Friday, January 18, 2013

विश्वास जित्नु ठूलो कुरा रहेछ..


विश्वास भनेकै सबैभन्दा ठूलो कुरा रहेछ। हामीले उनको मनमा हाम्रो उपचार पद्दतिप्रति विश्वास दिलाउन सकेनौं, अनि उनी बरु धामीझाँक्रीलाई देखाउँछु भनेर अस्पतालबाट LAMA(Left Against Medical Advice) मा गइन्। त्यसमा उनको कुनै गल्ति छैन। उनको कुरा नि ठिकै हो नि, "औषधी गर्ने भनेको त ठिक हुनका लागि पो हो त, औषधी खाँदा झन च्याप्ने भएपछि के का लागि औषधी।" उनी केही दिन अघि खुट्टा दुख्ने, झमझमाउने र औंलाको टुप्पो कालो भएको समस्या लिएर अस्पताल आएकी थिइन्, औषधी गर्दागर्दै अस्पतालमै रहँदा उनको समस्या बढेर गयो। कैलेकाइ औषधी गर्दागर्दै पनि रोग बढ्नसक्छ, रोग र औषधीको लडाईंमा सधैं हामी जित्न सक्दैनौ भनेर उन्को चित्त बुझाउन सकेनौं।

उनी एलोप्याथिक उपचार पद्दतिमा विश्वासै नगर्ने पनि होइनन्। नभए त अस्पताल नै किन आउँथिन् र? तर हाम्रो उपचार गर्ने तरिका कस्तो छ भने हामी रोगका बारेमा धेरै कुरा गर्छौं, पढ्छौं, पढाउँछौं, रोग बोकेर आएको विरामीलाई भने बिर्सन्छौं। आफ्नो उपचार के भैरहेको छ, के कस्ता जाँचहरु भैरहेको हो, के रोगको शंका वा डायग्नोसिस भएर कस्ता प्रकारका औषधी चलिरहेका हुन्, यो रोगमा के कस्ता जटिलताहरु आउन सक्छन् जस्ता सबै खालका प्रश्नहरु विरामीका मनमा उठिरहेका हुन्छन्। चाहे त्यो उनीहरुले भनुन् या नभनुन्। यी सबै कौतुहलता मेटाएर रोग, उपचारका बारेमा सल्लाह गरेर समझदारी पो उपचार अगाडी बढ्नुपर्ने होइन र? अनि पो विरामीको पनि चित्त बुझ्छ र डाक्टरको पनि।

जानुभन्दा अघि उनले भनेका असन्तुष्टिहरु पनि यस्तै थिए। "दिनदिनै घोचेर रगत निकालेको निकाल्यै छ, यत्रा दिन औषधी खायो २० को १९ पनि भएन, के रोग हो पत्ता लगाउन नि सक्या होइन, के भैर'को हो नि भन्ने होइन, रोग झन झन बढेर ग'को छ। अनि किन अस्पताल बस्ने?"

मलाई एलोप्याथिक पद्दतिको यही कुराहरु मन पर्दैनन्। 

हामी ठूलाठूला कुरा गर्छौं र जसका लागि यत्रो पढेको 'विरामी'लाई नै हामी बिर्सन्छौं। टाउको दुखेको विरामी आयो भने हामी सिटी स्क्यान गराउन भन्छौं न की उसलाई सान्त्वना दिएर हुनसक्ने कारणहरुबारे छलफल गर्छौं, वा उसको जिन्दगीमा आएका उतारचढावका बारेमा चर्चा गर्छौं, जुन उसको टाउको दुखाइको कारण हुनसक्छ। हामीलाई यस्ता कुरा गर्ने फुर्सदै हुदैंन। भएपनि हामीलाई यस्ता कुरा कसरी गर्ने, विरामीलाई काउन्सेलिङ कसरी गर्ने भनेर सिकाइएकै हुदैंन। हामीलाई त यस्ता समस्या वा रोग भएका विरामीलाई यो यो जाँच गर्ने, यो औषधी चलाउने भनेर मात्र पढाइन्छ। अनि हामी विरामीसँग त्यो जाँच गर्नका लागि पैसा छछैन, त्यो औषधी किन्दा उसले विहानबेलुकाको छाक काट्नुपर्ने पो हो कि भनेर सोध्नै बिर्सन्छौं।

अर्को कुरा भनेको हामी, हाम्रो सेवा एकदमै महंगो हुन्छ। धामीले अलिकति चामल मन्छेर एउटा रातो भालेको भरमै रोग ठिक पारिदिन्छ भने को दिनदिनै आफूलाई ठूल्ठूला सूईले घोचाउन, महंगा औषधी खान अस्पताल धाओस्। उनीहरुको विश्वास जित्नसक्ने केही त कुरा हुनुपर्यो हामीमा पनि।

अनी फेरी धामीझाँक्री उनीहरुले बुझ्ने भाषामा कुरा गर्छन्, उनीहरु भूतप्रेत लागेको, कुलदेवता रिसाएको, ग्रह बिग्रेको कुरा गर्छन् र त्यसकै उपचार गर्छन्। हाम्रो बोली विरामीहरुका लागि अर्कै दुनियाको जस्तो हुन्छ। हामी स्ट्रोक, हार्ट अट्याक, क्यान्सरका कुरा गर्छौं, जुन होला भनेर उनीहरुले कहिल्यै सुनेका र सोचेकै हुदैंनन्। अनि के आधारमा उनीहरुले हामीलाई विश्वास गर्ने? उनीहरुको लेभलमा रहेर उनीहरुले बुझ्ने भाषामा रोग र उपचारका बारेमा सल्लाह गरे पो उनीहरुको पनि चित्त बुझ्छ, होइन र?

केही दिन अघी मेरो एकजना डाक्टर साथीको आफन्त पर्ने पनि भर्ना भएकी थिइन्। जाँचको क्रममा फोक्सो, कलेजो जस्ता विभिन्न अंगहरुमा क्यान्सर फैलिएको पत्ता लाग्यो तर उपलब्द सबै किसिमका जाँच गर्दा पनि कुन अंगको क्यान्सर भन्ने चाँही पत्ता लगाउन सकिएन। अनि उनले हल्का व्यंगात्मक पारामा भने "के का लागि अस्पताल बस्ने भनेर हामीलाई आश देखाउन सक्नुपर्यो नि, यो गरियो, यो बाँकी छ, यसबाट यस्तो पत्ता लाग्नसक्छ, विरामीको लागि यो फाइदा छ भनेर हामीलाई विश्वास दिलाउनसक्नुपर्यो नि, अनि पो अस्पताल बसिन्छ, नत्र किन बस्ने?" मैले भने "त्यो त आइडियल कन्डिसन हो साथी।" साँच्चै नै हुनुपर्ने त त्यस्तो हो। हामी पढेको, बुझेको मान्छेले विश्वास दिलाउनका लागि च्यालेन्ज गर्दा त दिन सक्दैनौं भने नबुझ्ने विरामीहरुको त के हालत होला? हुन नि हो, विरामी र विरामीको परिवारको विश्वास जित्न नसकी तपाईं कसरी उपचार शुरु गर्नुहुन्छ? त्यो त उपचारको पहिलो कदम हो। तर हाम्रा अस्पतालहरुमा (विशेषगरी सरकारी अस्पतालहरुमा) "राख्न मन भए राख्नुस्, नत्र हामीलाई के को टाउको दुखाई" भन्या जस्तो व्यवहार गरिन्छ।

अँ, उनी भन्दैथिइन् "बरु केइ लागुसागु पो लागेको हो की, त्यस्तो भ'को हो भने औषधीले काम गर्दैन, बरु म धामीझाक्रीलाई पनि देखाउँछु।" उनको कुरा पनि ठिकै हो, औषधीले काम पनि गरिरहेको छैन, कसैले यसले काम गर्छ भनेर विश्वास पनि दिलाउन सकेको छैन भने के का लागि यो महंगो औषधीको मात्र भर परेर बस्ने? हामीले विरामीहरुको राम्रो गर्ननसकेको अवस्था, अनि विश्वास पनि जित्न नसकेको बेलामा आफ्नै एलोप्याथिक पद्धतिको फुँइ मात्र लगाइरहनु पनि उचित हुदैंन। उनीहरुलाई आफ्नो इच्छा अनुसारको अल्टरनेटिभ उपाय अपनाउन दिनुपर्छ। तर यो अलि फरक अवस्था थियो। रिपोर्टहरुमा खासै खराबी नदेखिए पनि रोग लगभग निश्चितै थियो। फैलन सक्ने पूरापूर सम्भावना भएको रोगको विरामीको पनि 'मात्र विश्वास' जित्न नसकेर उपचार गर्न नपाइएकोमा भने थकथकी लागीरह्यो। अनि थाहा भयो, विश्वास जित्नु भनेको कति ठूलो कुरा रहेछ भनेर।

बाँकी पढ्नुहोस् >>

Friday, January 4, 2013

अस्पतालका हरेक बेडको एउटा कथा हुन्छ। At hospital, every bed has its own story.


"यो बच्चा हाम्रो लागि धेरै प्रेसियस छ, जसरी नि यसलाई बचाउनुहोला।" भर्खर जन्मिएका बच्चाका बाबुले हामीलाई भनिरहेका थिए। बच्चा समयभन्दा अघि जन्मिएर उसको फोक्सो राम्ररी विकास हुननसकी स्वासप्रश्वासमा कठिनाइ भैरहेको थियो। मेडिकल भाषामा त्यसलाई रेस्पिरेटरी डिस्ट्रेस सिन्डोम भनिन्छ। चिकित्सक र नर्सहरुको टिम र बच्चाको परिवारको अथक प्रयासका बावजुद पनि बच्चाको अवस्था झनझन नाजुक बन्दै गइरहेको थियो। लगभग १०-१२ दिन कृत्रिम स्वासप्रश्वास प्रक्रिया गराएर (भेन्टिलेटरमा राखेर) औषधी उपचार गरेपछि सुधार हुदैं आएर अन्तमा बच्चालाई हामी स्वस्थरुपमा आमाबुवाको काखमा फर्काउन सफल भयौं। अस्पतालबाट जाने बेलामा बच्चाका बुवाले मिठाइ ख्वाएर धन्यवाद दिंदा लाग्यो हरेस नखाइ भित्री मनदेखि मागेमा र त्यसका लागि लागिपरेमा जिन्दगीले चाहेको कुरा अवश्य दिंदोरहेछ।

तर त्यो त जीवनको एउटा पाटो मात्र पो रहेछ। त्यो सधैं सुखद अन्त्य अर्थात् ह्याप्पी इन्डिङको रुपमा मात्र कहाँ आउँदो रहेछ र।

बच्चा वार्डको बेडमा उ लगभग एक महिनाभन्दा बढि नै बस्यो, पीआइसियुमा, भेन्टिलेटरमा पनि उसलाई राख्नुपर्यो। दुवै मृगौलाले काम गर्न छोडेको उसलाई धेरै पटक डायलाइसिस पनि गरियो। उसका हातखुट्टाहरु सुकेर बाँस जस्ता भएका थिए। उसलाई हेर्दा यस्तो लाग्थ्यो कि मानौं बिरालोले मुसालाई मारेर खानुअघि खेलाए जस्तो मृत्युले उसको जिन्दगीलाई खेलाएर खिसी गरिरहेको छ। यति सानो उमेरमै उसले जिन्दगी भरिको दु:ख भोगिसकेको थियो। त्यसैले त उ अन्तमा आफ्नो भागको दु:ख सकेर जिन्दगीलाई सदाको लागि विदा गरी गयो। उसको मृत्युको खबर सुनेको बेला लागेको थियो, जिन्दगी कति निर्दयी हुँदोरहेछ, यति कलिलो बिरुवा पनि दयामाया नभनी निमोठ्दोरहेछ।

जिन्दगीले फरकफरक बेडमा आफ्नो फरकफरक रंग देखाइरहेको थियो। म त्यसको बहुरुपी चरित्र मुकदर्शक भएर हेरिरहेको थिएँ।

मान्छेले आफ्नो कर्मको फल यही जन्ममै भोग्छ भनेजस्तै अर्को वार्डको अर्को बेडको विरामीको कथाले भनिरहेको थियो। जमानामा धेरै नै जाडरक्सी खाने, परिवार, छोराछोरी, आफन्त सबैलाई दु:ख दिने उनी अहिले कलेजोको रोग (Cirrhosis/सिरोसिस- कलेजोले काम गर्न छोडेको अवस्था) लागेर रगत वान्ता हुने, कालो दिसा जाने, पेट, खुट्टा फुलेर हिंडडुल गर्न नि गाह्रों भएको अवस्थामा अस्पतालको बेडमा लडिरहेका थिए। उनको होस पनि राम्रो खुलेको थिएन, बेहोसीमै बरबराइरहेका हुन्थे। उनलाई हेर्दा लाग्थ्यो जिन्दगीले उनलाई यसै जुनीमा उनको कर्मको फल दिइरहेको छ, पहिले मात्तिएर हिंड्ने उनलाई खुच्चिङ भनिरहेको छ। साँच्चै हो रहेछ हामीले जस्तो बीउ रोप्यौं त्यस्तै फल लाग्दोरहेछ।

अर्को बेडको संघर्षको कथा अर्कै छ फेरी। उनी भर्खर ९वर्षकी थिइन्। टाइप १ डाइबेटिजकी रोगी उनी आफैंले आफ्नो सुगर हेर्थिन् र आफैंले इन्सुलिनको सूई लगाउथिन्। त्यत्री सानी फुच्चीले दिनको २-३ पटक रुदैं आफैंले आफूलाई सूईले घोचेर पहिले सुगर लेभल हेर्ने अनि इन्सुलिन लगाउने दृश्य मन कुँढाउने खालको हुन्थ्यो। उ त्यतिबेला डाइबेटिजको एक जटिल अवस्था डायबेटिक केटोएसिडोसिस भएर भर्ना भएकी थिइ। कहिले राम्रो हुने, कहिले अवस्था बिग्रने भएर पनि अन्त्यमा उ सुधार भएर घर जानसक्ने भइ। इन्सुलिनको सूई त उसको जिन्दगीको साथी बनिसकेको थियो, तैपनि उसलाई राम्रो बनाएर बिदा गर्न पाउँदा साह्रैं खुसी लागेको थियो। घर जाने दिन उ निकै रमाएकी थिइ, म उसको त्यो मुस्कान अझै पनि सम्झन्छु। उ बेला बेलामा अझै पनि डाइबेटिजको कम्प्लिकेसनले भर्ना भैराख्छे रे। उसलाई सम्झदा लाग्छ, जिन्दगीको अर्को नाम नै संघर्ष हो। जुन दिन हामी लड्न छोड्छौं, जिन्दगीले पनि हाम्रो साथ छोड्छ।

अर्को बेडमा मृगौला प्रत्यारोपण गरिएको बालक सुतिरहेको थियो। उसलाई उसको आमाले मृगौला दिएकी थिइन्। डाक्टरीरुपमा हेर्दा एउटा मृगौलामा मानिस राम्रै तरिकाले बाँच्नसक्छ र यो दिनु कुनै ठुलो कुरा देखिदैंन। तर सामान्य मानवीय सोचाइमा हेर्ने हो भने आफ्नो शरीरको अंग काटेर अरु कसैलाई दिनसक्नु जत्तिको ठुलो दान कुनै छैन। त्यस्ता त्याग गर्नसक्ने, त्यस्तो दान गर्नसक्ने व्यक्तिहरुलाई म महान मान्छु।

जिन्दगीका हरेक पाटोको कथा अस्पतालका बेडहरुमा सुन्न पाइन्छ, देख्न पाईन्छ। तर यहाँका प्राय कथाहरु दु:ख, संघर्ष र आसुँले भरिएका हुन्छन् । तैपनि तिनमा मानवता देख्न पाइन्छ, मायाको न्यानोपन छाम्न पाइन्छ र आफ्नोपनको आभास गर्न पाइन्छ।

उ आज नै साउदी अरबबाट फर्केको थियो। पैसा कमाएर परिवारको र आफ्नो भविष्य राम्रो पार्ने सपना बोकेर गएको उ एक महिना त्यहाँको अस्पतालमा बसेर जिउँदो लास बनेर मात्र एउटा सुटकेसको साथ नेपाल फर्केको थियो। उ हातखुट्टा चलाउन सक्दैनथ्यो, मुख बाइरहन्थ्यो, बोलेको बुझिदैनथ्यो, आँखा टिलपिल गरिरहन्थ्यो। र उसलाई स्याहार गरिरहेकी उसकी श्रीमती थिइन्। जो उसको आँसु त पुसिदिन्थिन् तर उसको आफ्नो आँसू भनेर कसैले नदेख्ने गरेर झारिरहेकी हुन्थिन्।

साँच्चै नै अस्पतालका हरेक बेडको एउटा कथा हुन्छ। फरकफरक विभागको पोस्टिङ सँगसँगै, फरकफरक बेडको राउण्ड सँगसँगै यस्तो लाग्छ की म विरामी हेरी मात्र रहेको छैन, विरामीको उपचार गर्न सिकिरहेको  मात्र छैन, बरु जिन्दगीरुपी उपन्यासको नयाँ पाटो पनि हेरिरहेको छु, नयाँ अध्याय पनि पढिरहेको छु। अस्पतालको हरेक बेडमा एउटा रोग वा केस मात्र बसेको हुदैंन, त्यहाँ एउटा जीवन बसेको हुन्छ, जसको आफ्नै एउटा कथा हुन्छ, आफ्नै व्यथा हुन्छ, म त्यही कथा-व्यथा पढ्न खोजिरहेको हुन्छु।
बाँकी पढ्नुहोस् >>