Saturday, April 20, 2013

टाउको दुख्यो!! के गर्ने?


टाउको दुखाइ सँग लड्ने केही उपायहरु:

१. आफ्नो टाउको दुखाइको बारेमा लेख्ने 
कस्तो खालको दुखाइ हो, प्राय: कुन बेलामा शुरु हुन्छ, के खादा वा के गर्दा शुरु हुन्छ, शुरु हुनु अघी, शुरुभएपछी र निको भएपछी तपाईंलाई कस्तो महसुस हुन्छ, प्राय कती समयसम्म रहन्छ जस्ता कुराहरु तपाईंले टिप्नु भयो भने तपाईं उपचार गर्ने डाक्टरलाई र तपाईंलाई पनि टाउको दुखाइको कारण, प्रक्रिती, समाधान र बच्ने उपाय थाहा पाउन सजिलो हुन्छ।

२. निस्चित समयमा सुत्ने
अनिदो रहने, जुन बेला मन लाग्यो त्यही बेला सुत्ने, उठ्ने गर्नाले पनि धेरैलाई टाउको दुखिरहेको हुन्छ वा अरु कारण (जस्तै माइग्रेनको टाउको दुखाइ) बढाइरहेको हुन्छ। त्यसैले सकेसम्म निन्द्रा नफालौ, सधैं एकै समयमा सुत्ने र उठ्ने बानी गरौ।

३. नियमितरुपमा व्यायाम गर्ने
नियमितरुपमा व्यायाम गर्नाले शरीर स्फुर्त रहनाका साथै मन पनि चङ्गा रहन्छ। यस्ले शरीरमा इन्डोर्फिन नामक मस्तिस्कको प्राकृतिक पेनकिलर पनि उत्पादन गर्न मद्दत गर्छ। हफ्ताको ४-५ दिन करीब २०-३० मिनेट छिटोछिटो हिंड्नु (Brisk Walking) स्वास्थ्यकर हुन्छ।

४. मानसिक तनाव कम राख्ने
मानसिक तनाव सबैलाई पर्छ तर त्यससँग कसरी डिल गर्ने, समस्या कसरी समाधान गर्ने, आफुलाई कसरी कम तनाव पार्ने भन्ने उपायहरु हामीले जान्नुपर्छ। तनावको बेलामा आफ्ना रुचिका कामहरु जस्तै घुम्न जाने, साथीभाइसँग गफ गर्ने, म्युजिक सुन्ने, मुभी हेर्ने, रमाइला किताबहरु पढ्ने गर्न सकिन्छ। साथै ध्यान गर्ने, योगा गर्ने गर्नाले पनि तनावलाई धेरै कम गर्न सकिन्छ र टाउको दुखाइ पनि नियन्त्रण गर्न सकिन्छ।

५. चियाकफी, जाडरक्सी, चुरोट कम गर्ने
चियाकफी, जाडरक्सी, चुरोट आदीको अत्यधिक सेवनले माइग्रेन जस्ता टाउको दुखाइहरुलाई बढाउछ। त्यसैले त्यस्ता कुरा सकेसम्म कम गरेको नै बेस हुन्छ।

६. स्वस्थ खाना खाने
स्वस्थ खाना (भन्नाले हरियो सागसब्जी, फलफुल, पानी)को बढी मात्रामा सेवन गर्ने बानी गर्नुपर्छ। त्यस्को मतलब कोकफेन्टा, चाउचाउ, चिप्स जस्ता प्रोसेस्ड खानेकुरा खाँदै नखानु भनेको हैन, किनकी त्यो सम्भवै छैन, तर कम गरेको धेरै बेस। साथै बाहिर होटलका अनहाइजेनिक खानाहरु पनि सकेसम्म नखानु राम्रो। अनी खाना टाइममा खाने, भोको पेट नबस्ने गर्नाले पनि माइग्रेनको दुखाइले सताउन कम हुन्छ।

७. चिसोले टाउको सेक्ने
चिसोले सेक्नाले पनि दुखाइमा केही आराम गर्छ, त्यसैले चिसो पानीमा रुमाल भिजाएर टाउकोमा राख्नाले टाउको दुखाइमा आराम मिल्छ।

८. दुखाइको औषधी खाने
टाउको दुखाइ अती नै बढी छ, सहन नसकिने छ भने दुखाइका साधारण औषधीहरु जस्तै सिटामोल, सिटामोल र कोडिनको कम्बिनेसन (कोडोपार, डोलोपार आदी) खान हुन्छ। निम्स, ब्रुफेन जस्ता पेनकिलरको अत्यधिक सेवनले ग्यास्ट्राइटिस, किड्नीमा समस्या गर्न सक्छ। र टाउको दुखाइ पहिले भन्दा फरक, धेरै छ भने डाक्टरलाई देखाउनु बेस हुन्छ।
बाँकी पढ्नुहोस् >>

Thursday, April 11, 2013

सुनेको कुरा, सिकेको कुरा


केही दिन अघी एक जना साथीले सुनाएको कुरा..

वार्डमा एउटी विरामी बच्ची भर्ना भएकी थिइन्। उन्को उपचारको क्रममा इन्भेजिभ प्रोसिडोर/Invasive procedure (घोचेर गर्नुपर्ने केही जाँच)गर्नुपर्ने भो रे, फेमोरल क्याथेटर/Femoral catheter हाल्नुपर्ने वा कतै बाट बायोप्सी/Biopsy लिनुपर्ने यस्तै केइ थियो। मैले ऐले ठ्याक्कै बिर्सें। त्यो थाहा पाएपछी ति बच्ची १-२ सम्म बोल्दैबोलिनन् रे। साच्चै नै डराएकी थिइन् कि के भो उन्लाई, पटक्कै बोलिनन् रे। न त उस्की आमाबुवासँग न त अरु सँग, न त डक्टरसँग नै। जे गर्दा नि नभएपछी मानसिक रोगको डाक्टरलाई नि बोलाएर देखाइयो रे। तैपनी खासै केइ लागेन रे। पछी एक दिन बिहानबाटै उनी मजाले कुरा गर्न थालिन् रे। किन, कसरी भन्ने थाहा नपाएका सबै अचम्ममा परे। हिजोसम्म चुप आज यो फुच्चीलाई के भयो भन्न थाले वरिस्ठ डाक्टरहरु पनि।खासमा भएको के थियो रे भने एक जना साथीको नाइट ड्युटी परेको थियो रे। र उनले ति फुच्चीलाई रातभरी आफ्नो ट्याब्लेट/मोबाइलमा गीतहरु सुनाएका थिए रे। फुच्चीसँग उसैको उमेरमा झरेर, उ जस्तै बनेर गफ गरेका थिए रे। यो कुनै ठुलो कुरा त होइन तर मैले यो घटनामा दुइटा कुरा सिकें।

विरामीलाई आफ्नो कुरा बुझाउन उनिहरुको स्तरमा रहेर कुरा गर्नुपर्छ, चाहे त्यो उमेरको स्तर होस्, बौद्धिकताको स्तर होस्। आफ्नै तालले ठुलाठुला मेडिकल शब्दहरु र अङ्रेजी शब्दहरु घुसाएर विरामीसँग बोल्दा वरिस्ठ भइएको भ्रम त होला तर विरामिले त्यो शायदै बुझेका हुन्छन्। मेडिकल डायग्नोसिस, शब्दहरुलाई ठ्याक्कै नेपालीमा भन्न साह्रै अफ्ठेरो हुन्छ, अर्थ मिल्दैन, अनर्थ लाग्न सक्छ, तैपनी विरामीले बुझ्ने गरी भन्ने सक्दो प्रयास गर्नुपर्छ। बच्चाहरुसँग कुरा गर्दा त बच्चा नै भएको झन राम्रो। यो गुण बच्चाको डाक्टरमा त अनिवार्य नै हुनुपर्ने हो, तर धेरैमा यो हुँदैन।

अर्को कुरा चै, संगीतको, म्युजिकको कुरा। राम्रो, मिठो गीतसंगितले मान्छेको मुड चेन्ज गर्न सक्छ, उस्को सोचाइ, फिलिङस बदल्न सक्छ। विरामीको उपचारमा प्रयोग गर्न सकिने यस्ता धेरै अल्टर्नेटिभ विधीहरु हामीकहा वर्षौदेखी छन्। मेडिटेसन, योगा, विभिन्न घरेलु उपचारहरु आदी आदी। तर हाम्रो एलोप्याथिक मेडिसिनले यस्ता अल्टर्नेटिभ तरिकालाई आफुमा समेट्न सकेको छैन, हामी डाक्टरहरु र विरामिहरु पनि औषधीको गोलीमै विश्वास गर्छौ। धेरै, महँगो औषधी लेखे ठुलो डाक्टर, औषधी नलेखी यस्तै राम्रो सल्लाह मात्र दियो, नजान्ने डाक्टर।

अन्तमा,

त्यो साथीको त्यो अनौठो उपचार पद्धतीको खै कसैले सराहना गरे गरेनन् थाहा भएन, तर म चै यस्ता नौलो तरिका अपनाउनेलाई मान्छु। यस्तै जीवन्त तरिका र व्यवहारहरुले नै हामी डाक्टरहरुलाई सुई घोच्ने र गोली दिने तालिमप्राप्त रोबोट नभै मानवता भएको जिउदो र वास्तविक साथी(विरामिको) बनाएको छ। धन्यवाद उनलाई र उन्को त्यो तरिकालाई।।
बाँकी पढ्नुहोस् >>