हामी हरेक भित्र विभिन्न प्रकारका गुण, अवगुणहरु रहेका हुन्छन्। डाक्टरहरु पनि मानिस नै हुन् र यी विभिन्न खालका बानी, गुणहरुबाट हामी पनि अछुतो रहन सक्दैनौ। यिनै कुराहरुलाई आधार मानेर र समेटेर यो व्यंग्यात्मक लेख लेखिएको छ।
यो पूर्णरुपमा काल्पनिक लेख हो, कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ।
धनी परिवारमा जन्मेका उनी कहिल्यै डाक्टर बन्छु भन्ने सोचेका थिएनन्, तर बुवाले उनलाई डाक्टर बनाउन खुबै खर्च गरे, शायद त्यसैको असुल गरिरहेका हुन् कि भन्ने शंका लाग्ने, व्यापारिक पृष्टभूमीमा हुर्किएका जसका गुणहरु उनमा अझै देखिन्छन्, महंगो गाडी चढ्छन्, क्लिनिकमा टिकट नकाटी त विरामीसँग बोल्न पनि मान्दैनन्, उनका नियमित विरामीहरु प्राय: धनाढ्य परिवारकै हुन्छन्।
डा. दूर्वासा
नामै अनुसारका, जो कोही उनीसँग बोल्न पनि नसक्ने, नाकैमा रिस झुण्डिएको झै लाग्ने, क्लिनिकमा हरेक कुरा मिलेको हुनुपर्ने, विरामीले केही सोध्यो भन्यो भने "तपाईं डाक्टर की म डाक्टर" भनेर थर्काइ हाल्ने, बेलाबेलामा झण्डझण्डै कुटाई खानबाट बचेका, त्यही पनि सुध्रिने कुनै छाटकाट नदेखिएको, प्राय: एक्लै बस्न मन पराउने, परिवारको बारेमा कसैलाई पनि थाहा नभएको र सोध्ने हिम्मत त कसले गरोस्, हार्ड ड्रिन्क्सका शौखिन।
डा. वैध
शान्त स्वाभावका विस्तारै बोल्ने, कहिल्यै नरिसाउने, प्राक्टिस गर्न थालेको १५-२० वर्ष भैसक्यो अझै पनि उनी स्कुटरमै दौडिरहन्छन्, एलोप्याथीक औषधी भन्दा आर्युवेदिक औषधी, प्राकृतिक चिकित्सा बढी मन पराउने, विरामीहरुलाई बेलाबेला योगा पनि सिकाइरहेका हुन्छन्, प्रेसरका विरामीलाई करेला खाने, निमपत्ता खाने सल्लाह दिइरहेका हुन्छन्, एउटै विरामी हेर्न आधा घण्टा लगाइदिने, धर्ममा प्रगाढ आस्था राख्ने, उनको क्लिनिकको कोठामा पनि भगवानका प्रशस्तै फोटाहरु सजाइएका छन्।
डा. एम आर
भर्खरै किनिएको नयाँ कारमा दौडन्छन् उनी, पटकपटक महंगा मोबाइल पनि फेरिरहेका हुन्छन्, बेलाबेलामा विदेश भ्रमणमा पनि निस्कन्छन्, गफ निकै मिठो गर्ने तर औषधी चाहीं अलि बढि लेख्छन् भन्ने विरामीहरु गुनासो गर्छन्, सधैं स्मार्ट भएर चिटिक्क परेर बस्ने, साथमा जहिले १-२ जना एमआर/MR अर्थात मेडिकल रिप्रेजेन्टेटिभ लिएर हिड्ने, जसले उनको पीए को जस्तो काम गरिरहेका हुन्छन्, उनको घरमा हरेक महिना महंगा नयाँनयाँ सामान औषधी कम्पनीबाट सिधै डेलिभरी हुन्छ भन्ने हल्ला सुनिन्छ।
डा. के के
केके अर्थात् किरणकुमार, प्रख्यात सर्जन/चिरफार रोग विशेषज्ञ, तर सबै उनलाई 'कसाइँ कुमार' भन्छन, अप्रेशनको साह्रैं राम्रो स्किल भएको तर हरेक रोगको उपचार सर्जरी नै हो भन्ने मान्यता भएका, उनकोमा गएको विरामी शायदै अप्रेशन विना फर्कन्छन् रे, विरामीसँग कमै बोल्ने र बाहिर भन्दा ओ टी मा रमाउने, आफ्नो ठाँउको हरेकको एपेन्डिक्स र पित्तथैलि उनले निकालिसके भन्ने हल्ला बजारमा सुनिने, पैसाको खासै लोभ नगर्ने बेलाबेलामा गरिब विरामीको सित्तैमा पनि अप्रेशन गरिदिन्छन् रे।
डा. बि जी
बिजी अर्थात् बिजय जीसी तर डा बिजी भनिन रुचाउने, हुन पनि उनी सधैं बिजी नै हुन्छन् अथवा देखिन्छन्, हिडिरहेका हुन् की दौडिरहेका छुट्याउन गाह्रों पर्छ, सधैं मोबाइलमा बोलिरहेका हुन्छन्, विरामी हेर्दा पनि उनको मोबाइल बजि नै रहेको हुन्छ, सधैं हतारमा देखिन्छन्, प्राय: १-२ घण्टा ढिलो क्लिनिक आउँछन् र आउने बित्तिकै सबैलाई अत्याइदिन्छन्, हरेक कुरा टाइममा हुनुपर्छ उनलाई, आफू बाहेक। एउटा विरामीसँग मुस्किलले १-२ मिनेट बोल्छन् होला, विरामीले केही कुरा भन्न लागे "यो औषधी खानुस्, नभए फेरी भेटौला" भन्छन्, बिहान छ बजे निस्केर सबै क्लिनिक भ्याएर उनी रातको १० बजे घर फर्कन्छन् भन्ने सुनिन्छ।
डा. पी पी
पीपी अर्थात् प्रेम प्रसाद तर सबैले उनलाई पीपी अर्थात् 'परिक्षणप्रसाद' भनेर चिन्छन् विरामीको समस्या सुन्न भन्दा बढी परिक्षण अर्थात इन्भेस्टिगेसन/investigation गर्न रुचाउछन्, "जाँचको रिपोर्ट हेरेपछि विरामी किन हेर्नुपर्यो" भन्छन्, हरेक टाउको दुखाईका लागि सिटी स्क्यान र पेट दुखाईका लागि भिडियो एक्स रे उनको मुखमै झुण्डिएको हुन्छ, अलि शंकालु पाराका उनी हरेक सानो कुरामा पनि ठूलो
समस्या लुकेको हुन्छ भन्ने विश्वास राख्छन्।
डा. मै हु
खासमा उनको नाम महम्मद हुसेन हो तर डा मैहुँ का नामले उनी प्रख्यात वा भनौं कुख्यात छन्, मेडिकल प्राक्टिसको २०-२५ वर्ष भैसकेका उनी आफ्नो ठाँउका नामुद डाक्टर हुन्, जमानामा उनको मात्रै बोलबाला रहेको थियो, उनको कम्पिटिसनमा आउनसक्ने कोही थिएन, आजभोलि भने नयाँ प्रतिस्पर्धीहरु आउन थालेका छन् तर उनमा पहिलेको घमण्ड घट्नुको साटो झन बढेर गएको छ, कसैलाई मान्छे गन्दैनन्, विरामीलाई छुन पनि खोज्दैनन्, "म जस्तो एक्सपिरियन्सड डाक्टरले विरामी जाँच्नै पर्दैन, हेरेरै रोग पत्ता लगाइदिन्छु" भन्छन् रे, क्लिनिकमा आफ्नो लागि आरामदायी सोफा तर विरामीका लागि सानो स्टुल राखेका छन्।
डा. साइनो
उनको बानीका कारणले उनले यो उपनाम पाएका हुन्, विरामी प्राय:लाई उनी साइनो लगाएर मिठो कुरा गर्छन्, आफ्नै उमेरकालाई साथी, अलिकती बढीकालाई दाईदिदी, बुढाबुढीलाई बुवाआमा, सानालाई नानी, बाबु भनेर साईनो लगाइहाल्छन, मजाले टाइम दिएर विरामीका समस्या सुन्छन्, उनका विरामीहरु उनीदेखि सन्तुष्ट पनि छन्, दुई सन्तानका बुवा उनको पारिवारिक जीवन पनि सुखी छ, उनका विरामीहरु "उनको औषधीले भन्दा मिठो कुराले बढि रोग निको पारेको हो" भन्छन्, एक पटक उनकोमा गएको विरामी उनले रिफर नगरेसम्म शायदै अर्को डाक्टरकोमा पुग्छन्।
डा. वक्र
नाम अनुसारकै काम गर्ने उनको व्यवहार पनि त्यस्तै छ, डाक्टरी कम र राजनिती बढी गर्ने उनी अरु डाक्टरका कुरा काट्न, अरुलाई गाली गर्न पनि खप्पिस छन्। अरुले लेखेको औषधी काट्दिने, विरामीको अघी अरु डाक्टरलाई होच्याउने उनी आफूले लेखेको औषधी बाहेक अरु औषधी नखान कडा चेतावनी दिन्छन् रे। बेलाबेलामा डाक्टरी संघको चुनावमा उठेका उन्ले जित्न भने कहिल्यै सकेनन्, तैपनी अझै 'बर्न टु बि पोलिटिसियन' जस्तो कुरा गर्छन्।
माथिका उदाहरणहरु हामीमा भएका मानवीय गुण, अवगुणहरुको उच्चतम विन्दुका उदाहरणहरु 'एक्स्ट्रिम एक्जाम्पलहरु' हुन्। हामी सबैमा यसका केही अंशहरु, कसैमा कुनै बढि, कसैमा कुनै बढि पाउँछौं। अरुले पनि विरामी भएर वा विरामी लिएर डाक्टरलाई भेट्दा डाक्टरहरुमा माथिका जस्ता डाक्टरका केही अंशहरु भेट्नुभएकै होला। यी उदाहरणहरु हामी भित्रको मानवीय गुण, अवगुणहरुको चित्रण हो, आशा छ यसले हामीलाई आफ्नो बारेमा सोच्न, बुझ्न, आफ्नो दृष्टिकोण र विरामीप्रतिको व्यवहार बुझ्न र परिमार्जन गर्न सहयोग गर्नेछ।
यो लेख प्रोफेसर जोन मुर्ताघ/John Murtagh को पुस्तक 'जेनेरल प्राक्टिस/General Practice' मा भएको लेखबाट प्रभावित भएर त्यसलाई हाम्रो वातावरणमा ढालिएर लेखिएको हो।








