Wednesday, October 19, 2011

कान्तिपुर सम्पादकीय सम्बन्धमा...


कान्तिपुरको आजको सम्पादकीय पढें। चितवन मेडिकल कलेजमा भएको पछिल्लो घटनाको बारेमा लेखिएको उक्त सम्पादकीयको आशय ठिकै होला तर उक्त घटनालाई जसरी उदाहरण दिएर त्यसले आफ्नो कुरा भन्न खोजेको छ त्यो चाँही मलाई उतिसारो ठिक लागेन।

"पानीको पोका भनेर बिरामीको दाँया मृगौला झिकेर गैरजिम्मेवार र लापरवाही प्रवृतिको नमुना पेश गरे।" "पानी जमेको डल्लो र मृगौलाबीचको अन्तर छुट्याउन नसक्ने चिकित्सकले कसरी शल्यक्रिया गर्ने अनुमति पाए?"

हो, कहिलेकाहि शल्यक्रिया गर्ने चिकित्सकले पनि त्यो अन्तर छुट्याउन सक्दैनन्। त्यसैले त चिकित्सा विधामा प्याथोलोजी/pathology र रेडियोलोजी/radiology भन्ने छुट्टै डिपार्टमेन्ट हुन्छ। नांगो आँखाले हेरेर सधैं सबै अंग र रोग पत्ता लगाउन सम्भव छैन, त्यसैले त अप्रेशन गर्नु अघि एक्सरे, भिडियो एक्सरे, सिटि स्क्यान, एमआरआई, आइभीयु जस्ता रेडियोलोजिकल जाँचहरु गर्ने गरिन्छ। यस्ता जाँचहरुले अप्रेशन अघि अप्रेशन गर्ने चिकित्सकलाई रोग र रोगको अवस्थाका बारेमा बढिभन्दा बढि जानकारी दिएर अप्रेशनमा सहयोग गर्छ। त्यस्तै कहिले अप्रेशन अघि नै र कहिले अप्रेशन गरेर निकालेपछि निकालिएको मासु वा तन्तुको प्याथोलोजिकल जाँच गर्न पठाइन्छ। विभिन्न प्रकारका केमिकलहरु प्रयोग गरेर शक्तिशाली माइक्रोस्कोपहरुबाट जाँच गरेर मात्रै निकालिएको तन्तुमा कस्तो प्रकारको रोग थियो, मेलिगनेन्ट/malignant (फैलन सक्ने क्यान्सर) वा बेनाइन/benign (नफैलने खालको क्यान्सर) हो, गरिएको अप्रेशन पूर्ण थियो वा फेरी दोहोराएर गर्नुपर्ने हो आदी भनेर थाहा हुन्छ। सामान्य अवस्थाको मृगौला भएको भए त एउटा कुरा, रोगले बिग्रेर पानीको डल्लो जस्तोमा परिणत भैसकेको मृगौलालाई अनुभवी सर्जनै भएपनि कसरी चिन्ने? जसरी विमान दुर्घटनामा क्षतविक्षत भएका शवहरुलाई आफ्नै आफन्तहरुले त चिन्न नसकेर डिएनए जाँचको भर पर्नुपर्ने हुन्छ, त्यसरी नै रोगले बिग्रेर सबै कुरा एउटै डल्लो भएको मृगौलालाई चिन्न नसक्नु सर्जनको कमजोरी हो जस्तो लाग्दैन।

अप्रेशन अघि राम्ररी भिडियो एक्सरे र सिटी स्क्यान गरिनुपर्थ्यो। यस घटनामा सिटी स्क्यानको लागि विरामीका आफन्तहरुलाई सुझाव दिइएको थियो तर आर्थिक अवस्थाका कमजोरीका कारण देखाइ त्यसलाई नगर्ने भनियो। र शुरुको भिडियो एक्सरे पनि एउटा रेडियोलोजिस्टले नभएर एक एमडिजीपीले गरेका थिए। म एमडिजीपीले भिडियो एक्सरे गर्नैहुन्न भनेर भन्दिन। हाम्रा गाँउघरतिर र कतिपय शहरी क्षेत्रहरुमा पनि एमडिजीपी र कहिले त एमबीबीएस डाक्टरले पनि केहि महिनाको ट्रेनिङको भरमा भिडियो एक्सरे गरिरहेका छन्।  उनीहरुले लामो दुरी पार गरेर शहरै पुग्नुपर्ने, धेरै पैसा खर्च हुने समस्याबाट केहि भनेपनि राहत दिएका हुन्छन्। अझ रेडियोलोजिस्टको अभाव भएका कति सरकारी अस्पातलहरुमा एमडिजिपिहरुले नै त्यो सेवा दिइरहेका हुन्छन। तर सम्झनुपर्ने के हो भने कम्लिकेटेड, जटिल अवस्थाहरुमा राम्रो डायग्नोसिस र रिपोर्टिङका लागि उनीहरुले रेडियोलोजिस्टको सहयोग लिने गर्नुपर्छ वा रेडियोलोजिस्टकोमा रिफर गर्ने गर्नुपर्छ, जुन बानीको हाम्रो समुदायमा कमी छ।

माथिको केसमा अप्रेशन गरेर निकालिएको त्यो पानीको डल्लोमा मृगौला पनि हुनसक्छ भनेर विरामीका आफन्तहरुलाई राम्ररी नसम्झाइनुमा गल्ति भएको हो, रोग र रोगको फैलावट र जटिलतालाई अप्रेशन अगावै पुनः रेडियोलोजिस्टसँग भिडियो एक्स रे र सिटि स्क्यान गरेर राम्ररी नहेरी विरामीका आफन्तको आर्थिक समस्यालाई ठुलो मानेर त्यहि अनुसार चल्नुमा लापरवाहि भएको हो। तर विरामी र उसको रोगको उपचारमा र गर्नुपर्ने अप्रेशनमा केहि गल्ति भएको छैन। गल्ति अप्रेशन अघि र पछि अप्रेशनका दौरान आइपर्नसक्ने र आइपरेका जटिलताका बारेमा विरामीका आफन्तहरुलाई राम्ररी समय दिएर नबुझाइनुमा भएको हो। तर त्यसलाई नेपालकै सबैभन्दा बढि बिक्री हुने दाबी गरेको पत्रिकाको पनि सम्पादकियमा राम्ररी कुरै नबुझी लेखिनु कत्तिको सम्वेदनशीलताको प्रर्दशन हो?

हल्लैहल्लाको देश हो नेपाल, तर त्यसमा पत्रकारहरु जस्तो जिम्मेवारी बोकेका मानिसहरुले त्यस्ता अनावश्यक हल्लाहरुलाई कम गरेर सम्वेदनशील क्षेत्र भनेर भनिएको स्वास्थ्य क्षेत्रमा बढ्दो अविश्वासको खाडललाई कम गर्न सहयोग गर्नुपर्नेमा हल्लाको पछि दौडेर सत्यतालाई झन बंगाउने काम गरेका छन्। त्यो हल्ला "उपचार गर्दागर्दै मृगौलै गायब", "मृगौला नचिन्ने सर्जन", "पेटको अप्रेशन गर्दा मृगौलासमेत झिकियो" हुँदाहुँदै साधारण जनमानसमा "विरामीको अर्कै रोगको अप्रेशन गर्दा नचिनेर गल्तिले राम्रै मृगौला झिकियो" वा अझ "अप्रेशन गर्ने चिकित्सकले विरामीको मृगौला गायब गरे" भन्ने सम्म बन्न गयो। यसले विरामीको अस्पताल र चिकित्सकहरु प्रतिको विश्वासमा कस्तो धक्का पुग्न जाला सहजै अनुमान लगाउन सकिन्छ।

अस्पताल र स्वास्थ्य क्षेत्र सम्वेदनशील क्षेत्र हो तर के यो चिकित्साकर्मीको हकमा मात्र लागु हुने कुरा हो र? के पत्रकार र पत्रिकाहरुलॆ यसको सम्बन्धमा लेख्दा यसले विरामी र चिकित्सक बीच घट्दै गैरहेको विश्वसनीयताको वातावरणलाई कत्तिको नकारात्मक असर पार्छ भन्ने कुरालाई ख्याल राख्नुपर्दैन? के त्यसमा चाँही उनीहरुले सम्वेदनशीलता देखाउनु उनीहरुको नैतिक जिम्मेवारी होइन? समाजलाई जागरुक बनाउनु, समाजमा भइरहेका नकारात्मक कुराहरुलाई सबैका अघि ल्याएर प्रस्तुत गरी त्यस्ता काम गर्ने, गराउनेहरुलाई हतोत्साहित पार्नु पत्रकारहरुको धर्म हो। यो मैले भनिराख्नुपर्ने कुरा हो जस्तो लाग्दैन। तर पहिलो बन्ने होडबाजीमा, अरु पत्रिका वा च्यानलभन्दा पहिले समाचार ब्रेक गर्ने कम्पिटिसनमा समाचारको गुदी कुरा नै नबुझी एक पक्षिय हिसाबले र आफ्नो सोचाइका अनुसारले समाचारलाई बंगाएर गलत अर्थ लाग्ने तरिकाले आम मानिसका सामु प्रस्तुत गरिनु कस्तो पत्रकार धर्म हो? सम्वेदनशील क्षेत्र भनेर कुर्लने अनि त्यहि क्षेत्रका बारेमा चाँही राम्ररी कुरै नबुझी दौडने अनि सबैलाई दौडाउन खोज्ने कस्तो सम्वेदनशीलता हो? हुन त "कागले कान लग्यो" भन्दा कान छाम्न छोडेर कागको पछी दौडने १०० मीटरका धावक जस्ता पत्रकारहरुको दौडने र दौडाउने बानी केहि समय अघिको "अनुजा काण्ड"ले पनि प्रस्टै देखाएको थियो। भलै कान्तिपुरले पछी त्यसमा क्षमा माग्यो। तैपनि पत्रिका र पत्रकार भनेका अझै पनि सबैभन्दा भरपर्दा माध्यम हुन्। उनीहरुको आवाज सबैले सुन्छन् र धेरैले पत्याउछन् पनि। त्यसैले त हामी उनीहरुको व्यवहारमा र रिपोर्टिङमा धावकियपन भन्दापनि सत्यता र सम्वेदनशीलताको आशा गर्छौं।

हो, हामीमा पनि कमजोरी छ। हामी मध्ये धेरै पैसाको पछि दौडेका छौं। विरामीलाई सेवा दिने भन्दा कसरी बढि भन्दा बढि विरामी हेर्ने र लगानी उठाउने भन्ने होडबाजीमा लागेका छौं। विरामी र उसका आफन्तसँग रोग र विरामीका अवस्थाका बारेमा राम्रोसँग एकछिन कुरा गर्न हामीसँग समय हुदैंन। विरामी र उसका आफन्तलाई रोगको बारेमा जानकारी दिएर उपचारका लागि फैसला उनीहरुलाई नै लिन दिने र त्यसका लागि उनीहरुलाई सहयोग गर्ने हाम्रो बानी छैन। नाफाकै लागि खोलिएका नर्सिङ होमहरुको त कुरै छाडौं, चिकित्सकहरुमा र चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजहरुमा पनि व्यापारिकरणको भुतले छोएको छैन भन्दा गलत हुनेछ। तैपनि जानीजानी विरामीको लागि नराम्रो सोच्ने र नराम्रो गर्ने चिकित्सक त शायदै होलान्। आफ्नो क्षमताले भ्याएसम्म र अनुभवले जानेसम्म विरामीलाई उपचार दिन प्राय: सबै चिकित्सकले खोजेका हुन्छन्। यस्तोमा विरामी र चिकित्सकबीचको बचेखुचेको विश्वसनीयताको वातावरणलाई सुधार्नमा सहयोग गर्नुको साटो भएको पनि बिगार्ने गरी वास्तविकता नै नबुझी "कान्तिपुर" जस्तो पत्रिकाको सम्पादकीय लेख्नुले हामी चिकित्सकहरुको पत्रिका र पत्रकारप्रतिको विश्वासलाई हल्लाएको छ। अत: समाचार लेख्दा समाचारको सम्वेदनशीलता र सत्यता बुझेर त्यसलाई नबंगाई, अनावश्यक र गैरजिम्मेवारपुर्ण तरिकाले रंगीचंगी नबनाई लेखिदिनुहुन समस्त पत्रकार साथीहरुमा अनुरोध छ। तपाईंहरुको पनि आशय समाज जगाउने होला तर सत्यको बाङो अर्थ नलाग्ने गरी लेखेर त्यसो गरे कसो होला?

अन्तमा सम्पादकीयकै अर्को वाक्य सापटी लिन्छु, "यो अवस्थामा सरकार, स्वास्थ्य मन्त्रालय, मेडिकल कलेजहरु, अस्पताल व्यवस्थापन, मेडिकल काउन्सिल लगायत स्वास्थ्य क्षेत्रका नेतृत्वदायी संघसंस्थाहरु गम्भीर हुनुपर्छ। जनतामा चिकित्सा पेसाप्रति उत्पन्न हुदैं गएको डर र आशंकालाई चिर्न केन्द्रित हुनुपर्छ।" यसमा म सानो कुरा थप्न चाहन्छु, यो काममा पत्रकार र पत्रिकाहरुको पनि गम्भिरताको आवश्यकता छ र उनीहरु पनि यस काममा सम्वेदनशीलताका साथ हातेमालो गर्छन् भन्ने आशा राखौं।

बाँकी पढ्नुहोस् >>

Sunday, October 16, 2011

आफ्नो आँङको भैसी नदेख्ने, अर्काको आँङको जुम्रा देख्ने


हामी नेपालीहरु कति चाँडो अर्काले जिम्मेवारी पूरा नगरेको, लापरवाही गरेको भनेर कुर्लन्छौं, तोडफोड गर्छौं। आफ्नो जिम्मेवारी के हो, आफूले त्यो पूरा गरियो, गरिएन भनेर कहिल्यै विचार गर्दैनौं। अर्काको गल्ति देखाउन, अर्कालाई "तेरो काम यो हो, तैंले यो काम राम्ररी गरिनस् है" भनेर थर्काउने, खबरदार गर्ने काममा हामी धेरै अघि छौं। तर जब आफ्नो पालो आउँछ, तब हामी मुसा लुकेजस्तो लुसुक्क त्यहाँबाट बाटो तताउँछौं (यदी केहि लाज बाकि छ भने) र त्यो पनि छैन भने बेफ्वाकको घमण्ड देखाएर त्यही बसिरहन्छौं।

अस्पताल आइरहेको कुनै विरामी इमर्जेन्सी कक्षको बाहिर बेहोस भएर लड्यो भने के गर्नुहुन्छ? उसका आफन्तलाई विरामीलाई चाँडोभन्दाचाँडो इमर्जेन्सी कक्षभित्र लैजान सहयोग गर्नुहुन्छ कि भित्र गएर त्यहाँ अर्को विरामी हेरिरहेका स्वास्थ्यकर्मीलाई "ल त्यहाँ विरामी ढलेको छ है, हेर्न जानु" भनेर आफ्नो कर्तव्य पूरा भएको ठान्नुहुन्छ? इमर्जेन्सीमा खबर गरिदिनु त ल ठिकै मान्न सकिएला तर स्वास्थ्यकर्मी गएर त्यहि ढलेकै ठाँउमा उपचार गर्ने त होइन। अनि डाक्टर त्यही गएर विरामीलाई हेरी उसलाई इमर्जेन्सी भित्र लैजानका लागि सहयोग माग्दा दिने कि नदिने? के त्यति सहयोग त मानवताको नाताले पनि दिनुपर्छ, होइन र? तर मैले त्यो सहयोग पाइनँ। खोइ मानिसहरुमा मानवता हराएको हो वा उनीहरु सम्वेदनाविहिन भएका हुन्। कुनै जरुरी काम गरेरै बसेका भएपनि एउटा कुरा। मस्त गफ हाँकेर बसेकाहरु र त्यहि विरामीलाई घेरेर 'विचरा' भनेर बसेकाहरु मात्र थिए, त्यहाँ। अनि जब सहयोग मागियो तब पालैपालो लाखापाखा लागे सबै गोहिका आँसु खसाउनेहरु।

अर्काको दु:खमा सहानुभुति देखाउनेहरु यहाँ थुप्रै भेटिन्छन्, च्वच्वच्व गर्दै "विचरा, कठै" भन्दै दु:खी मुहार देखाउने सयौं देखिन्छन् तर जब केहि सहयोगको आवश्यकता पर्छ, तब अघि सर्ने कोहि हुदैंन। ठूलो सहयोगको पनि आस गरेको होइन तर सानो सहयोग पनि पाउन यहाँ मुश्किल छ।

त्यहि घटनामा फेरि यदि अस्पतालबाट कोहि पनि हेर्न नगएर "विरामीलाई पहिले भित्र ल्याउनुस्, अनि हेरौंला" भनेर त्यसै छोडेको भए त्यो ठूलो इश्यु बन्न जान्थ्यो। "यहि अस्पतालको अगाडि विरामी ढलेको छ, के हो तपाईंहरु हेर्न नजाने, के गर्न बसेको यहाँ, विरामीको उपचार गर्न होइन, आदी आदी भनाइहरु सुन्न पाइन्थ्यो होला। के थाहा तोडफोड पनि गर्थे कि? मानौं कि सेवाको सम्पूर्ण जिम्मेवारी हामी स्वास्थ्यकर्मीले मात्रै लिएको जस्तो। सम्वेदनशीलताको दायित्व, हाम्रो काँधमा मात्र भएको जस्तो।

हामी नेपालीहरुमा आफ्नो जिम्मेवारी पहिले निभाउने अनि अर्काको दायित्व सम्झाउने बानी कहिले आउँला? आफ्नो कर्तव्य पूरा गर्ने अनि बल्ल अधिकारको कुरा गर्ने बानी कहिले आउँला? आफ्नो आँङको भैसी नदेख्ने अर्काको आँङको जुम्रा देख्ने बानी कहिले सुध्रिएला?

बाँकी पढ्नुहोस् >>

Wednesday, October 12, 2011

डाक्टर भगवान होइन। Doctor is not a GOD.



लाई कहिलेकाही इमर्जेन्सीमा सब विरामीहरुको बीचमा बसेर मज्जाले हाँस्न मन लाग्छ। मलाई पागल नठान्नुहोला। जब कुनै पनि कुरा तपाईंको नियन्त्रण भित्र हुन्छ वा तपाईंले कुनै पनि काम आफ्नो तरिकाले, राम्रो तरिकाले गर्न भ्याउनुहुन्छ तब तपाईंलाई यस्तो बेमौसमको हाँसोको जरुरत पर्दैन। तर जब कुनै कुरा तपाईंको हातबाट बाहिर जान्छ, तपाईं त्यसको लागि केहि गर्न सक्नुहुन्न, त्यतिबेला तपाईं कराएर, रोएर, झगडा गरेर आफ्नो प्रेसर रिलिज गर्नुभन्दा हाँसेर हल्का महसुस गर्न सक्नुहुन्छ। 'मुन्नाभाई एमबीबीएस' को प्रोफेसर अस्थानाको जस्तै।

तपाईं एकपटकमा कति जना विरामी हेर्न भ्याउनुहुन्छ, एक दिनमा कति विरामी हेर्नुहुन्छ भनी विकसित मुलुकका डाक्टरलाई सोध्नुहोस् जवाफमा २०-२५ भन्दा बढि पाउनुहुन्न। एउटा विरामीलाई कम्तिमा पनि ९-१० मिनेट त हेर्ने गरिन्छ। अब हाम्रो अवस्थाको कुरा गर्नुहोस्। प्राइभेट होस् वा सरकारी वा मेडिकल कलेज विरामीको भीड त हामी सबैले देखेकै कुरा हो। त्यत्रो भीडलाई सीमीत संख्याका डाक्टरहरुले जाँच गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा एउटा विरामीलाई शायदै ५ मीनेट समय दिन सकिन्छ होला। अझ सरकारी अस्पतालको अवस्था त झनै दयनीय हुन्छ। एउटा विरामी जाँचीरहेको हुन्छ, अरु १०जना विरामी उसका कथा सुनिरहेका हुन्छन्। यस्तोमा विरामीको कुराको गोपनीयताको कुरा त नसोचे नि हुन्छ। भ्याइनभ्याइकन विरामी हेरेको बेलामा केको गोपनीयता? मैले यो भनेर मेरो संवेदनहीनता देखाएको होइन, यो हाम्रो वाध्यता हो। यदी मजाले समय दिएर विरामी हेर्ने हो भने दिनभरका विरामी जाँचेर सक्न दुई दिन लाग्छ होला। त्यसैले जब सेवा लिनेको र दिनेको संख्या बीच ठूलो फरक हुन्छ तब दिइने सेवामा नचाहदाँनचाहदैं पनि केहि कमि हुनजान्छ। जस्तो हरेक वार्डमा ८ विरामी बराबर १ नर्स हुनुपर्ने अन्तराष्ट्रिय मान्यता छ, तर हाम्रो देशमा १ नर्सले २०-२५ सम्म विरामी हेर्नुपर्ने हुन्छ। एउटै डाक्टर ओपीडि, वार्ड कुद्नुपर्ने हुन्छ। अनि कसरी गुणस्तरिय सेवा दिन सकिन्छ?

यस्तोमा स्वास्थ्यकर्मीको लापरवाही हुदैंहुदैंन भनेर म भन्न सक्दिनँ तर कति बेलामा चाहेर पनि सबैलाई समयमा सोचेको जस्तो सेवा दिन सकिदैन। यो हाम्रो बाध्यता हो। यसलाई सधैं लापरवाहीको नाम नदिइयोस्। यसले त्यस्तो भ्याइनभ्याइको वातावरणमा पनि सक्दो काम गरिरहेकाहरुलाई पनि निरुत्साहित बनाउने काम गर्छ। विरामी र उनका परिवारले आफ्नो मात्र समस्या नहेरी स्वास्थ्यकर्मीहरुले कस्तो वातावरणमा काम गरिरहेका छन् त्यो बुझिदिने थोरै मात्र प्रयास गरिदिनुभयो भने पनि हाम्रो लागि काफि हुन्छ।

अझ हाट बजारको जस्तो दृश्य त हाम्रा इमर्जेन्सी कक्षहरुमा देख्न सकिन्छ। जेसुकै, जस्तोसुकै समस्याको लागि पनि इमर्जेन्सी छिर्ने हाम्रो नराम्रो बानीले गर्दा पनि यस्तो भीडभाड भएको हो। सानोभन्दा सानो समस्याका लागि पनि इमर्जेन्सीमा चाँडो हुन्छ भनेर देखाउन आइपुग्छन्। साधारण ढाड दुखेको सामान्य, टाउको दुखेको, दाँत दुखेको देखी लिएर दादको, छाला चिलाएको विरामीहरुसम्म पनि इमर्जेन्सीमा आइपुग्छन्। कति त यो वार्ड कहाँ, त्यो वार्ड कहाँ भनेर सोध्नका लागि पनि इमरजेन्सी छिर्छन्, जुन कुरा बाहिरका गार्डहरुलाई सोधेर पनि पत्ता लगाउन सकिन्छ। कोही भने अस्पताल बाहिरै घर भएकाहरु पनि दिनभरी ओपीडीमा नदेखाएर जब रात पर्छ अनि समस्या पर्ला जस्तो लागेर इमर्जेन्सी आइपुग्छन्। मैले यसो भनेर हामी यस्ता विरामीलाई इमर्जेन्सीमा हेर्दैनौं भन्न खोजेको होइन। हामी आएका विरामी सबैलाई हेर्छौं तर यस्ता सामान्य समस्याका विरामीले गर्दा वास्तविक इमर्जेन्सी वा आकस्मिक सेवा चाहिएका विरामीलाई पर्याप्त समय दिन सकिदैंन र यी समस्याहरु इमर्जेन्सीमा नभई ओपीडीमा देखाउनुपर्ने समस्याहरु हुन्। हुन त यो हामी सबैको समस्या हो। पर्याप्त अस्पताल र डाक्टरहरु नहुँदा विरामी भएपछि समस्या लिएर कहाँ जाने त? उहि २४सै घण्टा खुल्ने, जुनसुकै रोगको उपचार गर्नैपर्ने इमर्जेन्सीमा। अझ रोगको मात्र उपचार गर्नुपरे त ठिकै हुन्थ्यो, कहिले त अस्पतालको जुनसुकै कुनामा जेसुकै समस्या परेपनि उजुरी गर्ने ठाँउ बन्नपुग्छ, इमर्जेन्सी। हुन त यसमा विरामीका आफन्तहरुको मात्रै गल्ति होइन। अस्पतालको व्यवस्थापन पक्षको पनि कमजोरी हो। त्यस्ता समस्याहरु बारे, अस्पतालका अन्य समस्याहरु बारे सोधपुछ गर्ने छुट्टै स्थानको व्यवस्था गरेमा यो समस्या केहि कम हुने थियो कि। साथै आममानिसहरु पनि आफ्नो स्वास्थ्य बारे जानकारी राख्ने, समयमै सचेत हुने गर्नुपर्छ, जब पर्‍यो राती, तब बुढी ताती गर्नु हुँदैन।

अस्पताल एउटा सम्वेदनशील स्थल हो, यो सबैलाई थाहा छ। तर यो सम्वेदनशीलता स्वास्थ्यकर्मीको तर्फबाट मात्र खोज्न चाँहि मिल्दैन। सम्वेदनशील क्षेत्र हो भने विरामी र विरामीका आफन्तहरु पनि जिम्मेवारपूर्ण तरिकाले प्रस्तुत हुनुपर्छ। अस्पतालमा विरामीको उपचार गर्न लग्ने हो। त्यहाँ कुनै जादुको छडि हुदैंन न कुनै जादुगर बस्छ त्यहाँ न त भगवान नै। डाक्टर भनेको पनि मानिस नै हो, मानिसको शरीर, रोग, त्यसको उपचारको बारेमा केहि पढेको, केहि जानेको मानिस। एक पल्ट छोएमै ठिक हुने, बोलेमै ठिक हुने भन्ने चाँही विरामीको डाक्टरप्रतिको विश्वास हो। त्यो विश्वासको हामीले सम्मान गर्नुपर्छ र डाक्टर र विरामीको सम्बन्धमा दुई पक्षिय विश्वास सबैभन्दा ठूलो कुरा हो। तर त्यहि विश्वासको कुनै डाक्टरले गलत फाइदा उठाउँछ, त्यसमा घमण्ड गर्छ भने त्यो राम्रो डाक्टर होइन। त्यस्तै त्यो विश्वास 'डाक्टरले जेपनि गर्नसक्छ' भन्ने अन्धविश्वाससम्म पुग्न दिनुहुदैंन। किनभने यो अन्धविश्वास टुट्यो भने सबैलाई नराम्रो धक्का लाग्छ, जुन भयानक रुपमा पनि बाहिर आउनसक्छ। अस्पतालमा विरामीको जाँच गरेर रोग अवस्था पत्ता लगाएर त्यसको उपचारका लागि विरामी, उसका परिवार र डाक्टर मिलेर सौहार्दपूर्ण वातावरणमा छलफल गरेर उपचार गर्ने हो। तर यहाँ त कहिलेकाहि कतिसम्म हुन्छ भने "मेरो विरामीलाई केहि भयो भने तलाईं मैले जानेको छु" भन्ने सम्म पनि सुनिन्छ। त्यस्तो तातो रिस र फुर्ति देखाउने ठाँउ हो र अस्पताल? अनि कहिले चाँही "विरामी ठीक हुने ग्यारेन्टि चाहियो" भन्ने पनि सुनिन्छ। अस्पताल भनेको विरामीको ज्यानको ग्यारेन्टि दिने ठाँउ होइन। क्षमा गर्नुहोला, यो सुन्दा नमिठो, नराम्रो सुनिएला, तर वास्तविकता यहि हो। अस्पतालमा ग्यारेन्टि दिएर कुनै पनि डाक्टरले उपचार गर्न सक्दैन। यदि कसैले त्यस्तो गर्छ भने त्यो नराम्रो मेडिकल प्राक्टिस हो। किनभने चिकित्सा शास्त्रमा कुनै पनि रोगको ग्यारेन्टि उपचार भन्ने हुदैंन। यसको उपचार यो, यो नभए त्यो, त्यो नभए अर्को, अर्को भन्ने हुन्छ। सबै रोगको उपचार सम्भव पनि हुदैंन। त्यस्तै हरेक अवस्था, औषधी र अप्रेशनका आफ्नै समस्या र जटिल अवस्थाहरु पनि हुन्छन्। बाहिर सामान्य लाग्ने समस्या पनि भित्र ठूलो हुनसक्छ। सामान्य लाग्ने औषधीले पनि ज्यानैजाने रियाक्सन गर्न सक्छ। सानो भनिएको अप्रेशन पनि समस्या आइदिएर जटिल हुनसक्छ। त्यसका लागि लापर्वाही नै हुनुपर्छ भन्ने छैन।

हामी समाचारमा कति सुनिरहेका हुन्छौं। खुट्टा भाँचेको विरामीको अप्रेशन गर्दा विरामीको ज्यान गयो। बाहीरबाट हेर्दा त ठूलै लापरवाही भएको जस्तो लाग्छ। तर हाड भाँचिदाको कम्प्लिकेसन स्वरुप फ्याट इम्बोलिजम/Fat embolism (हाडभित्रको बोसो रगतमा गएर फोक्सोमा पुगॆर पल्मोनरी इन्फार्कसन जस्तो प्राणघातक अवस्था) हुनसक्छ। त्यस्तै हिंडेर आएको विरामी मर्यो वा मार्यो भन्ने पनि सुनिन्छ। तर विरामीको अवस्था कस्तो थियो, उसका रिपोर्टहरुले के देखाएको थियो भनेर जान्ने प्रयास गरिदैंन। हेमोग्लोविन १ र प्लेटेलेट हुदैं नभएको विरामी, रक्तचाप २२०/१२० भएको विरामी, आन्द्रामा प्वाल परेर पेरोटिनाइटिस/Peritonitis भएको विरामी पनि हिडेरै आएको हुनसक्छ। साधारण लाग्ने टिटिको सूई, दुखाईको सूईको पनि ज्यानै जाने एलर्जीसम्म हुनसक्छ। अब तपाईंहरु आफैं भन्नुस्, यी सबै कुराको जानकारी भएको कुनै पनि डाक्टरले कसरी विरामीको ग्यारेन्टि लिनसक्छ? कदापी सक्दैन। र त्यो लिने कुरा पनि होइन। यो रोग भएको विरामीको यति प्रतिशतमा यस्तो हुन्छ, यतिमा यस्तो हुन्छ, यति पूर्णरुपमा ठिक हुन्छ भन्न सकिन्छ, तर यहि विरामी ठिक हुन्छ र यहि विरामीमा थप जटिलता आउँछ भनेर त कसरी भन्ने खै?

तर यो भनेर डाक्टरले विरामी उपचारको जिम्मेवारीबाट पन्छिन मिल्दैन। उपचार गर्नु उसको कर्तव्य हो। उपचारका साथै रोग र उपचारका कारणले आइपर्नसक्ने सबै मूख्य र जटिल खालका समस्याहरुबारे राम्ररी जानकारी दिनु पनि उपचार गर्ने डाक्टरको कर्तव्य हो। र यहि कुरामा चाँही हाम्रा धेरैजसो डाक्टरहरु कमजोर हुन्छन्। डाक्टरले विरामीलाई पर्याप्त समय दिन नसकेर हो वा नचाहेर हो वा विरामी र आम मानिसले बुझ्ने भाषामा डाक्टरी भाषाका समस्याहरु बुझाउन गाह्रो परेर हो, रोग र विरामीको अवस्थाका बारेमा विरामी र उसका आफन्तलाई राम्रो जानकारी नभएको र नदिइएको धेरै नै देखिने गर्छ। र विरामी र डाक्टरका बीचको अविश्वासको खाडल बढाउने काममा यसैको ठूलो हात हुन्छ। त्यसैले मिसअन्डरस्ट्यान्डिङको यो समस्यालाई कम गरी डाक्टर र विरामी बीचको अविश्वासको यो खाडल केहि कम गर्न सके विरामी र उसका परिवार सेवाबाट सन्तुष्ट हुनुका साथै बेलाबेलामा हुने रोगको कम्प्लिकेसनलाई पनि डाक्टरको लापरवाहीको नाम दिने नराम्रो प्रथा पनि केहि घट्ने थियो की?

मैले यी सबै कुरा भनेर डाक्टर वा अन्य कुनै पनि स्वास्थ्यकर्मीको लापरवाही ढाकछोप गर्न खोजेको होइन वा त्यस्ता लापरवाही अवश्यम्भावी छ भनेर नजरअन्दाज गर्न भनेको पनि होइन। मात्र विरामीको उपचारको क्रममा डाक्टरको जिम्मेवारी मात्रै खोज्ने तर आफ्नो जिम्मेवारी र कर्तव्य चटक्कै विस्रने गर्नुभएन भन्न खोजेको हुँ। हामी डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुमा पनि कमजोरी नभएको होइन। हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं। तर विरामीको उपचारको क्रममा हामी सकेसम्म ती सबैलाई बिर्सेंर काम गर्ने प्रयास गर्छौं र विरामी र उसका परिवारको तर्फबाट पनि त्यस्तै व्यवहारको आशा राख्छौं, जुन स्वाभाविक पनि हो, होइन र?

अस्तु।

बाँकी पढ्नुहोस् >>