Friday, September 16, 2011

लेख, प्रतिक्रिया र त्यसपछीको प्रतिक्रिया


यो लेख माइ संसारमा सेप्तेम्बर १६, २०११ मा 'आन्दोलन सर्वोच्चको फैसलाविरुद्ध हैन ढिलासुस्तीको विरोधमा' शीर्षकमा छापिएको थियो। 

माइ संसारमा प्रकाशित डा. बद्री चापागाईंले लेख्नुभएको लेख 'सर्वोच्चको फैसला विरुद्ध चिकित्सक किन आन्दोलनमा?' पढें र त्यसका प्रतिकृया स्वरुप आएका भनाइहरु पनि प्राय: सबैजसो पढें। यो सबै पढेपछि केहि कुरा लेख्न मन लाग्यो।

पहिला लेखको बारेमा केहि कुरा भनौं। लेखको शिर्षकले भनेको जस्तो मन्त्रालयको छात्रवृतिमा पढेका चिकित्सकहरु आन्दोलनमा त छन् तर त्यो सर्वोच्चको फैसलाको विरुद्धमा होइन रहेछ। मैले यहि आन्दोलनका एक सक्रिय साथीसँग कुरा गरेको थिएँ। उनी भन्दै थिएँ- "सर्वोच्चले त त्यो सेवा अवधिलाई ५ वर्ष बनाउनैपर्छ भन्ने कुरालाई गलत ठहराइ सकेको छ र जसको २ वर्ष सेवा अवधि पुगीसक्यो उनीहरुलाई क्लियरेन्स गरिदेउ भनेर मन्त्रालय र विभागलाई पनि आदेश दिईसकेको छ तर मन्त्रालय र विभागले त्यसलाई कार्यान्वयन गर्नमा ढिलासुस्ती गरिरहेको छ। र यो आन्दोलन त्यसको विरुद्धमा हो न कि सर्वोच्चको फैसलाको विरुद्धमा।"

यो बाहेक उहाँले यो लेखमा लेख्नुभएको धेरै कुरामा सत्यता छ। छात्रवृतिमा पढेका चिकित्सकहरुलाई २ वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियम लागु भएपछि धेरै चिकित्सकहरु कहिल्यै नसुनेको र नपुगेको गाँउहरु पुगेका थिए। मेरै कति साथीहरु गाडी, मोटरसाइकल त के हिडेर जान पनि गाह्रों हुने ठाँउहरुमा पुगेर काम गरेका थिए। त्यसरी नियम बनाएर चिकित्सकहरुलाई गाँउगाँउ त पुर्याइयो तर त्यहाँ बसेर उनीहरुले काम गर्ने वातावरण छ वा छैन भनेर माथिल्लो निकायले कहिले जानकारी लिने कोशिश गर्यो त? गरोस् पनि कसरी माथिल्लो निकायमा भएकालाई मात्र प्रचारबाजीको लागि "गाँउगाँउमा डाक्टर पुर्याएका छौं है" भनेर सानसँग सबैलाई सुनाउदैंमा फुर्सद छैन। मैले यहाँ 'काम गर्ने वातावरण' भनेर कुनै सुविधा, बस्ने क्वार्टर, सुरक्षाको कुरा गरेको हैन। चिकित्सक कुनै जादुगर होइन, उसले कुनै जादुको छडी घुमाएर रोग पत्ता लगाएर अनि उपचार गर्ने। उसले रोग पत्ता लगाउनको लागि उसलाई ल्याब, एक्स-रे को सुविधा हुनु जरुरी हुन्छ, जसले रोगको राम्रो पहिचान गरी उपचार गर्न उसलाई सहयोग पुर्याउँछ। तर यहाँ गाँउगाँउमा डाक्टर पुर्याउने नाममा मात्र डाक्टरलाई त्यहाँ जाने नियुक्ति पत्र दिएर माथिल्लो निकाय आफ्नो जिम्मेवारीबाट पन्छियो। एक्सरे बोकेर जाने काम, ल्याबको काम चिकित्सकको होइन, यी सबको व्यवस्था सरकार मन्त्रालयले हेर्नुपर्थ्यो।

यही लेखका लेखक डा. बद्री चापागाईंले केहि वर्ष अगाडी एभिन्युज च्यानलको एउटा कार्यक्रममा भनेका कुरा म अझै पनि सम्झन्छु। एभिन्युज च्यानलले त्यतिबेला पश्चिमका अति पीछडिएका विभिन्न क्षेत्रका बारेमा रिर्पोटिङ गरिरहेको थियो र त्यहींको अस्पताल (शायद जिल्ला अस्पताल)मा काम गरिरहनु भएको थियो उहाँले। "विरामीको उपचारका लागि हामी हाम्रो तर्फबाट प्रयास गर्छौं, तर ल्याब, एक्सरे जस्ता सुविधा भएमा रोगको पहिचान र उपचारमा हामीलाई सजिलो हुन्थ्यो। सरकारसँग यो कुरामा ध्यान पुर्याउन माग गर्छु।" उहाँले भन्नुभएको थियो। मैले भन्न खोजेको के भने चिकित्सक मात्र पुर्याएर मन्त्रालय र नेताले प्रचार त खुबै कमाउलान् तर वास्तविकतामा त्यहाँका जनतालाई सोचे जतिको फाइदा चाँही हुदैंन। त्यसैले नियम बनाउँदा प्रचारमुखी भन्दा पनि अलि व्यवहारिक र बढि परिणाममुखी बनाउनुपर्यो र त्यही अनुरुप कार्यान्वयन पनि हुनुपर्यो।

लेखमा भएको बालकको तस्वीर शायद त्यही बेलातिरको होला। तस्वीरसँग जोडिएको उहाँको छुट्टै कथा होला, त्यो बच्चालाई ठिक बनाएर उहाँले घर नि पठाउनु भयो होला तर लेखसँग तस्वीर अलि असम्बन्धित जस्तो लाग्यो।

उक्त लेखका प्रतिक्रियाहरुको बारेमा चर्चा गर्दा केहि प्रतिक्रियाहरु अति नै तल्लो स्तरमा गरिएका छन्। ती प्रतिक्रियाहरुको बारेमा म यति मात्रै भन्न चाहन्छु। मान्छेले अरु प्रति गर्ने बोली,व्यवहारले नै उसको स्तर निर्धारण गर्छ। हुन त आजभोलि हाम्रो देशमा जताततै तातो रिस पोख्ने चलन नै चलेको छ, शायद व्यवस्थाको अस्थिरताले गर्दा पनि हो की। त्यसैले पनि त्यस्तै खालका प्रतिक्रिया धेरै आएका र त्यस्तै प्रतिक्रियाहरुमा हरियो अंक ज्यादा भएको होला। तर पनि त्यसो भनेर आफ्नो मर्यादा र सभ्यता त छोड्न भएन नि।

अरु केही प्रतिक्रियाहरु पढ्दा धेरैमा केही गलत बुझाइ/मिसअन्डर स्ट्यान्डिङ भएको जस्तो लाग्यो। त्यसलाई मेटाउने प्रयास गर्दैछु।
१. छात्रवृतिमा पढेका चिकित्सकहरु दुर्गममा गएर काम गर्नबाट भाग्न खोज्छन्।
केहीको हकमा यो सत्य होला तर धेरैजसो यसलाई एउटा मौकाको रुपमा हेर्छन्। केहि सिक्ने, केहि अनुभव बटुल्न पाउने र देश देख्न पाउने एउटा सुनौलो मौका। कतिले यो दुई वर्षले भर्खरै एमबीबीएस सकेका चिकित्सकहरुमा परिपक्वता/म्याच्युरिटी ल्याउनलाई सहयोग गर्छ नि भन्छन्। त्यसैले उनीहरुको माग नि दुर्गममा काम गर्न जानु नपरोस् भन्ने कदापी होइन। बरु त्यहाँ बसुन्जेलसम्मको अवधीलाई बढि परिणाममुखी बनाउने भन्ने हो। ल्याब, एक्सरे लगायतका सुविधा, भिडियो एक्सरे जस्ता उपयोगी जाँचहरुको ट्रेनिङ र सुविधा आदी उपलब्द गराउने मागहरु हुन्।

२. अर्को माग भनेको एम डी पढाइका लागि केही सिटहरुको व्यवस्था गर्ने भन्ने हो।
धेरैजसोको प्रतिक्रियामा चिकित्सकहरुलाई सकेसम्म गाँउमा काम गर्न लगाएर सरकारले उसमाथि गरेको खर्च जसरी नि उठाउनु बुद्धिमानी हो र ठिक हो भनेको पाइयो। तर यसलाई यसरी सोचौं न। बरु २ वर्ष दुर्गममा काम गर्न लगाउने अनि त्यो अवधीमा उसले गरेका कामका आधारमा उच्च शिक्षाका लागि उसलाई थप सहयोग प्रदान गर्ने र भविष्यमा विशेषज्ञ/स्पेसलिस्टका रुपमा गाँउगाँउमा सेवा गर्न लगाउने। त्यसो गरे कसो होला? उहाँहरुको माग पनि त्यहि हो। ५-५ वर्ष एमबीबीएसको डिग्रीमा मात्र झुण्डिएर बसेर विरामी मात्रै हेर्यो भने त पढेका धेरै कुरा विर्सिन्छ किनकी साधारण ज्वरो र झाडापखालाका विरामी मात्र हेर्दा पढेको धेरैजसो कुरा प्रयोगमा आउँदैनन्। त्यसैले बरु २ वर्षको सेवा पछि एमडीको लागि सिटहरु दिने र भविष्यमा पनि पहिलेको जस्तै गाँउमा गएर सेवा गर्ने मन्जुरीनामा गर्ने। वास्तवमा लोकसेवा आयोगबाट सरकारी अस्पतालमा काम गरेका चिकित्सकहरुलाई यस्तो सुविधा छ तर छात्रवृतिमा पढेकाहरुलाई 'करारका डाक्टर' नाम दिएर यो सुविधाबाट बन्चित गरिएको छ।

३. छात्रवृतिमा पढेका सबै विषयका सबैलाई यो नियम एकै प्रकारले लाग्नुपर्ने हो।
देशका सबै नागरिकको देशप्रति जिम्मेवारी हुन्छ, तर छात्रवृतिमा पढेका कुनै पनि विषय माथि राज्यले थप लगानी गरेको हुनाले उसको राज्यप्रति थप जिम्मेवारी हुन आउँछ। यस्तोमा यो विषय उ विषय भन्ने हुनुहुदैंन भन्ने मेरो सोचाइ छ। त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गत छात्रवृति पाएर विभिन्न प्राइभेट मेडिकल कलेजहरुमा एमबीबीएस पढेका चिकित्सकहरुलाई मात्र होइन टिचिङ हस्पिटल महाराजगंज, वीपीकोस्वाविप्र धरानमा पढेका चिकित्सकहरुलाई पनि यस खालको नियम लागु हुनुपर्छ भन्ने मेरो सोचाइ छ। किनकि झट्ट सुन्दा मन्त्रालयबाट मात्रै छात्रवृतिमा पढेको जस्तो लाग्छ तर टिचिङ हस्पिटल, वीपीकोस्वाविप्रमा पनि पढ्दा त्यो वा त्यो भन्दा कम खर्छ लाग्छ र सरकारले उसमाथि नि उत्तिकै खर्छ गरेको हुन्छ। तर माथि भनेको जस्तो डाक्टर पठाउने नियम मात्र बनाएर जबरजस्ती लाद्ने होइन कि डाक्टरलाई सहयोगी र आवश्यक सुविधाहरु पनि गाँउगाँउमा पुर्याउनुपर्छ साथै उच्च शिक्षाका लागि सिटहरुको व्यवस्था गरिदिनुपर्छ।

कति साथीहरुले कमेन्ट गर्दा पुरा लेख पनि नपढि कमेन्ट गर्नुभए जस्तो लाग्यो। शायद व्यस्तताले हो वा कमेन्ट गर्ने हतारले हो। लेखको प्रतिकृयामा आएका चिकित्सा सेवाको व्यापारिकरण, चिकित्सकहरुबाट भएको लापर्वाही, बाटोमा एक्सिडेन्ट हुँदा सधैं गाडी र ड्राइभरकै दोस देखे जस्तै विरामीको मृत्‍युमा चिकित्सककै दोस, लापर्वाही देख्ने पुर्वाग्रही सोचाइ आदीको बारेमा अरु कुनै लेखहरुमा चर्चा गरौला। आजलाई यति नै।

No comments:

Post a Comment