Friday, October 5, 2018

माननीय रामनारायण बिडारीलार्इ खुला पत्र


माननीय रामनारायण बिडारीज्यु,
सादर नमस्कार

तपाईंले संचार केन्द्र नेपालद्वारा आयोजित 'नागरिकको स्वास्थ्य उपचारको अवस्था र विधमान पारीमार्जित ऐन' विषयक अन्तर्कृया कार्यक्रममा दिएको अभिव्यक्तिको आधारमा 'हेल्थपोस्ट नेपाल' अनलाइनमा २०७५ असोज ११ गते प्रकाशित लेख पढें। तपाईंको विचार र अभिव्यक्ति पढेर भन्न मन लागेका केही कुराहरु थिए, त्यसैले तपाईं र तपाईं जस्तै सोच र विचार बोक्नुभएका धेरैका लागि भनेर यो खुला पत्र लेख्दैछु।

  • ·       विरामी रेफर गर्नु डाक्टरको लापरवाही हो, त्यस्तालाई कारवाही गर्नुपर्छ।

लेखको शिर्षक नै गलत र डरलाग्दो भ्रम सिर्जना गर्ने खालको छ। विरामीलाई रिफर गर्नु गल्ती हैन, डाक्टरको अधिकार हो। वास्तवमा विरामीलाई रिफर कुन बेलामा गरिन्छ? जब आफ्नो र आफ्नो अस्पतालको सीप, क्षमता, साधनले विरामीको उपचार गर्न सम्भव हुन्न भन्ने देखिन्छ। के आफूले उपचार गर्न नसक्ने विरामीलाई पनि आफ्नै अस्पतालमा राखिरहनुपर्छ र त्यसो नगरी विरामीको हितमा सोचेर अन्य सुविधासम्पन्न अस्पताल जानुस् भनेर रिफर गर्नु लापरवाही हो? हुन त सिकिस्त विरामीलाई रिफर गर्न पाइन्न वा विरामी सिकिस्त भईसकेपछी सक्दिनँ भनेर अन्त पठाउन पाइन्न, कि शुरुमा नै पठाउनुपर्छ भन्ने भनाइ होला। तर विरामी शुरुमै सिकिस्त छ भने, उपचार नसकिने छ भने पठाइन्छ पनि। र कती बेला विरामी आउँदा शुरुमा अवस्था धेरै बिग्रीएको हुँदैन तर सहि उपचार हुँदाहुँदै पनि अवस्था बिग्रेर जाने हुनसक्छ। त्यस्तो अवस्थामा अरु सुविधा सम्पन्न अस्पातलमा जहाँ उपचार सम्भव हुनसक्छ त्यहाँ रिफर गरिनु के लापरवाही हो? कि बेड नभए पनि भुईंमा राखेर, भेन्टिलेटर नभए पनि हातैले हावा दिएर, औषधी उपलब्ध नभए पनि झारफुक गरेरै भएर पनि, विशेषज्ञ र आवश्यक जनशक्ती नभए जसरी भए पनि रिफर नगरी त्यही उपचार गर्नुपर्छ भन्न खोज्नुभएको हो? देशका सरकारी अस्पतालहरुको स्रोत साधन, जनशक्तीको अवस्था के कस्तो छ कैले सोधखोज गर्नु भएको छ? ४०-५० जना डाक्टर हुनुपर्ने उपक्षेत्रीय अस्पताल जस्तो ठाउँमा ५-१० जना डाक्टर छन्, त्यसमा नि अप्रेशन गर्नसक्ने सीप भएका २-३ जना मात्र? अनी के ती २-३ जना डाक्टर दिन रात सातै दिन, १२ महिनै खटिनुपर्ने हो? तिनले कैलेकाही छुट्टी लिएर विरामी रिफर गर्न पाउछन् कि पाउदैनन् बिडारी सरले भनिदिनुपर्‍यो। डाक्टर मात्र हैन एनेस्थेसिया एसिस्टेन्ट नि धेरै जिल्ला, अञ्चल अस्पतालमा एउटा मात्र हुन्छन् के तिनले छुट्टी बस्न नपाउने हो? किनकी ती छुट्टी बस्दा अप्रेशन सेवा नै बन्द हुन्छ र विरामी त्यहाबाट अन्त रिफर गर्नुपर्छ। ती स्वास्थ्यकर्मीहरुको काम र आरामको सन्तुलन मिलाएर बाँच्न पाउने मानव अधिकारको कसले संरक्षण गरिदिने? तपाईंहरुले हैन?

  • ·       ऐनबाट चिकित्सक मात्र हैन, कोही पनि डराउनुपर्दैन।

सबैले डराउनुपर्दैन, गलत नियत भएकालाई, गलत काम गर्नेलाई मात्र कानुनले समाउछ भन्नुहुन्छ। तर किन र कसरी डराउनुपर्दैन, यो कानुन कसरी सहि छ, यसले कसरी देशको स्वास्थ्य क्षेत्रको सुधारमा सहयोग पुग्छ भनेर कसैले पनि बुझ्ने गरेर बताउन सकेका छैनन्। स्वास्थ्य क्षेत्र र वर्तमान समाज, प्रशासन, भिडतन्त्र बुझेका हामी जस्ता चिकित्सकहरुलाई चाँही यो कानुनमा धेरै खोट रहेको लागेको छ। यो कुरा हामीले धेरै ठाउँमा धेरै पटक उठाइसकेका छौं, खै हामीले बुझाउन नसकेको हो कि तपाईंहरुले बुझ्न नसक्नुभएको, नखोज्नुभएको हो अझै पत्ता लगाउन सकिएको छैन। यो ऐनको बारेमा केही समय अघी युट्युबमा मैले एउटा भिडियो प्रेजेन्टेसन पनि गरेको थिएँ, समय मिलाएर हेर्नुहोला, धेरै कुरा बुझ्नुहुनेछ।
‘नयाँ मुलुकी ऐन र नेपाली डाक्टरका कुराहरु’
https://www.youtube.com/watch?v=A5ngvjLXplE

  • ·       वर्तमान समयमा चिकित्सकहरूले सरकारले ल्याएको मुलुकी अपराध (संहिता) ऐनलाई विरोध गर्ने औजार बनाएका छन्। चिकित्सकहरूले हडताल गरेको विश्व इतिहासमा कहीँकतै छैन। शिक्षित तथा संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सकले देखाएको त्यो हदको व्यवहार ज्यादै लज्जास्पद हो।

हामी चिकित्सकहरुले कामै नपाएर विरोधमा उत्रेको, ओपिडी सेवा बन्द गरेका हैनौं। आफ्नो कार्यक्षेत्रमा सुरक्षित भएर आफ्नो सीप र ज्ञानको सहि तरिकाले प्रयोग गरेर विरामीको उपचार गर्न पाए र त्यसको आधारमा गुजारा गर्न पाएँ हामी खुशी हुन्छौं। तर समाजको अहिलेको बद्लिदो स्थितीले अस्पतालमा हुने हरेक मृत्‍युलाई लापरवाहीको नाम दिएर सतही मिडिया रोपोर्टिङ र आक्रोसित भिडले जसरी आत्मसम्मान र ज्यानमा धावा बोल्छ, त्यो देखेर काम गर्न नसक्ने अवस्था आएको महसुस हुन्छ। गल्ती नै नभएकोमा पनि चरिकोट अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई प्रहरी र प्रशासनकै सामू जबर्जस्ती हत्याराहरुलाई जसरी माफी माग्न लगाइयो। डोटीमा चिकित्सकलाई हातपात गरियो, यस्ता घटना त धेरै छन्। जुन लापरवाही हो हैन भनेर कुनै पनि छानवीन भएको छैन, मात्र आक्रोसित भिड, आफन्त र गलत मिडियाले लापरवाहीको ठप्पा लगाएर भाटे कारवाहीमा उत्रने यस्ता घटना धेरै भए। शायद त्यही सतही रिपोर्टिङ पढेर नै तपाईंले आफ्नो सोच बनाउनु भएको होला। त्यसैले त विरामीको ज्यान बचाउन डाक्टरले बिग्रेको म्रिगौला निकाल्दा हाम्रो संसदमा 'मनमोहन अस्पातलमा म्रिगौला तस्करी भयो' भनेर कार्वाही माग गरिन्छ। कती हास्यास्पद वैचारिक अवस्था छ हाम्रो केही सांसदहरुको। यो लेखेपछी फेरी मलाई कम्युनिष्टको बिल्ला भिराइएला भन्ने पो डर लाग्छ, यो देशमा। राजनीति र पार्टी भन्दा बाहिर निस्केर देशको लागि सोच्ने नेता मात्र हैन त्यस्तो जनताको पनि कमी छ, यो देशमा। यो कानुनले आखिरमा देशको स्वास्थ्य क्षेत्रलाई, गरिव विरामी, जनतालाई नै असर गर्ने हो र यो अहिले व्यवहारमा पनि देखिन शुरु गरिसकेको छ। त्यसैले बेलैमा सचेत हुनु जरुरी छ।

चिकित्सकले विश्वमा कहिकतै हड्ताल गरेका छैनन् भन्नुभएको देखेर अचम्म लाग्यो। हुन त तपाईंले विश्वका विभिन्न देशको मेडिकल क्षेत्रमा भएका क्रान्तिहरुको बारेमा अध्ययन गर्नुभएको छैन होला। तलब र सुविधा कम भयो भनेर बेलायत लगायत धेरै देशमा हड्ताल भएको थाहा पाउनुभएनछ। अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै विभिन्न देशमा डाक्टरहरुले गरेको आन्दोलनको बारेमा ज्ञान रहेनछ। समाचारहरु हेर्न गार्हो लाग्छ भने 'List of health and medical strikes' भनेर विकिपेडियामा हेर्नुभए हुन्छ।

खासमा विकसित देशहरुमा ५०-१०० वर्ष अगाडि जुन माग राखेर आन्दोलन हुन्छन् नि ती हाम्रा अहिलेका मागहरु हुन्। हो, स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो तर यसमा काम गर्ने मान्छे नै हुन्, तिनलाई नि भोक लाग्छ, खानुपर्छ, परिवार हुन्छ, पाल्नुपर्छ, थकाईलाग्छ सुत्नुपर्छ, आत्मसम्मान हुन्छ, जोगाउनुपर्छ, सुरक्षा दिनुपर्छ भन्ने आधारभुत ज्ञान पनि देशका नेता र सांसदहरुमा नभएपछी आफ्नो माग राखी आन्दोलन गर्नुको विकल्प नभेटिएको हो। यो रहर हैन, बाध्यता हो।

  • ·       ९९ प्रतिशत चिकित्सकले आफ्नो सीप तथा क्षमताको सही रूपमा प्रदर्शन गरेर इमानदारीसाथ बिरामीको उपचार गर्छन्, १ प्रतिशतले मात्र उपचारमा हेलचक्य्राइँ गर्छन्। त्यसैले ९९ प्रतिशत चिकित्सकले डराउनुपर्दैन।

भन्दा सबैले यही भन्छन्, तर ती ९९ प्रतिशत चिकित्सकको कार्यक्षेत्रमा सुरक्षाको ग्यारेन्टी दिन 'जेल विथ वाउट बेल' अर्थात स्वास्थ्यसंस्था तोडफोड र स्वास्थ्यकर्मीलाई हातपात गर्नेलाई धरौटीमा छोड्न नमिल्ने गरी हिरासतमा राखेर कडा कारवाही गर्न कानुन ल्याउन चाँही सक्दैनन्। सबै उही १ प्रतिशत नराम्रालाई समात्ने भनेर सारा मेडिकल क्षेत्रलाई नै बदनाम गर्न हतारोमा छन्। हुँदैनभएका गल्ती र लापरवाहीमा पनि प्रहरी, प्रशासन र कानुनले संरक्षण गर्न नसकेको र स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपरेको उदाहरणहरु धेरै छन्। अब त झन कानुनले नि चिकित्सकहरुलाई कुनालाई लगेर तर्साइरहेछ, तपाईंहरु चाँही डराउनुपर्दैन भन्नुहुन्छ, कसरी पत्याउने?

  • ·       डाक्टरले परीक्षणका रूपमा औषधिको प्रयोग गरेको पाइन्छ। मलाई नै डाक्टरले ३ महिनासम्म क्षयरोगको औषधि खुवाए, तर दिनुपर्ने अर्कै थियो। नेपालमा यस्ता डाक्टर पनि छन्।

कैले १ प्रतिशत खराब भन्नुहुन्छ, कैले धेरै डाक्टरले विरामी माथि परिक्षण गर्छन् भन्नुहुन्छ, कुरै मिलेन। खासमा मेडिकल क्षेत्रमा उपचार कसरी शुरु गरिन्छ, फाईदा बेफाईदा के के हुनसक्छन्, उपचार विधीहरु कसरी निर्क्यौल गरिन्छ भनेर सबैले अलिअली बुझ्नुपर्ने हुन्छ। तर हाम्रोमा डाक्टरलाई कि भगवान बनाइन्छ कि दानव भनिन्छ, उ विज्ञानको विधार्थी, मान्छे त हुँदैहैन। विकसित देशहरुमा समेत कतिपय रोग पत्ता लगाउन गार्हो हुन्छ, त्यहाका विशेषज्ञ, अत्याधुनिक जाँच, उपकरण, प्रोटोकल, प्रणालीहरुको कारणले जाँच र उपचार प्रकृया राम्रो र छिटो हुन्छ। हाम्रो देशमा त्यो सम्भव भईसकेको छैन, जती उपलब्ध छ त्यसको आधारमा गर्ने हो। त्यसलाई विरामीहरुले परिक्षण गर्‍यो भनिदिनुहुन्छ। कुनै पनि डाक्टरलाई सोध्नुस् "ज्वरो आएको विरामीको उपचार शुरु गर्दा ज्वरो के कारणले आएको हो भनेर १००% कन्फर्म हुनुहुन्छ?" नढाटी भन्दा लगभग १००% डाक्टर नै यसमा कन्फर्म हुँदैनन्। तर यसलाई हचुवाको उपचार भन्न मिल्दैन। यो मेडिकल ज्ञान, सीप, अनुभवले गरिने कुरा हो। धेरै जसो बेला उपचार 'प्रोभिजनल डायग्नोसिस' को आधारमा शुरु गरिन्छ। १००% कन्फर्म भएर मात्र उपचार शुरु गर्ने भन्नुहुन्छ भने कतिपय अवस्थामा विरामीको मृत्‍यु भईसक्छ वा गाँउका सरकारी अस्पतालहरुमा र शहरमै पनि उपचार शुरु गर्न सम्भवै हुँदैन।

  • ·       निजी अस्पताल नाफाका लागि नै खोलिएका हुन् । मैले जनतालाई सेवा गर्न अस्पताल खोलेको हुँ भन्नु पानीमाथिको ओबानो बन्नु हो । निजी अस्पतालले पनि सकेसम्म कमाउने हो । त्यसलाई नियमन गर्नुचाहिँ सरकारको काम हो । हाम्रो नियमनकारी संस्था कमजोर भयो ।

 निजी संस्थाहरु व्यवसायका लागि खोलिएका हुन्छन्, हरेकले आफूसँग भएको स्तरिय सीप वा वस्तु त्यसको मूल्यमा ग्राहकलाई बेच्ने हो, त्यसैबाट उसको कमाइ हुन्छ र ग्राहकले सेवा पनि पाएका हुन्छन्। निजी अस्पताल पनि त्यस्तै हो। निजी अस्पतालले कमाएको नाफाबाट २५% त सरकारले नै कर उठाएको हुन्छ। सरकारले आफूले निजी अस्पतालहरुलाई सहुलियतमा सुविधा, सुरक्षा दिन सकेको छैन अनी 'नाफा कमाउन खोलेको संस्था' भनेर विभिन्न शुल्क र करहरु लगाएर अझ छड्के नजरले हेरेर मात्र हुन्छ र? सरकारी अस्पतालहरुको अवस्था कस्तो छ जगजाहेर छ। सुधार गरौं भन्दा पनि फलामको चिउरा चपाए जत्तिको गार्हो छ। आफ्ना सरकारी अस्पतालहरुलाई स्तरिय बनाउनेमा पनि ध्यान दिनुपर्‍यो। मिनिमम सर्भिस स्ट्यान्डर्डमा वर्षौं फेल हुने फोहोर, दुर्घन्धित, अव्यवस्थित सरकारी अस्पतालहरुलाई कहिले केही कार्वाही गर्नु भएको छ?
हाम्रा नियमनकारी संस्थाहरु कमजोर भएका हुन्। अब तिनलाई कसरी बलियो बनाउने भनेर छलफल, विचार विमर्श गर्नुहोला, विज्ञहरुको टोली राखेर उनीहरुको कुरा सुन्नुहोला, न्युज पेपरको हावा हेडलाइन र समाचारको आधारमा मात्र नबोल्नुहोला, आफ्नो विचार नबनाउनुहोला।  

माननीय बिडारी ज्यू,
हामी सबैले चाहेको एउटै कुरा हो, देशको स्वास्थ्य क्षेत्रको सुधार। हामी सबैले देखेको सपना एउटै हो, देशका सबैले स्तरिय स्वास्थ्य सेवा पाउन्। त्यसैले यी बिमतीहरुलाई एकै ठाउँ बसेर सबैलाई छलफल, मन्थन गरेर देश सुहाउदो राम्रो कानुन ल्याउने काम गर्नुपर्‍यो।

पत्र अली लामो भएकोमा क्षमा माग्दै कलम बन्द गर्न चाहन्छु।

धन्यवाद...




No comments:

Post a Comment