Friday, July 7, 2017

मिडियाले पीडित मेडिसिन - भाग २


म मिडिया पर्सन हैन, न मैले कोही मिडियापर्सनलाई मिडिया कसरी चलाऊने, पत्रकारिता कसरी गर्ने सिकाउन सक्छु वा सिकाउने हैसियत राख्छु। मात्र एक मेडिकल पर्सन भएको नाताले अन्धाधुन्द र अनियन्त्रित रिपोर्टिङले मेडिकल क्षेत्रको विश्वास गुम्न लागेको देख्दा दु:ख लागेर लेख्छु। मिडियामा कति शक्ति हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो र यही शक्तिको सहि ठाउँमा सहि प्रयोग नगरिए यसले धेरैलाई धेरै नै नराम्रो असर गर्नसक्छ। यो कुरा साधारण पढेलेखेको मान्छेले पनि बुझेको हुन्छ। संसारभर कतिपय मिडिया स्वतन्त्ररुपमा नभएर कसरी कहाँ कुन प्रयोजनको लागि प्रयोग हुने गर्छ भन्ने कुरा मलाई भन्दा धेरै मिडियाका साथीहरुलाई थाहा होला।

हिजोआज नेपाली मिडियामा स्वास्थ्य क्षेत्रका कतिपय कुराहरु सनसनीपूर्ण र पूर्वाग्रही ढंगले आउने गरेका छन्। हुन त यसमा मिडियाको मात्र दोष छैन, मेडिकल क्षेत्रका स्वास्थ्यकर्मीहरु, विरामी, उनका आफन्त, अनि फितलो कानुन र त्यसको अझ फितलो कार्यन्वयन सबैको अलि अलि भूमिका छ।

पहिले प्रभाव र परिणामको कुरा गरौं।

हिजो नेपाली सोसल मिडियामा एउटा खबरले सनसनी मच्चाइदियो। 'पत्थरीको अप्रेसन गर्दा म्रिगौला निकालियोभन्ने शिर्षकमा 'म्रिगौला काण्डभनी नाम दिईएको समाचारले शिर्षक मात्र पढेर कमेन्ट गर्नेशेयर गर्ने र विचार राख्ने नेपाली सोसल मिडिया प्रयोगकर्ताहरुमा हुरी ल्याइदियो।
पढ्नेहरु धेरैजसोले अस्पताल र डाक्टरलाई लापरवाही गरेको, गल्ती गरेको, उनीहरुलाई झुन्ड्याउनुपर्ने, डाक्टरको म्रिगौला निकालेर विरामीलाई दिनुपर्ने आदी इत्यादी विभिन्न खाले गालीहरु गरे। धेरैले न्युजको शिर्षक मात्र पढेर आफ्नो सोच बनाइ डाक्टरले ढुंगाको अप्रेसन गर्दा जानीजानी म्रिगौला निकालेको भन्ने बुझी त्यसलाई सरासर डाक्टरको गल्ती भन्दै गाली गरे। कतिले त्यसमा मसला थपे, म्रिगौला तस्करीको लागि विरामीलाई थाहा नदीई म्रिगौला गायब गरे भनेर दोष लगाए। कतिले यसलाई राजनितीकरण पनि गरिदिए, एमालेको अस्पतालमा यस्तो भो, राजेन्द्र पाण्डेको अस्पतालले यस्तो गर्‍यो। जे मा नि राजनीति घुसाउन सक्ने नेपालीहरुले यसमा नि घुसाउनु घुसाए, माओवादीको अस्पताल भए यस्तो हुन्थ्यो, गोविन्द केसी विरोधमा उत्रन्थे, जुलुस निस्कन्थ्यो आदी आदी। 
साधारण मान्छे त प्रभावित भए भए, उच्च पदमा भएका केहीले पनि मानव अंग बेचबिखन वा तस्करीमा लागेको त हैन भनेर शंका व्यक्त गरे। देशकै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले त ठोकुवा गरेरै भने 'किड्नी नै चोरिने, मानव अंगको खरिद विक्री हुने प्रतिष्ठानको बिषयमा किन मौन बसेको?' उनले यसमा प्रा डा गोविन्द केसीलाई पनि मिसाएर धमिलो पानीमा माछा मार्न खोजे।

कति अनलाइन मिडियाले त सिधै 'मनमोहन मेमोरियल मेडिकल कलेजमा म्रिगौला तस्करी' भन्ने शिर्षकमै न्युज राखी आगोमा घ्यु हैन पेट्रोल छर्कदै आफ्नो वेबसाइटको भ्यु बढाए।

जे होस् समग्रमा भन्दा विरामी र स्वास्थ्यकर्मीबीचको अविश्वासको खाडल बढीरहेको यो बेला हाम्रो देशमा पनि अस्पतालको बन्द कोठाभित्र डाक्टरको मुकुन्डो ओडेर मानव अंग बेचबिखन, तस्करी गर्ने गर्छन् कि क्या हो भन्ने शंका उपशंका गर्न थालियो।







बधाई छ तपाईंहरुलाई, यसलाई सनसनीपूर्ण न्युज बनाएर लेख्ने र छाप्नेहरु तपाईंहरुको उद्देश्य पूरा भयो, नेपाली समाजले नेपाली डाक्टर र अस्पतालहरुलाई थप शंका गर्ने वातावरण मिलाइदिनुभयो।

यो त भयो प्रभाव र परिणामको कुरा। अब कुरा गरौं, यो केही मिडियाहरुमा आएका न्युजको जसले समाजमा यो प्रभाव बनाउन भूमिका खेले।

धेरै मिडियाले 'मनमोहन अस्पतालमा पत्थरीको अप्रेशन गर्दा म्रिगौला निकालियो' भनेर न्युज लेखे। कतिले यसलाई 'म्रिगौला काण्ड' भन्ने राम्रो नाम पनि दिए। हरेक न्युज यसरी शुरु गरिएका छन् कि अस्पताल र डाक्टरले अप्रेसन गर्दा गल्ती गरेर म्रिगौला निकाले र त्यसको ढाकछोप गर्न जबर्जस्ती सम्झौता गराए र अहिले यो काण्ड बाहिर आयो। हुन त सबैले आफ्नो न्युज ब्यालेन्समा रहेको दुवै पक्षका कुराहरु राखिएको भनेर भनेका छन्, ठानेका छन्, तर शिर्षक देखी नै लेखको नाडी छाम्दा थाहा हुन्छ उनीहरुले अस्पताल र डाक्टरलाई दोषीकै रुपमा समाजको अघी उभ्याईदिएको। यो कुरा यी न्युजहरुको प्रभाव हेर्दा नै थाहा हुन्छ। जुन उद्देश्य राखेर जुन सोच राखेर पत्रकारहरुले लेखेका थिए, त्यो सोच उनीहरुको लेखमा झल्कन्छ र हरेक पाठकको दिमागमा त्यो सोच मिसाइएको छ। 'मान्छेले यसरी कमेन्ट गर्दिन्छन् भने त्यसमा हाम्रो के दोष, हामीले त न्युज दिने हो, बस्' भनेर कसैले भन्छ भने त्यो उ आफ्नो जिम्मेवारीबाट भागेको ठान्छु, एउटा न्युट्रल र सामान्य मान्छेले यी खाले न्युज पढ्दा यही खाले विचार र प्रतिकृया दिने गर्छन् र यी र यस्ता विचार सिर्जना गर्न यी न्युजहरुको ठुलो हात हुन्छ।

न्युजमा सम्झौता पत्र पनि छापिएको छ, जुन पढ्दा न अस्पताल डाक्टरको गल्ती देखिन्छ न म्रिगौला तस्करी गर्न निकालिएको भन्ने बुझिन्छ। त्यसमा प्रष्टसँग लेखिएको छ, 'म्रिगौला सामान्य ठाउँभन्दा तल रहेको र त्यसबाट पत्थरी निकाल्ने क्रममा अचानक अत्यधिक रगत बगी विरामीको ज्यान जोगाउन म्रिगौला निकालिएको'। त्यसमा विरामीको काका लगायत अन्य आफन्तलाई पनि जानकारी गराइएको भनिएको छ र सम्झौता पत्रमा विरामीकी श्रीमतीको सहि पनि छ।


धेरैको शंका उब्जिएको कारण चाँही यो यदी अप्रेसनको जटिलता मात्र हो भने यति धेरै मागहरु किन मानियो, विरामीको म्रिगौला र सो सम्बन्धी समस्याहरुको जिन्दगी भर उपचार, रोजगार दिने, छोराहरुलाई पढाईदिने जस्ता विभिन्न सम्झौताहरु किन गरियो। धेरैले यत्रो सम्झौता गुपचुप गरेका रहेछन् पक्कै पनि अस्पताल र डाक्टरको दोष हुनुपर्छ, नत्र किन मान्थे भन्ने खालको सोच राखेको देखिन्छ। जुन स्वाभाविक पनि हो, तर सत्य के हो सम्झौतामा हस्ताक्षर गर्नेहरुलाई मात्र थाहा होला। ती सम्झौताको आधारमा मात्र लापरवाही गरी म्रिगौला निकालिएको, म्रिगौला तस्करी गरेको भन्ने प्रमाणित भएको मान्नु कागले कान लाग्यो भन्दै कानै नछामी कागको पछी दौडनु हो। अब त स्थिती कस्तो अाइसक्यो भने हिजो पत्रकार सम्मेलन गरेर के भएको थियो भनेर अस्पताल र सर्जनले भनिसकेपछी पनि मान्छेहरु 'यस्तो कुरा नि कहाँ प्रमाणित हुन दिन्छन् त, फेरी झुटो बोलेर ढाकछोप गर्न थाले' भन्दै पूर्वाग्रही सोच लिएर उफ्रन थालेका छन्। दोष लगाइएकै आधारमा झुण्ड्याउन तयार छन्।

मिडिया र धेरैजसोले यी सम्झौताहरु 'पीडित'लाई फकाउन गरिएको भनेर निर्क्यौल निकालेका छन्। तर यहाँ पीडित म्रिगौलाको पत्थरी निकाल्न जाँदा म्रिगौला निकाल्नुपरेका विरामी हुन् कि पत्थरीको अप्रेसन गर्दा अचानक रगत बग्दा म्रिगौला निकालेर भएपनि विरामीको ज्यान जोगाएका डाक्टर जो लापरवाह डाक्टर र म्रिगौला तस्करसम्मको उपाधी भिराईएर समाजको सामू उभ्याईए? यो निस्पक्ष अनुसन्धान भएपछी मात्र पत्ता लाग्ला। तर बेथितीले भरिएको देशमा मान्छेहरु छानवीन समिती बनाएर रिपोर्ट निकाले पनि पत्याउदैनन् र आफ्नो सोच अनुसारको रिपोर्ट नआए 'यस्तै हो यहाँ, गरिवको म्रिगौला चोरिन्छ, नेताहरुलाई के मतलब' भन्छन्। के मेडिकल घटनाहरुमा, जटिलताहरुमा सधैं पीडित, पिडक हुन्छन् नै? विरामीलाई सानो भन्दा सानो अप्रेसन गर्दा पनि ज्यान जानसक्ने सम्म जटिलताहरु आउनसक्छन्, थोरै भए पनि सम्भावना रहन्छ, अनि त्यस्तो जटिलता देखियो भने उपचार गर्ने स्वास्थ्यकर्मीलाई 'पिडक' को बिल्ला भिराउन मिल्छ? सामान्य भनिएका सूईहरु लगाउदा पनि ठुलो रियाक्सन 'एनाफाइलाक्सिस' भएर विरामीको ज्यान जान सक्छ, त्यो अवस्थामा के स्वास्थ्यकर्मीलाई 'पिडक' भनेर उपाधी दिन मिल्छ?


'पत्थरीको अप्रेसन गर्दा म्रिगौला निकालियो' 'पत्थरीको अप्रेसन गर्दा म्रिगौला निकाल्नुपर्‍यो' मा आकाश जमिनको फरक छ र यही एउटा शब्दले कहाँको कुरा कहाँ पुर्याइदियो। शिर्षकमै 'निकालियो' 'विरामीको जीवनसँग खेलबाड' राखेपछी भित्रको लेख जती नै सन्तुलित राखे नि त्यसले गर्ने असर गरिसकेको हुन्छ। 

अब के गर्ने त?


यस्तो संवेदनशील विषयमा सामाजिकरुपमै यत्रो बहस चलिसकेपछी अस्पतालले पत्रकार सम्मेलन गरेर मात्र यसलाई सामसुम पार्नु उचित हुन्न। पहिले पनि 'नक्कली डाक्टर' भन्दै समाए, मिडियामा बेइज्जती गरे, पछी अदालतले 'नक्कली' हैन भन्दै छोड्दै गयो। प्रहरीले हावाहावामा १२०० नक्कली डाक्टर छन् भन्दियो, सनसनी मच्चाइदियो। नेपाली डाक्टर र विरामीबीचको अविश्वासको खाडल झन बढाइदियो, केस सेलायो र शंका रहिरह्यो। अब भने स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, प्रशासन, प्रहरी मिलेर समिती बनाइ यो घटनाको छानवीन गरी सत्य तथ्य निकाल्नुपर्छ। दोषी देखिए डाक्टर र अस्पताललाई कार्वाही गर्नुपर्छ र यदी अप्रेशनको जटिलताले गर्दा ज्यान जोगाउन त्यसो गरिएको प्रमाणित भए अनाहकमा दोष लगाउने विरामी र उसका आफन्तलाई अदालतमा उभ्याउनुपर्छ, साथमा लहैलहैमा लागेर वा विभिन्न उद्देश्य राखेर समाजमा भ्रमको खेती गर्ने र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सतहीरुपमा सनसनी फैलाउने हिसाबले रिपोर्टिङ गर्नेहरुलाई पनि कठघरामा उभ्याइनुपर्छ। टुंगोमा नपुर्याइ सामसुम भएमा अहिलेलाई त हराउला तर जनताको दिमागमा बस्दै थुप्रदै गएको शंकाले कुनै दिन ठुलो क्षति पुर्याउछ।

No comments:

Post a Comment