Monday, March 28, 2011

छातीको एक्सरे (Chest X-ray)



छातीको एक्सरे भनेको एउटा रेडियोलोजीकल जाँच हो, जसमा एक्सरे (एक प्रकारको विकिरण) को प्रयोग गरी छाती र त्यसका भित्री अंगहरु मुटु, फोक्सो आदीको तस्वीर निकालिन्छ। यसमा एक्सरेको फिल्म एकातिर राखिन्छ र अर्कोतिरबाट एक्सरे मेसिनबाट एक्सरे विरामीको छातीमा पारिन्छ। यसरी शरीरबाट एक्सरे पार गर्दा शरीरका अंगहरुमा भएका तत्वहरुको प्रकृति अनुसार ( हावा, पानी, रगत, हाड, मांशपेशी आदी ) ती अंगहरुमा एक्सरे विभिन्न मात्रामा सोसिन्छ र केहि मात्रामा ती अंगहरुलाई छेडेर एक्सरे फिल्ममा पर्छ। त्यसले गर्दा फिल्ममा ती अंगहरुको चित्र बन्छ, जसको आधारमा विभिन्न रोगहरु पत्ता लाग्नुका साथै तिनीहरुको उपचारमा पनि ठूलो मद्दत मिल्छ।

छातीको एक्सरेमा देखिने सेतो कालो छाँयाहरु के हुन्?
माथि भनिएझैं शरीरका विभिन्न अंगहरुमा भएका तत्वहरुको प्रकृतिले ती अंगहरुलाई एक्सरे विकिरणले कति मात्रामा छेड्छ भन्ने कुरा निर्धारण गर्छ। फोक्सो भए त्यसमा भएको हावालाई सबैभन्दा बढि छेडेर एक्सरेमा कालो देखिन्छ, त्यस्तै हाड भए थोरै मात्रामा मात्र छेडेर एक्सरेमा सेतो देखिने गर्छ। यसरी अंगहरुको घनत्व र एक्सरे विकिरणले ती अंगहरुलाई कति मात्रामा छेड्न सक्छ भन्ने आधारमा एक्सरेमा कालो सेतो चित्र बन्ने गर्छ।  

एक्सरे गर्दा ध्यान दिइने केहि कुराहरु
   १.      एक्सरे गर्दा छाती घाटीमा लगाएका धातुका गहना सामानहरु फुकाल्नुपर्छ। यसले एक्सरे विकिरणलाई छेकेर एक्सरे राम्रो नआउन सक्छ।
   २.      छातीको एक्सरे गर्दा साँस तानेर एकछिन रोकेर राख्नुपर्छ, यसो गर्दा फोक्सो फुल्छ र एक्सरेमा छातीका अंगहरुको विवरण राम्रोसँग देखिन्छ।

छातीको एक्सरे प्राय: गरेर PA/ Postero-anterior (एक्सरे विकिरण पछाडीबाट पठाउने र एक्सरेको फिल्म छाती अगाडी राख्ने) गरिन्छ। तर अवस्था अनुसार AP/ Antero-posterior (एक्सरे विकिरण अगाडिबाट पठाउने र एक्सरे फिल्म छाती पछाडी राख्ने), Lateral (छातीको दाँयाबाँया एक्सरेको विकिरण र फिल्म राख्ने) र अन्य तरिकाबाट पनि एक्सरे लिइन्छ।

छातीको एक्सरे गर्दा एक्सरॆ विकिरणको हानिकारक असर कति हुन्छ?
प्रत्येक पल्ट एक्सरे गर्दा न्यून मात्रामा एक्सरे विकिरण शरीरमा पार्ने गरिन्छ। यो करिब ०.mSv हुन्छ र यो हामीले प्राकृतिक रुपमा करिब १० दिनमा पाउने विकिरण बराबर हुन्छ। (हामीले प्राकृतिकरुपमा पनि पृथ्वीमा भएका रेडियोएक्टीभ पदार्थहरुबाट र बाहिरी ब्रम्हाण्डबाट विभिन्न प्रकारका विकिरणहरु न्यून मात्रामा पाइरहेका हुन्छौं।) तर सस्तो, छिटो, सरल र एकदमै उपयोगी जाँच भएकोलॆ सामान्य अवस्थामा एक्सरेको बेफाइदा भन्दा पनि फाइदा बढि हुन्छ र रोग र समस्याको पहिचान र उपचारका लागि यो उपयुक्त हुन्छ।

तर गर्भवती महिलाहरुमा एक्सरेको विकिरणले भ्रुणको विकासक्रममा असर गर्नसक्ने भएकोले अति आवश्यक अवस्थामा बाहेक अरु बेला यो जाँच गरिदैन। हुन त भ्रुणमा यसको असर देखिन आवश्यक विकिरणको मात्रा भन्दा साधारण एक्सरे जाँचहरुमा पर्ने विकिरण धेरै कम हुन्छ। भ्रुणमा असर देखिनको लागि ५०-३०० mSv रेडिएसनको आवश्यकता पर्छ भने साधारण छातीको एक्सरे गर्दा मात्र ०.mSv रेडिएसन शरीरमा पर्छ। Wikipedia का अनुसार ०.०६ mSv रेडिएसन शरीरमा पर्छ। साथै विकिरणको प्रभाव कति पर्ने, कस्तो पर्ने भन्ने कुरा गर्भवती महिलाको गर्भको उमेर (गर्भ कति हप्ताको भयो भन्ने) मा पनि भर पर्छ। जस्तै- पहिलो २ हप्तामा ५० mSv सम्मको विकिरणले भ्रुणको मृत्यु हुनगइ गर्भपतन नै हुनसक्छ। गर्भको ८-१५ हप्तासम्म भ्रुणको विकास भैरहेको स्नायुप्रणाली विकिरणको हानिकारक असरको लागि सम्वेदनशील हुन्छ तर त्यस्तो असर देखिन करिब ३०० mSv विकिरणको आवश्यकता पर्छ। २० हप्तापछिको गर्भमा विकिरणको असर तपाईंहामीमा जस्तै हुन्छ र विकिरणको कारणले गर्भपतन हुने, जन्मदै अंगभंग भएर जन्मने जस्ता समस्याहरु हुदैंन।

छातीको एक्सरे किन गरिन्छ?
सामान्यतया निम्न लक्षणहरुका लागि छातीको एक्सरे गरिन्छ।
   १.      श्वास बढ्ने ज्वरो आउने भएमा,
   २.      लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने भएमा,
   ३.      छातीमा चोटपटक लागेमा  
निमोनिया, दमको रोग (COPD), क्षयरोग, फोक्सोको क्यान्सर, हार्ट फेलर (Heart Failure) अर्थात मुटुले काम नगरेको अवस्था आदी विभिन्न रोगहरुमा छातीको एक्सरेले रोगको पहिचान र उपचारमा आवश्यक सहयोग पुर्याउँछ।
दाहिने फोक्सोको निमोनिया (Right sided pneumonia)
देब्रे फोक्सोमा पानी जमेको अवस्था (Left Pleural effusion)

अन्त्यमा,
वैदेशिक रोजगारमा जाँदा गरिने स्वास्थ्य जाँचमा फेल भएका धेरैमा छातीको एक्सरेमा छातीमा दाग देखिएर फेल भएको र करिब एक हप्ता औषधी (प्राय: गरेर महंगो एन्टिवायटिक) खाएपछि ठिक भएको सुन्ने गरिन्छ। मेरो अनुभवमा विना अरु कुनै लक्षण छातीमा देखिने दागहरु एक हप्ते एन्टिवायटिकले निको हुने कमै हुन्छ। ती कि त सामान्य लिम्फ नोडहरु हुन्छन् कि त छातीका पुराना संक्रमणहरुले गर्दा भएको फाइब्रोसिस आदी हुन्छन्। जुनले या त सामान्य काम गर्नमा केहि असर गर्दैन या त ती साधारणतया एन्टिबायटिकले मात्र निको हुदैंन। साथै लक्षणहरु देखिएको छैन भने मात्र एक्सरेमा देखिएको दागको लागि औषधी खान लगाउनु कतिको उचित हुन्छ? हुन त कति रोगहरुमा जाँचमा मात्र खराबी देखिने तर लक्षण ढिलो देखिने हुन्छ तर ती भनेका फरक अवस्थाहरु हुन्।

त्यस्तै अर्को कुरा एकपटक निमोनिया भएपछि त्यसको दाग छातीमा पछिसम्म पनि रहिरहन्छ भन्ने जति आम मानिसमा विश्वास छ, त्यति यो कुरा सत्य चाँही होईन। निमोनिया ठिक भएपछि निमोनियाको एक्सरेमा देखिने दाग पनि विस्तारै हराएर जान्छ। बरु क्षयरोगको असर फोक्सोमा फाइब्रोसिस (Fibrosis), कोल्याप्स (Collapse) आदीको रुपमा सधैं रहिरहने गर्छ।

स्रोतहरु:

1 comment:

  1. doctor, thank you so much for the information.its so important article.we must know.

    ReplyDelete