Showing posts with label जाँचहरु बारे जानकारी. Show all posts
Showing posts with label जाँचहरु बारे जानकारी. Show all posts

Saturday, June 25, 2011

ढाडको पानीको जाँच (Cerebro-Spinal Fluid Examination)


चिकित्सकहरुले कहिलेकाहि विरामीको ढाडबाट पानी निकालेर जाँच्नुपर्ने भनेर भनेको सुन्नभएको होला। तपाईहरुलाई अचम्म लाग्नसक्छ ढाडबाट कस्तो पानी निकाल्ने हो भनेर। आज म यहि जाँचका बारेमा केहि जानकारी दिने प्रयास गर्दैछु।
यो जाँचलाई मेडिकल भाषामा लम्बर पंचर (Lumbar Puncture)वा सी एस एफ (Cerebro-Spinal Fluid) जाँच भनिन्छ।

लम्बर पंचर (Lumbar Puncture) भनेको के हो? 
यो मेरुदण्डको तल्लो भाग, जसलाई लम्बर रिजन भनिन्छ, मा सुईको सहायताले घोचेर त्यसभित्र भएको पानी अर्थात् सेरब्रो स्पाइनल फ्लुड (Cerebrospinal fluid) निकाल्ने प्रक्रिया हो। उस्ताउस्तै लाग्ने भएपनि छातीबाट पानी निकाल्ने अर्थात् प्लुरल ट्यापिङ (Pleural Tapping)भन्दा यो फरक जाँच हो।

सेरेब्रो स्पाइनल फ्लुड भनेको के हो? 
हाम्रो केन्द्रिय स्नायु प्रणाली (Central Nervous System), मष्तिस्क र सुषुम्नालाई सुरक्षाका लागि बाहिरबाट तीन तह भएको एउटा झिल्लीले ढाकेको हुन्छ, जसलाई मेनिन्जिज (Meninges) भनिन्छ। त्यसैको इन्फ्लामेसनलाई मेनिन्जाइटिस भनिन्छ। हेर्नुहोस्- http://myhealthynepal.blogspot.com/2011/04/itis.html
उक्त मेनिन्जिजका तहहरु भित्र एक प्रकारको तरल पदार्थ हुन्छ, जसलाई सेरेब्रो स्पाइनल फ्लुड भनिन्छ।

किन गरिन्छ लम्बर पंचर?
प्राय: जसो यो सेरेब्रो स्पाइनल फ्लुड निकालेर जाँच्नका लागि गरिन्छ। मेनिन्जाइटिस, इन्सेफलाइटिस जस्ता मष्तिस्कका संक्रमणहरु, जीबीएस (GBS), मल्टिपल स्क्लेरोसिस्(Multiple sclerosis) जस्ता केन्द्रिय स्नायु प्रणालीका रोगहरु पत्ता लगाउन र तीनका उपचारमा सी एस एफको जाँच अत्यन्त जरुरी हुन्छ। त्यस्तै यसको जाँचबाट मष्तिस्कको क्यान्सरहरु, मष्तिस्क वरिपरिको रगतका नलीहरु फुटेर रगत बग्ने रोग (सब एराक्नोएड हेमोरेज/Sub Arachnoid Hemorrhage वा एस ए एच) का बारेमा पनि महत्वपूर्ण जानकारी पाउन सकिन्छ।
यी त भए रोगहरुका बारेमा जानकारी लिन गरिने कारणहरु। तर यो प्रक्रिया उपचारका लागि पनि गर्ने गरिन्छ। जस्तो बच्चा निकाल्नका लागि गरिने अप्रेशन (सीएस/CS) गर्दा प्राय: ढाडभन्दा मुनि बेहोस बनाएर गर्ने गरिन्छ। यसको लागि लम्बर पंचर गरेर मेनिन्जिजका बीचमा बेहोस बनाउने औषधी हाल्ने गरिन्छ, जसले गर्दा त्यो भागभन्दा मुनिको भाग मात्र बेहोस हुने गर्छ।
त्यस्तै मेनिन्जिजको बीचको उक्त ठाँउमा डाइ/कन्ट्रास्ट हालेर माएलोग्राफी (Myelography), एक प्रकारको जाँच गर्ने गरिन्छ।

यो जाँच कसरी गरिन्छ?
यो जाँच प्राय: इमरजेन्सी वा वार्डमा गर्ने गरिन्छ। चिकित्सकले तपाईंलाई वा तपाईंका नजिकका आफन्तलाई यो जाँच किन गर्न लागिएको हो भनेर जानकारी दिन्छन्।

यो जाँच गर्दा तपाईलाई समतल सतहको बेडमा देब्रे कोल्टे पारेर सुताइन्छ र खुट्टा खुम्चाएर छातिसम्म ल्याउन लगाइन्छ। यसो गर्दा मेरुदण्डहरु बीचका खाली भागहरु खुल्न जान्छ, जसले गर्दा लम्बर पंचरका लागि सूई छिराउन सजिलो हुन्छ।

त्यसपछि सूई छिराउने स्थान (लम्बर भर्टिबा/Lumbar vertebrae, तेस्रो र चौथोको बीचमा र त्यसको वरिपरि)लाई सफा गरेर लाटो बनाउने औषधी लिग्नोकेन लगाइन्छ। अनि लम्बर पंचर निडल, जुन अरु सूईभन्दा अलि लामो हुन्छ, ती मेरुदण्डहरुका बीचबाट छिराएर सीएसएफ हुने स्थानसम्म पुर्याइन्छ। यसो गर्दा कहिलेकाहि त्यो ठाँउमा भएका स्नायु, नसाहरुलाई लाग्नसक्ने भएकोले खुट्टातिर झमझमाउने वा दुख्ने हुनसक्छ।

सीएसएफ भएको स्थानमा सूई पुगेपछि त्यसबाट विस्तारै सीएसएफ बग्न थाल्छ, जुन जाँचका लागि प्राय गरेर तीनवटा भाँडाहरुमा जम्मा गरिन्छ। त्यसपछि सूईलाई झिकेर उक्त स्थानमा सानो ब्यान्डेज लगाइन्छ जुन करिब २४ घण्टापछि निकाल्न सकिन्छ।
यो जाँचमा साधारणतया ३० देखि ४५ मिनेट लाग्नसक्छ।


यो जाँच प्रक्रियाका कारण के के समस्याहरु हुन सक्छन्? 

टाउको दुख्ने (Post LP headache/पोष्ट एलपी हेडएक) 
यो समस्या करिब ३०%मा देखिने गर्छ। यो समस्या कम गर्नका लागि एलपी गरीसकेपछि आधा-एक घण्टासम्म समतल बेडमा सुत्ने, प्रशस्त मात्रामा झोलपदार्थ, पानी पिउने गर्नुपर्छ। धेरै नै टाउको दुख्यो भने चिकित्सकको सल्लाहमा दुखाइको औषधी खान सकिन्छ। कहिलेकाही एलपी गरेको ठाँउबाट सेरेब्रो स्पाइनल फ्लुड लिक भएमा, निरन्तर बगीरहेमा पनि लगातार टाउको दुखिरहने हुनसक्छ। त्यसो भएमा चिकित्सकलाई जानकारी गराउनुपर्छ।

ढाड र त्यसभन्दा तलको भागहरुमा दुखाइ
एलपी गर्दा सूई छिराउने स्थान तपाईंको सुषुम्ना भन्दा तल रहेको हुन्छ। त्यसैले प्रत्यक्ष रुपमा सुषुम्नालाई सूईले असर पार्ने सम्भावना साह्रैं कम रहन्छ। तर सुषुम्नाका तल्लो भागबाट निस्किएका नसाहरुको सम्पर्कमा सूई आउनसक्छ, जसले गर्दा ढाड र तलको भागहरुमा झमझमाउने र दुख्ने हुनसक्छ। यी असरहरु प्राय: गरेर केहि समयका लागि मात्र हुन्छन्।

एलपी गरेको ठाउँबाट रगत बग्ने समस्या 
विरामीलाई रगत जम्ने सम्बन्धी रोग (Bleeding Disorder/ब्लिडिङ डिसअर्डर) छ भने यस्तो समस्या हुन सक्छ। त्यसैले आफुलाई त्यस्तो रोग पहिले देखि भएनभएको जानकारी एलपी गर्न अघि चिकित्सकलाई गराउनुपर्छ।

ब्रेन स्टेम हर्निएसन(Brain-stem herniation) 
एलपीको सबैभन्दा डरलाग्दो तर कमै मात्र हुने कम्लिकेसन हो यो। इन्ट्राक्रेनियल प्रेसर (Intracranial pressure)अर्थात मष्तिस्क भित्रको प्रेसर धेरै बढेको अवस्था (जुन प्राय: गरेर मष्तिस्कका ट्युमरहरुमा हुनेगर्छ) मा एलपी गर्नाले मष्तिस्कको तल्लो भाग ब्रेनस्टेम(Brainstem) तल झरेर हर्निएट (herniate) भएर च्यापिन जान्छ। जसले गर्दा विरामीको मृत्यु पनि हुनसक्छ। त्यसैले एलपी गर्नु अघि विरामीको राम्रोसँग जाँच गरेर मष्तिस्क भित्रको प्रेशर बढे नबढेको हेर्ने गर्नुपर्छ।

सीएसएफको जाँचको सामान्य रिपोर्ट कस्तो हुन्छ?

रंग: सफा, पानीजस्तो
निकाल्दा खेरीको प्रेशर:  ७०-१८० mmHg
प्रोटिन: १५-६० mg/dL
ग्लुकोज: ५०-८० mg/dL
कोषहरुको संख्या: ०-५ सेतो रक्तकोषहरु, ० राता रक्तकोष
त्यस्तै माइक्रोबायलोजिकल जाँचहरु (ग्राम स्टेन/Gram's stain, ए एफ बी स्टेन/AFB stain, कल्चर/Culture) गरेर सीएसएफमा कुनै किटाणुहरु भएनभएको हेर्न सकिन्छ। साथै मष्तिस्क र सुषुम्नाका क्यान्सरहरुको बारेमा र अन्य थुप्रै रोग र अवस्थाहरुका बारेमा सीएसएफ जाँचबाट जानकारी पाउन सकिन्छ।


आफ्नो र आफ्नो विरामीको सीएसएफको रिपोर्टका बारेमा, त्यसमा देखिएका खराबीका बारेमा, त्यसले उपचारमा पुर्याउने असरका बारेमा आफ्नो चिकित्सकसँग राम्ररी छलफल गर्नुपर्छ।
बाँकी पढ्नुहोस् >>

Friday, April 22, 2011

मेडिकल जाँचहरु किन गरिन्छ? यसका आवस्यकता र औचित्यहरु



आम जनमानसमा रोग जति जटिल भयो, त्यति नै जटिल त्यसका जाँचहरु हुन्छन् भन्ने सोचाइ रहेको पाइन्छ। प्रायजसो विरामी र उसका परिवारले रोगको पहिचान र निदानका लागि डाक्टरहरुलाई कुनै पनि कसर बाँकी नराखी हुनसक्ने सबै जाँच र उपचार गर्न दवाव दिने गर्छन्। उपचारका लागि भन्नु राम्रो कुरा हो तर रोगको जाँच भनेकै रोगको उपचार हो भन्ने जसरी आफूले देखेसुनेको भरमा यो समस्याको लागी यो, त्यो समस्याको लागी त्यो जाँच गर्ने भनेर डाक्टरहरुलाई दवाव दिनु राम्रो होइन। हाम्रो समाजमा जति धेरै जाँच गरायो त्यति राम्रो डाक्टर रहेछ भन्ने, जति महंगो जाँच गरायो त्यति राम्रो उपचार भएको मान्ने सोचाइ धेरैमा रहेको पाइन्छ। र यदि डाक्टरले आफ्नो क्लिनिकल ज्ञानका आधारमा रोगको पहिचान गरी उपचार शुरु गर्न खोजेमा उसको डाक्टरी ज्ञान र उपचारलाई नै शंकाको दृष्टिले हेर्ने गरिन्छ। यस्तो समस्या मानसिक स्वास्थ्यको क्षेत्रमा अझ बढि हुन्छ, जहाँ रोगको पहिचान र उपचार प्राय: क्लिनिकल समस्याबारे विरामी र उसका परिवारसँगको कुराकानी र विरामीको जाँच आधारमा गर्ने गरिन्छ।

मेडिकल स्कुलमा रोगको पहिचानका लागि विरामीसँग गरिने समस्याबारेको पुछताछ (हिस्ट्री/ History लिनु) र विरामीको क्लिनिकल जाँच (Physical exam/ डाक्टरले गर्ने विरामीको जाँच) लाई बढि प्राथमिकता दिनुपर्छ भनेर सिकाइन्छ र वास्तवमा त्यो ठिक पनि हो किनभने धेरैजसो रोगहरु क्लिनिकल ज्ञानको राम्रो प्रयोगबाट नै पत्ता लगाउन सकिन्छ। तर व्यवसायको नाममा हरेकजसो चोक र गल्लीमा खुलेका ल्याबहरुले हाम्रो वर्तमान मानसिकता र अवस्थालाई दर्शाउँछ। यी व्यापारिक संस्थाहरुले चिकित्सा शास्त्रमा भनिएको आधारमा भन्दा पनि व्यावसायिक लाभका लागि विभिन्न जाँचहरु गर्ने गराउने गर्छन्। अनि विरामी र रोगको उपचार नभएर जाँचको रिपोर्टको उपचार शुरु हुन्छ। “तपाईको जन्डिस थोरै बढेको छ, यो औषधी खाएर पछि फेरी जाँच्न आउनु होला।“ “तपाईको युरिक एसिड थोरै बढि देखिन्छ, यो औषधी खानुहोला।“ “तपाईको पेट दुखेको रहेछ, त्यसैले एउटा भिडियो एक्सरे र इन्डोस्कोपी गर्नुपर्छ।“ आदी आदी

त्यसोभने यी जाँचहरु के साच्चिकै आवश्यक छन् त? साधारण सस्तो औषधी पनि किन्न नसक्ने अवस्था भएको बेलामा के यस्ता जाँचहरु गराइराख्नु आवश्यक हुन्छ? साधारणतया यस्ता जाँचहरुले निम्न लिखित कुराहरुमा सहयोग पुर्याइरहेका हुन्छन्।
   १.      रोगको पहिचान (डायग्नोसिस/ Diagnosis) मा,
   २.      रोग र विरामीको अवस्थाको जानकारी दिनमा,
   ३.      मेडिकल स्कुलहरुमा अध्ययन र अनुसन्धानमा

रोगको उपचारका लागि पहिला रोगलाई चिन्नु र बुझ्नुपर्छ। त्यसका लागि विरामीसँग समस्याका बारेमा सोधपुछ गर्ने, विरामीको क्लिनिकल जाँच गर्ने गरिन्छ र माथि भनिएजस्तै धेरैजसो अवस्थामा यो रोगको पहिचानका लागि या त काफी हुन्छ या यो यो रोगहरु हुनसक्छन् भनेर अनुमान लगाउन सकिन्छ र त्यसका आधारमा आवश्यक जाँचहरु गरेर उपचार शुरु गर्न सकिन्छ। क्लिनिकल ज्ञानका आधारमा मात्रै रोगको पहिचान गर्नसकिएको अवस्थामा अन्य जाँचहरु गराइरहनुले विरामी र उनको परिवारमा अनावश्यक आर्थिक भार पर्नुका साथै विरामीलाई अनावश्यक खतरामा पनि पारिरहेको हुन्छ। जस्तै- एक्सरे, सिटी स्क्यान गर्दा विरामीलाई केहि मात्रामा भएपनि हानिकारक विकिरण पर्ने गर्छ। त्यस्तै इन्डोस्कोपी गर्दा खानानलीमा घाउ हुनसक्ने, प्वाल पर्नसक्ने थोरै भएपनि खतरा हुन्छ। त्यसैले जाँचहरु गराउँदा फाइदा बेफाइदा राम्रोसँग विचार गरेर मात्रै गर्ने गर्नुपर्छ, जसले गर्दा विरामीलाई अनावश्यक खतरा पनि नपुगोस्, अनावश्यक खर्च पनि नहोस् र रोगको बारेमा पनि जानकारी मिलोस्।

रोगको पहिचान गरेर उपचार शुरु गरीसकेपछि पनि रोगको अवस्थाको बारेमा जानकारी पाउन, रोगको हुनसक्ने जटिल अवस्थाहरु आएको छ छैन, रोगले भविष्यमा कुन रुप लिनसक्छ (प्रोग्नोसिस/ prognosis) भन्न जाँचहरु गर्नुपर्ने हुन्छ। जस्तै- मधुमेह रोगको पहिचान भएर उपचार शुरु गरिसकेपछि पनि नियमित रुपमा रगतमा सुगरको मात्रा हेरिरहनुपर्ने हुन्छ। तर यदि कुनै जाँचले विरामीको उपचारमा वा अवस्था बारे जानकारी दिन केहि मद्दत पुर्याउदैन भने त्यो जाँच गरेर विरामी र परिवारलाई अनावश्यक सास्ती दिनु मेडिकल इथिक्समा पर्दैन। किनभने यो पेशा व्यापार गर्ने ठाँउ होइन।

कहिलेकाहि जाँचहरु अध्ययन र अनुसन्धानका लागि गर्नुपर्ने हुन्छ। विरामीको अवस्था सुधारको लागि, रोगको उपचारका लागि ती जाँचहरुको रिपोर्टले केहि फरक पार्दैन तर भविष्यमा अन्य विरामीमा हुने यस्तै रोगहरुको उपचारको अनुसन्धानका लागि यस्ता जाँचहरुले फाइदा पुर्याइरहेका हुन्छन्। यस्ता जाँचहरु गर्दा यो कुराको जानकारी विरामीलाई गराउनुपर्छ र विरामीबाट त्यसको लिखित स्वीकृति (written consent) लिएको हुनुपर्छ। साथै विरामीलाई त्यसको आर्थिक भार पर्नु हुदैंन।

यी माथिका अवस्थाहरु बाहेक अन्य उदेश्यले गर्ने गराइने जाँचहरु अनइथिकल (unethical) हुन्। आजको टेक्नोलोजीको दुनियामा डाक्टरहरु जाँचहरुमा यति भरपर्न थालेका छन् कि उनीहरु विरामीसँगको सामान्य कुराकानीले पत्ता लाग्ने रोगहरुमा पनि अनावश्यक जाँचहरु गराउने गर्छन्। विरामीहरुसँगको छोटोमिठो कुराकानी, सान्त्वनाका केहि शब्दहरु, न्यानो स्पर्शले उनीहरुको समस्या कम गर्न र उपचार गर्न कति सहयोगी हुनसक्छ भन्ने कुरा बिर्सदै गइरहेका छन्। कति नाम चलेका डाक्टरहरुका बारेमा मैले सुनेको छु उनीहरु विरामीलाई राम्ररी हेर्दा पनि हेर्दैनन्, कुरा गर्दा पनि गाली गरेको जसरी गर्छन् र खालि जाँचहरुका रिपोर्टका आधारमा औषधी लेख्छन्। त्यस्तै पैसाको लागि डाक्टरहरु अनावश्यक जाँचहरु गराउँछन् भनेर कति आरोपहरु लाग्ने गर्छन्, जुन पूर्णरुपमा असत्य पनि होइन। विरामी र उनका परिवारसँग राम्रोसँग कुरा नगर्नु, राम्रो तरिकाले कुरा बुझाएर क्लिनिकल जाँच नगर्नु, अन्य जाँचहरुको किन आवश्यक छन्, तिनका रिपोर्ट के आयो, त्यसले विरामीको अवस्थाबारे के जनाउँछ भन्ने कुरा नबुझाउनु, उपचारका के के विकल्पहरु छन्, रोगको र औषधी उपचारको के कस्ता जटिल अवस्था खराबीहरु आउनसक्छन् भनेर जानकारी नदिनु र समग्रमा विरामीको उपचारमा विरामी र उनका परिवारलाई सहभागी नगराई रोबोटले जस्तो जाँचहरुको रिपोर्ट हेर्दै औषधी मात्रै लेख्ने गर्नाले यस्ता आरोपहरु लाग्ने गर्छन्।

जुनसुकै अस्पतालमा दिनहुँ देखिने भीडबाट अनुमान लगाउन सकिन्छ कि डाक्टरहरु कति व्यस्त हुन्छन् भनेर। तर यो कुराले विरामीसँग गर्नुपर्ने कुराकानी, जानकारी र सान्त्वनाका शब्दहरुको वार्तालापमा वाधा पार्नु हुदैंन। र यसको लागि उपभोक्ता समूह विरामी र उनका परिवारमा पनि चेतनाको आवश्यकता पर्छ। किनभने रोगको पहिचान र उपचारका लागि जाँचहरु गर्नैपर्छ भन्ने मानसिकताले राम्रो गर्छु भन्ने डाक्टरहरुलाई पनि अनावश्यक जाँचहरु गराउन दवाव पर्ने गर्छ।

(यो लेख ११ अप्रिल २०११ को 'दि काठमाडौं पोस्ट' मा प्रकाशित डा. रवि शाक्यले लेख्नु भएको 'Medical Investigations: their relevance in treatment' लेखका आधारमा लेखिएको हो। उहाँ हाल मानसिक रोग विशेषज्ञको रुपमा मानसिक अस्पताल, लगनखेल मा कार्यरत हुनुहुन्छ। यो लेख लेख्न सहयोग पुर्‍याउनु भएकोमा उहाँलाई धेरै धेरै धन्यबाद्)

बाँकी पढ्नुहोस् >>

Monday, March 28, 2011

छातीको एक्सरे (Chest X-ray)



छातीको एक्सरे भनेको एउटा रेडियोलोजीकल जाँच हो, जसमा एक्सरे (एक प्रकारको विकिरण) को प्रयोग गरी छाती र त्यसका भित्री अंगहरु मुटु, फोक्सो आदीको तस्वीर निकालिन्छ। यसमा एक्सरेको फिल्म एकातिर राखिन्छ र अर्कोतिरबाट एक्सरे मेसिनबाट एक्सरे विरामीको छातीमा पारिन्छ। यसरी शरीरबाट एक्सरे पार गर्दा शरीरका अंगहरुमा भएका तत्वहरुको प्रकृति अनुसार ( हावा, पानी, रगत, हाड, मांशपेशी आदी ) ती अंगहरुमा एक्सरे विभिन्न मात्रामा सोसिन्छ र केहि मात्रामा ती अंगहरुलाई छेडेर एक्सरे फिल्ममा पर्छ। त्यसले गर्दा फिल्ममा ती अंगहरुको चित्र बन्छ, जसको आधारमा विभिन्न रोगहरु पत्ता लाग्नुका साथै तिनीहरुको उपचारमा पनि ठूलो मद्दत मिल्छ।

छातीको एक्सरेमा देखिने सेतो कालो छाँयाहरु के हुन्?
माथि भनिएझैं शरीरका विभिन्न अंगहरुमा भएका तत्वहरुको प्रकृतिले ती अंगहरुलाई एक्सरे विकिरणले कति मात्रामा छेड्छ भन्ने कुरा निर्धारण गर्छ। फोक्सो भए त्यसमा भएको हावालाई सबैभन्दा बढि छेडेर एक्सरेमा कालो देखिन्छ, त्यस्तै हाड भए थोरै मात्रामा मात्र छेडेर एक्सरेमा सेतो देखिने गर्छ। यसरी अंगहरुको घनत्व र एक्सरे विकिरणले ती अंगहरुलाई कति मात्रामा छेड्न सक्छ भन्ने आधारमा एक्सरेमा कालो सेतो चित्र बन्ने गर्छ।  

एक्सरे गर्दा ध्यान दिइने केहि कुराहरु
   १.      एक्सरे गर्दा छाती घाटीमा लगाएका धातुका गहना सामानहरु फुकाल्नुपर्छ। यसले एक्सरे विकिरणलाई छेकेर एक्सरे राम्रो नआउन सक्छ।
   २.      छातीको एक्सरे गर्दा साँस तानेर एकछिन रोकेर राख्नुपर्छ, यसो गर्दा फोक्सो फुल्छ र एक्सरेमा छातीका अंगहरुको विवरण राम्रोसँग देखिन्छ।

छातीको एक्सरे प्राय: गरेर PA/ Postero-anterior (एक्सरे विकिरण पछाडीबाट पठाउने र एक्सरेको फिल्म छाती अगाडी राख्ने) गरिन्छ। तर अवस्था अनुसार AP/ Antero-posterior (एक्सरे विकिरण अगाडिबाट पठाउने र एक्सरे फिल्म छाती पछाडी राख्ने), Lateral (छातीको दाँयाबाँया एक्सरेको विकिरण र फिल्म राख्ने) र अन्य तरिकाबाट पनि एक्सरे लिइन्छ।

छातीको एक्सरे गर्दा एक्सरॆ विकिरणको हानिकारक असर कति हुन्छ?
प्रत्येक पल्ट एक्सरे गर्दा न्यून मात्रामा एक्सरे विकिरण शरीरमा पार्ने गरिन्छ। यो करिब ०.१ mSv हुन्छ र यो हामीले प्राकृतिक रुपमा करिब १० दिनमा पाउने विकिरण बराबर हुन्छ। (हामीले प्राकृतिकरुपमा पनि पृथ्वीमा भएका रेडियोएक्टीभ पदार्थहरुबाट र बाहिरी ब्रम्हाण्डबाट विभिन्न प्रकारका विकिरणहरु न्यून मात्रामा पाइरहेका हुन्छौं।) तर सस्तो, छिटो, सरल र एकदमै उपयोगी जाँच भएकोलॆ सामान्य अवस्थामा एक्सरेको बेफाइदा भन्दा पनि फाइदा बढि हुन्छ र रोग र समस्याको पहिचान र उपचारका लागि यो उपयुक्त हुन्छ।

तर गर्भवती महिलाहरुमा एक्सरेको विकिरणले भ्रुणको विकासक्रममा असर गर्नसक्ने भएकोले अति आवश्यक अवस्थामा बाहेक अरु बेला यो जाँच गरिदैन। हुन त भ्रुणमा यसको असर देखिन आवश्यक विकिरणको मात्रा भन्दा साधारण एक्सरे जाँचहरुमा पर्ने विकिरण धेरै कम हुन्छ। भ्रुणमा असर देखिनको लागि ५०-३०० mSv रेडिएसनको आवश्यकता पर्छ भने साधारण छातीको एक्सरे गर्दा मात्र ०.१ mSv रेडिएसन शरीरमा पर्छ। Wikipedia का अनुसार ०.०६ mSv रेडिएसन शरीरमा पर्छ। साथै विकिरणको प्रभाव कति पर्ने, कस्तो पर्ने भन्ने कुरा गर्भवती महिलाको गर्भको उमेर (गर्भ कति हप्ताको भयो भन्ने) मा पनि भर पर्छ। जस्तै- पहिलो २ हप्तामा ५० mSv सम्मको विकिरणले भ्रुणको मृत्यु हुनगइ गर्भपतन नै हुनसक्छ। गर्भको ८-१५ हप्तासम्म भ्रुणको विकास भैरहेको स्नायुप्रणाली विकिरणको हानिकारक असरको लागि सम्वेदनशील हुन्छ तर त्यस्तो असर देखिन करिब ३०० mSv विकिरणको आवश्यकता पर्छ। २० हप्तापछिको गर्भमा विकिरणको असर तपाईंहामीमा जस्तै हुन्छ र विकिरणको कारणले गर्भपतन हुने, जन्मदै अंगभंग भएर जन्मने जस्ता समस्याहरु हुदैंन।

छातीको एक्सरे किन गरिन्छ?
सामान्यतया निम्न लक्षणहरुका लागि छातीको एक्सरे गरिन्छ।
   १.      श्वास बढ्ने ज्वरो आउने भएमा,
   २.      लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने भएमा,
   ३.      छातीमा चोटपटक लागेमा  
निमोनिया, दमको रोग (COPD), क्षयरोग, फोक्सोको क्यान्सर, हार्ट फेलर (Heart Failure) अर्थात मुटुले काम नगरेको अवस्था आदी विभिन्न रोगहरुमा छातीको एक्सरेले रोगको पहिचान र उपचारमा आवश्यक सहयोग पुर् याउँछ।
दाहिने फोक्सोको निमोनिया (Right sided pneumonia)
देब्रे फोक्सोमा पानी जमेको अवस्था (Left Pleural effusion)

अन्त्यमा,
वैदेशिक रोजगारमा जाँदा गरिने स्वास्थ्य जाँचमा फेल भएका धेरैमा छातीको एक्सरेमा छातीमा दाग देखिएर फेल भएको र करिब एक हप्ता औषधी (प्राय: गरेर महंगो एन्टिवायटिक) खाएपछि ठिक भएको सुन्ने गरिन्छ। मेरो अनुभवमा विना अरु कुनै लक्षण छातीमा देखिने दागहरु एक हप्ते एन्टिवायटिकले निको हुने कमै हुन्छ। ती कि त सामान्य लिम्फ नोडहरु हुन्छन् कि त छातीका पुराना संक्रमणहरुले गर्दा भएको फाइब्रोसिस आदी हुन्छन्। जुनले या त सामान्य काम गर्नमा केहि असर गर्दैन या त ती साधारणतया एन्टिबायटिकले मात्र निको हुदैंन। साथै लक्षणहरु देखिएको छैन भने मात्र एक्सरेमा देखिएको दागको लागि औषधी खान लगाउनु कतिको उचित हुन्छ? हुन त कति रोगहरुमा जाँचमा मात्र खराबी देखिने तर लक्षण ढिलो देखिने हुन्छ तर ती भनेका फरक अवस्थाहरु हुन्।

त्यस्तै अर्को कुरा एकपटक निमोनिया भएपछि त्यसको दाग छातीमा पछिसम्म पनि रहिरहन्छ भन्ने जति आम मानिसमा विश्वास छ, त्यति यो कुरा सत्य चाँही होईन। निमोनिया ठिक भएपछि निमोनियाको एक्सरेमा देखिने दाग पनि विस्तारै हराएर जान्छ। बरु क्षयरोगको असर फोक्सोमा फाइब्रोसिस (Fibrosis), कोल्याप्स (Collapse) आदीको रुपमा सधैं रहिरहने गर्छ।

स्रोतहरु:
बाँकी पढ्नुहोस् >>