Tuesday, August 27, 2013

मेरो विरामी ठीक त हुन्छ नि??

स्को उत्तर हुन्छ, हुँदैन वा थाहा छैन मात्रै हुनुपर्ने हो। तर म यो प्रश्नले त्यो भन्दा धेरै कुरा सोध्न खोजेको, धेरै कुरा जान्न खोजेको देख्छु। यो प्रश्नले विरामीको वा उस्को आफन्तको स्वास्थ्य प्रतिको चिन्ता त झल्किन्छ नै, अझ बढी शंका, अविश्वास पनि देखाउछ। मेरो विरामीको उपचारमा केही लापर्वाही त भ'को छैन, यो ठाउँमा राम्रो उपचार गर्न नसक्ने त हैन, ठुलो ठाउँमा लानुपर्ने हो कि, बेलैमा भन्दैनन् अनी पछी ढिलो भएर भनेपछी गाह्रो त हुने हैन? रोगको बारेमा यिनिहरुले केही लुकाइरहेका त छैनन्? जताततै लापर्वाही मात्रै भईर'को समाचार आउछ, हिजोआज अस्पताल, डक्टरको भर नै हुँदैन। के हो के हो।


यि सब शंका, अबिश्वासको बाहिर प्रकट भएको रुप चै माथिको प्रश्न हो जस्तो लाग्छ।


हामीलाई नि विरामीलाई सहानुभूति दिन मन लाग्छ, तपाईंको रोग निको हुन्छ, निश्चिन्त हुनुस् भन्न मज्जा लाग्छ, तर धेरैजसो अवस्थामा हामीलाई त्यो कुरा थाहा हुँदैन, वा भनौ त्यस्को ग्यारेन्टी दिन सक्दैनौ। हामी डक्टर हौं, ज्योतिषी हैनौं, कस्को भविष्यमा के छ कस्तो छ, ठोकेर भन्न सक्ने। हामी कसैको उमेर तोक्न सक्दैनौ। हामीले त बस् पढेको आधारमा, संसारभर गरिएका अध्ध्यनहरुका आधारमा कस्तो रोगमा कस्तो उपचार गर्ने, ठीक हुने सम्भावना कती हुन्छ, रोगमा के के कम्प्लिकेसन आउनसक्छ भनेर भन्ने मात्रै हो। कुरा नलुकाइ भन्दा तथ्यान्कहरुको आधारमा यो रोगको ५ वर्षे, १० वर्षे बाच्ने सम्भावना कस्तो छ भनेर मात्र हामी भन्नसक्छौ, यो रोगमा यती प्रतिशतमा यस्तो खाल्को कम्प्लिकेसन देखिएको छ मात्र भन्नसक्छौ। तोकेर यही विरामीमा यस्तो हुन्छ, यो ठीक हुन्छ, यस्मा रोग बिग्रेर जान्छ, यो विरामी बाच्दैन भन्न सक्दैनौ।


जानी जानी त कस्लाई आफ्नो विरामीलाई दु:ख दिन, नराम्रो गर्न मन लाग्छ होला र? हामी नि मान्छे हौं नि यार। हामीमा नि अलिअली मानवता, सम्वेदना त छ नि साथी हो। तर हिजोआज केही मान्छेहरुको कुरा सुन्दा डर लाग्छ, पत्रपत्रिकामा छापिएका न्युज अनी कमेन्ट पढ्दा जिरिङ्ग हुन्छ। हुन त यो हिंस्रकता, आक्रोस समाजका सबै क्षेत्रमा बढेको छ, त्यसैको एउटा रुप स्वास्थ्य क्षेत्र माथि खनिएको मात्रै हो। एउटा त बढेको आक्रोस त्यसमाथि लगातार आउने लापर्वाहीका समाचारले बढेको डर। अनी विचारा विरामीहरुले नि के गरुन्?


“डक्टरहरु कस्तो रुखो हुन्छन्, विरामीलाई रोग ठीक हुन्छ, नआत्तिनुस् भनेर हौसला बढाउन नि सक्दैनन्” भनेको कती सुनिन्छ। यो पहिले देखी सुनिआएको कुरा हो तर अचेल यस्तो हुनुमा म एउटा कारण देख्छु। हामी चाहेर नि हाम्रा विरामिलाई सान्त्वना दिन, रोग निको हुन्छ न आत्तिनुस् भन्न सकिरहेका छैनौं। हिजो आज म कुनै पनि विरामीलाई "तपाईं ढुक्क हुनुस्, चिन्ता नलिनुस्, केही हुँदैन" भन्न सक्दिन। कतै त्यस्को गलत अर्थ त लाग्ने हैन? मैले केही हुँदैन भनेको छु भरे केही भयो भने मलाई त दोष दिन, भकुर्न आउने हैन भन्ने डर रहन्छ। किनकी भविष्य कस्ले पो देखेको छ र? एउटा साधारण दुखाईको औषधी दिदा त रियाक्सन भएर ज्यान गएको छ, सामान्य अप्रेसन गर्दा नि विरामीको मृत्यु भएको छ। ल गल्ती नै भए त चित्त बुझाउनु ठाउँ नि हुन्छ, हाम्रो तर्फबाट गल्ती भएको थियो, हामीले सजाय पाउनुपर्छ वा उनिहरुले क्षतिपूर्ति पाउनुपर्छ भन्ने। लाखमा एक जनालाई हुने औषधीको रियाक्सनमा नि डक्टर दोषी, रोगको आफ्नै हुनसक्ने कम्प्लिकेसनमा पनि डक्टरकै लापर्वाही भन्ने आवाज आउन थालेपछि हामीले नि आफ्नो टाउको त बचाउनै पर्यो नि। अनी हिजोआज हामी ‘डिफेन्सिभ मेडिसिन’ प्राक्टिस गर्न वाध्य भएका छौं, ‘डिफेन्सिभ काउन्सेलिङ’ गर्ने भएका छौ।


साधारण रुघाखोकीको विरामिलाई औषधी दिदा नि सोध्छन् यो कुनै ठुलो रोग त हैन नि, पछी गएर दु:ख त दिदैन नि, यो औषधीले केही हानी त गर्दैन नि। मलाई थाहा छ उनिहरु ग्यारेन्टी खोजिरहेका हुन्छन्, ‘धन्दा नमान्नुस् तपाईंलाई सब ठीक हुन्छ, यो औषधीले तपाईंलाई एक्दम राम्रो गर्छ’ भन्ने सुन्न खोजिरहेका हुन्छन्। मलाई नि थाहा छ रुघाखोकी ज्वरो भएका ९०% भन्दा बढीलाई खासै केही हुँदैन, आँफै हराएर जान्छ, मेरो विरामिको नि निको हुने चान्स ९०% भन्दा नि बढी छ तर त्यो ५-६% मा को पर्छ को पर्दैन म भन्न सक्दिन। कस्को रुघाखोकी भाईरल ज्वरो कम्लिकेटेड हुनजान्छ म कसरी भन्नसक्छु? मेडिसिन एक हिसाबले भन्दा प्रोबाबिलिटीको साइन्स हो। अनी मैले डिफेन्सिभ तरिकाले डिप्लोम्याटिकरुपमा भन्नुपर्ने हुन्छ - "ठीक हुनुपर्ने हो, धेरैको ठीक हुन्छ, कसैकसैमा जटिलता आउनसक्छ, तपाईं त्यसमा पर्नु हुन्छ हुन्न म अहिले भन्न सक्दिन। तर गर्नसकिने र गर्नुपर्ने उपचार हामीले दिएका छौं र दिनेछौ पनि।" हिजोआज धेरै डक्टरहरुले यस्तै भाषा बोल्ने गरेका छन्। वास्तवमै भन्ने हो भने बोल्नुपर्ने भाषा यस्तै हो। यदी हामी आँफैलाई विरामिको भोली के हुन्छ, रोगले कुन मोड लिन्छ थाहा छैन भने हामीले विरामिलाई जे थाहा छ त्यो भन्ने हो, नभएको र नहुने कुराको सान्त्वना दिनु हुँदैन, “सबै ठीक छ, ठीक हुन्छ, मैले सबै ठीक पार्दिन्छु” जस्ता गफ दिनु हुँदैन। तर जे जस्तो भए नि तपाईंको स्वास्थ्य राम्रो पार्न मैले आफुले सकेको गर्नेछु भन्ने विश्वास चै दिलाउन सक्नुपर्छ।


विरामीहरुले नि बुझ्नुपर्ने हो हाम्रो लिमिटेसन, हाम्रो काम गर्ने तरिका, हामीले उपचार गर्ने पद्धती। हामीले विरामीको नाडी छामेर मात्र यो रोग लागेको छ, यो यो गर्नुपर्छ भनेर भन्न सक्दैनौ। कती अवस्थामा समस्या अनुसार सानो ठुलो जाँचहरु गर्नुपर्ने हुन्छ, उपचार पद्धती नि थरीथरीका हुन्छन्, हरेकका आफ्नै फाईदा बेफाईदा हुन्छन्। कस्तो खाल्को उपचार गर्ने, कुन आफुलाई ठीक हुन्छ भनेर डक्टरहरुसँग राम्ररी बुझेर आँफैले निर्णय लिने हो। हामी कहाँ चै तपाईं डक्टर तपाईंले पो भन्ने त, के गर्दा ठीक हुन्छ, हामी त तपाईंकै भरमा छौ भन्ने चलन छ। तर त्यस्तो हैन, विरामिले डक्टरलाई सर्वस्व सुम्पने हैन, उसँग आफ्नो समस्या, त्यस्को हल छलफल पो गर्ने हो त। एलोप्याथिक मेडिसिनमा रोगको पहिचान, उपचार कसरी गरिन्छ भन्ने जानकारी यहाँ पढ्न सक्नुहुन्छ- मेडिकल साइन्सका केही कुराहरु..


अर्को बुझ्नुपर्ने कुरा के हो भने औषधी शुरु गर्न सधैं रोग कन्फर्म हुनुपर्दैन र अझ हाम्रो जस्तो गरिव देशमा यो सम्भव पनि छैन। अनी सधैं रोग कन्फर्म हुन कुरिरहनु हानिकारक नि हुनसक्छ। त्यसैले त धेरै जसो उपचार 'क्लिनिकल डायग्नोसिस'को आधारमा शुरु गरिन्छ। यो विरामीको समस्या, डक्टरले गर्ने जाँच अनी साधारण ल्याब टेस्टहरुको आधारमा गरिन्छ र यो कुनै हचुवाको उपचार हैन, ज्ञान र अनुभवका आधारमा गरिने डायग्नोसिस हो र यो धेरै जसो ठीक पनि हुन्छ।


अनी अर्को कुरा चै कृपया सधै आफ्नो रोग रिपोर्टहरुमा मात्र नखोज्नुहोला। भिडियो एक्सरेमा एपेन्डिसाइटिस देखायो भने मात्र अप्रेसन गर्ने हो नत्र त नगर्ने, एकजना विरामीका बुवाले भन्दैथिए। आफुलाई यस्तो पेट दुखिरछ, यत्रो जाँच गर्यो केही देखिदैन। रगत पिसाब एक्सरे जम्मै ठीक छ भने मलाई भको चै के हो त डक्टरसाब।। कुनै पनि रिपोर्ट १००% भन्ने हुँदैन, नत्र अर्को पल्ट भेट्न जाँदा आफ्नो डक्टरलाई सोधी हेर्नुस्।


थाहा छैन यस्तो अवस्थामा कहिले सुधार आउने हो। यो लेख्दै गर्दा कोशी अञ्चल अस्पतालका डक्टरहरुले विरामिका आफन्तहरुबाट भएको आक्रमणका कारण काम गर्न नसकिने भन्दै सामुहिक राजिनामा दिएको समाचार आएको छ। दु:खलाग्दो अवस्था हो। आशा गरौ, यो अबिश्वासको वातावरणमा छिट्टै सुधार आओस्। हामी सबै पोजिटिभ भै लाग्यौं भने म यो असम्भव देख्दिन।

1 comment:

  1. The post is useful in rasing the public awareness. Thanks for sharing.

    ReplyDelete