Saturday, September 14, 2013

अनुमानको भरमा उपचार!!!

‘अनुमानको भरमा वीर अस्पतालमा शल्यकृया’, यो शिर्षकमा भदौ २८को ‘अन्नपूर्ण पोस्ट’मा र त्यसैको केही हरफ ‘सेतोपाटी’मा प्रकाशित भएको थियो। समाचार लेख्ने पत्रकारको आशय 'वीर अस्पतालमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएको र त्यहाका रेजिडेन्टहरु हड्तालमा भएको' प्रती ध्यानाकर्षण गराउने जस्तो देखिन्छ। तर उन्ले दिएको लेखको शिर्षक र ‘एपेन्डिसाइटिसको अनुमानको भरमा शल्यकृया गरियो’ भन्ने उदाहरण उपयुक्त छैन। बरु शिर्षक मुनीको यो 'वीरमा सिटिस्क्यान बिग्रियो/रेडियोलोजीका सबै सेवा प्रभावित' वाक्यले लेखको आशय अनी सत्य उजागर गर्छ।

'अनुमान' भनेको के हो? के अनुमानको भरमा उपचार गर्नु गलत हो?
के तपाईं आफ्नो उपचार शुरु गरिनु अघी तपाईंको डक्टर १००% रोगमा कन्फर्म होस् भन्ने चाहनुहुन्छ। त्यसो भए तपाईं प्याथोलोजिस्टको मा देखाउन जानुभए हुन्छ। क्लिनिकल मेडिसिनमा सधैं रोग कन्फर्म भएर मात्र उपचार थाल्नु सम्भव हुँदैन र त्यो गर्न खोज्नु हानिकारक पनि हुनसक्छ। किनकी कहिले रोग शुरुको अवस्थामा हुनसक्छ र जतिसुकै ल्याब टेस्टहरुमा पनि केही खराबी नदेखिन सक्छ। कहिले रोग पत्ता लगाउने टेस्टहरु उपलब्ध नहुन सक्छ। कहिले विरामीको अवस्था यती नाजुक हुन्छ कि टेस्टहरुमा अमुल्य समय खर्च गर्दा उपचार ढिलो हुन गई ज्यान मै खतरा आउन सक्छ।

ज्वरो आएको, खोकी लागेको विरामी जस्को रगत जाँच, एक्सरेमा केही खराबी देखिएन, त्यस्लाई कसरी उपचार गर्ने? खकार जाँच, छातीको सिटी स्क्यान सब गर्ने? सबको रिपोर्ट आओस् अनी उपचार शुरु गरौला भनेर बस्ने? ती सबैमा नि केही खराबी देखिएन, रोग पत्ता लागेन भने के गर्ने? “तपाईंको रोग हामीले पत्ता लगाउन सकेनौ, घर जानुस्” भन्ने? कि हुनसक्ने 'छातीको सन्क्रमण' को लागि अनुमानको भरमा औषधी शुरु गर्ने? यस्लाई तपाईं अनुमान, हचुवा, गेस भन्न सक्नुहुन्छ। यस्लाई मेडिकल भाषामा 'क्लिनिकल डायग्नोसिस' भनिन्छ, जुन वर्षौ पढेको, सयौ हजारौ विरामी हेरेको अनी ईपिडेमियोलोजिकल ज्ञानको आधारमा गरिन्छ।

लामो समयदेखी खोकी लागेको, खकारमा रगत देखेको कती विरामीमा जती टेस्ट गरेपनी क्षयरोग देखिदैन, त्यस्को मतलब त्यो विरामिलाई क्षयरोगको औषधी दिनु के गल्ती हुन्छ? कि जब खकारमा देखिन्छ तब मात्र क्षयरोगको औषधी शुरु गरौला भनेर बस्ने? हाम्रो जस्तो क्षयरोग अती नै धेरै पाइने ठाउँमा यस्तो अवस्थामा ‘स्पुटम नेगेटिभ’ अर्थात खकारमा नदेखिएको टिवी भनेर क्लिनिकल डायग्नोसिस र अन्य हुनसक्ने रोगहरु 'रुल आउट' गरेर टिवीको औषधी शुरु गर्ने गरिन्छ र यसो गर्नु धेरैजसो बेला ठीक र फायदाजनक पनि हुन्छ।

एपेन्डिसाइटिस पनि भिडियो एक्सरेबाट पत्ता लगाइने रोग हैन, यो एउटा क्लिनिकल डायग्नोसिस हो। पेटको दाँयातिर दुख्ने, ज्वरो आउने, खाना नरुच्ने आदी लक्षण र क्लिनिकल जाँचमा नि त्यही अनुसारको ‘फाइन्डिङ’ अनी रगत जाँचहरुले त्यस्लाई सपोर्ट गर्छ भने त्यो बेला ‘एपेन्डिसाइटिस’ भनेर अप्रेसन गर्न सकिन्छ। भिडियो एक्सरे, सिटी स्क्यान नै चाहिन्छ भन्ने छैन। र भिडियो एक्सरेले सधैं साँचो भन्छ, सबै छर्लङ देखिन्छ भन्ने पनि हैन। त्यो पनि गर्ने मान्छेको ज्ञान, अनुभव, मेसिनको गुणस्तर, विरामीको रोगको, शारीरिक अवस्था जस्ता विभिन्न कुरामा भर पर्छ।

मलाई के लाग्छ भने रोग पत्ता लगाउने डक्टरले, डक्टरको ज्ञान, अनुभवले हो, नकी महँगा महँगा जाँचहरुले। ति जाँचहरुले त डक्टरलाई रोग पत्ता लगाउन सपोर्ट मात्रै गर्ने हुन्।

कती साथीभाइहरुले भनेको सुनेको छु “डक्टरले रोगै पत्ता लगाउन सकेन, हचुवामा औषधी दियो।“ तर उपचार शुरु गर्नु अघी हरेको डक्टरसँग कुनै एक वा केही ‘प्रोभिजनल डायग्नोसिस’ हुन्छ र हुनैपर्छ र त्यसैको आधारमा नै उस्ले उपचार शुरु गर्ने गर्छ। यो नै संसारभरका डक्टरहरुले अप्नाउने तरिका हो। विकसित देशमा ठुलाठुला जाँच सुलभ हुन्छन् र डक्टरलाई तिन्ले डायग्नोसिसमा सपोर्ट गर्छन् जुन हामीकहा सधैं सम्भव हुँदैन। कति विरामि, आफन्तले भनेको सुन्छु “कती डक्टरकोमा चहारे, कुनै पनि डक्टरले रोग पत्ता लगाउनै सकेन अनी लास्टमा मानसिक रोग पो भन्दियो र औषधी शुरु गर्दियो।“ यस्तो सुन्दा अचम्म लाग्छ, हुन त कम्जोरी हाम्रै होला, हामीले नै राम्ररी बुझाउन नसकेको होला। मानसिक रोग कुनै पनि जाँच, ल्याब टेस्ट वा सिटी स्क्यान, एम आर आइ मा देखिने कुरा हैन, यो त विरामीसँग डक्टरले गर्ने कुराकानी, क्लिनिकल जाँचका आधारमा पत्ता लगाइने कुरा हो। अब यस्मा कस्तो खाल्को रोग पत्ता लगाई खोज्नु भएको हो, कस्तो खाल्को रिपोर्टमा रोगको डायग्नोसिस खोज्नु भएको हो, थाहा भएन।

हामी डक्टरहरु पनि विरामीको समस्या सुन्ने, क्लिनिकल जाँच गर्ने भन्दा नि ल्याब टेस्ट, भिडियो एक्सरे, सिटी स्क्यानमा हाम्फालिहाल्छौ, अनी विरामीहरु नि डायग्नोसिस् लेखिएको ल्याब रिपोर्ट खोज्छन्। यस्का कारण धेरै हुनसक्छन्।

आफुलाई औषधी शुरु गर्नु अघी आफ्नो डक्टरसँग “मेरो रोग के हुनसक्छ” भनेर छलफल गर्नुस्। उपचार शुरु गर्नुअघी रोग पत्ता लाग्नु धेरै राम्रो हो, तर यो सधैं सम्भव हुँदैन तर डक्टरसँग केही न केही क्लिनिकल डायग्नोसिस् हुन्छ, त्यस्को बारेमा नि छलफल गर्नुहोस्।

तर यो पनि साँचो हो कि कती पटक क्लिनिकल डायग्नोसिस् गलत हुनसक्छ। ‘टिवी’ भनेर उपचार शुरु गरिएकोमा पछी गएर त्यो फोक्सोको क्यान्सर हुनसक्छ। ‘ग्यास्ट्राइटिस’ भनेर औषधी खाँदै बसेको अन्त्यमा नामै नसुनेको अर्कै रोग हुनसक्छ। एपेन्डिसाइटिस भनेर अप्रेसन गरेको पेटको ‘टिवी’ निस्कन सक्छ, वा ‘मिकल्स डाइभर्टिकुलाइटिस’ हुनसक्छ वा एपेन्डिक्स नर्मल हुनसक्छ। १०-१५% केसमा एपेन्डिसाइटिस भनेर अप्रेसन गरिदा नर्मल एपेन्डिक्स भेटिन्छ, यो संसारभरीकै डाटाले भनेको कुरा हो। कती बेलामा रोग के हो पत्ता लगाउनलाई नै पेट चिर्नुपर्ने हुन्छ किनकी कुनै पनि जाँचले ठीक डायग्नोसिस् दिएको हुँदैन।

त्यसैले त म भन्छु हामी डक्टरहरु मान्छे हौ, हामीले पढेको ज्ञानको आधारमा, विरामी जाचेको अनुभवका आधारमा र ल्याब टेस्ट, रेडियोलोजिकल र अन्य टेस्टहरुले गरेको सपोर्टका आधारमा नै रोग पत्ता लगाउने र उपचार गर्ने हो। हामीसँग कुनै जादुको छडि हुँदैन, घुमायो सब कुरा छर्लङ, सब रोग ठीक। हामीमा धेरै लिमिटेसन हुन्छन्, अझ हाम्रो जस्तो अविकसित देशमा जहाँ रोग पत्ता लगाउन सहयोग गर्ने राम्रा ठुला जाँचहरु सर्वसुलभ हुँदैनन् त्यस्तोमा त हामी झन बढी क्लिनिकल ज्ञानमा भर पर्नुपर्ने हुन्छ र हाम्रो लिमिटेसन झन बढेर जान्छ।

विरामी, विरामीका आफन्तहरु र उपचार गर्ने डक्टर र पूरै टिमले यो कुरा थाहा पाउनु जरूरी हुन्छ। अनि सर्वसाधारणले जस्लाई सबैभन्दा बढी सुन्छन्, पढ्छन्, हेर्छन् अनि विश्वास नि गर्छन्, राष्ट्रको चौथो अङ पत्रकार साथीहरुले नि यो कुरा बुझ्नु एकदम जरुरी छ, किनकी समाजको दृष्टिकोण तपाईंहरुले समाचार सम्प्रेषण गर्ने तरिकाले नै बन्ने गर्छ।

यो पनि हेर्नुहोस्-
मानवता vs नियम

1 comment:

  1. Kafle Vinay, MBBS 2nd yearSeptember 15, 2013 at 11:05 AM

    Sometimes
    its better to use approaches that have been proven successful in some
    trials than to just wait and watch the patient's misery.

    ReplyDelete