Saturday, December 8, 2012

के डक्टरले विरामी बचाउने मात्रै गर्छन् त?


 प्रश्न सुनेर अचम्म लाग्नसक्छकस्तो खालको कुरा गरेको भनेर रिस उठ्न सक्छ। खासमा यो कुरा मेरो मनमा केही दिनअघिको घटनाले उब्जिएको हो। सिओपीडी(COPD) को अन्तिम चरणमा पुगेर मुटुमा पनि असर गरिसकेको एकजना विरामीलाई मुखबाट कृत्रिम श्वासप्रश्वास गराइरहेको थियो। सुधारको खासै सम्भावना थिएन, त्यसमाथी विरामीको छोराले आफ्नो पैसा सबै सकिएको र अब अरु उपचार गराउन नसक्ने भनेर भने। त्यो निर्णय लिन र त्यसको मन्जुरिनामामा सही गर्न उसलाई कम्ता गार्हो भएको थिएन। तर अरु केही विकल्प नै थिएन। जीवनले बेलाबेला कठोर निर्णय लिन वाध्य बनाउछ। आखिरमा लेफ्ट अगेन्स्ट मेडिकल एड्भाइस (Left Against Medical Advice/ LAMA) मा उनिहरुले विरामी घर लाने भए। र मैले विरामीसँगसंगै एम्बुलेन्ससम्म पुगेर उसको मुखबाट श्वासनलीमा छिराएको पाइप निकालेर कृत्रिम श्वासप्रकृया बन्द गरिदिएर मास्कबाट अक्सिजन जोडी विदा गरिदिए।

  कतीलाई यो कुरा आपत्तिजनक लाग्नसक्छ। कतीले यो कुरालाई हत्यासँग नि जोड्नुहोला। कतीलाई यो कुरा मानवता, चिकित्सा विज्ञानको विरुद्धको कुरा जस्तो लाग्नसक्छ। डक्टर भएर त विरामी बचाउने पो हो, लगभग अन्तिम श्वास लिईरहेको मान्छेको त्यही एउटा बाटो नि बन्द गरिदिने, कस्तो कठोर मन रहेछ भन्ने लाग्नसक्छ। विचार आफ्नोआफ्नो हो। भावनामा बग्दा, इमोसनल मात्रै हुँदा त्यस्तो लाग्न सक्छ। तर एक पटक व्यवहारिक भएर पनि सोचौं त।

  हिप्पोक्रेटिक ओथमा एउटा कुरा के भनिएको छ भने मैले आफ्नो चिकित्साज्ञानलाई विरामीको फाईदा, भलाईको लागि प्रयोग गर्छु तर व्यर्थको अनावश्यक उपचार (Over treatment) गर्दिन र निराशावादी सोच (Medical Nihilism) पनि राख्दिन। अर्थात ति दुई बीच सन्तुलन राख्दै विरामीको उपचार गर्छु।"
 
  यो वाक्यले माथि भनिएको जस्तो अवस्थालाई इंगित गर्न खोजेको हो। उपचार गर्ने भनेर विरामीलाई फाईदा नहुने अवस्थामा पनि जबरजस्ती ठुलो अप्रेसन गर्ने, अर्थहिन उपचार पद्धती प्रयोग गर्ने गर्नुहुँदैन। ८०-९० वर्षको मुटु, म्रिगौलाको रोग भ'को बुढो मान्छेको दिमागमा रगत बगेको अवस्थामा के तपाईं टाउकोको अप्रेसन गरेर रगत निकाल्ने सल्लाह दिनुहुन्छ? यस्तो बेलामा त्यस्तो सघन उपचारको केही अर्थ रहदैन। हिप्पोक्रेटिक ओथले यस्तो बेलामा विरामीको अवस्था हेर्दै विरामीको परिवारको विचार, निर्णय अनुसार काम गर्नु भनेर भन्छ। हाम्रो देशमा प्राय: सबैको पैसाको समस्या रहने भएकोले यस्तो बेलामा अर्थहिन उपचार गरेर विरामीको कष्टकर अवस्था लम्ब्याएर एकातिर पैसा नि सकिने अर्कोतिर विरामी नि नरहने अवस्था गराइदिनुहुन्न। तर कतिखेरको अवस्था चाँही "अब आश नगर्दा हुन्छ" भनेर किटान गर्न सार्है गाह्रो हुन्छ। हुन त डक्टरले यस्मा आफ्नो व्यक्तिगत निर्णय गर्न पाउदैन। यो विरामी र उस्को परिवारको नितान्त व्यक्तिगत निर्णयको कुरा हो र डक्टरले यस्मा उनिहरुलाई एक्स्पर्ट ओपिनियन दिएर सहि निर्णय लिन सहयोग गरिदिने मात्रै हो।

  अर्को कुरा, एबोर्सनको बारेमा तपाईंहरुको के विचार छ? नेपालको कानुन अनुसार महिलाको व्यक्तिगत स्विक्रितीमा मात्रै १२ हफ्ता भन्दा कमका भ्रुणलाई फाल्न सकिन्छ। त्यसको लागि केही कारण चाहिदैन। त्यस्तै महिलाको स्वास्थ्यका कारणले बच्चा जन्म दिननसक्ने वा आमाको ज्यानै जान सक्ने भए कुनै पनि बेलामा गर्भको बच्चा फाल्न सकिन्छ। यसलाई पनि कसैले जीवनहत्यासंगै तुलना गर्छन्। यस्मा नि विचार आफ्नोआफ्नो हो। कसैले जीवन शुक्रकिट र डिम्ब मिलेर जाइगोट बन्ने बित्तिकै सुरु हुन्छ भन्छन्, कसैले बाहिर निकाल्दा आँफै बाँच्न सक्ने उमेरको नभैकन भ्रुण एउटा जीवन होइन भन्छ्न्। तर गर्भवती महिलालाई हेरिरहेको डक्टरका लागी पहिलो प्राथमिकता भनेको सो महिला नै हुन्छ र उस्को स्वास्थ्यको फाईदा, ज्यान जोगाउनका लागि गरिने कुनै पनि कार्यलाई हिप्पोक्रेटिक ओथले समर्थन गर्छ भन्ने मलाई लाग्छ। नोट: माथिको फोटो मैले एबोर्सन गरेकोहरु मध्येको एउटा भ्रुणको हो।    

  फेरी शिर्षक प्रश्नकै कुरा गरौँ। ठ्याक्कै भन्दा डक्टरले विरामी बचाउने होइन कि विरामीको रोग, समस्या कम गर्ने वा गर्न प्रयास गर्ने हो। यस्मा सधैं रोग निको पार्न सकिन्छ भन्ने हुँदैन। फैलिसकेका क्यान्सर जस्ता रोगहरुमा ठुलाठुला अप्रेसन गरेर विरामीलाई अनावश्यक दु:ख दिनु भन्दा बचेँको समय कसरी कम कष्टकर बनाउन सकिन्छ भन्नेमा डक्टरले विरामी र उस्को परिवारसँग छलफल गर्नुपर्छ। उमेर पुगेको, हार्ट अट्याकले मुटुको धेरै भाग मरीसकेको अनी मुटुले १०-१५% मात्र काम गरिरहेको विरामिलाई छाती थिचिथिची सिपिआर गर्नुको कुनै अर्थ रहदैन। मेरो व्यक्तिगत विचार सोध्नुहुन्छ भने त्यस्तो बेलामा सजिलो, शान्त तरिकाले जीवनको अन्त्य हुन दिनुपर्छ। तर यो मेरो व्यक्तिगत विचार हो। विरामिको उपचारमा मैले आफ्नो व्यक्तिगत विचार अरुको जीवनमा लाद्न पाउदिन। विरामीको आफ्नो र उस्को नजिकको आफन्तको निर्णय अनुसार हामीले विरामीको उपचार गर्नुपर्ने हुन्छ।

  विश्वका केही देशहरुमा युथेनासिया/ Euthanasia अर्थात् मर्सी किलिङ/ Mercy Killing लाई कानुनले मान्यता दिएको छ। यो भन्नाले ठीक नहुने रोग लागेको, अन्तिम अवस्थाको क्यान्सर भएको वा प्यारालाइसिस वा अरु कुनै कारणले जीवन जिउन अती नै गार्हो भएको जस्ता अवस्थाहरुमा सम्पूर्ण कुराको जानकारी लिई कानुनीरुपमा डक्टरको सहयोगमा जीवनको अन्त्य गर्नु हो। यो अती नै जटिल कुरा भएकोले यस्का बारेमा धेरै लेख्न चाहन्न। ह्रितिक रोशन अभिनित फिल्म गुजारिश हेर्नुभयो भने पनि यसबारे धेरै थाहा हुन्छ।
  
  अन्त्यमा यती मात्रै भन्न चाहन्छु कि हामी चिकित्सकहरु सबैखालको विरामीहरु, सबै खालका रोगहरुसँग संगत गर्नुपर्ने भएकोले सबैलाई ठीक गरिदिन्छु, सबैलाई बचाउछु भन्न सम्भव हुँदैन। हामीले गर्ने भनेको आफ्ना विरामिलाई सकेसम्म सजिलो बनाउने हो, कहिले त्यो रोग निको बनाएर हुन्छ, कहिले बचेँको आयु विना अफ्ठ्यारो कटोस् भनेर औषधी दिएर हुन्छ भने कहिले विरामी वा परिवारको अनुरोधमा जीवनलाई थेगिरहेका आधारहरु हटाएर लामो यात्रालाई सजिलो बनाएर। तर जहिले नि हाम्रो प्राथमिकता भनेको आफ्नो विरामीको भलो नै हुन्छ। 

बाँकी पढ्नुहोस् >>

Wednesday, November 7, 2012

अंकमा अडिएका जीवनहरु (Lives defined by Numbers)

   डाक्टरहरुमा संवेदनाको कमि हुन्छ, विरामीका कुराभन्दा पनि रिपोर्टका कुरा बढि सुन्छन् भन्ने आरोप त लाग्दैगरेको हो। मैले देखेका कैयौं साथीहरु, सिनियरहरु पनि त्यस्ता नभएका होइनन्, तर कहिलेकाहीं अवस्था नै त्यस्तो हुँदोरहेछ। चाहेर पनि केही गर्न नसकिने वातावरण हुँदोरहेछ। एक महिने एन आइ सि यु (NICU) बसाईंले मलाई त्यही कुरा सिकाइदियो।


       एनआइसियु अर्थात् नियोनेटल इन्टेन्सिभ केयर युनिट (Neonatal Intensive Care Unit) अर्थात् एक महिनाभन्दा कम उमेरका शिशुहरुलाई राखिने सघन उपचार कक्ष, अझ प्राय: त भर्खर जन्मिएका बच्चाहरु नै राखिएका हुन्छन्। विरामीसँग बोलिरहने बानी भएको मलाई त्यहाँको पोस्टिङका शुरुका दिनमा अफ्ठ्यारो महसुस भयो। सबै विरामी भर्खर जन्मिएका कि १०-१२ दिन भन्दा बढि नभएका, हेर्दा सबै उस्तै लाग्ने, मलाई यस्तो भयो उस्तो भयो भन्ने त कुरै भएन, सबै रुने मात्र। मलाई त कहाँकहाँ आइपुगे जस्तो पो लाग्यो। सबैका समस्या पनि फेरी लगभग उस्तै लाग्ने। सास छिटो छिटो फेरेको, बच्चा जन्मिनु भन्दा धेरै पहिलेदेखि नै आमाको पानी बगेको, बच्चाले दूध राम्ररी नचुसेको आदि आदि।

       ठुलो मान्छेमा भए त के भएको हो, के समस्या छ भनेर सोधेर पनि केही पत्ता लगाउन सकिन्थ्यो नि, ती २-३ किलोका बच्चाले त आफ्नो अनुसार जे नभएपनि रोइदिने मात्र, भोक लागेपनि रोएकै छ, दिसापिसाब गरेपनि रोएकै छ, रोगका कारण गाह्रो परेपनि रोएकैछ। के भएको हो छुट्याउनै गाह्रों पर्ने। अनि त बच्चा पेटमा हुँदाको कुरा, जन्मदाको कुरा, बच्चामा देखिएका साधारण समस्याहरुमै भर पर्नुपर्ने। र रिपोर्टमा आएका अंकहरु, बच्चाको शरीरमा जोडीएका विभिन्न मेसिनका स्क्रिनहरुमा देखिएका नम्बरहरुलाई नै सम्पूर्ण उपचारको आधार मान्नुपर्ने।

       बच्चाको सासको गति यति छ, मुटुको धड्कन यति छ, प्रेसर यति छ, रगतमा ग्लुकोजको मात्रा यति छ, २४ घण्टामा यति पटक दिसापिसाब गर्यो आदि जस्ता अंकहरुमा नै हामीले भरपर्नु पर्ने रहेछ। मलाई यस्तो भयो उस्तो भयो, गाह्रों भयो, च्याप्यो भनेर बच्चाले भन्ने होइन, ती सबै मेसिनका स्क्रिनमा देखिएका नम्बरहरुले बताउने रहेछ। ती मेसिनहरुले विरामी बच्चाहरु र उपचार गर्ने स्वास्थ्यकर्मीहरुको बीच ल्याङग्वेज ट्रान्सलेटर वा मध्यस्थकर्ताको भुमिका निभाएको जस्तो लाग्ने।

       आफ्नो विरामीसँग बोल्न नपाउँदा कस्तो कस्तो लाग्दोरहेछ, एउटा शुन्यता जस्तो। हुन त बच्चाका आमाबुवासँग नबोलिने होइन, मौका पर्दा ती अबोध शिशुहरुसँग पनि आफ्नै तालमा बच्चा बनेर नबोलिने होइन, तैपनि विरामी बच्चा र मैले एकअर्कालाई बुझ्न नसकेको जस्तो लागिरह्यो, शायद बानी नपरेकोले होला। तैपनि बच्चाका आमाबुवा र अन्य आफन्तहरुसँग बच्चाको स्थितिका बारेमा कुराकानी गरेर भएपनि त्यो शुन्यतालाई कम गर्ने, कम्युनिकेसन ग्यापलाई कम गर्ने सक्दो कोशिश भने गरियो। महिनाको अन्तसम्ममा बच्चाहरुको रुवाइलाई केही भने नि बुझ्ने, उनिहरुको समस्याबारे बोलिरहेका अंकहरुलाई अर्थ्याउन सकिने भइयो। मलाई यो नयाँ भाषा सिक्न सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद।।


       अन्त्यमा, यस्तो शुन्यताका बावजुद पनि भर्खरका बच्चाहरुको हरेक रुवाई बुझेर, अर्थ्याएर त्यसै अनुसार पुर्याउन सक्दो प्रयास गर्ने, स्क्रिनमा देखिएका अंकहरुले बोलेको बच्चाको भाषा बुझी उपचार गर्ने र अंकमा अडिएका जीवनहरुलाई स्वस्थ बनाई आमाको काखमा फिर्ता पठाउन सहयोग गर्ने एन आइ सि यु का सबै स्वास्थ्यकर्मी (डाक्टर, नर्स)हरु र अरु सहयोगीहरुलाई मेरो सलाम।।


बाँकी पढ्नुहोस् >>

Wednesday, October 10, 2012

युवावस्थामा हृदयघात(Heart attack in Youngs) बढेकै हो त?


न्युज24का टिभी जर्नालिस्ट तारा रेग्मीको २७वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि युवाहरुमा यसको प्रकोप बढ्न लागेको हो त भन्ने प्रश्न फेरी एकपटक उठेको छ। फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालहरुमा यसप्रति चिन्ता र बहस पनि चलेको छ। जुन एक हिसाबले राम्रो पनि हो। नत्र सामाजिक संजालका साइटहरुमा स्वास्थ्यका कुरा बिरलै हुने गर्छन्। 'युवावस्थामै हृदयघात'को चर्चा इन्द्र लोहनी र शौभाग्यजंग शाहको निधनको बेला पनि चलेको थियो।

मेडिकल भाषामा ४५वर्षभन्दा कम उमेरमा हृदयघात भएमा युवावस्थामा भएको हृदयघात भनिन्छ।

के साँच्चै हृदयघात युवाहरुतिर पल्केको हो त?
हुनसक्छ। अध्ययन-अनुसन्धान विना यकिनका साथ भन्न त गाह्रों छ तर हृदयघातको सम्भावना बढाउने जीवनशैली हिजोआजका युवाहरुले बढि अपनाउन थालेका हुनाले यसको प्रकोप युवाहरुतिर सरेको छैन वा नसर्ला भन्न सकिदैंन।

यसका लागि किन हृदयघात हुन्छ भन्ने जान्नु जरुरी छ। 
हृदयघात भनेको मुटुको मांसपेशी मासुलाई अक्सिजन, ग्लुकोज पुर्याउने रगत बोकेको रक्तनली(coronary arteries)हरुमा केही कारणले अवरोध पुगेर मुटुको मांसपेशी मर्ने रोग हो। याद राख्नुहोला, मरेको कुरालाई जिउँदो बनाउन सकिदैंन, भन्नुको मतलब हृदयघात भैसकेपछि मुटु कहिल्यै पहिलेको जस्तो हुदैंन। रक्तनलीहरुमा अवरोध पुग्ने वा साधुँरो हुने प्रमुख कारण भनेको त्यसका भित्री भागहरुमा बोसो जम्मा हुनु(Atherosclerosis)हो। र यो रगतमा बोसो वा चिल्लो पदार्थको मात्रा बढि हुन गएमा हुने गर्छ। साथै रक्तनलीका भित्री भित्ताहरुमा खराबी ल्याइ रगत जम्ने वा बोसो जम्ने अवस्था बनाएर फ्री रेडिकल(Free radical)जस्ता केमिकलहरुले पनि हृदयघात गराइरहेका हुन्छन्।

रगतमा त्यस्तो बोसो कहाँबाट आउँछ त? 
उत्तर सजिलो छ, हामीले खाने खानाबाट। खानामा हुने चिल्लो पदार्थ, कार्बोहाइडेट आदी चाहिने भन्दा बढि भएमा बोसोको रुपमा शरीरमा जम्मा भएर बस्छ। यसो भनेर बोसो हानिकारक मात्रै हुन्छ भन्ने होइन। एचडिएल/HDL स्वास्थ्यको लागि राम्रो मानिने बोसोको प्रकार हो। यसले रक्तनलीको भित्ताहरुमा जम्मा भएका बोसोहरुलाई सफा गर्ने काम गर्छ। त्यसैले यसको मात्रा बढि हुनु राम्रो मानिन्छ। एलडिएल/LDL, भिएलडिएल/VLDL जस्ता बोसोहरु भने निश्चित मात्रा भन्दा कम भएको स्वस्थकर हुन्छ। शरीरमा बोसो जम्मा हुने भनेको बिस्तारै र नियमित हुने प्रकृया हो, जुन बाल्यकालबाटै शुरु हुन थाल्छ र युवावस्था हुदैं प्रौढ उमेरमा पुग्दा धेरै नै बढि भएर मुटुका रक्तनलीहरु नै बन्द गराएर हृदयघात हुनेगर्छ। त्यसैले पनि प्रौढहरुमा यो समस्या बढि देखिन्छ। साथै बच्चा जन्माउने उमेरसमुहका महिलाहरुमा महिला हर्मोन इस्ट्रोजन र प्रोजेस्टेरोनले माथि भनिएका हानिकारक बोसोहरुको मात्रामा नियन्त्रण राख्ने काम गर्छन्, जसले गर्दा यो उमेर समुहका महिलाहरुमा हृदयघात कम देखिन्छ तर महिनावारी रोकिएपछि हर्मोनको मात्रा एक्कासी घट्ने भएकोले हृदयघातको सम्भावना उही उमेरका पुरुषको बराबरी नै हुन आउँछ।

मुटुका लागि हानिकारक जीवनशैली भनेको के हो?
१. नराम्रो चिल्लो पदार्थको बढि र राम्रो चिल्लो पदार्थको कम सेवन
नराम्रो चिल्लो पदार्थ भनेको जुन खाँदा शरीरमा हानिकारक बोसो एलडिएल, भिएलडिएलको मात्रा बढ्छ र राम्रो भनेको जुन खाँदा लाभदायक बोसो एचडिएलको मात्रा बढ्छ त्यो चिल्लो पदार्थ हो। प्राय: गरेर सामान्य कोठाको तापक्रममा तरल अवस्थामा रहने चिल्लो पदार्थहरुमा पोलीअनस्याचुरेटेड फ्याटीएसिड(PUFA)को मात्रा बढि हुन्छ जसको सेवनले एचडिएलको मात्रा बढ्न जान्छ अर्थात त्यस्तो चिल्लो पदार्थ शरीरको लागि राम्रो खालको मानिन्छ। जस्तै तोरीको तेल, ओलिभको तेल, सूर्यमुखीको तेल, भटमासको तेल आदि। त्यस्तै सामान्यतया जमेर बस्ने घ्यु, नौनी, चीज आदीमा स्चुरेटेड फ्याटीएसिड बढि हुन्छ जसले हानिकारक बोसोहरु एलडिएल, भिएलडिएलको मात्रा बढाउँछ। तैपनी वनस्पति घ्यु, जम्ने तेलमा बनाइने म:म, चाउमीन हाम्रो फेभरेट फुड बनेकै छ।
फलफूलहरुको सेवनले कोलेस्टेरोल, एलडीएलको मात्रा घटाऊनुका साथै फ्री रेडिकलहरुको उत्पादनमा कमि ल्याइ रक्तनलीहरु साघुरिने र बन्द हुने(Atherosclerosis)सम्भावनालाई घटाउँछ।

२. चुरोट सेवन गर्ने बानी
यो बानीले आजभोलिका युवा र टिनएजर पुस्तालाई पनि नराम्रोसँग गाँजेको छ। ९-१० क्लासमा पढ्ने केटाकेटीहरु मजाले चुरोटको धुँवा उडाइरहेको देख्नु कुनै नौलो कुरा होइन। चुरोटमा पाइने निकोटिन लगायतका कैयौ केमिकलहरुले फोक्सोमा त असर गर्छ नै शरीरमा कोलेस्टेरोल, एलडिएल, फ्री रेडिकलहरुको मात्रा बढाएर मुटु लगायतका अन्य रक्तनलीहरु बन्द गराएर हृदयघात र अरु थुप्रै रोगहरु गराउँछ। चुरोट खाने महिलाहरुमा महिला हर्मोनका कारणले मुटुलाई जुन सुरक्षा दिएको हुन्छ, त्यो कम भएको र युवा उमेरमै हृदयघातको सम्भावना बढेको देखिएको छ।

३. रक्सी तथा अन्य मादक पदार्थको सेवन
धेरैलाई अचम्म लाग्नसक्छ, सीमित मात्रामा रक्सीको सेवन मुटुको लागि लाभदायक भएको कुरा अनुसन्धानहरुमा देखिएको छ। तर प्राय: डाक्टरहरुले यो कुरा आफ्ना विरामीहरुलाई भन्दैनन् किनभने त्यसैपनि रक्सी खाइरहने मान्छेलाई यो कुराले झन खान प्रोत्साहन गर्छ र नखानेले पनि अलिअलि गरेर खान थालेर बानी पर्नसक्छ। तर अत्यधिक रक्सी सेवनले पनि शरीरमा हानिकारक बोसोहरुको मात्रा बढाउँछ। अर्को कुरा रक्सी तथा मादक पदार्थमा रक्सी, बियर, वाइन, तुम्बा, जाँड सबै खालका पर्छन्। कसैकसैले जाँड, तुम्बा पनि रक्सी हो र भन्ने गरेको सुनेको छु। लागुऔषधमा कोकिन सेवनले हृदयघात भएको धेरै युवाहरुमा देखिएको छ।

४. बाइक, कारको विलाशी जीवनशैली
मैले बाइक, कार चढ्ने सबैलाई विलाशी भन्न खोजेको होइन, परेको बेला चढ्नुपर्छ। तर आजभोली साइकल चढ्नु भनेको त गरीबी देखाउनु जस्तो भैसकेको छ। स्कुल पढ्ने केटाकेटीहरु पनि बाइक, स्कुटरमा आवतजावत गर्छन् भलै त्यो नजिकै किन नहोस्। नजिकै जानु परे पनि हामी बाइक निकालीहाल्छौं, कार निकालीहाल्छौं। अलिकति परिश्रम गरेर हिंड्ने हाम्रो बानी हराइसकेको छ, अलिकति पसिना बगाउन सकिने साइकल लोप नै हुने अवस्थामा पुगेको छ वा गरीबीको पहिचान बनेको छ र त्यसमा चढ्नु आफ्नो बेइज्जत ठान्ने मानसिकता बिकास हुदैं आएको छ। सार्वजनिक गाडिहरुमा पनि आफूले भनेको ठाँउमा ठ्याक्कै रोक्नुपर्छ हामीलाई, अलिकति अघिपछि भएमा थोरै हिंड्न पनि सक्दैनौ हामी। सानो दुरीमा पनि गाडी चढिहाल्नुपर्ने बानी बसेको छ हाम्रो। हफ्तामा ५-६ दिनजस्तो ३०मिनेट हरेक दिन हिंड्ने गरेमा मुटुको लागि राम्रो हुन्छ।

हृदयघात हुनबाट बच्न के गर्ने त?
माथि भनिएका मुटुका लागि हानिकारक जीवनशैली छोड्ने। यो भनेजस्तो सजिलो त पक्कै पनि छैन। म आफू र प्राय: डाक्टरहरु पनि यो जीवनशैलीबाट धेरै पर छैनौं। किनकी यो आजभोलिको आधुनिक जीवनशैली बनेका छ। तर परिवर्तनका लागि संकल्प त गर्न सकिन्छ, प्रयास त गर्न सकिन्छ नि।

यसो भनेर स्वस्थ जीवनशैली अपनाउने कसैलाई पनि मुटुको रोग नलाग्ने, हृदयघात नहुने र हानिकारक जीवनशैली अपनाउने चाँही सबैलाई रोग लाग्छ भन्न चाँहीं सकिदैंन। किनकी हृदयघात गराउन सक्ने कैयौं वंशानुगत अवस्था, रोगहरु(Familial HyperlipidemiaHomocysteinuria, Antiphospholipid syndrome etc), रक्तनलीका रोगहरु (Prinzmetal's angina) थाहा नपाइकन, विना लक्षण भैरहेको हुनसक्छ र एक्कासी हृदयघात हुने र मृत्यु हुने अवस्थामा पुग्ने पनि हुनसक्छ।

शुरुमा भनिएका सार्वजनिक छविका व्यक्तिहरुले पनि आधुनिक भनिएको जीवनशैलीको कारणले युवाहरुतिर पल्केको हृदयघातको कारणले ज्यान गुमाउनु परेको हो वा उनीहरुलाई पहिलेदेखि नै कुनै हृदयघातको सम्भावना बढाउने अवस्थाहरु थिए यसै भन्न गाह्रों छ। यो मैले किन भनेको भन्दा युवाहरुमा हृदयघातको सम्भावना बढ्दै गएको हुनसक्छ तर सार्वजनिक छवीका व्यक्तिहरुलाई हृदयघात हुँदा, भलै त्यो अन्य व्यक्तिगत शारीरिक अवस्था, रिस्कका कारणले भएको किन नहोस्, त्यसले जनमानसमा चेतना जगाउने, डरकै कारणले भए नि त्यस बारे जान्ने उत्सुकता जगाउने काम भने गर्छ।

अन्तमा, पत्रकार तारा रेग्मीप्रती श्रदान्जली।

बाँकी पढ्नुहोस् >>

Tuesday, October 9, 2012

मानसिक रोग (लक्षण, प्रकार तथा उपचार) - १


विश्व मानसिक स्वास्थ्य दिवस: १० अक्टोवर २०१२ 

विश्वका मानसिक रोगीहरुको संख्या बढ्दो छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार करिब २५% मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पिडीत छन् । मानसिक रोगलाई हाल 'मनोरोग' भनिन्छ । मनोरोग अन्तर्गत अति सामान्य समस्या 'टेन्सन हेड्याक' Tension Headache देखि अति कडारोग सिजोफ्रेनिया Schizophrenia सम्म पर्दछ । विश्वमा करीब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पिडीत छन्। विश्वका १० खतरनाक रोग, जसले मानिसको दैनिक कृयाकलापमा असर गर्छ, जसमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुन्छ । तिनीहरु डिप्रेसन, मेनिया Mania, सिजोफ्रेनिया, दुर्व्यसनी र डिमेन्सिया पर्दछन् । डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो । नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ । साइक्याट्रिस्ट/मनोरोग विशेषज्ञ, साइक्याट्रिक नर्स, साइकोलोजिष्ट र सामाजिक कार्यकर्ता मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन् । नेपालमा मनोरोगीका बिरामी मेन्टल अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र प्राइभेट नर्सिङहोममा उपचार हुने गरेको छ । केही गैरसरकारी संस्थापनि मानसिक रोगको उपचार गर्न सहयोग गर्दै आएका छन् ।

मानसिक रोग अति सामान्यदेखि निको पार्न कठिन हुने सम्मका हुन्छन् । सामान्य खालका मनोवैज्ञानिक समस्या २५-३०% सम्म मानिसको जीवनमा विभिन्न समयमा पाईन्छ । खासगरी मानिसमा परेको समस्यासंग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ । तर वंशानुगत रुपमा पनि मानसिक रोग लाग्ने संभावना देखिन्छ । मिहनेत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाई नगर्ने, लागु पदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरुलाई बाँड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम रहन्छ ।

मानसिक रोग कस्ता कस्ता हुन्छन्?
क) सामान्य खालका मानसिक रोग:
Anxiety Disorder/डर लाग्ने समस्या- मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ। जुन औषधी सेवन र साइकोथेरापी गरे निको हुन्छ।
Conversion-dissociative Disorder/कनभर्सन डिसोसिएटिभ डिसअर्डर- अचानक हातखुट्टा नचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने (एउटा अर्को भई बोल्ने), काम्ने, बिर्सने आदि लक्षण लिई यस्ता बिरामी अस्पताल आउँछ्न।
Headache/टाउको दुखने समस्या- मानिसमा टाउको दुख्ने समस्या बढ्दो छ। खासगरी टेन्सन हेड्याक, माइग्रेन आदी बिरामीहरु निकै लामो समस्या लिएर आउँछन्।
Child psychological problems/बालबालीकामा देखिने मनोवैज्ञानिक समस्या- बालबालीकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने, एक्लै बस्ने आदी समस्या पाईन्छ। साथै बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लक्षण लिई देखापर्छ ।
Somatisation Disorder/सोमोटाइजेशन डिसअर्डर- यो यस्तो रोग हो जसमा शरीरका विभिन्न अंगका vague symptomहरु लिएर बिरामी आउछन्, जस्तै टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि। मानिसहरु विभिन्न डाक्टरकहाँ उपचारार्थ पुग्दछन्। तैपनि आफ्नो समस्या निको भएको महसुस गर्दैनन्। विभिन्न ल्याव परीक्षण गराउँदा पनि कुनै खराबी देखिदैन, जुन साइकोलोजिकल कारणले भएको उनीहरुलाई थाहानै हुँदैन। कहिलेकाहीँ विरामीहरु आफूलाई क्यान्सर भएको, एड्स भएको शंका गरी अस्पताल आउँछन्।
Postpartum psychotic disorder/बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग- महिलाहरु बच्चा जन्माएपछि आफूलाई मानसिक असन्तुलन भएको, डिप्रेसन भएको महसुस गर्दछन्। यस्तो रोग उपचारपछि पूर्णरुपमा निको हुन्छ।
Sleep disorder/निद्राको समस्या- मानिसमा निदाउन गाह्रो हुने, निद्रामा डराउने,निद्रामा हिंड्ने समस्या पाईन्छ, जुन उपचार गरे निको हुन्छ।

ख) मध्यम खालका मानसिक रोग:
Depression/डिप्रेसन- यो रोगका विरामीहरु निराश हुने, दिक्क हुने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र कतिपय बिरामीले आत्महत्या गरेको पनि पाईएको छ। डिप्रेसन नेपालमा पाईने एउटा मूख्य मानसिक रोग हो। जीवनभरमा २०-२५% मानिसमा डिप्रेशन हुन्छ। यो उपचार गरे निको हुने रोग हो ।
Drugs and alcohol problems/लागु औषधी र रक्सीको समस्या- खासगरी स्कूल जाने, हाईस्कूल तथा कलेज जाने विधार्थी लागूऔषधी सेवन गर्ने कुलतमा फसेको देखिन्छ। विभिन्न प्रकारका cough syrup/खोकिको औषधी, गाँजा, हिरोईन जस्ता औषधी लिँदा मस्तिष्कमा असर पर्दछ। उनीहरु एकपटक लिएपछि छोड्न सक्दैनन्। कतिपय अवस्थामा चोर्ने आदि अपराधमा उनीहरु संलग्न भएको पाइएको छ। अर्को समस्या रक्सी सेवन गर्ने हो। जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन उसको रक्सिको मात्रा बढ्न थाल्छ। पछि ऊ बिहान पनि रक्सी नलिई बस्न सक्दैन। उसमा छारेरोग जस्तो काम्ने देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग, कलेजोको रोग, डिमेन्सिया तथा डर लाग्ने र डिप्रेसन जस्ता रोग लाग्ने संभावना बढी रहन्छ। जुन उपचार गरे निको पार्न सकिन्छ।
Epilepsy/छारेरोग- अचानक शरीर कडा हुने, काम्ने र बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिई धेरै बिरामी आउँछन्। कतिपय बच्चामा एक देखि दुई मिनेट टोलाई मात्र रहने पनि एक प्रकारको छारे रोग हो। यो उपचार गरे निको हुन्छ। यो रोगमा औषधी लामो समयसम्म सेवन गर्नुपर्छ।
Obsessive-compulsive Disorder/अब्जेसिभ कम्पल्सिभ डिसअर्डर- यो यस्तो रोग हो, जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाई र दृश्यहरु आईरहन्छन्। मनमा लिन्न भने पनि त्यस्ता सोचाई आउनाले विरामी आत्तिन्छ। उसलाई ती सोचाई आउनाले उसमा छटपटी भईरहन्छ। साथै चुकुल लगाई सकेपछि पटकपटक हेर्नुपर्ने, हात बारम्बार धोई रहनुपर्ने आदि समस्या रहन्छ।
Mental Retardation/सुस्त मनस्थिति- यस्ता बिरामीमा वौद्धिक क्षमता कम हुन्छ। दैनिक जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने कुरामा निकै पछि पर्छन्। उपचार गरे बिरामी राम्रो हुन्छन् तर उनीहरुलाई सीप सिकाई वौद्धिक क्षमता अनुसारको काम लगाउनु पर्दछ।

ग) कडा मानसिक रोग:
Bipolar Affective Disorder/बाईपोलर एफेक्टिभ डिसअर्डर- माथी वर्णन गरे जस्तै कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाईपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ । मेनिया भई फेरि मेनिया दोहोरिए पनि त्यसलाई बाईपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ। यो रोग चार देखि पाँच महिना बढ्ने र त्यसपछि निको हुने फेरि एक देखि दुई वर्षमा अर्को पटक उही समस्या देखिने हुन्छ।
Schizophrenia/सिजोफ्रेनिया- यो यस्तो रोग हो जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन। बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ, बिरामी अरुसंग शंका गर्ने, संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफासुग्घर गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ।

यो लेख डा. सिपी सेढाईले लेख्नुभएको हो। उहाँ हाल चितवन मेडिकल कलेज, भरतपुरमा नशा तथा मानसिक रोग विशेषज्ञ हुनुहुन्छ। 
बाँकी पढ्नुहोस् >>

Thursday, October 4, 2012

स्वाइन फ्लु/Swine Flu देखियो: खतराको घन्टी?


'स्वाइन फ्लु देखियो।' आज(२०६९/०६/१७ )को कान्तिपुरको पहिलो पृष्ठको समाचा। यो खबरले धेरैलाई त्रसित बनाएको हुनसक्छ। यहाँ यसको बारेमा केही जानकारी दिने प्रयास गरेकोछु।

के हो स्वाइन फ्लु/Swine Flu?
यो एक प्रकारको भाइरसले गराउने रुघा अर्थात फ्लु नै हो। तर यो अलि जटिल र खतरनाक हुनसक्छ। यो गराउने भाइरसलाई एच१एन१/H1N1 भाइरस भनिन्छ, यो इन्फ्लुइन्जा भाइरसको एउटा जाति हो। यसका धेरै प्रकारहरु हुन्छन्, जस्तो बर्ड फ्लु भाइरस एच५एन१ इन्फ्लुएन्जा भाइरस हो।

यसका बारेमा जान्न किन जरुरी छ?
तपाईंहरुलाई याद होला सन् २००९मा संसारका थुप्रै मुलुकहरुमा एकैपटक स्वाइन फ्लुका विरामी देखिएका थिए। मेक्सिकोबाट शुरु भएको त्यो संक्रमण अमेरिका, दक्षिण अमेरिका हुदैं युरोप र एशियामा पनि देखिएको थियो। २०१०को अगष्टमा विश्व स्वास्थ्य संगठनले यसको प्यानडेमिक प्रकोप सकिएको घोषणा गरेको थियो। यसको प्रकोपलॆ संसारभर गरेर १८,००० भन्दा धेरैको ज्यान लिएको थियो। त्यतिखेरको प्यानडेमिकमा नेपालमा पनि यो भाइरस देखिएको थियो, जसले करिब ४० जनाको ज्यान लिएको थियो। प्यानडेमिक भन्नाले कुनै पनि रोगको संसारका धेरैजसो ठाँउहरुमा एकैपटक प्रकोप देखिनुलाई बुझाउँछ।
अहिले काठमाण्डौ लगायत देशका विभिन्न स्थानका भाइरल ज्वरोका विरामीबाट संकलन गरिएको रगतको नमूनाको परिक्षणमा एच१एन१ इन्फ्लुएन्जा भाइरस देखिएको समाचार आएको छ। यो हामीसबैको स्वास्थ्यको लागि खतरा हुनसक्छ, त्यसैले यसको बारेमा जानीराख्नु राम्रो हुन्छ।

यसका लक्षणहरु के के हुन्?
सामान्य रुघाखोकी भाइरल संक्रमणको भन्दा यसका लक्षणहरु खासै फरक हुदैंनन्। ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, सिँगान बगिरहने, कमजोर महसुस हुने आदी हुन्छ। साधारणतया ७-१० दिनमा ठिक हुने यो रोग यसपाली दुई हप्तासम्म पनि लम्बिएको अनुभव गरिएको छ। साथै ज्वरो ठिक भएपनि टाउको दुख्ने समस्या रहिरहेको पनि देखिएको छ। कसैकसैलाई पातलो दिसा हुने, बान्ता हुने पनि गर्छ। धेरैजसोमा यसको सामान्य लक्षणहरु मात्र देखिने गर्छ र अन्य रुघाखोकीबाट छुट्याउन नि गाह्रै हुन्छ।

कस्ता ब्यक्तिहरुमा यसको जटिलता देखिने बढि सम्भावना रहन्छ?
१. ५ वर्षभन्दा मुनिका बालबालिकाहरुमा, खासगरी २ वर्षमुनिकाहरुमा
२. ६५ वर्ष वा त्यो भन्दामाथिका वृद्धवृद्धाहरुमा
३. गर्भवती महिलाहरुमा
४. दम, सिओपीडी, मुटुको रोग, कलेजोको रोग, मृगौलाको रोग जस्ता दिर्घ रोगहरु भएका, रोगप्रतिरोधात्मक क्षमता कम गराउने अवस्थाहरु वा रोग भएका विरामीहरुमा

कस्ता लक्षणहरु देखिएमा तुरुन्त चिकित्सककहाँ देखाउनुपर्छ?
सामान्य रुघाखोकी लागेको बच्चाहरुमा छिटोछिटो सास फेर्ने, सास फेर्दा गाह्रों भएको जस्तो देखिने, नीलो हुने, खाना, झोलकुराहरु खान नसक्ने, ज्वरो खोकी बढ्दै जाने जस्ता लक्षणहरु देखापरेमा त्यो स्वाइन फ्लुको संक्रमणको जटिलता देखिएको हुनसक्छ।
वयस्कहरुमा सास फेर्न गाह्रों भएमा, छातीपेट दुखेमा, लगातार वान्ता भइराखेमा, चक्कर लाग्ने, होस कम हुने भएमा, साधारण रुघा ठिक भएर पछि फेरी ज्वरो र खोकी झन साह्रों भएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।

यो रोग कसरी सर्छ?
श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्छ। विरामीले साधारण स्वास फेर्दा, हाँछ्यु गर्दा, खोक्दा यसका भाइरस बाहिर वातावरणमा आउँछ र अन्य स्वस्थ मानिसलाई संक्रमण गर्छ। यसको नाम स्वाइन(सुँगुर)फ्लु भएपनि यो बँगुरसुँगुरको मासु खाएर भने सर्दैन। यो भाइरसको जीन/gene (वंशानुगत गुणका लागि प्रयोग हुने आरएनए/RNA, प्रोटिनहरु)का भागहरु सुँगुरमा पाइने इन्फ्लुएन्जाको भाइरसकोसँग मिल्ने भएकोले यसलाई स्वाइन फ्लु भनिएको हो।

यो रोग किन यस्तो डरलाग्दो तरिकाले फैलिएको होला?
यसका लागि इन्फ्लुएन्जा भाइरसको बारेमा केही जान्नुपर्ने हुन्छ। हरेक जीवमा जस्तै यो भाइरसमा पनि वंशानुगत गुण बोक्ने जीनहरुमा केही फेरबदल भैरहन्छ, तर यसको आरएनएको संरचना र विशेष गुणका कारणले यसमा छिटो र ठुलो फेरबदल/Antigenic shift-drift हुनसक्छ। जसबाट नयाँ बन्ने भाइरस पुरानोभन्दा फरक र विल्कुलै नयाँ प्रकृतिको बन्ने गर्छ। हामी मानिसहरुको रोग प्रतिरोधात्मक प्रणालीले त्यस्तो बिल्कुलै नयाँ भाइरसको लागि प्रतिरोधात्मक शक्ति बनाएकै हुदैंन, त्यसैले शुरुमा यो सजिलै र भयानक रुपमा फैलने गर्छ। एक पटक रुघा/इन्फ्लुएन्जा लागिसकेपछि त्यसका लागि प्रतिरोधात्मक शक्ति बनेपनि हरेक पटक नयाँ खालको भाइरस बन्ने भएकाले हरेक वर्ष यसको संक्रमण भैरहने हो। तर कहिलेकाहीं सन् १९१८को स्पेनिस फ्लु, १९५६को एशियन फ्लु, २००६-७को बर्ड फ्लु आदी बाहेक अन्य बेला सामान्य संक्रमण मात्र देखिने गर्छ।

यो भएपछि के गर्न सकिन्छ?
यो एउटा भाइरल संक्रमण भएकोले र साधारणतया सामान्य संक्रमण नै हुने भएकोले धेरैमा आँफै कम भएर जान्छ। र सबैको लागि अस्पताल गैहाल्नुपर्छ भन्ने पनि छैन, किनकी अस्पतालको वातावरणमा तपाईंलाई अरु विरामीको संक्रमण सर्नसक्ने धेरै सम्भावना हुन्छ। यस्तो बेलामा-
आराम गर्ने प्रशस्त पानी र अन्य झोल कुराहरु पिउने।
अरु मान्छेहरुलाई नसरोस् भनेर नजिकको सम्पर्कबाट अलि टाढा बस्ने।
ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्नेको लागि सिटामोल, आइबुप्रोफेन(फ्लेक्सन) खाने।
हाछँयु गर्दा, खोक्दा नाकमुख रुमालले राम्ररी छोपेर मात्र गर्ने, थुकखकार जथाभावी नफाल्ने। मास्क लगाएर बस्ने, नाकमुख सफा गरेपछि हात राम्रोसँग धुने।
लक्षणहरु बढ्दै गएमा वा विरामी बच्चा, वृद्ध, गर्भवती भएमा चिकित्सकलाई भेटेर सल्लाह लिने।

यसको उपचार के हो?
धेरैजसो संक्रमणमा साधारण रुघाको जस्तो लक्षणहरु मात्र देखिएर यो रोग सन्चो हुने गर्छ। माथि भनिएका अवस्थाहरुमा कसैकसैमा यसका जटिलताहरु देखिएर ज्याने जान पनि सक्छ। यो भाइरल संक्रमण भएको एन्टिबायटिकले ठिक गर्दैन तर पछि थपिएर भएको ब्याक्टेरियल संक्रमणका लागि एन्टिवायटिकले फाइदा दिनसक्छ। यसको लागि एन्टिभाइरल ओसेल्टामीभिर/Oseltamivir औषधी प्रयोग गरिन्छ तर सामान्य संक्रमणको लागि यसको आवश्यकता पर्दैन।
यसबाट बच्नको लागि भ्याक्सीन पनि उपलब्द छ। तर यसको औषधी र भ्याक्सीन सर्वसुलभ र सस्तो भने छैन।

विरामीको हेरचाह गर्दा केके कुरामा ध्यान दिनुपर्छ?
विरामीसँग सीधा मुखमुख हुने गरेर कुरा गर्ने गर्नुहुदैंन। विरामीको हेरचाह गरिसकेपछि, विरामीको लुगा, रुमाल आदी छोएपछि तुरुन्तै साबुनपानीले राम्रोसँग हात धुनुपर्छ। विरामीलाई सकिन्छ भने छुट्टै कोठा दिनुपर्छ, जसले गर्दा परिवारका अरु स्वस्थ सदस्यहरुलाई रोग सर्ने डर कम हुन्छ। हेरचाह गर्ने ब्यक्तिले पनि मास्क लगाएर हेरचाह गर्ने गर्नुपर्छ। अरु मान्छेको विरामीसँगको भेट सकेसम्म कम गर्नुपर्छ।




यो रोग भयानक रुपमा फैलनसक्ने भएकोले सम्बन्धित निकायको साथसाथै आमजनस्तरबाट पनि यसबाट सुरक्षित रहने उपायहरु अपनाउनु र अरुलाई जानकारी गराउनु जरुरी हुन आउँछ। 




स्रोतहरु:

  1. http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=281105
  2. http://www.hindustantimes.com/world-news/Nepal/Nepal-hit-by-swine-flu-outbreak/Article1-939138.aspx
  3. http://www.cdc.gov/h1n1flu/general_info.htm
  4. http://en.wikipedia.org/wiki/2009_flu_pandemic


बाँकी पढ्नुहोस् >>

Wednesday, September 19, 2012

सानो तर सम्वेदनशिल कुरा



धेरैलाई यो कुरा सानो लाग्ला, यती जाबो कुरामा नि के सिरियस भको भन्लान्, तर मलाई चै व्यस्तता र बानी परेकोले साधारण सम्वेदना पनि गुमाउन लागेका हौं कि भन्ने डर लाग्यो।

आज म्याटरनिटी वार्ड/ सुत्केरीहरु राखिने वार्डमा नवजात शिशुहरुको राउण्ड लिदैथिएँ। भर्खर जन्मिएका बच्चाहरुले भरिएको वार्डमा प्राय: सबै नै खुशी थिए, कसैकसैको बच्चाको यो भयो, त्यो भयो भन्ने सामान्य समस्याहरु मात्रै थिए। एउटा बेडमा पुगेपछी मैले बच्चा देखिनँ, तर आफ्नो रजिष्टर हेर्दा बच्चा पाउनको लागि अप्रेशन CS/सिएस भको भन्ने देखियो। अनी "बच्चा खै त" भनेर सामान्य रुपमा सोधेँ, श्रीमान श्रीमती दुबै थिए, दुबैले अफ्ठ्यारो पाराले एकअर्कालाई हेरे र "भित्र आइसियु मा छ" भने, तर उनको नाम गरेको बच्चा भित्र भको जस्तो मलाई लागेन। तैपनी उनी दुई जनाको व्यवहार, हाउभाउले मैले केही अरु नै होला, अर्थात बच्चा खेर गको वा त्यस्तै केइ होला भन्ने शंका गरिसकेको थिएँ। अनी धेरै सोध्न आँफैलाई अफ्ठ्यारो लाग्यो र त्यहाँबाट अर्को बेडमा गएँ।

एकछिनमा नर्सलाई सोधेपछी थाहा भयो, Neonatal Death/NND/एनएनडी को केस रे, अर्थात अप्रेशन गरिएको तर बच्चाको मृत्‍यु भएको रहेछ। यो थाहा पाएर पछीसम्म नि आँफैलाई नमज्जा लागिरहेको थियो। उनिहरुको दुखिरहेको घाऊलाई मैले कोट्ट्याइदिएँ कि भनेर नमिठो लागि रहेको थियो। भिड, धेरै विरामीहरु भको बेलामा सबै जनाको बारेमा डिटेलमा बुझ्न, सम्झन नि गाह्रो हुन्छ।

यहाँ मैले भन्न खोजेको कुरा चै त्यती धेरै नवआमा, नवजात शिशुहरुको बीचमा बच्चा गुमाएको आमाबुवा बस्दा उनिहरुको मन कती दुख्दो हो। यता पट्टी बच्चाको रुवाइ, उता पटी बच्चालाई दुध खुवाएको देख्दा नौ महिना कोखमा पालेर कत्रो सपना देखेका आमाबुवाको छाती कती दुख्दो हो। हुन त त्यो दु:खलाई कसैले परिवर्तन गर्न सक्दैन, आफ्नो भागको दु:ख सबैले भोग्नु नै पर्छ, तर भर्खर बच्चा गुमाएका, वा भनौ अन्तिम समयमा आएर आमाबुवा बन्नबाट रोकिएका जोडीलाई सबै हँसिला नवआमाबुवाहरुको बीचमा राख्दा उनीहरुप्रती अली सम्बेदनहिनता देखियो कि भन्ने मलाई लाग्यो। तर व्यस्तता र सधैं यस्तै हुने गर्ने हुनाले बानी परेको वार्डका अरुलाई खासै केही लागेन। शायद म अलि बढी एमोसनल भएँ कि? "यस्तो विरामीलाई छुट्टै राख्ने चलन छैन, उनिहरुलाई अली अफ्ठ्यारो हुँदैन न त?" भन्दा सिस्टरले "छैन त, यस्तै हो के गर्ने" भन्नुभो।

व्यवस्था गर्न नसकिने कुरा होइन, तर यसका लागि हाम्रो दृष्‍टिकोणमा परिवर्तन हुनु जरुरी छ, हाम्रो एट्टिच्युड बद्लिनु आवश्यक छ। हाम्रा वरिपरी यि र यस्तै थुप्रै साना तर सम्बेदनशील कुराहरु छन्, जुन परिवर्तनको लागि ठुलो स्रोत, श्रमको हैन, हेराइको शैलीमा मात्रै परिवर्तनको जरुरी छ। यस्तै त हो नि भन्ने बानी परिसकेको हाम्रा आँखाहरुले यस्ता कुरा देख्नै गाह्रो मान्छन्। त्यसैले समाज परिवर्तनको लागि हामीले हाम्रो दृष्‍टिकोण र शैलीमा अलिकती परिवर्तन गर्नुपर्ला कि??
बाँकी पढ्नुहोस् >>

Tuesday, September 4, 2012

यस्तो विरामी त कहिल्यै भएको थिइनँ।


००, १०१ डिग्री हुदैं बढ्दै गएको ज्वरो १०४ सम्म पनि पुग्यो। चीसोचीसो भएर काम्न शुरु हुँदा काठमाण्डौंको पुसमाघको जाडोलाई सम्झाइदिन्थ्यो र दुइटा सिरकले पनि धान्दैनथ्यो। अनि जाडोमा कक्रक परेर सिरक ओडेको झैं गरेर काम्न बाहेक केही गर्न सकिदैनथ्यो। पानीपट्टी लगाएर घट्छ की भनेको तर हाइपोथालामसको तापक्रम केन्द्रमा शरीरको तापक्रम कति पुर्याउने भन्ने फिक्स भएपछि कसैको केही नलाग्दोरहेछ क्यारे। पानीपट्टी लाएपछि ज्वरो १०१ बाट बढेर १०३ डिग्री पुग्दा मेरी बहिनीले पनि अचम्म मानेकी थिइन्। काम्ने र जाडो हुने अवस्था सकेपछि गर्मी हुने बेला शुरु हुन्थ्यो। १०४ पुग्दा त यति गर्मी हुन्थ्यो की भनेर साध्य छैन, कपाल तातो, फेरीरहेको सास तातो, सबैकुरा तातो। म कुनै तातो तावामा बसिरहेको छु भन्ने भान हुन्थ्यो। एक डेढ घण्टा यस्तो रहेपछि अनि ज्वरो घट्न शुरु हुन्थ्यो र त्यससँग यसरी पसिना बग्थ्यो की मानौं पसिनामै डुबिन्छ। पसिनाले निथुक्रै भिजिन्थ्यो। र शरीरको तापक्रम बिस्तारै सामान्य तर्फ आउथ्यो। यसरी सकिन्थ्यो ज्वरोको एउटा भाग। यस्ता भाग दिनको २ वटासम्म आउथ्यो, कहिले आउथ्यो ठेगान हुन्थेन, कहिले रातको १-२ बजे नि आउथ्यो, कहिले दिउसोमा पनि। र यो क्रम औषधी गर्दागर्दै पनि ११ दिनसम्म चलिरह्यो।

पहिले भाइरल फिभर होला भनेर सिटामोल मात्रै खाएर बसेको थिएँ तर ज्वरो ठिक नै नभएपछि अरु केही होकी भनेर रगत जाँच गरी एन्टीवायटिक नि शुरु गरियो।

लौ, विरामी हुँदाको अनुभव लेख्छु भनेर बसेको ज्वरोको विवरण पो दिदैंबसेछु। विरामी हुँदा यो भयो, त्यो भयो भन्दा पनि विरामी भएर बस्दा, अस्पतालमा जाँच्न जाँदा, आफ्नो उपचार गर्दा आफूले अनुभव गरेका, मनमा लागेका केही कुराहरु चाँही यहाँ लेख्न लागेको छु।

१. विरामीलाई हामी जति सजिलोसँग "सन्चो भैहाल्छ, नआत्तिनु" भनेर भन्छौं नि, आफैं विरामी हुँदा थाहा हुँदोरहेछ, ती शब्दहरुमा भावना छैन, तीनमा केयरको भाव छैन भने ती फगत शब्दहरु मात्र लाग्दॊरहेछन, जसले विरामीलाई केही सहयोग गर्दैनन्। विरामीलाई "तपाईंको लागि म छु, मैले तपाईंलाई राम्रोसँग जाँच गरेको छु र आफूले जानेको आफ्नो क्षमताले भ्याएसम्म तपाईंको उपचार गर्नेछु" भन्ने विश्वास दिलाउनु भनेको धेरै ठुलो कुरा रहेछ। यदी तपाईंले उपचार गरिरहेको विरामीले तपाईंमाथि विश्वास गर्दैन वा भनौं तपाईंले विरामीको विश्वास जित्न सक्नुहुन्न भने तपाईं औषधीको थुप्रो मात्र दिने 'क्वाक/Quack' भन्दा केही फरक हुनुहुन्न। त्यसोभने विरामीको विश्वास कसरी जित्ने त? सजिलो छ। विरामीसँग कुरा गरेर, विरामीलाई आफ्नो कुरा भन्ने समय दिएर, विरामीलाई समय लिएर राम्रोसँग जाँचेर, उपचारमा गरिने कुराहरु, जाँचहरु, हुनसक्ने जटिलताहरु बारे छलफल गरेर। यी सबै गरेपछि मात्र डाक्टरले "नआत्तिनुहोस्, सन्चो हुन्छ" भन्नुको वास्तविक अर्थ आउँछ।

२. डाक्टरहरुको पनि आफ्नै खालका लिमिटेसनहरु हुन्छन्। मैले बारम्बार भन्दै आएको छु डाक्टरहरु पनि भगवान होइनन्। उनीहरुले पनि पढेको जानेको अनुभवका आधारमा, उपलब्ध फ्यासिलिटीका अनुसार उपचार गर्ने हो, जादुको छडी घुमाउने होइन। तर हामीकहाँ विरामीलाई यस्तरी अस्पताल कुदाइन्छ मानौं त्यहाँ पुग्ने बित्तिकै सबै आफैं ठिक भैहाल्छ। तर त्यसो हुदैंन। डाक्टरले गर्ने भनेको विरामीसँग समस्याका बारेमा कुरा गर्ने, जानकारी लिने, उसलाई जाँच गर्ने, तत्कालको उपचारका लागि औषधी लेख्ने, रोग पत्ता लगाउनका लागि रगत, पिसाबका जाँचहरु आदि गर्ने, हुनसक्ने रोगको बारेमा जानकारी दिने र ठिक हुनका लागि शुभकामना दिने यत्ति नै हो। रोगसँगको लडाईं त विरामी आफैंले नै लड्नुपर्छ, त्यसका लागि हौसला बढाउने काममा उसको परिवार, नजिकका मानिसहरुले राम्रो भूमिका खेल्न सक्छन्। त्यसैले जादुको आशा राखेर पुर्याउने बित्तिकै डाक्टरले हेरेर ठिक भैहाल्ला भनेर अस्पताल कुदाउँदा पनि निराश हुनुपर्ने हुन्छ।


३. उपचार भनेको औषधी मात्र होइन रहेछ। विरामी भयो, यो रोग लागेकोरहेछ, ल यो औषधी खाने, ठिक भैहाल्छ। प्राय: यत्तिमै सकिन्छ, हामी डाक्टरहरुले गर्ने उपचार। तर उपचार भनेको औषधी मात्र हुँदैहोइन र यो डाक्टरले मात्र गर्न सक्ने कुरा पनि होइन। विरामी अवस्थामा विरामीको सेवा, विरामीलाई सहयोग, औषधी खुवाउने, दिने आदीमा नर्सहरुको र विरामीका परिवारको ठूलो हात हुन्छ, जुन बाहिर देखिदैंन र धन्यवादका पात्र प्राय: डाक्टरहरु मात्र हुने गर्छन्। म एक्लो हुँदा आफैंले पकाएर खाएर, औषधी पनि खाएर बस्नु र बहिनीले कोठाका सबै काम गरिदिएर, ज्वरो आएको बेलामा पानीपट्टी लगाइदिनु र पछि घरैबाटै आमा आएर सबै कामको जिम्मा लिनु आदीले म ठिक हुनुमा आकाशजमीनको फरक पारेको छ। म औषधीले मात्र ठिक भएको होइन, म ठिक हुनुमा आमाको स्याहार, बहिनीको माया र साथीहरुको सहयोग पनि उत्तिकै महत्वपूर्ण छन्। त्यसैले उपचारमा औषधीको जति भूमिका हुन्छ, त्यतिकै भूमिका विरामीलाई गरिने हेरचाह, समयमा औषधी दिने, ठिक हुनसक्छु भन्ने विश्वास दिलाउन सक्ने व्यवहार, माया, सहयोगको पनि हुन्छ। विरामीको उपचारको टिम लिडर डाक्टर होला तर टिममा हरेक पात्रको आफ्नै तर महत्वपूर्ण भूमिका हुन्छ र त्यस अनुसारको उनीहरुले सम्मान पनि पाउनुपर्छ। जुन हाम्रो समाजमा अलि कमै देखिन्छ।

४. डाक्टरहरुले प्राय: आफ्नो लागि औषधी किन्छन् जस्तो लाग्दैन। यताउता गरेर एमआरहरुबाट चाहिने औषधी निकालिरहेका हुन्छन्। मैले नि पहिले सानोतिनो विरामी हुँदा, ग्यास्ट्राइटिसका औषधीहरु एमआर(MR) हरुबाट नै लिने गरेको थिएँ। तर यसपालीको उपचारमा प्रयोग भएका एन्टीवायटिकहरु सेफ्ट्रायक्जोन, एजिथ्रोमाइसिन आफैंले नै किनियो। अनि थाहा भयो औषधीहरु कतिको महंगो हुँदा रहेछन्। २ हप्ताको विरामी भएर औषधी मात्र किन्दा त यस्तो खर्च हुन्छ भने काठमाण्डौं बाहिरबाट आएर अस्पतालमा भर्ना भएर दिनकै महँगा औषधी किनेर, जाँचहरु गरेर होटलको खाना खाएर विरामीको उपचार गराउनु कम्ताको महँगो हुन्छ होला। कल्पनै गर्न सकिन्न। उपचारका लागि लाखौं सकिएको, गाँउका खेत बेचिएको, घर बन्धकमा राखिएका कथाहरु साच्चिकै सत्य कथाहरु हुन्, जसलाई परिवर्तन गर्नुपर्ने खाँचो छ।

५. कुनै पनि रोग सानो भन्ने नहुदोरहेछ. आफैंलाई परेपछि त्यो रोग कस्तो हो, त्यसले कत्तिको सास्ती दिन्छ भन्ने कुरा आफैंलाई बाहेक कसैलाई थाहा नहुँदो रहेछ। डाक्टरको लागि त्यो एउटा रोग वा केस हुन्छ तर विरामीको लागि त उसको सारा शरीर नै डामाडोल भएको, संसार नै उथलपुथल भएको अवस्था हुन्छ। त्यस्तै हालत विरामीका परिवारको पनि भैरहेको हुन्छ। अझ कठिन परिस्थितिबाट त दिर्घरोग कहिले निको नहुने रोगका विरामी र उन्का परिवारले गुज्रिनुपर्छ। नियमित डायलाइसिस गरिरहनुपर्ने मृगौलाको रोग, पक्षघात, सेरेब्रल पाल्सी जस्ता दीर्घ रोगहरुका विरामी र उनका परिवारले भोग्नुपरेको दु:ख अरुले कल्पनै गर्न सक्दैनन्। विरामीहरुसँग कुरा गर्दा, व्यवहार गर्दा उनीहरुको धरातलमा आफूलाई उभ्याएर हेर्यो भने पनि हिजोआज देखिरहेको डाक्टरले राम्ररी हेरेन, राम्रो व्यवहार गरेन, लापरवाही गर्यो भन्ने आरोप लाग्ने अलि कम हुन्थ्यो की।


६. अरु मान्छे विरामी हुँदा भन्दा डाक्टर विरामी हुँदा अलि फरक अफ्ठ्यारो पर्दोरहेछ। "डाक्टर भएर नि विरामी भएको त" भनेर मान्छेहरुको जिस्काइ पो खेप्नुपर्दोरहेछ। हाम्रोमा डाक्टर विरामी नै हुन्नन् भन्ने जस्तो सोच्छन् भन्या। के भन्ने खै। अझ 'रेसिडेन्ट डाक्टर' भएर त सकिन्छ भने भुलेर पनि विरामी हुनुहुदैंन। वर्षभरीमा पाइने १४ दिने विदामा नि यति लामो विरामी भयो भने त छुट्टी सबै सकिहाल्यो नि। त्यसमाथि ड्युटी मिलाएर मात्र विरामी विदामा बस्न पाइने। अब विरामी हुनुको टेन्सन त छदैंछ, ड्युटी गर्न कसलाई भन्ने होला, ड्युटी मिल्ला कि नमिल्ला भन्ने टेन्सन नि लिनुपर्ने। तैपनि सहयोगी साथीहरु र डिपार्टमेन्टको कारणले खासै समस्या भने परेन। डाक्टर विरामी हुँदा फाइदा चाँही के हुँदोरहेछ भने भर्ना नै हुनुपर्ने अवस्थामा पनि साथीहरुको सहयोगमा क्यानुला(रगतको नलीबाट औषधी दिन हातखुट्टामा लगाइराखिने प्लास्टिकको सुइ) लगाएर घरमै रगतको नसा/नलीबाट औषधी लगाइ बस्न सकिदोरहेछ। आखिर जे भएपनि अस्पतालमा भर्ना भएर बस्नुभन्दा घरमै बस्नु धेरै नै सजिलो हुन्छ। यसपाली क्यानुलाबाट औषधी दिने काम मेरी आमाले नै गर्नुभयो, उहाँ मेडिकल फिल्डको त होइन तर अलिअलि सिकाएपछि खासै गाह्रों काम होइन। तर यदी तपाईं आफू कोइ एकजना मेडिकल फिल्डको हुनुहुन्न भने भुलेर पनि यस्तो प्रयास नगर्नुहोला।

आखिर चोर वा भनौं डनलाई माइक्रोबायलोजीले नै समात्यो। रगतको कल्चरमा 'साल्मोनेला पाराटाइफी' देखिएपछि टाइफाइड भएको कन्फर्म भयो। रगत/ब्लड कल्चर/Blood Culture भनेको विरामीको ५-१० मीली रगतलाई किटाणु हुर्कनसक्ने वातावरण/मिडियामा २-३ दिन राखी कुनै खालको किटाणु हुर्कन्छ की भनेर हेर्ने जाँच हो। यो किटाणुलाई मैले 'काठमाण्डौंको डन' किन भनेको भने तपाईं जुनसुकै उमेर, पद, ओहदाको होस् जतिसुकै धनी किन नहोस्, काठमाण्डौंमा बसेपछि कुनैपनि बेला यसको आक्रमणमा तपाईं पर्न सक्नुहुन्छ। तपाईंलाई भाग्यले भन्दा अरु केहीले यसबाट बचाएको छ जस्तो लाग्दैन। किनकी यहाँ पैसा तिरेर पनि तपाईंले खाने खाना, पानी सफा, ताजा र सुरक्षित छ भनेर तपाईं ढुक्क रहन सक्नुहुन्न। जोन स्नोले सन् १८५४मा (लगभग १६० वर्ष अघि) लण्डनमा देखिएको हैजाको इपीडेमिक खानेपानीमा भएको संक्रमणले हुनगएको भन्ने पत्ता लगाएर त्यसलाई नियन्त्रणमा ल्याएका थिए। तर हाम्रो देशको राजधानीमा आज २१औ शताब्दीमा पनि हामीले खाने पानीमा के कति ढल मिसिएको छ, के कति रोगका किटाणु तैरिरहेका छन्, भगवान पशुपतिनाथलाई मात्र थाहा होला। यसको नियन्त्रण गर्ने कुरा त परै जाओस्।

अन्तत, ३० वटा(१५ ग्राम)सिटामोल, आधा फाइल फ्लेक्सन, ५ ग्राम एजिथ्रोमाइसिन र १४ ग्राम सेफ्ट्रायक्जोन, अनि मेरो यो वर्षको लगभग आधा छुट्टी खाएर यो रोग सन्चो भयो।

यस्तो विरामी त कसैले पनि हुनुनपरोस्। सबैको भगवान पशुपतिनाथले रक्षा गरुन्, आखिर उनैले त हामी सबै नेपालीलाई बचाएका छन्।
बाँकी पढ्नुहोस् >>

Monday, August 6, 2012

स्तनपान: अमृतसमान


स्तनपान सप्ताह विशेष
    विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हरेक वर्ष अगष्ट महिनाको पहिलो सप्ताहलाई स्तनपान सप्ताहको रुपमा मनाइने गरिएको छ। यसपालीको सप्ताहको नारा 'विगतलाई बुझौं, भविष्यको लागि योजना बनाऔं' भन्ने छ।  यसै अवसरमा स्तनपानका विषयमा केही महत्वपूर्ण जानकारीहरु यहाँ राख्ने प्रयास गरेको छु। यी जानकारीहरु नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको जानकारी पुस्तिकाबाट लिइएका हुन्।

आमाको दूध शिशुहरुका लागि एकमात्र सर्वोत्तम खाना हो। 

आमाको दूधको महत्व
  • आमाको दूध जन्मेदेखि ६ महिनासम्मका शिशुहरुको शारिरीक एवं मानसिक वृद्धि र विकासका लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरुले भरिपूर्ण हुन्छ। तसर्थ ६ महिनासम्म शिशुलाई आमाको दूध बाहेक अन्य कुनै पनि चिजहरु खुवाउनु पर्दैन। 
  • आमाको दूध सधैं तयारी अवस्थामा पाइन्छ। शिशुले चाहेको बेलामा जहिले पनि जहाँ पनि खुवाउन सकिन्छ। 
  • आमाको दूध शिशुका लागि पहिलो खोप हो। यसमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्व हुन्छ। 
  • शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेंलो दूध 'बिगौती'मा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ जसले हानिकारक र संक्रात्मक जीवाणु र किटाणुलाई नष्ट पारी शिशुलाई संक्रात्मक रोगहरु लाग्नबाट बचाउँछ। आमाको दूध खान पाएका शिशुहरु झाडापखाला, श्वासप्रश्वास र अन्य रोग लाग्नबाट सुरक्षत रहने भएका कारण शिशु मृत्युदरमा २५% ले कमी आएको पनि पाइएको छ। 
  • स्तनपान गराउने आमाहरुको स्तन र पाठेघरमा क्यान्सर हुने सम्भावना पनि धेरै कम हुन्छ। 
  • जन्मान्तर कायम राख्न स्तनपानले सहयोग पुर्याउँछ। 
  • शिशुलाई अन्य महंगा आकर्षक बट्टाका लिटो, पाउडर दूधहरु खुवाउनुभन्दा स्तनपान गराउँदा घरको आर्थिक भार पनि घट्छ।
  • स्तनपान गर्न नपाएका शिशुहरु पछि गएर झगडालु स्वभावका हुने, अरुसँग घुलमिल गर्न नसक्ने र अपराधिक कार्यहरुमा लाग्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ। 

शिशुलाई आमाको दूध पुगेको छ छैन कसरी थाहा पाउने?
     क) शिशुको तौल बढे नबढेको हेरेर
प्रत्येक महिना शिशुको तौल कमसेकम ५०० ग्राम आधा किलो बढेको हुनुपर्छ। यदि शिशुको तौल एक महिनामा कम्तिमा पनि आधा किलो बढेको छैन भने शिशुले पर्याप्त मात्रामा आमाको दूध खान पाएको छैन भनेर थाहा पाउन सकिन्छ। तर यसका लागि नियमितरुपमा तौल लिनुपर्ने हुन्छ। यदि नियमित तौल लिन सम्भव छैन भने सामान्य वृद्धि अनुगमन अवलोकनबाट पनि थाहा पाउन सकिन्छ। जस्तै: तौल लिन सम्भव नभएका र लिन नजान्ने आमा वा अभिभावकले शिशुको हातमा र कम्मरमा नाडीमा कालो वा पहेंलो डोरा बाँधेर उसको वृद्धि भए नभएको हेर्ने चलन अझै गाँउघरमा छ।
     ख) शिशुले २४ घण्टामा कति पटक पिसाब फेर्दछ त्यो हेरेर
दूध पुगेनपुगेको थाहा पाउने अर्को माध्यम पिसाब हो। दूध पर्याप्त मात्रामा पुगेको शिशुले एक दिनमा (२४ घण्टामा) कमसेकम ६ देखि ८ पटकसम्म पिसाब फेर्दछ र पिसाबको रंग सफा हुन्छ। तर यदि २४ घण्टामा ६ पटकभन्दा कम पिसाब फेर्छ र पिसाबको रंग गाढा पहेंलो बाक्लो, एकदम गन्हाउने छ भने त्यो शिशुलाई आमाको दूध पुगेको छैन भनेर थाहा पाउनुपर्छ।


आमाको दूध उत्पादनमा असर पार्ने कुराहरु के के हुन्?
        महिलाहरुको दूध उत्पादन गर्ने क्षमता प्रकृतिले दिएको वरदान हो र यसमा सबै आमाहरुले गौरव र विश्वास गर्नुपर्छ। धेरैजसो आमाहरुले आफ्नो शिशुलाई पुग्दो मात्रामा दूध आउँदैन कि भन्ने पीर गरेको पाइन्छ। तर प्राय: सबै महिलाहरुले आफ्नो शिशुलाई चाहिने मात्रामा दूध उत्पादन गर्न सक्छन्। एउटा शिशुलाई मात्र होइन कि जुम्ल्याहा बच्चा जन्मदा पनि दुवैलाई खुवाउन पुग्ने गरी दूध उत्पादन गर्न आमाहरु सक्षम हुन्छन्। तर दूध चुसाउँदा निम्न कुराहरुमा ध्यान दिनुपर्छ।
  • चुसाउने तरिका पोजिसन ठिक हुनुपर्छ।
  • दूध चुसाउँदा निख्रने गरेर चुसाउनुपर्छ। 
  • एउटा स्तनमा दूध निख्रेर पनि शिशु अघाएन भने मात्र अर्को स्तन चुसाउन पर्छ। 
  • अर्को पटक खुवाउदा पहिला नखुवाएको स्तन चुसाउनुपर्छ। 
  • एउटै स्तनबाट पनि शुरुमा अलि पातलो पानीको मात्रा बढि भएको दूध आउँछ जसले शिशुको प्यास मेटाउने गर्छ र केही समय चुसेपछि दूध केही बाक्लो भएर आउँछ जसमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र त्यसले शिशुको भोक मेटाउने र आवश्यक क्यालोरी दिने काम गर्छ। 
धेरैजसॊ दूध खुवाउने आमाहरुले दूध नआएको गुनासो गर्ने गर्छन्। प्रशस्त मात्रामा दूध नआउनाका धेरै कारणहरु हुन सक्छन्। जस्तै: स्तनपान गराउँदा आफू बसेको आसन पोजिसन ठीक नहुनु, शिशुलाई स्तन चुसाउने तरिका नमिल्नु, पटकपटक र ठीक समयमा स्तनपान नगराउनु र आफ्नो दूध शिशुलाई प्रशस्त पुग्छ भन्ने आमाबुवालाई थाहा नहुनु वा आत्मविश्वासको कमी हुनु।
आफ्नो शिशुलाई चाहिदो मात्रामा स्तनपान गराउन सक्दिन भन्ने मानसिकता एवं गलत धारणाले गर्दा नै धेरैजसो आमाहरुले स्तनपान गराउन छोडेर अन्य खाना वा दूध खुवाउन थाल्छन्। वास्तवमा भन्ने हो भने जतिसुकै दुब्ली पातली भएपनि प्राय: सबै आमाहरु ज्यादै जटिल रोग लागेको अवस्था बाहेकमा आफ्नो शिशुको आवश्यकता अनुसार दूध उत्पादन गर्ने क्षमता रहेको हुन्छ।

शिशुलाई कसरी स्तनपान गराउनुपर्छ?
  • स्तनपान गराउने आमा तनावरहित भई आरामसँग बसेकी हुनुपर्छ। 
  • शिशुको शरीर आमासँग टाँसिएको र मुख स्तनतर्फ पारेर राखेको हुनुपर्छ। 
  • शिशुको टाउको र शरीर सीधा हुनुपर्छ। 
  • शिशुको चिउँडोले आमाको स्तनलाई छोएको हुनुपर्छ। 
  • आमाको दुवै हातले शिशुको पिठ्युँमा राम्रोसँग समातेको हुनुपर्छ। 

माथिका २ चित्रमा ठीक र बेठिक तरिकाले दुध चुसाइएको छ। तपाईंहरुले फरक थाहा पाउनुभयो?

दूध खुवाउँदा आईपर्नसक्ने समस्याहरुको रोकथाम:
  • बारम्बार दूध चुसाएन भने दूध गानिएर थुनिलो हुनसक्छ त्यसैले शिशुलाई बारम्बार दूध चुसाइरहनुपर्छ। चुसेर ननिख्रिएमा हातले निचोरेर निखार्नुपर्छ। 
  • स्तनमा कडापन भएमा न्यानो वा तातो कपडाले सेक्नुपर्छ। 
  • दूध गानिएर घाउ भएमा वा मुण्टो चिरिएमा उपचार गर्नुपर्छ। साथै शिशुलाई सफा कचौरामा दूध निचोरेर चम्चाले खुवाइनै रहनुपर्छ। 
घाउ भएको मुण्टाको स्याहार कसरी गर्ने?
  • दूध चुसाउनु अघि र दूध चुसाइसकेपछि मुण्टामा खाने तेल लगाउन सकिन्छ। 
  • मुण्टामा स्पिरिट, टिन्चर बेन्जिन, आयोडिन जस्ता कुराहरु कहिल्यै पनि लगाउनु हुदैंन। 
  • शिशुको जिब्रोमा खटिरा आएको छ र आमाको स्तनको मुण्टो पनि दुखेको छ भने पहिले शिशुको जिब्राको उपचार गर्नुपर्छ। स्तनको मुण्टो निको नहुन्जेलसम्म दुध निचोरेर खुवाउनुपर्छ। यदि स्तनको मुण्टो ठिक नभएमा मुण्टोको उपचार गर्नुपर्छ। 
सफल स्तनपानका आधारहरु के के हुन्?
  • शिशुलाई अघाउन्जेल स्तनपान गराउन सक्छु भन्ने आत्मविश्वास आमामा हुनुपर्छ। 
  • दूध चुसाउँदा ठिक तरिकाले शिशुलाई काखमा राखेको हुनुपर्छ। 
  • शिशुलाई जतिसक्यो धेरै पटक र मागेको समयमा चाहेजति दूध चुसाउनुपर्छ। 
  • बच्चाले खान मागेमा वा चाहेमा यात्रा, बाटो, मोटर वा रेलमा समेत दूध खुवाउन सकिन्छ र हुन्छ। 
  • स्तनपानलाई बढावा दिन घरपरिवारबाट पूरा सहयोग हुनुपर्छ। 

स्तनपान सम्बन्धी थप केही उपयोगी जानकारी:
  • शिशु जन्मेपछि जतिसक्यो चाँडो १ घण्टाभित्रैमा आमाको दूध चुसाउनुपर्छ।
  • जन्मेको ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउनुपर्छ। 
  • शिशु ६ महिना पूरा भएपछि आमाको दूधले अघाएपनि उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व पुग्दैन। त्यसैले थप खाना खुवाउन शुरु गर्नुपर्छ। 
  • दूध खुवाउने आमाले अरु बेलाको भन्दा एक आहार छाक बढी खाना खानुपर्छ। 
  • बढी मात्रामा दूध उत्पादन गर्न सुत्केरीले झोल पदार्थ विशेषगरी ज्वानोको झोल, टुसा उमारेको गेडागुडीको रस जस्ता कुराहरु प्रशस्त मात्रामा खानुपर्छ। 
  • शिशुलाई बारम्बार दूध चुसाइरहनाले दूध उत्पादनको मात्रा बढ्ने गर्छ। र दूध कम आयो वा बच्चालाई दूध पुगेन भनेर जति चुसाउन कम गर्यो त्यति नै दूध पनि कम बन्दै जान्छ। 
  • सुत्केरी भएको बेलामा श्रीमान, सासू र घरका अन्य सदस्यहरुले सुत्केरीलाई विशेष सहयोग र हेरविचार गर्ने र थप खाना खान प्रोत्साहन गर्नुपर्छ। 
  • कुनैकुनै समुदायमा बच्चा जन्मनासाथ आमालाई मासु भात र झोलिलो पदार्थहरु प्रशस्त मात्रामा खान दिने चलन छ। यो अति राम्रो चलन हो। यस्तो चलनलाई प्रोत्साहित गरी नियमित गराउन प्रेरित गर्नुपर्छ। 
  • बच्चा जन्माउदा आमाको धेरै शक्ति खेर गएको हुन्छ। खेर गएको शक्ति फिर्ता ल्याउन आमालाई प्रशस्त मात्रामा झोल पदार्थ र तागतिला खाना खान दिनुपर्छ जसले आमा फूर्तिली हुन्छिन् र स्तनपान गराउन सक्षम पनि हुन्छिन्। 

बच्चा जन्मेको १ घण्टाभित्रै स्तनपान शुरु गराई ६ महिनासम्म स्तनपान मात्र गराउन आमालाई सबैले प्रोत्साहन र सहयोग गरौं। 

नोट: यस ब्लगका तस्बिरहरु स्तनपान सप्ताहको पहिलो दिन अगस्ट १ मा टिचिङ अस्पताल, महाराजगन्जमा आयोजित कार्यक्रमबाट लिइएका हुन्। उक्त कार्यक्रमका अन्य केही तस्बिरहरु:









बाँकी पढ्नुहोस् >>

Thursday, July 19, 2012

'आमाको मुटु' पढेपछी..


यो 'आमाको मुटु' पुस्तकको समीक्षा होइन। उक्त पुस्तक पढेपछि मेरो मनमा आएका केही कुराहरु समेटिएर लेखिएको लेख हो। 

हरेक पटक काठमाण्डौं जाँदा कुनै न कुनै किताब किनेर ल्याउने बानी भैसकेको छ, मेरो। यसपाली टिचिङ अस्पतालको जाँच दिन जाँदा मेरो लिस्टमा परेका थिए, 'खान पुगोस् दिन पुगोस्', 'लू' 'आमाको मुटु'। अगाडीका दुई किताब लिस्टमा पर्ने कारण छुट्टै थिए भने 'आमाको मुटु' पर्ने कारण छुट्टै थियो।

'आमाको मुटु'का बारेमा मैले केही दिन अघि मात्र थाहा पाएको थिए। त्यसको विमोचन कार्यक्रममा गगन थापाले भनेका थिए रे "यो पुस्तक पढेर कोही रिसाउँछ भने बुझे हुन्छ त्यो डाक्टर हो।" त्यसैले एक डाक्टरले डाक्टरलाई नै रिस उठ्ने कस्तो किताब लेखेका रहेछन् त भनेर हेर्न मन लागेको थियो।

अर्को कुरा हाम्रो समाजमा विरामी र विरामीका आफन्तले उपचारमा संलग्न डाक्टर र नर्सहरुका बारेमा के सोचेका हुन्छन्, अस्पतालको वातावरणको, सेवाको, विरामीसँग गरिने व्यवहारको बारेमा के सोचेका हुन्छन्, उनीहरुको अनुभव कस्तो हुन्छ आदीका बारेमा आफूआफूमा गफ भए पनि बाहिर आधिकारिक रुपमा कमै मात्र आउँछ। अलि पहिले मैले हृदयघात भएर आइसीयुमा भर्ना भएका एक विरामीलाई डिस्चार्ज हुने बेलामा आइसीयुको वातावरण कस्तो लाग्यो, यहाँको सेवा, डाक्टर, नर्सहरुको व्यवहार कस्तो लाग्यो, उपचारको तरिका कस्तो लाग्यो जस्ताको तस्तै राम्रो भए राम्रो, नराम्रो भए नराम्रो लेख्नुहोला, म आफ्नो ब्लगमा प्रकाशित गर्नेछु भनेर अनुरोध गरेको थिएँ। विरामी हुँदा मात्र यस्ता कुरामा ध्यान जाने र पछि बिर्सने, समय नपुग्ने भएर हो वा लेख्ने जाँगर नभएर हो वा शिक्षाको स्तर नपुगेको भएर हो यस्ता अनुभवहरु प्राय: लेखिदैनन्। मैले माथि भनेका विरामी चाही कलेजका प्राध्यापक रहेछन् त्यसैले उहाँलाई त्यस्तो अनुरोध गरेर मेरो मोबाइल नम्बर पनि दिएको थिएँ। तर पछि के भयो कुन्नि डिस्चार्ज भएपछि उहाँले सम्पर्क नै गर्नुभएन।

केही हप्ता अघि चाहीं ट्वीटरका एकजना साथीलाई उहाँको बुवालाई अस्पताल राख्दाकॊ अनुभव लेख्न भनेको थिएँ, उहाँले पनि लेख्ने भनि केही कुरा टिप्नुभएको रहेछ। आशा छ उहाँको लेख हामीले छिट्टै पढ्न पाउँछौं।

यो किताब एउटा डाक्टरले लेखेको नभएर एकजना विरामी आमाको छोरालॆ आफूले देखेको, भोगेको कुरा लेखेको हो। यसमा एउटा डाक्टरको अनुभव र शब्दहरु भन्दा पनि एउटी विरामी आमाको छोराले भोगेका कुराहरु जस्ताको तस्तै छन्। त्यसैले पनि मलाई यो किताब पढ्ने रहर लागेको थियो।

किताब सानो भएकोले छिट्टै पढेर सकाएँ। निकै राम्रो लाग्यो, लेखकको बाल्यकालका अनुभव र चर्तिकलाहरु रमाइलो लाग्यो र आमासँगै हरेक पटक अस्पताल जाँदा भेटिएका डाक्टरहरुसँगको अनुभवहरुमा वास्तविकता छ। ती डाक्टरहरु उहिलेका भएपनि आज पनि त्यस्ता डाक्टरहरु हामी भेटिरहेका हुन्छौं। 

यो पढ्दा मेरो मनमा आएका केही कुराहरु यहाँ लेख्न चाहन्छु।

एउटा के हो भने, हाम्रोमा अस्पतालतिर जाँदा कोही चिनेको छ वा कोही आफ्नो मान्छे छ भने मात्र अस्पतालमा विरामी जचाँउन सजिलो हुन्छ, नत्र त कता जाने, के गर्ने, कहाँ देखाउने, रिपोर्ट कहाँ लिने, कता देखाउने भनेर ठाँउ खोज्दाखोज्दै धेरै समय जान्छ। त्यसमा नि अझ टिकट काट्दा देखिको रुखो बोली, गाली झैं लाग्ने बचन ढोकामा बोलाउने मान्छे, ल्याबको मान्छे हुदैं जाँच्ने डाक्टरसम्म पनि सकिदैंन। खासमा त कोही चिनेको होस् वा नहोस्, कोही आफन्त त्यहाँको कर्मचारी होस् वा नहोस्, त्यहाँ गरिने व्यवहारमा खास फरक नपर्नुपर्ने हो, सबैलाई उत्तिकै सजिलो र सुविस्ताका साथ आफ्नो विरामीको उपचार गराउने व्यवस्था हुनुपर्ने हो। विरामी र तिनका आफन्तका जानकारीका लागि सहयोगका लागि भनेर केही कर्मचारीहरु राखिनुपर्ने हो।

अर्को कुरा चाहीं हाम्रो समाजमा अगाडी होस् वा पछाडी गाली गर्नेको सधैं भीड रहन्छ। अर्काको नराम्रो कुरा सुनाउनका लागि हामी सधैं उत्साहीत हुन्छौं तर कसैको सहयोग र सेवाको लागि मुसुक्क हाँसेर 'धन्यवाद' भन्न सक्दैनौं, हामीलाई त्यसो गर्न अफ्ठ्यारो लाग्छ। मैले अमेरिकाको एउटा अस्पतालमा केही हप्ता काम गरेको थिएँ, त्यहाँको प्राय: सबै वार्डहरुमा एउटा बोर्ड थियो जहाँ विरामी र आफन्तहरुले जाने बेलामा कसैले 'थ्याङ्कयु' लेखेको ग्रिटिङकार्ड सहित त कसैले लेखेर नोट मात्रै भएपनि राखेर उपचारमा संलग्न डाक्टर, नर्स र अरु सबैको टिमप्रति आफ्नो कृतज्ञता जाहेर गरेका हुन्थे। कसैलाई यो कुरा अलि नपच्नसक्छ, त्यत्रो पैसा तिरेको छु, उनीहरुको त काम नै त्यही हो नि के को धन्यवाद दिनुपर्यो भन्ने लाग्नसक्छ। हुन त हामीले पनि विरामी र उसका आफन्तले धन्यवाद दिओस्, उनीहरु हामीप्रति कृतज्ञ होउन् भनेर यो काम गरेको होइन, यो हाम्रो ड्युटी नै हो। कसैले धन्यवाद दिएपनि नदिएपनि हामीले त्यो काम गर्नैपर्छ। मैले यति मात्र भन्न खोजेको की गाली गर्न सधैं तयार जस्तो रहने हामी बेलामौकामा धन्यवाद दिन, कसैको काम राम्रो लाग्यो भनेर खुसी व्यक्त गर्न किन खोज्दैनौ? यसले घाटा कसैलाई हुदैंन बरु राम्रो काम गर्नेलाई प्रोत्साहन पनि मिल्छ र सेवा गर्ने र सेवा लिनेको बीच सुमधुर सम्बन्ध पनि बन्न जान्छ

अनि तेस्रो कुरा चाहीं के हो भने जसरी लेखककी आमालाई उनी रसियाकोको मेडिकल कलेजको विधार्थी भएको नाताले मात्रै त्यति जटिल मुटुको अप्रेशन सम्पूर्णरुपमा नि:शुल्क गरिदिएको थियो, त्यस्तो हाम्रो देशमा किन सम्भव छैन? चिनेको र सोर्सफोर्सका आधारमा मात्र नभै साधारण गरिव र सेवा पाउन उपयुक्त भएका जनताले पनि सजिलै नि:शुल्क उपचार सेवा पाउन के हाम्रो देशमा सम्भव छैन? यसो भनेर मैले सरकारी अस्पतालहरुमा नि:शुल्क उपचारको सेवा उपलब्द नै छैन भन्न खोजेको छैन। कैयौं विरामीका उपचारहरु पूर्णरुपमा नि:शुल्क भएका छन्, सम्भव भएसम्मका जाँचहरु पनि विना पैसा भएका छन्, हजारौं पर्ने अप्रेशनहरु पनि अत्यन्त कम पैसामा भएका छन्। यो कुराको हामीले प्रशंसा गर्नैपर्छ। तर मैले भन्न खोजेको के भने यो नि:शुल्क सेवा दिने व्यवस्थालाई अलिकति मात्र व्यवस्थित गरियो भने अझै राम्रो हुन्छ। चिनेको भरमा हुनेखानेको उपचार, जाँच नि:शुल्कमा हुने, तर बोल्न नसक्ने र बोलीदिने कोही नभएका गरिबले त्यो सेवा लिन नानाभाँतिका अफ्ठ्यारो भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिदैंन? अमेरिका, क्यानडा, फ्रान्समा जस्तो सरकारी स्वास्थ्य बीमा पद्धति हाम्रो देशमा किन लागू गर्न सकिदैंन? स्वास्थ्य सेवाको त्यो नि:शुल्क सुविधा उनीहरुको अधिकारको कुरा हो। तर त्यो दिने बेलामा हामी किन सम्मानका साथ दिन सक्दैनौं? किन हामी उनीहरु माथि दया गरेको झैं गरेर निशुल्क गरिदिन्छौं? अत: हाम्रोमा व्यवस्था हुदैं नभएको होइन, मात्र भएको व्यवस्थालाई समय अनुरुप अलिकलि परिमार्जित गर्दै लैजान सक्नुपर्छ, नाम मात्रको लागि नभै त्यो व्यवस्थाले वास्तवमै 'टार्गेटेड पपुलेसन'लाई सेवा दिन सकेको छ छैन त्यसको समिक्षा नि हुनुपर्छ।

नोट: 'आमाको मुटु' का लेखक डा. रामेश कोइराला गंगालाल हृदय केन्द्रसँग आबद्द मुटुरोग विशेषज्ञ हुनुहुन्छ।


(यो लेख लगभग २ महिना अघी लेखिएको हो, एमडीको शुरुवातसंगैको व्यस्तताले गर्दा पोस्ट गर्न अलि ढिलो हुन गएको छ। )



बाँकी पढ्नुहोस् >>

Thursday, May 31, 2012

बार्सिलोनाको गेम, क्लिनिकल मेथड्स र ब्युटिफुल मेडिसिन/ Barcelona's game, Clinical methods and Beautiful Medicine


बार्सिलोना फुटबल क्लब र मेस्सीको नाम नसुनेको मानिस शायद कमै होलान्। मेडिकल कलेज पढ्दाताका होस्टेलमा साथीहरु रातको १२-१ बजेसम्म नि क्लब फुटबल हेर्नको लागि जागा बस्नेगर्थे। एकदुई पटक मैले नि प्रयास नगरेको होइन तर निन्द्रा फालिफालि रातभर जागा बस्न (अझ पेनाल्टी भएको बेलामा त कहिलेकाही त बिहानै हुन्थ्यो) मनै लागेन। म बार्सिलोनाको डाइहार्ड फ्यान र फुटबल भनेपछि मरिहत्ते गर्ने मान्छे होइन। तैपनि साथीभाइहरुको कुरा गफगाफ सुनेर, रेकर्डेड म्याचहरु हेरेर(कहिलेकाही लाइभ पनि), पत्रपत्रिकाका लेखहरु पढेर यति थाहा भएको छ कि बार्सिलोनाले जहिले सुन्दर फुटबल प्रदर्शन गर्छ। कसैकसैलाई यो कुरा मन नपर्न सक्छ, विशेषगरी अरु टिमका फ्यानहरुलाई। तर मेरो विचारमा फुटबल भनेको गोल मात्रै होइन, खेल भनेको जित्नु मात्र होइन। शुरुदेखि अन्त्यसम्म कसरी खेल अगाडी बढाउँछ, खेल अवधीभर कस्तो प्रदर्शन गर्छ वास्तविक खेल त त्यो पो हो। गोलमा मात्र आँखा लगाउनु भनेको त वर्षभरीको लगनशीलता पढाइ नहेरी खाली अन्तिम जाँचमा कति नम्बर ल्यायो, त्यो मात्र हेरेर विधार्थी राम्रो नराम्रो भन्नु जस्तै हो।


तपाईंहरुलाई अचम्म लाग्नसक्छ, फुटबल र मेडिसिनको यो कस्तो कम्पेरिजन/तुलना भनेर। दिमाग अलिकति खुला छोडेर विचार गर्ने हो भने यी उस्ताउस्तै लाग्छन्। मेडिसिन भनेको जुन हामी रोग पत्ता लगाउने र उपचार गर्ने मात्र भनेर सोच्छौं (फुटबलमा गोललाई मात्र हेरेको जस्तै) त्यतिमात्र पटक्कै होइन। मेडिसिन भनेको अन्य विज्ञानहरु जस्तो नियम/प्रिन्सिपलले मात्र नि चल्दैन, यसमा अन्य विज्ञानमा जस्तो निर्जीव पदार्थहरु, प्रोग्रामहरु वा सजीव नै भए पनि डाइरेक्ट प्रतिकृया दिन नसक्ने रुखविरुवा वा जनावरहरुसँग उठबस गर्नुपर्ने होइन। यसमा हामीले मानवीय संवेदना भएको, सोच्नसक्ने, विचार गर्नसक्ने, निर्णय गर्नसक्ने हामीजस्तै मानिसहरुसँग व्यवहार गर्नुपर्ने हुन्छ। त्यसैले मेडिसिन रोगको डायग्नोसिस र उपचारमा मात्र सीमित छैन। विरामीहरुसँगको कुराकानी, दोहोरो सम्बन्ध, उनीहरुसँग गरिने व्यवहार, उनीहरुलाई उपचारक्रममा दिइने सहयोग, सद्भाव, साथ र उनीहरुको डाक्टर आफैंले गर्ने जाँच आदी सबैको उत्तिकै महत्व हुन्छ। यी सबैलाई मेडिकल भाषामा क्लिनिकल मेथड्स(Clinical Methods) भनिन्छ। जसमा महंगा जाँचहरु, ठूलाठूला मेसिनहरुबाट गरिने जाँचहरु नभई विरामीलाई समय दिएर उनीहरुसँग गरिने कुराकानी, डाक्टर आफैंले हातले वा साधारण सामानहरुले गर्ने जाँचहरु पर्छन्। यसले डाक्टर र विरामीबीचमा विश्वासको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ, जसले रोगको डायग्नोसिस र उपचारमा पनि सजिलो पर्न जान्छ।

आफ्नो उपचार गर्ने डाक्टरलाई मनका कुराहरु भन्न पाउँदा, डाक्टरले स्पर्श गरेर विरामीलाई कहाँ दुखेको, नदुखेको जाँच गर्दा नै वास्तवमा उपचार शुरु भैसकको हुन्छ। किनकी उपचार भनेको ठूलाठूला मेसिनबाट गरिने जाँच र महंगा औषधीको थुप्रो मात्र होइन। यो त विरामी र डाक्टरबीचको विश्वासको, साथको, अन्तर्सम्बन्धको पवित्र प्रयास हो जुन आजभोलि हराउदै गएको छ। जसरी गोल कति भयो भन्ने मात्र फुटबल खेल होइन, ९० मिनेटभित्र गरिने पास, टिम इफोर्ट, बनाइने मुभहरु सबै फुटबलका भागहरु हुन्, त्यसरी नै विरामीसँग गरिने सद्भाव, स्पर्शका साथ गरिने जाँच, विरामीको मनमा म ठिक हुनसक्छु भन्ने विश्वास पैदा गराउन सक्ने व्यवहार आदी क्लिनिकल मेथड्सका अभिन्न अंगहरु हुन्।

किन हराउदैं छ त क्लिनिकल मेथड्स?
गोललाई मात्र महत्व दिने प्रवृतिले, खेल जित्नुलाई मात्र ठूलो मानिनाले।

आधुनिक युगमा मेडिसिनको विकाससँगसँगै नयाँनयाँ प्रकारका जाँचहरु निस्कदै गए, विरामीको रोग पत्ता लगाउन ठूलाठूला मेसिनहरु, एक्सरे, सिटीस्क्यान(CT scan), एमआरआइ(MRI), पेट स्क्यान(PET scan) आदी बन्दै गए र रोग पत्ता लगाउन बाँया हातको खेल जस्तो बन्न गयो, पैसा भयो भने। यो विकासको क्रममा हामीले विरामीसँग बिताइने समय, गरिने कुराकानी, डाक्टर आफैंले गर्ने जाँच, विरामी र डाक्टरको बीच विश्वासको वातावरणको महत्व आदीलाई चाँही पछाडी छोड्यौं।

सेवाको भाव मुख्य हुनुपर्ने पेशामा व्यापारिपनको प्रवेश यसको एउटा प्रमुख कारण हो। जति विरामी हेरिन्छ, त्यतिलाई राम्रो तरिकाले हेर्ने भन्दा पनि धेरैभन्दा धेरै विरामी हेर्ने प्रवृतिले यस्तो हुन गएको हो। तर यसरी सीधा डाक्टरहरुलाई मात्र दोष थोपारीहाल्न पनि मिल्दैन। हाम्रो देशमा डाक्टर र विरामीको रेसियो कति छ, एकजना डाक्टरले एकदिनमा औषतमा कति विरामी 'हेर्नुपर्ने' हुन्छ, त्यसले पनि असर गरेको छ। मैले यहाँ 'हेर्नुपर्ने' भने 'हेर्ने' भनिनँ किनकी धेरैजसो यो हाम्रो वाध्यता हुन्छ। विरामीको भीडलाई त्यसै छोडेर जान सकिदैंन, त्यो भन्दा त छोटोमा अलिअलि जाँचेर सकाउनु ठिक होला भन्ने सोचाइ आउँछ, आखिर नहुनुभन्दा त कानो मामा नै ठिक हो नि। यसले गर्दा चाहेर पनि हामी विरामीसँग धेरै समय विताउन पाइरहेका हुदैनौं र आवश्यक अनावश्यक जाँचहरुमा हामी बढि भर पर्ने गर्छौं।

तर यो भनेर हामी डाक्टरहरु दुधले नुहाएका पनि हुदैनौं। प्राइभेट अस्पतालमा गरिने जाँचहरु, दिइने औषधीहरुको थुप्रो आदीको पछाडी ल्याव, एक्सरे, इसीजी, सिटी स्क्यान आदीबाट पाइने कमिसन, औषधी कम्पनीहरुबाट पाइने कमिसनले पनि ठूलो भूमिका खेलेको हुन्छ। यो पवित्र चिकित्सा पेशामा घुसेका अमानविय, धुर्त र स्वार्थी तत्वहरु र नाफा मात्र खोज्ने चरम व्यापारीपनाको फेटल कम्बिनेसन(Fatal combination)को परिणाम हो।

विरामीहरुमा स्वास्थ्यसम्बन्धी ज्ञानको अभाव र कहिलेकाहीं अल्पज्ञान, जसलाई एक्स्ट्रा शो अप गर्ने प्रवृति पनि यसका दोषी हुन्। एक थरी विरामी यस्ता हुन्छन् जो डाक्टरले भनेका हरेक कुरालाई नतमस्तक भएर भगवानको वाणी मानेर शिरोपर गर्छन्, किन, कसरी, केका लागि, के हुनसक्छ, केके गर्न सकिन्छ केही पनि सोध्दैनन् वा भनौं डाक्टरहरुले सोध्ने वातावरण नै बनाउदैनन/बन्न दिदैंनन्। अनि अर्काथरी चाहीं सीमित ज्ञान भएका हुन्छन् जो डाक्टरका हरेक कुरामा शंका गर्ने, यसोगर्न, उसोगर्न सल्लाह भन्दा पनि अनावश्यक दबाब दिने गर्छन्। यी दुवै थरीका विरामीकहरुले आफूलाई परिवर्तन गर्न जरुरी छ र त्यसका लागि आवश्यक वातावरण बनाइदिनु डाक्टरहरुको कर्तब्य हो।

साधारण भाइरल ज्वरोलाई पनि छिटो ठिक पार्नुपर्यो, सामान्य औषधीले छोएन, "आराम गर्नु र सिटामोल खानु मात्र भन्ने नि के डाक्टर" भनेर महंगा तर अनावश्यक एन्टिवायटिक लेख्न दवाव दिने चलन राम्रो होइन। र त्यस्तोमा सम्झाउन अलिकति पनि प्रयास नगरी एमआर(MR)ले घोकाएको औषधी खुरुखुरु लेख्ने डाक्टरहरुको बानी पनि ठिक होइन। यसमा दुवै पक्षले सुध्रिनु जरुरी छ।

हुनुपर्ने कस्तो हो त?
ब्युटिफुल मेडिसिन/Beautiful Medicine। 

के हो त ब्युटिफुल मेडिसिन भनेको?
बार्सिलोनाले जस्तो उत्कृष्ट फुटबल प्रदर्शन गर्दै खेल पनि जित्ने। गोललाई मात्र फुटवल नठानी सम्पूर्णरुपमा उत्कृष्ट प्रदर्शन गर्ने, र यदी गोल गर्न सकिएन, खेल जित्न सकिएन भने पनि आफ्नो सुन्दर गेम खेल्न नछोड्ने।

भन्नुको अर्थ क्लिनिकल मेथड्सको पनि प्रयोग गर्दै साथमा आवश्यक नयाँ विकसित जाँच पद्दतिहरुको पनि उपयोग गरी रोग पत्ता लगाई उपचार गर्नुपर्छ। विरामीसँग गरिने सद्भाव, सानासाना कुराकानी, उनीहरुलाई 'रोगको रुपमा' मात्र नहेरी 'मानव'को रुपमा हेर्ने, सहानुभूति नभई समानुभूति/empathy दिने, आत्मविश्वास जगाउन सहयोगी भूमिका खेल्ने आदी प्रयासहरुको ठाउँ आधुनिक जाँचहरु, कम्प्युटराइज्ड मेसिनहरुले कदापी लिन सक्दैनन्। विरामीको फाइदाको लागि आवश्यकता अनुसार नयाँ विकसित पद्दतिहरुको पनि प्रयोग गर्नुपर्छ तर क्लिनिकल मेथड्सको बदलामा कदापी होइन। त्यस्तै सधैं रोग पत्ता लाग्छ, पत्ता लागेको रोग निको पार्न सकिन्छ भन्ने नि हुँदैन, त्यस्तो बेलामा नि आफ्नो लिमिटेसन/Limitationहरु भनेर, वास्तविक अवस्थाको जानकारी विरामी र उस्का परिवारलाई दिइ सहयोग र सद्भावको भावना राख्नुपर्छ।

जसरी बार्सिलोनाको फुटवललाई ब्युटिफुल फुटवल/Beautiful football भनिन्छ, मेडिसिनको यो सम्पूर्ण प्रकृयालाई म ब्युटिफुल मेडिसिन/Beautiful Medicine भन्न चाहन्छु, किनकी यो साच्चिकै सुन्दर हुन्छ।

आशा छ, भविष्यमा हामी रोग चिनेर औषधीको थुप्रो मात्र लेख्नुलाई मात्र नभई विरामी र डाक्टरबीचको विश्वासको अन्र्तसम्बन्धलाई पनि महत्व दिनेछौं, कमिसनको लागि जथाभावी महंगा जाँचहरु लेखेर विरामी र उसका आफन्तको ढाड सेक्ने कामलाई भन्दा क्लिनिकल मेथड्सलाई प्रयोग गरी अन्य जाँचहरुलाई त्यसको सहयोगको लागि मात्र प्रयोग गर्नेछौं।


छोटोमा भन्दा, ब्युटिफुल मेडिसिनको प्राक्टिस गर्नेछौ/गराउनेछौं। We will and help others practice 'Beautiful Medicine'.
बाँकी पढ्नुहोस् >>