Wednesday, February 19, 2014

अब भन्नुस् मेरो दु:ख ठुलो।

के तपाईंलाई आफू दु:खी छु जस्तो लाग्छ? के तपाईंलाई आफ्नो दु:ख ठुलो जस्तो लाग्छ? यो पढ्नुस्।

उनी फेरी आईन् अस्पताल, धेरै रगत बगेको कारणले। रगत धेरै बगेर उनी सेतो फुस्रो भईसकेकी थिईन्। उन्को बिहे भएको लगभग ४-५ वर्ष भएको थियो। पहिलो बच्चा जन्मेको केही घण्टामै मरेको थियो रे। दोस्रोमा 'मोलार प्रेग्नेन्सी' देखिएर खेर गयो रे। अनि तेस्रो पल्ट यानी यसपाली साल तल रहेकोले ७ महिनामै रगत बग्न थालेकाले बच्चा बचाउन सकिन्छ कि भनी अप्रेसन गरी बच्चा निकाल्नु पर्‍यो, जुन पनि केही घण्टा भन्दा बढी बाँच्न सकेन। त्यत्तीले नपुगेर यै अप्रेसनअघी रगत जाँच गर्दा उन्लाई ब्लड क्यान्सरको शँका पनि देखियो, जुन लगभग कन्फर्म नै छ। भर्खरको उमेर, खाली कोखको पिडा, अनि थपिएको नयाँ डरलाग्दो रोग। अब भन्नुस् मेरो दु:ख ठुलो।

उनिहरुको बिहे भएको शायद दश वर्ष भन्दा बढी भ'को थियो। बच्चा नबसेको कारणले उपचारमा लाखौं खर्च भईसकेको थियो। धेरै प्रयासपछी अन्तत बच्चा बस्यो, त्यो पनि ट्रिप्लेट अर्थात तिम्ल्याहा। खुशी पनि डर पनि थियो होला। यत्रो वर्षको चाहना एकै पटकमा पूरा हुने भएर खुशी थिए होलान् दम्पती। तीनवटा एकै पटक हुने भएकोले के हुने कसो हुने भन्ने डर पनि थियो होला। आखिरमा तीनवटै 'नर्मल' जन्मे, तर साह्रै सानो भएकाले एक पछी अर्को गर्दै केही दिनको अन्तरमा तिन्टै बच्चा मरे। यस पटक पनि उनको कोख खाली नै रह्यो, उनिहरु खाली हात नै घर फर्किए। अब भन्नुस् मेरो दु:ख ठुलो।

सुख दु:ख भनेका तुलनात्मक कुरा हुन्। आफूलाई पर्दा आफ्नै दु:ख ठुलो जस्तो लाग्छ। तर एकछिन आफूलाई सम्हालेर यसो वरीपरी हेर्नुस्, अरुको दु:ख सुन्नुस् अनि थाहा हुन्छ, दु:ख त हरेकको जीवनमा रहेछ, समस्या त हरेकले भोगिरहेकै रहेछन्। यस्ले आफ्नो समस्या समाधान त नहोला तर त्यस्लाई हेर्ने दृष्‍टिकोण अवस्य बद्लिनेछ, तपाईंलाई आफ्नो दु:खसँग लड्ने शक्ति, त्यस्लाई फरक तरिकाले 'डिल' गर्ने जुक्ति मिल्नेछ।

अस्पतालमा यस्ता दु:खका कथाहरुको पहाड भेटिन्छ। हरेकको आफ्नै पिडा, आफ्नै समस्या। सधैं सबै ठीक भएर, खुशी भएर फर्कन सक्दैनन्, पाउदैनन्। सुखका कथाले त सबैलाई खुशी बनाउछ नै हरेक दु:खको कथाले पनि एउटा शिक्षा दिएर जान्छ, जीवनलाई माया गर्ने एउटा प्रेरणा दिएर जान्छ।  

No comments:

Post a Comment