Friday, May 17, 2013

कान्तिपुर सम्पादकलाई खुलापत्र...


म्पादकज्यू,

 देशको सबैभन्दा लोकप्रिय दैनिक पत्रिका 'कान्तिपुर'मा केही समयदेखि स्वास्थ्य विषयका समाचारहरु विशेष महत्वका साथ छापिन थालेका छन् । त्यो कुरालाई धेरै राम्रो मान्नुपर्छ तर पनि २०७० जेठ १ मा आएको “डाक्टर नै औषधि कम्पनीको एजेन्ट भएपछि” भन्ने समाचारले धेरै भ्रम सिर्जना गरेकोले प्रतिक्रिया नलेखी बस्न सकिएन। सो समाचार सम्बन्धी मेरो धारणा यस प्रकार बुंदागत छ:

१. "ओमिप्राजोलले निको हुने रोगमा पेन्टाप्राजोलजस्ता कडा एन्टिबायोटिक प्रयोग गर्छन्" भनेर पाटन अस्पतालका डाक्टरलाई उध्रित गरी लेखिएकोमा सो 'पेन्टाप्राजोल' नामक औषधी कुनै कडा एन्टिबायोटिक नभएर “ग्यास्ट्राईटिस” जस्तो रोगको उपचारमा प्रयोग हुने औषधी रहेको जानकारी गराउन चाहन्छु। यसले पाटन अस्पतालका चिकित्सकको हवाला दिंदै सम्वाददाताले उक्त रिपोर्टमा आफ्नै व्यक्तिगत बुझाई पो राखेको हो कि भन्ने बुझिन्छ।

२. कुनै दुईवटा अस्पतालमा २ फरक डाक्टरले समान प्रक्रितिको विरामीलाई भिन्नाभिन्नै(कतै कम र कतै बढी औषधी)दिएको सम्बन्धमा के भन्न सकिन्छ भने बाहिर हेर्दा ज्वरो र खोकी मात्र देखिए पनि शारिरिक जांच र अरु टेस्टबाट मात्र उक्त विरामीको रोग पत्ता लाग्छ। ज्वरो र खोकी भएको विरामीलाई सामान्य रुघा यानी “कमन कोल्ड” भएको पाईएमा गरिने उपचार र स्वास नली तथा फोक्सोको संक्रमण पाईएमा गरिने उपचार कहिल्यै एउटै हुंदैन। तसर्थ अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल पुगेका ति ६ वर्षे बालकलाई सामान्य रुघा मात्र नभएर स्वास नली अथवा फोक्सोको ब्याक्टेरियल संक्रमण भएकोले समाचारमा भनिए जस्तो सिरप ब्रिकाबीएम, सिरप एलेग्रा, सिरप फ्लेक्सन र अगुमेन्टिन ट्याब्लेट आवश्यक परेरै  दिईएको पनि हुनसक्ने कुरालाई बंग्याएर डाक्टरलाई औषधी कम्पनीको एजेन्टको रुपमा प्रस्तुत गरिनु खेद जन्य कुरा हो।

३. औषधिसम्बन्धी जानकारले उक्त बालकलाई टाउको दुख्दा खाने आइवुप्रोफिन(Ibuprofen) युक्त 'फ्लेक्सन'को सट्टा प्यारासिटामोल(Paracetamol or acetaminophen) दिएको भए उपचार खर्च र औषधिको 'स्ट्रेस' घट्ने बताए भन्ने कुरामा आइवुप्रोफिनयुक्त 'फ्लेक्सन' प्यारासिटामोलको दांजोमा केही महंगो भएपनि विभिन्न अनुसन्धानबाट बच्चामा आउने ज्वरो घटाउन आइवुप्रोफिन र प्यारासिटामोलको सम्मिश्रण प्यारासिटामोल मात्रको दांजोमा विशेस प्रभावकारी देखिएको छ। औषधीसम्वन्धी उक्त जानकारलाई यो कुरा किन जानकारी नभएको, भेउ पाई साध्य छैन! हेर्नुस,
'Efficacy of standard doses of ibuprofen alone, alternating, and combined with acetaminophen for the treatment of febrile children.'

'Ibuprofen is more effective than paracetamol in lowering the temperature in febrile children.'

४. एक ठाउमा “व्यवसायी र डाक्टरहरू बोनस, मुनाफा, आकर्षक कमिसन र उपहारका कारण भारतीय औषधिको खपत धेरै रहेको अनौपचारिक कुराकानीमा बताउँछन्” लेखिएको छ। बोनस, मुनाफा, आकर्षक कमिसन र उपहार लिएकोले डाक्टर औषधि कम्पनीको एजेन्ट भएको हो कि भारतीय औषधि लेखेकोले एजेन्टको ट्याग झुण्ड्याईएको हो प्रष्ट भएन। गुणस्तरिय औषधीको उत्पादन गर्ने नेपाली कम्पनीहरुको औषधी मजाले डाक्टरहरुको प्रेस्क्रिप्सनमा परेकै छ। नेपालमै सबैखाले औषधीको उत्पादन नहुने भएकोले र अरु देशको दांजोमा भारतिय औषधी तुलनात्मक सस्तो पर्ने र सजिलै उपलब्ध पनि हुने हुनाले डाक्टरहरुले केही भारतिय औषधी लेखिराखेको अवस्थालाई किन नजरअन्दाज गरिएको? पुरै समाचार पढेपछि कतै रिपोर्टर नै कुनै नेपाली औषधी कम्पनिको एजेण्ट पो हो कि भन्ने शंका जोसुकैलाई पर्न जान्छ। नत्र औषधी पसलहरुलाई आकर्षक बोनस दिएर आफ्ना औषधी भिडाउन लगाउने नेपाली कम्पनी पनि यहां छन्। यो कुरा किन लुकाएको नि?

५. “भारतलगायत अन्य मुलुकमा डाक्टरले औषधिको ब्रान्ड नेम लेखेर बिरामीलाई सिफारिस गर्न नपाइने कानुनी प्रावधान छ।" "भारतमा जस्तो नेपालको कानुनले डाक्टरलाई 'जेनेरिक नेम' लेख्न बाध्य बनाएको छैन," उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ भन्छन्। यो एकदमै सतही र हावा कुरा भयो। भारतमा कानुनले कहिलेदेखि डाक्टरलाई जेनेरिक नेम लेख्न बाध्य बनाएको हो स्पष्ट भएन। भारतमा जेनेरिक नाम मात्रै लेख्नुपर्छ भनि अभियान चलिरहेको तर कानुनिरुपमा नै वाध्यकारी बनाएको भनि हावा कुरा लेख्नु भनेको कान्तिपुरले आफ्नो विस्वसनियता गुमाउनु मात्र हो।

६. “सन् २००६मा औषधि व्यवस्था विभागकै अगुवाइमा भएको अध्ययनले नेपालमा सबैभन्दा बढी खपत हुने औषधिको सूचीमा एमोक्सिलिन, सिप्रोफ्लोक्सासिन र ओमिप्राजोल क्रमशः पहिलो, छैटौं र १४ औं नम्बरमा छ । सूचीमा भिटामिन दोस्रो नम्बरमा छ । यो तथ्यांकले डाक्टरले अनावश्यक रूपमा एन्टिबायोटिक र भिटामिन भिडाइरहेको देखाउँछ।" यो पढेपछि हांसो थाम्न सकिन। स्वास्थ्य बिट हेर्ने सम्वाददातालाई यति त पक्कै थाहा हुनुपर्ने हो कि बजारमा खपत हुने सबै औषधि डाक्टरले नै भिडाएको भन्ने हुदैन। अनावश्यक रूपमा एन्टिबायोटिक र भिटामिन डाक्टरले भिडाउछन् कि या अरु प्यारामेडिक्सले भिडाउछन् कि या ‘डाक्टरको प्रेस्क्रिप्सन विना दिन नपाईने’ भनेर औषधीमै लेखेको देख्दादेख्दै पनि विरामीको घरमा औषधी पसलबाटै यस्ता औषधी पुग्ने गरेको छ भन्ने सामान्य जानकारी पनि नहुनुले रिपोर्टरले फिल्डमा नगई रिपोर्ट तयार पारेको हो कि भन्ने प्रश्न चिन्ह खडा गराउंछ।

सम्पादक महोदय, स्वास्थ्य जस्तो संवेदनशिल विषयमा कलम चलाउंदा कलम चलाउनेलाई सो सम्बन्धि केही जानकारी हुनैपर्छ। यसरी हचुवाको भरमा समाचार दिंदै जाने हो भने कान्तिपुरको विश्वसनीयतामा खाडल आउने कुरामा म तपाईंलाई विश्वस्त पार्न चाहन्छु। कान्तिपुरको धेरै पुरानो पाठक र यसको शुभ चिन्तक भएकोले यस्तो कुरामा बेलैमा ध्यान दिनुहुन आग्रह गर्दै कान्तिपुर हाउसमा स्वास्थ्य सम्बन्धी पढेको पत्रकारलाई मात्र स्वास्थ्य बिटमा राख्नुहुन र स्वास्थ्य सम्बन्धी सम्पूर्ण समाचार “स्वास्थ्य-सम्पादक” नियुक्त गरी उनैबाट सम्पादन गराई प्रकाशित गर्नुहुन पनि सल्लाह सुझाब दिन चाहन्छु।

डा. दिपेन्द्र पाण्डे
बसुन्धरा, काठमाण्डौ