेको हुन्छ, रोगहरुलाई चिनेको हुन्छ, कसरी उपचार गर्ने सिकेको हुन्छ। मानिसको जीवन र मृत्‍युको साँचो त अरु कसैको हातमा हुन्छ। तर पनि हामी हिप्पोक्र्याटिक ओथ (Hippocratic Oath) लिँदा भनेको जस्तै मानव जीवनलाई सम्मान गर्दै त्यसको बचावका लागि विरामीको आत्मनिर्णयको अधिकार, आफ्नो अवस्थाबारे जान्न पाउने अधिकार र गोपनियताको अधिकारलाई आफ्नो कर्तव्य मान्दै यो युद्धभुमीमा आफ्नो ज्ञानको हतियार र सहयोग गर्ने भावनाको शक्ति लिएर अघि बढीरहने छौं। 
बाँकी पढ्नुहोस् >>