Sunday, June 26, 2016

‘लखतरान डाक्टर’लाई एनएमएको अपिल कति व्यवहारिक?

२०७२ चैत्र १६ गते नेपाल मेडिकल एसोसिएसनको अपील पत्रपत्रिकाहरुमा छापिएको थियो, जसका केही वाक्यांशहरु यस्ता छन्,‘चिकित्सकहरु मनोटोनस हुने गरेका’ र ‘व्यक्तिगत जीवन र परिवारप्रतिको जिम्मेवारीमा समेत ह्रास आएको गुनासो।’

यसमा मेरो मत यस्तो छ। डाक्टरको दैनिकी एकदम व्यस्त हुन्छ, अस्पताल, क्लिनिक, बेलाबेला नाइट ड्युटी, घरमा पनि पढाई। लगातारको यो व्यस्तताले व्यक्तिगत स्वास्थ्य र पारिवारिक जीवनमा असर त पार्छ नै। यो कसैले गुनासो गरेपछि मात्रै बुझिने कुरा थिएन। संघमा पदासिन महानुभावहरुले आफ्नै वर्षौंको अनुभवका आधारमा पनि थाहा पाउनु पर्ने हो। अनि अहिले आएर यो एक दिने छुट्टीको लागि अपिल गर्ने जुक्ति कहाँबाट आयो? अचम्म लाग्यो! जे होस् ढिलै भए पनि डाक्टरहरुको समस्या बारे सोच्ने मौका मिलेछ।

‘सरकारी, गैरसरकारी तथा सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संघसंस्थाहरुले अनिवार्य रूपमा हप्ताको एक दिन चिकित्सकलाई सार्वजनिक विदा मिलाउन हुन संघ हार्दिक अपिल गर्दछ ।’

कुरा एकदम सही हो। कदम एकदम राम्रो हो तर यो अपिल औपचारिकता निभाउन मात्रै हो कि? यो देशमा अपिल गरेर कसैले कुनै कुरा सुन्छ र! नियम बनाएर लाद्न खोज्दा त नसकिने देशमा सबै सरकारी, गैरसरकारी र सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संघसंस्थाहरुलाई  र डाक्टरहरुलाई एक दिने छुट्टी मिलाउन पत्रिकामा अपिल छापेर एनएमएले जग हँसाएको छ। तीमध्ये कुनै पनि सरकारी वा निजी अस्पतालका सञ्चालक वा व्यवस्थापकले यो अपिल पढेर ‘ए एनएमएले अपिल गरेछ, अब हाम्रा डाक्टरलाई कसरी छुट्टी मिलाउने होला’ भनेर एकपटक पनि सोचेको भए आठौं आश्चर्य हुनेछ।
अपिलमा उल्लेख गरे जस्तो डाक्टरहरुको व्यस्त र ‘मोनोटोनस’ जिन्दगीप्रति र यसले गर्दा बिरामीको उपचारमा पर्न सक्ने असरप्रति साँच्चै एनएमए गम्भीर छ भने लागू भएर छाड्छ यो। यसमा केही गृहकार्य पक्कै गरेको हुनुपर्छ। औपचारिक रुपमा एउटा अपिल छापेर सस्तो लोकप्रियता खोजेको नहोस्। वैशाख आउन धेरै दिन बाँकी छैनन्। यो अपिलप्रति संघ र स्वास्थ्य संस्थाहरु कत्तिको गम्भीर छन्? चाँडै देख्न पाइएला।

अपिल आएको भोलिपल्ट (चैत्र १७ गते ) एक राष्ट्रिय दैनिक पत्रिकाको अग्रपृष्ठमा कार्टुन सहितको समाचार छापियो, ‘डाक्टर लखतरान’ शिर्षकमा। स्वास्थ्य र स्वास्थ्यकर्मीको समस्यालाई लिएर लेखिएको समाचारले कहलिएको राष्ट्रिय दैनिकको मुख्य पेजमा स्थान पाएको थियो । यो राम्रो कुरा पनि हो। अपिलमा सबै कुरा समेट्न नसकिने हुँदा अपिलकर्ताले समाचारमा खुलाएका होलान् भन्ने आशा थियो। समस्याको विश्लेषण र समाधानका उपाय पत्रिका मार्फत् प्रस्तुत गरे होलान् भनेर पढ्दै गएँ तर अपेक्षित कुरा भेटिनँ।

डाक्टरहरुको निरन्तरको तनावपूर्ण व्यस्तताले उनीहरुको व्यक्तिगत स्वास्थ्य र पारिवारिक जीवनमा त असर पार्छ नै यसरी थकित शरीर र मन लिएर काम गर्दा बिरामीको स्वास्थ्योपचारमा पनि गल्ती हुने खतरा बढेर जान्छ। त्यसोभने किन यसरी आफ्नो स्वास्थ्य र परिवारलाई नै नहेरी मरेर काम गर्छन् त डाक्टरहरु? पैसाको लोभ? के यही मात्र कारण हो त? त्यसोभए किन यति लोभ गर्छन् त डाक्टर? के उनीहरु आम नेपाली जत्तिकै लोभी हुन्? कि त्यो केही बढी लोभी हुन् त? केले गर्दा उनीहरुमा यस्तो व्यवहार देखियो होला?

समाचारमा डाक्टर ‘पैसा पैसा पैसा’ भन्छन् भनेर भनिए पनि लोभले मात्र यो व्यवहार देखिएको हो जस्तो मलाई लाग्दैन। समाचारमै भनिएको छ, ‘करोड रुपैयाँभन्दा बढी खर्च गरेर विशेषज्ञता हासिल गरेका डाक्टरको सरकारी तलब जोड्ने हो भने जिन्दगीभरी पनि त्यति कमिँदैन। कामअनुसारको प्रोत्साहन समेत छैन। त्यही कारण उनीहरू पैसाका लागि पनि खटेको खट्यै गर्नुपर्ने अवस्था छ।’ त्यसैले आफ्नो स्वास्थ्य र परिवारलाई नै पाखा लाएर मरिहत्ते काम गर्ने डाक्टरहरु धेरैजसो लोभले ग्रसित भन्दा नि बाध्यताले पीडित हुन् जस्तो लाग्छ।

सरकारी डाक्टरहरुको तलब स्केल न्यून छ, पढाईमा लागेको खर्च, परिवार पाल्ने हो भने त्यो सुख्खा तलबले पुग्दै पुग्दैन। प्राइभेट प्राक्टिस गर्नैपर्ने हुन्छ। प्राइभेट प्राक्टिसमा पनि भने जस्तो सजिलो पक्कै छैन। दैनिक यति मात्रै बिरामी हेर्न पाउने वा यति घण्टा मात्रै बिरामी हेर्न पाउने भन्ने कडा नियमको अभावमा नयाँ डाक्टरलाई प्रतिस्पर्धामा टिक्नै गार्हो छ। भ्याए पनि नभ्याए पनि, राम्ररी समय दिए पनि नदिए पनि, बिरामीहरु पनि नाम चलेको पुरानै डाक्टरकोमा देखाउन जाने फेसनै छ। यसले स्थापित डाक्टररुको कमाइ त राम्रो होला तर उनीहरुको व्यस्तता धान्नै नसकिने गरेर बढेर जान्छ र आशा गरिए जति डाक्टरबाट समय र सेवा नपाउँदा बिरामीहरुको असन्तुष्टी पनि बढेर जान्छ। यसो भन्दा नयाँ डाक्टरले पुराना स्थापित डाक्टरहरुको आरिस गरेको जस्तो देखिएला तर मेरो उद्देश्य बिरामीहरुले चित्तबुझ्दो उपचार, कन्सल्टेसनमा डाक्टरहरुको पर्याप्त समय पाउन् र डाक्टरहरु आफूले पनि आराम पाउन् भन्नु मात्रै हो। यसको लागि एउटा डाक्टरले दिनमा यति घण्टा प्राइभेट प्राक्टिस गर्न पाउने, एउटा बिरामीलाई लगभग यति समय दिनुपर्ने भन्ने मापदण्ड बनाइनुपर्छ। सातामा एक दिन अनिवार्य विदा लिने अपिल सुन्दा कर्णप्रिय लागे पनि त्यति व्यवहारिक भने देखिदैन।

खासमा यो निर्णय कस्ता डाक्टरका लागि भन्ने कुरा नै स्पष्ट छैन। मेडिकल अफिसरका लागि वा कन्सल्टेन्टका लागि वा एमडी गरिरहेका रेजिडेन्टहरुका लागि? सरकारी डाक्टरहरुका लागि वा प्राइभेट मात्र गरिरहेकाहरुका लागि पनि? वा एनएमएका सदस्य डाक्टरहरुका लागि मात्र? सबैका लागि भनेर सजिलो जवाफ दिन सकिएला तर त्यो अनुसार लागू गर्न धेरै गाह्रो छ। जागिरे मेडिकल अफिसर र कन्सल्टेन्टले त नियमले पनि एक दिन बिदा पाइरहेका हुन्छन् नै (कागजी रुपमा भए पनि) तर एमडी रेजिडेन्ट, जसले मेडिकल कलेजहरु चलाइरहेका हुन्छन्, उनीहरु पढाईको त नाममा गधा जसरी पेलिएका हुन्छन्। यो डिपार्टमेन्ट र कलेज अनुसार केही फरक होला तर व्यस्त हुने ठाउँमा आज बिहान ८ बजे शुरु भएको ड्युटी भोली बेलुका ३–४ बजे बल्ल सकिन्छ, लगभग ३०–३२ घण्टे ड्युटी हुन्छ। त्यसपछि पर्सिपल्ट फेरि बिहान ८ बजे हाजिर हुन पुग्नुपर्छ। विकसित देशमा त यो खालको अमानवीय शैलीको पेलाइमा परिवर्तन आइसकेको छ तर हाम्रो र हाम्रा छिमेकी देशहरुमा यो अझै बाँकी छ। के एनएमएको अपिलले रेजिडेन्टहरुलाई ड्युटीमा खटाइने यो शैलीलाई पनि सम्बोधन गरेको हो? कि एनएमएका लागि एमडी रेजिडेन्टहरु डाक्टर नै होइनन्। अनि तिनले हेर्ने बिरामीको स्वास्थ्यप्रति ऊ गम्भीर नै छैन? तर, एमडी रेजिडेन्टहरुको ड्युटीको समयलाई तलमाथि गर्न अपिलले मात्र पुग्दैन। कलेज र विश्वविद्यालयसँग बहस नगरी हाललाई यो सम्भव छैन भन्दा हुन्छ।

मेडिकल अफिसरहरुको हकमा धेरैजसो सरकारी अस्पतालमा पर्याप्त मात्रामा डाक्टर नभएकाले नाइट ड्युटी गरेपछि बिदा बस्न नपाइने अवस्था छ। साथै धेरैजसो स–साना पोलिक्लिनिक भनेर खोलिएका केही बेड सहितका औषधि पसलहरुले डाक्टरलाई राम्रै तलब दिएर २४ घण्टा ७ दिन ड्युटी भनेर पनि खटाएको हुन्छ। यो अपिलले यस्ता जागिरहरुलाई कसरी सम्बोधन गर्ला त?

कन्सल्टेन्टको हकमा पनि केही अन्यौल छ। जस्तै अनकल ड्युटीलाई ड्युटी मान्ने कि नमान्ने? त्यो ड्युटी गरेपछि उसले अर्को दिन बिदा पाउने कि नपाउने? बिदा पायो भने त्यसैलाई उसको एकदिने छुट्टीमा गन्ने कि नगन्ने? कि अर्को दिन फेरि छुट्टी बस्नुपर्ने हो? यो एक दिने छुट्टीको नियम नै बनाएर लगाइयो भने सबैभन्दा बढी असर गर्ने भनेको धेरै व्यस्त रहने प्रख्यात सिनियर डाक्टरहरुलाई नै हो र उनीहरुले यो कुरा सजिलै मान्छन् जस्तो लाग्दैन। हेरौं एनएमएले आफ्नो यो अपिललाई कसरी कहाँसम्म बोकेर लैजान सक्छ?

सरकारीमा मात्र वा प्राइभेटमा मात्र काम गर्ने डाक्टरमा यो नियम लगाउन सजिलो होला (मानिदिए भने) तर सरकारी र प्राइभेट दुवैमा काम गर्ने डाक्टरहरु(धेरैजसो यही समूहमा पर्छन्)को हकमा भने यो गाह्रो देखिन्छ। जस्तो सरकारी डाक्टरले आइतबारदेखि शुक्रवारसम्म त सरकारी अस्पतालको ओपिडीमा काम गरेको हुन्छ। अब त्यसको मतलब शनिवार ऊ छुट्टीमा बस्नुपर्यो। अर्थात् धेरैजसो डाक्टर शनिबार छुट्टी बस्नुपर्ने हुन्छ। त्यसो हो भने त शनिबार प्राइभेट क्लिनिकहरु बन्द गर्नुपर्ने हुन्छ। जुन असम्भव कुरा हो। एनएमएले त्यसो गर्न खोजेको पनि पक्कै होइन होला। त्यसो भए उसले यो लिनैपर्ने एक दिने छुट्टीको नियमलाई कसरी लागू गर्ने भनेर सोचेको छ त?

यसको अर्को मुख्य समस्या भनेको यसले समस्याको गुदीलाई सम्बोधन गर्दैन। मात्र बाहिरी खोल टल्काउने काम गर्छ। डाक्टरहरु यसरी मरिहत्ते गरेर काम गर्नुको एउटा मुख्य कारण थोरै तलब हो। एक त महंगो र लामो पढाई (एमबीबीएस, एमडी, डिएम सबै) अनि अर्काेतर पढाई सकेपछिको तलब पनि चित्तबुझ्दो नहुने (स्कुल, प्लसटुका सँगैका मेडिसिन नपढेका साथीहरुले आफूले एमबीबीएस भ्याउँदा मास्टर्स सकिसकेर जागिर वा व्यापार शुरु गरिसकेको हुन्छन्)। अनि परिवारको उत्तरदायित्व, समाजले आफूप्रति हेर्ने दृष्टिकोण आदि कुराको सन्तुलन मिलाउन धेरै गाह्रो पर्छ। यस्तोमा उसलाई पढाइको बेला लागेको लगानी उठाउन (ऋण पनि हुनसक्छ), नयाँ बनेको स्टाटस मेन्टेन गर्न, पारिवारिक जिम्मेवारी पूरा गर्न नैतिक दवाव पर्छ। शायद यसैले ऊ सबै बिर्सेर पैसा कमाउन लागिपर्छ। पुराना नाम चलेकाहरुका हकमा भने बजारमा आफ्नो बढेको मागलाई सम्बोधन गर्नैपर्ने भन्ने दवाव वा गरिएन भने भोलि आफ्नै बजारमा असर गर्ला कि भन्ने डर हुन्छ, सायद। त्यसैले छोड्न सक्दैनन् र आएका जति सबैलाई हेर्ने गर्छन्। केहीमा आएको लक्ष्मी किन छोड्ने भन्ने लोभ त हुन्छ नै, आखिर मान्छे नै हुन्।

समस्याको यो भित्री पाटोलाई सम्बोधन नगरी जबरजस्ती एक दिने छुट्टी भनेर आइरहेको कमाइ काट्ने नियम लगाइयो भने राम्रै सोचेर ल्याइएको भएपनि शायदै कसैले मान्छन् होला।

आफ्ना डाक्टरहरुको समस्यालाई मनन गर्नु, बिरामीको उपचारप्रति गम्भिर हुनु सकरात्मक कुरा हो। मुद्दा सही उठाइएको हो। रातभर नाइटबस चलाउने ड्राइभरले त दिउसो सुत्न पाउँछ किनकी निद्रा नपुग्या ड्राइभरले बस चलाउँदा दुर्घटना हुने सम्भावना बढ्छ रे। त्यसो हो भने रातभर ड्युटी गरेको डाक्टरले अर्को दिनभर बिरामी हेर्दा वा बिना आराम हरेक दिन १ सय भन्दा बिरामी हेर्दाचाहिँ गल्ती, दुर्घटना हुने सम्भावना बढ्नु स्वाभाविक हो।  तर, यसको समाधान भनेर यस्तो हल्का खालको अपिल गर्नुको साटो गृहकार्य गरेर कसरी यो कम गर्न सकिन्छ भनेर वैचारिक मन्थन गरेको भए हुन्थ्यो।

जस्तो कि डाक्टरहरुको तलब बढाउनलाई दवाव दिने, तलव बढाउनलाई के समस्या हो? बरु तालिमहरुका अनावश्यक भत्ताहरु काटेर पो तलव बढाउन सकिन्छ कि? एक दिने छुट्टीको साटो एक हप्तामा निश्चित घण्टामात्र (प्राइभेट र सरकारी दुवै गरी) बिरामी जाँच्न पाउने, एउटा बिरामीलाई निश्चित समय दिनुपर्ने, कसले कति समय काम गरिरहेको छ भन्ने रेकर्ड राख्ने संयन्त्र बनाउने आदि। साथै मेडिकल शिक्षामा राज्यले लगानी गरेर कसरी सस्तो र सकेसम्म निःशुल्क बनाउन सकिन्छ भनेर छलफल गर्न सकिन्छ। किनकी कुनै पनि क्षेत्रमा आफ्नो लाखौंको लगानी लगाएपछि प्रतिफल आउने बेलामा त्यो व्याज सहित असुल गर्न खोज्नु त साधारण मानवीय व्यवहार हो।

पढ्ने बेलामा लाखौं खर्च भएको चाहिँ नदेख्ने अनि पछि चिकित्सकिय धर्म भित्रै रहेर पनि कमाउन खोज्दा पनि ‘समाजसेवा गर’, ‘डाक्टर भएर पैसाको लोभ गर्ने!’ भनेर आँखा तरेर हेर्ने दोहोरो चरित्रको हाम्रो समाजको सोच बारे पनि मन्थन हुनु जरुरी छ। यसो नगरिए यो एउटा अपिल मात्र बन्नेछ र नियम नै बनाएर लगाइए पनि धेरै डाक्टरहरुले यसलाई मान्ने छैनन्। नेपालका अन्य धेरै नियमहरु जस्तै यो पनि कागजमा मात्र सजिएर बस्ने निश्चित छ।

यो लेख २०७२ चैत्र २६ गती 'स्वास्थ्यखबर पत्रीका' मा छापिएको थियो।
बाँकी पढ्नुहोस् >>