Pic: from Google. |
उनी ७५ वर्षकी बुढी आमा थिईन्, उनका खुट्टाका
औंलाहरु सुकेर मरेर कालो भएका थिए। यस भन्दा अघी पनि देब्रे खुट्टाका दुई औंला
मरेर काटिसकेको रहेछ। अहिले फेरी रोग बढेर माथि माथि सरेको र अरु औंलाहरु पनि मर्न
थालेका रहेछन्। ती मरेर कालो भएका र कुहिएर गनाउन थालेका औंलाहरुले उनलाई खुब पीडा
दिने रहेछ। उनलाई आफन्तले बोकेर अस्पताल ल्याएका थिए।
उनको रोगलाई मेडिकल भाषामा बर्जर डिजिज (Buerger’s Disease) वा थ्रोम्बोएन्जाइटीस अब्लिटरेन्स (Thromboangitis
Obliterans) भनिन्छ। यसमा विरामीका
साना र मध्यमखाले रक्तनलीहरुको इन्फ्लामेसन हुन्छ र ती रक्तनलीहरुले रगत पुर्याउने
शरीरका अंगहरु बिस्तारै रगत, पोषण, अक्सिजन नपाएर मर्न थाल्छन्। चुरोट, बिंडी बढी सेवन गर्नेहरुमा यो रोग धेरै देखिने
गर्छ।
यहाँ कुरा उनको रोग भन्दा नि उनीबाट पाइएको जीवन ज्ञानको बारेमा लेख्न
खोज्दैछु।
मेडिकल उपचारको हिसाबले उनको रोग जहाँसम्म फैलिएको हो त्यहाँसम्मका खुट्टाहरु
काट्नुपर्थ्यो, उनको रोग
घुँडासम्म फैलिएकोले घुँडाभन्दा माथिसम्म खुट्टा काट्नुपर्थ्यो। तर मेडिकल हिसाबले
जे ठीक हो, जे गर्नुपर्छ भनेर
गाइडलाइन निर्देशिकाहरुमा लेखेको छ हरेक विरामीमा त्यही गरिनुपर्छ भन्ने छ?
छैन र त्यो गर्न जबर्जस्ती गर्नु पनि हुन्न।
रोग र अवस्थाका बारेमा विरामी र उनका आफन्तलाई जानकारी दिने र सहि निर्णय लिनका
लागि उनीहरुलाई सहयोग गर्ने हो, न कि आफ्नो
निर्णय उनीहरुलाई थोपर्ने, जसरी नि गर भन्ने,
नगरे "कस्ता खालका आफन्त रहेछन् वा कस्तो
नबुझ्ने मान्छे रहेछ" भनेर ‘जजमेन्टल’ हुने। उनले पनि त्यस्तै निर्णय लिईन्।
"यो उमेरमा दुवै खुट्टा काटेर मलाई अझ कती वर्ष बाँच्नु छ र?
खुट्टा काट्दाको दु:ख, त्यसपछीको दु:ख, त्यो भन्दा त मेरो यो दुखाइ कम गरिदेउ, यो गन्हाउने कम गरिदेउ, त्यत्ती भए म शान्तिले मर्न सक्थें।"
यहाँ नेर उनका शब्दहरुले अहिलेको मेडिकल क्षेत्रले बिर्सन लागेको
स्वास्थ्यकर्मीहरुको असली कर्तव्यको बारेमा याद दिलाइदियो। हिजोआज हामी रोग निको
पार्ने, जसरी नि ज्यान बचाउने
भन्नेमा मात्र केन्द्रित हुन थालेका छौं। हुन त स्वास्थ्यकर्मीले ज्यान नबचाए के
मार्ने त भनेर सिधा प्रश्न नि मनमा उठ्ला। तर मैले भन्न खोजेको ‘क्वालिटी अफ लाइफ’ अर्थात जीवनको
स्तर हो। यी बुढी आमाले खोजेको पनि त्यही हो। उनले पनि दुवै खुट्टा काटिएर केही
वर्ष बाँच्नु भन्दा रोगको दुखाइ पीडा विनाको केही महिनाको जीवन रोज्न निको मानिन्।
त्यो उनको र परिवारको पनि निर्णय थियो। हामी रोग निको पार्न सके मात्र "मैले
केही गरें, त्यो डाक्टरले केही गर्यो"
नभए असफल भयो भन्ने सोच्छौं। निको पार्न नसक्ने गरी बढेका, बिग्रेका रोग र अवस्थाहरुमा "अब केही गर्न सकिन्न,
घर लानुस्" भन्छौं। हो हामीले बिर्सन
लागेको कुरा यहीं छ, मेडिसिन रोग निको
पार्नका लागि मात्र हैन, मान्छेको पीडा कम
गर्नको लागि हो।
कसैलाई निको पार्न नसकिने रोग लाग्दैमा मेडिसिन उसको लागि बेकार भयो भन्ने
हुँदैन। जबसम्म उसको जीवन रहन्छ, त्यसलाई
पीडामुक्त बनाउने र मृत्युको बेलामा पनि सजिलोगरी जान दिने पनि मेडिसिन नै हो।
किनभने मृत्यु अन्तिम सत्य हो, विज्ञानको कुनै
पनि विकासले त्यसलाई बदल्न सक्दैन।
म निराशावादी भएको हैन मात्र जीवनको शास्वत सत्य कति कडा र रुखो हुन्छ भनेर
याद दिलाएको मात्रै हो।
मैले पाएका ज्ञान:
- · जिन्दगीलाई यति वर्ष, उती वर्षमा गन्ने हैन कि रमाइला र यादगार पलहरुमा गन्नुपर्छ। आखिर अन्त्यमा रहने त सम्झना र तिनले दिने खुसीहरु नै हुन्।
- · चिकित्सा विज्ञान मृत्युलाई जित्न हैन कि मान्छेको पीडालाई कम गर्न केन्द्रीत हुनुपर्छ। रोग निको पार्ने मात्र हैन कि मान्छेलाई शारीरिक, मानसिकरुपमा स्वस्थ रहन सहयोग गर्नुपर्छ।
Medicine is
not always to cure the disease but should always be to reduce the sufferings.
No comments:
Post a Comment