Sunday, April 13, 2014

नजन्मिएका जीवनहरु

'गाइने ड्युटी डक्टर बोल्नु भा हो?' मैलेहो” भने। उताबाटइमर्जेन्सीमा एउटाइन्कमप्लिट एबोर्सन’को केस है, आइदिनुस्” भन्ने आवाज आयो। इमर्जेन्सीमा पुग्दा गाइनेको जाँच कोठामा एक जना महिला सुतिरहेकी थिईन्, साथमा श्रीमान सासु होला शायद। इमर्जेन्सीको फाइल हेर्दै केही कुराहरु सोद्धै गरे, बिहे गरेको - महिना भो रे, अन्तिम महिनावारीबाट जोड घटाऊ गर्दा ९हप्ता जतिको गर्भ देखिन्थ्यो। हिजोदेखी रगत गएको रे, पेट पनि दुखीरहेछ भन्दै थिईन्। एकछिनमा नर्सलाई बोलाएर विरामीका मान्छेलाई बाहिर बस्न लगाई जाँच गर्न शुरु गरे। रगत बगिरहेको थियो, गर्भको बच्चा पनि पाठेघरको मुख खुलेर बाहिर आइसकेको रहेछ, निकालिदिए, अलिअलि सफा पनि गरिदिए। सकेर पछी श्रीमान सासुलाई नि सँगै राखीगर्भको बच्चा खेर 'को , मैले निकालिदिए, अलिअली रगत बग्दैछ, औषधी खाएर जान मिल्छ” भनेर काउन्सेलिङ गरे। एकछिनमा कागज बनाएर दिन गएको ती आमा अघी सफा गरेर निकालेको रगत, सामानहरुलाई खुट्टाले ओल्टाइपल्टाइ गरिरहेकी थिईन्। अचम्म लागेर "के भो आमा? के खोज्नुभको?" भनेको "नाति थ्यो कि नातिनी थ्यो, कस्तो थ्यो भनेर हेर्न मन लायो नि बाबु" भनिन्। अवाक भएँ।

जीवन कहिले शुरु हुन्छ? सोझो हेर्दा कस्तो बाङो प्रश्न जस्तो लाग्नसक्छ। बच्चा आमाको गर्भबाट बाहिर निस्किएपछी जीवन शुरु हुन्छ नि, त्यस्पछी उस्को जिन्दगी शुरु हुन्छ नि। सोझो उत्तर। तर आमाको गर्भमा रहेको भ्रुण जस्ले हातखुट्टा चलाऊछ, जस्को मुटु चलिरहेको हुन्छ, के त्यो जिवित हैन ? त्यसो भने भ्रुणको जन्म बुवाको शुक्रकिट आमाको डिम्ब मिल्ने वित्तिकै भएको हुन्छ नि। के जीवन त्यती खेरै शुरु हुन्छ ? अनि त्यो भन्दा अघीको कोषहरु चै के जिउदो हुँदैनन् त? त्यसो भने एबोर्सन एक कानुनी हत्या हो त? उत्तर त्यत्ती सजिलो छैन, उत्तर मसँग छैन पनि।

अर्को दिनको ड्युटीमा पनि त्यस्तै 'कल' आयो, छोटो हिस्ट्री (विरामीसँग समस्यालाई लिएर गरिने प्रश्नोत्तर) लिएर जाँच्नको लागि नर्सलाई बोलाएँ। सिस्टरले लुगा हटाएर जाचको लागि तयार गर्न लागेको झसंग भएँ। योनीबाट सानो हातबाहिर निस्किरहेको रहेछ। पानीमा डुबिरहेको मान्छेले 'मलाई बचाउ' भनेर सहयोगको लागि हात बाहिर निकालेर चिच्याएको जस्तो। जाच्ने बेलामा सामान लगाएर हात समाती निकाल्न खोजेको आएन, तर जे होस् बच्चा खेर गईसकेको भनेर विरामीलाई भन्दा उन्को अनुहारको पिडा हेर्नै नसकिने थियो। यो दोस्रो पटक खेर गएको थियो, उन्ले संसार हारे झै भएको थियो, वर्षदिनपछी फेरी देख्न शुरु गरेको सपना बीचमै निमोठिएको थियो। उन्लाई पछी अप्रेसन कक्षमा लगेर क्युरेट गरेर खेर गएको बच्चा निकालियो, अस्पताल केही दिन बसेर उनी डिस्चार्ज भईन्। जानेबेलामा सोध्दै थिईन् “अब कती पछी फेरी बच्चा राख्न सकिन्छ डाक्साब?” शायद उनी नमिठो विगत विर्सेर भविष्यको लागि तयार भैसकेकी थिईन्, फेरी आमा बन्ने सपना बोकेर घर जादै थिईन्।  

नजन्मिएका बच्चाहरुले दुखाइ थाहा पाउछन् कि पाउन्नन् होला है। आमाको गर्भ भित्र मुटुको अन्तिम धड्कन धड्किनु अघी के उनिहरु जीवनको लागि छट्पटिएका हुन्छन् होला? मलाई बचाउ, मर्न लागे भनेर सहयोगको लागि तड्पिएका हुन्छन् होला?

पूरा सुत्केरी वार्ड नै थर्कने गरी कोइ रोइरहेको आवाज आउँदैथ्यो, ग्वाँ ग्वाँ गरेर ठुलो स्वरमा रोइरहेको थियो। एडमिसन कक्षमा बिजी थिएँ, एकछिनमा इन्टर्न बैनी आएर भनिन् “दाई आइ यु एफ डि/ IUFD भयो”। अर्थात् गर्भ भित्र बच्चाको मृत्यु हुनु। बच्चा हुन दिईएको मिती भन्दा दुई दिन कटेको थियो, अस्ति जचाउन आउँदा बच्चा ठिकै , बच्चा चलेको, नचलेको राम्ररी याद गर्नुहोला, अनी पर्सी आएर पानीको जाँच गर्ने भनेर पठाएको थियो रे। त्यो दिन बिहानदेखी नै राम्रो नचलेको भएर दिउसोतिर एक्लै देखाउन आइपुगेकी थिईन्। जाच्नेक्रममा स्टेथेस्कोप अनी डप्लरले पनि बच्चाको मुटुको धड्कन सुनिएन। हाम्रो शंका पनि बढ्दै गयो, बच्चा खेर गएको हुनसक्छ भनेर काउन्सेलिङ गरियो। कन्फर्म गर्नलाई इन्टर्न बैनीको साथमा तुरुन्त भिडियो एक्सरे गर्न पठाएका थियौं। फर्कदा उनी आँफै पनि डिस्टर्ब्ड थिईन्, भन्दै थिईन् "विरामी त्यो भन्ने वित्तिकै ग्वाँ ग्वाँ रुन थाल्नुभो, मलाई केइ भन्नै आएन, सम्झाउनै सकिनँ।" मलाई लाग्यो कहिलेकाही दु: आँसुसँगै बग्न दिनुपर्छ, यस्तो बेला नरुनुस्, रुनुहुन्न भनेर जवर्जस्तीको सान्त्वना दिनु नि ठीक हैन। महिना गर्भमा राखेर हुर्काएको बच्चा जन्मिने दिन आउने बेलामा विनाकारण बित्यो भनेको थाहा पाउदा कुन चै आमाले मन थाम्न सक्लिन् ?

उनी २२ हप्ताकी गर्भवती थिईन्, अचानक पिसाब जसरी नै योनीबाट पानी बग्न थालेपछी उनी अस्पताल आएकी थिईन्। पेट दुख्ने, व्यथा लागेको जस्तो केइ थिएन। मेडिकल भाषामा यस्लाई PPROM Preterm premature rupture of membrane (प्री टर्म प्री मच्योर रप्चर अफ मेम्ब्रेन) भनिन्छ। बच्चा जुन झिल्लीभित्र रहेको हुन्छ, त्यो समयभन्दा अगावै अनी व्यथा नलागिकन फुटेपछी बच्चा रहने पानी (Amniotic fluid/ एम्नियोटिक फ्लुड) बाहिर बगेको थियो। यती सानो उमेरको बच्चा केइ गरेर जन्मेपनी बचाउन गार्हो थियो, यस्तो अवस्थामा गर्न सकिने पनि थोरै नै हुन्छ। इन्फेक्सन नहोस् भनेर एन्टिबायटिक चलाइयो, बच्चाको अवस्थाको जाँचहरु गरियो, बच्चाको डक्टरलाई बोलाएर सम्भावित खतरा, त्यस्को लागि कसरी तयार हुने भनेर काउन्सेलिङ पनि गराइयो। भिडियो एक्सरेमा बच्चा रहने पानी घटेर थोरै भईसकेको थियो, तर धड्कन बाँकी नै थियो। बच्चा राम्रो नहुने निश्चित जस्तो लागेपछी होला एकदिन उन्ले "डाक्टरसाब औषधी लगाएर बच्चा निकालिदिनु, कत्ती बोकेर बस्नु यो टेन्सन" भनेर भनिन्। एउटी आमाले यसो भन्नसक्दा उनमा परेको मानसिक दवावको अनुमान नि लगाउन सकिन्न। परिवारका अरुले पनि "बाँच्न नसक्ने बच्चा आफ्नो पेटमा बोकेर बस्नुपर्दा उस्लाई धेरै चिन्ता ', राती नि सुत्नै सक्दैन" भनेर गुनासो गर्दै थिए। तर मुटुको धड्कन भएको तर सानो त्यो जिउदो बच्चालाई औषधी लगाएर निकाल्नु एक किसिमको हत्या नै हुन्थ्यो। कुर्नु सिवाय कुनै उपाय थिएन। अन्तत त्यो भएरै छाड्यो, एकदिन त्यो धड्कन बन्द भयो, अनी आँफै व्यथा पनि लागेर मरेको बच्चा निस्कियो। उन्ले त्यो बच्चाको अनुहार हेर्न चाहिनन्, शायद सम्झनामा सधैं आइरहला भन्ने डरले होला।

कत्ति दु:खको मात्रै कुरा गर्ने, शिर्षकसँग मेल नखाए पनि एउटा मिठो कुरासँगै लेख टुङ्याउन मन लाग्यो।

उनी दिनभर बच्चा नचलेको भनेर आएकी थिईन्, घरमा दिनभर कोइ पनि थिएन रे, बच्चा अब चल्छ कि अब चल्छ कि भनेर कुर्दै बसेकी थिईन् रे। साँझसम्म नि नचलेपछी श्रीमान पनि कामबाट फर्केपछी दौडिदै अस्पताल आइपुगिन्। उन्को अनुहारमा डर प्रस्टै देखिन्थ्यो। झट्ट सुत्न लगाएर पेटमा स्टेथेस्कोप राखी सुन्दा बच्चाको धड्कन सुनिएन, डप्लर लगाएर खोजियो, तैपनी धड्कन भेटिएन। डर बढ्दै थियो। पछी इमर्जेन्सीबाट अल्ट्रासाउन्ड मेसिन मगाएर हेर्दा बच्चाको मुटु चलिरहेको देखियो, बल्ल मन शान्त भयो, त्यो तनाव हल्का भयो। " हेर्नुस् तपाईंको बच्चाको मुटु चलिर'को" उन्ले भिडियो एक्सरेको स्क्रिनमा हेरेर बरर आँसु झारिन्।


No comments:

Post a Comment