Sunday, February 2, 2014

कतै हामी आँफै दुर्घटना निम्ताइरहेका त छैनौं?

स्पतालहरुको विरामीको भिड र त्यहाका सिमित जनशक्तिमाथिको कामको चाप कहिलेकाही मलाई ‘टाइम बम’ जस्तो लाग्छ, जुनसुकै बेला पनि विस्फोट हुनसक्ने। यस्तो भिडमा, यस्तो चापमा काम भईरहेको हुन्छ कि कुनै पनि बेला कुनै कुरा, इन्फर्फेसन छुटेर वा राम्ररी ध्यान दिन नसकिएर गल्तीले विरामीको ज्यान जानसक्छ वा एउटा अङको अप्रेसन गर्नुपर्ने अर्कोको गरिदिने, एउटा विरामीको अप्रेसन गर्नुपर्नेमा अर्कोको गरिदिने, एउटाको बच्चा अर्कोलाई दिने आदी हुनसक्छ। यी चाहेर हुने गल्ती हैनन् र कसैले पनि यस्तो गल्ति/लापर्वाही चाहेर शायदै गर्लान्। तर दैनिक अपनाईने नियम, तौरतरिकामा अलिकति मात्र गडबड भयो भने नि यस्ता धेरै गल्तिहरु हुनसक्छन्। यसो भनेर मैले तर्साउन खोजेको हैन, अस्पतालहरुमा यस्तै गल्ति नहोस् भनेर विभिन्न नियम, प्रोटोकलहरु अपनाउने गरिन्छ। विरामीमा ट्याग राख्ने, बच्चाहरुमा ट्याग लगाउने, फायलहरुको नम्बरिङ्ग गर्ने, डबल चेक गर्ने आदी आदी। तैपनी कैलेकाही भुल हुन्छ नै।

इमर्जेन्सीमा एउटै बेडमा दुई तीन जना राखेर विरामी जाचिरहेको बेलामा कहिलेकाही महत्वपूर्ण हुनसक्ने कति क्लिनिकल जाँचहरु गर्न असम्भव हुन्छन् वा छुटीरहेका हुन्छन्। पर्याप्त टाइम दिन नसकी विरामीलाई हतारमा सोधिएका हिस्ट्रीमा कति कुरा छुटेका हुनसक्छन्। रेड एरियामा सिरियस विरामीलाई धेरै टाइम दिँदा अर्को एरियाका कम सिरियस विरामीले कम टाइम पाइरहेका हुन्छन्। एउटै वा केही डक्टरले नै इमर्जेन्सी, वार्ड, अप्रेसन सबैतिर भ्याउनुपर्ने हुँदा वार्डका विरामी सिरियस हुँदा वा डक्टरहरु अप्रेसनमा व्यस्त हुँदा इमर्जेन्सीका विरामीले टाइममा सेवा नपाएका हुनसक्छन्।

वार्डमा विरामीले बेड भरिएर नयाँ राख्ने ठाउँ नहुँदा करीडरमा एक्स्ट्रा बेड थपेर भएपनी विरामी भर्ना गरिन्छ। विरामीको हिसाबले त ‘बेड पाइयो, भर्ना भईयो, ठिकै छ’ भन्ने सोचिन्छ तर त्यहा काम गर्ने डक्टर, नर्सहरुको लागि त त्यो एक्स्ट्रा लोड हो। किनभने बेडको संख्याको आधारमा यति बेडको लागि यति डक्टर, नर्स चाहिन्छ भनेर राखिएको हुन्छ। अब त्यो भन्दा झन्डै दोब्बर विरामी त्यही नै संख्याका डक्टर नर्सले हेर्नुपर्ने भएपछी सेवाको क्वालिटीमा त अवश्य नै असर पर्छ। सबै विरामीलाई राम्ररी समय दिन नभ्याउने, कति कुराहरु छुट्न सक्ने, गल्ति हुनसक्ने सम्भावनाहरु बढेर जान्छ।

अस्पतालमा जति बेड हुन्छ त्यती विरामी मात्रै राखेर उनिहरुलाई ‘क्वालिटी केयर’ दिनु ठीक कि आएका जती सबैलाई बेड थपीथपी कुनाकाप्चा नभरिएसम्म सबैलाई राखेर ‘कम्प्रमाईज्ड केयर’ दिनु ठीक? के “हाम्रो अस्पतालमा बेड छैन अरुतिर जानुहोला” भन्नुले मानवता नभएको, विरामीप्रति सम्वेदनशिल नभएको जनाउछ? त्यस्तो भन्दै गर्दा कहिलेकाही म विरामीका आफन्तहरुको अनुहारमा त्यस्तै भाव देख्छु। अनी उनिहरु 'जस्सरी नि मिलाइदिनु न, यताउता गरेर मिलाउन मिल्छ भने' भनेर अनुरोध गर्न थाल्छन्। उनिहरुलाई अफ्ठ्यारोमा पार्ने, भर्ना नगरी अरुतिर पठाउने हाम्रो उद्देश्य, चाहना हैन, बाध्यता हो। हाम्रो पनि लिमिटेसन हुन्छ। हुन त एउटा अस्पतालमा भिड भएर विरामी अन्त पठाउदा जान नसक्ने अवस्था वा पठाउनै नमिल्ने अवस्था पनि हुनेगर्छ।

इमर्जेन्सीमा बेड छैन भनेर त विरामी शायदै अन्त पठाइन्छ होला। त्यहा त एउटै बेडमा दुई तीन जना राखेर भएपनी काम चलाइन्छ। एउटै बेडमा टिबीमा विरामी र म्यानिन्जाइटिसका विरामी सुतिरहेका हुन्छन्। कहिले महिला त पुरुष विरामी ढाड फर्काएर सुतिरहेका हुन्छन्। त्यस्तो बेलामा हामी उनिहरुको उपचार गरिरहेका छौं कि उनिहरुको समस्या थपीरहेका छौं म बुझ्दिनँ। आफ्ना विरामिहरुलाई यस्तरी दु:ख दिएर राख्नु हाम्रो चाहना हैन, तर हामी विवश हुन्छौं। धेरै विरामीले त चित्त बुझाएर बस्छन्, कोही भने "विरामीलाई राम्रो होला भनेको त झन यस्तो दु:ख पो भयो, यस्तो नि अस्पताल हुन्छ" भनेर झगडा गर्न आउछन्। हामीसँग झगडा गर्ने फुर्सद नि हुँदैन र हामीसँग कराएर फायदा नि हुँदैन।

इमर्जेन्सीमा त्यहाको डक्टरले हेरेपछी “सम्बन्धित डक्टरलाई बोलाइदिएको छु, आएर हेर्नुहुन्छ” भनेर राखिदिन्छन्। ती सम्बन्धित डक्टर कति खेर आउने थाहा हुँदैन, कहिलेकाही त कुर्दाकुर्दा दिन, रात वित्न सक्छ। विरामीहरुलाई लाग्नसक्छ ‘यी डक्टरहरु कहाँ जान्छन्’। ‘यस्तो इमर्जेन्सीको विरामीलाई कुराएर राख्ने, कस्तो लापर्वाही’। इमर्जेन्सीमा आएका सबै विरामी उत्तिकै इमर्जेन्सी हुँदैनन्। उनिहरु अरु सिरियस विरामी हेरिरहेका हुन्छन्, वा उनिहरुको अप्रेसनमा बिजी हुन्छन् वा वार्डका सिकिस्त विरामीसँग व्यस्त हुन्छन्। ईमर्जेन्सीमा रियल इमर्जेन्सीलाई प्राथमिकता दिने हुँदा यस्तो हुन्छ नै। हुन त यो कुरा डक्टर, नर्सहरुले अलि राम्रो तरिकाले बुझाए भने यस्तो मिस अन्डर्स्ट्यान्डिङ हुँदैन होला।  

भिडभाड हुने हाम्रा अस्पतालहरु मलाई सिट भरिएर पनि मान्छे कोच्ने अनि छ्तमा नि यात्रु राखेर चलाइने बस, गाडीहरु जस्तो लाग्छ। ट्राफिक नियम अनुसार त्यस्तो गर्नु ठीक हैन, दुर्घटना हुनसक्छ, मान्छेको ज्यानको सवाल हो नि। ट्राफिक पुलिसले देख्यो भने कार्वाही गर्नसक्छ। तर त्यस्तरी नै भिडामभिड गरेर चलाइएका अस्पतालहरुलाई चै कस्ले के भन्ने? के यस्ले विरामीको स्वास्थ्य र ज्यानमा हुनसक्ने दुर्घटनालाई बढावा दिदैन? यस्तो धान्नसक्ने भन्दा बढी लोडमा काम गराएर केइ भुल भयो भने डक्टर, नर्सलाई मात्र औंला देखाउनु कत्तीको जायज हो? भुलचुकको अलिकति नि ठाउँ हुननहुने स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा क्षमता भन्दा बढी विरामीको जिम्मेवारी लिएर हामी आँफैले कुनै दुर्घटना त निम्ताइरहेका छैनौं?

अनि फेरी जस्तै भिड, हतार, प्रेसरको कारणले विरामीको कुनै महत्वपूर्ण कुरा छुटेको, गल्ती भएको भने पनि सो गर्ने डक्टर वा नर्सले माफ पाउने वाला छैन नि। हुन त कुरा ठिकै हो, व्यस्तता, थकान, भिड हाम्रो गल्ती, भुलको लागि एक्स्क्युज बन्नु हुँदैन। त्यसो भने हामीले धान्न सक्ने भन्दा बढी विरामीको जिम्मेवारी लिएर हामी आँफैलाई किन प्रेसरमा राखेको? गल्ती हुने सम्भावनालाई किन बढाएको? मैले नबुझेको कुरा।।

No comments:

Post a Comment