Saturday, September 29, 2018

आँखामा स्टेथ लगाएर जाँचेको फोटो!

कैलेकाही चुपचाप लागेर दुनियाँले के गर्दो रहेछ, के सोच्दोरहेछ, के बोल्दो रहेछ भनेर हेरिरहन पनि आनन्द आउदोरहेछ। आज बिहान मैले मेरो फेसबुकमा यस्तै एक फोटो पोस्ट गरेर कस्तो कमेन्ट आउदो रहेछ भनेर जाँच्न चाहें।
फोटो ठ्याक्कै कहाँको हो, कसको हो थाहा भएन, मैले Doctors Society of Nepal पेजबाट लिएको हुँ।
फोटोमा एउटा ओपिडीमा डाक्टर (सम्भवत:)ले आफ्नो स्टेथेस्कोपले विरामीको आँखामा जाँचिरहेको जस्तो देखिन्छ।
यो साधारणत: गरिने र देखिने कुरा हैन। यसमा धेरै थरीका साथीहरुले धेरै थरिका कमेन्टहरु गरे। २०० जती लाइक अाएकोमा ८० जना जतीले 'हाँसो'को एक्सप्रेसन दिए। त्यसमा डाक्टर, नर्स, पत्रकार, सर्वसाधारण, डाक्टर पढिरहेका विधार्थीहरु सबै नै परे। कती डाक्टर, पारामेडिक्स, नर्सहरुले पनि "यो के गरेको हो?", "नक्कली डाक्टर होला", "यो त अती नै भयो" आदी भन्दै अचम्म माने। स्वास्थ्य क्षेत्र बाहिरका अधिकांशले त "डाक्टरै हैन होला", "आँखा जाँच्ने नयाँ मेसिन", "आरक्षणको कमाल हो कि", "फिल्मको सुटिङ हो कि" भनेर हाँसोमै उडाए। कतिले गाली समेत गरे। केही हामीले कसरी कमेन्ट गर्दारहेछौं भनेर हेर्ने साथीहरु नि भेटिए, खुसी लाग्यो। केही डाक्टरहरुले यो एक खालको क्लिनिकल जाँच हो जसमा आँखाको भित्रको रगतको नलीमा हुने रगतको असाधारण बहावले गर्दा आउने आवाज सुन्नको लागि गरिन्छ भनेर यसका बारेमा बताउन खोजे। यसरी सरर हेर्दा हामीले कुनै पनि कुरामा प्रतिकृया दिदा कसरी दिदा रहेछौं भनेर विश्लेषण गर्न मन लाग्यो।

कुरा नबुझी प्रतिकृया दिने बानी
हामी धेरैमा कुनै पनि घटना के हो, कस्तो हो, किन भएको हो, कसरी यस्तो रुपमा देखियो भन्ने धेरै कुरा सोधखोज नै नगरी हतारमा प्रतिकृया दिने बानी छ। हिजोआज फेसबुक, ट्विटर जस्ता सोसल मिडियाले त यस्ता कमेन्ट गर्ने बानीलाई झन बढावा दिएको छ। एउटा फोटो देख्नु हुँदैन आफ्नै मनले यो भएको होला भनेर सोच्छौं वा त्यही लेखिएको कुरा पत्याउछौं अनी आफ्नो हिसाबले कमेन्ट गर्छौं। एउटा भिडियो देख्नु हुँदैन, आफ्नो मनमा भएका आक्रोस, पूर्वाग्रहहरुलाई मज्जाले पोखिदिन्छौं, त्यो कमेन्ट त्यो घटनासँग मिलोस् नमिलोस्। त्यो फोटो वा भिडियो साँचो हो हैन पनि हामीलाई खासै मतलब हुँदैन। केही हप्ता अघी भाईरल भएको नयाँ बाटोमा हिड्दै गरेको मोटरसाइकलले पारेको खाल्डोको फोटो नि खुब भाईरल भएको थियो, त्यसमा वरीष्ठ कलाकार हरिवंश आचार्यले पनि कमेन्ट गरेका थिए, जुन फोटो एडिटेड रहेछ भनेर पछी बल्ल थाहा भयो। हिजो आज त भिडियोमा देखिने कुरा, अडियोमा सुनिने कुरा पनि सत्य हो हैन भनेर सजिलै भन्न सकिदैन। अर्थात कुनै कुरामा कमेन्ट गर्दा आँखा, कान मात्र हैन दिमाग खुला राख्नुपर्ने हुन्छ।


छिट्टै 'जजमेन्टल' बनिदिने बानी
'Don’t judge the book with its cover' भनिन्छ अर्थात बाहिरी खोललाई हेरेर सबै भित्री कुराको बारेमा अन्दाज नलगाउ। तर हाम्रो बानी त्यो भन्दा उल्टो छ। हामी बाहिरी रुप हेरेर, लुगा लगाइ, बाहिरी स्टाइल हेरेर त्यो मान्छे कस्तो होला, त्यसको स्टाटस कस्तो होला भनेर अनुमान लगाइहाल्छौं, जुन सधैं सहि नहुनसक्छ। यो फोटोमा पनि जाँच्ने डाक्टरले कोट पाइट, टाई लगाएको भए, उनको कपाल फुलेको भए, उनी स्मार्ट देखिएको भए धेरैले उनले सहि जाँच नै गरेको होला, उनी ठुलै डाक्टर होला भनेर अनुमान लगाउथे होलान्। तर उनको बाहिरी ‘लुक’ले धेरैलाई त्यो अनुमान लगाउनबाट रोक्यो। कतीले त उनलाई नक्कली डाक्टर पनि भने।
यो फोटोको बारेमा मलाई पनि ठ्याक्कै थाहा नभएकोले उनी डाक्टर हुन् कि हैनन्, उनले सहि तरिकाले जाँचेका हुन् कि हैनन् भन्न सक्दिनँ। तर सत्य कुरा चाँही के हो भने स्टेथेस्कोपलाई आँखामा राखेर जाँच्ने क्लिनिकल तरिका पनि हुन्छ, जुन हिजोआजको जस्तो विभिन्न एड्भान्स्ड परिक्षणहरु आएपछी धेरै नै कम गरिन थालिएको छ। कती डाक्टर, नर्स, पारामेडिक्स, मेडिकल विधार्थीहरुलाई समेत थाहा नभएको देखियो। थाहा नहुनु नराम्रो हैन, सबैलाई सबै कुरा थाहा पनि हुँदैन। तर थाहा पाउन नखोज्नु र थाहा नपाई 'यो होला', त्यो होला भनेर हावा अनुमानको भरमा कमेन्ट गर्नु चै गलत हो।
यो आँखा भन्दा भित्रको रगतको नलीमा हुने रगतको बहाव असाधारण भएर आउने आवाजलाई सुन्नको लागि गरिने जाँच हो। यसलाई 'Ocular auscultation' भनिन्छ। यसरी नै बन्द आँखा माथि भिडियो एक्सरेको प्रोब राखेर त्यही रक्तनलीको डप्पलर जाँच पनि गरिन्छ। कती पटक बंगाराको जोर्नीमा स्टेथेस्कोप राखेर त्यो जोर्नीको समस्या बारे जाँच पनि गरिन्छ।
अर्को कुरा भनेको कहिलेकाही विरामीले उसलाई जहाँ समस्या छ त्यही स्टेथेस्कोप लगाएर जाँचिदिनु भनेर जिद्दी गर्ने पनि हुन्छन्। जस्तो घुँडा दुखेको छ भने घुँडामै स्टेथ लगाउनुपर्छ, ढाड दुखेको छ भने ढाडमै लगाउनुपर्छ। मेडिकल हिसाबले त्यसो गर्नु वाहियात हुन्छ तर थाहा हुँदाहुँदै पनि राम्ररी जाँचेको छ, उसको रोग राम्ररी हेरेको छ भनेर देखाउनको लागि, विरामीको मनको शान्तीको लागि त्यसो गर्नुपर्ने हुन्छ, जुन गलत नै हो भन्न मिल्दैन।

अन्त्यमा छोटकरीमा भन्नुपर्दा,
कुनै पनि कुरामा हतारमा सतही रुपमा अन्दाजको भरमा कमेन्ट नगरौं, सबैलाई सबै कुरा थाहा नहुनसक्छ, तर नयाँ कुरा सिक्नको लागि आफ्नो दिमागलाई सधैं तयार राख्नुपर्छ। मेडिकल लगायत हरेक क्षेत्रको आफ्नै समुद्र हुन्छ, हामीलाई त केवल हत्केला भरको ज्ञान हुन्छ।