Friday, August 10, 2018

व्याक्टेरियल संक्रमणले 'भाइरल' भएको बच्चा

लगभग १ हप्तादेखी सोसल मिडियामा यो बच्चाको छालाको संक्रमणको फोटो र उसलाई उपचारको लागि सहयोग जुटाउने काम भाइरल भैरहेको छ। डाक्टरहरुका अनुसार बच्चालाई Staphylococcal scalded skin syndrome भएको हो र अहिले यो धेरै निको भैसकेर डिस्चार्ज नि भैसकेको छ। म आफू पनि जीपीको रुपमा प्यूठान जिल्ला अस्पताल बसेर ३ वर्ष काम गरेको हुनाले यस्ता केसहरु बारे अनुभव राख्दछु। बोमबहादुर भाईले प्यूठानबाट बुटवल हुँदै काठमाण्डौसम्म ल्याइ पुर्याएर सहयोग जुटाई उपचार गराउनुभएको छ। त्यो अत्यन्तै सर्हानीय छ।
तर यो केसमा मलाई चित्त नबुझेका केही कुराहरु सार्है भन्न मन लाग्यो र भन्न चाहन्छु।
धेरैलाई यी कुरा नमिठा लाग्न सक्छ। सकारात्मकरुपमा र सल्लाहको रुपमा लिनुहुनेछ भन्ने आस छ।

• अहिले 'बच्चाको उपचारको लागि' भनेर सहयोग मागिएको हो। खर्च कति भएको छ, हुने वाला छ, त्यो हेरेर आवश्यकता भन्दा बढी उठ्न थालेपछी सहयोग लिन बन्द गरिनुपर्थ्यो। बच्चाको उपचार सरकारी अस्पतालमा भएको हो, उनलाई २ दिन मात्र आइसीयुमा राखियो, धेरै छिटो निको हुन लागेको लक्षण देखिएको थियो, बच्चा निकै राम्रो देखिन थालिसकेको थियो। उनको उपचारमा खर्च ५० हजार पनि छोएको छैन होला जबकी सहयोग ओइरो चलेको चल्यै थियो। यो बेठिक भयो। आवश्यक भन्दा बढी पैसा आउन थालेपछी यो तत्काल रोकिनुपर्थ्यो। किनकी सहयोग 'उपचार'को नाममा उठाइएको थियो र उपचारमा र उपचार अवधीमा खानपान, एम्बुलेन्स भाडा, बस भाडा आदि विषयमा मात्र खर्चिनु उत्तम हुन्थ्यो।

• धेरै निको भएर सूई नै दिनुनपरेको बेलामा पनि युट्युबमा "बच्चा बचाइदिन आमाबुवाकी हारगुहार" भनेर रिपोर्टिङ आएको थियो, जबकी भिडियोमा आमाबुवा हाँसीरका थिए, बच्चा लगभग निको भैसकेको थियो, डिस्चार्ज गर्ने अवस्था भैसकेको थियो। अझ कान्ति अस्पतालमा भएको बच्चालाई भिडियोको टाइटलमा "वीर अस्पतालमा विरामी" रे। मिडियाको यो अस्वाभाविक कभरेज र संसारभरबाट आवश्यकता भन्दा बढी ओइरेको सहयोग बच्चाको जिम्मा लिएका व्यक्तीले नियन्त्रण गर्नुपर्थ्यो। एउटै केसमा त्यस्तरी सबै हानथाप गरेर पैसाको खोलो बगाउनुको साटो अरु गरिव विरामीलाई नि हेरेको भए?

• कतिलाई यो केसको फोटो र अपडेटहरु देखेपछी धेरैलाई "ओहो, गाउँका अस्पतालमा केई रहेनछ, बुटवलमा नि निको भएनछ, जेको लागि नि काठमाण्डौ आउनुपर्ने, सरकारले यस्ता गरिव विरामीलाई नहेर्ने" भन्ने भावना आएको पाएँ। अभिनेत्री मेलिना मानन्धरले पनि त्यही भन्नुभयो। तर कुरा त्यसो हैन। बुटवलमा बच्चालाई हेरेका बालरोग विशेषज्ञले भने अनुसार आइसीयु नै चाहिने जस्तो छैन, संक्रमणको केस भएर आइसोलेसनमा राखेर हेर्ने, सूईबाट एन्टिबायटिक चलाउने र बिस्तारै सुधार हुने भन्ने कुरा थियो। तर आइसीयु बेड नपाएको र केस भाइरल भएर सहयोगको ओइरो लागेपछी कान्ति बाल अस्पताल ल्याइयो। यो विरामी बुटवलमै निको हुनसक्थ्यो। "ग्यारेन्टी हुन्थ्यो?" भनेर सोध्नुहुन्छ भने ग्यारेन्टी त कान्तिमा पनि दिएको थिएन, इन्डिया नै लगे पनि दिन्न। मिडियाको अस्वाभाविक कभरेजका कारण पनि बुटवलमा डाक्टरहरु उपचार गर्न अफ्ठ्यारो मान्नुभयो। भोलि केही भयो भने "बेलैमा किन रिफर नगरेको" भनेर ठूलो इस्यु आउँछ भनेर। यस्ता गरिव विरामीहरुलाई सरकारले 'अति गरिव' भनेर सकेसम्म नि:शुल्क स्वास्थ्य सेवा दिने व्यवस्था गरेको छ। त्यसको लागि कारवाही अघि बढाइएको भए धेरै नि:शुल्क नै हुन्थ्यो होला। कान्तिमा उपचार प्रकृया खासै महंगो पनि छैन। त्यसैले जे कुरामा पनि "सरकारले गरेन, गाउँमा केही छैन" भनेर रोष प्रकट गर्नु हाम्रो पूर्वाग्रही सोचको नमूना हो। गाउँका अस्पतालमा नि धेरै कुरा हुन्छन्, यो भन्दा जटिल केसहरुको उपचार हामीले जिल्ला अस्पतालमै गरेका पनि छौं।
यस्ता कुराले जिल्ला अस्पताल, राजधानी बाहिरका अस्पतालमा खासै केही नहुने र राम्रो उपचार पाउन राजधानी नै आउनुपर्दोरैछ भन्ने सन्देश जान्छ, जुन गलत हो।

• भित्री सुत्रबाट कान्ति बाल अस्पतालमा बुझ्दा पनि बच्चालाई आइसीयु चाहिने अवस्था थिएन, मिडियाको धेरै कभरेज र फोर्स लागेकोले आइसीयु हैन, आइसोलेसनमा राखिएको भन्ने कुरा थाहा हुन आयो। उपचारमा रिस्क, जटिलता जहाँ पनि हुनसक्छ, अवस्था अनुसार सक्दो उपचार गर्ने हो। यो बच्चाको उपचार बुटवलमै पनि सम्भव हुन्थ्यो। हेर्दा डरलाग्दो देखिदैमा रोग र अवस्था ज्यानै लिने भन्ने हुदैंन। धेरै मान्छे बच्चाको डरलाग्दो फोटो देखेर पग्लिए र मिडियाले पनि यसलाई चाहिनेभन्दा बढी उचाल्यो।

• सोसल मिडिया र पत्रपत्रिकामा नाम, फोटो र समाचारकै लागि पैसा दिएर फोटो, भिडियो खिचाउने नि धेरै हुनेरैछन्। हो, सहयोग गर्नु राम्रो हो तर सहयोग दिएर जानकारी गराउनु र मिडियामा आउनको लागि पैसा दिनु फरक कुरा हो। उनीहरुलाई विरामीको अवस्था के छ, आवश्यकता कति छ, सहयोग कसरी प्रयोग हुन्छ भन्ने भन्दा नि "मैले पैसा दिनुपर्छ र त्यो मिडियामा आउनुपर्छ" भन्ने बढी ध्याउन्न हुनेरैछ।

मेरो मनमा उठेका केही प्रश्नहरु र सुझावहरु-

• बच्चाको रोग के थ्यो? फाइनल डायग्नोसिस के आयो? (डिस्चार्ज पेपरको अगाडि पछाडीको फोटो खिचेर राखिदिनुहोला)
• बच्चाको उपचार, एम्बुलेन्स भाडा लगायत खाने बस्नेमा के कति खर्च भयो? कान्ति बाल अस्पतालले के के कुरामा नि:शुल्क सेवा दियो? (खर्च विवरण सबै सार्वजनिक गर्छु भनेर बोमबहादुर भाईले भन्नुभएको छ)
• बाँकी बचेको सहयोग रकम, जुन भएको उपचारखर्च भन्दा धेरै बढी छ, को के हुन्छ? बच्चाको बुवाआमालाई बुझाउने हो वा अरु गरिव विरामीको उपचारको कोष बनाएर प्रयोग गर्ने हो?
• बच्चाको बुवाआमाको हेलचेक्राईले पहिलेको बच्चा नि मरेको भन्ने अवस्थामा अहिले उठेको पैसा उनीहरुले सदुपयोग नै गर्छन् भनेर कसरी भन्न सकिन्छ? पैसा बच्चाको लालनपालन र पढाइमै खर्च होला भनेर कसरी भन्न सकिन्छ? डोनरले उसको नाममा दिएको पैसा "म जस्तोसुकै तरिकाले खर्च गर्छु, मेरो कुरा हो" भनेर बुवाआमाले भने कसैले केही भन्न मिल्ला र?
• मानौं अबको १ वर्षमा उहीँ बच्चा बुवाआमाले ऐले उठेको सबै पैसा सकि फेरि उहीँ अवस्थामा अस्पतालमा आइपुगे फेरि यहि तरिकाले मिडिया कभरेज दिएर सहयोग गर्ने कि नगर्ने?
• महिनाको ३०० रुपेको औषधी किन्न नसकेर पीडामा बाँचेका विरामी पनि देखेको छु। औषधी किन्न १०० रुपे नभएर आफैंले कति पटक औषधी किनिदिएको छु। अनि एउटै केसमा किन यत्रो सहयोगको ओइरो? किन यत्रो मिडिया कभरेज? के मिडियामा आइनपुगेका गरिव विरामी चैं गरिव विरामी होइनन्? तिनलाई चैं सहयोग चाहिंदैन? सहि तरिकाले अघि बढेको भएको भए यो बच्चालाई उठेको रकमले अरु २०-३० जना गरिव विरामीको उपचार गर्न सकिन्थ्यो, जुन हुन सकेन।
• डिस्चार्जपछी बच्चाको फलोअपको लागि १ हप्तामा आउनु भनेको छ। के फलोअप कान्ति बाल अस्पतालमै गर्नुपर्ने हो? आफ्नै जिल्ला अस्पतालमा गर्दा खर्च र दौडधुप पनि कम हुन्छ। त्यसो गर्न नसकिने हो र? जीपी, मेडिकल अफिसर भएको आफ्नै जिल्ला अस्पताललाई त्यति नि विश्वास गर्न नसकिने हो र?

अन्त्यमा,
पैसा उठाएर हातमा दिनु मात्र समाजसेवा हैन। यसले अहिलेको लागि विरामीको रोग निको होला, केहि समय उनीहरुको गरिबी नि निको होला, दिनेको नाम, फोटो, भिडियो मिडियामा आउला, तर परनिर्भरता बढाउछ, सित्तैमा उठेको पैसा दुरुपयोग हुने र आँसुको व्यापार हुने डर बढाउछ। यो बारे सहयोग दिने र सहयोगको वातावरण बनाइदिने 'असली' समाजसेवीहरुले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ।

तर यो नभनी लेख रोक्न सकिनँ,
अरुको दु:ख देखेर आफ्नै विरामी जस्तोगरी दिनरात खटिएर विरामीको उपचार र सहयोग व्यवस्था मिलाउनु भएका युवा पत्रकार भाइ बोमबहादुरलाई धेरै धन्यवाद। 
बाँकी पढ्नुहोस् >>