नेपालको तराईका भेगहरुबाट पहाडको ४८०० मीटरको उचाईसम्ममा करिब ७७ प्रजातिका सर्पहरु पाइन्छन्, जसमध्ये २१ थरिका विषालु सर्पहरु हुन्। नेपाल र यस वरपरका देशहरुमा प्राय: गरेर पाइने विषालु सर्प दुई समुहका हुन्छन्। इलापीडे/Elapidae परिवार र भाइपरिडे/Viperidae परिवार। इलापीडे परिवारमा किङ कोब्रा/King cobra, कोब्रा/गोमन, करेत/krait पर्छन भने भाइपरिडे परिवारमा भाइपर/बाधे, पीट भाइपर/Pit viper पर्छन्।
नेपालमा हरेक वर्ष करिब २०,००० सर्पदंशका घटना हुने र त्यसमा करिब २०० जनाले ज्यान गुमाउने अनुमान गरिएको छ। पूर्वका १० जिल्लाका अस्पतालहरुमा गरिएको एक अध्ययनले वर्षमा ४०७८ जनालाई सर्पले टोकेको, जसमा ३७९ लाई विषालु सर्पले टोकेको पाइएको थियो, जुन करिब ९% जति हुन आउँछ। त्यस्तै विषालु सर्पको टोकाइपछिको मृत्युदर करिब २१.३% देखिएको थियो। मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाइ देखिएको थियो।
विषालु सर्पका विष सामान्यतया दुई प्रकारका हुन्छन्। न्युरोटक्सिक/Neurotoxic र हेमाटोटक्सिक/Hematotoxic
गोमन र करेत दुवै न्युरोटक्सिक समुहमा पर्छन् भने भाइपर हेमाटोटक्सिकमा पर्छ।
विषालु सर्प र त्यसको टोकाइ कसरी चिन्न सकिन्छ?
सबै विषालु सर्प चिन्ने ठ्याक्कै तरिका यहि हो भनेर भन्न सकिदैंन। तर केही बढि पाइने प्रजातिहरुलाई तिनीहरुको विशेष गुणका आधारमा चिन्न सकिन्छ। जस्तै गोमन रिसाएको बेलामा आफ्नो टाउको उठाएर फिजाउने गर्छ। करेतमा प्राय: गरेर कालो सेतो दागहरु हुन्छन्। त्यस्तै भाइपरमा पनि सेतो कालो छिर्केमिर्के धब्बाहरु हुन्छन्।
चित्र: करेत/Krait
सर्पको टोकाइबाट कसरी बच्न सकिन्छ?
प्राय:जसो सर्पहरु रिसाहा हुदैंनन् र मानिसलाई त्यसै टोक्दैनन्। केहि गरेर मानिसको सम्पर्कमा आएमा वा जानी नजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि यसले टोक्ने गर्छ। यसको टोकाइको शिकार विषेश गरी खेतीकिसानी गर्ने व्यक्तिहरु हुने गर्छन्।
यसको टोकाइबाट बच्ने केहि साधारण उपायहरु:
१. आफ्नो ठाँउ वरिपरि पाइने सर्पहरुको बारेमा जानकारी राख्ने। ती कस्तो ठाँउमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढि सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ।
२. वर्षाको समयपछि, खेत रोपाइका बेलामा सर्पको बारेमा विशेष ध्यान पुर्याउनुपर्छ। किनभने यस्तो बेला सर्पहरु बाहिर निस्कने सम्भावना बढि हुन्छ।
३. रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती, टर्चलाइट, लालटिन लिएर मात्रै निस्कने गर्नुपर्छ। एक अध्ययन अनुसार करिब ७५% विषालु सर्पको डसाईका घटनाहरु रातको समयमा भएको पाइन्छ।
४. सर्प पाइनसक्ने ठाँउमा जानुपर्दा घुँडासम्म आउने छालाको जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ।
५. जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हुदैंन। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने हुदैंन, त्यसैले सकेसम्म खाली हातले छुने वा समाउने कोशिश गर्नु हुदैन।
६. सम्भव भएसम्म भुईंमा नसुत्ने। सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ।
७. रुख, जमिनमा भएका प्वालहरुमा जथाभावी हात छिराउनु हुदैंन।
८. जुत्ता लगाउँदा जुत्ता भित्र राम्रोसँग हेरेर मात्रै लगाउनुपर्छ।
९. भ्यागुता, मुसा, चरा, छेपारो आदी सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुदैंन।
१०. सम्भव भए घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ।
११. सर्पको डसाईमा गरिने प्राथमिक उपचार र प्रतिविष/Antisnake venom पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालका बारेमा जानकारी राख्नुपर्छ।
चित्र: सस्केल्ड भाईपर/Saw-scaled Viper
सर्प डसाईका चिन्ह र लक्षणहरु के के हुन्?सर्प भन्ने वित्तिकै विषालु हुन्छ भन्ने विश्वास व्याप्त भएकोले जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केहि लक्षणहरु देखिन सक्छन्। जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुदैं जाने, रक्तचाप घट्ने, बेहोस हुने आदी। अचम्म लाग्न सक्छ, तर यी सबै लक्षणहरु विष नभएको सर्पले टोक्दा पनि धेरै डराएमा देखिनसक्छ। तर पनि सर्पले टोकेका हरेक विरामीलाई सकेसम्म चाँडो नजिकको अस्पताल पुर्याउनुपर्छ।
त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केहि माथि जोडसँग कस्ने गरिन्छ (जुन हिजो आज पनि गर्ने गरिन्छ) त्यस्ले रक्तसंचारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मर्ने पनि हुनसक्छ।
यी त भए विष बाहेक अन्य कुराका असरहरु। अब सर्पको विषका कारणले देखिने लक्षणहरुको कुरा गरौं।
डसेको भाग र त्यस वरपरमा देखिने लक्षणहरु:-
डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, तर सधैं यो देखिन्छ भन्ने छैन।
डसेको भाग दुख्ने, सुन्निने
घाउ हुने, रगत बग्ने
फोका उठ्ने, नीलडाम बस्ने
नजिकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने
पछि गएर डसेको ठाँउमा संक्रमण हुने, पाक्ने र अंग नै कुहिने पनि हुन्छ। यस्तो विशेषगरी भाइपर र गोमनको डसाइमा हुने गर्छ।
सम्पूर्ण शरीरमा देखिने लक्षणहरु:-
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने
हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने।
डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठुलाठुला राता दागहरु देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने, मष्तिस्कमा रगत बग्ने आदि। यी रगत बग्ने लक्षणहरु मुख्यतया भाइपर जातका सर्पहरुको डसाइमा देखिने गर्छ, किनकी यिनीहरुका विष हेमाटोटक्सिक अर्थात् रगतको जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन्।
त्यस्तै गोमन, करेत (जसको विष न्युरोटक्सिक अर्थात् स्नायुहरुमा असर गर्ने र प्यारालाइसिस गराउने खालका हुन्छन्)हरुको डसाइमा हातखुट्टा झमझमाउने, स्वाद लिने र सुँघ्ने शक्तिमा ह्रास आउँदै जाने, आँखाको ढकनी भारी हुने, स्वर परिवर्तन हुँदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रों हुने, मुखबाट र्याल बगिरहने, स्वास फेर्न गाह्रों हुने र नसकिने, हातखुट्टा लुलो हुने र पूरै शरीरको प्यारालाइसिस हुने जस्ता लक्षणहरु देखिन्छन्।
सर्पको डसाईको असर लामो समयपछि पनि डसेको ठाँउको मांसपेशी मरेर जाने, अंगहरु काम नलाग्ने हुने, स्नायुमा असर गरेर वा मष्तिस्कका रगतका नली फुटेर रगत बगी हातखुट्टा नचल्ने, मृगौलाले काम नगर्ने रुपमा देखिनसक्छ।
सर्पको डसाईको उपचार के हो?
प्राथमिक उपचार:-
सर्पले डसेको व्यक्ति प्राय: अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ।
टोकेको भागलाई धेरै चलाउनाले विष छिटो र बढि मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने। हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ।
गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट माथि हल्का प्रेशर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ, यसलाई प्रेशर इमोबिलाइजेसन विधि/ Pressure immobilization method भनिन्छ। पहिलेपहिले गरिने जस्तो एकै ठाँउमा एकदमै कस्सेर बाँध्नु हुदैंन। कस्सेर बाँध्नाले त्यसभन्दा मुनिकॊ भागमा रक्तसंचार पूरै बन्द भई उक्त भाग मरेको कैंयौ घटनाहरु भएका छन्।
विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको प्रयोग शुरु नभएसम्म त्यो प्रेशर ब्यान्डेज खोल्नुहुदैंन।
सकेसम्म चाँडो विरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। यसोगर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने।
प्रतिविष/Anti Snake Venom (ASV)को प्रयोग
विषालु सर्पको डसाईको अन्तिम र एकमात्र उपचार भनेको प्रतिविषको प्रयोग हो। र कुन विरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण र गाह्रों निर्णय हो।
नेपालमा प्रयोग गरिने प्रतिविष/Polyvalent ASVले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, रसेल्स भाइपर र सस्केल्ड भाइपर) को टोकाइमा काम गर्छ। यसको पनि आफ्नै खराब असरहरु छन्, त्यसैले विषको असर नदेखिएसम्म, विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिदैंन।
यो सर्पदंश उपचार केन्द्रहरुमा नि:शुल्क पाइन्छ।
यसका खराब असरहरु धेरै हुने भएकोले, बढि महंगो हुने भएकोले र सीमित मात्रामा मात्र उपलब्द हुने भएकोले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षणहरु नदेखिइकन प्रयोग गर्नुहुदैंन।
यसले कसैकसैमा डरलाग्दो रियाक्सन/Hypersensitivity reaction गर्नसक्ने भएकोले यो दिनु अघि एड्रेनालिन/Adrenaline औषधि तयार राख्नुपर्छ।
बच्चालाई र वयस्कलाई प्रयोग गरिने प्रतिविषको मात्रा एउटै हुन्छ।
यसको अनावश्यक व्यक्तिलाई र आवश्यकभन्दा बढि प्रयोग गर्ने कि्रयाकलापलाई कम गर्न पहिलेका अनुसन्धानहरुका आधारमा ३० भाइल प्रतिविषको प्रयोग सम्बन्धि अनुसन्धान भरतपुर अस्पतालमा हाल भइरहेको छ।
सर्पको डसाईपछि के नगर्ने?
टोकेको ठाँउमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने, त्यसो गर्दा विषभन्दा रगत बढि गई विरामीको मृत्यु हुनसक्छ।
चलचित्रहरुमा देखाएको जस्तो मुखले चुसेर विष निकालेर फाल्न सकिदैंन। बरु मुखमा घाउहरु छ भने त्यस्तो गर्नेलाई नै विष लाग्नसक्छ, त्यसैले त्यस्तो प्रयास नगर्ने।
धामीझांक्रीको उपचार, विष सोस्ने कालो ढुंगा/ Snake stone को उपचार तर्फ लागेर महत्वपूर्ण समय नगुमाउने। विश्वासका आधारमा यी उपचारले मानसिकरुपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछ भने उपयुक्त उपचारको ढिलाइमा विरामीको ज्यान जानसक्छ।
घाउलाई टोकेको अंगलाई अनावश्यकरुपमा नचलाउने।
चिकित्सकले नभनेसम्म केहि नखाने, नपिउने।
विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कस्सेर बाँध्ने गर्नुहुदैंन। यसले फाइदाभन्दा बेफाइदा बढि गर्छ।
सम्पर्क:
भरतपुर अस्पताल, भरतपुर ०५६-५२०१११, ५२५१०१
सर्पदंश उपचार केन्द्र, चारआली, झापा ०२३-४६०१०७
नेपाल रेडक्रस सोसाइटि, दमक ०२३-५८०१७६
अन्त्यमा,
यो लेख लेखीरहँदा विषालु सर्पले टोकेर विषका लक्षणहरु देखिइ प्रतिविष/ASV चलाएर भरतपुर अस्पतालमा एउटी बच्चीको उपचार भइरहेको छ। हामी सबै मिली उसको शिघ्र स्वास्थ्य लाभको कामना गरौं र सर्पको बिगबिगी हुने यो मौसममा होसियार रहौं।
स्रोतहरु:
1. Snake and snake bites in Nepal
2. Guidelines for clinical management for snake bites in South-East Asia region http://203.90.70.117/PDS_DOCS/B0241.pdf
3. Snake bite
4. Snakebite
5. Snake stones
Nice Article, Well done Dr. Saap. Its really informative and helpful. Cobra and Karait are very common in this Nepalgunj area and there are many cases of snake bites causing deaths as well. We have usually noticed the snakes moving out during the summer season and even entering into the rooms, bathroom and bed. I used to think of tying tightly above the wound and making a cut so that the toxin goes out, but reading this article I found it`s not good and should not be practiced. And the preventive and curative measures have nicely been written in this artcle. Enjoyed reading it Samir. Just wish that the lady may return home and live a healthy life and you Keep writing.
ReplyDeleteComment post garda yo select profile ma kun chahi select garne ho?
ReplyDeleteAnonymous, तपाईंको प्रतिकृयाको लागि धन्यवाद। अनि दु:खको कुरा, मैले जुन बच्चीको उपचार भईरहेको छ भनी भनेको थिए, यो लेख प्रकाशित भएकै दिन उनको मृत्यु भयो। ASV चलाएर पनि हामीले उनलाई बचाउन सकेनौ।
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteHey I know this is off topic but I was wondering if you knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates.
ReplyDeleteI've been looking for a plug-in like this for quite some time and was hoping maybe you would have some experience with something like this. Please let me know if you run into anything. I truly enjoy reading your blog and I look forward to your new updates.
Feel free to visit my homepage: payday loan