Sunday, February 10, 2013

सन्तान थरीथरीका


रातको लगभग साढे १ बजेको थियो। आफू आराम गर्नु भन्दा अघि इमर्जेन्सीबाट भर्ना गरिएका विरामी वार्डमा पुगिसकेपछि कस्तो अवस्था छ बुझौं भनेर वार्डमा गएको थिएँ। विरामीको पल्स (नाडीको चाल), प्रेसर ठिकै थियो। साँसको समस्या अलि कम भएर विरामी सुस्ताउन लागेका थिए।

"सबै ठिकै छ हैन त" भनेर के सोधेको थिएँ लहरो तान्दा पहरो गर्जन्छ भन्या जस्तो पो भयो। "केइ नि ठिक छैन, यस्तो नि क्याविन हुन्छ, नाम मात्रको क्याविन, न राम्रो ओढ्ने ओछ्याउने छ, न कुरुवालाई सुत्ने व्यवस्था छ, न त तातो पानी छ, राजधानीको अस्पतालको क्याविनको चाला यस्तै हो, नाम मात्रको टिचिङ अस्पताल रहेछ।" म त ट्वा परें। दिनको ५०० रुपैंयाको क्याविनमा बसेको छ, सुविधा भने फाइभ स्टार होटलको जस्तो पो खोज्ने, के भन्नु खै त्यस्तालाई। "५०० रुपैंयामा ५००० को सुविधा खोजेर कहाँ पाइन्छ, दाम अनुसारको सुविधा हुन्छ, यो अस्पताल हो होटल होइन" भनेर मुखभरी जवाफ दिन मन लाग्याथ्यो। तर रातको २ बजे के विरामीसँग किचकिच गर्नु भनेर "पहिले कहिले टिचिङ अस्पतालमा भर्ना हुनुभ'को थिएन कि क्या हो?" मात्रै भनेर फर्किएँ।

उनले त्यो डायलग भन्दा म भने भर्खरै इमर्जेन्सीमा छोडेर आएको अर्को विरामीलाई सम्झिरहेको थिएँ। पैसा नभएर डायलाइसिस गर्न नपाई इमर्जेन्सीमै स्वाँस्वाँ गरेर बसीरहेको त्यो विरामीको पो झल्झली याद आयो। जो जनरल बेड नपाएर भर्ना पनि हुन नसकी "बरु यतै इमर्जेन्सीमै बस्छु" भनेर बसेको थियो। इमर्जेन्सी सेवा, सबै खाले इमर्जेन्सी उपचार त नि:शुल्क हुनुपर्ने हो नि। मान्छेको बाँच्न पाउने नैसर्गिक अधिकार पनि पैसामा गएर अड्किदोरहेछ। कस्तो चित्तै नबुझ्ने कुरा।

कोही भने क्याविनमा बस्न पाएर पनि सन्तुष्ट हुन सक्या छैनन् कोही भने पैसाको अभावमा बाँच्न पाउने आधारभूत अधिकारबाट पनि बन्चित छन्। "कोही धनी असाध्यै कोही गरिब माग्ने, सन्तान थरीथरीका" भन्या यही होला। "नेपाल आमाका सन्तान थरीथरीका" भन्या यही होला।

3 comments:

  1. सुनको छ थाल काही , काही छ पात खाली ... सन्तान थरीथरीका !!

    ReplyDelete
  2. सन्तान थरीथरीका.. सन्तान थरीथरीका.. चित्तै नबुझ्ने के।।

    ReplyDelete
  3. सन्तान थरीथरीका.

    ReplyDelete