Friday, February 1, 2013

क्षतिपूर्तिमा ५०लाख!! गल्ती चाँही कस्को त??



"अस्पतालले दियो ५० लाख क्षतिपूर्ति"

यो खबर सुन्दा धेरैलाई "ए, अस्पतालले, डाक्टरले गल्ति गरेछ, विरामी मरेछ अनि जरिवाना तिरेछ, कति धेरै तिरेछ त" भन्ने मात्रै लाग्न सक्छ।

यसलाई अलि गहिरिएर हेर्दा मैले चाँही दुईटा कुराहरु देखें।

एउटा अस्पतालको गल्ति: अस्पतालले क्षतिपूर्ति भनेर त्यत्रो रकम दिएको छ तर 'डाक्टर वा अस्पतालको तर्फबाट गल्ति भएको' भनेर चाँही स्विकारेको छैन। त्यसो भए त्यो रकम विरामीका आफन्तलाई किन दिएको त? सहानुभुति स्वरुप? वा तोडफोडमा उर्लेर आएको भीडलाई शान्त गराउनलाई मात्र? खोई मैले त बुझ्न सकिन। यदी गल्ति भएको हो र गल्तिका कारण विरामीले ज्यान गुमाउनु परेको हो र त्यसैको क्षतिपूर्तिका लागि जरिवाना दिएको हो भने अस्पतालले, डाक्टरले गल्ति पनि स्विकार्न सक्नुपर्यो, अनि पो जरिवाना दिएको पनि मतलव हुन्छ। हैन भने भीडलाई शान्त बनाउन मात्र दिइएका यस्ता केही रकमले तत्काललाई त फाइदा नै होला तर भीडको शक्तिले जे पनि गर्न सकिन्छ भन्ने गलत सोचाइले फस्टाउने मौका पाउँछ। साथै "लापरवाही, गल्ति नगरेको भए त्यत्रो क्षतिपूर्ति किन दियो त" भनेर अस्पताल र डाक्टरको विश्वसनीयतामा पनि शंका उब्जाउछ।

अर्को चाँही विरामीको आफन्तहरुका कुरा। विरामीको मृत्युमा अस्पताल वा उपचाररत डाक्टर वा अरु कसैको लापरवाही देख्नु आजभोलि स्वाभाविक हुदैं गएको छ र त्यसका वापत क्षतिपूर्तिको माग पनि। तर यहाँ अस्पतालले गल्ति, लापरवाही नस्विकारीकन दिएको रकम चुपचाप लिनुले उनीहरुको सोचाइ माथि पनि प्रश्न उठाएको छ। अस्पतालले आफ्नो तर्फबाट भएको गल्ति स्विकारेको छैन भने के का लागि त्यत्रो पैसा दिइरहेको छ भन्ने उनीहरुले पनि सोच्नुपर्थ्यो। कि त्यो अस्पतालले हरेक विरामीको मृत्युमा सहानुभुतिका लागि रकम बाढ्दै बस्छ? यसले विरामीका आफन्तको विरामीको उपचारमा भएको लापरवाही र त्यसका कारणले भएको मृत्यु (यदी भएकै रहेछ भने) प्रति न्यायको अपेक्षाभन्दा पनि क्षतिपूर्तिको रकमसँगको मोह बढि रहेछ भन्ने देखाउँछ। सिधै भन्दा नमिठो सुनिएला तर हिजोआज यस्तो प्रवृति मौलाईरहेको पाईन्छ।

यस्ता घटनाहरु हिजोआज हाम्रो समाजमा धेरै नै बढेर गएका छन्। अस्पतालको जुन कुनै मृत्युलाई पनि डाक्टरको लापरवाहीको नाम दिएर शक्तिका साथ मैदानमा उत्रने र न्यायको लागि भन्दा पनि क्षतिपूर्तिको लागि दवाव दिने। धेरैले क्षतिपूर्तिको रकम पाइरहेका छन् तर थोरैमा मात्र अस्पताल र डाक्टरले गल्ति स्विकारेका छन् र त्यस्ता घटनाको निर्क्योल नै नभै टुङ्याइएका छन्। न्याय दिलाउने वा क्षतिपूर्ति दिलाउने यो एकदम गलत परम्परा हो। यो कानुनीरुपमा हुनुपर्नेमा हाम्रोमा कानुनको कमजोरीका कारण कानुनलाई बाइपास गरिदैंछ। यस्ता घटनाहरुको छिनोफानो लगाउनका लागि राम्रो र भरपर्दो कानुन नबनेसम्म न डाक्टर, अस्पतालको साँच्चै लापरवाही भएको थियो भनेर उनीहरुलाई कारवाही हुन्छ न त विरामीका आफन्तहरुले लगाएको दोष मात्र थियो भनेर त्यस्तालाई निरुत्साहित पारिन्छ। अनि भीडको दबाबमा जे पनि गर्न सकिने भन्ने गलत नजिर बस्न जान्छ। अत: सम्बन्धित सबैले यसका बारेमा बेलैमा सोच्ने की?

नोट: यो लेख 'कसैको गल्ती थियो' भनेर दोश दिन वा 'कसैको गल्ती थिएन' भनेर बचाउ गर्न लेखिएको हैन। यहाँ व्यक्तिको भन्दा पनि गलत प्रवृतिको विरोध गरिएको हो।