Saturday, August 10, 2013

स्वास्थ्य खोज्दै देश.....

कलेजमा लन्चको समय हुदै थियो, म खाना खाइहोरी लाइब्रेरी पुगें । थोरै मात्र समाचार र धेरै विज्ञापन छापिने हाम्रा राष्ट्रिय दैनिकहरुहरुमा पढौं-पढौं लाग्ने समाचार अझै निकै कम हुन्छन। कान्तिपुरको प्रथम पृष्ठ र अन्नपूर्ण पोस्टको भित्री पानामा छापिएको समाचारहरुले मेरो ध्यान आकर्षित गर्यो। यीनै समाचारहरुले मलाई धेरै पहिले देखि मनमा गाँठा परेर रहेका सुर्कनेहरु खोल्न यो लेख लेख्न प्रेरित गर्यो।
कान्तिपुर दैनिकमा हेडलाइन बनेर आएको समाचार थियो: “मुगुमा सुत्केरीको वेहाल, कसैलाई रगत छैन कसैलाई उपचार”। अन्नपूर्ण दैनिकको खबर थियो “समयमा उपचार नपाउदा शिशुको मृत्यु”। 

स्वस्थ जीवन जीउन पाउनु हरेकको जीवनको न्युनतम र आधारभूत आवश्यकता हो। स्वस्थ मानिसले स्वस्थ समाज बनाउन सक्छ। स्वस्थ समाजबाट नै सम्वृद्ध र सम्मुनत राष्ट्र निर्माण हुन्छ। तर यीनै स्वास्थ्य सेवाको न्युनतम मापदण्डको घेराभन्दा माथि उठ्न नसकेको कारण हाम्रो देश आफै एउटा जटिल विमारबाट ग्रस्त छ। यसकै परिणामस्वरूप आजभोलि यस्ता समाचारहरु एकपछि अर्को गर्दै आइरहेका छन्। यस्ता कारुणिक र हृदयस्पर्सी घटनाहरुले हाम्रो देशको स्वास्थ्य संरचना र स्वास्थ्य सेवाको कहालीलाग्दो अवस्थाको चित्रण गरेको छ।

अब एकपटक सोच्नैपर्ने वेला आएको छ, यो स्थिति कहिलेसम्म? कहिलेसम्म सुत्केरी आमाहरु उपचारको अभावमा अस्पतालको वेडमा यसरीनै वेहोस भैरहने? कहिलेसम्म समयमा उपचार नपाउदा शिशुहरूले अकालमै जीवन गुमाउने? कहिलेसम्म हामी सरकारी नालायकपना र निरिह डाक्टरहरुलाई धिकार्दै बस्ने? हो अब जवाफ खोज्ने वेला आएको छ।

कहाँ छ त समस्या? किन घट्छन यस्ता घटनाहरु?
कुनै पनि देशको स्वास्थ्य क्षेत्र राम्रो हुनुमा ३ ओटा संरचना बीच उचित तालमेल हुनु जरुरी छ: पहिलो सरकारी संयन्त्र, दोश्रो चिकित्सक र स्वास्थ्य जनशक्ति अनि तेस्रो आम जनता।

१. सरकारी संयन्त्र: देशको स्वास्थ्य क्षेत्र सुदृढ बनाउनुमा सरकारी संयन्त्रको मुख्य भूमिका रहेको हुन्छ। चिकित्सक र दक्ष जनशक्तिलाई कार्यक्षेत्रमा खटाउने देखि लिएर नियम कानुनको तर्जुमा र पालना गराउने सम्म सराकारी संयन्त्रको हात हुन्छ। हाम्रो देशमा अहिले हरेक निर्वाचन क्षेत्रमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र हुने र त्यहाँ कम्तिमा पनि एक जना एम.बी.बी.एस. चिकित्सक हुनैपर्ने व्यवस्था छ। तर विडम्बनाको कुरा कती दुर्गम जिल्लाहरुमा प्राथमिक स्वास्थ्य केन्द्र त के, जिल्ला अस्पतालनै डाक्टर विहिन छन्। उचित तलव, सुबिधा र साधन स्रोत उपलब्ध गराएर चिकित्सकहरुलाई दुर्गम भेगमा रही उपचार गर्नसक्ने वातावरण सिर्जना गर्नु राज्यको दावित्व हो तर ऊ यहाँ चुकेको छ।

२. चिकित्सक र स्वास्थ्य जनशक्ति: पछिल्लो समयसम्म लगभग १३०००जना चिकित्सकले मेडिकल काउन्सिलमा रजिस्ट्रेसन भए पनि यी मध्ये लगभग आधा चिकित्सक विदेश पलायन भएका छन्। नेपालमै रहेका चिकित्सक पनि शहर केन्द्रित छन्। सरकारी छात्रवृतिमा पढेका र निश्चित समय सरकारले खटाएको ठाउँमा सेवा गर्छु भनेर हस्ताक्षर गरेकाहरु पनि दुर्गममा जान आनाकानी गरिरहेका छन्। आवश्यकताभन्दा थोरै मात्र रहेको जनशक्ति अनि त्यहि थोरैमा पनि रहेको यस्तो किचलो पनि यस स्थितिको एउटा कारण हो।

३. आम सर्वसाधारण: आफ्नो सबैभन्दा ठूलो डाक्टर आफैं हो। जवसम्म हरेक मानिस आफ्नो स्वास्थ्यमा आफै सचेत हुदैन, अरु वाहिरी कुराहरु स्वत गौंण भैदिन्छ्न। जनमानसमा चेतनाको स्तरको कमी र त्यसले गर्दा Health seeking behavior  र Healthy attitude को अभाव अर्को कारण हो। जानेबुझेको र थाहा भएको स्वस्थ व्यवहार पनि आफ्नो जीवनमा लागु नगर्दा पनि यो स्थिति आउन सक्छ।

समाधान के त?
समाधान समस्यामै लुकेको हुन्छ। समस्याको पहिचान गरिसकेपछि यी तिनवटै संयन्त्रले आफ्नो तवरबाट हल निकाल्नुपर्छ।
१. सरकारले व्यवस्था भए अनुरुप दरबन्दीमा चिकित्सक खटाउने,
२. चिकित्सकहरुलाई उचित तलव र उपचारको लागि चाहिने औषधी, अन्य साधान श्रोतको व्यवस्था गर्ने, इमान्दार र लगनशील चिकित्सकहरुलाई पुरस्कृत गर्ने,
३. चिकित्सकहरुले पनि देशको अवस्थालाई मध्यनजर गर्दै आफ्नो वलबुताले भ्याएसम्म स्वास्थ्य स्थितिको उत्थानको लागि पहल गर्ने,
४. आमसर्वसाधारण पनि आफ्नो स्वास्थ्यमा सचेत हुने, स्वस्थ व्यवहार अपनाउने, र जानेबुझेका कुरा आफ्नो जीवनमा पनि लागु गर्ने अनि अरुलाई पनि सिकाउने
५. स्वास्थ्यको व्यापारीकरण, यस क्षेत्रमा खुलेर लागिपरेका माफियाहरु पनि पहिचान गरेर त्यस किसिमको प्रवृति निर्मुल गर्न राज्य र आम सर्वसाधारण लागिपर्ने,
६. राज्य, चिकित्सक र आम सर्वसाधारण सबैले हातेमालो गर्दै सौहार्दतापूर्ण तरिकाले काम गर्ने

अन्त्यमा, 
स्वस्थ समाज, स्वस्थ देश र स्वस्थ संसार निर्माणको सपना साकार पार्ने मन्त्र जप्दै अगाडी बढिरहेको एउटा चिकित्साशास्त्रको विध्यार्थीको नाताले यस्ता घटनाहरु निश्चय नै मेरा लागि पनि चुनौती हुन्। यस्ता चुनौतीहरुसंग डराएर भाग्नुभन्दा पनि डटेर सामना गर्नुपर्ने आगामी दिनको टड्कारो आवश्यकता हो। अत: विसंगति र वेथितिलाई चिर्दै, आफ्नो मन, वचन र कर्मले भ्याएसम्म स्वस्थ र सम्वृद्ध नेपाल निर्माणको विगुल फुक्दै आम जनताको स्वास्थ्य उत्थानको निम्ति जीवनभर लागिरहने प्रण गर्दछु । 

पुरुषोत्तम अधिकारी @puruad
एम. बी. बी. एस., दोश्रो वर्ष
गण्डकी मेडिकल कलेज 
पोखरा, नेपाल।

5 comments:

  1. Purushottam AdhikariAugust 10, 2013 at 1:06 PM

    Thank you bro!! :)

    ReplyDelete
  2. Good Analytically written article, Keep it up.

    ReplyDelete
  3. Purushottam AdhikariAugust 10, 2013 at 4:25 PM

    Thank you sir!! :)

    ReplyDelete
  4. Article writing habit makes easy expression of filling

    ReplyDelete