Saturday, April 2, 2011

यसैले मलाई यो पेशा मन पर्छ/ पर्दैन



हिजोसम्म यो लेखको शिर्षक यसैले मलाई यो पेशा मनपर्छ भन्ने थियो तर आज मैले यसलाई यसैले मलाई यो पेशा मन पर्छ/ पर्दैन मा बद्लिदिएको छु। उसलाई होस आएर लगभग पूरै ठिक बनाएर हिजो मात्रै वार्डमा सारिएको थियो र म यो लेख लेख्ने बारे सोच्दैथिए। 

ऊ निकै खुशी थियो र हामी सबै पनि खुशी थियौं, उसलाई ठिक बनाएर विदा गर्न सकेकोमा। उ लगभग १ हप्ता अघि पूरै अचेत अवस्थामा आएको थियो। एक डेढ घण्टा देखि लगातार हातखुट्टा, जीउ काम्ने, जीब्रो टोक्ने (छारेरोगमा जस्तो सिजर लक्षणहरु) देखिएको उ अस्पताल आउँदा पूरै अचेत थियो। एम्पुलका एम्पुल डाइजेपाम (Diazepam) दिदा पनि उसको सिजर नियन्त्रणमा आइरहेको थिएन। सलाईनमा नै मिसाएर लगातार रुपमा रगतको नलीबाट औषधी चलाउँदा पनि बेलाबेलामा उसलाई सिजर आइरहेको थियो। उसले स्टाटस इपिलेप्टिकस (Status epilepticus - लगातार रुपमा सिजर आएर बेहोस् भएको अवस्था) को हरेक क्राइटेरिया पूरा गर्थ्यो। आइ सि यु मा आइपुग्दा पनि हरेक सानो स्पर्शसँगै उसको सिजर देख्न सकिन्थ्यो। त्यसैले एनेस्थेसियाको सरलाई बोलाएर उसलाई पूरै बेहोस बनाई भेन्टिलेटरमा राख्ने निर्णय गरियो। प्रोपोफोल (Propofol - बेहोस् बनाउने एक प्रकारको औषधी) को शुरुवातसँगै उ अचेत भयो र मसल रिलाक्सेण्ट (Vecuronium) दिएर उसलाई इन्टुबेट (Intubate) गरी भेन्टिलेटरमा राखियो। इन्टुबेट भन्नाले ट्युव मुखबाट छिराएर श्वासनली सम्म पुर्याउनुलाई भनिन्छ। 

उसको सिजर बल्ल नियन्त्रणमा आयो तर के कारणले त्यस्तो भएको भनेर यसै भन्न सकिने अवस्था थिएन। हुनसक्ने सबै खालका रोगहरुको लागि औषधी चलिरहेको थियो तर पनि उ ठिक भएर पूर्ण स्वस्थ हुने सम्भावना कमैले देखेका थिए। उसको परिवारलाई पनि त्यहि अनुसार काउन्सेलिङ गरिएको थियो। सिटी स्क्यानमा ब्रेन इडिमा (मष्तिस्कको सुजन भएको अवस्था) मात्रै देखिएको थियो। सीएसएफ (CSF/Cerebrospinal Fluid-ढाडबाट निकालिएको पानी) को रिपोर्टबाट पनि यहि नै हो भन्ने स्थिति थिएन। औषधीले पूर्ण बेहोस उसको हरेक २-२ घण्टामा सुत्ने पोजिसन बद्लदिनुपर्थ्यो, हरेक ३-३ घण्टामा नाकबाट लगाइएको पाइपको सहायताले खाना खुवाउनुपर्थ्यो। बेलाबेलामा आउने सिजरको लागि औषधी दिन, उसको शरीरको कहिलेकाहिको चालबाट उसको भेन्टिलेटरको पाइप छुट्ला कि भनेर उसलाई दिनरात लगातार हेरिरहनु पर्थ्यो। यसको लागि उसको उपचारमा संलग्न नर्सहरुको डेडिकेसनलाई मान्नैपर्छ। हामी डाक्टरहरुले त यो रोग हो, यो औषधी दिने, यसरी उपचार गर्ने भनेर भन्छौं तर वास्तवमा ग्राउण्ड लेभलमा काम गर्ने भनेको त नर्सहरुले नै हो, जो डाक्टर भन्दा विरामीको बढि नजिक पनि हुन्छन्। यसरी डाक्टर, नर्स सबैको संयुक्त प्रयासको प्रतिफल स्वरुप लगभग ४-५ दिनपछि प्रोपोफोललाई घटाएर पछि मिडाजोलाम (Midazolam) मा परिवर्तन गरियो र उसको सिजर पनि नियन्त्रण भइसकेको थियो। उसले आँखा हेर्न थालेको थियो। विस्तारै उ पूर्ण रुपमा होसमा आउँदै थियो। भेन्टिलेटरबाट निकाल्नेको अघिल्लो रात उ पूरै होसमा भएकोले उसलाई श्वासको ट्युवले धेरै अफ्ठ्यारो पारेको थियो र हरक्षण त्यो निकालिदिनु भनेर इसारामा भन्थ्यो।

भोलिपल्ट विहान उसको ट्युव निकाल्दैथियौं। ड्युटी सकिएपनि म उसको ट्युव निकालिएको हेर्न र निकालेपछिको उसको स्वर सुन्न बसिरहेको थिए। उसको ट्युव निकालियो तर धेरै दिनसम्म राखिएको कारणले गर्दा भोकल कर्ड (Vocal cord) मा अफ्ठ्यारो भएकोले हुनसक्छ, उसको स्वर बसेको थियो। तैपनि उसको अरु केहि न्युरोलोजीकल असरको लक्षणहरु देखिएका थिएनन्, यो धेरै खुशीको कुरा थियो। लगातारको सिजरले पछि ठिक भएपनि केहि न्युरोलोजीकल असरहरु देखिन्छ कि भन्ने हामीलाई डर थियो, तर त्यसो भएन। भोलिपल्ट ड्युटीमा जाँदा उ मजाले आफ्नो परिवार र नर्सहरुसँग बोलिरहेको थियो। त्यो देखेर साह्रैं खुशी लाग्यो र म पनि उसँग बोले। आउँदा अचेत अवस्थामा भएको भएर उसले मलाई चिन्न सकेन, मैले आफ्नो परिचय दिएँ र हामी एकछिन कुराकानी गर्यौं। केहि दिनपछि पूर्णरुपमा स्वस्थ भएर उ सबैलाई बाईबाई गर्दै, सबैलाई धन्यवाद दिदैं, घर जाने बेलामा भेट्न आउँछु भन्दै व्हिल चेयरमा विदा भयो।

यो थियो, उसको कथा, मलाई मेरो पेशा मनपर्ने एउटा कारणको कथा। विरामी ठिक भएर जाँदाको अवस्था, आफ्नो र पूरा टिमको परिश्रमको फल पाउँदाको अवस्था साह्रैं नै रमाइलो हुन्छ। तर सधैं आफूले भनेको र आफूले चाहेको जस्तो कहाँ हुन्छ र? उसलाई विदा गरेपछि म यो लेख लेख्ने सोच्दै थिएँ तर भोलीपल्ट नै अर्को घटना भयो। त्यसले मेरो यो लेखको शिर्षक र पूरा लेख नै बद्लिदियो।

सि ओ पी डी (COPD) को एकजना वृद् विरामी २-३ दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो। उहाँ पूरै होसमा त हुनुहुन्थ्यो, तर फोक्सोको पुरानो रोगका कारणले रगतमा अक्सिजन पुर्याउन नसक्दा उहाँलाई भेन्टिलेटरमा राखिएको थियो। उहाँलाई भेन्टिलेटरबाट निकाल्ने हरेक प्रयास विफल भइरहेको थियो। हरेक पटक त्यस्तो प्रयास गर्दा उहाँको श्वासप्रश्वासको गति धेरै नै बढेर जान्थ्यो र निकाल्न सकिदैनथ्यो। कति दिनसम्म त्यसरी भेन्टिलेटरमा राख्ने, सुधार हुने हो वा होइन, सुधार हुने भए कति समयसम्म लाग्ने हो जस्ता धेरै अनुत्तरित प्रश्नहरु विरामीको परिवारको साथसाथै हामीमा पनि थियो।

डाक्टरलाई रोग र रोगीको बारेमा सबै कुरा थाहा हुनुपर्ने हो जस्तो यहाँहरुलाई लाग्नसक्छ। तर डाक्टर पनि एउटा मान्छे नै हो, फरक यत्ति हो कि उसले रोगहरु र मानव शरीरको बारेमा पढेको, जानेको हुन्छ, त्यसको बारेमा अनुभव लिएको हुन्छ। विभिन्न अनुसन्धानहरुका आधारमा, काम गरेको अनुभवका आधारमा यति प्रतिशतमा राम्रो हुन्छ, यति प्रतिशतमा नराम्रो असर देखिन्छ, यति प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ भनेर भन्न सकिन्छ तर यहि विरामीलाई यस्तो हुन्छ भनेर भविष्यवेत्ताको जस्तो ग्यारेन्टी दिएर भन्न भने सकिदैंन।

त्यसैले निर्णय लिन धेरै गाह्रो थियो। तैपनि कन्सल्टेन्टहरु र विरामीको परिवारको आपसी सल्लाहमा भेन्टिलेटरबाट निकाल्ने निर्णय भयो र उहाँलाई भेन्टिलेटरबाट निकालियो। उहाँलाई दिउँसो निकालिएको थियो र मेरो नाइट ड्युटी थियो। निकालेदेखि नै उहाँको श्वासको गति बढि थियो। तैपनि केहि सुधार होला कि भन्ने आसमा उहाँलाई त्यसरी नै राखिएको थियो। तर रात बढ्दै जाँदा उहाँको श्वासको गति पनि बढ्दै गयो र रगतमा अक्सिजनको मात्रा घट्दै गयो। अन्तमा परिवारलाई खबर गरेर फेरी भेन्टिलेटरमा राख्नुपर्ने जानकारी गराएर उहाँलाई फेरी भेन्टिलेटरमा राखियो। भेन्टिलेटरमा राखेपछि उहाँलाई केहि सजिलो भयो र रगतमा अक्सिजनको मात्रा पनि केहि राम्रो भएर आयो। तर कुन बेला के हुन्छ भनेर कसले भन्नसक्छ र विहानीको झिसमिसे उज्यालो नहुदैं एक्कासी मुटुले काम गर्न छोड्यो र सिपीआर शुरु गरियो। तर लामो समय देखिको रोगहरु, उमेरले कमजोर भएको शरीर आदी कारणले उहाँलाई बचाउन सकिएन। अनि गर्नुपर्ने भयो, सबैभन्दा नमिठो काम – ‘विरामीको मृत्यु भएको कुरा परिवारलाई भन्ने। त्यो पनि त्यो विहानीपख। उहाँको छोरा आँखा मिच्दै आउनुभयो र मैले सबै कुरा बताइदिए। हुन त यस्तो अवस्था आउनसक्छ भनेर मेन्टल्ली प्रिपेर भएकोले पनि होला, उहाँमा खास रियाक्सन देखिएन। तैपनि दिनको शुरुवातमा विरामी गुमाउनु पर्दा मलाई नराम्रो लागेको थियो। र यो कुराले मेरो लेख नै परिवर्तन गरिदियो।

हरेक सिक्काको दुई पाटा हुन्छ भनेको जस्तै यो पेशाको पनि राम्रो, नराम्रो, खुशी हुने, दु:खी हुने दुवै पक्षहरु छन्। हामीले राम्रोको लागि प्रयास गर्ने हो, खुशी दिने र खुशी हुने प्रयाश गर्ने हो, तर सधैं सफल भइन्छ भन्ने ग्यारेन्टी छैन। तैपनि यो प्रयाश कहिले छोड्नु हुदैंन, किनकी जिन्दगी भनेकै फलको आशा नराखी कर्म गर्नु हो।