Friday, December 21, 2018

के साँच्चै चिसोले निमोनिया हुने हो त?

जाडोको मौसम छ, चिसो दिनदिनै बढ्दैछ। स्वास्थ्यकर्मी लगायत सबैले चिसोबाट बच्नु, निमोनिया हुन्छ भन्छन्। घरमा, छरछिमेकमा “चिसो लागेर निमोनिया हुन्छ, बच्चालाई दिनदिनै तेल तताएर सेक्नु” भन्छन्।

तर के साँच्चै चिसोले निमोनिया हुने हो त?

चिसो याममा बच्चाहरुमा ज्वरो आउने, सिंगान बगीरहने, टाउको दुख्ने, झिंजो लाग्ने, बच्चाहरुमा नाक बन्द भएर घ्यारघ्यार हुने, खोकी लाग्ने, दूध, खाना नखाने, पखाला राख्ने, राती घ्यार घ्यार बढ्ने लक्षणहरु धेरै देखिन्छन्। धेरैजसोमा यो ‘भाइरस’को संक्रमणको कारणले हुन्छ। यसलाई अंग्रेजीमा Common cold भनिन्छ, नेपालीमा ‘रुघाखोकी’ भन्न सकिन्छ। रुघाखोकी भनिए पनि सबैलाई खोकी नलाग्न सक्छ। अंग्रेजी नाममा 'cold' भएपनी यो चिसो छिरेर लागेको भने हैन। यो राइनो भाईरस, इन्टेरो भाईरस, कोरोना भाईरस जस्ता विभिन्न भाइरसको संक्रमणको कारणले हुने हो। रुघाखोकी गराउने राइनो भाईरस मात्रै १०० भन्दा धेरै थरिका हुन्छन्, त्यसैले एकपटक एउटा भाईरसको संक्रमणले भएको रुघाखोकी निको हुने वित्तिकै अर्को भाईरसले संक्रमण गरेर फेरी रुघाखोकी लाग्न असम्भव हुँदैन। एकै वर्षमा केही समयकै अन्तरालमा बच्चालाई ज्वरो आइरहने प्राय: यही कारणले गर्दा हुन्छ। जुनलाई हाम्रो समाजमा धेरैजसो "टाइफाईड दोहोरियो", "ज्वरो गड्यो", "ज्वरो आएको बेलामा खाना नबारेर ज्वरो बिग्र्यो" भनेर भनिन्छ।

चिसोले गर्दा ज्वरो आउँदैन। ज्वरो आउनु भनेको शरीरको तापक्रम बढ्नु हो, चिसोले गर्दा शरीरको तापक्रम बढ्न असम्भव छ। चिसोले गर्दा निमोनिया हुँदैन, चिसोले गर्दा रुघाखोकी लाग्दैन।

अध्ययनहरुले देखाए अनुसार ६ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई वर्षमा ६-८ पटकसम्म रुघाखोकी, जुन हरेक पटक १०-१४ दिनसम्म लामो हुनसक्छ, लाग्ने गर्छ। यस्तो बेला सामान्य हेरचाह कसरी गर्ने, जटिलता आउन नदिन के गर्ने, के हुँदा नआत्तिने, के हुँदा अस्पताल लैजाने भन्ने सामान्य जानकारी अभिभावक र सबैले राख्नुपर्छ।

रुघाखोकी, निमोनिया चिसोले हुने हैन ‘भाइरस’ले हो भनेर थाहा पाउनु किन जरुरी छ?
चिसो छिरेर हो भन्दै बच्चालाई हामी ज्वरो आएको बेलामा पनि लुगामाथी लुगा खप्टाएर लगाइदिन्छौं, त्यसले ज्वरो झन बढेर बच्चा काम्ने, बेहोस हुने हुनसक्छ, जसलाई फेब्राइल सिजर भनिन्छ। त्यसैले न्यानो बनाउने हो, तर चिसोलाई छिर्न बाक्लो ओढ्ने ओढाएर, ४-५ वटा लुगा खप्टाएर यो न निको हुन्छ, न यसबाट बच्न सकिन्छ।

चिसोले गर्दा ज्वरो आएको भनेर हामी ज्वरो १०३-१०४ डिग्री पुग्दा पनि पानीपट्टि लगाउन डराउछौं, लगाएपनी रुमाल पानीमा भिजाएर निधार, हत्केला र पाइताला मात्रै पुछिदिन्छौं। तर ज्वरोको तातो त छाती, काखी, छातीको पछिल्लो भागमा हुन्छ, जहाँ पानीपट्टि लगाएमा चिसो छिरेर निमोनिया हुन्छ भनी हामीलाई डर देखाइएको हुन्छ। जुन गलत हो। ज्वरो आएको बेला जीउभरी पानीपट्टी लगाएर बढेको तापक्रम सामान्यमा ल्याउदा चिसो छिर्दैन, न त निमोनिया नै हुन्छ।

“चिसोले भेटेर निमोनिया हुन्छ” भनेर कतिले कोठामा आगो बालेर, कोइला बालेर तेल तातो पार्दै बच्चालाई सेक्ने गर्छन्। यसले कोठामा धुँवा भएर बच्चालाई सास फेर्न गार्हो हुने, सासनली सुख्खा भएर संक्रमण हुने डर बढ्छ। साथै दिनदिनै तेल लगाइदिने तर ननुहाउने वा सफा नगर्ने कारणले बच्चाको छाला फोहोर हुने, गन्हाउने, राताराता बिबिरा आउने पनि हुन्छ।

सबै स्वासप्रश्वाससम्बन्धी रोगको दोष चिसोलाई दिएर हामी चिसोबाट मात्र बच्न खोज्छौं, चिसोबाट बचाउन मात्र सल्लाह दिन्छौं। तर यसको वास्तविक कारण ‘भाइरस’बाट बच्न भने केहि सावधानी अपनाउदैनौं। यस्ता भाईरसहरु श्वासप्रश्वासबाट, फोहोर हातले छुँदा सर्छन्। हाछ्यु गर्दा, खोक्दा, सिंगान पुछ्दा, हात मिलाउदा, विरामीको स्याहार गरेपछी हात नधुँदा, व्यक्तिगत सरसफाईमा ध्यान नदिंदा यी भाइरस सरिरहेको हुन्छन्। खोक्दा, हाछ्यु गर्दा रुमाल, टिस्यु पेपरले मुख छोप्ने, हात बराबर साबुन पानीले धुने, रुघालागेको बच्चलाई सकेसम्म अरु बच्चासँग घुलमिल नगराउने, आफूलाई रुघा लागेको भए बच्चाहरुबाट अलि टाढा बस्ने गर्नुपर्छ। ६ महिनाभन्दा सानो बच्चाहरुलाई बोक्दा, छुदा साबुनले हात सफा गर्नुपर्छ, वा हेन्ड सेनिटाइजरले हात सफा गर्नुपर्छ। बच्चाहरुलाई पनि खेल्ने, स्कुलबाट आउने, बाहिरबाट आउने गरिसकेपछी साबुनले हात सफा गर्ने बानी गराउनुपर्छ। पहिलेदेखी दम भएका बुढाबुढीहरुलाई पनि यस्ता संक्रमण छिटो सर्छ र छिटो बढ्छ, त्यसैले उनीहरुलाई पनि रुघाखोकी लागेको मान्छेबाट टाढा राख्नुपर्छ। इन्फ्लुएन्जाको भ्याक्सिन लगाउनुपर्छ।

जाडोमा चिसो छिर्छ भनेर झ्याल ढोका सबै बन्द गरेर कोठा गुम्साएर राखिन्छ। त्यस्तो गुम्म कोठामा धेरै मान्छे बस्दा एउटाको भाइरस अर्कोलाई सर्ने डर झन बढी हुन्छ। त्यसैले चिसोमा पनि बेलाबेला झ्याल खोलेर कोठाको हावा खेल्न दिनुपर्छ। किनकी यो चिसोले हैन, भाइरसले गर्दा हुन्छ।

धेरै जसो रुघा भाइरसको संक्रमणले हुन्छ, चिसोले हैन भन्ने बुझेपछी रुघाखोकीको लागि एन्टिबायटिक माग्ने र दिने नराम्रो चलन पनि केही घट्छ कि। किनकी भाइरसले गर्दा आएको ज्वरोलाई जती एन्टिबायटिक खाए पनि त्यसले निको पार्दैन।

एउटाले गरेको गल्तीको दोष अरुलाई दिनु ठीक हैन। गल्ती गर्ने भाईरसले हो, अनी हामी सधैं दोष मौसमलाई मात्र दिन्छौं। वास्तविक कारणलाई नबुझेर, नबुझाएर यस्ता भाईरसको संक्रमणको गलत उपचार गरेर र यसबाट बच्न गलत उपाय अपनाएर हाम्रो समाजको स्वास्थ्य नसुधारिएको हो कि।

चिसोमा किन रुघाखोकी, निमोनिया धेरै देखिन्छ त?
चिसोले गर्दा मान्छेको शरीरको तापक्रम सामान्य भन्दा घटेर 'हाइपोथर्मिया/Hypothermia' हुनसक्छ, त्यसले शरीरभरी विभिन्न अंगहरुमा असर गर्नसक्छ। यो फरक कुरा हो। चिसो तापक्रममा रोगसँग लड्ने क्षमता केही कम हुन्छ, भाईरसहरुको संख्या बढ्नलाई वातावरण उपयुक्त हुन्छ भनिन्छ, तर यो बारेमा सबै अध्ययनहरुमा एकै खाले नतिजा भने देखिएको छैन। जाडो याममा व्यक्तिगत सरसफाइमा ध्यान कम दिने, बन्द कोठामा धेरै मान्छे बस्ने, कोठामा हावा ओहोरदोहोर गर्न नपाउने भएर पनि श्वासप्रश्वास सम्बन्धी संक्रमण धेरैमा फैलने गर्छ।

तर सबै ज्वरो, खोकी, घ्यारघ्यार ‘रुघाखोकी’ मात्र नहुनसक्छ। कैलेकाही भाईरल रुघाखोकी पनि बढेर ‘ब्रोन्कियोलाइटिस/Bronchiolitis’, ‘लारिन्जाइटिस/Laryngitis’, ‘क्रुप/Croup’ जस्ता श्वासप्रश्वासका जटिल अवस्थाहरु आउनसक्छ। (यी ठूला र गार्हो शब्दहरु सम्झिरहनु पर्दैन, मान्छेको नाक, मुखदेखी श्वासनली हुँदैं फोक्सोसम्मका विभिन्न अंगहरुको संक्रमण हुँदा विभिन्न नाम दिईएका मात्रै हुन्।) कहिलेकाही ब्याक्टेरियाको कारणले वा भाईरसकै कारणले निमोनिया पनि भएको हुनसक्छ।

अभिभावकहरुले बच्चामा जटिल अवस्था आएको कसरी थाहा पाउने? कस्तो अवस्थामा नजिकको स्वास्थ्यसंथा लैजाने?
सास फेर्न गार्हो भयो, छिटोछिटो सास फेर्यो, धेरै नै घ्यारघ्यार गर्यो भने 
२-३ दिनसम्म लगातार १०० डिग्री भन्दा बढी ज्वरो आइराख्यो भने
लामोसमयसम्म केही पनि पिउन, खान मन गरेन भने 
बच्चाको उमेर अनुसारको खेल्ने, रुने, चल्ने, बोल्ने सामान्य गतिविधी पनि नगरी झोक्राएको जस्तो भयो भने

ज्वरो आउँदा कसरी हेरचाह गर्ने, नाक बन्द हुँदा कसरी सफा गर्ने, रुघाखोकी लाग्दा के गर्ने, विरामी बच्चाको कसरी हेरचाह गर्ने, खतराका चिन्हहरु के के हुन् भन्ने सामान्य स्वास्थ्य सम्बन्धी ज्ञान आमाबुवामा भए धेरै आत्तिएर अस्पताल गईरहने, धेरै अनावश्यक औषधीमा खर्च हुने कम गर्न सकिन्छ।

No comments:

Post a Comment