Showing posts with label Doctor patient relationship. Show all posts
Showing posts with label Doctor patient relationship. Show all posts

Sunday, November 17, 2013

एउटा डाक्टरको आत्मविश्लेषण

१८ हजारभन्दा धेरैपटक सेयर गरिएको अनि ३ सयभन्दा धेरै कमेन्ट गरिएको कमला थापाजीको लेख ‘डा. भगवान, जवाफ देउ, मेरो बच्चा कसरी मर्‍यो?’ पढेपछि लाग्यो- “यत्ति धेरैले हामी चिकित्साकर्मीहरुको व्यवहारमा, काम गर्ने शैलीमा असन्तुष्टि देखाउँदा समर्थन जनाए, आफ्ना कटु अनुभवहरु पनि त्यसैमा थपेर सुनाए भने पक्कै पनि हामीमा केही खोट त छ।” अनि बसें, आफू र आफ्नै पेशाकर्मी साथीहरुको चिरफार गर्न।

कसैले तपाईंको व्यवहार, कामको पद्दति, विश्वसनीयतामाथि प्रश्न उठाउँछ भने के गर्नुहुन्छ? त्यसको गतिलो जवाफ दिनुहुन्छ, त्यसलाई चुप लगाउने प्रयास गर्नुहुन्छ। तर धेरैले धेरैपटक त्यसो गरे भने के गर्नुहुन्छ? त्यो बेलामा धेरैलाई चुप लगाउनुको साटो आफूमै पो केही कमजोरी छ कि, गल्ती मेरै पो हो कि, त्यसलाई सुधारेर आफू कसरी राम्रो, विश्वसनीय बन्ने भनेर आत्मविश्लेषण गर्नुपर्छ, गर्न जरुरी हुन आउँछ।

चिकित्सा पेसा र हामी स्वास्थ्यकर्मीमाथि व्यवहार राम्रो नभएको, विरामीप्रति संवेदनशील नभएको, सेवाको पेशालाई व्यापारीकरण गरेकोदेखि बिरामीको ज्यानमाथि खेलबाड गरेको, लापरवाही गरेर ज्यान लिएकोसम्मका आरोपहरु विगत केही वर्षदेखि लाग्ने गरेका छन्। यो क्रम घट्दो हैन, बढ्दो छ। तर पनि यो कम गर्न, यस सम्बन्धी कारबाही गर्न गम्भीरतापूर्वक काम भएको देखिँदैन। गल्ती हुँदै नभएको, सिस्टमको कमजोरी, अर्काको गल्ती, अरु विविध कारणहरुलाई एकातिर थाती राख्ने हो भने हामीमा भएको कमजोरीका घटना पनि प्रसस्तै देखिन्छन्। आउनुहोस्, आज हामीमा भएका केही कमजोरीहरुको कुरा गरौं, आत्मविश्लेषण गरौं, हामीप्रति उठेका शंका, अविश्वास, दोषका आवाज मनन गरेर हामी आफू कति ठीक कति बेठीक छौं भनेर चिन्तन गरौं। यो अविश्वासको वातावरण कम गर्नेतर्फ एक कदम अगाडि बढौं।

हामी घमण्डी छौं
हो, हामी धेरैजसो घमण्ड गर्छौ, डक्टर हुनुमा, नर्स हुनुमा, आफ्नो पेशाको कारणले गर्दा अरुभन्दा अलिकति भए पनि माथि रहेको सोच्छौँ। अलि अलि घमण्ड ठीक पनि हो तर यो व्यवहारमै देखिने गरेर, हामी र विरामीबीचको सम्बन्धमै असर पर्ने गरेर हुनु हुँदैन। सायद वर्षौंदेखि र अहिले पनि कति ठाउँमा डक्टरलाई भगवानसँग तुलना गरिने, समाजमा माथिल्लो दर्जामा राखेर हेरिने अनि सामान्यतया सम्पन्न घरको वा डाक्टर भएपछि सम्पन्न हुने भएकोले पनि यो घमण्ड रहेको हुनसक्छ। तर वास्तवमा पेशाले नै कोही ठूलो वा सानो हुने त हैन नि। व्यवहार सम्मानजनक हुनुपर्‍यो, काम त्यस्तो गर्नुपर्‍यो। अनि डाक्टर भनेका त बिरामीका साथी जस्तो हुनुपर्ने हो, जसले उसको स्वास्थ्यमा परेको समस्या नजिकबाट बुझेर त्यसलाई कम गर्न आफ्नो अनुभव, ज्ञान प्रयोग गर्छन्। बिरामी र डाक्टर, नर्स एउटै लेबलमा रहनुपर्‍यो, सेवा लिन आएको भनेर उ सानो हुने र उनीहरुलाई हाम्रो जरुरत छ भनेर हामी ठूलो हुने हैन।

बिरामी र बिरामीको परिवारसँग हामीलाई मिठो बोल्न, राम्रो व्यवहार गर्न आउँदैन
हो, मिठो बोल्ने डाक्टर मैले पनि कमै देखेको छु। तनावको वातावरणमा काम गर्नुपर्ने, माग अनुसार जनशक्ति नभएकाले कामको लोड अत्याधिक भएकोले, काममा सन्तुष्टि नभएकोले हो कि धेरैजसो डक्टर, नर्सहरु बिरामीहरुसँग झर्केको नै देखिन्छन्। बिरामीहरु पनि रिसाइ पो हाल्छन् कि, केही भनी पो हाल्छन् कि भनेर डाक्टरहरुसँग सजिलै बोल्न सक्दैनन् र हच्किन्छन्। केही कुरा चित्त नबुझेर सोध्यो भने "तपाई डाक्टर कि म डाक्टर?" "एउटै कुरा कत्ति सोधेको?", “तपाईंलाई मात्र यस्तो परेको हो र?” भन्ने जवाफ झर्केर आउँछ। थोरै बोल्ने, भेट्न गार्‍हो हुने, सधैं व्यस्त रहने व्यक्ति ठूलो हो भन्ने सोचाइले पनि काम गरेको हुनसक्छ। बरु नर्सहरुसँग बिरामी र उनका आफन्तहरु सहज मान्छन्। उनीहरुसँगै नजिक हुन्छन् पनि। मैले यहाँ व्यवसायिक निकटताको कुरा गरेको हुँ, जुन डाक्टर र उसको बिरामीबीच अलि कमै देखिन्छ।

पछिल्लो पटक टिचिङ अस्पतालको सुत्केरी वार्डमा भएको घटनामा लेखक र उनको परिवारको दु:खप्रति म समवेदना व्यक्त गर्दछु। यस्तो दु:खको बेलामा पनि उत्तेजित नभई स‌ंयम तरिकाले लेखमार्फत प्रस्तुत हुनुभएकोमा उहाँलाई धन्यवाद। यस्ता कुराहरु बाहिर आउनैपर्छ र यिनका बारेमा छलफल गरिनु जरुरी पनि छ। त्यो घटनामा लापरवाही भएको नभएकोबारे मलाई जानकारी छैन तर मेरो अनुभवमा प्राय: गल्ती उपचारमा भन्दा पनि बिरामीहरुसँग त्यसबारे गरिने छलफल, व्यवहार, कुराकानीको तरिका आदिमा हुन्छन्। अनुसन्धानले पनि भनेका छन् कि तपाईं आफ्नो बिरामीसँग राम्रो तरिकाले बोल्नुहुन्छ, राम्रो व्यवहार गर्नुहुन्छ भने तपाईं माथि कानुनी कार्वाही, दोष लाग्ने सम्भावना कम रहन्छ।

९ महिना गर्भमा राखेर अनि अन्तिम समयमा शिशु गुमाउनु पर्दाको पीडा त्यो भोगेको एउटा महिलाले मात्रै अनुमान गर्नसक्छिन्। तर दिनहुँ त्यसता र अझै दु:खद् मृत्यु अनि पीडाका घटना देख्ने हामी डाक्टर, नर्सहरुका लागि त्यो यति सामान्य भइसकेको हुन्छ कि त्यस्तो बेला हामी एकछिन बिरामीसँग बसेर सामान्य दु:खमनाउ गर्न पनि बिर्सन्छौं, सहानुभूति देखाउन भुल्छौं, आफ्नो यो व्यवहारको लागि व्यस्ततालाई मात्र दोष दिनु अलि उचित हुँदैन। त्यो हाम्रो बानी नै छैन, हामीलाई सिकाइएको नै छैन। हामी रोगलाई हेर्छौ, रोगको उपचार गर्छौं, हामीलाई रोगीको के चिन्ता। हाम्रो लागि विरामी एउटा केस हो, उसकै अगाडी बसेर हामी उसकै रोगको बारेमा छलफल गर्छौ, भए भरको नबुझिने मेडिकल शब्दहरुमा कुराकानी गर्छौं, तर बिरामीसँग थोरै बोल्छौं, उसलाई सामान्य शिष्टाचार देखाउन बिर्सन्छौं, मानवीय व्यवहार गर्न भुल्छौं, उसको मनमा के प्रश्न, दुबिधा चलिरहेको होला बुझ्न खोज्दैनौं, जाँचको बेलामा उसको अप्ठ्यारोपन बुझ्दैनौं, प्राइभेसी दिन बिर्सन्छौं, किनकी यी सबै हाम्रा दैनिकी भैसकेका छन्, हामी यसरी नै गर्दै आइरहेका छौं, बिरामीहरुको लागि पो यो पहिलोपटक हुन्छ, नौलो हुन्छ। त्यसैले हामी हाम्रो ठाउँमा बसेर हेर्दा हाम्रा कृयाकलाप, व्यवहार ठिकै लाग्छन् तर एक पटक बिरामीको ठाउँमा बसेर हेर्नुस् त, वा त्यो बिरामीको ठाउँमा आफ्नो मान्छेलाई राखेर हेर्नुस् त, अनि थाहा हुन्छ कि?

हामीलाई बिरामी र उसका आफन्तलाई राम्रो काउन्सेलिङ गर्न आउँदैन
हामी स्वास्थ्यकर्मीहरुको काम मान्छेहरुसँग व्यवहार गर्ने, जिउँदो मान्छेको उपचार गर्ने हो, न कि कुनै भावना, सोचाइ, मन नभएको मेसिनको। त्यसैले उपचार भनेको ठूलाठूला जाँचहरु, महँगा औषधी, अप्रेसन मात्रै हैन। बिरामीको पीडा, भावना, चाहना बुझ्ने, त्यसको सम्मान गर्ने पनि एउटा स्वास्थ्यकर्मीको कर्तव्यभित्र पर्छ।

मैले देखे, सुने, भोगेअनुसार काउन्सेलिङ कसरी गर्ने भनेर हामी मध्ये धेरैलाई थाहा छैन। रोगबारे जानकारी दिने, “यो हुनसक्छ, त्यो हुनसक्छ, ज्यान जानसक्छ” भनेर ठूला ठूला मेडिकल भाषामा बिरामी र उसका आफन्तसँग कुराकानी गर्नु मात्रै काउन्सेलिङ हैन। कहीँ पढेको थिएँ, डक्टरहरुले बोलेको ७०-८०% कुरा सामान्य मानिसले बुझ्दैनन् रे। हामीलाई पो त्यही पढेर आएको ब्याकग्राउन्डमा “यत्ति त बुझिहाल्छन् नि” जस्तो लाग्छ, तर मानव शरीरको सामान्य पनि ज्ञान नभएका विरामी, उसका आफन्तले कसरी बुझुन् तपाईं हाम्रा मेडिकल शब्दावलीले भरिएका कुराकानी।

'आइ सि यु'मा राख्न लाग्दा निमोनिया भ'को विरामीलाई किन ‘आइस’ मा राख्ने, झन चिसोले निमोनिया बढ्दैन र? भन्ने रगतको जाँच भनेको सबै एउटै हो भनि पटकपटक कति जाँच गरेको भनी सोध्ने, मुटु नचलि अन्तिम अवस्थामा पुग्दा छाती थिचेर गरिने सिपीआरलाई ‘झन विरामीको छाती थिचेर मार्यो’ भन्ने जस्ता कैयौं उदाहरणहरु छन्। विरामीले हाम्रा कुरा, काम गर्ने तरिका बुझ्दैनन् र हामीले चाहिने जति बुझाउन सकेका छैनौं। तपाईंले काउन्सेलिङ गरेपछि एक पटक सोध्नुस् त "ल भन्नुस् तपाईंले के के बुझ्नुभो” भनेर। तपाईंले बोल्दा "हजुर हजुर" भनेर धेरैले टाउको हल्लाए पनि प्राय:ले के बुझे भनेर भन्न सक्दैनन्।

हाम्रो बोलीमा 'इम्प्याथी' हुँदैन। "मैले तपाईंको दु:ख बुझेको छु, हामी सबै तपाईंको, तपाईंको बिरामीको लागि सक्दो प्रयास गर्दैछौं, गम्भीरतापूर्वक लागि पारेका छौं" भनेर हामीले बोलिमा अनि व्यवहारमा पनि देखाउन सकेका हुन्नौं। "बिरामीको अवस्थामा खासै सुधार छैन, मुटुको धड्कन बढी छ, प्रेसरको लागि औषधी चल्दैछ, पिसाब राम्रो भ'को छैन, होस ठीक छैन, अझै केही दिन भन्न सकिन्न।" हाम्रो काउन्सेलिङ यस्तो हुन्छ। अरे, बिरामी मेसिन हो र, उसको बारेमा यसरी जानकारी दिन? कि हामीले मेसिन बनाइदियौं? सबैभन्दा मानवता हुनुपर्ने भनिने पेशामा खै हाम्रो मानवीय स‌ंवेदना ? कृपया यसको लागि व्यस्ततालाई मात्र दोष नदिनुहोला। मान्नुस् यो हामीलाई आउँदैन, यो हामीलाई सिकाइएकै छैन। र सिक्नु, जान्नु जरुरी छ।

दोष मात्र देख्यो भन्नुहोला तर नर्सिङ क्षेत्रमा पनि बिरामीसँग नराम्ररी बोल्ने, गाली गर्ने, जति बोलाँउदा नि नहेरिदिने, रुखो व्यवहार गर्ने जस्ता घटनाहरु मैले देखेको, सुनेको र भोगेको छु। तपाईंलाई कामको लोड होला, एक जनाले १०-२० जना बिरामीलाई औषधी दिने, पल्स, प्रेसर लिने, वार्डका अरु बिभिन्न काम गर्नुपर्ने होला तर त्यो अत्यधिक लोडको रिस तपाईंले बिरामीमाथि पोख्न पाउनुहुन्न। बरु हामीलाई काम गर्ने मान्छे पुगेन, लोड बढी भयो भनेर व्यवस्थापनलाई भन्ने हो। (हुन त माथिका ले पनि सुनिदिए पो, त्यो समस्या आफ्नै ठाउँमा छ।) लोड नै भएपनि मिठो बोलिरहेका, मज्जाले खटिरहेका, तैपनि मुस्काइरहेका नर्सहरु पनि मैले देखेको छु। त्यसो भए तपाईं चाहिँ किन फरक नि, तपाईंलाई मात्र त्यसो गर्न केले रोक्ने नि? हो यसमा आँउछ आत्मविश्लेषणको कुरा, मैमा पो केही खराबी छ कि, मैले सुध्रिनुपर्छ कि भन्ने कुरा।

हामी पैसाको पछि दौडेका छौं, सेवाको पेशालाई व्यापार बनाएका छौं
यो दोष पनि हामीले स्विकार्नैपर्छ, चिकित्सापेशाको हिजोआज व्यापारिकरण भएकै हो। एमडी सम्मको पढाईमा एक, डेढ करोड नै लगानी गर्नुपर्ने भएपछि पढाइ सकेर काम गर्दा जस्को पनि उद्देश्य त्यो लगानी उठाउने नै हुन्छ, त्यो स्वाभाविक नै हो। तर व्यापारीकरणको सिमाले मानवताको परिधि नाघ्नु भएन। सक्ने बिरामी त ठिकै छ खर्च गर्छन् नसक्ने, नभएका बिरामीलाई नि किनबेच गर्ने (प्राइभेटमा रिफर गरेर चर्को फी असुल्ने), रेगुलर ओपिडीमा राम्रोसँग नहेरी पेइङमा बोलाउने, क्लिनिकमा पठाउने, रेगुलर अप्रेसनमा सकेसम्म थोरै गर्न खोज्ने, चर्को मूल्य तिराएर पेइङ अप्रेसन गराउन लाउने, कमिसनका आधारमा महँगा औषधी, महँगा जाँचहरु गराउन लाउने जस्ता कामहरु हामी डाक्टरहरुबाट नभएका हैनन्। हुन त दुधले नुहाएको को होला र? “अरुले गरेका छन् भने हामीले चैँ किन गर्न नहुने” भन्नेहरु पनि होलान्। तर अरुले गलत गर्‍यो भन्दैमा आफुले पनि त्यस्तो गर्नुलाई जायज मान्नु कतिसम्म ठीक हो, आफैँ विचार गर्नुहोला।
मलाई एक जना साथीले ट्विटरमा सोध्नुभएको थियो, के तपाईं दिनको २-४ जना बिरामी फ्रीमा हेर्न सक्नुहुन्छ? पर्‍यो भने २-४ जना मात्रै हैन, १०-१२ जना पनि हेर्नसक्छु तर मैले बिरामी जाँचेर मात्रै रोग निको हुँदैन, औषधी किन्नुपर्‍यो, जाँच गर्नुपर्‍यो। चिकित्सासेवा भनेको जोइन्ट एफोर्ट हो, त्यसैले नि:शुल्क सेवा दिने, सेवामा छुट दिने कुरा सिस्टम र नियमको माध्यमबाट आएको राम्रो। मेरो एकजना साथीले आफूले बिरामी हेरेर उस्को उपचारमा आफूले अर्को डाक्टरलाई रिफर गर्नु बाहेक खासै उपलब्धिको काम गर्ननसकेको भनेर आफ्नो ओपिडी टिकटको पैसा नै फिर्ता दिएको पनि देखेको छु। सबैलाई यस्तै हुनुपर्छ भनेर म भन्दिन, तर सेवा, मानवता र व्यवसायको सन्तुलन हुनु जरुरी छ, हाम्रो पेशामा।

अन्त्यमा, एउटा इन्जिनियरमा, एउटा सरकारी कर्मचारीमा, एउटा प्राइभेट कर्मचारीमा, एउटा नेतामा, एउटा कलाकारमा, एउटा पत्रकारमा, एउटा व्यापारीमा, एउटा किसानमा, एउटा मजदुरमा, एउटा विरामीमा, एउटा विरामीको कुरुवामा र समग्रमा भन्दा एउटा मान्छेमा जे जे कमी, गुण, अवगुण हुन्छन् ती सबै हामीमा पनि छ, किन कि हामी नि मान्छे हौं। तर कमजोरी हुनु नराम्रो कुरा हैन, कमजोरी छ भनेर स्वीकार नगर्नु, त्यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर नसोच्नु, त्यसको लागि काम नगर्नु चाहिँ बरु ठीक हैन। आउनुहोस् साथीहरु, हामी आफूमा भएका कमजोरीहरुलाई स्वीकार गरेर सुधारको लागि पाइला चालौं। मेरो आफ्नै एउटा पूरानो लेख 'डाक्टर भगवान हैन' भन्नेबाट मलाई मनपरेको एउटा वाक्य यहाँ लिन्छु, 'हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं।' कृपया हामीलाई भगवान नबनाउनुस् र दानव पनि नबनाइदिनुस्, किनकि हामी दुवै हैनौं।

आशा छ यो लेखले हामी चिकित्साकर्मीहरुलाई आफू आफूमा आत्मविश्लेषण गर्न, म कति ठीक छु म कति बेठीक छु भनेर आफैँले मुल्याङ्कन गर्न अभिप्रेरित गर्छ। किनकि आत्मविश्लेषण नै अगाडि बढ्न पहिलो कदम हो। अनि अरुको हामीप्रति हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउला कि?

सेतोपाटीमा यो लेख 'बच्चा गुमाएकी आमाको प्रश्नपछि टिचिङकै डाक्टरको आत्मविश्लेषण: हो, हामी घमण्डी छौं' शिर्षकमा छापिएको थियो। 
बाँकी पढ्नुहोस् >>

Saturday, July 13, 2013

यही कुराको डर थियो, जुन अहिले भैरहेको छ।

यही कुराको डर थियो, जुन अहिले भैरहेको छ।

हुन त यो अगाडीदेखी भैरहेको कुरा हो, समाचारमा मात्रै नआ'को हो। अली अली पहिले नि हुन्थे तर अहिले बढेको चै 'रियाक्सनरी' व्यवहार हो। विरामी अस्पतालमा ठीक हुनैको लागि आउछन्, तर सबै विरामी ठीक पार्नसक्ने ग्यारेन्टी न कसैले दिन सक्छ र न कसैले सबैलाई ठीक पार्न नै सक्छ। त्यो असम्भव कुरा हो। विरामीको रोग अनुसार, अवस्था अनुसार उपलब्ध औषधी, प्रबिधी प्रयोग गरी सन्चो बनाउन सक्दो प्रयास गर्ने को चै बरु ग्यारेन्टी दिन सकिन्छ र दिनु पनि पर्छ। तर हिजो आज अस्पतालमा हुने हरेकजसो विरामीको मृत्‍युमा डक्टर र नर्सको लापर्वाही देख्ने र अस्पतालसँग क्षतिपूर्तीको लागि दवाव दिने नराम्रो चलन बसेको छ, त्यसैको प्रतीकृयात्मक व्यवहारमा यो देखिन थालेको हो।

कुरा एकदम सिधा छ, प्राइभेट नर्सिङ होम, अस्पतालहरु नाफाका हिसाबले खोलिएका हुन्, पैसा लिन्छन् अनी सेवा दिन्छन्। अनी त्यस्मा नि हिजोआज विरामीलाई केइ भैहाल्यो कि अस्पताल तोडफोड गर्ने, डक्टरको लापर्वाही देखीहाल्ने कुसंक्रितीका कारणले जो कोही नि सिकिस्त विरामी आफ्नो अस्पतालमा भर्ना गरेर रिस्क लिन चाहन्न। कस्लाई पो जानीजानी खतरा मोल्ने इक्षा हुन्छ र? त्यसैले त सानो भन्दा सानो समस्याको लागि नि विरामीहरु काठमान्डौ रिफर गरिन्छन्। विरामीलाई डक्टर र अस्पतालप्रती विश्वास छैन, डक्टरले नि रिस्क आफ्नो टाउकोमा किन लिओस्। साधारण ज्वरोका विरामी ३-४ दिन ठीक भएन भने काठमान्डौ दौडाइन्छन्, साधारण अप्रेसन नि “हैन राम्रो ठाउँमै लानुपर्छ, यहाँको त भरै छैन” भनी राजधानी कुदाइन्छन्। जस्तोसुकै सानो समस्याको लागि नि वरीष्ठ विशेषज्ञको खोजी हुन्छ। टाउको दुख्यो भने न्युरोलोजिस्ट, पिसाब पोल्यो युरोलोजिस्ट, छाती दुख्यो कार्डियोलोजिस्ट, खोकी लाग्यो पल्मोनोलोजिस्ट। अनी सानोसानो समस्यामा नि “के हो, के हो गरौ न” भनेर विरामीहरु नै ठुल्ठुला जाँचहरु गराउन प्रेसर दिन्छन्। टाउको दुख्यो सिटी स्क्यान, लड्यो कि एक्सरे, अझ थर्ड पार्टीले तिरिदिने एक्सिडेन्ट केस हुनुपर्छ, टाउको देखी खुट्टा सबैको एक्सरे, सिटी गराउछन् हिजोआज।

गल्ती दुबै पक्षको हो।

हामीले भरपर्दो विश्वासको बातावरण दिन सकेनौं, विरामी र सेवाग्राहीहरुले हामीलाई विश्वास गर्न सकेनन्। अवस्था अझै बिग्रिसकेको छैन। अस्पतालमा हुने हरेक जस्तो मृत्‍यु लापर्वाहीकै कारण हुँदैन। लापर्वाहीको शंका लाग्छ भने कानुनीरूपमा अघी बढ्नुपर्‍यो न कि तोडफोड गरेर क्षतिपूर्ती असुल्ने मात्रै। अनी आफ्नो, आफ्नो विरामीको रोगको बारेमा सक्दो जानकारी लिनुपर्‍यो, रोग ठ्याक्कै पत्ता नलागेपनी के को शंका गरेर, के ‘प्रोभिजनल डायग्नोसिस’ राखेर कस्तोकस्तो उपचार भैरहेको हो त्यो बुझ्नुपर्‍यो। अस्पताल भर्ना गरेको छ भन्दैमा सबै डक्टर, नर्सलाई छोड्न मिल्दैन। रोग, अवस्थाका बारेमा बुझेर केकस्ता उपचार उपलब्ध छन्, केके गर्न सकिन्छ डक्टरसँग खुलारूपमा सल्लाह गर्नुपर्छ। त्यस्तै डक्टरहरुले नि विरामीको रोग, अवस्थाका बारेमा सबै जानकारी दिनुपर्छ। अहिलेको अवस्था, हुनसक्ने कम्प्लिकेसन, चलिरहेको उपचार आदीको सक्दो जानकारी दिनुपर्छ। यि कुराहरु विरामी, उस्का परिवारले सोचेको जस्तो कम्प्लिट नहुन सक्छ, किनकी सबै ठाउँमा सबै खालका प्रविधी, जाँचहरु हुँदैनन्, सबै डक्टर सबै रोगको विशेषज्ञ नि हुँदैन, त्यसैले आफ्नो लिमिटेसन नि भन्न हिच्किचाउनु हुँदैन। विरामी पक्षले नि यस्लाई पोजिटिभ्ली लिनसक्नुपर्छ न कि अविश्वास बढाउनेरूपमा।

बेलैमा यसमा सबैको ध्यान गएन भने अवस्था झन विकराल हुनसक्छ। अनी विरामी र डक्टरले एक अर्कालाई विश्वासै नगर्ने, ठुला शहर बाहिर विरामिको उपचार गर्नै नसकिने, सानो भन्दा सानो समस्याको लागि नि राजधानी जाने र पठाउने, ठुला शहरका अस्पतालमा थाम्नै नसक्ने भिड लाग्ने अनी प्राइभेट अस्पतालहरुले सिकिस्त विरामी नलिने, अस्पताल् तोडफोड झन बढ्ने हुनसक्छ।


आशा छ, यस्तो बिषयमा यस्को दोष उस्को दोष भन्नु भन्दा नि हामी सबै विश्वासको बातावरण बनाउनको लागि आफ्नो तर्फबाट आजैबाट सक्दो प्रयास गर्नेछौं।
बाँकी पढ्नुहोस् >>

Thursday, July 19, 2012

'आमाको मुटु' पढेपछी..


यो 'आमाको मुटु' पुस्तकको समीक्षा होइन। उक्त पुस्तक पढेपछि मेरो मनमा आएका केही कुराहरु समेटिएर लेखिएको लेख हो। 

हरेक पटक काठमाण्डौं जाँदा कुनै न कुनै किताब किनेर ल्याउने बानी भैसकेको छ, मेरो। यसपाली टिचिङ अस्पतालको जाँच दिन जाँदा मेरो लिस्टमा परेका थिए, 'खान पुगोस् दिन पुगोस्', 'लू' 'आमाको मुटु'। अगाडीका दुई किताब लिस्टमा पर्ने कारण छुट्टै थिए भने 'आमाको मुटु' पर्ने कारण छुट्टै थियो।

'आमाको मुटु'का बारेमा मैले केही दिन अघि मात्र थाहा पाएको थिए। त्यसको विमोचन कार्यक्रममा गगन थापाले भनेका थिए रे "यो पुस्तक पढेर कोही रिसाउँछ भने बुझे हुन्छ त्यो डाक्टर हो।" त्यसैले एक डाक्टरले डाक्टरलाई नै रिस उठ्ने कस्तो किताब लेखेका रहेछन् त भनेर हेर्न मन लागेको थियो।

अर्को कुरा हाम्रो समाजमा विरामी र विरामीका आफन्तले उपचारमा संलग्न डाक्टर र नर्सहरुका बारेमा के सोचेका हुन्छन्, अस्पतालको वातावरणको, सेवाको, विरामीसँग गरिने व्यवहारको बारेमा के सोचेका हुन्छन्, उनीहरुको अनुभव कस्तो हुन्छ आदीका बारेमा आफूआफूमा गफ भए पनि बाहिर आधिकारिक रुपमा कमै मात्र आउँछ। अलि पहिले मैले हृदयघात भएर आइसीयुमा भर्ना भएका एक विरामीलाई डिस्चार्ज हुने बेलामा आइसीयुको वातावरण कस्तो लाग्यो, यहाँको सेवा, डाक्टर, नर्सहरुको व्यवहार कस्तो लाग्यो, उपचारको तरिका कस्तो लाग्यो जस्ताको तस्तै राम्रो भए राम्रो, नराम्रो भए नराम्रो लेख्नुहोला, म आफ्नो ब्लगमा प्रकाशित गर्नेछु भनेर अनुरोध गरेको थिएँ। विरामी हुँदा मात्र यस्ता कुरामा ध्यान जाने र पछि बिर्सने, समय नपुग्ने भएर हो वा लेख्ने जाँगर नभएर हो वा शिक्षाको स्तर नपुगेको भएर हो यस्ता अनुभवहरु प्राय: लेखिदैनन्। मैले माथि भनेका विरामी चाही कलेजका प्राध्यापक रहेछन् त्यसैले उहाँलाई त्यस्तो अनुरोध गरेर मेरो मोबाइल नम्बर पनि दिएको थिएँ। तर पछि के भयो कुन्नि डिस्चार्ज भएपछि उहाँले सम्पर्क नै गर्नुभएन।

केही हप्ता अघि चाहीं ट्वीटरका एकजना साथीलाई उहाँको बुवालाई अस्पताल राख्दाकॊ अनुभव लेख्न भनेको थिएँ, उहाँले पनि लेख्ने भनि केही कुरा टिप्नुभएको रहेछ। आशा छ उहाँको लेख हामीले छिट्टै पढ्न पाउँछौं।

यो किताब एउटा डाक्टरले लेखेको नभएर एकजना विरामी आमाको छोरालॆ आफूले देखेको, भोगेको कुरा लेखेको हो। यसमा एउटा डाक्टरको अनुभव र शब्दहरु भन्दा पनि एउटी विरामी आमाको छोराले भोगेका कुराहरु जस्ताको तस्तै छन्। त्यसैले पनि मलाई यो किताब पढ्ने रहर लागेको थियो।

किताब सानो भएकोले छिट्टै पढेर सकाएँ। निकै राम्रो लाग्यो, लेखकको बाल्यकालका अनुभव र चर्तिकलाहरु रमाइलो लाग्यो र आमासँगै हरेक पटक अस्पताल जाँदा भेटिएका डाक्टरहरुसँगको अनुभवहरुमा वास्तविकता छ। ती डाक्टरहरु उहिलेका भएपनि आज पनि त्यस्ता डाक्टरहरु हामी भेटिरहेका हुन्छौं। 

यो पढ्दा मेरो मनमा आएका केही कुराहरु यहाँ लेख्न चाहन्छु।

एउटा के हो भने, हाम्रोमा अस्पतालतिर जाँदा कोही चिनेको छ वा कोही आफ्नो मान्छे छ भने मात्र अस्पतालमा विरामी जचाँउन सजिलो हुन्छ, नत्र त कता जाने, के गर्ने, कहाँ देखाउने, रिपोर्ट कहाँ लिने, कता देखाउने भनेर ठाँउ खोज्दाखोज्दै धेरै समय जान्छ। त्यसमा नि अझ टिकट काट्दा देखिको रुखो बोली, गाली झैं लाग्ने बचन ढोकामा बोलाउने मान्छे, ल्याबको मान्छे हुदैं जाँच्ने डाक्टरसम्म पनि सकिदैंन। खासमा त कोही चिनेको होस् वा नहोस्, कोही आफन्त त्यहाँको कर्मचारी होस् वा नहोस्, त्यहाँ गरिने व्यवहारमा खास फरक नपर्नुपर्ने हो, सबैलाई उत्तिकै सजिलो र सुविस्ताका साथ आफ्नो विरामीको उपचार गराउने व्यवस्था हुनुपर्ने हो। विरामी र तिनका आफन्तका जानकारीका लागि सहयोगका लागि भनेर केही कर्मचारीहरु राखिनुपर्ने हो।

अर्को कुरा चाहीं हाम्रो समाजमा अगाडी होस् वा पछाडी गाली गर्नेको सधैं भीड रहन्छ। अर्काको नराम्रो कुरा सुनाउनका लागि हामी सधैं उत्साहीत हुन्छौं तर कसैको सहयोग र सेवाको लागि मुसुक्क हाँसेर 'धन्यवाद' भन्न सक्दैनौं, हामीलाई त्यसो गर्न अफ्ठ्यारो लाग्छ। मैले अमेरिकाको एउटा अस्पतालमा केही हप्ता काम गरेको थिएँ, त्यहाँको प्राय: सबै वार्डहरुमा एउटा बोर्ड थियो जहाँ विरामी र आफन्तहरुले जाने बेलामा कसैले 'थ्याङ्कयु' लेखेको ग्रिटिङकार्ड सहित त कसैले लेखेर नोट मात्रै भएपनि राखेर उपचारमा संलग्न डाक्टर, नर्स र अरु सबैको टिमप्रति आफ्नो कृतज्ञता जाहेर गरेका हुन्थे। कसैलाई यो कुरा अलि नपच्नसक्छ, त्यत्रो पैसा तिरेको छु, उनीहरुको त काम नै त्यही हो नि के को धन्यवाद दिनुपर्यो भन्ने लाग्नसक्छ। हुन त हामीले पनि विरामी र उसका आफन्तले धन्यवाद दिओस्, उनीहरु हामीप्रति कृतज्ञ होउन् भनेर यो काम गरेको होइन, यो हाम्रो ड्युटी नै हो। कसैले धन्यवाद दिएपनि नदिएपनि हामीले त्यो काम गर्नैपर्छ। मैले यति मात्र भन्न खोजेको की गाली गर्न सधैं तयार जस्तो रहने हामी बेलामौकामा धन्यवाद दिन, कसैको काम राम्रो लाग्यो भनेर खुसी व्यक्त गर्न किन खोज्दैनौ? यसले घाटा कसैलाई हुदैंन बरु राम्रो काम गर्नेलाई प्रोत्साहन पनि मिल्छ र सेवा गर्ने र सेवा लिनेको बीच सुमधुर सम्बन्ध पनि बन्न जान्छ

अनि तेस्रो कुरा चाहीं के हो भने जसरी लेखककी आमालाई उनी रसियाकोको मेडिकल कलेजको विधार्थी भएको नाताले मात्रै त्यति जटिल मुटुको अप्रेशन सम्पूर्णरुपमा नि:शुल्क गरिदिएको थियो, त्यस्तो हाम्रो देशमा किन सम्भव छैन? चिनेको र सोर्सफोर्सका आधारमा मात्र नभै साधारण गरिव र सेवा पाउन उपयुक्त भएका जनताले पनि सजिलै नि:शुल्क उपचार सेवा पाउन के हाम्रो देशमा सम्भव छैन? यसो भनेर मैले सरकारी अस्पतालहरुमा नि:शुल्क उपचारको सेवा उपलब्द नै छैन भन्न खोजेको छैन। कैयौं विरामीका उपचारहरु पूर्णरुपमा नि:शुल्क भएका छन्, सम्भव भएसम्मका जाँचहरु पनि विना पैसा भएका छन्, हजारौं पर्ने अप्रेशनहरु पनि अत्यन्त कम पैसामा भएका छन्। यो कुराको हामीले प्रशंसा गर्नैपर्छ। तर मैले भन्न खोजेको के भने यो नि:शुल्क सेवा दिने व्यवस्थालाई अलिकति मात्र व्यवस्थित गरियो भने अझै राम्रो हुन्छ। चिनेको भरमा हुनेखानेको उपचार, जाँच नि:शुल्कमा हुने, तर बोल्न नसक्ने र बोलीदिने कोही नभएका गरिबले त्यो सेवा लिन नानाभाँतिका अफ्ठ्यारो भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिदैंन? अमेरिका, क्यानडा, फ्रान्समा जस्तो सरकारी स्वास्थ्य बीमा पद्धति हाम्रो देशमा किन लागू गर्न सकिदैंन? स्वास्थ्य सेवाको त्यो नि:शुल्क सुविधा उनीहरुको अधिकारको कुरा हो। तर त्यो दिने बेलामा हामी किन सम्मानका साथ दिन सक्दैनौं? किन हामी उनीहरु माथि दया गरेको झैं गरेर निशुल्क गरिदिन्छौं? अत: हाम्रोमा व्यवस्था हुदैं नभएको होइन, मात्र भएको व्यवस्थालाई समय अनुरुप अलिकलि परिमार्जित गर्दै लैजान सक्नुपर्छ, नाम मात्रको लागि नभै त्यो व्यवस्थाले वास्तवमै 'टार्गेटेड पपुलेसन'लाई सेवा दिन सकेको छ छैन त्यसको समिक्षा नि हुनुपर्छ।

नोट: 'आमाको मुटु' का लेखक डा. रामेश कोइराला गंगालाल हृदय केन्द्रसँग आबद्द मुटुरोग विशेषज्ञ हुनुहुन्छ।


(यो लेख लगभग २ महिना अघी लेखिएको हो, एमडीको शुरुवातसंगैको व्यस्तताले गर्दा पोस्ट गर्न अलि ढिलो हुन गएको छ। )



बाँकी पढ्नुहोस् >>

Saturday, February 25, 2012

स्वास्थ्य क्षेत्रमा 'अविश्वासको खाडल'


संसार विश्वासमै अडेको छ, विश्वासमै चलेको छ। केही गरेर यसको कमि भयो भने के हुन्छ होला, सम्झदा पनि डर लाग्छ। तर आजभोली हाम्रो देशका हरेक जस्तो क्षेत्रमा यसको कमि खट्कीन थालेको पाइन्छ। अझ स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा त यसको आवश्यकता र महत्व कति छ भनेर सहजै अनुमान लगाउन सकिन्छ। यदी यो क्षेत्रमा 'अविश्वासको खाडल' बन्यो भने के होला? डाक्टरले विरामीलाई र विरामीले डाक्टरलाई शंका गर्ने प्रवृति देखियो भने यो स्वास्थ्यक्षेत्र कति अराजक र डरलाग्दो होला।

यस्तै भयो हिजो भरतपुर अस्पतालमा। बच्चा वार्डमा भर्ना गरिएको विरामी राती १२ बजेतिर सिरीयस भयो भनेर मलाई इमरजेन्सीमा दौडदै बोलाउन आइपुगे। के भएको रहेछ भनी हेर्न गएको त वार्ड भरिका सबैजना जम्मा भएका, बच्चाको आमा एकातिर भक्कानो छोडेर रोइरहेकी, बुवा चाहीं "मेरो बच्चालाई मात्र केही भयो भने म यो सिस्टरको टाउको फोरदिन्छु" भनेर बम्कदै थिए। नर्सहरु भने भित्र बच्चालाई अक्सीजन लगाएर बसिरहेका थिए। स्थिति कति सम्वेदनशील भएको रहेछ भन्ने मैले बुझिहालें। बच्चालाई एकछिन हेरेपछि थाहा भयो, बच्चालाई फेब्राइल सिजर/Febrile seizure आएको रहेछ अर्थात् ज्वरो एक्कासी बढेर बच्चा एकोहोरो भएको र कम्पन छुटेको रहेछ, जसमा अक्सीजनको मात्रामा कमि भइ बच्चा निलो पनि हुने गर्छ। अन्य सिजर अर्थात कम्पन छुट्ने समस्यामा जस्तै यसमा पनि विरामीलाई आफ्नै थुक सर्कन नदिन र स्वासनलीलाई जीब्रोले नथुनोस् भनी कोल्टे पारेर सुताउने, अक्सीजन दिने, ज्वरो कम गर्न सिटामोल दिने, पानीपट्टी गर्ने र कम्पन रोक्ने औषधी डायजेपाम/Diazepam दिने गरिन्छ। यी उपचार गरेपछि बच्चा विस्तारै ठिक भएर आयो।


 'फेब्राइल सिजर'को बारेमा माथिका भिडियोहरु हेरी हाल्नु भयो। तर खासमा यो लेखमा मैले 'फेब्राइल सिजर' वा ज्वरो एक्कासी बढ्नाले छुट्ने कम्पनका बारेमा भन्दा पनि यो घटनामा मैले देखेको डरलाग्दो अविश्वासको खाडलका बारेमा चर्चा गर्न लागेको हुँ। भएको के थियो भने बच्चालाई औषधी दिएको केही क्षण पछि नै त्यस्तो भएको थियो र बच्चाका आमाबुवाले चाहीं औषधी दिने नर्सलाई दोष लगाउदै थिए। "यो सिस्टरले औषधी दिएर मेरो बच्चालाई यस्तो भएको हो। यसकै लापरवाहीले गर्दा यस्तो भएको हो, यो हस्पिटलमा एकदम लापरवाही हुन्छ, मेरो बच्चालाई मात्र केही भयो भने यही अक्सीजनको सिलिण्डरले म त्यसको टाउको फोर्छु" र अरु के-के हो के-के। विचरा नर्सहरु दु:ख पोख्दै थिए "यस्तो दु:ख गरेर ड्युटी नि गर्नु छ, अझ यस्तो गाली र धम्की खानुपर्ने। कस्तो प्रोफेसनमा आइएछ।"

बच्चाका आमाबुवाको ठाँउमा हामीले आफूलाई राखेर हेर्ने हो भने एक हिसाबले उनीहरु 'केही' ठिक पनि हुन्। सुतिरहेको बच्चा औषधी लगाएको केही छिनमा नै एकोहोरो भएको छ, नीलो भएको छ, के भ'को के भ'को थाहा छैन, हो न हो औषधीले नै पो रियाक्सन गर्यो कि, मेरो बच्चा अब मर्ने पो हो की, जताततै लापरवाहीले मरेको भन्ने सुनिन्छ अचेल, यहाँ पनि लापरवाही त गर्यो होला नि। सामान्य मानिसको दिमागमा आजको अविश्वासको वातावरणमा शायद यस्तै कुरा चल्छन् होला। अनि त्यस्तो कुरामा "हो मा हो" मिलाउनेहरुको यहाँ कुनै कमि पनि हुदैंन र केही अप्रिय घटना भयो भने 'डाक्टर, नर्स र अस्पतालको लापरवाहीका कारणले ज्यान गयो' भनेर समाचारले भन्छ।

यो त एक साइडको मात्र कुरा भो। अब उपचारमा संलग्न नर्स र डाक्टरको ठाँउमा पनि आफूलाई राखेर हेर्ने की? दिनरात केही नभनी ड्युटी गरिरहेका हुन्छन्, बेलाबेलामा विरामीको भाइटल्स/vitals(बीपी, तापक्रम, नाडीको चाल हेर्ने) लिने, ठिकठिक समयमा औषधी दिने, बाफ लगाउने आदी गरिरहेका हुन्छन्, त्यस्तो गर्दा पनि जस पाउनुको साटो "तेरो टाउको फोर्दिन्छु, तेरो लापरवाहीले गर्दा हो" भन्ने नमिठा वचनहरु सुन्नुपर्दा कस्तो हुन्छ होला। आफ्नो गल्ति भए त "ल, केही छैन" भन्न नि हुन्छ, हुदैंनभएको गल्तिका लागि पनि यस्तो धम्की र गाली खानुपर्दा कस्तो लाग्छ होला सोच्नुस् त। अझ विरामीलाई के के औषधी दिएर मार्न लागेको, नानाथरीका अनावश्यक जाँच गराएको, विनाकारण भर्ना गरेर पैसा खान पल्केको जस्ता मनै कुँढिने दोष लगाएको पनि सुनिन्छ। एक पटक आफूलाई नर्स र डाक्टरको स्थानमा राखेर सोच्नुस् त।

त्यसो भने गल्ति कसको हो त? सच्चिनुपर्ने को हो त?

गल्ति हामी सबैको हो र सच्चिनुपर्ने पनि हामी सबै नै हो। अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा त्यसरी आवेगमा आएर उपचार गर्ने स्वास्थ्यकर्मीलाई धम्काएर केही फायदा हुने होइन। मैले पहिले देखि नै भन्दै र लेख्दै आएको छु "अस्पतालमा कोही भगवान वा जादुगर बस्दैन, उपचार भनेको जादुको छडी घुमाएको जस्तो पनि होइन। साधारण मान्छेहरुले आफूले पढेको र जानेको भरमा उपलब्द औषधी र उपाय लगाएर अस्पतालमा उपचार गरिन्छ।" यसरी गरिने उपचारबाट शतप्रतिशतलाई कुनै पनि देशको कुनै पनि कुनामा ठिक पार्न सकिदैन र यहीं विरामीलाई ठिक पार्छु भनेर ग्यारेण्टि पनि दिन सकिदैंन। उपचार भनेको त विरामी (र उसका परिवार) र चिकित्साकर्मी दुई समूहको आपसको विश्वास सल्लाहका आधारमा गरिने हो। यसमा डाक्टर र नर्सको भुमिका सल्लाहकार र सहयोगीको हुनुपर्छ। विशेष परिस्थितिहरुमा बाहेक निर्णयको अधिकार विरामी र उसका परिवारको नै हुन्छ, हुनुपर्छ र उनिहरुलाई नै दिनुपर्छ पनि।

त्यस्तै हरेक औषधी र उपचारका फायदा र बेफायदा हुन्छन्। त्यसको बारेमा सक्दो जानकारी दिने काम डाक्टरको हो र आफ्नो विरामीलाई कुन औषधीले नराम्रो भन्दा राम्रो बढि गर्छ भनेर सल्लाह दिने र त्यही अनुरुप उपचार गर्ने काम डाक्टरको हो। उपचार गरेपनि हरेक विरामीको हरेक रोग ठिक हुदैंन र त्यसका आफ्नै खालका कम्लिकेसनहरु देखिन्छन्। तर उपचारका क्रममा देखिने हरेक खालका साइड इफेक्ट, खराब असर, कम्लिकेसनको दोष डाक्टर र नर्सहरुमाथि लगाउन मिल्दैन। त्यस्तै उपचारमा रहेका विरामी र उसका परिवारलाई रोग, अवस्था, भइरहेको उपचार, हुनसक्ने खराब असरहरुका बारेमा "सक्दो र बुझ्ने भाषामा" बुझाउने प्रयास गर्नुपर्छ। यो उसको कर्तव्य र दायित्व पनि हो। यहाँ मैले "सक्दो र बुझ्ने भाषा" किन भनेको भन्दा हाम्रो जस्तो विरामी र डाक्टरको अनुपात एकदमै धेरै भएको ठाँउमा, एउटै डाक्टरले दिनमै सयौं विरामी हेर्नुपर्ने हुन्छ र सबैलाई चाहेको र दिनुपर्ने जति समय दिन सकिदैन। त्यस्तै डाक्टरले रोग उपचारका बारेमा भनेका आधाभन्दा धेरै कुरा सामान्य मानिसले बुझेका हुदैंनन्। त्यसैले समयले भ्याएजति र सम्भव भएसम्म विरामी र उसका परिवारलाई रोग, त्यसका असर उपचार र त्यसका सम्भावित परिणामहरुका बारेमा सरल भाषामा जानकारी दिने गर्नुपर्छ। साथै उपचार भनेको औषधी मात्र होइन। विरामी अवस्थामा विरामी र उसका परिवारका विश्वासिलो साथी र सहयोगीका भुमिकामा डाक्टर र नर्सहरुले आफूलाई उभ्याउन सक्नुपर्छ। खाली रोगका कम्लिकेसन, औषधीका साइड इफेक्टका बारेमा मात्र कुरा सुनाएर विरामी तर्साउने र 'राखे राख्नुस्, नराखे अरु अस्पताल लैजानुस' भन्ने प्रवृति (जुन सरकारी अस्पतालहरुमा बढि देखिन्छ) पनि उचित होइन। त्यस्तै विरामी अन्त जाला भनेर जस्तोसुकै ठुलो अप्रेशनलाई नि सामान्य भन्ने, हुनसक्ने कम्लिकेसनहरु पनि लुकाउने बानी (जुन प्राइभेट नर्सिङ होमहरुमा बढि पाइन्छ) पनि ठिक होइन।

लेखको शुरुमा भने जस्तो स्वास्थ्य क्षेत्र पनि विश्वासमै अडेको छ। तर आजभोली यसको बढ्दो व्यापारीकरण (नाफा कमाउने राम्रो व्यवसाय बन्दै छ, औषधी पसल, पोलीक्लिनिक र प्राइभेट नर्सिङ होमहरु), आवश्यक अनुगमनको कमि, विरामीहरुमा पनि चेतनाको कमि, आफ्नो रोग र उपचारका बारेमा उचित जानकारी लिनुभन्दा "पैसा जति नि तिर्छु, तर ठिक हुनुपर्छ" भन्ने प्रवृति आदीले यो क्षेत्रमा अविश्वासको खाल्डो खन्दैछ। त्यसमाथि बेलाबेलामा समाचारमा आउने 'अस्पताल, डाक्टरको लापरवाही' शिर्षकका खबरहरुले पनि यसलाई अझ बढि मौलाउन दिएको छ। यी छापा, रेडियो, टिभीमा आइरहने यस्ता समाचारहरु पूर्णरुपमा झुठ त पक्कै होइनन, हावा नचलीकन पात त पक्कै हल्लदैन। तर पनि भएको घटनाको राम्रो खोजखबर गरेर दुवै पक्षका कुरा राखेर विज्ञका पनि विचार राखेर त्यसको विश्लेषण गर्नुभन्दा कहिले इमोसनल र कहिले डरलाग्दो ब्याकग्राउण्ड म्युजिक सहित 'हिन्दी फिल्मी स्टाइल'मा दिइने यस्ता समाचारले घटनालाई अतिरन्जित बनाएका हुन्छन्। पत्रकार महोदयहरुमा यो क्षेत्रमा प्रोफेसनालिज्म कहिले आउने होला?

अब सुध्रिन शुरु कसले गर्ने त? 

यसले, उसले भन्नु भन्दा पनि हामी सबैले नै सुध्रिनु जरुरी छ र यसको शुरुवात गर्न ढिलो गर्नुहुन्न। सबैले आफ्नो मात्र भलो सोच्ने, आफ्नो मात्र दुनो सोझ्याउने, अरुको मात्र दोष देख्ने र अरुलाई मात्र दोष दिने, घटनाको वास्तविकता नबुझी हल्लाको पछि मात्र दौडने नगरी आपसी छलफल गरेर विश्वासलाई कायम राख्दै एकअर्काको सहयोग गरेमा नै सबैको भलाई हुनेछ। र तपाईं हामी बीच बन्दै र बढ्दै गरेको यो 'अविश्वासको खाडल' चाडै नै पुरिनेछ भन्ने आशा राखौ।

अन्तमा,

डाक्टरहरुलाई यस्तो ड्रेस पक्कै पनि सुहाउदैन र उनीहरु लगाउन चाहदैनन् पनि। :)



बाँकी पढ्नुहोस् >>