Sunday, January 18, 2015

लेखको प्रतिकृया अनि मनका केही कुरा।

धेरै अघी दिलिप आचार्यजीको यो लेख ‘के चिकित्सकहरु कमिसनकै लागि यस्तो गर्छन् त?’ पढ्ने बेलामै मनमा लागेका कुराहरु लेख्ने भन्ने सोचिरहेको थिए तर के के नमिलेर लेख्न भ्याएको थिईन। आज अलि फुर्सद भएकोले त्यो लेख पढ्दा मनमा लागेका कुराहरु लेख्न लाग्दैछु। लेख पुरानो भए पनि यी सन्दर्भहरु हामीकहा अझै सधैंजसो नै भई नै रहन्छन्, र हामी मध्ये धेरैले आफूसँग यी कुराहरु कतै न कतै जोडीएको पाउनेछौ।

सर्वप्रथम् यो लेख डक्टर वा कोही पनि स्वास्थ्यकर्मीको कुनै पनि गलत कार्यको बचाउको लागि लेखिएको हैन। उनीहरु पनि मान्छे नै हुन् र उनीहरुबाट नजानीकन र कती बेला जानीजानीकन गल्तीहरु र अपराधको कामहरु समेत हुनसक्छन्। तिनको सही छानविन गरी गल्ती, अपराध अनुसारको सजाय दिनुपर्छ भन्नेमा कसैको दुई मत हुनै सक्दैन।

लेखकले उक्त लेखमा राख्नुभएको आफ्नो धारणा जस्तै धेरैले आफ्नो वा आफन्तको उपचारको क्रममा त्यस सम्बन्धी आफ्नै धारणा बनाएका हुन्छन्। यो लेख मार्फत मैले त्यसलाई फरक दृष्टिकोणले पनि हेर्न सकिन्छ र हेर्दा दृष्य र घटनाहरु फरक देखिन्छन् भन्ने मात्रै बताउन खोजेको हुँ। साथै आफ्न केही कुराहरु नि जोडेको छु।

पहिलो घटना-
केही दिनदेखी पेट दुखेको भनेर पेट रोग विशेषज्ञकोमा देखाउन जानुभएको, डक्टरले केही सोधपुछ मात्रै गरेर जाचहरु पठाइदिए, जुनमा खासै केही खराबी देखिएन, पछी घरमै बस्ने हड्डीका डक्टरले दिएको अमिबाको औषधी खाएर ठीक भो भन्ने कुरा।

विरामीसँगको सोधपुछ, जसलाई ‘हिस्ट्री लिने’ भनिन्छ, राम्ररी समय लगाएर गरिएको छ भने रोगबारे धेरै कुरा त्यसैबाट अन्दाज लगाउन सकिन्छ। त्यसको आधारमा विरामी जाच्दा के के हेर्नुपर्छ भन्ने कुरा डक्टरको दिमागमा खेलिरहेको हुन्छ। अनि त्यस अनुसार ल्याब टेस्टहरु पठाएर रोगलाई खुट्याउन थप सहयोग मिल्छ। रोग पत्ता लगाउने यो तरिका संसारभर उस्तै हो। तर अवस्था अनुसार यसमा केही फेरबदल हुन्छ नै। जस्तो रोग सामान्य झै लाग्यो र लक्षणहरुको आधारमा लगभग पक्का जस्तो भो भने विना ल्याब टेस्टहरु नै उपचार शुरु गरेर कत्तीको सुधार हुन्छ हेर्न सकिन्छ। त्यस्तै विरामी सिकिस्त छ भने रिपोर्ट कुरेर रोग निर्क्यौल गरेर मात्रै औषधी चलाऊन नभ्याइने हुन्छ, त्यसैले हिस्ट्री र विरामी जाच्दाको प्रमाणहरु अनुसार हुनसक्ने रोगहरुको लागि भनेर औषधी शुरु गरिन्छ।  यो प्रक्रीया डक्टर अनुसार अलिअलि फरक पर्छ नै।
लेखकले भने अनुसार ती विशेषज्ञ डक्टरले विरामीलाई हात नै नलगाई भिडियो एक्सरे, स्टुल आदीको जाच लेख्दिएका थिए, जुन मेडिकल हिसाबले गलत हो। जस्तै सामान्य समस्याको विरामी भए पनि एकपटक राम्ररी विरामी जाँच्नैपर्छ। तर लेखकको यो धारणा पनि गलत हो कि पेट छामेर नै अमिबाले दु:ख दिएको पत्ता लाग्छ। हो उनको पेट दुखाइ अमिबाको औषधी खान शुरु गरेको दोस्रो दिनदेखी नै ठीक हुन थाल्यो, तर त्यो औषधीले नै त्यो जादु गरेको होला भनेर मेडिकल साइन्स पढेको कुनै पनि मान्छेले शायदै पत्याउला। र पेट दुख्ने मात्र समस्याको लागि मात्र पेट छामेर अमिबाको औषधी (पक्कै पनि मेटोनिडाजोल एन्टिबायटिक होला) चलाउनु उचित हुँदैन। पेट रोग विशेषज्ञले शुरुमा दिएको ५ दिने औषधी नै पो एन्टिबायटिक थिए कि? तिनले पनि अमिबालाई ठीक गर्थे कि?
खासमा हुनुपर्ने के हो भने डक्टरले विरामी जाचिसकेपछी “मलाई यो यो रोगको शंका लागेको छ, यो यो जाच गराएर यी रोगहरु हो हैन हेरौ, अनि यसको लागि यो औषधी चलाऊदैछु” भनेर जानकारी दिनुपर्छ। र विरामीसँग उसको राय, भन्न मन लागेको कुराहरु बारे नि छलफल गर्नुपर्छ। विरामीले पनि डक्टरले भनेको सबै कुरा यत्तिकै मान्नुभन्दा सकेसम्म आफ्नो रोगबारे, भनिएका जाचहरु बारे, आफूलाई चलाइएको औषधी बारे जान्ने प्रयास गर्नुपर्छ।

दोस्रो घटना-
१० वर्षकी बच्चीको पेटको समस्या जती औषधी गरे पनि निको नभएको तर आँफैले गुगल गरेर जुकाको औषधी चलाएको भोलिपल्टै ठीक भएको भन्ने घटना।

कुनै एक डक्टरको उपचार गराउदा ठीक नभएपछी हामी प्राय: डक्टर परिवर्तन गरिहाल्छौ र रोग ठीक नभएसम्म गरी नै रहन्छौ। यो खासमा आफ्नो डक्टरप्रति विश्वास नभएको हो वा भनौ डक्टरले विरामीको विश्वास जित्न नसकेको हो। "म तपाईंको समस्या समाधानको लागि सक्दो प्रयासरत छु, हामी मिलेर यसको हल निकाल्न सक्छौ र केही गरेर मबाट भएन भने सही विशेषज्ञकोमा रिफर गर्नेछु" भन्ने विश्वास विरामी, उसको परिवारलाई दिन सकियो भने ‘डक्टर सपिङ’को यो चलन केही कम गर्न सकिन्छ कि। नत्र फरक फरक अस्पताल र डक्टर चाहर्दाचाहर्दा विरामीको खर्च नि बढ्छ, अनावश्यकरुपमा जाचहरु नि दोहोरिन्छन्, सुधार नगरेका औषधीहरु नि पटक पटक उही चल्छन्। त्यसैले विरामीले पनि सकेसम्म एउटै डक्टरकोमा लगातार देखाउने र उक्त डक्टरले विरामीसँगको सल्लाहपछी रिफर गरेर मात्रै अर्को डक्टरकोमा जाने बानी गर्नुपर्छ।
खासमा हुनुपर्ने के हो भने, शुरुमा समस्याहरु सधैं एकै जेनेरल फिजिसियन वा फेमिली डक्टरलाई देखाउने गर्नुपर्छ, त्यसो भएमा उनलाई विरामीको, उसको परिवारको बारेमा धेरै जानकारी हुन्छ र शुरुका सामान्य रोगहरुको उपचार उसैले गर्छ र कुनै जटिलता आएमा रोग, अवस्था अनुसारको विशेषज्ञकोमा रिफर गर्छ। धेरैजसो विकसित देशहरुमा यसप्रकारको सिस्टम नै हुन्छ।
अर्को कुरा हामी उपचारको क्रममा औषधीको साइड इफेक्ट भएको होला भनेर प्राय: शंका गर्दैनौ, अनि साइड इफेक्ट भयो भने पनि त्यसलाई काट्न अर्को औषधी थपिदिन्छौ। र कतीपय बेला रोगले भन्दा नि औषधीको साइड इफेक्टले विरामीलाई झन बढी सिकिस्त बनाइरहेको हुन्छ। त्यसो हो भने सोही डक्टरकोमा गएर मलाई यस्तो यस्तो भयो भनेर थाहा दिनु उचित हुन्छ।
हुन त लेखकले ३ घण्टा गुगल गरेर पत्ता लगाएर एक डोज जुकाको औषधी दिएर भोलीपल्टै च्वाट्टै निको भयो भनेका छन् तर किन किन मलाई पहिले चलाईएका औषधीहरु बन्द गरेकाले साइड इफेक्ट विस्तारै हराएर आँफै ठीक भएको हो कि भन्ने लागिर'छ, तर वाह वाह चै एक डोज अल्बेन्डाजोलले पायो कि।

तेस्रो घटना-
विशेषज्ञले जाच गर्दा, इन्डोस्कोपि गरेर औषधी चलाऊदा नि ठीक पार्न नसकेको पेट दुखाइ एमबीबीएस पास गरेका तर नाम नचलेको "क्वाक डक्टर" ले दिएको एउटा औषधीले ठीक गरेको घटना।

पहिलो कुरा एमबीबीएस पास गरेको तर नाम नचलेको भन्दैमा ती डक्टर कसरी "क्वाक डक्टर" भए, बुझिएन। त्यसो हो भने त नेपालमा गाउगाउ सेवा गर्ने एमबीबीएस पास डक्टरहरु त सबै नै 'क्वाक' हुने भए। दोस्रो कुरा ती क्वाक भनिएका डक्टरले दिएको Razo-20 भन्ने औषधी Rabeprazole/राबेप्राजोल हो, जुन ग्यास्ट्राइटिस रोगहरुमा चलाइन्छ। ती शुरुका विशेषज्ञ डक्टरले उनको पेट दुखाइका लागि त्यही ग्रुपको कुनै औषधी (प्यान्टोप्राजोल ओमेप्राजोल, एस्मोप्राजोल आदी) चलाएनन् होला भनेर मलाई चै पत्यार लाग्दैन। हो, ती औषधीहरुले उनको दुखाइ ठीक भएन त्यो आफ्नो ठाउँमा छ, तर एउटा समस्या ठीक पारेको, नपारेको आधारमा कोही डक्टर राम्रो वा नराम्रो भनिहाल्न मिल्दैन। हामी धेरैले डक्टरको उपचारलाई त्यसरी नै तौलिरहेका हुन्छौ। कसैले धेरै औषधी लेख्ने डक्टर राम्रो भन्छन्, कसैले एउटै समूहका फरक औषधी लेखेर ठीक हुँदा शुरुको खत्तम, पछीको दामी डक्टर भन्छन्, कसैले मेडिकल साइन्सले नै गर्न नसक्ने ग्यारेन्टी दिएर औषधी गर्ने, अप्रेसन गर्ने डक्टरलाई विश्वास गरिरहेका हुन्छन्। हुन त यो मान्छेको आ-आफ्नो विश्वासको कुरा हो, यसले खासै फरक त पर्दैन तर सत्य नबुझी बनाइएका यस्ता धारणाले भविष्यमा धोका दिनसक्छ।

आफ्नो लेखमा लेखकले शंका गरेजस्तै ती डक्टरहरुले कमिसनकै लागि अनावश्यक जाचहरु पठाएका पनि हुनसक्छन्। यो समस्या हाम्रो मेडिकल क्षेत्रमा धेरै नै छ। त्यसैले जाचहरु गर्दा किन गरिएको, के रोगको शंका हो भनेर बुझाउने वा कम्तीमा बुझाउन प्रयास गर्ने डक्टरलाई देखाउनु बेस हुन्छ। साथै आँफैले पनि आफ्नो स्वास्थ्यको बारेमा जान्ने, खोजविन गर्ने प्रयास गर्नुपर्छ।

"सामान्य रोगलाई जटिल भन्दिने र जटिललाई सामान्य मान्दिने" कुरा बारे -
डक्टरले विरामीको हिस्ट्री, जाच्दाका देखिएका प्रमाणहरु, ल्याब रिपोर्टहरु अनि आफ्नो ज्ञानका आधारमा नै रोगको पहिचान गर्ने हो, त्यसमा कोही पनि सधैं शतप्रतिशत सही हुन्छ भनेर संसारको कुनै पनि भागमा ग्यारेन्टि दिन सकिदैन। त्यसैले त मेडिसिन साइन्स हो, जादु हैन। फेरी त्यो भनाइ सबैकुरा वितेपछी पछाडि फर्केर हेरी गरिएको कमेन्ट हो, फर्केर हेर्दा कहाँ को के गलत भयो, ठीक भयो भन्न सजिलो हुन्छ, तर शुरुको अवस्थामा भएका लक्षण, जाचका प्रमाण, ल्याब रिपोर्टहरु, उपलब्ध पूर्वाधारहरुका आधारमा गर्नसकिने त्यति नै थियो कि, त्यही नै थियो कि।

सबैलाई मेरो सुझाव-

  • उपचारको लागि विरामीसँग राम्रोसँग कुरा गर्ने, सबै समस्या बुझ्न कोसिस गर्ने, विरामी जाँच्नलाई समय दिने डक्टरलाई विश्वास गर्नुहोला न कि हतार हतारमा कुरा सुनेर औषधी लेख्ने डक्टरलाई। नामै चलेको डक्टर भए पनि विरामीको कुरा राम्ररी नसुनी, राम्ररी नजाची उसले गरेको उपचार गलत हुनसक्छ। त्यसैले कस्को क्लिनिकमा बढी भिड लाग्छ उसैलाई देखाउने भन्दा नि कस्ले समय दिएर विरामी हेर्छन् उस्लाई आफ्नो डक्टर छान्नुहोला। 
  • औषधी शुरु गर्नु अघी आफूलाई वा आफ्नो आफन्तलाई के समस्या भएको हो डक्टरसँग सोध्ने गर्नुहोला। एउटै रोग ठ्याक्कै भन्न नसकिए पनि के रोगको शंका छ, के के हुनसक्छ भनेर डक्टरले सोचेको हुन्छ नै, त्यसैको आधारमा नै औषधी चलाऊने हो। कहिलेकाही त्यो शुरुको प्रोभिजनल डायग्नोसिस पछी फेरिन सक्छ, फरक रोग हुनसक्छ, त्यसैले भनेको मेडिकल साइन्सले १००% ग्यारेन्टि दिन सक्दैन। तर तपाईंको डक्टरले रोग पत्ता लगाउनका लागि सकेसम्म प्रयास गरेका छन् भन्ने कुरामा तपाईं ढुक्क हुनुपर्यो। 
  • टाउको दुखेको छ भने टाउकोको डक्टर, छाती दुखेको छ भने छातीकै डक्टर, पेट दुखेको छ भने पेटकै डक्टर खोज्नुभन्दा पहिले जेनेरल फिजिसियन वा जेनेरल प्राक्टिसनर वा एमडी जीपीलाई देखाउनुहोला, जसले तपाईंको रोगबारे बुझेर समस्या साधारण भए उपचार गर्दिन्छन् र सम्बन्धित रोगकै विशेषज्ञ चाहिने भए रिफर गर्दिन्छन्। यसो गर्दा ग्यास्ट्राइटिस, निमोनिया भएको विरामी गंगालाल (मुटुरोग अस्पताल) पुग्नुपर्दैन, सर्जनले हेर्नुपर्ने पेट दुखाइको विरामी मेडिसिनको डक्टरको मा लाइन बस्नुपर्दैन, मानसिक रोग विशेषज्ञले हेर्नुपर्ने विरामी सबै अस्पताल चहारी हिंड्नुपर्दैन।  


धन्यवाद...
बाँकी पढ्नुहोस् >>