Showing posts with label Women's health. Show all posts
Showing posts with label Women's health. Show all posts

Saturday, December 14, 2013

महिनावारी के हो? किन र कसरी हुन्छ? All about menstruation.

हिनावारी वा मासिकस्राव महिलाहरुमा हुने एउटा नियमित प्रकृया हो। महिलाहरु प्रजनन कृयाको लागि शारीरिक रूपमा सक्षम रहेको यो एउटा संकेत पनि हो। यस्लाई ठेट नेपाली भाषामा 'नछुने हुने' भनिन्छ, जस्को सिधा अर्थले भने झै यो हुने बेलामा महिलालाई भान्छामा छिर्न नदिने, अरुबाट टाढा राख्ने कतिपय ठाँउमा छुट्टै झुपडीमा बस्नुपर्ने (छाउपडी)चलन हाम्रो समाजमा अझै छ। साथै यस्तो बेला पूजा गर्न नदिने, धार्मिक कार्यमा भाग लिन नदिने त्यसो गरे अपशकुन हुन्छ, भगवान रिसाउछन् भन्ने नि गरिन्छ। कतिले यस्तो बेलामा पूजाआजा, व्रतमा बस्न नमिल्ने भनेर त्यसैको लागि औषधी खाएर महिनावारी पछाडि सार्ने पनि गर्छन्। हाम्रा धर्महरुले जसको कारणले हाम्रो समाजले पनि महिलाहरुमा हुने यो एकदमै सामान्य शारीरिक प्रकृयालाई अझै सामान्यरुपमा लिईसकेको देखिदैन। स्वयम् महिलाहरुले पनि प्रजनन शिक्षाको कमिले गर्दा यस्लाई सजिलोरुपमा लिन सकिरहेका हुँदैनन्।

मासिकस्राव वा ‘महिनावारी हुनु’ भनेको महिलाको बाहिरी प्रजनन अङ योनीबाट लगभग हरेक २८दिनमा ३-५दिनसम्मको लागि रगत बग्ने प्रकृया हो। महिनावारी शुरु हुने उमेर(१३-१४वर्ष) Menarche र महिनावारी रोकिने उमेर(४५-५५वर्ष) Menopauseको वरीपरीका केही वर्षहरुमा यो चक्र केही अनियमित हुनु सामान्य मानिन्छ नभए बीचका अवधीमा सामान्य अवस्थामा यो चक्र एकदमै नियमित हुन्छ।

वास्तवमा भन्ने हो भने महिलाहरुको प्रजनन उमेर (लगभग१३-५५ वर्षको उमेर) यही चक्रमा घुमेको हुन्छ, जुन प्राय: २८दिनको हुन्छ। यो किन कसरी हुन्छ भनेर सरल भाषामा जान्ने प्रयास गरौं। यसको लागि पहिले यो बुझ्न चाहिने केही शब्दहरु तिनका अर्थ जानौं।


  • महिलाहरुको शरीरमा मुख्य दुई महिला हर्मोन वा केमिकल बन्ने गर्छ; एस्ट्रोजन (Estrogen) प्रोजेस्टेरोन (Progesterone)
  • मस्तिष्कको तल्लो भागमा रहने पिट्युटरी (Pituitary) ग्रन्थीबाट निस्कने अर्को दुई हर्मोन; एल एच (LH- Luteinizing Hormone) एफ एस एच् (FSH- Follicle Stimulating Hormone) 
  • महिलाको भित्री प्रजनन अङ्हरु; पाठेघर(Uterus) डिम्बाशय(Ovary)
डिम्बाशय, जसबाट हरेक महिनावारीको लगभग मध्यभागमा एउटा डिम्ब(Ovum) निस्कने गर्छ।
पाठेघर, जस्मा डिम्बाशयबाट निस्किएको डिम्ब गएर फर्टिलाइजेसनको लागि शुक्रकिट(sperm)को प्रतिक्षामा १२-२४घण्टासम्म रहन्छ केही गरी फर्टिलाइजेसन भएमा त्यसलाई हुर्काउने बढाउने गरेर भ्रुण बनाउने काम हुन्छ।

  • फर्टिलाइजेसन(Fertilisation) भनेको डिम्ब शुक्रकिट मिलेर जाइगोट भ्रुण बन्ने प्रकृया हो।

अब महिनावारी चक्रको कुरा गरौं।

रगत बग्न शुरु गर्ने दिनलाई पहिलो दिन मानेर यो चक्र प्राय: २८ दिनको हुन्छ। यसलाई दुई भागमा बाढ्न सकिन्छ। यसको मध्य भागतिर डिम्बाशयबाट डिम्ब निस्कन्छ, जस्लाई ओभ्युलेसन(Ovulation) भनिन्छ, यस्लाई आधार मानेर यो अवधीलाई दुई भाग लगाउन सकिन्छ। ओभ्युलेसनभन्दा अघिको अवधी फोलिक्युलर अवधी(Follicular phase) ओभ्युलेसनभन्दा पछीको अवधी लुटियल अवधी(Luteal phase)

नयाँ चक्रको शुरुवातसँगै पिट्युटरी ग्रन्थिबाट निस्कने एफ एस् एच्(FSH) हर्मोनको प्रभावले गर्दा डिम्बाशयमा रहेका डिम्ब बन्ने खालका कोषहरु विस्तारै विकसित हुँदै फोल्लिकल(follicle)बन्छन्। यी केही फोल्लिकलहरु मध्ये हरेक चक्रमा एउटा मात्र फोल्लिकल डिम्ब बन्नको लागि छानिन्छ, जुन अझै विकसित हुँदै ग्राफियन फोल्लिकल(Graffian follicle)बन्छ। यो ग्राफियन् फोल्लिकलले एस्ट्रोजन हर्मोन बनाउछ, जसले पाठेघरको भित्री तह इन्डोमेट्रियम(Endometrium)लाई कोषहरुको तह थपेर बाक्लो बनाउने, रक्तनलिहरु बढाएर रगतको साथमा अक्सिजन, पोषण पुर्याउने काम गर्छ। जती दिनहरु बित्दै जान्छ त्यती ग्राफियन फोल्लिकल ठुलो हुँदै जान्छ(२०-२६मीमीसम्म), त्यस्ले निकाल्ने एस्ट्रोजन हर्मोनको मात्रा शरीरमा बढ्दै जान्छ उक्त हर्मोनको प्रभावले पाठेघरको भित्री तह नि बाक्लो हुँदैजान्छ।

यो अवधीभर एस्ट्रोजन हर्मोनले पिट्युटरीबाट हुने एल एच्(LH) हर्मोनको उत्पादनलाई नेगेटिभ फिड्ब्याक दिएर दबाएर राखेको हुन्छ। यो चक्रको लगभग बीचमा पुगेपछी, ग्राफियन् फोल्लिकल पूर्ण विकसित भैसकेपछि अचानक एउटा परिवर्तन हुन्छ, जसले गर्दा एस्ट्रोजन हर्मोनले यसअधी नेगेटिभ फिड्ब्याक गरेको दबाएको एल एच्(LH) को उत्पादनलाई अबबाट पोजिटिभ फिड्ब्याक दिएर बढाउन पो थाल्छ। यो पोजिटिभ फिड्ब्याकको कारणले यो बेला महिलाको शरीरमा एल एच्(LH) हर्मोनको मात्रा १० गुणासम्म बढ्नेगर्छ। यो प्रकृयालाई मिड साइकल एल एच् सर्ज(Midcycle LH surge) भनिन्छ। यो एउटा महत्वपूर्ण प्रकृया हो, यसको लगभग ३६ घण्टापछी डिम्बाशयमा विकसित ग्राफियन फोल्लिकल फुटेर डिम्ब निस्कन्छ। यसरी निस्किएको डिम्ब फेलोपियन ट्युब(Fallopian tube)को बाटो भएर पाठेघरको भित्री भागमा गएर बस्छ। यो बेलामा अर्को परिवर्तन पनि हुन्छ, डिम्ब निकिएपछी बाँकी रहेको ग्राफियन् फोल्लिकल, जस्लाई अब कर्पस लुटियम(Corpus luteum)भनिन्छ, बाट एस्ट्रोजनको सट्टा अर्को महिला हर्मोन प्रोजेस्टेरोन (progesterone) हर्मोन धेरै निस्कन थाल्छ। यही विन्दुबाट महिनावारीको अर्को भाग लुटियल अवधी(Luteal phase)पनि शुरु हुन्छ।

यस्पछी केही दिनसम्म लगातार बढीरहने प्रोजेस्टेरोन हर्मोनले गर्दा पाठेघरको भित्री भागलाई झन बाक्लो हुने, त्यस्मा ग्रन्थिहरु बढ्दै जाने, त्यसका रक्तनलिहरु लामो तर घुमाउरा हुँदै जाने हुन्छ। यो सबै परिवर्तनको कारण पाठेघर डिम्ब शुक्रकिट मिलेर बन्ने जाइगोट(zygote)लाई बचाउन विकास गर्न तयार भैरहेको हुन्छ। साथै प्रोजेस्टेरोन हर्मोनले पिट्युटरी ग्रन्थीलाई अरु एल एच्(LH) हर्मोन बनाउनबाट पनि रोक्छ, जस्ले गर्दा शरीरमा एल एच् हर्मोनको मात्रा एक्कासी घट्न शुरु हुन्छ। यदी डिम्ब शुक्रकिट बीच मिलन (फर्टिलाइजेसन) हुनसकेन भने प्रोजेस्टेरोन हर्मोन बनाइरहेको कर्पस लुटियम मर्दै जान्छ प्रोजेस्टेरोन एस्ट्रोजन दुवै हर्मोनको मात्रा पनि घट्न थाल्छ।

यसरी घट्दै गएको हर्मोनको कारणले कोषहरु थुप्रिएर, रक्तनलीहरु बढेर, पोषक तत्व थुप्रिएर बाक्लो भएर बसेको पाठेघरको भित्री भागमा परिवर्तन देखिन थाल्छ, विस्तारै रक्तनलीहरु खुम्चिएर मर्न थाल्छन्, अरु कोषहरु पनि मर्न थाल्छन् र रक्तस्रावको रुपमा ती सबै कुरा बाहिर आउछन्। यसैलाई नै महिनावारी भएको भनिन्छ। हरेक महिना महिलाहरुमा हुने हर्मोनहरुको उतारचढाव, पाठेघर, डिम्बाशयमा हुने परिवर्तन, महिनावारीको चक्रमा हुने परिवर्तनहरुमा यो एउटा मात्रै बाहिरबाट देख्न सकिने प्रकृया हो। यो बेलामा लगभग ३-५दिनसम्म ५०-२००मिलीसम्म रगत बग्ने गर्छ। यसरी एउटा चक्र सकिएपछी महिलाहरुमा हर्मोनहरुको मात्राको, डिम्बाशयभित्रको, पाठेघरको भित्री सतहको अर्को नयाँ चक्र फेरी शुरु हुन्छ।


यति थाहा पाइसकेपछी महिनावारी महिलाहरुमा हुने एउटा एकदम नियमित शारीरिक प्रकृया हो भनेर बुझ्न गार्हो नपर्ला। यो बेलामा हुने हर्मोनको उतारचढावका कारणले उनिहरुमा केही शारीरिक तथा मानसिक परिवर्तन देखिने, रगत बाहिर निस्कदा पाठेघर खुम्चने कारणले पेट दुख्ने, ढाड दुख्ने, कमजोरी महसुस हुने हुनसक्छ। यस्तो बेलामा छि: छि: गरेर छुट्याउने, पर एक्लै राख्ने, छाउपडीमा राख्ने भन्दा सरसफाइमा ध्यान दिन लगाउने, माया, सहयोग गर्ने, पौष्टिक खान दिने गर्नुपर्छ। 

यस बारे अझ राम्ररी बुझ्न युट्युबका यी भिडियोहरु हेर्नसक्नुहुन्छ। 
1. Ovulation and menstrual cycle

2. Ovulation

बाँकी पढ्नुहोस् >>

Thursday, March 8, 2012

नारी दिवस र नारी स्वास्थ्य/ Women's day & Women's Health


ज ८ मार्च, अर्थात अन्तराष्ट्रिय नारी दिवस। संसारको आधा आकाश, परिवाररुपी रथ गुडाउने एउटा पाङग्राको रुपमा चिनिने नारीहरुको समानता, अधिकारको लागि आवाजलाई अझ बलियो रुपमा अगाडी ल्याउने दिन।

नारी दिवसको उपलक्ष्यमा म यो ब्लगमा नारी महिला स्वास्थ्यका सम्बन्धमा सानो चर्चा गर्न चाहन्छु। र व्रिस्त्रितमा चाँही बिस्तारै लेख्दै जानेछु।

संसारको र नेपालको पनि लगभग आधा जनसंख्या भएका महिलाहरुका थुप्रै स्वास्थ्य समस्या पुरुषहरुका जस्तो त हुन्छ नै। तर भिन्न शारीरिक बनावट, गर्भधारण गर्नुपर्ने आदि प्राकृतिक कारणले उनीहरुको स्वास्थ्य समस्या केही भिन्न पनि हुन्छन्।

नेपालका महिलाहरुको कुरा गर्नुपर्दा गर्भधारण र सुत्केरी सम्बन्धी समस्याहरु नै प्रमुख हुन आउँछ। अस्पताल, स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मीका अभाव, जनचेतनाको कमि, स्वास्थ्यक्षेत्रमा बजेट, स्रोत र जनशक्तिको राम्रो व्यवस्थापनको कमि आदी कारणले कैयौं (विशेषगरी गाँउका) गर्भवती महिला र सुत्केरी महिलाहरुले सामान्य स्वास्थ्य परिक्षण पनि नपाएको स्थिति छ। सुत्केरी गराउने सम्बन्धी तालिमहरु दिएर गाँउगाँउसम्म त्यो सेवा पुर्याउने कार्यक्रमहरु भैरहेका छन्, जुन सह्रानिय छन् तैपनि पर्याप्त भने छैनन्।

मलाई यतिबेला मेरो विधार्थीजीवनमा रिसर्च गर्दाको एउटा क्षण याद आयो। हामी एउटा गाँउमा विभिन्न परिवारहरुको विवरण संकलन गर्न गएका थियौं। एउटा परिवारमा श्रीमानसँग विवरण लिईरहेका थियौं, उनी आरामले बसेर हामीलाई भनिरहेका थिए की उनकी श्रीमति गर्भवति छिन् र हामीले "सुत्केरी हुने मिति कहिलेको दिइएको छ" भनी सोद्धा "आजको" भनेर उनले भने। हामीले खुसी भएर सोध्यौं "अनि उहाँ कहाँ हुनुहुन्छ त?" "उ पर खेतमा काम गरिरहेकी छिन्" भन्दै उनले खेततिर देखाए। हामी सबै अचम्ममा पर्यौं।

यस्तो छ हाम्रो समाजको अवस्था।

कहिले जानीजानी र कहिले सामाजिक प्रवृति, चालचलनका कारणले हाम्रो समाजमा महिलाहरुका स्वास्थ्यमा हेलचेक्राइ हुने गरेको पाइन्छ। त्यसैले स्वास्थ्य क्षेत्रबाट मात्र यस्ता समस्याको समाधान कदापी हुनसक्दैन। यसमा सामाजिक अगुवाहरु, सामाजिक कार्यकर्ता, गाँउघरकै सदस्यहरु, संचार माध्यम, नीतिनियम निर्माणकर्ता आदी सबैको सहभागिता आवश्यक हुन्छ।

सबैलाई थाहा भएकै कुरा हो, गाँउघरका कैयौं गर्भवती महिलाहरु आइरन चक्की र फोलिक एसिड जस्तो गर्भका बेला अत्यावश्यक औषधी पनि खान पाइरहेका हुदैंनन्। अन्तराष्ट्रिय मान्यता अनुसार गर्भ रहेका बेलामा कम्तिमा ३ पटकसम्म चिकित्सकसँग जाँच गराई भिडियो एक्सरे गर्नुपर्ने भनेर भनिए पनि एकपटक अस्पतालको मुख देख्न पनि मुस्किल पर्ने ठाँउहरु पनि हाम्रो देशमा छन्। त्यस्तै सुत्केरी हुने बेलामा बढी रक्तस्राव, बच्चा अड्कने, लामो व्यथा लाग्ने आदी समस्यामा तालिमप्राप्त स्वास्थ्यकर्मी र सुविधायुक्त स्वास्थ्यकेन्द्रका अभावमा कैयौं महिलाहरुले ज्यान गुमाउनुपरेको दु:खद समाचार बेलाबेलामा सुन्न, पढ्न पाइन्छ।

त्यस्तै अर्को समस्या भनेको आङ खस्ने रोग/Uterine prolapse पनि हो अर्थात् पाठेघर तल खस्ने समस्या। आजभोलि गाँउगाँउमा यसको उपचारका लागि नि:शुल्क स्वास्थ्य शिविरहरु गरेर जनचेतनाको कारणले यो समस्या धेरै बाहिर आएको छ। यो समस्याका मुख्य कारणहरुमा धेरै बच्चा जन्माउनु, सुत्केरीको बेलामा लामो व्यथा लाग्नु, महिनावारी रोकिएपछि हर्मोनहरुको कमि हुनु आदी पर्दछन्।

 त्यस्तै महिनावारीका समस्याहरु पनि महिलाका प्रमुख स्वास्थ्य समस्याहरुमा पर्छन्। महिनावारी भनेको महिलाको शरीरमा स्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको मात्रामा उतारचढाव आउनाले हुने प्राकृतिक प्रकृया हो, यसले महिलाको पाठेघरलाई गर्भधारणका लागि तयार पार्ने काम गर्छ। यति सामान्य जानकारीका अभावमा मानिसहरु महिनावारी भएका महिलाहरुलाई अझै पनि घर पस्न नदिने, बाहिर छुट्याएर राख्ने गर्छन्। छाउपडी प्रथा यसको एउटा उदाहरण हो। हुन त यो समस्या स्वास्थ्यसम्बन्धी भन्दा पनि एउटा सामाजिक समस्या हो। चेतनाको अभाव, पहिलेदेखिको चालचलन, अन्धविश्वास आदीका कारणले समाजमा यस्तो भैरहेको हुन्छ।

महिला स्वास्थ्य समस्यामा अर्को भनेको विभिन्न प्रकारका क्यान्सरहरु पनि हुन्। यसमा हाम्रो देशमा बढि हुने भनेको पाठेघरको मुखको क्यान्सर/Cervical Cancer हो। जनचेतनाका अभावमा शुरुमै पत्ता लाग्न सक्ने र उपचार गरेर निको हुनसक्ने यो रोग अस्पतालसम्म निकै ढिलो आइपुग्छ। प्याप स्मियर टेस्ट/PAP smear test जस्तो सामान्य जाँचबाट यसलाई शुरुकै अवस्थामा पत्ता लगाएर उपचार गर्न सकिन्छ। त्यस्तै पाठेघरको क्यान्सर, डिम्बाशयको क्यान्सर, स्तनको क्यान्सर आदी पनि महिला स्वास्थ्यका समस्याहरु हुन्।

नेपाली महिलाहरुका केही मुख्य स्वास्थ्य समस्याहरु माथि भनिएपनि यी पूर्ण भने होइनन्। साथै सामाजिक रुपमा पछाडी पारिने महिलाहरुका यी स्वास्थ्य समस्याहरुलाई सम्बोधन गर्नका लागि यसका बारेमा जनचेतना जगाएर स्वास्थ्यकर्मी र सुविधायुक्त स्वास्थ्यकेन्द्रको सहज पहुँच बनाउनु जति जरुरी छ, त्यति नै आवश्यकता छ सामाजिक कार्यकर्ताहरु नीतिनियम निर्माताहरु र जनसहभागिताको।

महिलाका स्वास्थ्यसम्बन्धी समस्याहरु:

१. महिनावारी सम्बन्धी समस्याहरु,
महिनावारीको गडबडी, महिनावारी अघिको समस्या (प्री मेन्सचुरल सिन्ड्रोम)

२. महिनावारी रोकिएपछि आउने समस्याहरु,
मेनोपजल सिन्ड्रोम र त्यसका असरहरु

३. गर्भ र सुत्केरी सम्बन्धी समस्याहरु,
एन्टीनेटल, नेटल र पोस्टनेटल समस्याहरु

४. गर्भपतन सम्बन्धी समस्याहरु,

५. पिसाबका नलीको र प्रजनन अंगहरुको संक्रमणहरु,

६. निसन्तानपन,

७. स्तन सम्बन्धी समस्याहरु,
स्तन दुख्ने, स्तनमा आउने गाँठागुँठिहरु, स्तनको क्यान्सर

८. प्रजनन अंगहरुका क्यान्सरहरु
पाठेघर, पाठेघरको मुख, डिम्बाशय आदीको

अन्तमा, 

अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा सबै महिलाहरु, महिलाको विकास, सशक्तिकरण र सम्बर्धनमा लाग्नुहुने सबैलाई हार्दिक शुभकामना।

बाँकी पढ्नुहोस् >>