Friday, March 18, 2011

माइग्रेन टाउको दुखाइ (Migraine Headache)



रामकुमारीको सधैंजसो टाउको दुखिरहन्छ। टाउको दुखेको बेलामा वाकवाकी लाग्ने, वान्ता हुने पनि गर्छ। उनको टाउको यति नराम्रोसँग दुख्छ कि कहिलेकाहीं त उनलाई टाउको चर्किएर फुट्ला जस्तै लाग्छ। उनको कहिले आधा टाउको त कहिले पूरै टाउको उम्लिएको जस्तै गरी दुख्छ। कति ठाँउमा जँचाइसकियो, कति डाक्टरलाई देखाइसकियो, तैपनि ठिक भएको हैन। एक्सरे को त के कुरा सिटी स्क्यान नै तीनचार पटक गरिसकियो, तैपनि न रोग पत्ता लाग्छ न त ठिक नै हुन्छ।
रामकुमारीलाई के भएको होला त?

माइग्रेन भनेको के हो?
माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो। यो रोग भएका विरामीको टाउको भित्रका, मस्तिष्कका रक्तनलीहरु समयसमयमा फूक्ने गर्नाले ती रक्तनलीहरुका वरीपरीका स्नायुहरु (नसाहरु) तन्किन्छन् र ती स्नायुहरुले विभिन्न प्रकारका रसायनहरु निकाल्न थाल्छन्, जसले टाउकोभित्र इन्फ्लामेसन (Inflammation) गराएर टाउको दुख्ने तथा माइग्रेनका अन्य लक्षणहरु देखिने हुन्छ। टाउको र मस्तिष्कका रक्तनलीहरु किन त्यसरी फूक्ने गर्छन् भन्ने कुराको चाहिँ निश्चित कारण पत्ता लागेको छैन।

माइग्रेनका लक्षणहरु के के हुन्?
माइग्रेन एउटा क्रोनिक (लामो समयसम्म रही रहने) रोग हो र यसका लक्षणहरु बेलाबेलामा बल्झिरहने र पूर्णरुपमा ठिक हुन निकै नै गाह्रों हुने हुन्छ। यसमा प्राय: गरेर टाउकोको एक भागमा मात्र दुख्ने हुन्छ तर करिब एक तिहाइ विरामीमा यो दुवैतिर हुने गर्छ। साथै कहिले टाउकोको एकपट्टि र कहिले अर्को पट्टि दुख्ने गर्छ। यसमा टाउको टनटनी दुख्ने, बुलुकबुलुक उफि्रएको जस्तो गरी दुख्ने, कहिलेकाही आँखाका गेडाहरु दुख्ने, निधारतिर दुख्ने, घाँटीतिर दुख्ने पनि गर्छ। यसमा टाउको दुखाइको साथसाथै वाकवाकी लाग्ने, वान्ता हुने, उज्यालो प्रकाश, हल्ला, आवाज सहन नसक्ने, हातखुट्टा चिसो हुने आदि हुन्छन्। त्यसैले पनि यो टाउको दुखाइले समाएपछि विरामीहरु प्राय: अध्यारो कोठामा कसैसँग नबोली बस्दा आराम भएको महसुस गर्छन्।

यसको टाउको दुखाइ बल्झिनुभन्दा अघि कसैकसैमा (लगभग ४० देखि ६०%मा) चिडचिडापन आउने, निद्रा लागेको जस्तो हुने, लगातार हाई आइरहने, थकाई लागेको जस्तो हुने, मिजाजमा एक्कासी परिवर्तन आउने (डिप्रेशन/ Depression वा युफोरिया/ Euphoria) हुने आदि हुन्छ।
यसको टाउको दुखाइ करिब ६ देखि ४८ घण्टासम्म रहने गर्छ। त्यस्तै माइग्रेनको टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म विरामीले थकान महसुस गर्ने र मन्द टाउको दुखाइ महसुस गर्ने गर्छन्।

माइग्रेनमा औरा (Aura) भनेको के हो?
माइग्रेन भएको करिब २०% विरामीमा टाउको दुखाइ शुरु हुनु भन्दा अघि अनौठो प्रकारका लक्षणहरु देखिन्छन्। कसैले आँखा अगाडि चम्किला प्रकाशका उज्यालाहरु यताउति छरिएका देख्ने गर्छन् भने कसैले आँखा अगाडी कालो धब्बा देख्ने गर्छन्। त्यस्तै कसैकसैले अनौठो आवाजहरु सुन्ने गरेको वा अनौठो गन्ध महसुस गरेको पनि भन्ने गर्छन्। माइग्रेन टाउको दुखाइ अघिका यी लक्षणहरुलाई औरा (Aura) भनिन्छ। लामो समयदेखि माइग्रेन भएको विरामीहरुले यी लक्षणहरुका आधारमा आफूलाई टाउको दुखाइ शुरु हुन लागेको थाहा पाउँछन्।

माइग्रेन विभिन्न प्रकारका हुन्छन्। मष्तिस्कको कुन भागमा माइग्रेनको असर भएको हो, त्यस अनुसार लक्षणहरु फरकफरक देखिने गर्छन्।
भरटिब्रो बेसिलर माइग्रेन (Vertibro-basilar Migraine) - मष्तिस्कको ब्रेन स्टेम (Brainstem) भनिने भाग (सन्तुलन र होसमा राख्ने कार्य गर्ने मष्तिस्कको तल्लो भाग) मा माइग्रेनको असर परेको छ भने औराको रुपमा विरामी बेहोस हुने साथै रिंगटा, चक्कर लाग्ने, कुनैपनि वस्तु दुईटा देखिने (Double vision) गर्छ।
हेमीप्लेजीक माइग्रेन (Hemiplegic Migraine) - माइग्रेनको टाउको दुखाइसँगसँगै कसैकसैमा शरीरको कुनै भाग नचल्ने/ प्यारालाइसिस हुने (तर प्राय: गरेर केहि समयको लागि मात्र) गर्छ।

माइग्रेन रोग नै हो भनेर कसरी पत्ता लाग्छ?
माथि भनिएका लक्षणहरुको आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ। यसको लागि कुनै निश्चित जाँच छैन र डाक्टरले गर्ने शारिरीक जाँचमा पनि प्राय:मा केहि पनि खराबी नदेखिने हुन्छ।
तर यो टाउको र मष्तिस्कका अन्य विभिन्न गम्भिर समस्याहरु (सबएराक्नोइड हेमोरेज/ Subarachnoid hemorrhage, स्ट्रोक/ Stroke, ब्रेन ट्युमर/ Brain Tumor, मेनिन्जाइटिस/ Meningitis) आदी सँग झुक्किने भएकोले ती रोगहरुबाट छुट्ट्याउनका लागि लक्षणहरु अनुसार डाक्टरको सल्लाहमा रगतको जाँच, टाउकोको सिटी स्क्यान, एम आर आइ, ढाडबाट पानी निकालेर गरिने जाँच आदी गर्न सकिन्छ।

यसको उपचार के हो?
यहाँ बुझ्नुपर्ने कुरा के छ भने माइग्रेनको उपचारले यो पूरा ठिक हुने र भविष्यमा कहिले पनि नदोहोरिने एकदमै कममा मात्र हुन्छ। तर त्यसो भनेर निरास हुनुपर्ने अवस्था छैन किनकी माइग्रेनका लक्षणहरु कम गर्ने, विरामीको दैनिक जीवन सजिलो बनाउने विभिन्न उपचार पद्दतीहरु हामीसँग उपलब्ध छन्।
यसको उपचारका दुई भागहरु छन्।

. टाउको दुखाइ (माइग्रेन अट्याक) शुरु भैसकेपछि सो कम गर्न गरिने उपचार
यसमा सामान्य टाउको दुखाइका औषधीहरु जस्तै पारासिटामोल र NSAIDs (ब्रुफेन, नाप्रोक्सेन आदि) का साथै माइग्रेनमा प्रयोग गरिने विशेष औषधीहरु जस्तै ट्रिप्टान, एर्गोट समूहका औषधीहरु पर्छन्। पारासिटामोल र ब्रुफेनहरु टाउको दुखाइको शुरुवातसँगै सामान्य रुपमा प्रयोग गर्न सकिन्छ। तर यिनीहरु प्रयोग गर्दा यिनका खराब असरहरु (पारासिटामोलको अत्यधिक सेवनले कलेजोमा पार्ने खराब असर, ब्रुफेनको अत्यधिक प्रयोगले मृगौलामा पार्ने खराब असर) र अन्य औषधीहरु पनि सेवन गरिरहेको भए तिनीहरुसँग गर्ने प्रतिकि्रया बारे पनि ख्याल राख्नुपर्छ। त्यसैले अन्य औषधीहरु पनि खाइरहेको भए वा अन्य रोगहरु पनि भएको अवस्थामा डाक्टरको सल्लाहमा मात्रै यी औषधीहरुको सेवन गर्नु उचित हुन्छ।
यी औषधीहरु सिटामोल, आइबुप्रोफन, क्याफिन/ Caffeine, वान्ता रोक्ने औषधी मेटोक्लोप्रामाइड/ Metoclopramide आदीका विभिन्न कम्बिनेसनहरुमा पाइन्छन्।  
टाउको दुखाइ सामान्यभन्दा बढि भएको अवस्थामा माथि भनिएका औषधीहरुले काम नगर्न सक्छन्। त्यस्तो बेलामा ट्रिप्टान र एर्गोट समूहका औषधीहरु प्रयोग गरिन्छन्। यिनीहरुले माइग्रेन हुने कारणलाई नै कम गर्छन् अर्थात् रगतका फूलेका नलीहरुलाई खुम्चाउने काम गर्छन्। त्यसैले माइग्रेनमा यिनीहरु सामान्य दुखाइका औषधीहरुभन्दा बढि प्रभावकारी हुन्छन् तर यिनीहरुले माइग्रेन गराई रहेका रक्तनलीहरुलाई मात्र नभई अन्य अँगहरुका रक्तनलीहरुलाई पनि खुम्चाउने भएकोले मुटु, मष्तिस्क जस्ता विभिन्न अँगहरुमा खराब असरहरु देखिन सक्छन्। साथै यी औषधीहरु गर्भवती महिलाहरुमा प्रयोग गर्नु हुदैंन।
ट्रिप्टान (Triptan) समूहका केहि औषधीहरु:-
सुमाट्रिप्टान/ Sumatriptan,  जोलमीट्रिप्टान/ Zolmitriptan, रिजाट्रिप्टान/ Rizatriptan
एर्गोट (Ergot) समूहका केहि औषधीहरु:-
एर्गोटामीन/ Ergotamine, डाइहाइड्रो एर्गोटामीन/ Dihydroergotamine
नोट:- डाक्टरको सल्लाह विना यी औषधीहरुको सेवन गर्नुहुदैंन।
यी औषधीहरुका साथै अँध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन्। त्यस्तै टाउको दुखाइ अलिअलि मात्रै भएमा बरफको प्रयोग गर्ने, ध्यान गर्ने, आराम गर्ने पनि गर्न सकिन्छ।

. भविष्यमा कम माइग्रेन अट्याक होस् भनेर गरिने उपचार (प्रोफाइल्याक्टिक उपचार/ Prophylactic treatment)
यो दुइ तरिकाले गर्न सकिन्छ।
क)    माइग्रेन गराउन सक्ने कारक तत्वहरुबाट टाढा रहने
विभिन्न वातावरणीय कुराहरु र शारिरीक कुराहरुले माइग्रेन टाउको दुखाइ निम्त्याउन सक्छन्। यो विरामी अनुसार फरक फरक हुन्छन् र कमैले मात्र यहि कारणले मलाई माइग्रेन निम्त्याउछँ भनेर थाहा पाँउछन्। मानसिक वा शारिरीक तनाव, अनिद्रा, खाली पेट बस्नु, जाँडरक्सी सेवन, चुरोटको धँवा, एमएसजी (MSG), टाइरामीन (Tyramine) भएका खाना, चीज (Cheese) चकलेटको सेवन, चम्किला झिमझिम गरिरहेका बत्तीहरु, महिनावारीको बेलामा हुने हर्मोनहरुको गडबडी आदी विभिन्न कारणहरुले माइग्रेन निम्त्याउने गर्छन्। यो कुरा थाहा भएमा उक्त कुराबाट टाढा बसी माइग्रेनको अट्याक कम गर्न सकिन्छ।

ख)   माइग्रेनको अट्याक कम गराउने औषधीहरुको सेवन गर्ने
प्रोफाइल्याक्टिक औषधीहरुको सेवनले माइग्रेन अट्याक कहिल्यै पनि नहुने होइन तर यसको बारम्बारता र बल्झिरहने क्रम कम हुन्छ। निम्न औषधीहरु यो उद्देश्यले प्रयोग गर्ने गरिन्छन्
             १.      बिटा ब्लकर (Beta blockers)
           प्रोपानोलोल/ Propanolol, एटेनोलोल/ Atenolol, मेटोप्रोलोल
           Metoprolol, नाडोलोलNadolol आदी
             २.      क्यालसियम च्यानल ब्लकर (Calcium Channel Blockers)
           डील्टियाजाम/ Diltiazam, भेरापामील/ Verapamil आदी
             ३.      ट्राइसाइक्लिक एन्टि डिप्रेसेन्ट/ टिसीए (Tricyclic 
                Antidepressants/ TCAs)
           एमीटिप्टालीन/ Amitryptiline, नर टिप्टालीन/ Nortriptiline,
           डोक्सेपिन/ Doxepin, इमीप्रामीन/ Imipramine आदी
             ४.      एन्टि कन्भल्सेन्ट (Anticonvulsants)
           भाल्प्रोइक एसिड/ Valproic Acid, फेनोबारबीटोल/
           Phenobarbitol, गाबापेन्टिनGabapentin आदी
यी औषधीहरुका विभिन्न खराब असरहरुको साथसाथै अन्य रोगहरु र औषधीहरुसँग प्रतिकि्रया गर्ने भएकाले डाक्टरको सल्लाहमा मात्र यिनीहरुको प्रयोग गर्नुपर्छ। त्यस्तै सबैमा यी औषधीहरुको प्रयोग गर्नुभन्दा अत्यधिक मात्रामा टाउको दुख्ने, महिनाको दुई पटक भन्दा बढि माइग्रेन अट्याक हुने, माइग्रेनले दैनिक जीवनमा धेरै नै असर गरेको अवस्थामा मात्र प्रयोग गर्ने गर्नुपर्छ। यी औषधीहरु लगातार रुपमा लामो समयसम्म खाइरहनुपर्ने हुन्छ।

माइग्रेनका विरामीहरुले के के गर्नुपर्छ?
  १.      माइग्रेन अट्याक वा टाउको दुखाइ कहिले कहिले हुन्छ, के गर्दा हुन्छ, के खाँदा हुन्छ भनेर ध्यान पुर्याउनुपर्छ। विभिन्न कुराहरुले यो टाउको दुखाइ हुने अवस्था सिर्जना गरिरहेका हुन्छन्। र त्यसरी ध्यान पुर्याइयो वा ख्याल राखियो भने पछि ती कुराहरुबाट बचेर माइग्रेन अट्याकलाई कम गर्न सकिन्छ।
          २.     यसको बारेमा धेरै भन्दा धेरै जानकारी लिनुपर्छ। आफ्नो रोगको बारेमा थाहा भएमा त्यसको असर देखिएको बेलामा के गर्ने भनेर थाहा हुन्छ।
  ३. जाडरक्सी, चुरोटको सेवन कम गर्ने, लामो समयसम्म खाली पेट नबस्ने, निद्रामा गडबडी हुन नदिने, ध्यान गर्ने, स्वस्थ खानाको सेवन गर्ने जस्ता जीवन पद्दतीमा परिवर्तन ल्याएर पनि माइग्रेनको अट्याकहरुलाई कम गर्न सकिन्छ।

 स्रोतहरु:-
बाँकी पढ्नुहोस् >>

Tuesday, March 15, 2011

चित्रमा रोग - १



माथि को चित्र कुन रोग सँग सम्बन्धित छ?
क) मोतिबिन्दु (Cataract)
ख) जलबिन्दु (Glaucoma)
ग) रतन्धो (Nightblindness)
घ) खस्रे रोग (Trachoma)

यो कुन रोग हो अनुमान लगाउनुहोस्। यसको उत्तर म केही दिनपछि दिनेछु।
बाँकी पढ्नुहोस् >>

Sunday, March 13, 2011

पिनासको समस्या: के हो, कसरी हुन्छ, कसरी उपचार गर्ने, कसरी बच्ने?



पिनास वा साइनोसाइटिस भनेको के हो?
साइनोसाइटिस भनेको साइनस (Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो। साइनस भन्नाले चाहिँ टाउको अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्। यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टल साइनस/ Frontal sinus (निधारमा), म्याक्जिलरी साइनस/Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस/Ethmoidal sinus (आँखाहरुको बीचमा), स्फेनोइडल साइनस/Sphenoidal sinus ( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरुलाई समग्रमा पारानेजल साइनसेस(Paranasal sinuses) पनि भनिन्छ।

किन हुन्छ साइनोसाइटिस?
साइनोसाइटिस हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केहि गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी संक्रमण प्रमुख कारणहरु हुन्। कहिलेकािहं नाकको भित्री भागमा मासु पलाउने पोलिप(Polyp), ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी साइनोसाइटिस गराउनमा भूमिका खेलिरहेका हुन्छन्। साथै चुरोटको धँुवाले वायु प्रदुषणको कारणले पनि साइनोसाइटिस हुनसक्छ। त्यस्तै रुघाको औषधीहरु (एन्टिहिस्टामीनिक्स/Antihistaminics - जसले नाकको तरल पदार्थ कम गरी सुख्खा बनाउँछ)को बढि प्रयोग,  सुख्खा मौसमको सुख्खा हावा (आद्रता कम भएको हावा)मा श्वास लिने गर्नाले पनि नाक साइनस भित्रको अर्धतरल पदार्थ म्युकस(Mucus)को मात्रामा कमि आइ साइनोसाइटिस हुनसक्छ।
कारणहरुको आधारमा यसलाई मुख्य दुई प्रकारमा बाड्न सकिन्छ।
क) एलर्जीक साइनोसाइटिस
ख) भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने साइनोसाइटिस

एक्युट क्रोनिक साइनोसाइटिस भनेका के हुन्?
एक्युट साइनोसाइटिसः- ३० दिनभन्दा कमको साइनोसाइटिस। १० दिनभन्दा कम समयसम्म रहने साइनोसाइटिस प्राय: भाइरल संक्रमणका कारणले गर्दा हुनेगर्छ। यदि १० दिनभन्दा बढि यो समस्या रहेमा व्याक्टेरियल कारण हुने सम्भावना बढि रहन्छ।
क्रोनिक साइनोसाइटिसः- महिना वा १२ हप्ताभन्दा बढि रहने साइनोसाइटिस। प्राय: गरेर एलर्जीक व्यक्तिहरुमा नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा साइनोसाइटिस लामो समयसम्म रहने हुन्छ।

आफूलाई साइनोसाइटिस भएको कसरी थाहा पाउने? यसका लक्षणहरु के के हुन्?
यसका मुख्य लक्षणहरु निम्न हुन्।
१) नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने,
२) नाक बन्द भइरहने,
३) टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
४) सँुघ्ने शक्तिमा कमि आउने आदि

कसैकसैमा विशेष गरी एक्युट साइनोसाइटिसमा ज्वरो आउने जीउ दुख्ने पनि हुन्छ। त्यस्तै टाउको विशेष गरी अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने हुन्छ। म्याक्जिलरी साइनोसाइटिस भएको हो भने माथिका दाँतहरु दुख्ने गालातिर दुख्ने इथमोइडल साइनोसाइटिस भएको हो भने आँखाहरुको पछाडि दुख्ने हुनसक्छ।
साइनोसाइटिस रुघा भाइरल यु आर आइ/Viral URI (Upper Respiratory Infections), एलर्जीक राइनाइटिस(Allergic Rhinitis) भनेका फरक कुराहरु हुन्। रुघा भाइरल URI भनेका नाक माथिल्लो श्वासप्रश्वास नलीको साधारण संक्रमण वा इन्फ्लामेसन हो। एलर्जीक राइनाइटिस भनेको नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हो, यो प्राय: गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ।
नाक, श्वासप्रश्वासको नली, साइनसहरु, घाँटी आदी एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ प्राय: लक्षण रोगहरु संयुक्त रुपमा देखिन्छन्। जस्तै साधारण रुघाबाट शुरु भएर पछि साइनोसाइटिस हुनसक्छ, त्यस्तै साइनोसाइटिस, URI एकैपल्ट पनि देखिनसक्छ।
यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दती अपनाउनु वा औषधी सेवन गर्नु उचित हुन्छ।

यो समस्याको लागि के के जाँचहरु गर्नुपर्ने हुनसक्छ?
साइनोसाइटिस प्राय गरेर लक्षणहरु डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छ अर्थात क्लिनिकल डायग्नोसिस गरिन्छ।
तर कहिलेकाहीं यो विभिन्न प्रकारका टाउको दुख्ने रोगहरु क्लस्टर हेडएक(Cluster Headache), माइग्रेन हेडएक(Migraine Headache) आदी दाँतको समस्याहरु, URI(Upper Respiratory Tract Infections), आँखाको समस्याहरु आदीसँग झुक्किने हुन्छ। साथै क्रोनिक साइनोसाइटिसमा लामो समयसम्म किन साइनोसाइटिस ठिक नभएको भनी कारण थाहा पाउनुपर्ने हुन्छ। यस्ता अवस्थाहरुमा एक्सरे, सिटि स्क्यान, रगतको जाँच (सेतो रक्तकोषहरुको संख्या, प्रकार, एस आर/ESR, ANCA को मात्रा), साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्ने हुनसक्छ।
साथै लामो समयसम्म ठिक नभएका यस्ता क्रोनिक साइनोसाइटिसहरुको बारेमा नाक कान घाटी रोग विशेषज्ञसँग छलफल गरी सल्लाह लिनु उपयुक्त हुन्छ।

यसको उपचार के हो?
साइनोसाइटिस प्राय: गरेर भाइरल संक्रमणका कारणले गर्दा हुने भएकोले यसको उपचार सिमटोम्याटिक अर्थात लक्षणहरुको उपचार गर्ने हुन्छ। भाइरल साइनोसाइटिसमा एन्टिबायटिकले काम गर्दैन देखि १० दिनमा यो आफैं ठिक भएर जान्छ। हाम्रोमा यस्ता समस्याहरुमा एन्टिबायटिक प्रयोग नगर्ने डाक्टर एन्टिबायटिक खान नखोज्ने विरामी विरलै भेटिन्छन्, जसले गर्दा एन्टिबायटिकहरुको दुरुपयोग बढ्दो मात्रामा हुने गर्छ। हेर्नुहोस्- http://myhealthynepal.blogspot.com/2011/01/blog-post_11.html
यसको उपचारमा प्रयोग गरिने औषधीहरु:-
१) टपिकल डिकन्जेस्टेन्ट(Topical Decongestant) वा नाकभित्र प्रयोग गरिने बन्द नाक खुलाउने औषधीहरु। जस्तै अक्सीमेटाजोलीन/ Oxymetazoline
२) टपिकल स्टेरोइड(Topical Steroid) - सिस्टेमीक स्टेरोइडले भने साइनोसाइटिसमा केहि फाइदा गर्दैन।  
३) म्युकोलाइटिक(Mucolytic) - यसले नाकको स्रावलाई पातलो बनाएर यसले साइनसहरुको बन्द मुख खोल्नुका साथै साइनस सफा गर्न पनि मद्दत गर्छ।
४) दुखाइ ज्वरोका औषधीहरु(Painkillers) - पारासिटामोलले साइनोसाइटिसको ज्वरो टाउको दुखाइमा काम गर्छ। ब्रुफेन, इन्डोमेथासिन जस्ता पेनकिलरहरुको धेरै प्रयोग गर्नु हुदैंन।
५) एन्टिबायटिक्स(Antibiotics) - भाइरल साइनोसाइटिसमा यसले केहि काम गर्दैन। हुनसक्ने सम्भावित व्याक्टेरियल संक्रमणलाई रोक्न यसको प्रयोग गर्न सकिन्छ तर त्यसो गर्दा फाइदा बेफाइदा राम्रोसँग विचार गरेर मात्र प्रयोग गर्ने गर्नुपर्छ। व्याक्टेरियल संक्रमण हुनसक्ने अवस्थाहरु (उच्च ज्वरो आउने, एक्कासी अनुहार दुख्ने, सुन्निने, रातो हुने भएमा, १० दिनभन्दा लामो समयसम्म ठिक नभएमा, लक्षणहरु पहिला कम भएर फेरी दोहोरिएमा) मा भने एमोक्सीसीलिन, एमोक्सी-क्लाभ, एजिथ्रोमाइसिन, सेफाक्लोर आदी एन्टिबायटिकहरुको प्रयोगले फाइदा गर्ने गर्छ।
यसको साथै प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ। पानी मात्रको वाफ वा पानीसँग भिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक श्वासनलीहरु केहि खुल्न गई आराम महसुस हुन्छ। त्यस्तै मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहि राहत मिल्छ। मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनि यसको दुखाइ कम हुन्छ।

साइनोसाइटिस हुनबाट कसरी बच्न सकिन्छ?
१) पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। यसले शरीरमा पानीको मात्रा कमि हुन दिदैन साइनसहरु पनि सुख्खा हुनबाट बचाउँछ।
२) नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।
३) धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ। नाकको भित्री सतह त्यसमा हुने रौंहरुलाई खराब असर पुर्याउने चुरोटको धँुवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।

स्रोतहरु:-
बाँकी पढ्नुहोस् >>

Thursday, March 3, 2011

मृत्युसंगै शुरु भएको ड्युटी



केहि दिन अघि म बिहानको ड्युटी गर्नको लागि आइ सी यु (ICU) पुगेको थिए। आफ्नो साथीबाट ह्यान्ड ओभर लिदैं गर्दा उनले एकजना सिकिस्त विरामीलाई देखाउदै भने-उहाँको डि एन आर (DNR) छ। त्यसको एकैछिनमा उक्त विरामीको मुटुले काम गर्न छोड्यो श्वासप्रश्वास रोकियो, ईसिजी मनिटरले सिधा धर्को देखाउन थाल्यो। र केहि समयपछि विरामीका परिवारलाई बोलाएर मैले विरामीलाई मृत घोषित गरे। उक्त विरामीलाई बचाउनका लागि अघिल्लो लेखमा भनिएको जस्तो सिपीआर किन गरिएन? के हो डि एन आर भनेको? किन गरिन्छ डि एन आर?

डि एन आर भनेको के हो?
डि एन आर भनेको Do Not Resuscitate अर्थात रिसस्सिटेसन नगर्नु भन्ने विरामी वा विरामीको निकट परिवारको अनुरोध हो। केहि गरी विरामीको मुटु वा स्वासप्रश्वास बन्द भएमा त्यसको उपचारका लागि गरिने छाती थिच्ने प्रकि्रया, कृत्रिम स्वासप्रश्वासको लागि मुखबाट पाइप हाली स्वासनलीसम्म पुर्याउने (Intubation) आदी रिसस्सिटेसनका विधिहरु गर्नबाट डि एन आर अनुरोधले रोक्छ।
तर डि एन आर ले अन्य आवश्यक औषधी उपचारहरु नगर्ने भनेर भन्दैन। डि एन आर भएका विरामीहरुमा पनि एन्टिवायटिक, प्रेशर बढाउनका लागि प्रयोग गरिने औषधीहरु (डोपामीन, डोब्युटामीन), विरामीको पीडा कम गर्न गरिने उपचार (पेलिएटिभ केयर/Palliative care), अन्य नर्सिङ सेवाहरु आदि उपचार भने गर्नुपर्ने हुन्छ।
नेपाली कानुनमा यसको बारेमा केहि भनिएको छैन तर विरामी विरामीको परिवार र चिकित्सकहरुको आपसी समझदारीमा यसको प्रयोग गर्ने गरिन्छ।
विदेशतिर यसको कानुनी विधि नै हुन्छ र विरामी उक्त निर्णय लिन सक्ने अवस्थामा भएमा विरामीले नभए विरामीको बारेमा निर्णय लिने अधिकार भएको परिवारको नजिकको व्यक्तिले यसबारे निर्णय लिन्छन्।

किन गरिन्छ डि एन आर अनुरोध?
विभिन्न कारणहरुले गर्दा सिपीआरपछिको अवस्था पूर्णरुपमा स्वस्थ नहुनसक्छ। उमेर बढी भएर मात्र हैन कि विभिन्न रोगहरुको जटिल अवस्थाका कारण विरामीको अवस्थामा सुधार नहुने स्थितिका कारण, रोग, स्वास्थ्य अवस्थाले विरामीको दैनिक जीवन कष्टप्रद भइरहेको कारण आदीमा डि एन आर अनुरोध गर्ने गरिन्छ।
डि एन आर र युथेनेसिया (Euthanasia) भनेका फरक कुराहरु हुन्। डि एन आर ले केहि गरी मुटु वा स्वासप्रश्वास बन्द भएमा सिपीआर विधि नगर्नका लागि अनुरोध गर्छ भने युथेनेसिया वा मर्सी किलिङ (Mercy Killing) भनेको विरामीलाई उसको पीडाबाट छुटकारा दिन केहि औषधी दिएर उसको जीवन अन्त्य गरिदिनु हो। अल्बानिया, बेल्जीयम आदी केहि मुलुकहरुमा मात्रै युथेनेसियाले कानुनी मान्यता पाएको छ। हालसालै रिलिज भएको हिन्दी चलचित्र गुजारिश मा दुर्घटनामा परेर चारै हातखुट्टा नचल्ने भएका नायकले युथेनेसिया वा मर्सी किलिङका लागि कानुनी लडाई लड्छन्।

र अन्त्यमा
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हिजो मात्रै मृगौलाले काम गर्न छोडेर अचेत अवस्थामा पुगेको कारण अस्पतालमा भर्ना गरिएको छ। उमेर, रोगहरुको जटिल अवस्था, एक भन्दा बढी रोगहरु आदि कारणले उहाँको स्वास्थ्यमा सुधार आउने सम्भावना कम भएकोले परिवार र चिकित्सकहरुको सल्लाहमा उहाँलाई भेन्टिलेटरमा नराखिने भएको छ। यो एउटा डि एन आर अनुरोध त होइन तर रोगहरुको जटिलता जीवन र मृत्युबीचको लगभग अन्तिम लडाईंमा भएको बेलामा यस्ता निर्णयहरु गर्न निकै गाह्रो हुन्छ।
डि एन आर, युथेनेसिया जस्ता कुराहरु स्वास्थ्यसँग मात्र सम्बन्धित नभई कानुनी मानवीय सम्बेदना र धार्मिक आस्थासँग जोडिएका जटिल कुराहरु हुन्। अझ यस सम्बन्धि निश्चित कानुनको अभावमा यस बारे निर्णय लिन धेरै नै गाह्रो हुन्छ। त्यसैले यी कुराहरुलाई कानुनीरुपमा व्याख्या गर्नु जरुरी छ।

स्रोतहरु:-
http://www.merckmanuals.com/home/sec01/ch009/ch009g.html
बाँकी पढ्नुहोस् >>