Monday, March 25, 2013

एच आइ भी (HIV): फरक एंगल


मेडिकल विधार्थी भएको नाताले एच आइ भी सँगको नाता पूरानो हो। जाँचमा सधैं आइरहने, भाईभा(Viva) मा सधैं सोधिरहने टपिक हो यो। तर अहिले सम्म यो केवल एउटा भाईरस थियो मेरो लागि (Human Immunodeficiency Virus)। अनी त्यस्ले गर्ने रोग एड्स(AIDS = Acquired Immune Deficiency syndrome)। ह्यारिसन र डेभिड्सनको १०-१२ पेज भित्रका इन्फर्मेसनहरुको थुप्रो मात्रै थियो एच आइ भि मेरो लागि। अनी त्यस्का विरामीहरु मात्र विरामी थिए। मेडिकल विधार्थीले रोगको मेडिकल पक्षलाई मात्रै हेरेको हुन्छ, त्यो कसरी लाग्छ, कसरी सर्छ, लक्षण केके हुन्, कसरी उपचार गरिन्छ आदी आदी। अनी विरामी उस्को लागि एउटा केस मात्रै हुन्छ। क्लिनिसियन र क्लिनिकल मेडिसिनको विधार्थी, हामीलाई रोग र विरामीको व्यक्तिगत, सामाजिक पक्ष शायदै थाहा हुन्छ।

एच आइ भि को यो अर्को पाटोलाई जान्ने मौका मिल्यो, @tfcNepal को दोस्रो जन्मदिनको अवसरमा। किर्तिपुरको भत्केपाटीमा रहेको 'सफलता शिक्षा सदन'मा रहेका एच आइ भि सन्क्रमित कलीला बालबालिकाहरुसँग केही समय विताउदा उनिहरुले मेरो लागि त्यो रोगको अर्को पाटो खोल्दीसकेका थिए। आमा बुवा नै एच आइ भि सन्क्रमणले एड्स भएर बितिसकेका उनिहरु राजकुमार सर र उमा म्याडम सँग बसिरहेका थिए। वास्तविक घर कसैको दाङ, कसैको सल्यान भएपनी अहिले यही शिक्षा सदन नै उनिहरुको घर थियो। मन्जु बहिनीले आफुलाई कसरी एच आइ भि सरेको, आफ्ना आमाबुवा दुवै कसरी यो रोगले मरेका, आफु कुन हालतमा यहाँ आइपुगेको सबै कथाव्यथा सुनाउदा हामी सबै सास पनि नफेरी सुनिरहेका थियौ। उन्को समाजले एच आइ भि लागेको भनेर कसरी उन्लाई छुवाछुत गर्‍यो, कसरी उनी साथीभाइहरुबाट एक्लो भईन भन्ने कुराले यो रोगको सामाजिक पक्ष खोलिरहेको थियो।

म अस्पतालमै मात्र बसेको भए रोगको यो पाटो जान्ने मौका शायदै मिल्थ्यो होला। किनकी हामी मेडिकल पर्सनहरु रोगको लक्षण, औषधी र जाँचहरुमै मात्र हराइरहेका हुन्छौं। हुन त हामीलाई सबैको कथा सुन्ने फुर्सदै पो कहाँ हुन्छ र? तर रोगको मानविय पक्ष, त्यस्ले आफ्नो विरामीको जीवनमा पारेको असर नबुझी के हामी आफ्नो विरामीको पूर्ण उपचार गर्न सक्लौं त? हाम्रो उदेश्य रोगको उपचार मात्रै होइन, लक्षणहरु ठीक पार्नु मात्रै होइन, हामीले चाहेको त विरामीको उपचार हो र यो उसको जीवनमा रोगले पारेको असर थाहा नपाई गर्नै सकिदैन। किनकी विरामी एउटा केस मात्र नभै सम्पूर्ण मान्छे हो जस्को आफ्नै जीवन हुन्छ, आफ्नै कथा हुन्छ।

यहाँ हेमराजको निश्चल हाँसोले, उमेशको खड्काजी पर्फर्मेन्स र र्याप डान्सले अनी उनिहरु सबैको उन्मुक्त खुशीले एच आइ भि को डरलाग्दो अनुहारलाई जितेको थियो। विगतको कालो रातलाई सकेसम्म विर्सेर अगाडिका पलहरु हाँसीखुसी जिउने उनिहरुको रहरको अगाडि एच आइ भि को केही जोड लागेको थिएन। रोगको यो पक्ष अस्पतालका वार्ड र ओपिडीहरुमा कमै देख्न मिल्छ।

एच आइ भि र एड्सको यो अर्को पाटो (मानविय र सामाजिक) लाई जान्ने मौका दिनु भएकोमा @tfcNepal का सबै साथीहरुलाई धन्यवाद, अनी मलाई यि कुराहरु पढाउने ति प्याराप्यारा भाईबैनीहरुलाई नि धेरै धेरै धन्यवाद।।

2 comments:

  1. वास्तवमै एच. आइ. भी. संक्रमितहरुलाई गरिने माया र स्नेहले उनीहरुमा ठुलो आड थपीरहेको हुन्छ! tfc ले आयोजना गरेको यस काम साँचै सराहनीय छ !!

    ReplyDelete
  2. Would you be fascinated by exchanging links?

    Also visit my web-site ... black dating sites

    ReplyDelete