Thursday, November 17, 2016

बुढा बाजे, काँक्रो र मकै


एउटा डाक्टरको जीवनमा हजारौं विरामी आउछन्, सबैलाई सम्झन सम्भव नै हुँदैन। एउटा विरामीको जीवनमा हजारौं, सयौं नभए पनि १०, २० वा ५० सम्म डाक्टरहरु आउन सक्लान्। त्यसैले विरामीले आफूलाई हेर्ने डाक्टरलाई सजिलै सम्झन सक्छन्, नाम थाहा नभए पनि देख्दा चिन्ने गर्छन्। कसैकसैले त "मलाई चिन्नुभएन? अस्ती भर्खर तपाईंले मलाई जाँच्नुभाको हैन त" भन्छन्, कसैले बाटोतिर, घरतिर "ओहो डाक्टरसाब, नमस्कार तपाईंले दिएको औषधीले निको भएँ नि" भन्छन्, आफूलाई देख्यादेख्या जस्तो मात्र लाग्छ। ठुलो पल्टेर बिर्सेको हैन, दिमागको सम्झना शक्ति भन्दा बाहिरको कुरा भएर हो। तर कोही कोही विरामी यस्ता हुन्छन्, जो एकपल्टको भेटमै डाक्टरको मनमा सधैंको लागि बसेका हुन्छन्। वर्षौं पहिलेका त्यस्ता विरामी आज पनि सम्झना आउने गर्छन्। नाम याद नहोला, कतीको त अनुहार पनि याद नहोला तर तिनिसँग विताएका केही पलहरु सधैंका लागि 'लङ टर्म मेमोरी'मा बसिसकेका हुन्छन्। यस्तै एक विरामीसँग केही हप्ता अघी भेट भएको थियो।

म ज्येष्ठ नागरिक ओपिडीमा बसिरहेको थिएँ। हाम्रो अस्पतालमा (प्युठान जिल्ला अस्पताल) सोमबार र बिहीवार कोठा नं ५ मा ज्येष्ठ नागरिक ओपिडी चल्नेगर्छ। ७०-७५ वर्षका एक बुढा बाजे आए, उनीसँग उनकी बहिनी पनि आएकी रहेछिन्। उनको समस्या सुनें, केही हप्ता पहिले उनको देब्रे हातको हड्डी भाँचिएको रहेछ, त्यसको उपचारको लागि हाडजोर्नी रोग विशेषज्ञकोमा गएर देखाउने र अप्रेसन गर्नुपर्ने हुनसक्ने भनेर सल्लाह दिईएको रहेछ। तर उनको आर्थिक समस्याका कारणले उनी जान नसकी घरै बसेका रहेछन्। गाँउमा यस्ता अनगिन्ती विरामीहरु हुन्छन् जो लाख हैन केही हजार रुपैया, सही सल्लाह दिने र साथ लाग्दिने बुझ्ने मान्छेको अभावमा रोग लिएर, रोग बढाएर घरमै बसिरहेका हुन्छन्। अब अहिले उनलाई त्यो भाँच्चिएर बांगो भएर जोडीएको हात दुख्न थालेको थियो। त्यसैले त्यसको केही उपचार हुन्छ कि भनेर जिल्ला अस्पताल आइपुगेका रहेछन्। उनको समस्याको खास उपचार अप्रेसन गरेर हाड जोड्नु नै थियो, तर त्यो सम्भव थिएन। मसँग उनको लागि अर्को विकल्प दुखाइको औषधी मात्र थियो, नि:शुल्कमा पाइने सिटामोल वा आइबुप्रोफेन। त्यही लेख्दिदैथिएँ, उनकी बहिनीले भनिन्,"मेरो पनि देखाउनुपर्ने थियो, डाक्साब, मसँग पर्ची त छैन, के गर्ने?"

विरामी हेरेर कागजको टुक्रामा औषधी लेखिदिए त भईहाल्छ निभनेर कतीले भन्लान्, तर म विरामी हेर्नु भनेको डाक्टर-विरामीको सम्बन्ध स्थापित भएको मान्छु, त्यसको जिम्मेवारी कागजको टुक्रामा एक दुई वटा औषधीको नाम धस्काउदैमा पूरा हुँदैन। विरामीको कुरा सुन्नुपर्‍यो, समस्या बुझ्नुपर्‍यो, जाँच्नुपर्‍यो, समाधानबारे छलफल गर्नुपर्‍यो, आवश्यक भए औषधी लेख्ने नभए सही सल्लाह मात्र दिनुपर्‍यो। मात्र औषधी लेख्ने डाक्टरको काम हैन, जुन धेरै विरामीले र कती डाक्टरले पनि सोच्छन्। त्यसको सहि रेकर्डिङ, रिपोर्टिङ पनि उत्तिकै महत्वपूर्ण हुन्छ, नभए काम मात्र गरिन्छ तर प्रतिवेदन, तथ्यान्कमा देखिदैन। त्यसैले मैले विना दर्ता, विना पूर्जा विरामी नहेर्ने भनेको छु वा भनौं पर्चा भएका विरामीलाई प्राथमिकता दिने गरेको छु।

अँ कहाँ थिएँ ?

ती आमैले "मलाई नि जाँचिदिनुस्, पर्चा चैं छैन है" भनिन्। मैले "पर्चा त चाहिन्छ आमा, यो त उहाँको पर्चा हो, यसमा लेख्न मिल्दैन, तपाईंको लागि बरु अर्को बनाम्ला" भनेर आफ्नो गोजीबाट पैसा निकालेर ओपिडीमा बसेको विधार्थी भाईलाई "उहाँको नामको टिकट काटेर ल्याउ त" भनेर उनलाई पनि सँगै जानुस् भनें। हाम्रो अस्पतालको बुकलेट टाइपको नयाँ पर्चा भर्खर शुरु भएकोले ज्येष्ठ नागरिक, अपांग जस्ता लक्षित वर्गलाई के गर्ने भन्ने निर्क्यौल भईसकेको थिएन (अचेल लक्षित वर्गलाई नि:शुल्क हुन्छ)। त्यसैले टिकटको १० रुप्पे लाग्छ कि भनी मैले पैसा दिएर पठाएको थिएँ। यो कुरा छेउमा बसीरहेका उनका दाजुले देखेका रहेछन्। खै उनलाई के लाग्यो कुन्नी, उनले आफ्नो पुरानो, मैलो, चेन बिग्रीएको झोला खोतल्न थाले। अनि झोलाभित्रबाट तीन वटा पोलेको मकै, एउटा काँक्रो झिकेर मेरो टेबलमा राखिदिएर "ल यो तपाईंलाई बाबु, खानुहोला" भनें। एकछिन त म के भनुँ के भनुँ भए, मन भारी भयो, अनि "पर्दैन बुवा तपाईंको खाजा होला, तपाईं आफ्नै लागि राख्नुस्" भनें। तर उनले मान्दै मानेनन्, हैन मेरो तर्फबाट राख्नुस् भन्दै जिद्दी गरे। मलाई राख्न करै लाग्यो, त्यस्तरी मायाले दिएको कुरा रुखो भएर लिन्नँ, फिर्ता लानुस् भन्न नि मन लागेन। एकछिनमा पर्ची लिएर दुवै आइपुगे, पर्चीको पैसा लागेनछ, उनलाई जाँचे र औषधी लेखिदिए।

त्यो एकछिनको भेटमा मैले खासै ठुलो केही गरेको थिईनँ। न उनको भाँच्चिएको हातको लागि केही जादु गरिदिएको थिएँ न उनको उपचारलाई भनी हजारौ दिएको थिएँ, मात्र मिठो बोलिदिएको थिएँ, उनका समस्या राम्ररी सुनिदिएको थिएँ, सरकारले उपलब्ध गराएका केही नि:शुल्क औषधी लेखिदिएको थिएँ, अनि थोरै मानवता देखाइ टिकटको १० रुप्पे तिर्न खोजेको थिएँ। त्यत्तिमै उनले मलाई उनको दिनभरीको खाजा उपहार दिएर गए। हाम्रो समाजमा त्यस्ता कैयौं लखपती, करोडपतीहरु छन्, जो सहयोगको नाममा सय, हजार दिन नि असाध्यै गार्हो मान्छन् (हुन त आफ्नो सम्पत्ती, आफ्नो अधिकार हो), त्यस्ता लखपती, करोडपती, धेरै हामी भन्दा उनी कैयौं गुणा धनी रहेछन्, आफ्नो भागको खानै काटेर उनले उपहार दिएर गए। त्यती सानो सहयोगी भावना, मानवता, जुन सबैले देखाउनुपर्ने नै हो, देखाए वापत उनले आफ्नो झोला भरीको खाना दिए। कि उनले अचेल यत्तिको मानवता नि भेटाउन छोडेका हुन्? यतिको सहयोगी भावना नि पाउन छोडेका हुन्? कतै उनले हामीमा मर्दै गएको मानवताको नमिठो ईतिहास पो भोग्दै आएका थिए कि?


जे होस्, उनको अमूल्य उपहार र उनलाई म कहिल्यै बिर्सने छैन।
बाँकी पढ्नुहोस् >>