Saturday, February 25, 2012

स्वास्थ्य क्षेत्रमा 'अविश्वासको खाडल'


संसार विश्वासमै अडेको छ, विश्वासमै चलेको छ। केही गरेर यसको कमि भयो भने के हुन्छ होला, सम्झदा पनि डर लाग्छ। तर आजभोली हाम्रो देशका हरेक जस्तो क्षेत्रमा यसको कमि खट्कीन थालेको पाइन्छ। अझ स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा त यसको आवश्यकता र महत्व कति छ भनेर सहजै अनुमान लगाउन सकिन्छ। यदी यो क्षेत्रमा 'अविश्वासको खाडल' बन्यो भने के होला? डाक्टरले विरामीलाई र विरामीले डाक्टरलाई शंका गर्ने प्रवृति देखियो भने यो स्वास्थ्यक्षेत्र कति अराजक र डरलाग्दो होला।

यस्तै भयो हिजो भरतपुर अस्पतालमा। बच्चा वार्डमा भर्ना गरिएको विरामी राती १२ बजेतिर सिरीयस भयो भनेर मलाई इमरजेन्सीमा दौडदै बोलाउन आइपुगे। के भएको रहेछ भनी हेर्न गएको त वार्ड भरिका सबैजना जम्मा भएका, बच्चाको आमा एकातिर भक्कानो छोडेर रोइरहेकी, बुवा चाहीं "मेरो बच्चालाई मात्र केही भयो भने म यो सिस्टरको टाउको फोरदिन्छु" भनेर बम्कदै थिए। नर्सहरु भने भित्र बच्चालाई अक्सीजन लगाएर बसिरहेका थिए। स्थिति कति सम्वेदनशील भएको रहेछ भन्ने मैले बुझिहालें। बच्चालाई एकछिन हेरेपछि थाहा भयो, बच्चालाई फेब्राइल सिजर/Febrile seizure आएको रहेछ अर्थात् ज्वरो एक्कासी बढेर बच्चा एकोहोरो भएको र कम्पन छुटेको रहेछ, जसमा अक्सीजनको मात्रामा कमि भइ बच्चा निलो पनि हुने गर्छ। अन्य सिजर अर्थात कम्पन छुट्ने समस्यामा जस्तै यसमा पनि विरामीलाई आफ्नै थुक सर्कन नदिन र स्वासनलीलाई जीब्रोले नथुनोस् भनी कोल्टे पारेर सुताउने, अक्सीजन दिने, ज्वरो कम गर्न सिटामोल दिने, पानीपट्टी गर्ने र कम्पन रोक्ने औषधी डायजेपाम/Diazepam दिने गरिन्छ। यी उपचार गरेपछि बच्चा विस्तारै ठिक भएर आयो।


 'फेब्राइल सिजर'को बारेमा माथिका भिडियोहरु हेरी हाल्नु भयो। तर खासमा यो लेखमा मैले 'फेब्राइल सिजर' वा ज्वरो एक्कासी बढ्नाले छुट्ने कम्पनका बारेमा भन्दा पनि यो घटनामा मैले देखेको डरलाग्दो अविश्वासको खाडलका बारेमा चर्चा गर्न लागेको हुँ। भएको के थियो भने बच्चालाई औषधी दिएको केही क्षण पछि नै त्यस्तो भएको थियो र बच्चाका आमाबुवाले चाहीं औषधी दिने नर्सलाई दोष लगाउदै थिए। "यो सिस्टरले औषधी दिएर मेरो बच्चालाई यस्तो भएको हो। यसकै लापरवाहीले गर्दा यस्तो भएको हो, यो हस्पिटलमा एकदम लापरवाही हुन्छ, मेरो बच्चालाई मात्र केही भयो भने यही अक्सीजनको सिलिण्डरले म त्यसको टाउको फोर्छु" र अरु के-के हो के-के। विचरा नर्सहरु दु:ख पोख्दै थिए "यस्तो दु:ख गरेर ड्युटी नि गर्नु छ, अझ यस्तो गाली र धम्की खानुपर्ने। कस्तो प्रोफेसनमा आइएछ।"

बच्चाका आमाबुवाको ठाँउमा हामीले आफूलाई राखेर हेर्ने हो भने एक हिसाबले उनीहरु 'केही' ठिक पनि हुन्। सुतिरहेको बच्चा औषधी लगाएको केही छिनमा नै एकोहोरो भएको छ, नीलो भएको छ, के भ'को के भ'को थाहा छैन, हो न हो औषधीले नै पो रियाक्सन गर्यो कि, मेरो बच्चा अब मर्ने पो हो की, जताततै लापरवाहीले मरेको भन्ने सुनिन्छ अचेल, यहाँ पनि लापरवाही त गर्यो होला नि। सामान्य मानिसको दिमागमा आजको अविश्वासको वातावरणमा शायद यस्तै कुरा चल्छन् होला। अनि त्यस्तो कुरामा "हो मा हो" मिलाउनेहरुको यहाँ कुनै कमि पनि हुदैंन र केही अप्रिय घटना भयो भने 'डाक्टर, नर्स र अस्पतालको लापरवाहीका कारणले ज्यान गयो' भनेर समाचारले भन्छ।

यो त एक साइडको मात्र कुरा भो। अब उपचारमा संलग्न नर्स र डाक्टरको ठाँउमा पनि आफूलाई राखेर हेर्ने की? दिनरात केही नभनी ड्युटी गरिरहेका हुन्छन्, बेलाबेलामा विरामीको भाइटल्स/vitals(बीपी, तापक्रम, नाडीको चाल हेर्ने) लिने, ठिकठिक समयमा औषधी दिने, बाफ लगाउने आदी गरिरहेका हुन्छन्, त्यस्तो गर्दा पनि जस पाउनुको साटो "तेरो टाउको फोर्दिन्छु, तेरो लापरवाहीले गर्दा हो" भन्ने नमिठा वचनहरु सुन्नुपर्दा कस्तो हुन्छ होला। आफ्नो गल्ति भए त "ल, केही छैन" भन्न नि हुन्छ, हुदैंनभएको गल्तिका लागि पनि यस्तो धम्की र गाली खानुपर्दा कस्तो लाग्छ होला सोच्नुस् त। अझ विरामीलाई के के औषधी दिएर मार्न लागेको, नानाथरीका अनावश्यक जाँच गराएको, विनाकारण भर्ना गरेर पैसा खान पल्केको जस्ता मनै कुँढिने दोष लगाएको पनि सुनिन्छ। एक पटक आफूलाई नर्स र डाक्टरको स्थानमा राखेर सोच्नुस् त।

त्यसो भने गल्ति कसको हो त? सच्चिनुपर्ने को हो त?

गल्ति हामी सबैको हो र सच्चिनुपर्ने पनि हामी सबै नै हो। अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा त्यसरी आवेगमा आएर उपचार गर्ने स्वास्थ्यकर्मीलाई धम्काएर केही फायदा हुने होइन। मैले पहिले देखि नै भन्दै र लेख्दै आएको छु "अस्पतालमा कोही भगवान वा जादुगर बस्दैन, उपचार भनेको जादुको छडी घुमाएको जस्तो पनि होइन। साधारण मान्छेहरुले आफूले पढेको र जानेको भरमा उपलब्द औषधी र उपाय लगाएर अस्पतालमा उपचार गरिन्छ।" यसरी गरिने उपचारबाट शतप्रतिशतलाई कुनै पनि देशको कुनै पनि कुनामा ठिक पार्न सकिदैन र यहीं विरामीलाई ठिक पार्छु भनेर ग्यारेण्टि पनि दिन सकिदैंन। उपचार भनेको त विरामी (र उसका परिवार) र चिकित्साकर्मी दुई समूहको आपसको विश्वास सल्लाहका आधारमा गरिने हो। यसमा डाक्टर र नर्सको भुमिका सल्लाहकार र सहयोगीको हुनुपर्छ। विशेष परिस्थितिहरुमा बाहेक निर्णयको अधिकार विरामी र उसका परिवारको नै हुन्छ, हुनुपर्छ र उनिहरुलाई नै दिनुपर्छ पनि।

त्यस्तै हरेक औषधी र उपचारका फायदा र बेफायदा हुन्छन्। त्यसको बारेमा सक्दो जानकारी दिने काम डाक्टरको हो र आफ्नो विरामीलाई कुन औषधीले नराम्रो भन्दा राम्रो बढि गर्छ भनेर सल्लाह दिने र त्यही अनुरुप उपचार गर्ने काम डाक्टरको हो। उपचार गरेपनि हरेक विरामीको हरेक रोग ठिक हुदैंन र त्यसका आफ्नै खालका कम्लिकेसनहरु देखिन्छन्। तर उपचारका क्रममा देखिने हरेक खालका साइड इफेक्ट, खराब असर, कम्लिकेसनको दोष डाक्टर र नर्सहरुमाथि लगाउन मिल्दैन। त्यस्तै उपचारमा रहेका विरामी र उसका परिवारलाई रोग, अवस्था, भइरहेको उपचार, हुनसक्ने खराब असरहरुका बारेमा "सक्दो र बुझ्ने भाषामा" बुझाउने प्रयास गर्नुपर्छ। यो उसको कर्तव्य र दायित्व पनि हो। यहाँ मैले "सक्दो र बुझ्ने भाषा" किन भनेको भन्दा हाम्रो जस्तो विरामी र डाक्टरको अनुपात एकदमै धेरै भएको ठाँउमा, एउटै डाक्टरले दिनमै सयौं विरामी हेर्नुपर्ने हुन्छ र सबैलाई चाहेको र दिनुपर्ने जति समय दिन सकिदैन। त्यस्तै डाक्टरले रोग उपचारका बारेमा भनेका आधाभन्दा धेरै कुरा सामान्य मानिसले बुझेका हुदैंनन्। त्यसैले समयले भ्याएजति र सम्भव भएसम्म विरामी र उसका परिवारलाई रोग, त्यसका असर उपचार र त्यसका सम्भावित परिणामहरुका बारेमा सरल भाषामा जानकारी दिने गर्नुपर्छ। साथै उपचार भनेको औषधी मात्र होइन। विरामी अवस्थामा विरामी र उसका परिवारका विश्वासिलो साथी र सहयोगीका भुमिकामा डाक्टर र नर्सहरुले आफूलाई उभ्याउन सक्नुपर्छ। खाली रोगका कम्लिकेसन, औषधीका साइड इफेक्टका बारेमा मात्र कुरा सुनाएर विरामी तर्साउने र 'राखे राख्नुस्, नराखे अरु अस्पताल लैजानुस' भन्ने प्रवृति (जुन सरकारी अस्पतालहरुमा बढि देखिन्छ) पनि उचित होइन। त्यस्तै विरामी अन्त जाला भनेर जस्तोसुकै ठुलो अप्रेशनलाई नि सामान्य भन्ने, हुनसक्ने कम्लिकेसनहरु पनि लुकाउने बानी (जुन प्राइभेट नर्सिङ होमहरुमा बढि पाइन्छ) पनि ठिक होइन।

लेखको शुरुमा भने जस्तो स्वास्थ्य क्षेत्र पनि विश्वासमै अडेको छ। तर आजभोली यसको बढ्दो व्यापारीकरण (नाफा कमाउने राम्रो व्यवसाय बन्दै छ, औषधी पसल, पोलीक्लिनिक र प्राइभेट नर्सिङ होमहरु), आवश्यक अनुगमनको कमि, विरामीहरुमा पनि चेतनाको कमि, आफ्नो रोग र उपचारका बारेमा उचित जानकारी लिनुभन्दा "पैसा जति नि तिर्छु, तर ठिक हुनुपर्छ" भन्ने प्रवृति आदीले यो क्षेत्रमा अविश्वासको खाल्डो खन्दैछ। त्यसमाथि बेलाबेलामा समाचारमा आउने 'अस्पताल, डाक्टरको लापरवाही' शिर्षकका खबरहरुले पनि यसलाई अझ बढि मौलाउन दिएको छ। यी छापा, रेडियो, टिभीमा आइरहने यस्ता समाचारहरु पूर्णरुपमा झुठ त पक्कै होइनन, हावा नचलीकन पात त पक्कै हल्लदैन। तर पनि भएको घटनाको राम्रो खोजखबर गरेर दुवै पक्षका कुरा राखेर विज्ञका पनि विचार राखेर त्यसको विश्लेषण गर्नुभन्दा कहिले इमोसनल र कहिले डरलाग्दो ब्याकग्राउण्ड म्युजिक सहित 'हिन्दी फिल्मी स्टाइल'मा दिइने यस्ता समाचारले घटनालाई अतिरन्जित बनाएका हुन्छन्। पत्रकार महोदयहरुमा यो क्षेत्रमा प्रोफेसनालिज्म कहिले आउने होला?

अब सुध्रिन शुरु कसले गर्ने त? 

यसले, उसले भन्नु भन्दा पनि हामी सबैले नै सुध्रिनु जरुरी छ र यसको शुरुवात गर्न ढिलो गर्नुहुन्न। सबैले आफ्नो मात्र भलो सोच्ने, आफ्नो मात्र दुनो सोझ्याउने, अरुको मात्र दोष देख्ने र अरुलाई मात्र दोष दिने, घटनाको वास्तविकता नबुझी हल्लाको पछि मात्र दौडने नगरी आपसी छलफल गरेर विश्वासलाई कायम राख्दै एकअर्काको सहयोग गरेमा नै सबैको भलाई हुनेछ। र तपाईं हामी बीच बन्दै र बढ्दै गरेको यो 'अविश्वासको खाडल' चाडै नै पुरिनेछ भन्ने आशा राखौ।

अन्तमा,

डाक्टरहरुलाई यस्तो ड्रेस पक्कै पनि सुहाउदैन र उनीहरु लगाउन चाहदैनन् पनि। :)



बाँकी पढ्नुहोस् >>

Tuesday, February 14, 2012

डाक्टरको प्रेमपत्र/ Doctor's Love letter


ज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे। सबैतिर प्रेमको रँग घोलिएको छ, मायाको संगीत गुन्जिएको छ।  रातो गुलाफ साटासाट गरिदैछन, गिफ्टहरु आदन प्रदान गरिदैछन्, माया बाडिदैछन्। अर्थात Love is in the air. र यस्तो मायाको मौसममा म र मेरो ब्लग मात्रै कसरी अछुतो रहन सकोस् त। डाक्टरको पनि आखिर मनै त हो। त्यसैले यही मायाको दिनको मौका पारेर यो काल्पनिक, रमाइलो 'प्रेमपत्र' लेखेको छु, कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा सन्योग मात्र हुनेछ। ;)


प्रिय,

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस। तिमीलाई भेटेर तिम्रो हात समाती तिम्रो आँखामा आँखा जुधाई आफ्नो मनका सबै कुराहरु भन्न मन लागेको थियो। तर हेर न कस्तो, आजकै दिन डबल ड्युटी गर्नु परिरहेको छ। त्यसैले ड्युटीबाट खुस्स टाइम निकालेर यो पत्र लेख्दैछु।

तिमीलाई पहिलो पल्ट एक वर्ष अगाडी यही हस्पिटलको गेट बाहिर देखेको थिएँ। तिम्रो सुन्दरताको तस्विर मेरो रेटिना/Retinaमा पर्ने बित्तिकै मेरो शरीरको फिजीयोलोजी डामाडोल भएको थियो। एक्कासी आएको एट्रियल फिब्रीलेसन/Atrial fibrillationले मेरो मुटु घोडाजस्तै दौडिएको थियो। पोस्चुरल हाइपोटेन्सन/Postural Hypotensionले हो की भ्यासोभेगल शक/Vasovagal shockले हो म झन्डै बेहोस भएको थिएँ। तैपनि मैले आफुलाई जसोतसो सम्हालेको थिएँ। त्यसपछिका दिनहरुमा मेरो त्यो घोडाको जस्तो मुटुलाई न त बिटा ब्लकर/Beta blockerले रोक्न सक्यो न त क्याल्सीयम च्यानल ब्लकर/Calcium channel blockerले नै। धन्न डिसी सक/DC shock दिनुपर्ने अवस्था चाँही आएन।

मेरो हिप्पोक्याम्पस/Hippocampusमा तिम्रो नै सम्झनाका केमीकलहरु बनिरहन्थे, जसलाई मेटाबोलाइज गर्ने इन्जाइमहरु शायद इन्हिविट भएका थिए वा जीन/gene लेभलमै ब्लक भएका थिए। हरदम तिम्रै ह्यालुसिनेसन/Hallucination (भिजुअल/visual, अडिटरी/auditory, गस्टेटरी/gustatory सबै) आउँदाखेरी मलाई इन्सोम्नीया/Insomniaले सताएको थियो। एमीट्रीप्टालीन/Amitriptyline र एल्प्राजोलाम/Alprazolamले पनि मेरो इइजी/EEGमा डेल्टा वेभ/Delta wave ल्याउन सकेन।

तिमीलाई भेटेर आफ्नो बिग्रेको फिजीयोलोजी, बायोकेमेष्ट्री र साइकोलोजीको बेलीबिस्तार लगाउला भनेर धेरै पटक सोचे पनि। तर सर्टटर्म मेमोरी लसले हो की प्यानिक एट्याक/panic attackले हो, हाइपोग्लोसल नर्भ/hypoglossal nerveले कामै गदैनथ्यो। तिम्रो टम्म मिलेका इन्सीजर/incisor, क्यानाइन/canine हेर्दैमा म मख्ख पर्थे र केही बोल्नै सक्दिनथे।

मन त छ तिमीलाई मेरो मुटुको एसए नोड/SA node बनाएर राखुँ, मन त छ तिम्रै सम्झनामा मेरा सबै सेरेब्रम/cerebrumको मेमोरी पावर खर्चुँ, मन त छ तिमीसँग सधैं रिसेप्टर र एगोनिस्ट जस्तो जोडिएर बसुँ। तर यी सब कुराहरु भन्नको लागि मेरो एटीपी/ATPको प्रोडक्सन नै पुगेन। आज बल्लबल्ल ग्लाइकोलाइसीस, क्रेब्स साइकल, ग्लाइकोजेनोलाइसीस, ग्लुकोनियोजेनेसीस सबै एकैपटक गराएर भनेपनि मनको कुरा खोल्न एटीपीको थुप्रो जम्मा गरेको थिएँ, तर ERको डबल ड्युटीले धोका दियो।

त्यही पनि आज यही पत्र मार्फत भनेपनि तिमीलाई भन्न चाहन्छु, दमको विरामीले अक्सिजनलाई माया गरेजत्तिकै म तिमीलाई माया गर्छु, एआरभी/ARVले एचआइभी विरामीलाई बचाएजस्तै म तिमीलाई हरेक दु:खकष्टबाट बचाएर राख्छु, एन्जाइना/Angina हुँदा मुटुले रगतलाई मिस गरेजस्तै हरपल हरक्षण तिमीलाई मिस गरिरहन्छु र डिएनएको डबल हेलिक्स मोडल/Double Helix model जस्तै तिमीसँग सधैंभरी सँगै अँगालोमा बेरिएर बस्न चाहन्छु।

तिम्रो 'पोजिटिभ फिडब्याक'को आसमा,
उही तिम्रो,
डा. प्रेमी

Happy Valentine's Day..

बाँकी पढ्नुहोस् >>

Wednesday, February 8, 2012

छोरा वा छोरी, बन्छन् कसरी - भाग २?


माथि दिइएको तस्वीरका व्यक्तिहरु महिलाहरु हुन् की पुरुषहरु?

प्रश्न देखेर तपाईंहरु अचम्म पर्नुभयो होला। यो के खालको बकवास प्रश्न सोध्यो भनेर। विकीपेडियाबाट लिइएको यो फोटो झट्ट हेर्दा यी सबै महिला जस्ता देखिन्छन्, किनभने सामाजिक रुपमा लिंग/Sex छुट्याउने भनेकै शारीरिक वनावट, बाहिरी प्रजनन अंग पुरुषको छ वा महिलाको भन्ने हेरेर हो। सामान्यरुपमा यो तरिका सही पनि हुन्छ। र यो तरिका अनुसार चित्रका व्यक्तिहरु महिलाहरु हुन्। तर यहाँ वर्णन गर्न लागिएको अवस्थामा यो तरिकाले काम गर्दैन। माथिका चित्रका व्यक्तिहरु बाहिरीरुपमा र सामाजिकरुपमा महिला हुन्, तर क्रोमोजोमको हिसाबले उनीहरु पुरुष हुन्। उनीहरुको क्रोमोजोम पनि सामान्य पुरुषको जस्तो एक्स वाई/XY छ। यो अवस्थालाई एन्ड्रोजेन इन्सेन्सीटिभिटी सिन्ड्रोम/Androgen Insensitivity Syndrome or AIS भनिन्छ।

यस्तो कसरी सम्भव हुन्छ भनेर बुझ्नका लागि यही लेखको पहिलो भाग 'छोरा वा छोरी, बन्छन् कसरी?' भन्ने पनि पढ्नुहोला।

त्यसमा भनिएजस्तै मानिसको भ्रुणमा भित्री प्रजनन अंगहरु बन्नको लागि विशेष दुई तन्तुहरु हुन्छन्। महिलाका भित्री प्रजनन अंगहरु पाठेघर, फेलोपियन ट्यव, योनीको भित्री भाग आदी बन्नको लागि मुलेरियन डक्ट/Mullerian Duct र पुरुषका भित्री प्रजनन अंगहरु इपिडिडाइमिस, भास डिफरेन्स आदी बन्नको लागि वुल्फियन डक्ट/Wollfian Duct हुन्छ। वाई/Y क्रोमोजोमले टिडिएफ/TDF-Testis Determining Factor बनाउँछ, जसले भ्रुणमा अण्डकोषको विकास गर्छ। अण्डकोषले मुलेरियन डक्टको विकासलाई रोक्न एमआईएफ/MIF-Mullerian Inhibiting Factor बनाउँछ, साथै पुरुषका भित्री र बाहिरी प्रजनन अंगहरुको विकास गर्नका लागि पुरुष हर्मोनहरु टेस्टोस्टेरोन र डिएचटी/DHT-Dihydrotestosterone बनाउने गर्छ। केही गरेर यी हर्मोनहरुको उत्पादन भएन वा यी हर्मोनहरुले काम गर्ने रिसेप्टर/receptorमा खराबी भएमा सेक्स क्रोमोजोम एक्स वाई/XY भए पनि र भित्रीरुपमा अण्डकोष र अन्य पुरुष प्रजनन अंगहरु भएपनि बाहिरी रुपमा भने महिलाका शारिरीक र प्रजनन अंगहरुको विकास हुनेगर्छ।

समाजमा जन्मको बेला छोरा वा छोरी छुट्याउने भनेको बाहिरी प्रजनन अंग हेरेर नै हो। त्यसैले माथिको समस्या भएको बच्चाको जन्म समाजमा छोरीको रुपमा नै हुन्छ, उसलाई छोरीकै रुपमा व्यवहार गरिन्छ, उ छोरीकैरुपमा हुर्कन्छ पनि। तर समस्या प्राय: गरेर पहिलोपल्ट त्यतिबेला बाहिर आउँछ, जब उसमा महिनावारी हुदैंन। यी महिलाहरुमा महिलाका भित्री प्रजनन अंगहरु जस्तै डिम्बाशय, पाठेघर आदी नहुनाले महिनावारी नहुने र सामान्यरुपमा बच्चा जन्माउन नसक्ने हुन्छन्।

तर याद राख्नुपर्ने कुरा के हो भने यो अवस्था भनेको  समलिंगी हुनु पक्कै होइन।

यो त भयो क्रोमोजोमल रुपमा पुरुष र शारिरीक रुपमा महिला हुने अवस्थाको कुरा। अब फर्टिलाइजेसन हुँदा एक्स ओ/XO भएमा अर्थात् एउटा मात्र सेक्स क्रोमोजोम भएमा के हुन्छ जानौं।

यो अवस्थालाई टर्नर सिन्ड्रोम/Turner Syndrome भनिन्छ। आमा र बुवाबाट आउने क्रमश: डिम्ब/ovum र शुक्रकिट/spermatozoon मा केही खराबी भएर बन्ने भ्रुणको क्रोमोजोममा एउटा सेक्स क्रोमोजोमको कमि हुन गएमा यस्तो अवस्था देखिन्छ। यसमा महिलाको उचाई सानो हुने, छाती फराकिलो हुने, घाँटीमा छालाको फराकिलो पत्र देखिने, कान सामान्यभन्दा तल हुने, हातखुट्टाहरु सुन्निएको हुने, स्तनको विकास नहुने, महिनावारी नहुने जस्ता समस्याहरु देखिने गर्छन्। त्यस्तै मुटुका जन्मजात समस्याहरु/Congenital Heart Diseases, मृगौलाका विकासका समस्याहरु/Horseshoe kidney, सानो र काम नगर्ने डिम्बाशयहरु/ Rudimentary ovaries पनि यो सिन्ड्रोम भएका महिलाहरुमा देखिन्छन्।

यो सिन्ड्रोमलाई पूर्णरुपमा निको पार्ने कुनै उपचार छैन। तैपनि यसमा देखिने स्वास्थ्यसम्बन्धि र अन्य समस्याहरुलाई विभिन्न उपायहरुबाट केही कम भने गर्न सकिन्छ।

सेक्स क्रोमोजोम सम्बन्धित अर्को अवस्था हो, क्लाइनेफेल्टर सिन्ड्रोम/Klinefelter Syndrome। यसमा सेक्स क्रोमोजोम एक्स एक्स वाई/XXY हुन्छ र यी शारिरीकरुपमा पुरुष हुन्छन्। हेर्दा सामान्य नै देखिने भएपनि यिनमा पुरुषका शारिरीक र प्रजनन अंगहरुको पूर्णरुपमा विकास भएको हुदैंन। अण्डकोषको आकार सानो हुने, काखी मुनि रौं, दाह्रींजुंगा नआउने, महिलाको जस्तो गुप्तांगको रौं/pubic hair को विकास हुने, महिलाको जस्तो स्तन बढेर जाने/gynaecomastia आदी हुन्छ। त्यस्तै यो सिन्ड्रोम भएका पुरुषहरुमा अण्डकोषको क्यान्सर, स्तनको क्यान्सर र हाडजोर्नीको रोग ओस्टियोपोरोसिस/Osteoporosis देखिने सम्भावना सामान्य भन्दा बढि हुन्छ। शारिरीक बनावट महिला जस्तो देखिने यी पुरुषहरु शुक्रकीटको उत्पादनको कमिका कारणले बच्चा जन्माउन नसक्ने/Infertile हुन्छन्।

यस्ता वंशानुगत अवस्थाहरु समस्याहरुका बारे हाम्रो देश, समाजमा प्राय: नसुनिने भएपनि नहुने चाँही पक्कै होइन। शिक्षा, जनचेतनाको कमि, सामाजिक परिवेशका कारणले यी अवस्थाहरु प्राय: गरेर लुकाइन्छ नै। र चिकित्सकसम्म पुगे पनि जाँचका उपायहरुको सर्वसुलभताका कमिका कारण पत्ता लाग्न गाह्रों हुने गर्छ। विकसित मुलुकहरुमा भने हरेक खालका रोग वा अवस्थाहरुका बारेमा जनचेतना दिनुका साथै ती समस्या भोगीरहेका व्यक्ति वा परिवारहरुले एकआपसमा सहयोग गर्न, शिक्षा, जानकारी आदनप्रदान गर्न विभिन्न संस्थाहरु खोलेका हुन्छन्। यस्ता समस्या भएका महिलाहरुको सहयोगको लागि भनेर बनेको एउटा समुह 'एन्ड्रोजन इन्सेन्सीटिभिटी सिन्ड्रोम सर्पोट ग्रुप/Androgen Insensitivity Syndrome Support Group-AISSG' पनि हो। नेपालमा यस्ता ग्रुपहरु हुदैं नभएका भने होइनन्। 'नेपाल अपुष्ट-रक्तकोष समूह' रगतको एउटा आनुवंशीय रोग 'थालासेमीया/Thalassemia'का बारेमा जानकारी दिने र त्यसका समस्या भोगीरहेका विरामी र परिवारलाई सहयोगका लागि शुरु गरिएको संस्था हो।

यस्ता वंशानुगत रोग वा सिन्ड्रोम/ Genetic Disease or Syndromeहरुको उपचार खासै सम्भव हुदैंन, मात्र त्यसमा देखिने विभिन्न खालका समस्याहरुको उपचार गर्ने गरिन्छ। त्यसैले यस्ता समस्याहरुको गर्भ रहँदाको अवस्थामै एम्नियोसिन्टेसिस/ Amniocentesis गरी क्रोमोजोमल एनालाइसिस/ Chromosomal Analysis गरी पत्ता लगाएर उपचार गर्नु वा त्यो गर्भ पतन गर्ने वा के गर्ने भनेर पतिपत्नीलाई निर्णयको अधिकार दिनु राम्रो हुन्छ। त्यस्तै यस्ता विभिन्न वंशानुगत रोगहरुको बारेमा पनि समाजमा जनचेतना जगाउनु आजको आवश्यकता हो। नत्र दैवले ठगेको, पूर्वजन्मको पापको फल भन्दै यस्ता रोगहरुलाई सधैं लुकाइन्छ वा उनीहरुलाई सधैं समाजले नराम्रो दृष्टिले हेरिरहन्छ।

केही दिन अघि 'न्युज 24' मा आफ्नो अंगहरु आफैं टोक्ने लक्षण हुने एउटा अति नै दुर्लभ वंशानुगत रोग 'लेस निहान सिन्ड्रोम/Lesch Nyhan Syndrome' को बारेमा समाचार दिइएको थियो, जुन सह्रायनीय कार्य हो। मिडियाले यस्ता रोग, समस्याहरुलाई समस्याको रुपमा मात्र अगाडि नल्याइ त्यसका बारेमा सम्बन्धित बिषयका चिकित्सक वा विशेषज्ञलाई पनि सोधेर पूर्ण समाचार दिँदा समाजमा साँचो र चेतनामुलक जानकारी पुग्न जान्छ।



स्रोतहरु:


बाँकी पढ्नुहोस् >>