Monday, April 17, 2017

'विपन्न विरामी सहयोग कोष'

सरिता विकसँग (उपचार हुँदैं गर्दा)
नेपाल सरकारले अति गरिव विरामीका लागि सम्पूर्ण उपचार सेवा नि:शुल्क भनेको भए पनि त्यसले विरामीलाई चाहिने सबै उपचारलाई समेट्दैन। त्यस अन्तर्गत अस्पतालमा उपलब्ध भएका औषधी नि:शुल्क दिन मिल्छ, नभएका औषधी र सामानका लागि विरामीले आफ्नो खर्च गर्नैपर्छ, त्यस्तै अस्पतालसम्म पुग्न गाडी भाडा, भर्न भएन भने बस्ने भाडा, खानामा (अस्पतालमा नि:शुल्क खाना नहुने भए), अन्य धेरै औषधी र सामानहरुमा विरामीका खर्च लाग्ने गर्छन्। 
उपचारपछीको भेटमा सरिताको हाँसो
यी खर्च न सरकारको नि:शुल्क सेवाले ओगट्न सक्छ न ती अति गरिव विरामीका गोजीले नै तिर्न सक्छ। र यही केही हजारको अभावमा ती विरामीका उपचार अधकल्चो हुनपुग्छ र सरकारले नि:शुल्क सेवा भने पनि ती लक्षित वर्गसम्म त्यो सेवा पुग्नै सक्दैन। दुर्गममा काम गराइको क्रममा यही समस्या देखेर नै यस्ता केही हजारको अभावमा विरामीले ज्यान गुमाउनु नपरोस्, विरामी भएर, अपांग भएर जीवन विताउनु नपरोस् भनेर उपचारमा सहयोग पुर्याउनका लागि 'विपन्न विरामी सहयोग कोष' स्थापना गरेको हुँ।
'विपन्न विरामी सहयोग कोष' सहयोगी दाताहरुले स्वस्फूर्तरुपमा रकम दान दिनुभएर चलेको एउटा कोष हो। यो कुनै दर्ता भएको संस्था वा कोष नभएकोले यसको खाता मेरो आफ्नै नाममा छुट्टै खाताको रुपमा छ।
समीर लामा, राष्ट्रिय वाणिज्य बैंक, बिजुवार, प्युठान,
खाता नं. ४४३००१६०५०१०
नर बहादुर सुनारसँग ओपिडीमा
यसका धेरै दाताहरु हुनुहुन्छ, धेरैजसोले आफ्नो नाम खुलाउन चाहनुहुन्न, धेरैले मलाई र मेरो कामलाई विश्वास गरेर सहयोग दिनुभएको छ। दाताहरुमध्ये बढीमा एउटैले १ लाखसम्म नि सहयोग गर्नुभएको छ भने कसैले नियमित महिनाको ३,००० सहयोग गर्नुहुन्छ। यो कोषबाट सहयोग गर्दा विरामीको उपचार सम्भव भएसम्म जिल्ला अस्पतालमै गराउने र रिफर गर्नुपर्ने भए पनि सकेसम्म कम खर्चमा सरकारी अस्पतालमा गराउने व्यवस्था मिलाउने गरेको छु। यसले गर्दा सहयोगमा जम्मा भएको रकमको दुरुपयोग हुन कम हुने विश्वास लिएको छु। 
यो एउटा सानो कोष भएकोले एउटै विरामीको लागि लाखौंं खर्च गर्न असम्भव छ तर केही हजारको सहयोगले कसैको जिन्दगी परिवर्तन हुन्छ भने सकेसम्म त्यस्ता विरामीलाई प्राथमिकता दिने गरेको छु। कसलाई कती सहयोग गर्ने भन्ने निर्णय म आँफैंले गर्ने गरेको छु। विश्वासको लागि पारदर्शिता कुनै पनि संस्थामा हुनुपर्दछ, कसलाई कती सहयोग दिइयो भन्ने १-१ रुप्पेको पूर्ण विवरण दिन नसके पनि कुन विरामीलाई कती दिइयो भन्ने मोटामोटी विवरण यहाँ दिन खोजेको छु।
  • ·         नर बहादुर सुनार रु. ६७,००० (डायबेटिक फुटको किर्तीपुर अस्पतालमा छाला ट्रान्सप्लान्ट गरेको)
  • ·   मुकुन्द केएम रु. ५०,००० (मलद्वारबाट आन्द्रा बाहिर आएको- रेक्टल प्रोलाप्सको चितवन मेडिकल कलेजमा अप्रेसन गरेको)
  • ·         रमेश उर्खुट्टी रु. २७,००० (हेपाटाइटिस बी, लिभर सिरोसिसको लागि औषधीमा मासिक सहयोग)
  • ·         हरिकला सुनार रु. २६,००० (पोलेको सुस्तमनस्थिती विरामीको छाला ट्रान्सप्लान्ट गरेको)
  • ·         सरिता विक रु. २५,००० (छातीमा पिप जमेको टिचिङ अस्पतालमा अप्रेसन गरेको)
  • ·         किर्तिमान नेपाली रु. २०,५०० (भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको)
  • ·         शोबी पुन रु. २३,००० (खुट्टाको हाडको पुरानो संक्रमण- क्रोनिक ओस्टियोमाइलाइटिसको भरतपुर अस्पतालमा अप्रेसन भएको)
  • ·         अनिका तामाङ रु. २०,००० (ब्लड क्यान्सरको टिचिङ अस्पतालमा उपचार भएको)
  • ·      रिता नेपाली रु. १०,००० (छातीमा पिप जमेको लागि भरतपुर क्यान्सर अस्पतालमा अप्रेसन भएको)
  • ·         गिर बहादुर घर्ती रु.,००० (मुटुको वरीपरी पानी जमेको- पेरिकार्डियल इफ्युजनको लागि टिचिङ अस्पतालमा अप्रेसन भएको)
  • ·    सिर्जना नेपाली रु.,००० (खुट्टाको हाडको पुरानो संक्रमण- क्रोनिक ओस्टियोमाइलाइटिसको भरतपुर अस्पतालमा अप्रेसन भएको)
  • ·         पवित्रा तामाङ रु.,००० (लिम्फोमाको वीर अस्पतालमा उपचार भएको)
  • ·         भिम बहादुर दमाइ रु.,४९० (पोलेको विरामीको औषधीका लागि)
  • ·         केशर बहादुर पुन रु.,००० (ढाड भाँचिएको प्रेसर सोर भएको विरामीको रिफरल खर्च)
  • ·         मति बहादुर सुनार रु.,००० (मधुमेहको लागि इन्सुलिन पेन)
  • ·         लोकमान नेपाली रु.,००० (छातीमा पिप जमेको उपचारको लागि)
  • ·         छातीमा पिप जमेको अर्को विरामी रु.,२०० (क्लिन्डामाइसिन एन्टिबायटिकको लागि)
  • ·         यस बाहेक केही ओपिडी, वार्डका विरामीका लागि केही औषधी खरिदमा १०० देखी ५०० सम्मका खर्च भएका छन्।
  • ·         अहिलेसम्ममा यो खाताबाट ३ लाख भन्दा बढी उपचार सहयोग भईसकेको छ।
  • ·         अहिले खातामा जम्माजम्मी रु.,०९,००० बाँकी रहेको छ।

यसमा धेरैजसो विरामी प्युठानका छन् भने रमेश उर्खुट्टी (मैले एमडी गर्दाताका देखी चिनेको) रामेछापका र अनिका तामाङ ओखलढुङाका वासिन्दा हुन्।
भरतपुर अस्पतालमा उपचार गराउदै शोबी पुन
अन्तमा मलाई विश्वास गरेर सहयोग गरिदिनुहुने सबै दाताहरुलाई मेरो र ती सहयोग लिएर निको हुनुभएका विरामीहरुको तर्फबाट धेरै धेरै धन्यवाद। यो समाजसेवाको महान कार्य यहाँहरुको सहयोगको कारण नै सफल भएको हो। भविष्यमा पनि यहाँहरुबाट र अन्य साथीहरुबाट पनि यस्तैयस्तै साथको आशा लिएको छु।

No comments:

Post a Comment