Sunday, February 27, 2011

सिपीआर/CPR (कार्डियोपल्मोनरी रिसस्सिटेसन/ Cardiopulmonary Resuscitation)



डाक्टरहरुले मर्नै लागेको मेरो विरामीको छाती थिचेर मारिदिए। मैले मेरै आँखाले देखेको हुँ। यस्तो भनाइ विरामीका आफन्तहरुबाट कहिलेकाहीं नसुनिएको होइन। के डाक्टरहरुले साँच्चिकै छाती थिचेर विरामी मार्छन त? डाक्टरहरुबाट गल्ती नहुने होइन तर यस्तो हदैसम्मको दानवीय प्रवृतिका डाक्टर त सायदै हुन्छन् होला। त्यसो भए भएको के हो त? किन डाक्टरहरुले मर्न लागेको विरामीको छाती जोडजोडले थिच्छन्? त्यसो गर्दा अन्तिम अवस्थामा पुगेको विरामीलाई झन गाह्रों हुदैन?

के हो सिपीआर?
छाती थिच्ने त्यस्तो प्रक्रिया सिपीआर (कार्डियो पल्मोनरी रिसस्सीटेसन/ Cardiopulmonary Resuscitation)को एउटा भाग हो। यो प्रक्रियामा विरामीको छाती थिच्नुका साथै मुखमा मुख जोडेर वा मुखबाट स्वासनलीसम्म पुग्ने गरी पाइप हालेर स्वासप्रश्वास गराउने गरिन्छ।

किन गरिन्छ सिपीआर?
कुनै कारण वा रोगले गर्दा अचानक मुटु चल्न बन्द भएमा बाहिरबाट मुटु थिचेर रगत पम्प गराउनका लागि सिपीआर गर्ने गरिन्छ। यसले आफैं मुटुको संचालन शुरु गर्ने होइन कि मात्र आंशिक रुपमा रगतको संचालन गराएर मष्तिस्कमा रगत र अक्सिजनको मात्रा पुर्याइ अन्य उपचार उपलब्ध नभएसम्म मष्तिस्कलाई बचाइराख्ने प्रयास गर्छ। मष्तिस्कमा ४ मिनेटसम्म रगत नपुगेमा त्यसका कोषहरु मर्न थाल्छन् र ७ मिनेटसम्म पनि नपुगेमा पूर्णरुपमा मर्छन्। त्यसैले मष्तिस्कलाई बचाइराख्न र डिफिब्रीलेसन (Defibrillation) वा मुटुको चाल ठिक गर्न दिइने इलेक्ट्रिक सक का लागि मुटुलाई तयार पार्नलाई सिपीआर गरिन्छ।
डिफिब्रीलेसन मुटुका चालका केहि खराबीहरु जस्तै भेन्ट्रिकुलर फिब्रीलेसन (Ventricular fibrillation), पल्सलेस भेन्ट्रिकुलर ट्याकिकार्डिया (Pulseless Ventricular Tachycardia) आदीमा मात्र उपयोगी हुन्छन्। डिफिब्रीलेसन उपयोगी नहुने मुटुको चालका खराबीहरु जस्तै असिस्टोल (Asystole), पल्सलेस इलेक्ट्रिकल एक्टिभिटी (Pulseless Electrical Activity) लाई सिपीआरले डिफिब्रीलेसन उपयोगी हुने चालहरुमा परिवर्तन गर्नसक्ने सम्भावना हुन्छ। त्यसैले त्यस्ता मुटुका चालका खराबीहरुमा सिपीआर उपयोगी हुन्छ।

सिपीआर कसरी गरिन्छ?
छाती थिच्ने प्रक्रिया कम्तिमा १ मिनेटमा १०० पटक सम्म गर्नुपर्ने हुन्छ र यो र कृत्रिम स्वासप्रश्वासको प्रक्रियाको रेसियो वयस्कमा ३०:२ को हुनुपर्छ। त्यस्तै छाती थिच्दा वयस्क र केटाकेटीहरुमा करिब ५ सेमी र नवजातहरुमा करिब ४ सेमी थिचिनुपर्छ। वयस्कमा गर्दा दुबै हातको प्रयोग, केटाकेटीहरुमा गर्दा एउटा हातको मात्र प्रयोग र नवजातहरुमा गर्दा दुई औंलाको मात्र प्रयोग गर्ने गर्नुपर्छ।
सन् २०१० मा अमेरिकन हार्ट एसोसिएसन (American Heart Association)ले सिपीआर सम्बन्धी आफ्नो गाईडलाइनहरुमा केहि परिवर्तन गरेको छ। सिपीआरमा गर्नुपर्ने प्रक्रियाहरुको क्रमलाई परिवर्तन गर्दै नवजात शिशुहरुमा बाहेक अन्य सबै उमेर समूहमा एयर वे (Airway), ब्रिदिङ (Breathing) र चेष्ट कम्प्रेसन (Chest compression) बाट चेष्ट कम्प्रेसन (Chest compression), एयर वे (Airway) र ब्रिदिङ (Breathing) बनाएको छ।
कम्प्रेसन अन्लि सिपीआर (Compression only CPR/ छाती थिचेर मात्र गरिने सिपीआर)
यो सिपीआरको परम्परागत तरिका भन्दा केहि फरक छ। यसमा विरामीको छाती थिच्ने काम १ मिनेटमा १०० पटकसम्म गरिन्छ तर कृत्रिम स्वासप्रश्वास भने दिइदैन। तालीम नपाएका आम मानिसहरुको लागि तयार पारिएको यस प्रक्रियाले आवश्यक पर्दा सिपीआर गर्न उनीहरुलाई सजिलो बनाइदिएको छ।
सिपीआर प्रत्येकले थाहा पाउनैपर्ने र सिक्नैपर्ने इमरजेन्सी विधि हो। यसले मुटु अचानक बन्द भएर हुने मृत्युहरुलाई केहि कम गर्न सहयोग पुग्छ।

सिपीआरको प्रभावकारिता वास्तविकतामा र पर्दामा
सिपीआर गरेर मात्रै विरामी पूर्ण रुपमा ठिक हुने धेरै कम मात्र हुन्छ। सिपीआरको उदेस्य विरामीको मुटुलाई पहिलेको जस्तै पूर्णरुपमा सामान्य अवस्थामा ल्याउनु होइन कि अन्य उपचार पद्धतीहरु (Advanced Life Supports) उपलब्ध नभएसम्म रगतको संचालन कायम राख्दै मष्तिस्क र शरीरलाई बचाएर राख्नु हो। सिपीआर पाएका करिब सय विरामीहरुमा जम्मा ५-१० जना बाँच्न सफल हुन्छन्। अर्को एउटा अध्ययनमा सिपीआर पाएका करिब १५% विरामी अस्पतालबाट डिस्चार्ज भएर घर जान सफल भएको देखिएको छ। तर अस्पताल बाहिरको अवस्थामा गरिने सिपीआरको भन्दा अस्पतालमा भर्ना गरिएका विरामीहरुमा गरिने सिपीआरको परिणाम नराम्रो भने पक्कै हुन्छ। किनभने अस्पतालमा गरिने सिपीआर पाउने विरामीहरु प्राय: जटिल रोगहरु र अवस्थाहरु भएका हुन्छन्।
सिनेमा र टिभी सिरियलहरुमा सिपीआरलाई बढी नै प्रभावकारी देखाइने गरेको पाइन्छ। साथै सिपीआर गर्दा हात कुइनामा बंगाउने गरेको देखाइन्छ, जुन ठिक तरिकाको सिपीआर होइन। यसले गर्दा एकातिर आममानिसहरुलाई सिपीआरप्रति बढी नै आशावादी बनाइदिन्छ भने अर्कोतिर सिपीआर गर्ने गलत तरिका पनि सिकाइरहेको हुन्छ।

र अन्त्यमा,
यो लेखको शुरुमा भनिएको कुरा डाक्टरले विरामीका परिवारलाई सिपीआर विधि र यसका प्रक्रियाहरुको बारे राम्रो तरिकाले बुझाउन नसक्नुको परिणाम हो। अन्य उपचारमा जस्तै यसमा पनि विरामी र उसको परिवारलाई यस बारेमा पहिले नै राम्रोसँग जानकारी दिनुपर्छ। अझ विरामीको अवस्था जटिल र अन्तिम तिर हुने भएकोले विरामीका परिवारलाई यसबारे बुझ्ने भाषामा जानकारी दिनु अत्यन्त जरुरी हुन्छ। यो प्रक्रिया के हो, यो गर्नुको कारण के हो, यसको फाइदा, बेफाइदा आदी बारे पहिले नै छलफल गरिनुपर्छ। अस्पताल बाहिर गर्नुपर्ने इमरजेन्सी अवस्थाहरुमा यसो गर्न सम्भव नहुनसक्छ तर अस्पतालमा भर्ना गरिएका विरामीहरु, जसमा सिपीआर गर्नुपर्ने अवस्था आउनसक्छ, उनीहरुसँग यसबारे पहिले नै सल्लाह गरिनुपर्छ।

स्रोतहरु:-
1.  Cardiopulmonary resuscitation
       http://en.wikipedia.org/wiki/Cardiopulmonary_resuscitation
2.    CPR survival in the Hospital setting
http://www.eperc.mcw.edu/fastFact/ff_179.htm
3.    Cardiopulmonary resuscitation on Television- Miracles and Misinformation
http://www.nejm.org/doi/full/10.1056/NEJM199606133342406
4.    Public Expectations of CPR Outcome: We Can't Just Blame TV
http://emergency-medicine.jwatch.org/cgi/content/full/2000/401/22
5.    Lack of CPR education risks lives
http://www.suite101.com/content/lack-of-cpr-education-risks-lives-a41829
बाँकी पढ्नुहोस् >>

Tuesday, February 22, 2011

नेपालमा गर्भपतन


केहि दशक अघिसम्म नेपालमा गर्भपतनलाई कानुनी रुपमा मानव हत्यासँग तुलना गरिन्थ्यो र त्यहि अनुसारको सजाय दिने पनि गरिन्थ्यो। यसले गर्दा त्यो बेला गर्भपतनसम्बन्धी ज्ञान र अनुभव नभएका व्यक्तिहरुले लुकेर लुकाएर गर्भपतन गर्ने गर्थे, जसका कारणले कैयौं महिलाहरुमा त्यसका जटिलता खराब असरहरु देखिन गई ज्यान समेत गुमाउनु पर्थ्यो। यसैले गर्दा पनि नेपालको मातृ मृत्युदर संसारमै धेरैहरुमा गनिन्थ्यो। तर यसलाई कानुनी दायरामा ल्याउनका लागि लागीपर्ने सबैलाई हामीले धन्यवाद दिनुपर्छ, जसको अथक प्रयासले सन् २००२ मा नेपालमा गर्भपतन सम्बन्धी कानुन पारित भयो। त्यसपछि दक्ष र अनुभवी जनशक्तिको मातहतमा कानुनले तोकेको अवस्थाहरुमा गर्भपतन हुन थाल्यो, जसले गर्दा एकातिर अनावश्यक गर्भ रोकेर जनसंख्या नियन्त्रणमा सहयोग मिल्यो भने अर्कातिर गर्भपतनसँग सम्बन्धित समस्याहरुले गर्दा हुने महिलाहरुको मृत्यु संख्या ह्वात्तै घटेर मातृ मृत्युदरमा उल्लेखनीय सुधार आयो।

गर्भपतन सम्बन्धी नेपाली कानुनमा के छ?
सन् २००२ मा पारित भएको गर्भपतन सम्बन्धी कानुनले महिलाको वर्तमान वा विगतका वैवाहिक सम्बन्धको स्थिति जस्तोसुकै भएपनि निम्नलिखित मध्ये कुनै एक कारणको लागि गर्भपतन गराउन सक्ने सम्पूर्ण अधिकार गर्भवती महिलालाई नै दिएको छ।
. महिलाको व्यक्तिगत इच्छामा १२ हप्तासम्मको गर्भ पतन गर्न सकिने,
. करणी वा हाडनाताको सम्बन्धले रहन गएको गर्भ भएमा १८ हप्तासम्म पतन गर्न सकिने,
. गर्भका कारणले महिलाको जीवनलाई वा उसको शारीरिक मानसिक स्वास्थ्यलाई खतरा पुग्न जाने अवस्थामा वा गर्भमा रहेको भ्रुणमा खराबी वा अपांगता देखिएमा गर्भको कुनै पनि समयमा चिकित्सकको सल्लाहमा गर्भ्रपतन गर्ने चाहना गर्न सकिने
तर बच्चाको लिंगका आधारमा भने गर्भपतन गर्न गराउन पाइदैंन। साथै बच्चाको लिंग पत्ता लगाएर गर्भपतन गराउनका लागि एम्नियोसिन्टेसीस (Amniocentesis) एक प्रकारको जाँच गराउनु पनि गैरकानुनी हो। यदि कसैले त्यस्तो कार्यका लागि एम्नियोसिन्टेसीस गरेको वा गर्नुको कारण भएको प्रमाणित भएमा ३ देखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था छ। त्यस्तै कसैले भ्रुणको लिंगका आधारमा गर्भपतन गराएको वा गर्नुको कारण भएको प्रमाणित भएमा थप एक वर्ष कैद सजाय हुन्छ।
गर्भपतन सम्बन्धी कानुनमा १२ हप्तासम्मको गर्भको पतनका लागि एम भी ए (MVA) / (म्यानुअल भ्याक्युम एस्पीरेसन/ Manual Vacuum Aspiration) तरिका अपनाउन सकिने र १२ हप्ताभन्दा माथिको गर्भको पतनका लागि एम भी ए (MVA) वा डी एण्ड ई (D and E)/ डाइलेटेसन एण्ड इभाकुएसन (Dilatation and Evacuation) तरिका अपनाउन सकिने उल्लेख छ।
कुनै स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले गर्भपतन सेवा उपलब्ध गराउन चाहेमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा दर्ता गराउनुपर्छ। त्यस्तै गर्भपतन सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीले उक्त सेवाको निश्चित शुल्क पारदर्शीरुपमा लिन पाउने छन्।
यो कानुनको मुख्य उद्धेस्य भनेको असुरक्षित गर्भपतनका कारणले हुने मातृ मृत्युदर र मातृ अस्वस्थतादरलाई घटाइ सुरक्षित मातृत्वलाई बढावा दिनु हो।

गर्भपतन कसरी गरिन्छ?
१२ हप्तासम्मको गर्भपतनका लागि एम भी ए (MVA) विधि अपनाउने गरिन्छ। यो विधि लोकल एनेस्थेसियामा पाठेघरको मुखलाई मात्र लाटो बनाएर र साधारण दुखाइको औषधी दिएर गर्न सकिन्छ। यसमा ठूलोसानो गरी विभिन्न साइजका नली जस्तो प्लास्टिकका क्यानुला पाठेघरको मुखबाट पाठेघरभित्र छिराइन्छ। त्यसपछि ठूलो खालका सिरिन्ज जस्तो यन्त्रको सहायताले भ्याकुम उत्पन्न गराई पाठेघरभित्रको भ्रुण र त्यसको विकासको लागि तयार भएको पाठेघरको बाक्लॊ भित्री सतह, रक्तनलीहरुलाई बाहिर निकालिन्छ। यो एउटा साधारण विधि हो र यो गरेको केहि घण्टामा नै घर जान सकिन्छ। यो गरेको केहि दिनसम्म योनिबाट रगत बग्ने केहि मात्रामा तल्लो पेट दुख्ने हुनसक्छ। कहिलेकाहीं २% भन्दा कममा पूर्णरुपमा भ्रुण ननिस्कने (Incomplete abortion), पाठेघरको संक्रमण हुने, बढि मात्रामा रगत बग्ने, पाठेघरमा प्वाल पर्ने आदी हुनसक्छ। एम भी ए को बारेमा पूर्ण जानकारी लिन तलको लिंक हेर्नुहोस्।
१२ हप्ताभन्दा माथिको गर्भपतनको लागि डि एण्ड ई (D and E) विधि अपनाउन सकिन्छ। यो विधि लोकल एनेस्थेसिया वा जेनेरल एनेस्थेसिया (पूरै बेहोस बनाई) गरिन्छ। यसमा प्रोस्टाग्लान्डिन (Prostaglandin) औषधी वा डाइलेटर उपकरणहरुको सहायताले पाठेघरको मुख खोलिन्छ र फोरसेप (Forcep) हरुको मद्दतले भ्रुणलाई बाहिर निकाल्ने र पाठेघर सफा गर्ने गरिन्छ। रक्तस्राव कम होस् भनेर अक्सिटोसिन (Oxytocin) औषधी प्रयोग गरिन्छ। यो विधि गरेको केहि घण्टापछि नै घर जान सकिन्छ तर कहिलेकाहीं एम भी ए विधिमा जस्तै बढि रक्तस्राव हुने, पेट दुख्ने, पाठेघरमा प्वाल पर्ने, पाठेघरको संक्रमण हुने, पूर्ण गर्भपतन नहुने समस्याहरु देखिन सक्छन्। पाठेघरको संक्रमण हुन नदिनका लागि केहि दिनसम्म एन्टिबायटिक खानुपर्ने हुन्छ।
यी विधिहरु गर्नुभन्दा अघि रगतमा हेमोग्लोबिनको मात्रा, रगतको समूह, यौन रोगहरुको जाँच साथै तल्लो पेटको भिडियो एक्सरे आदि जाँचहरु गर्ने गरिन्छ। यदि गर्भवती महिलाको ब्लड ग्रुप नेगेटिभ (, बी, एबी वा ओ नेगेटिभ) छ भने यी विधिहरु गरेपछि पहिले दिइसकेको छैन भने एन्टि डि इम्युनोग्लोबुलिन (Anti-D immunoglobulin) भन्ने औषधी दिनुपर्छ। यो औषधी भविष्यमा पोजेटिभ ब्लड ग्रुपको भ्रुणलाई नेगेटिभ ग्रुपको आमाको रगतमा बन्ने एण्टिबडीबाट हुनसक्ने हानिकारक असरबाट बचाउनका लागि दिइन्छ।

गर्भपतनपछि के के खतराहरु हुनसक्छन् र महिलाको अवस्था कस्तो हुन्छ?
गर्भपतन पछि तत्कालै हुनसक्ने खतरा भनेको बढि रक्तस्राव हुनु हो। गर्भ रहेको हप्ता बढि हुदैं गएपछि रक्तस्राव हुने सम्भावना पनि बढेर जान्छ। रक्तस्राव कम गर्न अक्सिटोसिन प्रयोग गर्न सकिन्छ, तैपनि कहिलेकाहीं अत्यधिक रक्तस्राव भएर रगत चढाउनु पर्ने पनि हुनसक्छ।
त्यस्तै अर्को खतरा भनेको पाठेघर र त्यस नजिकका अंगहरुको संक्रमण हो। गर्भपतन गराउँदा भ्रुण पूर्णरुपमा बाहिर नआएमा पाठेघरको संक्रमण हुने सम्भावना बढी हुन्छ। यसमा तल्लो पेट दुख्ने, योनीबाट मैलो गन्हाउने पानी बग्ने, ज्वरो आउने आदि हुन्छ र लामो समय संक्रमण भई पी आई डी (PID/ Pelvic Inflammatory Disease) भएमा त्यसको खराब असरका कारणले भविष्यमा गर्भ रहन समस्या हुने, रहेको गर्भ आफैं तुहिने हुनसक्छ। गर्भपतनपछि हुनसक्ने संक्रमणबाट बच्नको लागि एन्टिबायटिक सेवन गर्न सकिन्छ।
माथि भनिएको जस्तो जटिल अवस्थाहरु नआएमा गर्भपतन पछि महिलाको अवस्था सामान्य नै हुन्छ र भविष्यमा रहने गर्भमा पनि समस्या देखिने गर्भ रहन गाह्रों हुने महिनावारीमा गडबडी हुने हुदैंन।

अन्त्यमा,
हरेक कुराको राम्रो र नराम्रो पक्ष भए जस्तै गर्भपतन सम्बन्धी कानुनको पनि केहि नराम्रा पक्ष नभएका होइनन्। केही व्यक्तिहरुले गर्भपतनलाई अझै पनि जीवन हत्याको रुपमा लिन्छन्। साथै यसको वैधानीकिकरणले समाजमा पश्चिमी संस्कृतिको छाडापन आएको भन्ने केहिको विचार रहेको छ। तर पनि यस कानुनले अनावश्यक गर्भहरुलाई रोकेर जनसंख्या नियन्त्रणमा मद्दत पुर्याउनुका साथै मानिसहरुमा स्वास्थ्यसम्बन्धी चेतना बढाएको र असुरक्षित गर्भपतनका कारणले हुने मातृ मृत्युलाई धेरै नै घटाएको कुरालाई भने नकार्न सकिदैंन।

स्रोतहरु:-
बाँकी पढ्नुहोस् >>

Thursday, February 17, 2011

स्वास्थ्य शिविरबाट फर्केपछी…..




केही दिन अघि म तनँहुको टुहुरे पसल भन्ने गाँउमा एकदिने स्वास्थ्य शिविरमा गएको थिएँ। त्यो गाँउ त्यति विकट त होइन तर त्यँहा पुग्ने बाटो चाँहि धेरै नै गाह्रो रहेछ। गाडी त चल्ने तर साह्रैं नै खत्तम बाटो। एउटा एम्बुलेन्समा हामी १२-१३ जना र शिविरमा वितरण गर्ने भनिएको औषधीहरु सबै कोचिएर उचालिदै, थिचारिदै, बत्तिदै, हुत्तिदै, जसोतसो गरेर बल्लबल्ल त्यहाँ पुग्यौं। त्यहाँका गाँउलेहरुको न्यानो र भव्य स्वागतपछि शिविर शुरु भयो। सहभागिता राम्रो थियो, व्यवस्थापन पनि ठिकै भन्नुपर्छ। तर मैले यहाँ उठाउन लागेको कुरा शिविर कस्तो भयो भन्ने भन्दा पनि शिविरमा विरामीहरु हेरेपछि उनिहरुका समस्याहरु सुनेपछि म आफुलाई लागेका केही कुराहरु हुन्।

शिविरमा अधिकांशको समस्या पेट पोल्ने, दुख्ने, छाती पोल्ने, ढाड जोर्नीहरु दुख्ने, टाउको दुख्ने, नसा (हातको, पेटको, खुट्टाको) दुख्ने आदी थिए। पेट पोल्ने, दुख्ने, छाती पोल्ने समस्या धेरैजसो ग्याष्टिक वा ग्यास्ट्राइटिस वा त्यससँग सम्बन्धित अन्य रोगहरुले गर्दा भएको बुझिन्थ्यो। यो समस्याको बारेमा यस अघिको लेखमा वृस्तितमा कुरा गरेको छु। यसका साथै शरीरका विभिन्न भागका नसाहरु दुख्ने फूल्ने समस्याहरु पनि धेरैमा देखियो। अनि कैयौं पटक औषधी गर्दा पनि ठिक नभएका पुराना रोगहरु पनि थुप्रै भेटिए।

नसाहरुको समस्यामा चाँही अचम्मलाग्दो कुरा के छ भने नसा सम्वन्धि रोगहरु भनेका के हुन्, त्यही नै स्पष्ट छैन। चिकित्सा विज्ञानको कुरा गर्ने हो भने नसा भनेको स्नायु (Nerve) को जनबोली शब्द हो। तर हामीहरु (बुझेर, नबुझेर) यो नसा शब्दको प्रयोग दुरुपयोग गर्छौं। रोगहरुकै कुरा गर्ने हो भने हाडहरुको बीचमा नसाहरु च्यापिने, मधुमेह तथा अन्य रोगहरुका कारणले नसामा खराबी देखिने, नसाहरु स्वयममा नै विभिन्न खराबीहरु आई तिनीहरुले आफ्नो काम गर्न नसक्ने आदी रोगहरु हुन्छन्। तर हामीकहाँ देखिने अधिकांश नसाका रोगी भनी भनिएकाहरुमा वास्तविक नसा अर्थात् स्नायुका रोगहरु भन्दा पनि अन्य समस्याहरु जस्तै मानसिक समस्याहरु आदि भएको पाइन्छ। एकजना विरामीले मेरो खुट्टाको नसाहरु दुख्छन् भनेर घुँडा पछाडीका कडा डोरी जस्तो लाग्ने कुरा देखाउनुभयो, जुन नसा वा स्नायु नभएर मांशपशी अर्थात् मासुलाई हाडहरुसँग जोड्ने भाग टेन्डन (Tendon) हो। त्यस्तै कतिले पेटको नसाहरु दुख्ने भनेर भन्नुभयो, कतिले टाउकोका, कतिले घाटीका नसाहरु दुख्ने भनेर भन्नुभयो तर धेरैको समस्याहरु वास्तवमै भन्ने हो भने नसा/ स्नायु सम्बन्धि थिएनन्। यसो भनेर मैले यो वहाँहरुको गल्ती भन्न खोजेको होइन। विरामीहरुलाई त त्यो कुरा थाहा हुदैंन, उनीहरुले त जे कुरा सुनेका छन्, जे कुरा बुझेका छन्, त्यही अनुसार आफ्नो समस्या राख्छन्। यो त हाम्रो कमजोरी हो कि हामी थाहा पाएकाहरुले पनि या त बुझाउनै खोज्दैनौं या त बुझाउन खोजे पनि बुझाउन सक्दैनौं। मैले यहाँ हामी भनेर डाक्टरहरुलाई मात्र नभई स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नर्स, हेल्थ असिस्टेन्ट, फार्मेसीस्ट, अनमी आदी सबैलाई भन्न खोजेको हुँ।

हामीहरु आफैँ पनि कैयौं चोटी जानी नजानी यो शब्दको जथाभावी प्रयोग गरिरहेका हुन्छौं। शरीरका विभिन्न अंगहरु दुख्ने, जति जाँच गरेपनि खराबी केही नभेटिने, पत्ता नलाग्ने, जति औषधी गरेपनि ठिक नहुने रोगहरु, जुन मानसिक स्वास्थ्य सम्बन्धी रोगहरु कन्भस्रन डिसअडर (Conversion Disorder), सोमाटोफर्म डिसअडर (Somatoform Disorder), पेन डिसअडर (Pain Disorder) आदी हुन्। तर हामी विरामीहरुलाई भन्दा त्यसलाई एक प्रकारको मानसिक रोग भन्नु भन्दा पनि नसा सम्बन्धी रोग भन्न रुचाउछौं, जुन एउटा मीठो झुठ हो। हुन त हामीले विरामी र उनका परिवारलाई नराम्रो लाग्ला भनेर त्यसो भनेको भन्ने गर्छौं तर वास्तवमा भन्ने हो भने प्रायः विरामीको प्रतिकि्रया कस्तो आउँला भन्ने डरले वा विरामीलाई अनावश्यक रुपमा कुरा बुझाइरहनुपर्ने झन्झटबाट बच्न त्यसो गर्ने गरिन्छ। हामी विरामीसँग ५-१० मिनेट बढी कुरा गर्नु भन्दा वा मानसिक रोग विशेषज्ञकहाँ पठाउनुभन्दा एमीट्रिपटालिन (Amitryptyline) औषधी लेखेर घर पठाउन सजिलो मान्छौं। तर यसो भन्दा इच्छा हुँदाहुँदै पनि समयको कमीका कारणले, विरामीको ठूलो संख्यालाई डाक्टरहरुको सानो संख्याले जसरी पनि जाँच गरेर भ्याउनै पर्ने बाध्यताहरुलाई भने बिस्रन हुदैंन। अनुसन्धानहरुले देखाए अनुसार डाक्टर र विरामी बीच राम्रो सम्बन्ध बन्नको लागि हरेक भेट/ कन्सल्टेसन १२-१५ मिनेटको हुनुपर्छ। तर हाम्रो परिवेशमा यस्ता स्वास्थ्य शिविरका त के कुरा अस्पतालको ओपीडी, प्राइभेट क्लिनिकमा पनि विरामीको ठूलो संख्याको कारण त्यसो गर्न गाह्रैं पर्छ।

मेरो मनमा खड्केको अर्को कुरा भनेको स्वास्थ्यको अनियन्त्रित अनैतिक र अमर्यादित व्यापारीकरण हो। विरामीको समस्याको लागि अनावश्यक महंगा जाँचहरु गर्ने पहिले भैसकेको भएपनि अनावश्यक रुपमा दोहर्याउन लगाउने, अनावश्यक कडा र महंगा औषधीहरु लेख्ने आदि कि्रयाकलापहरु हाम्रो समाजमा धेरै नै हुदैं आइरहेका छन्। साधारण टाउको दुखाइका लागि सिटि स्क्यान (CT scan), एम आर आइ (MRI) गर्न सुझाव दिने गरिन्छ, जबकि ती जाँचहरु गर्ने निश्चित समस्या र लक्षणहरु हुन्छन्। त्यस्तै पेट दुख्यो कि भिडियो एक्स-रे गर्न लगाइन्छ। हुन त यसमा विरामीहरुको पनि केहि गल्ती हुन्छ, उनीहरुले पनि डाक्टरसँग आफ्नो समस्याको बारेमा छलफल गरेर के जाँच गर्न सकिन्छ, के उपचार गर्न सकिन्छ भन्ने निर्णय गर्नुभन्दा मलाई टाउकोको सिटि स्क्यान गर्नुपर्यो, पेटको भिडियो एक्स-रे गर्नुपर्यो भनेर भन्न आउँछन्। अनि स्वास्थ्यकर्मीहरुले पनि आफ्नै फाइदा त हुने हो नि भनेर चुपचाप त्यस्ता महंगा तर अनावश्यक जाँचहरु गराउँछन्।

एकजना २०-२२ वर्षको युवाको साधारण छाती दुखाइ सम्भवत कोन्ड्राइटिस (Chondritis- छातीको अघिल्लो भागका कुरकुरे हाडहरुको इन्फ्लामेसन) को लागि विना अन्य कुनै इन्डिकेसन छातीको सिटि स्क्यान गरेको भेटियॊ। उसलाई त आफ्नो छाती दुखाइको कारण ठूलै रोग पनि हुनसक्छ भन्ने लागेको हुन्छ र उ जस्तोसुकै जाँच उपचार गराउन पनि तयार हुन्छ। तर त्यस्तो बेला आफूलाई जान्नेबुझ्ने भनाउन रुचाउने स्वास्थ्यकर्मीहरुले अलिकति समय दिएर विरामीलाई रोगको बारेमा बुझाएको भए त्यो अनावश्यक जाँच गरिराख्नुपर्ने थिएन। तर व्यापारीकरणको कारणले पैसा कमाउने दौडमा लागेकाहरुलाई त्यस्तो सोच्ने फुर्सतै कहाँ हुन्छ र यस्तै अनियन्त्रित अनैतिक र अमर्यादित व्यापारीकरणले गर्दा वर्षौं कति अनावश्यक जाँचहरु गरिन्छन्, कति अनावश्यक अप्रेशनहरु गरिन्छन्, कति पाठेघरहरु अनावश्यक रुपमा फालिन्छन्, त्यसको कुनै लेखाजोखा नै छैन। त्यस्तै छारेरोगको लागि दिइने औषधी कारबामाजेपीन (Carbamazepine) पनि विना डाक्टरको सल्लाह औषधी पसलबाट चलाइएको पाइयो। हुन त यस्ता उदाहरणहरु मैले दिइराख्नु पर्दैन, यी हामी सबैलाई थाहा भएकै कुराहरु हुन्, मात्र हामीले ध्यान नदिएका हौं।

यी समस्याहरु, हाम्रो देशको स्वास्थ्य क्षेत्रको यस्तो अवस्था बारे मलाई पहिले पनि थाहा नभएको होइन। तर एउटा विकसित राष्ट्रको स्वास्थ्य क्षेत्रको छोटो अनुभवले, त्यहाँका सचेत विरामीहरुसँगको सानो उठबसले मलाई हामी कति पछाडी रहेछौं भन्ने ज्ञान दिलाइदियो। स्वस्थ नेपालको उदेश्य अगाडी यस्ता धेरै समस्याहरु छन्। यस्ता समस्याहरुलाई कसरी हटाउन सकिन्छ त?

पहिलो कुरा अहिले हामी ठगिन चाहने उपभोक्ता र ठग्न चाहने व्यापारीको जोडी जस्तो छौं। ठग्न चाहने व्यापारीलाई रोक्न सजिलो हुदैंन तर हामी आफैं सचेत भएर ठगिन चाहने उपभोक्ताबाट आफ्नो समस्याको बारेमा राम्ररी छलफल गरेर निर्णय गर्ने बुझक्की बन्नसक्यौं भने यसलाई केही कम गर्न सकिन्छ। यो सबैभन्दा महत्वपूर्ण कुरा हो। हामी आफू सचेत भयौं भने आफ्नो रोग समस्याका बारेमा सक्दो जानकारी राख्ने, डाक्टरसँग राम्रोसँग छलफल गर्ने गर्यौं भने यस्ता समस्याहरु धेरै नै कम हुन्छ। साथै धेरै र महंगा औषधी मात्रै लेख्ने, धेरै जाँच गराउने डाक्टर राम्रो होइन कि तपाईंको समस्याको बारेमा तपाईंसँग वृस्तितमा छलफल गर्ने, समस्याका बारेमा सम्पूर्ण कुराहरु बुझाएर निर्णयको अधिकार तपाईंलाई दिने डाक्टर राम्रो हो भन्ने बुझ्नुपर्छ।

अर्को कुरा चाँही हामी स्वास्थ्यकर्मीहरुले गर्नुपर्ने हो। हामीले बढ्दो व्यापारीकरणको पछाडी मात्र नदौडेर विरामीको स्वास्थ्यलाई प्राथमिकता दिने प्रयास गर्नुपर्छ। कुनै पनि औषधी दिनुभन्दा अगाडी त्यसको आवश्यकता कति छ बुझ्नुपर्छ। कुनै पनि अप्रेशन गर्नुभन्दा अगाडी त्यसको औचित्य कति छ बुझ्नुपर्छ। अनि कुनै पनि औषधी शुरु गर्नुभन्दा अघि कुनै पनि रोगको उपचार शुरु गर्नुभन्दा अघि विरामी वा उनका परिवारलाई त्यसको बारेमा राम्ररी सरल भाषामा बुझाउने गर्नुपर्छ। त्यस्तै आफ्नो अधिकारभन्दा बाहिरको आफ्नो पढाइ वा अनुभवले भ्याउने क्षेत्रभन्दा बाहिरको रोग समस्याहरुमा हचुवामा सुझाव दिने औषधी चलाउने गर्नु हुदैंन। हामी धेरै औषधीहरु चलाउने मेसीन वा धेरै अप्रेशन गर्ने रोवोट बन्नुभन्दा विरामीको समस्या बुझ्ने उसका कुरा सुन्ने र समाधानका लागि राम्रो र उचित सल्लाह दिने साथी बन्नु उचित हुन्छ।

यी समस्याहरु धेरै नै ठूला गहिरा र पुराना हुन्, तर हामी सबै मिलेर स्वस्थ नेपाल र स्वस्थ नेपालीको उद्देश्य राखी यसका लागि आफ्नो तर्फबाट लागीपर्यौं भने यी समस्याहरु समाधान भई एक दिन स्वस्थ नेपाल बन्ने कुरा असम्भव चाँही पक्कै होइन।
बाँकी पढ्नुहोस् >>

Tuesday, February 15, 2011

ग्यास्टिक/ ग्यास्ट्राइटिसको नालीबेली



नेपालीहरुलाई चिनाउने रोगको रुपमा ग्याष्टिक रोग परिचित छ। नेपाली नागरिकता नै ग्याष्टिक रोग भए नभएको अनुसार दिनुपर्छ भनेर ठट्टा गरेर भन्ने गरेको पनि पाइन्छ। आज म यहि ग्याष्टिक रोगको बारेमा वृस्तितमा कुरा गर्न गइरहेको छु।

ग्याष्टिक रोग भनेको के हो?
मेडिकल भाषामा ग्यास्ट्राइटिस (Gastritis) भनेर चिनिने यो रोगलाई साधारण बोलीचालीको भाषामा ग्याष्टिक वा ग्याष्ट्रिक भनिन्छ। यो रोगमा पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ। धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जाने पनि हुन्छ।

किन र कसरी हुन्छ यो ग्याष्टिक रोग?
हामीले खाएको खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका साथसाथै हाइड्रोक्लोरिक एसिड (Hydrochloric acid) भनिने एक खालको कडा अम्ल पनि हुन्छ। यो अम्लको उत्पादन हाम्रो आमाशयभित्र हुन्छ र यसको काम खाना पचाउनलाई सहयोग गर्नुका साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ। अब प्रश्न उठ्छ कि यस्तो कडा अम्ल हाम्रो आमाशय भित्र हुँदा पनि आमाशयलाई किन केही असर नपरेको होला। किनभने आमाशयलाई यो अम्लबाट बचाउनका लागि हाम्रो शरीरमा विभिन्न प्रकि्रयाहरु हुन्छन्। जस्तै आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस (Mucus) निकालिरहेको हुन्छ जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ। त्यस्तै उक्त अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट (Bicarbonate) एक प्रकारको क्षार पनि उत्पादन भइरहेको हुन्छ।
यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रकि्रयाहरुको सन्तुलनमा गडबडीका कारण तपाईहामीलाई ग्याष्टिक वा ग्यास्ट्राइटिस रोग लाग्छ।
यसका कारणहरुमा हेलिकोब्याक्टर पाइलोरी (Helicobacter pylori) भन्ने किटाणुको संक्रमण अग्रपंक्तिमा पर्छ। नेपाल जस्ता अविकसित देशहरुमा ८०% भन्दा बढि मानिसहरुमा यो किटाणुको संक्रमण भएको अध्ययनहरुमा देखिएको छ।
त्यस्तै धुम्रपानको कारणले पनि यो रोग हुने सम्भावना बढ्न जान्छ। NSAIDs (Non-steroidal anti-inflammatory drugs) जस्तै ब्रुफेन निम्स आदि दुखाइ कम गर्ने औषधीहरुको अत्यधिक सेवनले पनि यो समस्या हुनेगर्छ।

यो रोगको शंका लागेमा वा यो रोगको पहिचानका लागि के के जाँचहरु गर्न सकिन्छ?
साधारणतया यो रोग विरामीको समस्या सुनेर शरिरको जाँच गरेर नै पत्ता लगाउने गरिन्छ, यो तरिकालाई क्लिनिकल डायगनोसिस (Clinical Diagnosis) भनिन्छ। माथि भनिएका लक्षणहरु पेट पोल्ने, छाति पोल्ने, पेट फुलेको जस्तो हुने, खाना अरुची हुने आदी छन् र शरिर जाँचमा अरु खराबी देखिएनन् भने ग्याष्ट्रिक वा ग्यास्ट्राइटिस रोग भनी भन्ने गरिन्छ। तर कहिलेकाही अरु रोगहरुसंग झुक्किने हुँदा र यो रोगको अरु जटिल अवस्थाहरु भइसकेका छन् की छैनन् भनी थाहा पाउनका लागि केही जाँचहरु गर्ने गरिन्छ।
जस्तै- यो रोगमा कहिलेकाहीं छाति पोल्नुका साथै दुख्ने पनि हुन्छ र मुटुका रोगहरुसँग झुक्किने हुन्छ। त्यसैले त्यस्तो बेला मुटुको रोग हो होइन भनि छुट्याउनका लागि मुटु सम्बन्धि जाँचहरु (इसिजी, मुटुका इन्जाइमहरुको मात्रा आदि) गर्नुपर्ने हुन्छ। त्यस्तै कहिलेकाहीं पेटका अन्य रोगहरु जस्तै प्यान्क्रियाटाइटिस/ Pancreatitis (प्यान्क्रियाज/ Pancreas को इन्फ्लामेसन), एपेन्डिसाइटिस/ Appendicitis (एपेन्डिक्स/ Appendix को इन्फ्लामेसन), कोलेसिस्टाइटिस/ Cholecystitis (पित्तथैलीको इन्फ्लामेसन) आदि रोगहरुसंग झुक्किने हुन्छ। त्यसैले ती रोगहरुबाट छुट्याउनका लागि रगतका विभिन्न जाँचहरु, पेटको भिडियो एक्स-रे आदि गर्नुपर्ने हुन्छ।
साथै कुनैकुनै अवस्थामा ग्याष्ट्रिक/ ग्यास्ट्राइटिस रोगमा हुनसक्ने जटिल अवस्थाहरु जस्तै ग्याष्ट्रिक अल्सर (आमाशयको भित्री भागको सतह खिइएर घाउ हुनु), ड्युडेनल अल्सर (सानो आन्द्राको अल्सर), आमाशय वा आन्द्रामा प्वाल पर्ने (Perforation of peptic ulcer or duodenal ulcer) आदि भए नभएको थाहा पाउनको लागि अप्पर इन्डोस्कोपी/ Upper Endoscopy (मुखबाट पाइप छिराएर पेटमा घाउ भएनभएको हेर्ने जाँच गर्ने), पेटको एक्स-रे गर्ने आदि गर्नुपर्ने हुन्छ।

त्यस्तै हेलिकोब्याक्टर पाइलोरी/ H. pylori किटाणुले गर्दा भएको हो की भन्ने शंका लागेमा त्यस सम्बन्धि जाँचहरु पनि गर्न सकिन्छ। यसका जाँचहरु नेपालका सबै अस्पतालहरुमा उपलब्ध नहुन सक्छन्।
यी सबै जाँचहरु र आफूलाई गर्न लागिएका जाँचहरुका बारेमा आफ्नो चिकित्सकसँग राम्ररी छलफल गर्नुपर्छ।

यो रोगबाट बच्न के गर्न सकिन्छ?
साधारणतया ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ। रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ। साथै दुखाइ कम गर्ने औषधीहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुदैन। र रोगको शंका लागेमा तुरुन्त डाक्टरलाई देखाइ औषधी सेवन गर्ने रोकथामका उपायहरु अपनाउने गर्नाले यसका जटिल अवस्थाहरुबाट बच्न सकिन्छ।

यसको उपचार के हो?
घरेलु उपचारहरु जस्तै चिल्लो, पिरो, अमिलो कम खाने, पानी प्रशस्त मात्रामा पिउने, धेरै बेर खाली पेट नबस्ने आदि गर्नाले पनि यो रोगबाट धेरै छुटकारा मिल्छ। ग्याष्टिकको समस्या धेरै नै छ र घरेलु उपचारले मात्रै ठिक भएन भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
यो रोगका लागि चिकित्सकले प्रायः प्रयोग गर्ने औषधीहरुमा एन्टासिड (Antacid) आमाशय भित्रको अम्लको असर कम गर्नका लागि,  रेनिटिडिन (Ranitidine) जुन एसिलक, आर-टिन आदि नाममा पाइन्छ र प्रोटोन पम्प इन्हिबिटर (Proton pump inhibitor) प्राजोल समुहका औषधीहरु जस्तै ओमेप्राजोल (Omeprazole), प्यान्टोप्राजोल (Pantoprazole), एस्मोप्राजोल (Esmoprazole) आदि, जुन प्यान्टोप, प्यान ४० आदि विभिन्न व्यापारिक नामहरुमा पाइन्छन्।
साथै हेलिकोब्याक्टर पाइलोरी किटाणुको संक्रमणले गर्दा यो समस्या भएको हो भने ट्रिपल थेरापी (Triple therapy) भनिने उपचार पद्धति शुरु गरिन्छ, जसमा प्रायः क्लारिथ्रोमाइसिन/ Clarithromycin, एमोक्सीसिलिन/ Amoxicillin र ओमेप्राजोल/ Omeprazole गरी ३ औषधीहरु ७ दिनको लागि प्रयोग गरिन्छ।
यी औषधीहरु हामीमध्ये धेरैजसोले साधारण ग्याष्टिकको औषधी त हो नि भनि चिकित्सकको सल्लाह विना प्रयोग गर्ने गर्छौं तर यिनका खराब असरहरु पनि हुन्छन् र चिकित्सकको सल्लाह विना यिनको प्रयोग गर्नु हानिकारक हुनसक्छ। अझ अरु रोगको औषधी पनि खाइरहनु भएको छ भने ती औषधीहरुसंग यसले प्रतिकि्रया (रियाक्सन/ reaction) गर्नसक्छ। त्यसैले यस्ता औषधीहरुको प्रयोग गर्नु अघि चिकित्सकसंग सल्लाह लिनु उचित हुन्छ।

र अन्त्यमा,
ग्याष्ट्रिक रोगमा धेरैले पेटको माथिल्लो भागमा भुक्लुक भुक्लुक उफ्रने, गोला हिड्ने गरेको बताउने गर्छन्। तर चिकित्सा शास्त्रमा ग्याष्ट्रिक/ ग्यास्ट्राइटिसमा त्यस्ता लक्षणहरु हुन्छन् भनेर भनेको छैन। त्यसो भने ती लक्षणहरु के हुन् त?

मेरो व्यक्तिगत अनुभवका आधारमा भन्ने हो भने पेटको माथिल्लो भागमा भुक्लुक भुक्लुक उफ्रने कुरा शरीरको सबैभन्दा ठूलो धमनी (रगत मुटुबाट शरीरका अन्य भागहरुमा लैजाने रक्तनली) एब्डोमीनल एओर्टा (Abdominal aorta) हो। यो मुटुको खुम्चने र फुक्ने प्रकि्रयासँगै खुम्चने र फुल्ने गर्छ। ग्यास्ट्राइटिसमा दुख्ने आमाशय, ड्युडेनमको ठिक पछाडी यो धमनी हुन्छ, त्यसैले ती ठाँउहरुमा दुख्ने बेलामा त्यहाँ छाम्दा उक्त धमनी चलेको छामिन्छ र ग्याष्ट्रिक रोगमा त्यो उफ्रेको जस्तो लाग्ने गर्छ। त्यस्तै गोला हिड्ने चाँही सानो आन्द्रा ठूलो आन्द्राहरुको नियमित चल्ने प्रकि्रया पेरिस्टाल्सीस (Peristalsis) हुनसक्छ। खाएको खाना पचाउनका लागि तलतल लैजानका लागि आन्द्राहरु नियमित रुपमा चलिरहने हुन्छन् र विरामीले त्यही चाल याद गरेको हुनुपर्छ।

स्रोतहरु:-  

बाँकी पढ्नुहोस् >>

Saturday, February 5, 2011

मानसिक स्वास्थ्यका बारेमा केही कुराहरु


नवरी १६, २०११ को ‘दि काठमाडौं पोस्ट’मा प्रकाशित यो लेख डा.रवि शाक्यले लेख्नुभएको हो। हाल वहाँ मानसिक रोग अस्पताल, लगनखेलमा मानसिक रोग विशेशज्ञको रुपमा कार्यरत हुनुहुन्छ। यो लेखलाई मैले नेपालीमा उल्था गरी यो ब्लगमा प्रकाशित गरेको छु। यसमा पुर्‍याउनु भएको सहयोगको लागि वहाँलाई धेरै धेरै धन्यवाद।



हाम्रो नेपाली समाजमा मानसिक स्वास्थ्य बारे कहिले पनि खुला रुपमा कुरा गरिदैन। अझ समस्या भएको व्यक्ति, उनका परिवारले त यस्ता कुरालाई सकेसम्म नकार्ने र अरुले थाहा नपाओस भनेर अस्पताल पनि नजाने/नलाने गरेको पाइन्छ। कति चिकित्सकहरुले पनि रगत, पिसाब, एक्स-रे आदि जाँचहरुको रिपोर्ट ठीक छ भने विरामीलाई - "तपाईंलाई केही भएको छैन, बढी चिन्ता लिनु भएको मात्रै हो" भनि मानसिक रोगलाई सोच्न पनि खोज्दैनन। फेरी कुनै चिकित्सकले "तपाईंलाई यस्तो खालको मानसिक रोग हुनसक्छ, एक पटक मानसिक रोगको डक्टरलाई देखाउनु होला" भन्यो भने विरामीले त्यसलाई पुरै नकारी "मलाई त्यस्तो केही भएको छैन, म पागल हो र पागलको डक्टरकोमा जानलाई, मलाई खाली निन्द्रा नपरेको त हो नि वा अलि बढी चिन्ता लिएको मात्रै हो" भन्ने जवाफ पाइन्छ र सायद फेरि कहिले उक्त चिकित्सककोमा जादैनन पनि। अनि यस्ता समस्या भएको व्यक्ति र उनका परिवारले पनि मानसिक रोगको विशेशज्ञलाई देखाउनु भन्दा तन्त्रमन्त्र जान्ने, झाक्री, फुक्न जान्नेलाई देखाउन नै ठीक मान्छन्। यो हाम्रो समाजमा व्याप्त अशिक्षा, अन्धविश्वास र कुरितीहरुको प्रतिफल हो।

लगभग आधा शताव्दी अघि विश्व स्वास्थ्य संगठन (World Health Organisation) ले स्वास्थ्यलाई यसरी परिभाशित गरेको थियो - कुनै रोग/खराबी नहुनु मात्र नभै सम्पुर्ण शारिरिक, मानसिक र सामाजिक रुपमा नै ठीक/सन्तुलित रहनु नै स्वस्थ हुनु हो। तर आजसम्म पनि हामीले हाम्रो स्वास्थ्यको एउटा महत्वपूर्ण पाटो मानसिक स्वास्थ्यलाई खासै महत्व दिएको पाइदैन। अझ झाडापखाला, कुपोशण जस्ता साधारण रोगहरुले हजारौं मान्छे मर्ने हाम्रो देशमा त मानसिक स्वास्थ्यको बारेमा उच्च तहका नीति बनाउने व्यक्तीहरुले सोचेको पनि पाइदैन।

त्यस्तै आजसम्म पनि मानसिक स्वास्थ्य अधिकांश मेडिकल कलेजहरुको पढाईको करिकुलम (Curriculum) को मुख्य बिषय भित्र पर्दैन र परे पनि एकदमै थोरै मात्र पढाइन्छ। अनि त्यस्ता कलेजहरुबाट पढेका कति चिकित्सकहरुलाई मानसिक स्वास्थ्य, मानसिक रोगहरुको बारेमा आवस्यक ज्ञान पनि हुदैन। कति नाम चलेका, अनुभवी चिकित्सकहरुले पनि मानसिक रोगीहरुलाई 'पागल, बौलाहा' भन्ने र त्यस सम्बन्धी चिकित्सकहरुलाई 'पागलको डक्टर' भनेर खिसी गर्ने, तल्लो नजरले हेर्ने गरेको पाइन्छ। साथै मानसिक रोगका डाक्टरहरु पछि गएर मानसिक रोगको विरामी जस्तै हुन्छन् पनि भन्ने गरिन्छ। आफ्नै चिकित्सा क्षेत्रको अवस्था त यस्तो छ भने बाहिर समाजको त झन कस्तो होला? हालसालैको कुरा हो एक जना चिकित्सकले मानसिक रोग सम्बन्धी बिषयमा एम.डी. गर्ने निर्णय गर्दा उस्को आमाबुवाले उसलाई भन्नुभयो रे- "मैले त्यत्रो पैसा खर्च गरेर तलाई पढाएको पागलको डक्टर बन्नलाई हैन, पागलको बिषय नै पढ्ने तेरो निर्णय हो भने त हामीसँग नबसे हुन्छ। समाजमा हामी यस्तो अपमान सहन सक्दैनौ।" अब तपाईंले अनुमान लगाउन सक्नुहुन्छ होला, नेपालमा मानसिक रोग सम्बन्धी बिषय सुरु भएको ५० वर्श पुगे पनि यो सम्बन्धी कति विशेशज्ञ होलान्। मात्र ५० जना, अढाइ करोड नेपालीको लागि। २५ जना भन्दा बढी नेपाली मानसिक रोग विशेशज्ञहरु त देश बाहिरै छन्।

मानसिक रोगीहरुलाई कस्तो व्यवहार गर्ने, कस्तो प्रक्रिया अप्नाउने भनेर हाम्रो कानुनमा पनि स्पस्ट रुपमा व्याख्या गरेको पाइदैन। मानसिक रोगीहरुलाई प्रमुख जिल्ला अधिकारी (CDO) को आदेशमा जेल राख्न सकिने भनिएको छ। त्यस्ता रोगीहरुलाई उपचार उपलब्ध गराउनुको साटो जेलमा राख्ने, बाँधेर राख्ने, सजाय दिने जस्ता क्रियाकलापहरु गर्नु आजको २१ शताब्दीमा साह्रै घ्रिणित र तल्लो स्तरको काम हो।

के मानसिक स्वास्थ्य समस्याहरुलाई वेवास्ता गर्नु उचित हुन्छ?
मानसिक रोगहरु अन्य शारिरिक रोगहरु जस्तो सजिलै बाहिरबाट हेर्नासाथ नै थाहा पाइने हुदैनन। तर पनि मानसिक रोगहरुले पार्ने असर, पीडा कुनै पनि शारिरिक रोगहरुको भन्दा कम हुदैन। विश्व स्वास्थ्य संगठन (WHO) ले संसार भरमा मानिसहरुलाई पुर्याउने खराब असर र समस्याको आधारमा तयार पारेको रोगहरुको लिस्टमा पहिलो १० रोगहरुमा ५ वटा मानसिक रोगहरु परेका छन्। WHO ले सन् २०२० सम्ममा डिप्रेसन (Depression) अन्य  मुटु, फोक्सोका रोगहरु, सन्क्रमणहरुलाई पछाडि छोड्दै, नम्बर १ स्वास्थ्य समस्याको रुपमा आउने अनुमान गरेको छ। हाम्रै देशमा गरिएको सानो अनुशन्धानमा पनि ३०% नेपालीहरुमा कुनै न कुनै मानसिक समस्या रहेको देखिएको छ, जसमा करिब १% लाई तुरुन्त उपचार गर्नुपर्ने देखिन्छ। जबकी WHO को तथ्यांक अनुसार संसारमा करिब १५-२० % मानिसहरुमा मानसिक समस्या रहेको देखिन्छ।

हरेक बर्ष दशौंलाख मानिसहरुले आत्महत्याबाट ज्यान गुमाउछ्न्, यो संख्या कुनै युद्ध, प्राक्रितिक प्रकोपमा मारिने संख्या भन्दा धेरै हुन आँउछ। नेपालको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार जम्मा आमा मृत्यु दरमा करिब १७% मृत्यु आत्महत्याले हुने गरेको देखिन्छ। र विश्वभरीका अनुशन्धानहरुले करिब ९०% आत्महत्याको पछाडि केही न केही मानसिक समस्या रहने गरेको देखाएका छन्। त्यस्तै युवाहरुको मृत्युको एउटा प्रमुख कारण मद्धपान र लागुपदार्थ सेवन पनि कुनै न कुनै मानसिक समस्यासँग केही न केही रुपमा जोडीएको पाइन्छ। साथै हरेक शारिरिक रोगसँग केही मानसिक समस्या पनि जोडिएर आउने गर्छ। त्यस्तै प्राक्रितिक प्रकोप, आन्तरिक कलह, गृहयुद्ध आदि संगै विभिन्न प्रकारका मानसिक समस्याहरु आउने गर्छन्। नेपालको परिप्रेक्ष्यमा भर्खरै रोकिएको माओवादी र सरकार बीचको हतियार युद्धको दौरानमा र त्यसपछी कतिलाई कस्ता कस्ता मानसिक समस्या परेका होलान् भनेर यतिकै भन्न सकिदैंन।

त्यसैले मानसिक रोगहरु र त्यस्का समस्याहरुलाई सानो नठानी माथिल्लो स्तरबाटै यस सम्बन्धी उचित विचार विमर्श गरी नीतिनियम बनाउनुपर्छ। व्यक्तिगत रुपमा भने यस्ता समस्या र रोगहरुलाई बढी चिन्ता लागेको, निन्द्रा नलागेको मात्रै भनेर वेवास्ता गर्ने, सामाजिक अपहेलनाको बिषय बनाउने नगरी त्यस बारेमा सम्बन्धित चिकित्सकसँग राम्ररी बुझ्नुपर्छ। किनभने अन्य शारिरिक रोग जस्तै यो कसैलाई पनि हुन सक्छ, तर खुशीको कुरा के छ भने प्राय: सबै खालको मानसिक रोगको उपचार हुन्छ।

मानसिक रुपमा स्वस्थ व्यक्तिमा पाइने गुणहरु:
मानसिक रुपमा स्वस्थ हुनु भनेको आफु र आफ्नो वरपरको वातावरण (परिवार, साथीभाइ, समाज) बीच सन्तुलन कायम राख्न सक्नु हो। मानसिक रुपमा स्वस्थ व्यक्तिमा निम्न ३ मुख्य गुणहरु भेटिन्छन्:
१.      उ आफ्नो अवस्थाको बारेमा सजिलो महसुस गर्छ। आफ्नो क्षमताहरुलाई बुझेको हुन्छ, आफ्नो कमीहरुलाई स्विकार्छ र आफ्नो आत्मविस्वासलाई कायम राख्छ।
२.      उसले आफ्नो वरपरको मानिसहरुको बारेमा राम्रो र सुमधुर सम्बन्धको अनुभव गर्छ। उस्को साथिभाइहरुसँगको सम्बन्धबाट उ सन्तुस्त हुन्छ। उस्ले अरुलाई मन पराउन, विस्वास गर्न जानेको हुन्छ। उस्ले आफ्नो परिवार प्रतिको, समाज प्रतिको दायित्व बुझेको हुन्छ र निभाउछ पनि।
३.      उसले आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरुको समाधान खोज्ने, त्यसको बारेमा निर्णय गर्ने क्षमता राख्छ। डर, रिस, माया, लोभ जस्ता भावनाहरुमा बगेर आफ्नो दायित्व र कर्तव्यलाई बिर्सेर आफ्नो र आफुसँग सम्बन्धितहरुको जीवनमा असर पर्न दिदैन।

मानसिक समस्या हुनसक्ने केही लक्षणहरु:
(यदी तलका प्रश्नहरुमा कुनै एउटाको उत्तर 'हो' भन्ने भएमा एकपटक मानसिक रोग विशेशज्ञलाई भेटी सल्लाह लिनु उचित हुन्छ।)
१.      के तपाईं सधैं चिन्ता लिइराख्नुहुन्छ?
२.      के तपाईं विनाकारण केही काममा पनि ध्यान दिन सक्नुहुन्न?
३.      के तपाईं विनाकारण सधैं दु:खी रहनुहुन्छ?
४.      के तपाईंलाई धेरैजसो र सजिलैसँग रिस उठीरहन्छ?
५.      के तपाईंलाई धेरैजसो निन्द्रा नलाग्ने भईरहन्छ?
६.      के तपाईंको मिजाज (Mood) धेरै परिवर्तन भईरहने/कहीले धेरै खुशी हुने, कहीले धेरै दु:खी हुने र त्यसले गर्दा तपाईंको दैनिक व्यवहारमै समस्या आउने हुन्छ?
७.      के तपाईंलाई मानिसहरुसँग व्यवहार गर्न, घुलमिल हुन सधैं मन नलाग्ने वा समस्या हुने हुन्छ?
८.      के तपाईंको दैनिक जीवनमा थोरै पनि परिवर्तन भएमा तपाईंलाई तनाव हुने हुन्छ?
९.      के तपाईंका बालबच्चाको व्यवहारले तपाईंलाई सधैं रिस उठ्ने, झर्को लाग्ने हुन्छ?
१०.  के तपाईं सधैं अल्छी मान्ने, झर्को मान्ने, दु:खी हुने गर्नुहुन्छ?
११.  के तपाईंलाई केही कुरा देखि विनाकारण डर लाग्छ?
१२.  के तपाईंलाई आफु सधैं ठीक र अरु सधैं गलत भएको जस्तो लाग्छ?
१३.  के तपाईंलाई शरीरका विभिन्न भागहरुमा दुखिरहने तर जति औषधी गर्दा पनि ठीक नहुने समस्या छ?

बाँकी पढ्नुहोस् >>