Monday, January 3, 2011

सानो प्रयास

स्वास्थ्य क्षेत्रमा छिरेको पनि वर्ष लागिसकेछ। एम. बी. बी. एस.को पढाइ, इन्टर्नशिप, जागिर, एम. डी.को तयारी आदि आदिमै यी वर्ष बितेछन्। यो समयमा मैले ओ. पी. डी., ईमर्जेन्सी गरेर सयौ बिरामीहरु हेरे, हजारौं बिरामीका परिवारसँग व्यवहार गरे। कति जनाको उपचारमा सफल भए, कति जनालाई लाख प्रयास गर्दा पनि बचाउन सकिएन। कति जनाले आफु ठीक भएपछि मिठो मुस्कानका साथ धन्यवाद भने, कतिका परिवारले बिरामीको उपचार गरेर पनि बचाउन नसक्दा नराम्रो माने। यो हाम्रो पेशाको सत्यता हो। सबैलाई उपचार गरेर पनि बचाउन नसक्नु हाम्रो limitation हो, सबै जनालाई खुशी पार्न नसक्नु तितो सत्य हो। तर पनि केही बिरामी बिरामीको परिवारसँग बिताएका केही तितामिठा पलहरु मलाई सधैं याद आईरहन्छन्।

मैले कहीले नबिर्सने एउटा समय भनेको मेरो इन्टर्नशिपको त्यो रात हो। सर्जरीको ड्युटी थियो, त्यो रात। असाध्यै पेट दुखेर एउटा बिरामी ईमर्जेन्सीमा आउनुभएको थियो। पेट दुखाइ धेरै नै भएकोले मेडिसिनको साथसाथै सर्जरीले पनि हेर्दैथियो। लक्षणहरु सोधेपछी, जाच गरेपछी xray हरु गरेपछी आन्द्रामा प्वाल परेको भन्ने डायग्नोसिस गरियो, उपचारको लागि तुरुन्त अप्रेसन गरेर पेट सफा गरि आन्द्राको त्यो प्वाल टाल्नु पर्ने भयो। इन्टर्न भएकोले त्यहि एउटा केस मात्रै हेर्दै थिए। बिरामी उनका परिवारलाई रोगको बारेमा जानकारी गराएर उपचार के गर्ने भन्ने पनि बुझाए। सबै रगत जाच, सी जी, रगतको व्यवस्था, औषधी, अप्रेसनका समानको व्यवस्थाका लागि उनको परिवार दौडियौ। औषधी समयमै भयो र अप्रेसन पनि। अप्रेसनपछि म आफै उनको परिवारसँग उनलाई लिएर वार्डसम्म गए। तर उनको होस कहीले फर्केन। जति प्रयास गर्दा पनि उनलाई बचाउन सकिएन र अन्तमा उनलाई मृत घोसित गर्नैपर्यो। त्यतिखेर उनका परिवारले मलाई भने “तपाईंले उसलाई बचाउन धेरै प्रयास गर्नुभयो, तर हाम्रो भाग्य राम्रो छैन रहेछ।“ त्यतिबेला म दु:खी पनि भए र खुशी पनि। खुशी यसकारण की बिरामीलाई बचाउन मैले गरेको त्यो प्रयास्, त्यो दौडाइको कसैले त कदर गर्‍यो, र दु:खी यसकारण की हामी सबैको प्रयासका वाबजुद पनि हामीले उनलाई बचाउन सकेनौ। संसार हाम्रो इच्छा अनुसार चल्दैन रहेछ।

अनी अर्को घटना, ब्लड बैंक अगाडिको। आफ्नी श्रीमतीको पाठेघरको अप्रेसन तुरुन्त गर्नुपर्ने भएकोले ‘रगत चाहियो’ भनेर बिरामीको श्रीमान रगत खोज्दै हिडिरहेका थिए। भाग्यवस मेरो ब्लड ग्रुप मिल्ने भएकोले मैले ‘रगत दिन्छु’ भने। रगत दिइसकेपछी बाहिर निस्कदा त उनले मलाई एकान्तमा लागेर रुदै "धेरै धेरै धन्यवाद छ, तपाईंलाई" भन्दै केही पैसा दिनलागे। मैले “यो त मेरो कर्तव्य हो, मैले सकेको सहयोग गर्न पाउदा म खुशी छु र म यो पैसा लिन सक्दिन” भने। उनलाई सम्झाउन मलाई हम्मे हम्मे नै पर्‍यो। अन्तमा उनले बल्ल माने र मलाई अँगालो हालेर रुदै “धन्यवाद” भने।

चिकित्सकले बिरामीसँग भावनात्मक रुपमा जोडिनु हुदैन भन्ने मैले पढेको थिए। यसले उस्को निर्णयमा, बिरामीसँगको सम्बन्धमा असर गर्छ रे। तर मेरो बिचारमा हामीले बिरामीलाई बुझ्ने कोसिस पनि गर्नुपर्छ न की रोगलाई मात्रै। एउटा रोगको रुपमा, एउटा डायग्नोसिसको रुपमा बिरामीलाई नहेरी एउटा मान्छेको रुपमा, एउटा साथिको रुपमा उस्को उपचारमा सहभागी हुनुपर्छ। मेडिसिन भनेको रोग र औषधी मात्रै हैन, यसमा त मानिसको भावना पनि हुन्छ, मानव मानव बीचको सम्बन्धको कुरा पनि हुन्छ अनी एकआपसको सहयोगको कुरा पनि हुन्छ।

चिकित्सकलाई भगवान भन्न रुचाउन्न जादुगर पनि होईन। चिकित्सक वास्तवमा बिरामीको एउटा साथि हो, जसले रोगहरुको बारेमा, मानिसको स्वास्थ्यको बारेमा पढेको हुन्छ, जानेको हुन्छ। उस्ले आफुले जानेका ती कुराहरु बिरामी, उसको परिवारसँग बाडेर उस्को उपचारमा सहयोग गर्छ उसलाई भविस्यमा स्वस्थ रहन सुझाव दिन्छ। त्यसैले मैले पनि आफुले जानेको स्वास्थ्य सम्बन्धी कुराहरु ब्लगमा लेखेर सबैको जानकारीमा ल्याएर केही सहयोग हुन्छ की भन्ने विचारले यो कदम सुरु गरेको छु। यो मेरो एउटा सानो प्रयास हो।