Tuesday, February 23, 2016

प्रसूति अप्रेसन गर्दा पाठेघरै झिकियो...



यो लेख घटनामा कसैलाई दोषी देखाउन वा कसैलाई दोषबाट बचाउन लेखिएको हैन। लेखक दुवैतर्फसँग सम्बन्धित छैनन्। यो लेख सेतोपाटीमा प्रकाशित खिलानाथ ढकालले लेख्नुभएको 'प्रसूती अप्रेसनगर्दा पाठेघरै झिकियो' भन्ने लेख पढेपछीको प्रतिकृया हो। यसलाई घटनाको छानवीनको लागि कानुनीरुपमा प्रयोग नगरियोस्।

'प्रसुती अप्रेसन गर्दा पाठेघरै झिकियो।'
यो वाक्यको आशय के होला? सामान्य मान्छेले यो पढ्दा के बुझ्छन्? मैले झट्ट हेर्दा चैं प्रसुती अप्रेसन गर्दा गल्ती वा लापरवाहीले ननिकाल्नुपर्ने पाठेघर निकालियो, विरामीको स्वास्थ्यमा खेलबाड गर्दै डाक्टरहरुले उनको पाठेघर नै झिकिदिए भन्ने बुझें। सिजेरियन अप्रेसन वा प्रसुती अप्रेसनमा अनुभव भएको नाताले म के भन्न सक्छु भने कुनै पनि डाक्टरले यो अप्रेसन गर्दा चाहेर अनावश्यकरुपमा वा नचाहेर लापरवाही भए पनि पाठेघर झिक्न सक्दैन। सहि अवस्थाको मगज भएको डाक्टरले बच्चा जन्मेपछी पाठेघर नखुम्चिएर अत्यधिक रक्तस्राव भयो भने आमाको ज्यान बचाउनका लागि पाठेघर निकाल्ने अप्रेसन गर्छन् न कि लापरवाही गरेर झुक्किएर वा रमाइलोको लागि। यदी चाहेर नै अनावश्यकरुपमा दु:ख दिन झिक्छ भने त्यो 'क्रिमिनल माइन्ड'को जनावर हो, मान्छे हैन। त्यसैले भएको घटनालाई सहि उद्रित गरेको भए पनि यो शिर्षकको आशय एकदमै गलत देखिन्छ।
'चौबिसै घन्टा विशेषज्ञ सेवा दिनुपर्ने अस्पतालमा शनिबार भन्दै डाक्टर आएनन्।'
के साँच्चै यो भएको हो? के त्यो दिन कोही ड्युटीमै थिएनन्? के त्यो दिन राउन्ड नै भएन त? कुनै पनि अस्पतालमा २४ घण्टा भरी राउन्ड नै नहुने भनेको चैं लापरवाही हो, यदी समाचार सहि हो भने। यो कुरा त अनुसन्धान गरे पत्ता लाग्ने कुरा हो, एकजना भिजिटरले डाक्टर आएनन् भन्दैमा पत्याउन मिल्दैन, कैले उ नभएको बेलामा राउन्ड भएको हुनसक्छ।
'डाक्टर….आइपुगिन्। चेकजाँच नगरी हात हालिन्। बच्चा निस्किएन।'
'चेकजाँच नगरी हात हालिन्' यो भन्या के हो, बुझिएन। पाठेघरको मुख कती घर सेमी खुल्यो, बच्चा कती तल आयो, बच्चाको टाउकोको अवस्था के छ, तल आउन केइले रोकेको छ कि छैन आदी सबै बुझ्नलाई योनीबाट औंला हालेर जाचिन्छ।
'परिवारलाई खाली कागजमा सही गराए।'
कसैले पनि खाली कागजमा सहि गराउछ भने त्यो एकदमै गलत हो। के साँच्चै उनीहरुलाई खाली कागजमै सहि गराईएको थियो त? यदी 'थियो' भने यो पूरै अपराध हुनजान्छ तर मलाई यो कुरामा विश्वास छैन। आफन्तले सहि गर्ने भने मन्जुरीनामाको कागजमा हो, जसमा के अप्रेसन गर्न लागिएको हो, के कस्ता जटिलताहरु आउन सक्छन् आदी सबै प्रष्टसँग लेखिएका हुन्छ्न्, त्यसको तल सहि गर्नुको मतलब 'सबै पढें र सबै जानकारी भयो र यसको लागि तयार छु' भन्ने बुझाउछ। त्यसैले कुनै कुरामा सहि गर्नु अघी के हो, किन गर्ने सोध्नुपर्छ र बुझिएन भने फेरीफेरी सोध्नुपर्छ।
'त्यतिलाई पनि सहिरहेका थिए तर जब डाक्टरले पाठेघर झिकेको खबर गरे अनि परिवारलाई झन् चिन्ता लाग्यो।'
कैलेकाही जे अप्रेसन गर्न अप्रेसन कोठाभित्र लगिएको हो, त्यो बाहेक केही थप वा फरक अप्रेसन गर्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तो बेला एकजना डाक्टर बाहिर आएर सो बारे परिवारलाई जानकारी गराउनुपर्छ। हतारमा, इमर्जेन्सी अवस्थामा, तनावले गर्दा कती बेला अप्रेसन गर्ने डाक्टरहरुले यो कुरा बिर्सन्छन्। सकेसम्म यो जानकारी सो अप्रेसन गर्नु अघी दिनुपर्छ तर ज्यान जोगाउन गरिने इमर्जेन्सी अप्रेसनहरुमा पहिले ज्यान जोगाएर पछी जानकारी गराए पनि हुन्छ।
गल्ती भयो, लापरबाही भयो, जे भयो नराम्रो नमान्दिनुस्,’ दुबै डाक्टरले भनेछन्।
अप्रेसन गर्ने दुवै डाक्टरले यसो भनेकै हुन् त? दुवैले गल्ती, लापरवाही स्विकारेका भए त कुरै सकियो, उहाँहरुलाई सिधै के गल्ती भएको हो, के लापरवाही भएको हो भनेर स्पष्ट सोधेर त्यही लेखिदिनुभएको भए झन राम्रो हुन्थ्यो। तर मैले धेरैपटक सम्बन्धित व्यक्तिले एउटा कुरा भनेको समाचारमा फरक अर्थ लाग्ने गरी बङ्याइएर लेखेको पाएको छु, त्यसैले यो कुरामा नि मलाई शंकै लाग्छ।

पत्रकारसाथीहरु र सम्पादकज्यूहरुलाई फेरी पनि अनुरोध।
स्वास्थ्य क्षेत्र यसै पनि संवेदनशील हो, त्यस माथि नक्कली डाक्टरहरु भेटिएका छन्, अस्पतालहरु व्यापारिक लाभका लागि चलाइन थालइएको छ, गलत रिपोर्ट दिने ल्याबहरु फेला पर्न थालिएको छ। तर यो भनेर सबैलाई एउटै आँखाले हेर्न मिल्दैन। हामी पनि यो क्षेत्रमा भएका विक्रिती छिटो पत्ता लागोस्, यसको सुधार होस् भन्ने चाहन्छौं। हामी पनि मान्छे हौं गल्ती चाहेर नचाहेर हुन्छ तर भएका घटनाहरुलाई तोडमरोड गरेर काँटछाँट गरेर आफूले चाहेजस्तो गरी सबैको अघी पस्केर समाजलाई दिगभ्रमित गर्नु ठीक हुन्न। कुनै एक पक्षको सतही कुरा सुनेर त्यसमा आफ्नो इमोसनल डायलगहरु भरेर धेरै बिक्ने कथा लेख्दा तपाईंको पत्रीकाको भ्यू र विक्री त बढ्ला तर यसले स्वास्थ्य क्षेत्रको संवेदनशीलतामा वर्षौंसम्म गहिरो असर पार्छ।
उक्त लेखको शेयरमा सेतोपाटीको पेजमा यस्ता प्रतिकृयाहरु लेखिएका थिए, शायद लेखक र सम्पादकले यस्तै खोज्नुभएको हो कि?  
डाक्टर, नर्स वा सबै स्वास्थ्यकर्मी साथीहरुलाई अनुरोध।
हामीले विरामीको उपचारमा दिनदिनै धेरै कुरा गरिरहेका हुन्छौं तर ती कामकुराहरुलाई विरामी र उनका आफन्तहरुलाई सहि तरिकाले बुझाउन सकेका हुँदैनौं। र धेरैपटक यही मिस कम्युनिकेसन नै हामी माथि लापरवाहीको दोषको रुपमा आउने गर्छ। विरामीको अवस्था अनुसार गरिएको उपचार, औषधी सहि नै हुन्छ तर सर्वसाधारणले अहिलेको शंकालु नजरले हेर्दा गल्ती वा लापरवाही देख्ने गर्छ। राम्रोसँग बुझाईएन भने सीपीआर (मुटु बन्द हुँदा छाती थिचेर गरिने उपचार प्रकृया) गर्दा तपाईंलाई 'विरामीको छाती थिचेर मार्यो' भन्ने दोष लाग्न सक्छ, श्वासनली बन्द हुँदा इमर्जेन्सी ट्र्याकियोस्टोमी (घाँटीमा हावा आउनजान वैकल्पिक बाटो खोल्ने अप्रेसन) गर्दा 'घाँटी काटेर मार्यो' भन्ने दोष आउन सक्छ। त्यसैले हामीले गर्ने जाँच, औषधी, उपचार, अप्रेसनहरुको बारेमा सकेसम्म बढीभन्दा बढी जानकारी दिने कोशीश गरौं र उनीहरुले सहि बुझेका छन् कि छैनन् भनेर पनि कन्फर्म गर्ने गरौं। साथै उपचार प्रकृयाका कुराहरुको सकेसम्म रेकर्ड राख्ने गरौं, हिजोआज 'मेडिकोलेगल' प्रकृया हुने सम्भावना धेरै नै बढेर गएको छ।
बाँकी पढ्नुहोस् >>