Friday, January 18, 2013

विश्वास जित्नु ठूलो कुरा रहेछ..


विश्वास भनेकै सबैभन्दा ठूलो कुरा रहेछ। हामीले उनको मनमा हाम्रो उपचार पद्दतिप्रति विश्वास दिलाउन सकेनौं, अनि उनी बरु धामीझाँक्रीलाई देखाउँछु भनेर अस्पतालबाट LAMA(Left Against Medical Advice) मा गइन्। त्यसमा उनको कुनै गल्ति छैन। उनको कुरा नि ठिकै हो नि, "औषधी गर्ने भनेको त ठिक हुनका लागि पो हो त, औषधी खाँदा झन च्याप्ने भएपछि के का लागि औषधी।" उनी केही दिन अघि खुट्टा दुख्ने, झमझमाउने र औंलाको टुप्पो कालो भएको समस्या लिएर अस्पताल आएकी थिइन्, औषधी गर्दागर्दै अस्पतालमै रहँदा उनको समस्या बढेर गयो। कैलेकाइ औषधी गर्दागर्दै पनि रोग बढ्नसक्छ, रोग र औषधीको लडाईंमा सधैं हामी जित्न सक्दैनौ भनेर उन्को चित्त बुझाउन सकेनौं।

उनी एलोप्याथिक उपचार पद्दतिमा विश्वासै नगर्ने पनि होइनन्। नभए त अस्पताल नै किन आउँथिन् र? तर हाम्रो उपचार गर्ने तरिका कस्तो छ भने हामी रोगका बारेमा धेरै कुरा गर्छौं, पढ्छौं, पढाउँछौं, रोग बोकेर आएको विरामीलाई भने बिर्सन्छौं। आफ्नो उपचार के भैरहेको छ, के कस्ता जाँचहरु भैरहेको हो, के रोगको शंका वा डायग्नोसिस भएर कस्ता प्रकारका औषधी चलिरहेका हुन्, यो रोगमा के कस्ता जटिलताहरु आउन सक्छन् जस्ता सबै खालका प्रश्नहरु विरामीका मनमा उठिरहेका हुन्छन्। चाहे त्यो उनीहरुले भनुन् या नभनुन्। यी सबै कौतुहलता मेटाएर रोग, उपचारका बारेमा सल्लाह गरेर समझदारी पो उपचार अगाडी बढ्नुपर्ने होइन र? अनि पो विरामीको पनि चित्त बुझ्छ र डाक्टरको पनि।

जानुभन्दा अघि उनले भनेका असन्तुष्टिहरु पनि यस्तै थिए। "दिनदिनै घोचेर रगत निकालेको निकाल्यै छ, यत्रा दिन औषधी खायो २० को १९ पनि भएन, के रोग हो पत्ता लगाउन नि सक्या होइन, के भैर'को हो नि भन्ने होइन, रोग झन झन बढेर ग'को छ। अनि किन अस्पताल बस्ने?"

मलाई एलोप्याथिक पद्दतिको यही कुराहरु मन पर्दैनन्। 

हामी ठूलाठूला कुरा गर्छौं र जसका लागि यत्रो पढेको 'विरामी'लाई नै हामी बिर्सन्छौं। टाउको दुखेको विरामी आयो भने हामी सिटी स्क्यान गराउन भन्छौं न की उसलाई सान्त्वना दिएर हुनसक्ने कारणहरुबारे छलफल गर्छौं, वा उसको जिन्दगीमा आएका उतारचढावका बारेमा चर्चा गर्छौं, जुन उसको टाउको दुखाइको कारण हुनसक्छ। हामीलाई यस्ता कुरा गर्ने फुर्सदै हुदैंन। भएपनि हामीलाई यस्ता कुरा कसरी गर्ने, विरामीलाई काउन्सेलिङ कसरी गर्ने भनेर सिकाइएकै हुदैंन। हामीलाई त यस्ता समस्या वा रोग भएका विरामीलाई यो यो जाँच गर्ने, यो औषधी चलाउने भनेर मात्र पढाइन्छ। अनि हामी विरामीसँग त्यो जाँच गर्नका लागि पैसा छछैन, त्यो औषधी किन्दा उसले विहानबेलुकाको छाक काट्नुपर्ने पो हो कि भनेर सोध्नै बिर्सन्छौं।

अर्को कुरा भनेको हामी, हाम्रो सेवा एकदमै महंगो हुन्छ। धामीले अलिकति चामल मन्छेर एउटा रातो भालेको भरमै रोग ठिक पारिदिन्छ भने को दिनदिनै आफूलाई ठूल्ठूला सूईले घोचाउन, महंगा औषधी खान अस्पताल धाओस्। उनीहरुको विश्वास जित्नसक्ने केही त कुरा हुनुपर्यो हामीमा पनि।

अनी फेरी धामीझाँक्री उनीहरुले बुझ्ने भाषामा कुरा गर्छन्, उनीहरु भूतप्रेत लागेको, कुलदेवता रिसाएको, ग्रह बिग्रेको कुरा गर्छन् र त्यसकै उपचार गर्छन्। हाम्रो बोली विरामीहरुका लागि अर्कै दुनियाको जस्तो हुन्छ। हामी स्ट्रोक, हार्ट अट्याक, क्यान्सरका कुरा गर्छौं, जुन होला भनेर उनीहरुले कहिल्यै सुनेका र सोचेकै हुदैंनन्। अनि के आधारमा उनीहरुले हामीलाई विश्वास गर्ने? उनीहरुको लेभलमा रहेर उनीहरुले बुझ्ने भाषामा रोग र उपचारका बारेमा सल्लाह गरे पो उनीहरुको पनि चित्त बुझ्छ, होइन र?

केही दिन अघी मेरो एकजना डाक्टर साथीको आफन्त पर्ने पनि भर्ना भएकी थिइन्। जाँचको क्रममा फोक्सो, कलेजो जस्ता विभिन्न अंगहरुमा क्यान्सर फैलिएको पत्ता लाग्यो तर उपलब्द सबै किसिमका जाँच गर्दा पनि कुन अंगको क्यान्सर भन्ने चाँही पत्ता लगाउन सकिएन। अनि उनले हल्का व्यंगात्मक पारामा भने "के का लागि अस्पताल बस्ने भनेर हामीलाई आश देखाउन सक्नुपर्यो नि, यो गरियो, यो बाँकी छ, यसबाट यस्तो पत्ता लाग्नसक्छ, विरामीको लागि यो फाइदा छ भनेर हामीलाई विश्वास दिलाउनसक्नुपर्यो नि, अनि पो अस्पताल बसिन्छ, नत्र किन बस्ने?" मैले भने "त्यो त आइडियल कन्डिसन हो साथी।" साँच्चै नै हुनुपर्ने त त्यस्तो हो। हामी पढेको, बुझेको मान्छेले विश्वास दिलाउनका लागि च्यालेन्ज गर्दा त दिन सक्दैनौं भने नबुझ्ने विरामीहरुको त के हालत होला? हुन नि हो, विरामी र विरामीको परिवारको विश्वास जित्न नसकी तपाईं कसरी उपचार शुरु गर्नुहुन्छ? त्यो त उपचारको पहिलो कदम हो। तर हाम्रा अस्पतालहरुमा (विशेषगरी सरकारी अस्पतालहरुमा) "राख्न मन भए राख्नुस्, नत्र हामीलाई के को टाउको दुखाई" भन्या जस्तो व्यवहार गरिन्छ।

अँ, उनी भन्दैथिइन् "बरु केइ लागुसागु पो लागेको हो की, त्यस्तो भ'को हो भने औषधीले काम गर्दैन, बरु म धामीझाक्रीलाई पनि देखाउँछु।" उनको कुरा पनि ठिकै हो, औषधीले काम पनि गरिरहेको छैन, कसैले यसले काम गर्छ भनेर विश्वास पनि दिलाउन सकेको छैन भने के का लागि यो महंगो औषधीको मात्र भर परेर बस्ने? हामीले विरामीहरुको राम्रो गर्ननसकेको अवस्था, अनि विश्वास पनि जित्न नसकेको बेलामा आफ्नै एलोप्याथिक पद्धतिको फुँइ मात्र लगाइरहनु पनि उचित हुदैंन। उनीहरुलाई आफ्नो इच्छा अनुसारको अल्टरनेटिभ उपाय अपनाउन दिनुपर्छ। तर यो अलि फरक अवस्था थियो। रिपोर्टहरुमा खासै खराबी नदेखिए पनि रोग लगभग निश्चितै थियो। फैलन सक्ने पूरापूर सम्भावना भएको रोगको विरामीको पनि 'मात्र विश्वास' जित्न नसकेर उपचार गर्न नपाइएकोमा भने थकथकी लागीरह्यो। अनि थाहा भयो, विश्वास जित्नु भनेको कति ठूलो कुरा रहेछ भनेर।

बाँकी पढ्नुहोस् >>

Friday, January 4, 2013

अस्पतालका हरेक बेडको एउटा कथा हुन्छ। At hospital, every bed has its own story.


"यो बच्चा हाम्रो लागि धेरै प्रेसियस छ, जसरी नि यसलाई बचाउनुहोला।" भर्खर जन्मिएका बच्चाका बाबुले हामीलाई भनिरहेका थिए। बच्चा समयभन्दा अघि जन्मिएर उसको फोक्सो राम्ररी विकास हुननसकी स्वासप्रश्वासमा कठिनाइ भैरहेको थियो। मेडिकल भाषामा त्यसलाई रेस्पिरेटरी डिस्ट्रेस सिन्डोम भनिन्छ। चिकित्सक र नर्सहरुको टिम र बच्चाको परिवारको अथक प्रयासका बावजुद पनि बच्चाको अवस्था झनझन नाजुक बन्दै गइरहेको थियो। लगभग १०-१२ दिन कृत्रिम स्वासप्रश्वास प्रक्रिया गराएर (भेन्टिलेटरमा राखेर) औषधी उपचार गरेपछि सुधार हुदैं आएर अन्तमा बच्चालाई हामी स्वस्थरुपमा आमाबुवाको काखमा फर्काउन सफल भयौं। अस्पतालबाट जाने बेलामा बच्चाका बुवाले मिठाइ ख्वाएर धन्यवाद दिंदा लाग्यो हरेस नखाइ भित्री मनदेखि मागेमा र त्यसका लागि लागिपरेमा जिन्दगीले चाहेको कुरा अवश्य दिंदोरहेछ।

तर त्यो त जीवनको एउटा पाटो मात्र पो रहेछ। त्यो सधैं सुखद अन्त्य अर्थात् ह्याप्पी इन्डिङको रुपमा मात्र कहाँ आउँदो रहेछ र।

बच्चा वार्डको बेडमा उ लगभग एक महिनाभन्दा बढि नै बस्यो, पीआइसियुमा, भेन्टिलेटरमा पनि उसलाई राख्नुपर्यो। दुवै मृगौलाले काम गर्न छोडेको उसलाई धेरै पटक डायलाइसिस पनि गरियो। उसका हातखुट्टाहरु सुकेर बाँस जस्ता भएका थिए। उसलाई हेर्दा यस्तो लाग्थ्यो कि मानौं बिरालोले मुसालाई मारेर खानुअघि खेलाए जस्तो मृत्युले उसको जिन्दगीलाई खेलाएर खिसी गरिरहेको छ। यति सानो उमेरमै उसले जिन्दगी भरिको दु:ख भोगिसकेको थियो। त्यसैले त उ अन्तमा आफ्नो भागको दु:ख सकेर जिन्दगीलाई सदाको लागि विदा गरी गयो। उसको मृत्युको खबर सुनेको बेला लागेको थियो, जिन्दगी कति निर्दयी हुँदोरहेछ, यति कलिलो बिरुवा पनि दयामाया नभनी निमोठ्दोरहेछ।

जिन्दगीले फरकफरक बेडमा आफ्नो फरकफरक रंग देखाइरहेको थियो। म त्यसको बहुरुपी चरित्र मुकदर्शक भएर हेरिरहेको थिएँ।

मान्छेले आफ्नो कर्मको फल यही जन्ममै भोग्छ भनेजस्तै अर्को वार्डको अर्को बेडको विरामीको कथाले भनिरहेको थियो। जमानामा धेरै नै जाडरक्सी खाने, परिवार, छोराछोरी, आफन्त सबैलाई दु:ख दिने उनी अहिले कलेजोको रोग (Cirrhosis/सिरोसिस- कलेजोले काम गर्न छोडेको अवस्था) लागेर रगत वान्ता हुने, कालो दिसा जाने, पेट, खुट्टा फुलेर हिंडडुल गर्न नि गाह्रों भएको अवस्थामा अस्पतालको बेडमा लडिरहेका थिए। उनको होस पनि राम्रो खुलेको थिएन, बेहोसीमै बरबराइरहेका हुन्थे। उनलाई हेर्दा लाग्थ्यो जिन्दगीले उनलाई यसै जुनीमा उनको कर्मको फल दिइरहेको छ, पहिले मात्तिएर हिंड्ने उनलाई खुच्चिङ भनिरहेको छ। साँच्चै हो रहेछ हामीले जस्तो बीउ रोप्यौं त्यस्तै फल लाग्दोरहेछ।

अर्को बेडको संघर्षको कथा अर्कै छ फेरी। उनी भर्खर ९वर्षकी थिइन्। टाइप १ डाइबेटिजकी रोगी उनी आफैंले आफ्नो सुगर हेर्थिन् र आफैंले इन्सुलिनको सूई लगाउथिन्। त्यत्री सानी फुच्चीले दिनको २-३ पटक रुदैं आफैंले आफूलाई सूईले घोचेर पहिले सुगर लेभल हेर्ने अनि इन्सुलिन लगाउने दृश्य मन कुँढाउने खालको हुन्थ्यो। उ त्यतिबेला डाइबेटिजको एक जटिल अवस्था डायबेटिक केटोएसिडोसिस भएर भर्ना भएकी थिइ। कहिले राम्रो हुने, कहिले अवस्था बिग्रने भएर पनि अन्त्यमा उ सुधार भएर घर जानसक्ने भइ। इन्सुलिनको सूई त उसको जिन्दगीको साथी बनिसकेको थियो, तैपनि उसलाई राम्रो बनाएर बिदा गर्न पाउँदा साह्रैं खुसी लागेको थियो। घर जाने दिन उ निकै रमाएकी थिइ, म उसको त्यो मुस्कान अझै पनि सम्झन्छु। उ बेला बेलामा अझै पनि डाइबेटिजको कम्प्लिकेसनले भर्ना भैराख्छे रे। उसलाई सम्झदा लाग्छ, जिन्दगीको अर्को नाम नै संघर्ष हो। जुन दिन हामी लड्न छोड्छौं, जिन्दगीले पनि हाम्रो साथ छोड्छ।

अर्को बेडमा मृगौला प्रत्यारोपण गरिएको बालक सुतिरहेको थियो। उसलाई उसको आमाले मृगौला दिएकी थिइन्। डाक्टरीरुपमा हेर्दा एउटा मृगौलामा मानिस राम्रै तरिकाले बाँच्नसक्छ र यो दिनु कुनै ठुलो कुरा देखिदैंन। तर सामान्य मानवीय सोचाइमा हेर्ने हो भने आफ्नो शरीरको अंग काटेर अरु कसैलाई दिनसक्नु जत्तिको ठुलो दान कुनै छैन। त्यस्ता त्याग गर्नसक्ने, त्यस्तो दान गर्नसक्ने व्यक्तिहरुलाई म महान मान्छु।

जिन्दगीका हरेक पाटोको कथा अस्पतालका बेडहरुमा सुन्न पाइन्छ, देख्न पाईन्छ। तर यहाँका प्राय कथाहरु दु:ख, संघर्ष र आसुँले भरिएका हुन्छन् । तैपनि तिनमा मानवता देख्न पाइन्छ, मायाको न्यानोपन छाम्न पाइन्छ र आफ्नोपनको आभास गर्न पाइन्छ।

उ आज नै साउदी अरबबाट फर्केको थियो। पैसा कमाएर परिवारको र आफ्नो भविष्य राम्रो पार्ने सपना बोकेर गएको उ एक महिना त्यहाँको अस्पतालमा बसेर जिउँदो लास बनेर मात्र एउटा सुटकेसको साथ नेपाल फर्केको थियो। उ हातखुट्टा चलाउन सक्दैनथ्यो, मुख बाइरहन्थ्यो, बोलेको बुझिदैनथ्यो, आँखा टिलपिल गरिरहन्थ्यो। र उसलाई स्याहार गरिरहेकी उसकी श्रीमती थिइन्। जो उसको आँसु त पुसिदिन्थिन् तर उसको आफ्नो आँसू भनेर कसैले नदेख्ने गरेर झारिरहेकी हुन्थिन्।

साँच्चै नै अस्पतालका हरेक बेडको एउटा कथा हुन्छ। फरकफरक विभागको पोस्टिङ सँगसँगै, फरकफरक बेडको राउण्ड सँगसँगै यस्तो लाग्छ की म विरामी हेरी मात्र रहेको छैन, विरामीको उपचार गर्न सिकिरहेको  मात्र छैन, बरु जिन्दगीरुपी उपन्यासको नयाँ पाटो पनि हेरिरहेको छु, नयाँ अध्याय पनि पढिरहेको छु। अस्पतालको हरेक बेडमा एउटा रोग वा केस मात्र बसेको हुदैंन, त्यहाँ एउटा जीवन बसेको हुन्छ, जसको आफ्नै एउटा कथा हुन्छ, आफ्नै व्यथा हुन्छ, म त्यही कथा-व्यथा पढ्न खोजिरहेको हुन्छु।
बाँकी पढ्नुहोस् >>

Saturday, December 8, 2012

के डक्टरले विरामी बचाउने मात्रै गर्छन् त?


 प्रश्न सुनेर अचम्म लाग्नसक्छकस्तो खालको कुरा गरेको भनेर रिस उठ्न सक्छ। खासमा यो कुरा मेरो मनमा केही दिनअघिको घटनाले उब्जिएको हो। सिओपीडी(COPD) को अन्तिम चरणमा पुगेर मुटुमा पनि असर गरिसकेको एकजना विरामीलाई मुखबाट कृत्रिम श्वासप्रश्वास गराइरहेको थियो। सुधारको खासै सम्भावना थिएन, त्यसमाथी विरामीको छोराले आफ्नो पैसा सबै सकिएको र अब अरु उपचार गराउन नसक्ने भनेर भने। त्यो निर्णय लिन र त्यसको मन्जुरिनामामा सही गर्न उसलाई कम्ता गार्हो भएको थिएन। तर अरु केही विकल्प नै थिएन। जीवनले बेलाबेला कठोर निर्णय लिन वाध्य बनाउछ। आखिरमा लेफ्ट अगेन्स्ट मेडिकल एड्भाइस (Left Against Medical Advice/ LAMA) मा उनिहरुले विरामी घर लाने भए। र मैले विरामीसँगसंगै एम्बुलेन्ससम्म पुगेर उसको मुखबाट श्वासनलीमा छिराएको पाइप निकालेर कृत्रिम श्वासप्रकृया बन्द गरिदिएर मास्कबाट अक्सिजन जोडी विदा गरिदिए।

  कतीलाई यो कुरा आपत्तिजनक लाग्नसक्छ। कतीले यो कुरालाई हत्यासँग नि जोड्नुहोला। कतीलाई यो कुरा मानवता, चिकित्सा विज्ञानको विरुद्धको कुरा जस्तो लाग्नसक्छ। डक्टर भएर त विरामी बचाउने पो हो, लगभग अन्तिम श्वास लिईरहेको मान्छेको त्यही एउटा बाटो नि बन्द गरिदिने, कस्तो कठोर मन रहेछ भन्ने लाग्नसक्छ। विचार आफ्नोआफ्नो हो। भावनामा बग्दा, इमोसनल मात्रै हुँदा त्यस्तो लाग्न सक्छ। तर एक पटक व्यवहारिक भएर पनि सोचौं त।

  हिप्पोक्रेटिक ओथमा एउटा कुरा के भनिएको छ भने मैले आफ्नो चिकित्साज्ञानलाई विरामीको फाईदा, भलाईको लागि प्रयोग गर्छु तर व्यर्थको अनावश्यक उपचार (Over treatment) गर्दिन र निराशावादी सोच (Medical Nihilism) पनि राख्दिन। अर्थात ति दुई बीच सन्तुलन राख्दै विरामीको उपचार गर्छु।"
 
  यो वाक्यले माथि भनिएको जस्तो अवस्थालाई इंगित गर्न खोजेको हो। उपचार गर्ने भनेर विरामीलाई फाईदा नहुने अवस्थामा पनि जबरजस्ती ठुलो अप्रेसन गर्ने, अर्थहिन उपचार पद्धती प्रयोग गर्ने गर्नुहुँदैन। ८०-९० वर्षको मुटु, म्रिगौलाको रोग भ'को बुढो मान्छेको दिमागमा रगत बगेको अवस्थामा के तपाईं टाउकोको अप्रेसन गरेर रगत निकाल्ने सल्लाह दिनुहुन्छ? यस्तो बेलामा त्यस्तो सघन उपचारको केही अर्थ रहदैन। हिप्पोक्रेटिक ओथले यस्तो बेलामा विरामीको अवस्था हेर्दै विरामीको परिवारको विचार, निर्णय अनुसार काम गर्नु भनेर भन्छ। हाम्रो देशमा प्राय: सबैको पैसाको समस्या रहने भएकोले यस्तो बेलामा अर्थहिन उपचार गरेर विरामीको कष्टकर अवस्था लम्ब्याएर एकातिर पैसा नि सकिने अर्कोतिर विरामी नि नरहने अवस्था गराइदिनुहुन्न। तर कतिखेरको अवस्था चाँही "अब आश नगर्दा हुन्छ" भनेर किटान गर्न सार्है गाह्रो हुन्छ। हुन त डक्टरले यस्मा आफ्नो व्यक्तिगत निर्णय गर्न पाउदैन। यो विरामी र उस्को परिवारको नितान्त व्यक्तिगत निर्णयको कुरा हो र डक्टरले यस्मा उनिहरुलाई एक्स्पर्ट ओपिनियन दिएर सहि निर्णय लिन सहयोग गरिदिने मात्रै हो।

  अर्को कुरा, एबोर्सनको बारेमा तपाईंहरुको के विचार छ? नेपालको कानुन अनुसार महिलाको व्यक्तिगत स्विक्रितीमा मात्रै १२ हफ्ता भन्दा कमका भ्रुणलाई फाल्न सकिन्छ। त्यसको लागि केही कारण चाहिदैन। त्यस्तै महिलाको स्वास्थ्यका कारणले बच्चा जन्म दिननसक्ने वा आमाको ज्यानै जान सक्ने भए कुनै पनि बेलामा गर्भको बच्चा फाल्न सकिन्छ। यसलाई पनि कसैले जीवनहत्यासंगै तुलना गर्छन्। यस्मा नि विचार आफ्नोआफ्नो हो। कसैले जीवन शुक्रकिट र डिम्ब मिलेर जाइगोट बन्ने बित्तिकै सुरु हुन्छ भन्छन्, कसैले बाहिर निकाल्दा आँफै बाँच्न सक्ने उमेरको नभैकन भ्रुण एउटा जीवन होइन भन्छ्न्। तर गर्भवती महिलालाई हेरिरहेको डक्टरका लागी पहिलो प्राथमिकता भनेको सो महिला नै हुन्छ र उस्को स्वास्थ्यको फाईदा, ज्यान जोगाउनका लागि गरिने कुनै पनि कार्यलाई हिप्पोक्रेटिक ओथले समर्थन गर्छ भन्ने मलाई लाग्छ। नोट: माथिको फोटो मैले एबोर्सन गरेकोहरु मध्येको एउटा भ्रुणको हो।    

  फेरी शिर्षक प्रश्नकै कुरा गरौँ। ठ्याक्कै भन्दा डक्टरले विरामी बचाउने होइन कि विरामीको रोग, समस्या कम गर्ने वा गर्न प्रयास गर्ने हो। यस्मा सधैं रोग निको पार्न सकिन्छ भन्ने हुँदैन। फैलिसकेका क्यान्सर जस्ता रोगहरुमा ठुलाठुला अप्रेसन गरेर विरामीलाई अनावश्यक दु:ख दिनु भन्दा बचेँको समय कसरी कम कष्टकर बनाउन सकिन्छ भन्नेमा डक्टरले विरामी र उस्को परिवारसँग छलफल गर्नुपर्छ। उमेर पुगेको, हार्ट अट्याकले मुटुको धेरै भाग मरीसकेको अनी मुटुले १०-१५% मात्र काम गरिरहेको विरामिलाई छाती थिचिथिची सिपिआर गर्नुको कुनै अर्थ रहदैन। मेरो व्यक्तिगत विचार सोध्नुहुन्छ भने त्यस्तो बेलामा सजिलो, शान्त तरिकाले जीवनको अन्त्य हुन दिनुपर्छ। तर यो मेरो व्यक्तिगत विचार हो। विरामिको उपचारमा मैले आफ्नो व्यक्तिगत विचार अरुको जीवनमा लाद्न पाउदिन। विरामीको आफ्नो र उस्को नजिकको आफन्तको निर्णय अनुसार हामीले विरामीको उपचार गर्नुपर्ने हुन्छ।

  विश्वका केही देशहरुमा युथेनासिया/ Euthanasia अर्थात् मर्सी किलिङ/ Mercy Killing लाई कानुनले मान्यता दिएको छ। यो भन्नाले ठीक नहुने रोग लागेको, अन्तिम अवस्थाको क्यान्सर भएको वा प्यारालाइसिस वा अरु कुनै कारणले जीवन जिउन अती नै गार्हो भएको जस्ता अवस्थाहरुमा सम्पूर्ण कुराको जानकारी लिई कानुनीरुपमा डक्टरको सहयोगमा जीवनको अन्त्य गर्नु हो। यो अती नै जटिल कुरा भएकोले यस्का बारेमा धेरै लेख्न चाहन्न। ह्रितिक रोशन अभिनित फिल्म गुजारिश हेर्नुभयो भने पनि यसबारे धेरै थाहा हुन्छ।
  
  अन्त्यमा यती मात्रै भन्न चाहन्छु कि हामी चिकित्सकहरु सबैखालको विरामीहरु, सबै खालका रोगहरुसँग संगत गर्नुपर्ने भएकोले सबैलाई ठीक गरिदिन्छु, सबैलाई बचाउछु भन्न सम्भव हुँदैन। हामीले गर्ने भनेको आफ्ना विरामिलाई सकेसम्म सजिलो बनाउने हो, कहिले त्यो रोग निको बनाएर हुन्छ, कहिले बचेँको आयु विना अफ्ठ्यारो कटोस् भनेर औषधी दिएर हुन्छ भने कहिले विरामी वा परिवारको अनुरोधमा जीवनलाई थेगिरहेका आधारहरु हटाएर लामो यात्रालाई सजिलो बनाएर। तर जहिले नि हाम्रो प्राथमिकता भनेको आफ्नो विरामीको भलो नै हुन्छ। 

बाँकी पढ्नुहोस् >>

Wednesday, November 7, 2012

अंकमा अडिएका जीवनहरु (Lives defined by Numbers)

   डाक्टरहरुमा संवेदनाको कमि हुन्छ, विरामीका कुराभन्दा पनि रिपोर्टका कुरा बढि सुन्छन् भन्ने आरोप त लाग्दैगरेको हो। मैले देखेका कैयौं साथीहरु, सिनियरहरु पनि त्यस्ता नभएका होइनन्, तर कहिलेकाहीं अवस्था नै त्यस्तो हुँदोरहेछ। चाहेर पनि केही गर्न नसकिने वातावरण हुँदोरहेछ। एक महिने एन आइ सि यु (NICU) बसाईंले मलाई त्यही कुरा सिकाइदियो।


       एनआइसियु अर्थात् नियोनेटल इन्टेन्सिभ केयर युनिट (Neonatal Intensive Care Unit) अर्थात् एक महिनाभन्दा कम उमेरका शिशुहरुलाई राखिने सघन उपचार कक्ष, अझ प्राय: त भर्खर जन्मिएका बच्चाहरु नै राखिएका हुन्छन्। विरामीसँग बोलिरहने बानी भएको मलाई त्यहाँको पोस्टिङका शुरुका दिनमा अफ्ठ्यारो महसुस भयो। सबै विरामी भर्खर जन्मिएका कि १०-१२ दिन भन्दा बढि नभएका, हेर्दा सबै उस्तै लाग्ने, मलाई यस्तो भयो उस्तो भयो भन्ने त कुरै भएन, सबै रुने मात्र। मलाई त कहाँकहाँ आइपुगे जस्तो पो लाग्यो। सबैका समस्या पनि फेरी लगभग उस्तै लाग्ने। सास छिटो छिटो फेरेको, बच्चा जन्मिनु भन्दा धेरै पहिलेदेखि नै आमाको पानी बगेको, बच्चाले दूध राम्ररी नचुसेको आदि आदि।

       ठुलो मान्छेमा भए त के भएको हो, के समस्या छ भनेर सोधेर पनि केही पत्ता लगाउन सकिन्थ्यो नि, ती २-३ किलोका बच्चाले त आफ्नो अनुसार जे नभएपनि रोइदिने मात्र, भोक लागेपनि रोएकै छ, दिसापिसाब गरेपनि रोएकै छ, रोगका कारण गाह्रो परेपनि रोएकैछ। के भएको हो छुट्याउनै गाह्रों पर्ने। अनि त बच्चा पेटमा हुँदाको कुरा, जन्मदाको कुरा, बच्चामा देखिएका साधारण समस्याहरुमै भर पर्नुपर्ने। र रिपोर्टमा आएका अंकहरु, बच्चाको शरीरमा जोडीएका विभिन्न मेसिनका स्क्रिनहरुमा देखिएका नम्बरहरुलाई नै सम्पूर्ण उपचारको आधार मान्नुपर्ने।

       बच्चाको सासको गति यति छ, मुटुको धड्कन यति छ, प्रेसर यति छ, रगतमा ग्लुकोजको मात्रा यति छ, २४ घण्टामा यति पटक दिसापिसाब गर्यो आदि जस्ता अंकहरुमा नै हामीले भरपर्नु पर्ने रहेछ। मलाई यस्तो भयो उस्तो भयो, गाह्रों भयो, च्याप्यो भनेर बच्चाले भन्ने होइन, ती सबै मेसिनका स्क्रिनमा देखिएका नम्बरहरुले बताउने रहेछ। ती मेसिनहरुले विरामी बच्चाहरु र उपचार गर्ने स्वास्थ्यकर्मीहरुको बीच ल्याङग्वेज ट्रान्सलेटर वा मध्यस्थकर्ताको भुमिका निभाएको जस्तो लाग्ने।

       आफ्नो विरामीसँग बोल्न नपाउँदा कस्तो कस्तो लाग्दोरहेछ, एउटा शुन्यता जस्तो। हुन त बच्चाका आमाबुवासँग नबोलिने होइन, मौका पर्दा ती अबोध शिशुहरुसँग पनि आफ्नै तालमा बच्चा बनेर नबोलिने होइन, तैपनि विरामी बच्चा र मैले एकअर्कालाई बुझ्न नसकेको जस्तो लागिरह्यो, शायद बानी नपरेकोले होला। तैपनि बच्चाका आमाबुवा र अन्य आफन्तहरुसँग बच्चाको स्थितिका बारेमा कुराकानी गरेर भएपनि त्यो शुन्यतालाई कम गर्ने, कम्युनिकेसन ग्यापलाई कम गर्ने सक्दो कोशिश भने गरियो। महिनाको अन्तसम्ममा बच्चाहरुको रुवाइलाई केही भने नि बुझ्ने, उनिहरुको समस्याबारे बोलिरहेका अंकहरुलाई अर्थ्याउन सकिने भइयो। मलाई यो नयाँ भाषा सिक्न सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद।।


       अन्त्यमा, यस्तो शुन्यताका बावजुद पनि भर्खरका बच्चाहरुको हरेक रुवाई बुझेर, अर्थ्याएर त्यसै अनुसार पुर्याउन सक्दो प्रयास गर्ने, स्क्रिनमा देखिएका अंकहरुले बोलेको बच्चाको भाषा बुझी उपचार गर्ने र अंकमा अडिएका जीवनहरुलाई स्वस्थ बनाई आमाको काखमा फिर्ता पठाउन सहयोग गर्ने एन आइ सि यु का सबै स्वास्थ्यकर्मी (डाक्टर, नर्स)हरु र अरु सहयोगीहरुलाई मेरो सलाम।।


बाँकी पढ्नुहोस् >>

Wednesday, October 10, 2012

युवावस्थामा हृदयघात(Heart attack in Youngs) बढेकै हो त?


न्युज24का टिभी जर्नालिस्ट तारा रेग्मीको २७वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि युवाहरुमा यसको प्रकोप बढ्न लागेको हो त भन्ने प्रश्न फेरी एकपटक उठेको छ। फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालहरुमा यसप्रति चिन्ता र बहस पनि चलेको छ। जुन एक हिसाबले राम्रो पनि हो। नत्र सामाजिक संजालका साइटहरुमा स्वास्थ्यका कुरा बिरलै हुने गर्छन्। 'युवावस्थामै हृदयघात'को चर्चा इन्द्र लोहनी र शौभाग्यजंग शाहको निधनको बेला पनि चलेको थियो।

मेडिकल भाषामा ४५वर्षभन्दा कम उमेरमा हृदयघात भएमा युवावस्थामा भएको हृदयघात भनिन्छ।

के साँच्चै हृदयघात युवाहरुतिर पल्केको हो त?
हुनसक्छ। अध्ययन-अनुसन्धान विना यकिनका साथ भन्न त गाह्रों छ तर हृदयघातको सम्भावना बढाउने जीवनशैली हिजोआजका युवाहरुले बढि अपनाउन थालेका हुनाले यसको प्रकोप युवाहरुतिर सरेको छैन वा नसर्ला भन्न सकिदैंन।

यसका लागि किन हृदयघात हुन्छ भन्ने जान्नु जरुरी छ। 
हृदयघात भनेको मुटुको मांसपेशी मासुलाई अक्सिजन, ग्लुकोज पुर्याउने रगत बोकेको रक्तनली(coronary arteries)हरुमा केही कारणले अवरोध पुगेर मुटुको मांसपेशी मर्ने रोग हो। याद राख्नुहोला, मरेको कुरालाई जिउँदो बनाउन सकिदैंन, भन्नुको मतलब हृदयघात भैसकेपछि मुटु कहिल्यै पहिलेको जस्तो हुदैंन। रक्तनलीहरुमा अवरोध पुग्ने वा साधुँरो हुने प्रमुख कारण भनेको त्यसका भित्री भागहरुमा बोसो जम्मा हुनु(Atherosclerosis)हो। र यो रगतमा बोसो वा चिल्लो पदार्थको मात्रा बढि हुन गएमा हुने गर्छ। साथै रक्तनलीका भित्री भित्ताहरुमा खराबी ल्याइ रगत जम्ने वा बोसो जम्ने अवस्था बनाएर फ्री रेडिकल(Free radical)जस्ता केमिकलहरुले पनि हृदयघात गराइरहेका हुन्छन्।

रगतमा त्यस्तो बोसो कहाँबाट आउँछ त? 
उत्तर सजिलो छ, हामीले खाने खानाबाट। खानामा हुने चिल्लो पदार्थ, कार्बोहाइडेट आदी चाहिने भन्दा बढि भएमा बोसोको रुपमा शरीरमा जम्मा भएर बस्छ। यसो भनेर बोसो हानिकारक मात्रै हुन्छ भन्ने होइन। एचडिएल/HDL स्वास्थ्यको लागि राम्रो मानिने बोसोको प्रकार हो। यसले रक्तनलीको भित्ताहरुमा जम्मा भएका बोसोहरुलाई सफा गर्ने काम गर्छ। त्यसैले यसको मात्रा बढि हुनु राम्रो मानिन्छ। एलडिएल/LDL, भिएलडिएल/VLDL जस्ता बोसोहरु भने निश्चित मात्रा भन्दा कम भएको स्वस्थकर हुन्छ। शरीरमा बोसो जम्मा हुने भनेको बिस्तारै र नियमित हुने प्रकृया हो, जुन बाल्यकालबाटै शुरु हुन थाल्छ र युवावस्था हुदैं प्रौढ उमेरमा पुग्दा धेरै नै बढि भएर मुटुका रक्तनलीहरु नै बन्द गराएर हृदयघात हुनेगर्छ। त्यसैले पनि प्रौढहरुमा यो समस्या बढि देखिन्छ। साथै बच्चा जन्माउने उमेरसमुहका महिलाहरुमा महिला हर्मोन इस्ट्रोजन र प्रोजेस्टेरोनले माथि भनिएका हानिकारक बोसोहरुको मात्रामा नियन्त्रण राख्ने काम गर्छन्, जसले गर्दा यो उमेर समुहका महिलाहरुमा हृदयघात कम देखिन्छ तर महिनावारी रोकिएपछि हर्मोनको मात्रा एक्कासी घट्ने भएकोले हृदयघातको सम्भावना उही उमेरका पुरुषको बराबरी नै हुन आउँछ।

मुटुका लागि हानिकारक जीवनशैली भनेको के हो?
१. नराम्रो चिल्लो पदार्थको बढि र राम्रो चिल्लो पदार्थको कम सेवन
नराम्रो चिल्लो पदार्थ भनेको जुन खाँदा शरीरमा हानिकारक बोसो एलडिएल, भिएलडिएलको मात्रा बढ्छ र राम्रो भनेको जुन खाँदा लाभदायक बोसो एचडिएलको मात्रा बढ्छ त्यो चिल्लो पदार्थ हो। प्राय: गरेर सामान्य कोठाको तापक्रममा तरल अवस्थामा रहने चिल्लो पदार्थहरुमा पोलीअनस्याचुरेटेड फ्याटीएसिड(PUFA)को मात्रा बढि हुन्छ जसको सेवनले एचडिएलको मात्रा बढ्न जान्छ अर्थात त्यस्तो चिल्लो पदार्थ शरीरको लागि राम्रो खालको मानिन्छ। जस्तै तोरीको तेल, ओलिभको तेल, सूर्यमुखीको तेल, भटमासको तेल आदि। त्यस्तै सामान्यतया जमेर बस्ने घ्यु, नौनी, चीज आदीमा स्चुरेटेड फ्याटीएसिड बढि हुन्छ जसले हानिकारक बोसोहरु एलडिएल, भिएलडिएलको मात्रा बढाउँछ। तैपनी वनस्पति घ्यु, जम्ने तेलमा बनाइने म:म, चाउमीन हाम्रो फेभरेट फुड बनेकै छ।
फलफूलहरुको सेवनले कोलेस्टेरोल, एलडीएलको मात्रा घटाऊनुका साथै फ्री रेडिकलहरुको उत्पादनमा कमि ल्याइ रक्तनलीहरु साघुरिने र बन्द हुने(Atherosclerosis)सम्भावनालाई घटाउँछ।

२. चुरोट सेवन गर्ने बानी
यो बानीले आजभोलिका युवा र टिनएजर पुस्तालाई पनि नराम्रोसँग गाँजेको छ। ९-१० क्लासमा पढ्ने केटाकेटीहरु मजाले चुरोटको धुँवा उडाइरहेको देख्नु कुनै नौलो कुरा होइन। चुरोटमा पाइने निकोटिन लगायतका कैयौ केमिकलहरुले फोक्सोमा त असर गर्छ नै शरीरमा कोलेस्टेरोल, एलडिएल, फ्री रेडिकलहरुको मात्रा बढाएर मुटु लगायतका अन्य रक्तनलीहरु बन्द गराएर हृदयघात र अरु थुप्रै रोगहरु गराउँछ। चुरोट खाने महिलाहरुमा महिला हर्मोनका कारणले मुटुलाई जुन सुरक्षा दिएको हुन्छ, त्यो कम भएको र युवा उमेरमै हृदयघातको सम्भावना बढेको देखिएको छ।

३. रक्सी तथा अन्य मादक पदार्थको सेवन
धेरैलाई अचम्म लाग्नसक्छ, सीमित मात्रामा रक्सीको सेवन मुटुको लागि लाभदायक भएको कुरा अनुसन्धानहरुमा देखिएको छ। तर प्राय: डाक्टरहरुले यो कुरा आफ्ना विरामीहरुलाई भन्दैनन् किनभने त्यसैपनि रक्सी खाइरहने मान्छेलाई यो कुराले झन खान प्रोत्साहन गर्छ र नखानेले पनि अलिअलि गरेर खान थालेर बानी पर्नसक्छ। तर अत्यधिक रक्सी सेवनले पनि शरीरमा हानिकारक बोसोहरुको मात्रा बढाउँछ। अर्को कुरा रक्सी तथा मादक पदार्थमा रक्सी, बियर, वाइन, तुम्बा, जाँड सबै खालका पर्छन्। कसैकसैले जाँड, तुम्बा पनि रक्सी हो र भन्ने गरेको सुनेको छु। लागुऔषधमा कोकिन सेवनले हृदयघात भएको धेरै युवाहरुमा देखिएको छ।

४. बाइक, कारको विलाशी जीवनशैली
मैले बाइक, कार चढ्ने सबैलाई विलाशी भन्न खोजेको होइन, परेको बेला चढ्नुपर्छ। तर आजभोली साइकल चढ्नु भनेको त गरीबी देखाउनु जस्तो भैसकेको छ। स्कुल पढ्ने केटाकेटीहरु पनि बाइक, स्कुटरमा आवतजावत गर्छन् भलै त्यो नजिकै किन नहोस्। नजिकै जानु परे पनि हामी बाइक निकालीहाल्छौं, कार निकालीहाल्छौं। अलिकति परिश्रम गरेर हिंड्ने हाम्रो बानी हराइसकेको छ, अलिकति पसिना बगाउन सकिने साइकल लोप नै हुने अवस्थामा पुगेको छ वा गरीबीको पहिचान बनेको छ र त्यसमा चढ्नु आफ्नो बेइज्जत ठान्ने मानसिकता बिकास हुदैं आएको छ। सार्वजनिक गाडिहरुमा पनि आफूले भनेको ठाँउमा ठ्याक्कै रोक्नुपर्छ हामीलाई, अलिकति अघिपछि भएमा थोरै हिंड्न पनि सक्दैनौ हामी। सानो दुरीमा पनि गाडी चढिहाल्नुपर्ने बानी बसेको छ हाम्रो। हफ्तामा ५-६ दिनजस्तो ३०मिनेट हरेक दिन हिंड्ने गरेमा मुटुको लागि राम्रो हुन्छ।

हृदयघात हुनबाट बच्न के गर्ने त?
माथि भनिएका मुटुका लागि हानिकारक जीवनशैली छोड्ने। यो भनेजस्तो सजिलो त पक्कै पनि छैन। म आफू र प्राय: डाक्टरहरु पनि यो जीवनशैलीबाट धेरै पर छैनौं। किनकी यो आजभोलिको आधुनिक जीवनशैली बनेका छ। तर परिवर्तनका लागि संकल्प त गर्न सकिन्छ, प्रयास त गर्न सकिन्छ नि।

यसो भनेर स्वस्थ जीवनशैली अपनाउने कसैलाई पनि मुटुको रोग नलाग्ने, हृदयघात नहुने र हानिकारक जीवनशैली अपनाउने चाँही सबैलाई रोग लाग्छ भन्न चाँहीं सकिदैंन। किनकी हृदयघात गराउन सक्ने कैयौं वंशानुगत अवस्था, रोगहरु(Familial HyperlipidemiaHomocysteinuria, Antiphospholipid syndrome etc), रक्तनलीका रोगहरु (Prinzmetal's angina) थाहा नपाइकन, विना लक्षण भैरहेको हुनसक्छ र एक्कासी हृदयघात हुने र मृत्यु हुने अवस्थामा पुग्ने पनि हुनसक्छ।

शुरुमा भनिएका सार्वजनिक छविका व्यक्तिहरुले पनि आधुनिक भनिएको जीवनशैलीको कारणले युवाहरुतिर पल्केको हृदयघातको कारणले ज्यान गुमाउनु परेको हो वा उनीहरुलाई पहिलेदेखि नै कुनै हृदयघातको सम्भावना बढाउने अवस्थाहरु थिए यसै भन्न गाह्रों छ। यो मैले किन भनेको भन्दा युवाहरुमा हृदयघातको सम्भावना बढ्दै गएको हुनसक्छ तर सार्वजनिक छवीका व्यक्तिहरुलाई हृदयघात हुँदा, भलै त्यो अन्य व्यक्तिगत शारीरिक अवस्था, रिस्कका कारणले भएको किन नहोस्, त्यसले जनमानसमा चेतना जगाउने, डरकै कारणले भए नि त्यस बारे जान्ने उत्सुकता जगाउने काम भने गर्छ।

अन्तमा, पत्रकार तारा रेग्मीप्रती श्रदान्जली।

बाँकी पढ्नुहोस् >>

Tuesday, October 9, 2012

मानसिक रोग (लक्षण, प्रकार तथा उपचार) - १


विश्व मानसिक स्वास्थ्य दिवस: १० अक्टोवर २०१२ 

विश्वका मानसिक रोगीहरुको संख्या बढ्दो छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार करिब २५% मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पिडीत छन् । मानसिक रोगलाई हाल 'मनोरोग' भनिन्छ । मनोरोग अन्तर्गत अति सामान्य समस्या 'टेन्सन हेड्याक' Tension Headache देखि अति कडारोग सिजोफ्रेनिया Schizophrenia सम्म पर्दछ । विश्वमा करीब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पिडीत छन्। विश्वका १० खतरनाक रोग, जसले मानिसको दैनिक कृयाकलापमा असर गर्छ, जसमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुन्छ । तिनीहरु डिप्रेसन, मेनिया Mania, सिजोफ्रेनिया, दुर्व्यसनी र डिमेन्सिया पर्दछन् । डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो । नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ । साइक्याट्रिस्ट/मनोरोग विशेषज्ञ, साइक्याट्रिक नर्स, साइकोलोजिष्ट र सामाजिक कार्यकर्ता मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन् । नेपालमा मनोरोगीका बिरामी मेन्टल अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र प्राइभेट नर्सिङहोममा उपचार हुने गरेको छ । केही गैरसरकारी संस्थापनि मानसिक रोगको उपचार गर्न सहयोग गर्दै आएका छन् ।

मानसिक रोग अति सामान्यदेखि निको पार्न कठिन हुने सम्मका हुन्छन् । सामान्य खालका मनोवैज्ञानिक समस्या २५-३०% सम्म मानिसको जीवनमा विभिन्न समयमा पाईन्छ । खासगरी मानिसमा परेको समस्यासंग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ । तर वंशानुगत रुपमा पनि मानसिक रोग लाग्ने संभावना देखिन्छ । मिहनेत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाई नगर्ने, लागु पदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरुलाई बाँड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम रहन्छ ।

मानसिक रोग कस्ता कस्ता हुन्छन्?
क) सामान्य खालका मानसिक रोग:
Anxiety Disorder/डर लाग्ने समस्या- मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ। जुन औषधी सेवन र साइकोथेरापी गरे निको हुन्छ।
Conversion-dissociative Disorder/कनभर्सन डिसोसिएटिभ डिसअर्डर- अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने (एउटा अर्को भई बोल्ने), काम्ने, बिर्सने आदि लक्षण लिई यस्ता बिरामी अस्पताल आउँछ्न।
Headache/टाउको दुखने समस्या- मानिसमा टाउको दुख्ने समस्या बढ्दो छ। खासगरी टेन्सन हेड्याक, माइग्रेन आदी बिरामीहरु निकै लामो समस्या लिएर आउँछन्।
Child psychological problems/बालबालीकामा देखिने मनोवैज्ञानिक समस्या- बालबालीकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने, एक्लै बस्ने आदी समस्या पाईन्छ। साथै बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लक्षण लिई देखापर्छ ।
Somatisation Disorder/सोमोटाइजेशन डिसअर्डर- यो यस्तो रोग हो जसमा शरीरका विभिन्न अंगका vague symptomहरु लिएर बिरामी आउछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि। मानिसहरु विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्दछन्। तैपनि आफ्नो समस्या निको भएको महसुस गर्दैनन्। विभिन्न ल्याव परीक्षण गराउँदा पनि कुनै खराबी देखिदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरुलाई थाहानै हुँदैन। कहिलेकाहीँ विरामीहरु आफूलाई क्यान्सर भएको, एड्स भएको शंका गरी अस्पताल आउँछन्।
Postpartum psychotic disorder/बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग- महिलाहरु बच्चा जन्माएपछि आफूलाई मानसिक असन्तुलन भएको, डिप्रेसन भएको महसुस गर्दछन्। यस्तो रोग उपचारपछि पूर्णरुपमा निको हुन्छ।
Sleep disorder/निद्राको समस्या- मानिसमा निदाउन गाह्रो हुने, निद्रामा डराउने,निद्रामा हिंड्ने समस्या पाईन्छ, जुन उपचार गरे निको हुन्छ।

ख) मध्यम खालका मानसिक रोग:
Depression/डिप्रेसन- यो रोगका विरामीहरु निराश हुने, दिक्क हुने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र कतिपय बिरामीले आत्महत्या गरेको पनि पाईएको छ। डिप्रेसन नेपालमा पाईने एउटा मूख्य मानसिक रोग हो। जीवनभरमा २०-२५% मानिसमा डिप्रेशन हुन्छ। यो उपचार गरे निको हुने रोग हो ।
Drugs and alcohol problems/लागु औषधी र रक्सीको समस्या- खासगरी स्कूल जाने, हाईस्कूल तथा कलेज जाने विधार्थी लागूऔषधी सेवन गर्ने कुलतमा फसेको देखिन्छ। विभिन्न प्रकारका cough syrup/खोकिको औषधी, गाँजा, हिरोईन जस्ता औषधी लिँदा मस्तिष्कमा असर पर्दछ। उनीहरु एकपटक लिएपछि छोड्न सक्दैनन्। कतिपय अवस्थामा चोर्ने आदि अपराधमा उनीहरु संलग्न भएको पाइएको छ। अर्को समस्या रक्सी सेवन गर्ने हो। जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन उसको रक्सिको मात्रा बढ्न थाल्छ। पछि ऊ बिहान पनि रक्सी नलिई बस्न सक्दैन। उसमा छारेरोग जस्तो काम्ने देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग, कलेजोको रोग, डिमेन्सिया तथा डर लाग्ने र डिप्रेसन जस्ता रोग लाग्ने संभावना बढी रहन्छ। जुन उपचार गरे निको पार्न सकिन्छ।
Epilepsy/छारेरोग- अचानक शरीर कडा हुने, काम्ने र बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिई धेरै बिरामी आउँछन्। कतिपय बच्चामा एक देखि दुई मिनेट टोलाई मात्र रहने पनि एक प्रकारको छारे रोग हो। यो उपचार गरे निको हुन्छ। यो रोगमा औषधी लामो समयसम्म सेवन गर्नुपर्छ।
Obsessive-compulsive Disorder/अब्जेसिभ कम्पल्सिभ डिसअर्डर- यो यस्तो रोग हो, जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाई र दृश्यहरु आईरहन्छन्। मनमा लिन्न भने पनि त्यस्ता सोचाई आउनाले विरामी आत्तिन्छ। उसलाई ती सोचाई आउनाले उसमा छटपटी भईरहन्छ। साथै चुकुल लगाई सकेपछि पटकपटक हेर्नुपर्ने, हात बारम्बार धोई रहनुपर्ने आदि समस्या रहन्छ।
Mental Retardation/सुस्त मनस्थिति- यस्ता बिरामीमा वौद्धिक क्षमता कम हुन्छ। दैनिक जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने कुरामा निकै पछि पर्छन्। उपचार गरे बिरामी राम्रो हुन्छन् तर उनीहरुलाई सीप सिकाई वौद्धिक क्षमता अनुसारको काम लगाउनु पर्दछ।

ग) कडा मानसिक रोग:
Bipolar Affective Disorder/बाईपोलर एफेक्टिभ डिसअर्डर- माथी वर्णन गरे जस्तै कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाईपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ । मेनिया भई फेरि मेनिया दोहोरिए पनि त्यसलाई बाईपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ। यो रोग चार देखि पाँच महिना बढ्ने र त्यसपछि निको हुने फेरि एक देखि दुई वर्षमा अर्को पटक उही समस्या देखिने हुन्छ।
Schizophrenia/सिजोफ्रेनिया- यो यस्तो रोग हो जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन। बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ, बिरामी अरुसंग शंका गर्ने, संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफासुग्घर गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ।

यो लेख डा. सिपी सेढाईले लेख्नुभएको हो। उहाँ हाल चितवन मेडिकल कलेज, भरतपुरमा नशा तथा मानसिक रोग विशेषज्ञ हुनुहुन्छ। 
बाँकी पढ्नुहोस् >>

Thursday, October 4, 2012

स्वाइन फ्लु/Swine Flu देखियो: खतराको घन्टी?


'स्वाइन फ्लु देखियो।' आज(२०६९/०६/१७ )को कान्तिपुरको पहिलो पृष्ठको समाचा। यो खबरले धेरैलाई त्रसित बनाएको हुनसक्छ। यहाँ यसको बारेमा केही जानकारी दिने प्रयास गरेकोछु।

के हो स्वाइन फ्लु/Swine Flu?
यो एक प्रकारको भाइरसले गराउने रुघा अर्थात फ्लु नै हो। तर यो अलि जटिल र खतरनाक हुनसक्छ। यो गराउने भाइरसलाई एच१एन१/H1N1 भाइरस भनिन्छ, यो इन्फ्लुइन्जा भाइरसको एउटा जाति हो। यसका धेरै प्रकारहरु हुन्छन्, जस्तो बर्ड फ्लु भाइरस एच५एन१ इन्फ्लुएन्जा भाइरस हो।

यसका बारेमा जान्न किन जरुरी छ?
तपाईंहरुलाई याद होला सन् २००९मा संसारका थुप्रै मुलुकहरुमा एकैपटक स्वाइन फ्लुका विरामी देखिएका थिए। मेक्सिकोबाट शुरु भएको त्यो संक्रमण अमेरिका, दक्षिण अमेरिका हुदैं युरोप र एशियामा पनि देखिएको थियो। २०१०को अगष्टमा विश्व स्वास्थ्य संगठनले यसको प्यानडेमिक प्रकोप सकिएको घोषणा गरेको थियो। यसको प्रकोपलॆ संसारभर गरेर १८,००० भन्दा धेरैको ज्यान लिएको थियो। त्यतिखेरको प्यानडेमिकमा नेपालमा पनि यो भाइरस देखिएको थियो, जसले करिब ४० जनाको ज्यान लिएको थियो। प्यानडेमिक भन्नाले कुनै पनि रोगको संसारका धेरैजसो ठाँउहरुमा एकैपटक प्रकोप देखिनुलाई बुझाउँछ।
अहिले काठमाण्डौ लगायत देशका विभिन्न स्थानका भाइरल ज्वरोका विरामीबाट संकलन गरिएको रगतको नमूनाको परिक्षणमा एच१एन१ इन्फ्लुएन्जा भाइरस देखिएको समाचार आएको छ। यो हामीसबैको स्वास्थ्यको लागि खतरा हुनसक्छ, त्यसैले यसको बारेमा जानीराख्नु राम्रो हुन्छ।

यसका लक्षणहरु के के हुन्?
सामान्य रुघाखोकी भाइरल संक्रमणको भन्दा यसका लक्षणहरु खासै फरक हुदैंनन्। ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, सिँगान बगिरहने, कमजोर महसुस हुने आदी हुन्छ। साधारणतया ७-१० दिनमा ठिक हुने यो रोग यसपाली दुई हप्तासम्म पनि लम्बिएको अनुभव गरिएको छ। साथै ज्वरो ठिक भएपनि टाउको दुख्ने समस्या रहिरहेको पनि देखिएको छ। कसैकसैलाई पातलो दिसा हुने, बान्ता हुने पनि गर्छ। धेरैजसोमा यसको सामान्य लक्षणहरु मात्र देखिने गर्छ र अन्य रुघाखोकीबाट छुट्याउन नि गाह्रै हुन्छ।

कस्ता ब्यक्तिहरुमा यसको जटिलता देखिने बढि सम्भावना रहन्छ?
१. ५ वर्षभन्दा मुनिका बालबालिकाहरुमा, खासगरी २ वर्षमुनिकाहरुमा
२. ६५ वर्ष वा त्यो भन्दामाथिका वृद्धवृद्धाहरुमा
३. गर्भवती महिलाहरुमा
४. दम, सिओपीडी, मुटुको रोग, कलेजोको रोग, मृगौलाको रोग जस्ता दिर्घ रोगहरु भएका, रोगप्रतिरोधात्मक क्षमता कम गराउने अवस्थाहरु वा रोग भएका विरामीहरुमा

कस्ता लक्षणहरु देखिएमा तुरुन्त चिकित्सककहाँ देखाउनुपर्छ?
सामान्य रुघाखोकी लागेको बच्चाहरुमा छिटोछिटो सास फेर्ने, सास फेर्दा गाह्रों भएको जस्तो देखिने, नीलो हुने, खाना, झोलकुराहरु खान नसक्ने, ज्वरो खोकी बढ्दै जाने जस्ता लक्षणहरु देखापरेमा त्यो स्वाइन फ्लुको संक्रमणको जटिलता देखिएको हुनसक्छ।
वयस्कहरुमा सास फेर्न गाह्रों भएमा, छातीपेट दुखेमा, लगातार वान्ता भइराखेमा, चक्कर लाग्ने, होस कम हुने भएमा, साधारण रुघा ठिक भएर पछि फेरी ज्वरो र खोकी झन साह्रों भएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।

यो रोग कसरी सर्छ?
श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्छ। विरामीले साधारण स्वास फेर्दा, हाँछ्यु गर्दा, खोक्दा यसका भाइरस बाहिर वातावरणमा आउँछ र अन्य स्वस्थ मानिसलाई संक्रमण गर्छ। यसको नाम स्वाइन(सुँगुर)फ्लु भएपनि यो बँगुरसुँगुरको मासु खाएर भने सर्दैन। यो भाइरसको जीन/gene (वंशानुगत गुणका लागि प्रयोग हुने आरएनए/RNA, प्रोटिनहरु)का भागहरु सुँगुरमा पाइने इन्फ्लुएन्जाको भाइरसकोसँग मिल्ने भएकोले यसलाई स्वाइन फ्लु भनिएको हो।

यो रोग किन यस्तो डरलाग्दो तरिकाले फैलिएको होला?
यसका लागि इन्फ्लुएन्जा भाइरसको बारेमा केही जान्नुपर्ने हुन्छ। हरेक जीवमा जस्तै यो भाइरसमा पनि वंशानुगत गुण बोक्ने जीनहरुमा केही फेरबदल भैरहन्छ, तर यसको आरएनएको संरचना र विशेष गुणका कारणले यसमा छिटो र ठुलो फेरबदल/Antigenic shift-drift हुनसक्छ। जसबाट नयाँ बन्ने भाइरस पुरानोभन्दा फरक र विल्कुलै नयाँ प्रकृतिको बन्ने गर्छ। हामी मानिसहरुको रोग प्रतिरोधात्मक प्रणालीले त्यस्तो बिल्कुलै नयाँ भाइरसको लागि प्रतिरोधात्मक शक्ति बनाएकै हुदैंन, त्यसैले शुरुमा यो सजिलै र भयानक रुपमा फैलने गर्छ। एक पटक रुघा/इन्फ्लुएन्जा लागिसकेपछि त्यसका लागि प्रतिरोधात्मक शक्ति बनेपनि हरेक पटक नयाँ खालको भाइरस बन्ने भएकाले हरेक वर्ष यसको संक्रमण भैरहने हो। तर कहिलेकाहीं सन् १९१८को स्पेनिस फ्लु, १९५६को एशियन फ्लु, २००६-७को बर्ड फ्लु आदी बाहेक अन्य बेला सामान्य संक्रमण मात्र देखिने गर्छ।

यो भएपछि के गर्न सकिन्छ?
यो एउटा भाइरल संक्रमण भएकोले र साधारणतया सामान्य संक्रमण नै हुने भएकोले धेरैमा आँफै कम भएर जान्छ। र सबैको लागि अस्पताल गैहाल्नुपर्छ भन्ने पनि छैन, किनकी अस्पतालको वातावरणमा तपाईंलाई अरु विरामीको संक्रमण सर्नसक्ने धेरै सम्भावना हुन्छ। यस्तो बेलामा-
आराम गर्ने प्रशस्त पानी र अन्य झोल कुराहरु पिउने।
अरु मान्छेहरुलाई नसरोस् भनेर नजिकको सम्पर्कबाट अलि टाढा बस्ने।
ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्नेको लागि सिटामोल, आइबुप्रोफेन(फ्लेक्सन) खाने।
हाछँयु गर्दा, खोक्दा नाकमुख रुमालले राम्ररी छोपेर मात्र गर्ने, थुकखकार जथाभावी नफाल्ने। मास्क लगाएर बस्ने, नाकमुख सफा गरेपछि हात राम्रोसँग धुने।
लक्षणहरु बढ्दै गएमा वा विरामी बच्चा, वृद्ध, गर्भवती भएमा चिकित्सकलाई भेटेर सल्लाह लिने।

यसको उपचार के हो?
धेरैजसो संक्रमणमा साधारण रुघाको जस्तो लक्षणहरु मात्र देखिएर यो रोग सन्चो हुने गर्छ। माथि भनिएका अवस्थाहरुमा कसैकसैमा यसका जटिलताहरु देखिएर ज्याने जान पनि सक्छ। यो भाइरल संक्रमण भएको एन्टिबायटिकले ठिक गर्दैन तर पछि थपिएर भएको ब्याक्टेरियल संक्रमणका लागि एन्टिवायटिकले फाइदा दिनसक्छ। यसको लागि एन्टिभाइरल ओसेल्टामीभिर/Oseltamivir औषधी प्रयोग गरिन्छ तर सामान्य संक्रमणको लागि यसको आवश्यकता पर्दैन।
यसबाट बच्नको लागि भ्याक्सीन पनि उपलब्द छ। तर यसको औषधी र भ्याक्सीन सर्वसुलभ र सस्तो भने छैन।

विरामीको हेरचाह गर्दा केके कुरामा ध्यान दिनुपर्छ?
विरामीसँग सीधा मुखमुख हुने गरेर कुरा गर्ने गर्नुहुदैंन। विरामीको हेरचाह गरिसकेपछि, विरामीको लुगा, रुमाल आदी छोएपछि तुरुन्तै साबुनपानीले राम्रोसँग हात धुनुपर्छ। विरामीलाई सकिन्छ भने छुट्टै कोठा दिनुपर्छ, जसले गर्दा परिवारका अरु स्वस्थ सदस्यहरुलाई रोग सर्ने डर कम हुन्छ। हेरचाह गर्ने ब्यक्तिले पनि मास्क लगाएर हेरचाह गर्ने गर्नुपर्छ। अरु मान्छेको विरामीसँगको भेट सकेसम्म कम गर्नुपर्छ।




यो रोग भयानक रुपमा फैलनसक्ने भएकोले सम्बन्धित निकायको साथसाथै आमजनस्तरबाट पनि यसबाट सुरक्षित रहने उपायहरु अपनाउनु र अरुलाई जानकारी गराउनु जरुरी हुन आउँछ। 




स्रोतहरु:

  1. http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=281105
  2. http://www.hindustantimes.com/world-news/Nepal/Nepal-hit-by-swine-flu-outbreak/Article1-939138.aspx
  3. http://www.cdc.gov/h1n1flu/general_info.htm
  4. http://en.wikipedia.org/wiki/2009_flu_pandemic


बाँकी पढ्नुहोस् >>