केहि दशक अघिसम्म नेपालमा गर्भपतनलाई कानुनी रुपमा मानव हत्यासँग तुलना गरिन्थ्यो र त्यहि अनुसारको सजाय दिने पनि गरिन्थ्यो। यसले गर्दा त्यो बेला गर्भपतनसम्बन्धी ज्ञान र अनुभव नभएका व्यक्तिहरुले लुकेर लुकाएर गर्भपतन गर्ने गर्थे, जसका कारणले कैयौं महिलाहरुमा त्यसका जटिलता खराब असरहरु देखिन गई ज्यान समेत गुमाउनु पर् थ्यो। यसैले गर्दा पनि नेपालको मातृ मृत्युदर संसारमै धेरैहरुमा गनिन्थ्यो। तर यसलाई कानुनी दायरामा ल्याउनका लागि लागीपर्ने सबैलाई हामीले धन्यवाद दिनुपर्छ, जसको अथक प्रयासले सन् २००२ मा नेपालमा गर्भपतन सम्बन्धी कानुन पारित भयो। त्यसपछि दक्ष र अनुभवी जनशक्तिको मातहतमा कानुनले तोकेको अवस्थाहरुमा गर्भपतन हुन थाल्यो, जसले गर्दा एकातिर अनावश्यक गर्भ रोकेर जनसंख्या नियन्त्रणमा सहयोग मिल्यो भने अर्कातिर गर्भपतनसँग सम्बन्धित समस्याहरुले गर्दा हुने महिलाहरुको मृत्यु संख्या ह्वात्तै घटेर मातृ मृत्युदरमा उल्लेखनीय सुधार आयो।
गर्भपतन सम्बन्धी नेपाली कानुनमा के छ?
सन् २००२ मा पारित भएको गर्भपतन सम्बन्धी कानुनले महिलाको वर्तमान वा विगतका वैवाहिक सम्बन्धको स्थिति जस्तोसुकै भएपनि निम्नलिखित मध्ये कुनै एक कारणको लागि गर्भपतन गराउन सक्ने सम्पूर्ण अधिकार गर्भवती महिलालाई नै दिएको छ।
१. महिलाको व्यक्तिगत इच्छामा १२ हप्तासम्मको गर्भ पतन गर्न सकिने,
२. करणी वा हाडनाताको सम्बन्धले रहन गएको गर्भ भएमा १८ हप्तासम्म पतन गर्न सकिने,
३. गर्भका कारणले महिलाको जीवनलाई वा उसको शारीरिक मानसिक स्वास्थ्यलाई खतरा पुग्न जाने अवस्थामा वा गर्भमा रहेको भ्रुणमा खराबी वा अपांगता देखिएमा गर्भको कुनै पनि समयमा चिकित्सकको सल्लाहमा गर्भ्रपतन गर्ने चाहना गर्न सकिने
तर बच्चाको लिंगका आधारमा भने गर्भपतन गर्न गराउन पाइदैंन। साथै बच्चाको लिंग पत्ता लगाएर गर्भपतन गराउनका लागि एम्नियोसिन्टेसीस (Amniocentesis) एक प्रकारको जाँच गराउनु पनि गैरकानुनी हो। यदि कसैले त्यस्तो कार्यका लागि एम्नियोसिन्टेसीस गरेको वा गर्नुको कारण भएको प्रमाणित भएमा ३ देखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था छ। त्यस्तै कसैले भ्रुणको लिंगका आधारमा गर्भपतन गराएको वा गर्नुको कारण भएको प्रमाणित भएमा थप एक वर्ष कैद सजाय हुन्छ।
गर्भपतन सम्बन्धी कानुनमा १२ हप्तासम्मको गर्भको पतनका लागि एम भी ए (MVA) / (म्यानुअल भ्याक्युम एस्पीरेसन/ Manual Vacuum Aspiration) तरिका अपनाउन सकिने र १२ हप्ताभन्दा माथिको गर्भको पतनका लागि एम भी ए (MVA) वा डी एण्ड ई (D and E)/ डाइलेटेसन एण्ड इभाकुएसन (Dilatation and Evacuation) तरिका अपनाउन सकिने उल्लेख छ।
कुनै स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले गर्भपतन सेवा उपलब्ध गराउन चाहेमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा दर्ता गराउनुपर्छ। त्यस्तै गर्भपतन सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीले उक्त सेवाको निश्चित शुल्क पारदर्शीरुपमा लिन पाउने छन्।
यो कानुनको मुख्य उद्धेस्य भनेको असुरक्षित गर्भपतनका कारणले हुने मातृ मृत्युदर र मातृ अस्वस्थतादरलाई घटाइ सुरक्षित मातृत्वलाई बढावा दिनु हो।
गर्भपतन कसरी गरिन्छ?
१२ हप्तासम्मको गर्भपतनका लागि एम भी ए (MVA) विधि अपनाउने गरिन्छ। यो विधि लोकल एनेस्थेसियामा पाठेघरको मुखलाई मात्र लाटो बनाएर र साधारण दुखाइको औषधी दिएर गर्न सकिन्छ। यसमा ठूलोसानो गरी विभिन्न साइजका नली जस्तो प्लास्टिकका क्यानुला पाठेघरको मुखबाट पाठेघरभित्र छिराइन्छ। त्यसपछि ठूलो खालका सिरिन्ज जस्तो यन्त्रको सहायताले भ्याकुम उत्पन्न गराई पाठेघरभित्रको भ्रुण र त्यसको विकासको लागि तयार भएको पाठेघरको बाक्लॊ भित्री सतह, रक्तनलीहरुलाई बाहिर निकालिन्छ। यो एउटा साधारण विधि हो र यो गरेको केहि घण्टामा नै घर जान सकिन्छ। यो गरेको केहि दिनसम्म योनिबाट रगत बग्ने केहि मात्रामा तल्लो पेट दुख्ने हुनसक्छ। कहिलेकाहीं २% भन्दा कममा पूर्णरुपमा भ्रुण ननिस्कने (Incomplete abortion), पाठेघरको संक्रमण हुने, बढि मात्रामा रगत बग्ने, पाठेघरमा प्वाल पर्ने आदी हुनसक्छ। एम भी ए को बारेमा पूर्ण जानकारी लिन तलको लिंक हेर्नुहोस्।
१२ हप्ताभन्दा माथिको गर्भपतनको लागि डि एण्ड ई (D and E) विधि अपनाउन सकिन्छ। यो विधि लोकल एनेस्थेसिया वा जेनेरल एनेस्थेसिया (पूरै बेहोस बनाई) गरिन्छ। यसमा प्रोस्टाग्लान्डिन (Prostaglandin) औषधी वा डाइलेटर उपकरणहरुको सहायताले पाठेघरको मुख खोलिन्छ र फोरसेप (Forcep) हरुको मद्दतले भ्रुणलाई बाहिर निकाल्ने र पाठेघर सफा गर्ने गरिन्छ। रक्तस्राव कम होस् भनेर अक्सिटोसिन (Oxytocin) औषधी प्रयोग गरिन्छ। यो विधि गरेको केहि घण्टापछि नै घर जान सकिन्छ तर कहिलेकाहीं एम भी ए विधिमा जस्तै बढि रक्तस्राव हुने, पेट दुख्ने, पाठेघरमा प्वाल पर्ने, पाठेघरको संक्रमण हुने, पूर्ण गर्भपतन नहुने समस्याहरु देखिन सक्छन्। पाठेघरको संक्रमण हुन नदिनका लागि केहि दिनसम्म एन्टिबायटिक खानुपर्ने हुन्छ।
यी विधिहरु गर्नुभन्दा अघि रगतमा हेमोग्लोबिनको मात्रा, रगतको समूह, यौन रोगहरुको जाँच साथै तल्लो पेटको भिडियो एक्सरे आदि जाँचहरु गर्ने गरिन्छ। यदि गर्भवती महिलाको ब्लड ग्रुप नेगेटिभ (ए, बी, एबी वा ओ नेगेटिभ) छ भने यी विधिहरु गरेपछि पहिले दिइसकेको छैन भने एन्टि डि इम्युनोग्लोबुलिन (Anti-D immunoglobulin) भन्ने औषधी दिनुपर्छ। यो औषधी भविष्यमा पोजेटिभ ब्लड ग्रुपको भ्रुणलाई नेगेटिभ ग्रुपको आमाको रगतमा बन्ने एण्टिबडीबाट हुनसक्ने हानिकारक असरबाट बचाउनका लागि दिइन्छ।
गर्भपतनपछि के के खतराहरु हुनसक्छन् र महिलाको अवस्था कस्तो हुन्छ?
गर्भपतन पछि तत्कालै हुनसक्ने खतरा भनेको बढि रक्तस्राव हुनु हो। गर्भ रहेको हप्ता बढि हुदैं गएपछि रक्तस्राव हुने सम्भावना पनि बढेर जान्छ। रक्तस्राव कम गर्न अक्सिटोसिन प्रयोग गर्न सकिन्छ, तैपनि कहिलेकाहीं अत्यधिक रक्तस्राव भएर रगत चढाउनु पर्ने पनि हुनसक्छ।
त्यस्तै अर्को खतरा भनेको पाठेघर र त्यस नजिकका अंगहरुको संक्रमण हो। गर्भपतन गराउँदा भ्रुण पूर्णरुपमा बाहिर नआएमा पाठेघरको संक्रमण हुने सम्भावना बढी हुन्छ। यसमा तल्लो पेट दुख्ने, योनीबाट मैलो गन्हाउने पानी बग्ने, ज्वरो आउने आदि हुन्छ र लामो समय संक्रमण भई पी आई डी (PID/ Pelvic Inflammatory Disease) भएमा त्यसको खराब असरका कारणले भविष्यमा गर्भ रहन समस्या हुने, रहेको गर्भ आफैं तुहिने हुनसक्छ। गर्भपतनपछि हुनसक्ने संक्रमणबाट बच्नको लागि एन्टिबायटिक सेवन गर्न सकिन्छ।
माथि भनिएको जस्तो जटिल अवस्थाहरु नआएमा गर्भपतन पछि महिलाको अवस्था सामान्य नै हुन्छ र भविष्यमा रहने गर्भमा पनि समस्या देखिने गर्भ रहन गाह्रों हुने महिनावारीमा गडबडी हुने हुदैंन।
अन्त्यमा,
हरेक कुराको राम्रो र नराम्रो पक्ष भए जस्तै गर्भपतन सम्बन्धी कानुनको पनि केहि नराम्रा पक्ष नभएका होइनन्। केही व्यक्तिहरुले गर्भपतनलाई अझै पनि जीवन हत्याको रुपमा लिन्छन्। साथै यसको वैधानीकिकरणले समाजमा पश्चिमी संस्कृतिको छाडापन आएको भन्ने केहिको विचार रहेको छ। तर पनि यस कानुनले अनावश्यक गर्भहरुलाई रोकेर जनसंख्या नियन्त्रणमा मद्दत पुर् याउनुका साथै मानिसहरुमा स्वास्थ्यसम्बन्धी चेतना बढाएको र असुरक्षित गर्भपतनका कारणले हुने मातृ मृत्युलाई धेरै नै घटाएको कुरालाई भने नकार्न सकिदैंन।
स्रोतहरु:-
No comments:
Post a Comment