Thursday, June 22, 2017

मिडियाले पीडित मेडिसिन

हुन त सत्य भनेको एउटै हुनुपर्ने हो, तर देखेको कुरा, सुनेको कुरा र वास्तविक कुरा फरक हुनसक्छ। पब्लिसिटी, लाइक्स, शेयरको लागि लेखिने न्युजहरुले त यो फरकलाई झन उदांगो पारीदिएको छ। कतै सुनेको थियो, शहरमा "कोइरालाको मृत्‍यु, कोइरालाको मृत्‍यु" भन्दै पत्रीका बेच्ने केटो दौडदै थियो रे, सबैले लौ गिरिजाप्रसाद कोइराला नै बितेछन् कि क्या हो भनेर पढ्नलाई पत्रीका किन्न थाले, पत्रीका एकै छिनमा सकेर केटो पैसा बटुली हिडि हाल्यो, न्युजको हेडलाइन पनि 'कोइरालाको मृत्‍यु' नै थियो, पढ्दै जाँदा पो थाहा भयो, कता हो ट्र्याक्टर दूर्घटनामा कुन चैं हो कोइराला को मृत्‍यु भएको रहेछ। हुन त त्यसमा लेखिएका हेडलाइन, समाचार, त्यो केटोले भनेको एक एक कुरा सत्य हो, तर समाचार लेख्ने र मार्केटिङ गर्ने नियत पूरै झुट र गलत हो। अचेल हाम्रा अधिकांश न्युजहरु यस्तै हुने गर्छन्, पोल्ला झैं तात्तातो, छिनभरमै आगोसरी फैलने, पत्रीका र पत्रकारलाई क्षणिक पब्लिसिटी दिने तर साधारण मान्छेको मनमा लामो समयसम्म त्यसको असर रहिरहने।

स्वास्थ्य यसै पनि संवेदनशील क्षेत्र हो, तर यहाँ संवेदनशीलता स्वास्थ्यकर्मीहरुबाट मात्र खोजिन्छ। सिस्टममा रहेर विरामी जाँच हुनुपर्नेमा आफ्नो मात्र विरामीको छिटो र राम्रो हुनुपर्ने, आफ्नो विरामीको जे पनि इमर्जेन्सी, अलिकती ढिलो, नसोचेको भयो भने लापरवाही, अनि तोडफोड, हातपात, त्यसपछी मिडियाको सनसनीपूर्ण रिपोर्टिङ, कसरी मार्यो अस्पतालले विरामी, लुटेरा अस्पताल, डाक्टरको लापरवाहीले विरामीको ज्यान गयो आदी आदी। हुन त जमाना यसैको छ, फेसन यसैको चलेको छ। लापरवाहीले विरामीको मृत्‍यु भनेर समाचार लेख्नुस्, छिनभरमै हजारौं पटक पढिन्छ, शेयर हुन्छ र सयौंले डाक्टर, नर्स र अस्पताललाई पढ्नै नसकिने गाली बर्षाउछन्। यस्ता सतही समाचारले स्वास्थ्यकर्मी र विरामी आफन्त बीच रहेको सानो विश्वासको घर पनि ढलाइदिन्छ, अनि उनीहरुले हरेक अस्पताल, हरेक डाक्टरलाई शंकाले हेर्न थाल्छन्।

स्वास्थ्यकर्मी र विरामी-आफन्तबीचको यति ठुलो शंकाको वातावरणमा विरामीको स्वास्थ्यमा सोचेजस्तो परिणाम नआउदा अस्पताल तोडफोड हुनु, स्वास्थ्यकर्मी माथि हातपात हुनु कुनै नौलो कुरा भने हैन। केही दिन अघीको एउटा घटना अहिले खुब चर्चामा छ। '३८ वर्षिया एक महिलाको काठमाण्डौको एउटा अस्पतालमा भएको मृत्‍यु, त्यसपछी अस्पतालको तोडफोड र मिडियाको रिपोर्टिङ।'

उक्त न्युजको हेडलाइनमा लेखिएको छ, चिकित्सक भन्छन् "रोगको पहिचानमा हामी झुक्कियौं", प्रिन्ट पेपरको हेडलाइन छ "रोगको लक्षण पहिचानमै झुक्किए चिकित्सक" जुन कुरा एकदम सहि हो। अब कुरा आउछ, एउटा चिकित्सक झुक्किनु उसको लापरवाही हो कि हैन? चिकित्सक मान्छे हो, उसले पढेको, देखेको, सिकेको आधारमा उसले कुनै पनि विरामीको समस्या सुनेर, आफूले जाँचेर, ल्याबमा परिक्षण गरेर यो हुने सम्भावना धेरै छ भनेर उपचार थाल्छ। त्यसैले कुनै पनि डाक्टरलाई "के तपाईं १००% कन्फर्म हुनुहुन्छ कि मेरो रोग यही हो?" भनेर सोध्नुस्, धेरैजसो अवस्थामा उसले "१००% कन्फर्म हुँ" भन्न सक्दैन। चिकित्साशास्त्र अंकगणित हैन, २ र २ जोड्दा सधैं ४ हुने न त यो ज्योतिषशास्त्र नै हो कि यो विरामी निको हुन्छ, यो हुँदैंन भन्ने। 
यो सुनेर तपाईं डराएर सोध्नुहोला, "त्यसो भने डाक्टरहरुले त अन्दाजमा पो औषधी चलाऊने रहेछन्!" 
हो, चिकित्सा शास्त्रमा धेरैजसो अवस्थामा उपचारको शुरुवात 'अन्दाज'मै गरिन्छ, तर यो हचुवाको 'अन्दाज' भने हुँदैंन। विरामीको समस्या सुनेर, जाँचेर सबै प्रमाण जुटाएर आफ्नो ज्ञान र अनुभवको प्रयोग गरी त्यो 'अन्दाज' लगाइएको हुन्छ, जसलाई मेडिकल भाषामा 'प्रोभिजनल डायग्नोसिस' भनिन्छ, यो धेरैजसो अवस्थामा सहि हुन्छ तर सधैं हुँदैंन। 
"त्यसो भने मेरो उपचार गलत भईरहेको हुनसक्छ?" 
अहिलेको अवस्थामा विरामीलाई दिईने समय, जाँच गरिने ल्याबहरुको अवस्था सबैलाई नहेरेर सबै सहि गर्दा पनि रोगको सहि पहिचान नभएको हुनसक्छ। 
"यो स्थिती त निकै भयावह हो त!" 
"हैन, संसारभर नै विरामीको उपचार यसरी नै गरिन्छ, 'प्रोभिजनल डायग्नोसिस' बाट उपचारको थालनी गरेर सकेसम्म 'फाइनल डायग्नोसिस'मा पुग्ने हरसम्भव प्रयास गरिन्छ, जुन सधैं सफल नहुनसक्छ। किनभने रोग सधैं सजिलै चिनिन सकिने लक्षणहरु लिएर प्रस्तुत हुँदैन र प्राय: नदेखिने लक्षणहरु नसोचेको उमेर समूहमा जाँचमा नदेखिने गरी प्रस्तुत हुँदा झुक्किनु स्वाभाविक हो, कुनै पनि स्वास्थ्यकर्मीले आफ्नो ज्ञान, सीप, अनुभवको पूरा प्रयोग गरी उपचार गरेको छ भने यसलाई लापरवाही भन्न कदापी मिल्दैन। त्यसैले 'डाक्टर झुक्किए' भनेर हेडलाइनमा जुन तरिकाले डाक्टरले लापरवाही गरे भनेर भन्न खोजिएको छ, त्यो एकदम गलत छ।


अब न्युजको कन्टेन्टको कुरा गरौं।

जहिले पनि यस्तो न्युज पढ्दा 'विरामी हिंडेर अस्पताल गएको' भनेर भनिएको हुन्छ। हिड्दैमा विरामीको अवस्था ठीक थियो भन्ने हुन्छ र? रगतको मात्रा २-३ मात्र (हुनुपर्ने ११-१२) भएका विरामी पनि हिंडेर आउनसक्छन्। प्रेसर २००/१३० भएका विरामी पनि हिंडेको देखेको छु। थर्ड डिग्री हार्ट ब्लक (मुटुको तारहरुमा पूर्ण गडबडी) भएका विरामीहरु नि हिंडेर आएको भेटेको छु। त्यसैले यो 'हिडेर आएको विरामी' भन्दैमा सामान्य हुन्छ भन्ने भ्रम नराखेको राम्रो, मूख्यरुपमा आफूलाई 'मेडिकल जर्नालिस्ट' भनेर चिनाउने साथीहरुले।

'विरामी उठ्न खोज्दा अचानक बेहोस (मल्टी अर्गान फेल) भएर ढल्नुभयो'

यो वाक्य पढ्दा कुनै पनि मेडिकल विधार्थीलाई हार्ट अट्याक आउन बेर छैन। एक त बेहोस हुनु भनेको मल्टी अर्गान फेल हुनु हैन, अर्को 'मल्टी अर्गान फेल' भन्ने कुरा अचानक हुने कुरा हैन। त्यसैले यो वाक्य पूरै गलत छ। कुरा नबुझी लेख्दा यस्तै हुन्छ। उहाँलाई कसले यस्तो कुरा बुझाईदिएको हो थाहा भएन।

मुटुको विरामीलाई ग्यास्टिकको उपचार, किन मुटुको विरामीलाई घण्टौं ग्यास्टिकको औषधी दिएर राखेको भनिएको छ।

कुनै पनि घटना घटिसकेपछी पछाडि फर्केर कमेन्ट गर्न सजिलो हुन्छ, तर शुरुको अवस्थामा यो यही नै हो, यो तरिकाले उपचार गर्दा सहि हुन्छ भनेर सधैं १००% सहि कदम चाल्न असम्भव छ। किनकी अस्पतालमा डाक्टर, नर्स बस्छन्, जो मान्छे हुन्, भगवान हैनन्। संसारको कुनै पनि अस्पतालले सतप्रतिशत विरामी बचाउन सकेको छैन, डाक्टरको जतिसुकै नाम चलेको किन नहोस्, कुनै न कुनै अवस्थामा उ चुकेको हुन्छ नै। यसलाई मानवीय गुण भनौं वा कमजोरी। हो यो कमजोरी वा गुण, अवगुण जे भने पनि, को कारणले विरामीको गलत उपचार हुनजान्छ, कतिपय बेला ज्यानै जाने पनि हुनसक्छ, तर यो शुन्यमा झार्न असम्भव छ, किनकी हामी मान्छे हौं। पढाई, तालिम, ज्ञान, अनुभव तिखार्दै, सिस्टमका अन्य अंगहरुलाई पनि चुस्त बनाउदै लगेर यो कमजोरीलाई सकेसम्म कम गर्दै लाने भन्ने हुनुपर्छ तर हुँदैं हुँदैन भन्ने ग्यारेन्टी कसैले पनि दिन सक्दैन। यसो भनेर मैले जानीजानी गरिने लापरवाही, गल्तीहरुको समर्थन गरेको भनेर नसोच्नुहोला। अर्को कुरा न्युजमै भनिए अनुसार विरामीको मृत्‍यु भर्ना भएको २ घण्टाभित्रमै भएको भनिएको छ। अनि फेरी विरामीलाई घण्टौं ग्यास्टिकको औषधी चलाएर राखियो भन्ने प्रश्न नै उठ्दैन।

हुन त लेख अनुसन्धानमुलक हैन, तर पनि यति संवेदनशील विषयमा सतहीरुपमा 'यसरी भयो विरामीको मृत्‍यु' भनेर लेखिएकोमा कुनै पनि स्वास्थ्यकर्मीलाई चित्त नबुझ्नु स्वाभाविक हो। विरामीको मृत्‍युको कारण पत्ता लगाउने वैज्ञानिक तरिका पोस्टमार्टम हो, जुन हाम्रोतिर कमै गरिन्छ। यस्ता विवादास्पद मृत्‍युहरुमा कारणको सहि पहिचान गर्न पोस्टमार्टम गर्नु जरुरी हुन्छ। तर नियम र कानुन कमजोर भएको हाम्रो देशमा भिड र हुलले तुरुन्त फैसला गर्छ, दोषी को भनेर, मिडियाले लेख्छ कसको लापरवाही भनेर, अनि सजायको रुपमा तोडफोड शुरु हुन्छ, हातपात शुरु हुन्छ, लाशको मोलमोलाई शुरु हुन्छ। खै कहिले होला यो अवस्थाको अन्त्य?

मैले यहाँ सो अस्पताल वा त्यहाँका डाक्टर लगायत स्वास्थ्यकर्मीहरुले गल्ती गरेका छैनन् भन्न खोजेको हैन। म त्यो भन्न सक्ने अवस्थामा पनि छुईनँ, किनभने मैले उक्त घटना आफूले देखेको हैन। घटना भित्रको 'डिटेल्स' त अनुसन्धान गरियो भने थाहा होला तर जती र जसरी मिडियामा प्रस्तुत गरिएको छ, त्यतीका आधारमा मात्र भन्ने हो भने चैं यसमा लापरवाही भएको देखिदैन। एउटा मेडिकल अफिसरले न्युजमा लेखिए जती र जसरी उपचार गरेको हो भने त्यसलाई सहि मान्नुपर्छ। त्यसो भने हरेक हार्ट अट्याकलाई ग्यास्टिकको औषधी दिदै राखे भो त?" भन्नुहोला। यसको जवाफमा "त्यसो भने हरेक पेट छाती दुखाइलाई इसीजीमा नर्मल आएपनी हार्टअट्याक मान्दै गंगालाल र टिचिङ रिफर गरिदिनु उचित होला? हार्ट अट्याक प्राय: नहुने उमेर समूहका महिलालाई पनि पेट छाती दुख्यो भने हार्टअट्याक हुनसक्छ भन्दै त्यसको औषधी चलाइहाल्ने, इकोकार्डियोग्राफी र एन्जियोप्लास्टी गरिहाल्ने बानी बसाउनु उचित होला?" भन्छु। इसिजीमा हार्टअट्याक नदेखिनसक्छ तर इसीजीले नदेखाउने भन्दा देखाउने हार्टअट्याक धेरै बढी हुन्छ। र दु:खका साथ भन्नुपर्छ यही प्रोबाबिलिटीपोसिबिलिटीका आधारमा चिकित्सा क्षेत्र चलेको हुन्छ र यो अनुभवी र ज्ञानको आधारमा गरिने 'अन्दाज' ले नै धेरै धेरैको ज्यान बचाएको हुन्छ।

अन्त्यमा,

हामीमा पनि कमिकमजोरी प्रशस्त छन्, च्याउसरी खुलेका प्राइभेट मेडिकलहरु कत्तिको स्तरिय छन् कसैलाई थाहा छैन, राम्रा नाम चलेका अस्पतालमा पनि बढ्दो भिडका कारण डाक्टर लगायत स्वास्थ्यकर्मीले विरामीलाई पर्याप्त समय दिन सकेका छन् छैनन् कसैको चासोको विषय भएको छैन, हाम्रा ल्याबहरु कत्तिका भरपर्दा छन् थाहा छैन, औषधीहरु कत्तिको काम गर्छन् थाहा छैन, त्यसमाथी खस्कदो मेडिकल शिक्षा, चिकित्सा क्षेत्रको व्यापारिकरणले समस्या झन बल्झाएको छ। यी समस्याहरुको सहि रिपोर्टिङ गरेर समस्याको वास्तविक चित्र समाजमा प्रस्तुत गर्नुको साटो अलिअली भएको डाक्टर-विरामी बीचको विश्वासको वातावरणलाई पनि धमिल्याउने खालको रिपोर्टिङहरुले मनै अमिलो पारीदिन्छ। कुनै पनि स्वास्थ्य सम्बन्धी न्युज प्रकाशित गरिनु अघी त्यसै क्षेत्रसँग सम्बन्धितलाई एक पटक देखाएर सोधे यस्तो गल्ती हुने थिएन। साथै मेडिकल जर्नालिज्म गर्छु भन्ने पत्रकार साथीहरुलाई सामान्य स्वास्थ्य क्षेत्र र सेवा सम्बन्धी ओरिन्टेसन पनि गराए केही सजिलो होला कि। 

नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनले यसबारेमा केही सोचेको छ?

No comments:

Post a Comment