Wednesday, August 12, 2015

स्वास्थ्यसम्बन्धी भ्रमहरुसँगको लडाईं


मेरो विरामीलाई पखाला लागेको छ, उसको जीउ तातो खालको हो, भित्र हपहप पोल्छ रे, उस्लाई सलामी चढाइदिनुपर्‍यो डाक्साब।" विरामी कुर्सीमा बस्ने वित्तिकै विरामीको श्रीमानले भने। सलामी!!” म झसंग भएँ, तर पछी मैले बुझें, उनले सलाइनलाई सलामी भनेका रहेछन्। "बुवा, पहिले विरामीलाई जाच्छु अनी चाहिने भए लगाम्ला नभए किन लगाउने, हुन्न?" तर उनी आफ्नै सुरमा पखाला लाग्या छ, भित्री ज्वरो छ, सलामी त जसरी नि चाहिन्छ भन्दै थिए। मैले विरामी जाँचे, पखाला हिजोदेखी मात्रै थियो, प्रेसर ठिकै थियो, पानीको कमी भईसकेको थिएन। त्यसैले मैले जीवनजल र जिंक चक्की मात्रै लेख्दै भनें, पखालाले गर्दा शरीरमा पानीको कमी भएको छैन, प्रेसर नि ठिकै छ, जीवनजल मुखैबाट खाको राम्रो। उनीहरुले मानेनन्। मैले सम्झाउन खोजें, “वान्ता भको छैन भने मुखैबाट खानु राम्रो हुन्छ, सलाइन महंगो नि हुन्छ, जीउमा घोच्नु नि पर्‍यो। तैपनी उनीहरुले मानेनन्, जसरी नि सलामी लगाउनु पर्‍यो भने। अन्तत: मैले हारेर सलाइन लगाइदिनु भनेर भन्नैपर्‍यो।

मान्छेहरुका स्वास्थ्यसम्बन्धी अचम्मका विश्वास, भ्रमहरु हुन्छन्। खै कसरी बन्छ त्यस्ता भ्रमहरु। धेरैजसो त हामी स्वास्थ्यकर्मीहरुले नै राम्रोसँग नबुझाएर, गलत अर्थ लाग्नेगरी बुझाएर वर्षौंदेखी बनेका विश्वासहरु हुन्, जसको जरा धेरै भित्रसम्म गढेको हुन्छ। त्यसैले त त्यो भ्रम तोड्नको लागि मेरो केही मिनेटको प्रयास पर्याप्त भएन। किनकी उनले वर्षौं देखी मानिआएको, विश्वास गरिआएको गाउँका डाक्टरले त्यसै भनेका थिए होलान्, गाउँमा सबैले त्यही मान्छन् होला, सलाइन चढायो भने ताकत आउछ, सलाइन चढायो भने भित्रको तातो निको हुन्छ, चिसो हुन्छ। कसैले त सलाइन चढाएको कारणले चिसो बढेर निमोनिया भयो पनि भन्छन्।

अस्ति भर्खर एउटी गर्भवती महिलालाई पाठेघरमा पानी कम भयो भनेर सुत्केरीको लागि भर्ना गरेको विरामीले "हामीलाई त बच्चाको पानी कम छ, ठुलो अस्पताल गएर सलाइन चढाउनुपर्छ भनेर गाउँबाट पठाको" भनेर भन्दैथिन्। हाँसो पनि लाग्छ, अचम्म नि लाग्छ, रिस पनि उठ्छ। विचरा विरामीहरुसँग हैन, हामी आँफैंसँग, हामी सबै तहका स्वास्थ्यकर्मीहरुसँग। हाम्रो मेडिकल प्राक्टिस देखेर उदेक लाग्छ। थाहा नभएको कुरा नबोल्दिनु, नगर्दिनु, अथवा जानेर, बुझेर सल्लाह दिनु। हचुवामै जे मन लाग्यो त्यही भनेका छन्, अनी त्यही कुरालाई नै विरामीहरुले आधार मानेर भ्रम पालेर बस्छन्, जुन विस्तारै झनै गहिरो र गाढा भएर जान्छ।

जण्डिस सम्बन्धी भ्रम।
खै किन हो यो जन्डिस देखी यस्तो डर मानेका। आयुर्वेदले ठुलै रोग भनेर भन्छ कि जन्डिसलाई, थाहा भएन। तर एलोप्याथीमा जन्डिस रोग हैन लक्षण हो, र यो प्राय: गरेर भाईरल हेपाटाइटिस अर्थात भाईरल संक्रमणको कारण कलेजोको सुजनमा देखिन्छ, जुन केही हप्तामा आँफैं निको भएर जान्छ। हाम्रो किताबमा जन्डिसको बेलामा न चिल्लो नखा भनेको छ, न मासु नखा भनेको छ, न बेसार नखा भनेको छ, न मसला नखा भनेको छ। स्वस्थ र सन्तुलित खाने, सफा पानी खाने, आराम गर्ने, बस् त्यत्ती हो, Liv-52 न तागत दिने मल्टी भिटामिन नै खानु भनेको छ। हुन त जन्डिस देखिने रोगको आधारमा उपचार फरकफरक पर्न सक्छ, तर हामी धेरैले गर्नेजस्तो मान्छे विरामी नै पर्ने गरेर सादा जाउलो नुनसँग खानुपर्दैन। जन्डिस देखिएर महिनादिनसम्म जाउलो र उसिनेको साग मात्र खाएर बस्ने अनी कमजोरी भो, खाना रुचेन भनेर आउनेहरु धेरै देखेको छु। अरे बाबा, महिना दिन त्यस्तो खाएपछी त सद्देमान्छे नि विरामी पर्छ। त्यस्तै नवजात शिशुमा देखिने जन्डिस धेरैजसो साधारण प्रक्रीया हो, र त्यसको लागि आमाले केही पनि बार्नुपर्दैन, बच्चालाई पनि केही औषधी गर्नुपर्दैन। यस्ता केही दिनका बच्चाहरुलाई नि जन्डिसको औषधी भनेर के के खुवाएका भेटेको छु। उपचारको नाममा भएको लापर्वाही त यो पो हो त। यस्तो अन्धाधुन्दको व्यापारीकरणको पो विरोध गर्नु नि। 

टाइफाईड सम्बन्धी भ्रम।
ज्वरो बिग्रियो भने टाइफाइड हुन्छ। ज्वरो आको बेलामा मुख बारेन भने, मसलादार खाना, मासु खायो भने ज्वरो बिग्रन्छ र टाइफाइड हुन्छ। खै कल्ले यसरी बुझाउछन् उनीहरुलाई। पक्कै पनि हामीहरु मध्ये कसैको काम हो। वास्तवमा टाइफाइड ज्वरो बिग्रेर हुने हैन, ‘साल्मोनेला टाइफी भन्ने जीवाणुको संक्रमणले गर्दा टाइफाइड हुन्छ र ज्वरो त्यसैको एउटा लक्षण हो, मासु खाएर, भात खाएर ज्वरो गडेर त्यस्तो हुने हैन। फेरी एकदुई दिनको ज्वरोमै सेफिक्सजिम’, ‘सेफ्पोडोक्सिम जस्ता 'कडा' एन्टिबायटिक खाएर आएका हुन्छन्, जस्ले टाइफाइड, निमोनिया सबै रोगलाई काम गर्छ। अनि तेस्रो, चौथो दिनमा अस्पतालमा आएर डाक्टरसँग ज्वरो बिग्रेर टाइफाइड भयो कि भनेर डर पोख्छन्। हामी धेरै स्वास्थ्यकर्मीहरु जो गाँउगाँउमा काम गर्छौं (पारामेडिक्स, फार्मेसी चलाएर बस्ने स्वास्थ्यकर्मीहरु, डाक्टरहरु), उनीहरुसँग विरामीको पहिलो संपर्क हुन्छ, त्यो बेलामा उनीहरुलाई सहि सल्लाह र सहि उपचार दिन सकियो भने यस्ता स्वास्थ्य सम्बन्धी भ्रमहरुलाई विस्तारै हटाउन सकिन्छ।

निमोनिया गढेर बसेको छ, बेलाबेला फर्कन्छ।
धेरै विरामीले यस्तो भनेको सुन्छु। मेडिकल साइन्समा यस्तो हुंदैन भन्दा पनि हुन्छ। निमोनिया भनेको भाईरल वा ब्याक्टेरियल संक्रमणको कारणले हुने फोक्सोको रोग हो। एन्टीभाइरल वा एन्टिव्याक्टेरियल औषधी चलाएर निको भएपछी त्यो गढेर बस्ने भन्ने हुँदैन। अर्कोपल्ट फेरी निमोनिया हुनु भनेको अर्को संक्रमण हुनु हो। कोइकोइ रोगसँग लड्ने क्षमता कम भएका व्यक्तीहरुमा पटकपटक यस्तो संक्रमण देखिनसक्छ तर यो थोरैमा मात्रै देखिन्छ। हुन त हामीहरु स्वास्थ्यकर्मीहरुले नै खोकी लाग्यो कि निमोनिया, स्वास्वा गर्‍यो कि निमोनिया भनेर एन्टिबायटिक भिडाएर नि यस्तो भ्रम बढेको हो। वास्तवमा ज्वरो आएर खोकी लाग्दैमा, छाती दुख्दैमा सबै निमोनिया हुँदैनन्।

जाँचहरु सम्बन्धी भ्रम
मेरो एक्सरे गर्दिनुपर्‍यो, मेरो भिडियो एक्सरे गर्दिनुपर्‍यो। के गर्दा मेरो रोग देखिन्छ, सिटी स्क्यान, एम आर आई के गर्नुपर्‍यो?” यस्तो भन्ने विरामीहरु धेरै भेटिन्छन्। रोग पत्ता लागोस् भनेर सोच्नु राम्रो हो, रोगले उनीहरुलाई धेरै सताएको नि होला, तर कुन समस्यामा कस्तो जाँच गर्नुपर्छ, कुन जाँचमा के हेर्नुपर्छ भन्ने कुरा डाक्टरलाई थाहा हुन्छ। त्यसैले सिधै मेरो यो गर्नुपर्‍यो त्यो गर्नुपर्‍यो भन्नु भन्दा नि आफ्नो समस्या सबै डाक्टरलाई सुनाएर केके गर्न सकिन्छ भनेर छलफल गर्ने हो। यहाँ त लड्ने वित्तिकै एक्सरे गर्नु परीहाल्छ, शरीरको कुनै भाग दुख्यो कि एक्सरे गरिहाल्नुपर्छ। अनि कतीको भ्रम के छ भने भिडियो एक्सरेबाट सब कुरा छर्लङ देखिन्छ, त्यसैले त पेट दुखे पेटको, टाउको दुखे टाउकाको, खुट्टा दुखे खुट्टाको भिडियो एक्सरे गर्ने भनेर भन्छन्। यो कुरा गलत हो, शायद स्वास्थ्य क्षेत्रको व्यापारीकरणको कारणले जथाभावी जाँचहरु गराउनाले नि यस्तो भ्रमहरु फैलनलाई मद्दत पुगेको हो कि।

खानासम्बन्धी भ्रम
ओपिडी, वार्डमा हरेकजसो विरामीको प्रश्न हुन्छ "खाना के खानुहुन्छ के बार्नुपर्छ?" केही रोगलाई छोडेर अरु सबैमा सन्तुलित खाना खानु भन्ने हामीले पढिआएको हो। पिनासमा दुध र दुधका पारीकार खान नहुने, दममा चिसो पानी, चिसो फलफूल खान नहुने, भैंसीको मासु खायो भने दाद सन्चो नहुने, ज्वरो आउँदा भात खान नहुने, टाइफाइडमा सार्हो खाना खान नहुने, यो लिस्ट निकै लामो छ।  केही हप्ताअघी अन्नपूर्णपोस्टमा छापिएको एउटा मेडिकल लेख, जुन एउटा डाक्टरले नै लेखेका थिए, टाइफाईड सम्बन्धी त्यो लेखमा आन्द्रामा प्वाल पर्ने सम्भावना भएकोले सार्हो खाना खानुहुन्न भनेर लेखिएको थियो। जती नै सार्हो खाना खाएपनी आन्द्रासम्म पुग्दा के त्यो सार्हो रहिरहन्छ र? किन हामी यस्तो भ्रामक सन्देश दिन्छौं?

अचम्म लाग्छ, दिनदिनै रक्सी, चुरोटमासु खानेले ज्वरो आउँदा मैले के के बार्नुपर्छ भनेर सोधेको सुन्दा। के हामीले विरामी हुने बेलामा मात्र स्वस्थ सन्तुलित खाना खाने, अरु बेलामा जे खाए नि हुने हो र? अरु बेला पिरो, अमिलो, चिल्लो, नुनिलो खाना खाने अनि रोगले समातेपछी चै सादा जाउलो खाने हो र? खानासम्बन्धी यो भ्रम आयुर्वेदतिरबाट नि आएको हो जस्तो लाग्छ। यो खाना तातो, यो खाना चिसो भन्ने आयुर्वेदमै हुन्छ जस्तो लाग्छ। अनि यो विषयमा हामी आँफैं सर्वज्ञानी हुन्छौं, एउटा अस्पतालको क्यान्टिनकी साहुनीले खाना माग्दा जन्डिस भको विरामीलाई बेसार, तेल भको दिनुहुन्न भनेर सादा जाउलो दिएर पठाएछिन्, पछी "केही नबारी भातदालतरकारी नै खुवाउनु र तपाईंलाई दिएन भने मलाई भन्नु" भनेपछी बल्ल विरामीले मिठो भातदालतरकारी खान पाए।

रोगलाई हेर्ने र बुझ्ने हामी स्वास्थ्यकर्मीहरुको सोचाइ र विरामीहरुको सोचाइमा धेरै फरक हुन्छ। मैले ग्यास्ट्राइटिस वा ग्यास्ट्रिक भन्दा जे बुझेको हुन्छु, विरामीले अर्कै बुझेको हुन्छ, उसको लागि त्यो गानो गोला, छातीमा भुकभुक हान्ने, गोला घुम्ने रोग हुन्छ। मैले निमोनिया भन्दा भाईरल वा ब्याक्टेरियल संक्रमणको कारणले भनेर औषधी चलाएको हुन्छु, उसले चिसो गढेर वा पानीमा भिजेर निमोनिया भयो भनेर बुझेको हुन्छ। मैले प्रेसर घटेर सक हुँदा वा शरीरमा पानी कम हुँदा सलाइन चढाउनुपर्छ भन्ने पढेको हुन्छु विरामीले भित्री तातोपनालाई कम गर्न, तागत दिन, अनि कसैकसैलाई सलाइन चढाउने बानी परेकाले सलाइन चढाउनुपर्छ भन्ने बुझेका हुन्छन्।

हाम्रा विरामीहरु अनि विरामीका आफन्तहरु अनि अरु सर्वसाधारणहरु र धेरै स्वास्थ्यकर्मीहरुमा पनि स्वास्थ्यसम्बन्धी यस्ता धेरै भ्रमहरु छन्, हामीले हरेक दिन यस्ता भ्रमहरुको सामना गर्नुपर्छ। त्यस्तो बेला ह्या यो यस्तै हो भनेर छोड्नुको साटो केही समय बढी खर्चेर आफूले जानेको, बुझेको कुरालाई विरामी र उनका मान्छेहरुलाई बुझाउने कोसिस गर्नुपर्छ। विरामीले नि औषधी लिएर चुपचाप फर्कनुको साटो आफ्नो रोगबारे बुझ्न डाक्टरसँग प्रश्नहरु गर्ने गर्नुपर्छ। अनि उपचारका सम्बन्धमा मनमा लागेका कुरा आफ्नो डाक्टरसँग सल्लाह गर्ने गर्नुपर्छ, न कि गाँउशहर, छरछिमेकका भनाई सुनेर औषधी लिने। वर्षौंदेखी गढेका यी भ्रमहरु एकदिनको एकछिनको प्रयासले त अवश्य जादैनन् तर हामी स्वास्थ्यकर्मीहरु लगायत शिक्षित सर्वसाधारणहरुको प्रयासले यस्ता भ्रमहरु बिस्तारै हराउदै जान्छन् भन्ने आस गर्न सकिन्छ।

नोट: स्वास्थ्यसम्बन्धी तपाईंले अनुभव गर्नुभएका केही विश्वासहरु, केही भ्रमहरु छन् भने शेयर गर्नुहोला।


नसासम्बन्धी रोगका भ्रमहरुबारेको मेरो अनुभव यहाँ पढ्नुस्।  स्वास्थ्य शिविरबाट फर्केपछी…’
बाँकी पढ्नुहोस् >>

Thursday, February 5, 2015

पाठेघर नै फाल्या महिला नि गर्भवती!! के मिलेन त?

रमा तीनवटा बच्चा छन् रे उनका, यो आठौ गर्भ हो रे, अरु कोइ पेटमै खेर गए, कोइ जन्मेर खेर गए रे। लेखाजोखा नै छैन, उनलाई याद नि छैन। पछील्लो बच्चा जन्मेपछी पाठेघर खस्ने समस्या भएर पाठेघर फालेको रे। कालिकोट मान्मको शिविरमा फालेको भन्थिन्। अहिले गर्भवती भएर आएकी थिईन्। हुनै नसक्ने कुरा। पाठेघर नै फालेपछी कसरी गर्भ बस्छ, कहाँ गर्भ बस्छ। हुन त उनी अति नै विपन्न, चेतनाको स्तर न्युन भएकी देखिन्थिन्। गाउघरका धेरैजसो विरामी यस्तै हुने रहेछन्। आफ्नो अवस्थाको बारेमा केही थाहा नहुने, के औषधी खाएको, के अप्रेसन गरेको त झनै थाहा हुने कुरै भएन। उनलाई आफ्नो पाठेघर फालिएको भन्ने चै शायद शिविरमा उपचार पछी कसैले भनेको थियो होला। उनको साथमा कोइ बुझ्ने मान्छे आएको छ कि भनेर सोद्धा जेठी श्रीमतीको छोरा आएका रहेछन्, उनलाई धेरै थाहा नभए नि "शिविरमा आङ खस्ने समस्याको उपचार गरेको, त्यो बेला अरुहरुको पनि पाठेघर फालेको थियो" भनेर मात्रै भन्न सके। पेटमा सुन्दा खेरी बच्चाको मुटुको धड्कन चै सुनिन्थ्यो। पेटमा काटेको दाग केही नभए पनि तलबाट जाच्दा औंला हाली जाच्दा भने योनी एकदम साघुरिएको थियो। सिजेरियन अप्रेसन गरियो, पाठेघर सङ्लै थियो, बच्चा राम्रै भयो।

उनको पाठेघर निकालिएकै थिएन। पाठेघर खस्ने समस्याको लागि योनीमार्गको अप्रेसन (Pelvic floor repair) मात्रै गरिएको थियो कि, उनलाई बुझाउदा पाठेघर नै फालेको भनेर पो बुझिन् कि। अथवा पाठेघर नै ननिकाली निकालेको पो भनेका हुन् कि। जे पनि हुनसक्छ।

मैले यहाँ भन्न खोजेको चै हाम्रो उपचार प्रणालीमा 'डकुमेन्टेसन'को कमजोरी र स्वास्थ्य प्रणालीमा गरिनुपर्ने सुधार बारे हो। ती महिलाको के उपचार, अप्रेसन गरिएको थियो भनेर लिखित रेकर्ड कतै भएको भए यति 'कन्फ्युजन' नै हुन्थेन। हो, विरामीलाई के कस्तो उपचार, अप्रेसन भनेर सबै बुझाउन सकिदैन, सबैको त्यत्तिको मेडिकल ज्ञान पनि हुँदैन। तर कुनै पनि विरामीको उपचारको कतै रेकर्ड हुने सिस्टम भयो भने त्यो व्यक्तीको जिन्दगी भरको लागि सजिलो हुन्छ।

हाम्रोमा कती विरामी अस्पताल आउनु अघी नै विभिन्न एन्टीवायटिक, थरीथरीका औषधी खाएर आएका हुन्छन्, के खानुभाथ्यो भनेर सोध्यो भने नाम थाहा हुने त कुरै भएन अनी एउटा सेतोसेतो लामो ट्याब्लेट थ्यो, अर्को गुलियो गुलियो झोल थ्यो, दिनको ३ पटक खाने, यस्तै यस्तै भन्छन्, त्यसैका आधारमा अन्दाज मानेर यो खाएको होला भनेर चल्नुपर्ने हुन्छ। कति बेला पहिल्यै चलेको औषधी फेरी दोहोरिन्छ, भन्न सकिदैन। कसै कसैले पुराना कागजात, औषधीहरुको थुप्रो बोकेर आएका हुन्छन्, कतिले त के बोक्ने के नबोक्ने थाहा नपाएर औषधीको, जाचहरुका बिलहरु पनि लिएर हिड्छन्। पुराना प्रेस्क्रिप्सनहरु पनि कहिले कस्कोमा देखा'को हुन्छ, कहिले कस्कोमा। एउटै औषधी दोहोरिएको हुन्छ, एउटै जाच अनावश्यकरुपमा पटक पटक भईरहेका हुन्छन्, पैसा अनावश्यक खर्च भईरहेको हुन्छ, समस्या जहिको तही हुन्छ। विरामीले नि पटक पटक डक्टर फेरेको भएर डक्टरसँगको कुनै स्थायी सम्बन्ध अनुभव गर्न पाएका हुँदैनन्, डक्टरहरुले नि ४-५ मिनेटको भेटमा विरामीलाई खासै केही सेवा दिन सकिरहेका हुँदैनन्।    

त्यसो भने हुनुपर्ने के हो त? कस्तो हो त?

खासमा हुनुपर्ने के भने कुनै एउटा निश्चित क्षेत्रको लागि एउटा एमडीजीपी डक्टर वा फेमिली डक्टर हुनुपर्छ, जस्को जिम्मामा त्यो क्षेत्रका सबै महिला, पुरुष, बच्चा, बुढाबुढी, सबैको स्वास्थ्य अवस्थाको हेरचाह हुनुपर्छ। कुनै महिला गर्भवती भईन् भने गर्भावस्थाको जाच गर्ने, टिटी सूई लाउने, आइरन चक्की खाने आदी सबै काम उसैको मातहतमा हुनुपर्छ, र त्यो सबको रेकर्ड उसको अफिसमा हुनुपर्छ। र केही गरेर रिफर गर्नुपर्यो भने उसले नै केन्द्रको स्त्री रोग विशेषज्ञकोमा रिफर गर्ने र रिफरको बेला आवश्यक जानकारी सम्बन्धित विशेषज्ञकोमा पठाउने जिम्मा नि उही डक्टरको हुनुपर्छ। त्यसै गरी त्यो क्षेत्रका हरेक बच्चाबच्चीको स्वास्थ्य अवस्था, खोप लाए नलाएको रेकर्ड, जन्मको बेलाको रेकर्ड, प्रत्येकपल्ट विरामी हुँदा, अस्पताल भर्ना हुँदाको रेकर्ड त्यो क्षेत्रको जीपीको अफिसमा हुनुपर्छ। त्यस्तै क्यान्सर, उच्च रक्तचाप, मधुमेह जस्ता विभिन्न दिर्घरोगहरुको पनि नियमित फलोअप उनैको अफिसबाट हुनुपर्छ। केन्द्रका ठुला अस्पतालहरुमा भर्ना भएर, अप्रेसन गरेर फर्केका विरामीहरुको पनि फलोअप गर्नको लागि क्षेत्रकै जीपीको माध्यमबाट गरिनुपर्छ, जसले गर्दा विरामीलाई नि शहर नै धाउनुपर्ने झन्झट हुँदैन र डक्टर-डक्टर बीचको कम्युनिकेसनबाट फलोअप हुने हुँदा गलत जानकारी जाला भन्ने डर पनि हुँदैन। साथै जीपीले आफ्नो क्षेत्रका विरामीको रिफरलका लागि व्यवस्था मिलाउने, केन्द्रका स्पेसलिस्टलाई विरामीको मेडिकल रेकर्ड उपलब्ध गराउने, गरिएको उपचार, औषधीका बारेमा थाहा दिने, केही नबुझिएको भए थप जानकारी दिने अनी विरामीको मेडिकल प्रवक्ताको रुपमा काम गर्ने पनि गर्नुपर्छ।

प्राय: विकसित देशहरुमा यस्तै खाले मेडिकल प्रणाली सरकारीरुपमा नै लागू भएको हुन्छ। यसले जनताको स्वास्थ्य अवस्थाको रेकर्ड राम्रो रहन्छ, विरामीलाई आफ्नो स्वास्थ्य समस्या आफ्नो क्षेत्रको जीपी वा फेमिली डक्टरलाई भन्ने भनेर निश्चित हुन्छ, विरामीको उपचारमा निरन्तरता हुन्छ, रिफरलको राम्रो सिस्टम नि बस्छ, कम्युनिकेसन ग्याप पनि हुँदैन। सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सरकारीरुपमै स्वास्थ्य विमा गर्ने कानुन ल्याएर त्यस अन्तर्गत यस्तो प्रणाली बसाल्न सक्यो भने हाम्रो पनि स्वास्थ्य क्षेत्र व्यवस्थित भएर जान्थ्यो कि।

शुरुको केसमा शायद हाम्रो स्वास्थ्य सेवा प्रणाली नमिलेको हो, कुनै मेडिकल चमत्कार भएको हैन।

बाँकी पढ्नुहोस् >>

Sunday, January 18, 2015

लेखको प्रतिकृया अनि मनका केही कुरा।

धेरै अघी दिलिप आचार्यजीको यो लेख ‘के चिकित्सकहरु कमिसनकै लागि यस्तो गर्छन् त?’ पढ्ने बेलामै मनमा लागेका कुराहरु लेख्ने भन्ने सोचिरहेको थिए तर के के नमिलेर लेख्न भ्याएको थिईन। आज अलि फुर्सद भएकोले त्यो लेख पढ्दा मनमा लागेका कुराहरु लेख्न लाग्दैछु। लेख पुरानो भए पनि यी सन्दर्भहरु हामीकहा अझै सधैंजसो नै भई नै रहन्छन्, र हामी मध्ये धेरैले आफूसँग यी कुराहरु कतै न कतै जोडीएको पाउनेछौ।

सर्वप्रथम् यो लेख डक्टर वा कोही पनि स्वास्थ्यकर्मीको कुनै पनि गलत कार्यको बचाउको लागि लेखिएको हैन। उनीहरु पनि मान्छे नै हुन् र उनीहरुबाट नजानीकन र कती बेला जानीजानीकन गल्तीहरु र अपराधको कामहरु समेत हुनसक्छन्। तिनको सही छानविन गरी गल्ती, अपराध अनुसारको सजाय दिनुपर्छ भन्नेमा कसैको दुई मत हुनै सक्दैन।

लेखकले उक्त लेखमा राख्नुभएको आफ्नो धारणा जस्तै धेरैले आफ्नो वा आफन्तको उपचारको क्रममा त्यस सम्बन्धी आफ्नै धारणा बनाएका हुन्छन्। यो लेख मार्फत मैले त्यसलाई फरक दृष्टिकोणले पनि हेर्न सकिन्छ र हेर्दा दृष्य र घटनाहरु फरक देखिन्छन् भन्ने मात्रै बताउन खोजेको हुँ। साथै आफ्न केही कुराहरु नि जोडेको छु।

पहिलो घटना-
केही दिनदेखी पेट दुखेको भनेर पेट रोग विशेषज्ञकोमा देखाउन जानुभएको, डक्टरले केही सोधपुछ मात्रै गरेर जाचहरु पठाइदिए, जुनमा खासै केही खराबी देखिएन, पछी घरमै बस्ने हड्डीका डक्टरले दिएको अमिबाको औषधी खाएर ठीक भो भन्ने कुरा।

विरामीसँगको सोधपुछ, जसलाई ‘हिस्ट्री लिने’ भनिन्छ, राम्ररी समय लगाएर गरिएको छ भने रोगबारे धेरै कुरा त्यसैबाट अन्दाज लगाउन सकिन्छ। त्यसको आधारमा विरामी जाच्दा के के हेर्नुपर्छ भन्ने कुरा डक्टरको दिमागमा खेलिरहेको हुन्छ। अनि त्यस अनुसार ल्याब टेस्टहरु पठाएर रोगलाई खुट्याउन थप सहयोग मिल्छ। रोग पत्ता लगाउने यो तरिका संसारभर उस्तै हो। तर अवस्था अनुसार यसमा केही फेरबदल हुन्छ नै। जस्तो रोग सामान्य झै लाग्यो र लक्षणहरुको आधारमा लगभग पक्का जस्तो भो भने विना ल्याब टेस्टहरु नै उपचार शुरु गरेर कत्तीको सुधार हुन्छ हेर्न सकिन्छ। त्यस्तै विरामी सिकिस्त छ भने रिपोर्ट कुरेर रोग निर्क्यौल गरेर मात्रै औषधी चलाऊन नभ्याइने हुन्छ, त्यसैले हिस्ट्री र विरामी जाच्दाको प्रमाणहरु अनुसार हुनसक्ने रोगहरुको लागि भनेर औषधी शुरु गरिन्छ।  यो प्रक्रीया डक्टर अनुसार अलिअलि फरक पर्छ नै।
लेखकले भने अनुसार ती विशेषज्ञ डक्टरले विरामीलाई हात नै नलगाई भिडियो एक्सरे, स्टुल आदीको जाच लेख्दिएका थिए, जुन मेडिकल हिसाबले गलत हो। जस्तै सामान्य समस्याको विरामी भए पनि एकपटक राम्ररी विरामी जाँच्नैपर्छ। तर लेखकको यो धारणा पनि गलत हो कि पेट छामेर नै अमिबाले दु:ख दिएको पत्ता लाग्छ। हो उनको पेट दुखाइ अमिबाको औषधी खान शुरु गरेको दोस्रो दिनदेखी नै ठीक हुन थाल्यो, तर त्यो औषधीले नै त्यो जादु गरेको होला भनेर मेडिकल साइन्स पढेको कुनै पनि मान्छेले शायदै पत्याउला। र पेट दुख्ने मात्र समस्याको लागि मात्र पेट छामेर अमिबाको औषधी (पक्कै पनि मेटोनिडाजोल एन्टिबायटिक होला) चलाउनु उचित हुँदैन। पेट रोग विशेषज्ञले शुरुमा दिएको ५ दिने औषधी नै पो एन्टिबायटिक थिए कि? तिनले पनि अमिबालाई ठीक गर्थे कि?
खासमा हुनुपर्ने के हो भने डक्टरले विरामी जाचिसकेपछी “मलाई यो यो रोगको शंका लागेको छ, यो यो जाच गराएर यी रोगहरु हो हैन हेरौ, अनि यसको लागि यो औषधी चलाऊदैछु” भनेर जानकारी दिनुपर्छ। र विरामीसँग उसको राय, भन्न मन लागेको कुराहरु बारे नि छलफल गर्नुपर्छ। विरामीले पनि डक्टरले भनेको सबै कुरा यत्तिकै मान्नुभन्दा सकेसम्म आफ्नो रोगबारे, भनिएका जाचहरु बारे, आफूलाई चलाइएको औषधी बारे जान्ने प्रयास गर्नुपर्छ।

दोस्रो घटना-
१० वर्षकी बच्चीको पेटको समस्या जती औषधी गरे पनि निको नभएको तर आँफैले गुगल गरेर जुकाको औषधी चलाएको भोलिपल्टै ठीक भएको भन्ने घटना।

कुनै एक डक्टरको उपचार गराउदा ठीक नभएपछी हामी प्राय: डक्टर परिवर्तन गरिहाल्छौ र रोग ठीक नभएसम्म गरी नै रहन्छौ। यो खासमा आफ्नो डक्टरप्रति विश्वास नभएको हो वा भनौ डक्टरले विरामीको विश्वास जित्न नसकेको हो। "म तपाईंको समस्या समाधानको लागि सक्दो प्रयासरत छु, हामी मिलेर यसको हल निकाल्न सक्छौ र केही गरेर मबाट भएन भने सही विशेषज्ञकोमा रिफर गर्नेछु" भन्ने विश्वास विरामी, उसको परिवारलाई दिन सकियो भने ‘डक्टर सपिङ’को यो चलन केही कम गर्न सकिन्छ कि। नत्र फरक फरक अस्पताल र डक्टर चाहर्दाचाहर्दा विरामीको खर्च नि बढ्छ, अनावश्यकरुपमा जाचहरु नि दोहोरिन्छन्, सुधार नगरेका औषधीहरु नि पटक पटक उही चल्छन्। त्यसैले विरामीले पनि सकेसम्म एउटै डक्टरकोमा लगातार देखाउने र उक्त डक्टरले विरामीसँगको सल्लाहपछी रिफर गरेर मात्रै अर्को डक्टरकोमा जाने बानी गर्नुपर्छ।
खासमा हुनुपर्ने के हो भने, शुरुमा समस्याहरु सधैं एकै जेनेरल फिजिसियन वा फेमिली डक्टरलाई देखाउने गर्नुपर्छ, त्यसो भएमा उनलाई विरामीको, उसको परिवारको बारेमा धेरै जानकारी हुन्छ र शुरुका सामान्य रोगहरुको उपचार उसैले गर्छ र कुनै जटिलता आएमा रोग, अवस्था अनुसारको विशेषज्ञकोमा रिफर गर्छ। धेरैजसो विकसित देशहरुमा यसप्रकारको सिस्टम नै हुन्छ।
अर्को कुरा हामी उपचारको क्रममा औषधीको साइड इफेक्ट भएको होला भनेर प्राय: शंका गर्दैनौ, अनि साइड इफेक्ट भयो भने पनि त्यसलाई काट्न अर्को औषधी थपिदिन्छौ। र कतीपय बेला रोगले भन्दा नि औषधीको साइड इफेक्टले विरामीलाई झन बढी सिकिस्त बनाइरहेको हुन्छ। त्यसो हो भने सोही डक्टरकोमा गएर मलाई यस्तो यस्तो भयो भनेर थाहा दिनु उचित हुन्छ।
हुन त लेखकले ३ घण्टा गुगल गरेर पत्ता लगाएर एक डोज जुकाको औषधी दिएर भोलीपल्टै च्वाट्टै निको भयो भनेका छन् तर किन किन मलाई पहिले चलाईएका औषधीहरु बन्द गरेकाले साइड इफेक्ट विस्तारै हराएर आँफै ठीक भएको हो कि भन्ने लागिर'छ, तर वाह वाह चै एक डोज अल्बेन्डाजोलले पायो कि।

तेस्रो घटना-
विशेषज्ञले जाच गर्दा, इन्डोस्कोपि गरेर औषधी चलाऊदा नि ठीक पार्न नसकेको पेट दुखाइ एमबीबीएस पास गरेका तर नाम नचलेको "क्वाक डक्टर" ले दिएको एउटा औषधीले ठीक गरेको घटना।

पहिलो कुरा एमबीबीएस पास गरेको तर नाम नचलेको भन्दैमा ती डक्टर कसरी "क्वाक डक्टर" भए, बुझिएन। त्यसो हो भने त नेपालमा गाउगाउ सेवा गर्ने एमबीबीएस पास डक्टरहरु त सबै नै 'क्वाक' हुने भए। दोस्रो कुरा ती क्वाक भनिएका डक्टरले दिएको Razo-20 भन्ने औषधी Rabeprazole/राबेप्राजोल हो, जुन ग्यास्ट्राइटिस रोगहरुमा चलाइन्छ। ती शुरुका विशेषज्ञ डक्टरले उनको पेट दुखाइका लागि त्यही ग्रुपको कुनै औषधी (प्यान्टोप्राजोल ओमेप्राजोल, एस्मोप्राजोल आदी) चलाएनन् होला भनेर मलाई चै पत्यार लाग्दैन। हो, ती औषधीहरुले उनको दुखाइ ठीक भएन त्यो आफ्नो ठाउँमा छ, तर एउटा समस्या ठीक पारेको, नपारेको आधारमा कोही डक्टर राम्रो वा नराम्रो भनिहाल्न मिल्दैन। हामी धेरैले डक्टरको उपचारलाई त्यसरी नै तौलिरहेका हुन्छौ। कसैले धेरै औषधी लेख्ने डक्टर राम्रो भन्छन्, कसैले एउटै समूहका फरक औषधी लेखेर ठीक हुँदा शुरुको खत्तम, पछीको दामी डक्टर भन्छन्, कसैले मेडिकल साइन्सले नै गर्न नसक्ने ग्यारेन्टी दिएर औषधी गर्ने, अप्रेसन गर्ने डक्टरलाई विश्वास गरिरहेका हुन्छन्। हुन त यो मान्छेको आ-आफ्नो विश्वासको कुरा हो, यसले खासै फरक त पर्दैन तर सत्य नबुझी बनाइएका यस्ता धारणाले भविष्यमा धोका दिनसक्छ।

आफ्नो लेखमा लेखकले शंका गरेजस्तै ती डक्टरहरुले कमिसनकै लागि अनावश्यक जाचहरु पठाएका पनि हुनसक्छन्। यो समस्या हाम्रो मेडिकल क्षेत्रमा धेरै नै छ। त्यसैले जाचहरु गर्दा किन गरिएको, के रोगको शंका हो भनेर बुझाउने वा कम्तीमा बुझाउन प्रयास गर्ने डक्टरलाई देखाउनु बेस हुन्छ। साथै आँफैले पनि आफ्नो स्वास्थ्यको बारेमा जान्ने, खोजविन गर्ने प्रयास गर्नुपर्छ।

"सामान्य रोगलाई जटिल भन्दिने र जटिललाई सामान्य मान्दिने" कुरा बारे -
डक्टरले विरामीको हिस्ट्री, जाच्दाका देखिएका प्रमाणहरु, ल्याब रिपोर्टहरु अनि आफ्नो ज्ञानका आधारमा नै रोगको पहिचान गर्ने हो, त्यसमा कोही पनि सधैं शतप्रतिशत सही हुन्छ भनेर संसारको कुनै पनि भागमा ग्यारेन्टि दिन सकिदैन। त्यसैले त मेडिसिन साइन्स हो, जादु हैन। फेरी त्यो भनाइ सबैकुरा वितेपछी पछाडि फर्केर हेरी गरिएको कमेन्ट हो, फर्केर हेर्दा कहाँ को के गलत भयो, ठीक भयो भन्न सजिलो हुन्छ, तर शुरुको अवस्थामा भएका लक्षण, जाचका प्रमाण, ल्याब रिपोर्टहरु, उपलब्ध पूर्वाधारहरुका आधारमा गर्नसकिने त्यति नै थियो कि, त्यही नै थियो कि।

सबैलाई मेरो सुझाव-

  • उपचारको लागि विरामीसँग राम्रोसँग कुरा गर्ने, सबै समस्या बुझ्न कोसिस गर्ने, विरामी जाँच्नलाई समय दिने डक्टरलाई विश्वास गर्नुहोला न कि हतार हतारमा कुरा सुनेर औषधी लेख्ने डक्टरलाई। नामै चलेको डक्टर भए पनि विरामीको कुरा राम्ररी नसुनी, राम्ररी नजाची उसले गरेको उपचार गलत हुनसक्छ। त्यसैले कस्को क्लिनिकमा बढी भिड लाग्छ उसैलाई देखाउने भन्दा नि कस्ले समय दिएर विरामी हेर्छन् उस्लाई आफ्नो डक्टर छान्नुहोला। 
  • औषधी शुरु गर्नु अघी आफूलाई वा आफ्नो आफन्तलाई के समस्या भएको हो डक्टरसँग सोध्ने गर्नुहोला। एउटै रोग ठ्याक्कै भन्न नसकिए पनि के रोगको शंका छ, के के हुनसक्छ भनेर डक्टरले सोचेको हुन्छ नै, त्यसैको आधारमा नै औषधी चलाऊने हो। कहिलेकाही त्यो शुरुको प्रोभिजनल डायग्नोसिस पछी फेरिन सक्छ, फरक रोग हुनसक्छ, त्यसैले भनेको मेडिकल साइन्सले १००% ग्यारेन्टि दिन सक्दैन। तर तपाईंको डक्टरले रोग पत्ता लगाउनका लागि सकेसम्म प्रयास गरेका छन् भन्ने कुरामा तपाईं ढुक्क हुनुपर्यो। 
  • टाउको दुखेको छ भने टाउकोको डक्टर, छाती दुखेको छ भने छातीकै डक्टर, पेट दुखेको छ भने पेटकै डक्टर खोज्नुभन्दा पहिले जेनेरल फिजिसियन वा जेनेरल प्राक्टिसनर वा एमडी जीपीलाई देखाउनुहोला, जसले तपाईंको रोगबारे बुझेर समस्या साधारण भए उपचार गर्दिन्छन् र सम्बन्धित रोगकै विशेषज्ञ चाहिने भए रिफर गर्दिन्छन्। यसो गर्दा ग्यास्ट्राइटिस, निमोनिया भएको विरामी गंगालाल (मुटुरोग अस्पताल) पुग्नुपर्दैन, सर्जनले हेर्नुपर्ने पेट दुखाइको विरामी मेडिसिनको डक्टरको मा लाइन बस्नुपर्दैन, मानसिक रोग विशेषज्ञले हेर्नुपर्ने विरामी सबै अस्पताल चहारी हिंड्नुपर्दैन।  


धन्यवाद...
बाँकी पढ्नुहोस् >>

Monday, December 8, 2014

लिजोनेर्स डिजिज (Legionnaires disease)

लिजोनेर्स रोगको बारेमा भ्रमहरुको बारेमा डा. चिरायु रेग्मी ले आफ्नो फेसबुक वालमा लेख्नुभएको कुराहरु:-

लिजोनेर्स डिजिज (Legionnaires disease) को बारेमा पत्रिकामा यसरी समाचार आइदियो कि, पाठकहरुले सामाजिक संजालमा पानी 'उमालेर' मात्र खान समेत सुझाब दिए।

यी भ्रमहरुको खिलाफमा केहि तथ्यहरु-

१. लिजोनेर्स डिजिज- यो एक किसिमको निमोनिया हो। लिजोनेल्ला भन्ने व्याक्टेरियाले गर्दा यो रोग लाग्ने गर्छ। निमोनियाको कारणको रुपमा यो व्याक्टेरिया नेपालमा पहिलो पटक पत्ता लागेको हो।  
२. यो रोग संक्रमित/फोहोर पानी खाएर सर्दैन- बरु जीवाणुयुक्त पानीको बाफ/फोहरालाई साससंगै फोक्सो भित्र तानियो भने सर्छ- AC को प्रयोग हुदा, अस्पतालमा nebulizer/respirator द्वारा, आधुनिक shopping mall मा तरकारीलाई ताजा राख्न प्रयोग गरिने पानीको स्प्रेद्वारा र कहिलेकाही sauna/shower मा नुहाउदा सर्न सक्छ। यी किसिमले प्रयोग गर्ने पानीलाई रासायनिक माध्यमले प्रसोधन गरे यो रोग फैलनबाट रोक्न सकिन्छ।
३.  रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बृद्ध, दिर्घ धुम्रपान गरेका र फोक्सोमा पहिलै अरु समस्या भएकाहरुलाई सजिलै सर्छ, अरुमा सर्न गार्हो छ।
४.  यसको उपचार नेपालमा सजिलै उपलब्ध छ। मान्छेबाट मान्छेमा सर्दैन, त्यसैले ठूलो महामारी फैलने सम्भावना कम छ।

बाँकी पढ्नुहोस् >>

Saturday, December 6, 2014

डक्टरी वास्तवमा के हो? पेशा कि समाजसेवा?

क्टरी पेशा हो कि समाजसेवा हो भन्ने कन्फ्युजन मेरो दिमागमा बेलाबेलामा चलीरहन्छ। हाम्रो समाजलाई नि डक्टरी समाजसेवा हो र हुनुपर्छ भन्ने भ्रम छ। यहाँ गरिव विरामीले उपचार नपाउदा, प्राइभेट अस्पतालमा उपचारको चर्को शुल्क तिर्नुपर्दा डक्टरी पेशालाई सेवाबाट व्यापारमा बद्लेको भन्ने आरोपहरु लाग्ने गर्छ। सुन्दरमणी दिक्षित सरको पछील्लो लेख (शिर्षक नै चित्त नबुझेकोले मैले यहाँ राखिन) ले मेरो मनमा फेरी यो प्रश्न उठाइदियो। हुन त वहाँको लेख सस्ता शब्दहरु चयनका कारण सर्वसाधारणमा चर्चित रह्यो भने मेडिकल क्षेत्रका साथीहरुमा चै निकै नै विवादस्पद बन्न पुग्यो।

सुन्दरमणी सरलाई मैले वी.पी.को. स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको दिक्षान्त समारोहमा र पाटन अस्पतालको एउटा ग्रान्ड राउन्डमा सुनेको थिए। जहिले पनि उहाका शब्दहरु ठाडो तर विचारहरु सुन्दर हुन्छन्, धेरैजसो मेरा विचारहरु नि उहाकोसँग मिल्छन्। तर पछील्लो पटक प्रकाशित वहाँको लेख मलाई अलि चित्त बुझेन, फेसबुकको नेपाली डक्टरहरुको ग्रुप 'DSON' मा पनि उहाको लेखको विरोध भईरहेको छ। लेखमा पोखिएका उहाका विचारहरु भन्दा मेरा केही फरक धारणा छन् तर शब्द चयनप्रती चै मेरो आपत्ती छ।

"डाक्टरी पेशा सबभन्दा सम्वेदनशील हो, शिक्षक केही मात्रामा सम्वेदनशील हुनुपर्छ, वकिलले त सम्वेदनशील हुने कुरै छैन।" 
पेशा भनेको सबै उत्तिकै जिम्मेवारीपूर्ण हुन्छन् र हरेक पेशाकर्मीले आफ्नो जिम्मेवारी, महत्व बुझेको हुनुपर्छ र त्यसै अनुरुप निभाउनु पनि पर्छ। “वकिलले सम्वेदनशील हुने कुरै छैन” भनेर के भन्न खोज्नुभएको होला? उसको पनि आफ्नो ‘क्लाइन्ट’सँगको सम्बन्ध हुन्छ, उसैप्रती उसको जिम्मेवारी हुन्छ। पेशाकै आधारमा मान्छे ठुलोसानो, जिम्मेवारी बढीकम भन्ने हुँदैन भन्ने मलाई लाग्छ। गाडी चालकहरुको आफ्नो कामप्रतीको असम्वेदनशीलता, हेलचेक्राइले धेरैको ज्यान गएको हामीले सुनी, पढिरहेका हौ।

“कुनै महिलाले डक्टरको अगाडि लुगा खोल्छिन्, त्यत्रो विश्वास गर्छिन्, यो विरामीले डक्टरलाई दिएको इज्जत हो। हामीलाई समाजले कत्रो इज्जत दियो, जुन कुराले गर्दा आज #########################, यत्रो इज्जत कुन चाँही पेशाले पाउछ?” 
यो उदाहरण आँफैमा नपच्दो छ। हरेक पेशामा सेवा दिने र सेवा लिने बीच आफ्नै प्रकारको विश्वासको सम्बन्ध हुन्छ। कुनै होटलमा गएर तपाईं ढुक्कसँग खाना खान सक्नुहुन्छ, खानामा केइ मिसाएको छ कि विष हालेको छ कि भनेर शंका गर्नुहुन्न। आफूले अपराध नै गरेको छ भने पनि आफ्नो वकिलसामू सबै कुरा खुलस्त भन्नुहुन्छ। चुनावको बेला नेताहरुलाई जिताएर हामी आफ्नो देशै उनीहरुलाई सुम्पेका हुन्छौ। कपाल काट्न बस्दा धारिलो चक्कु लिएको नाईसामू आफ्नो घाटी थापेर चुपचाप ढुक्कसँग बस्नुहुन्छ। यी सबै विश्वासकै उदाहरणहरु हुन्, संसार विश्वासमै अडेको छ। त्यसैले विरामीले आफूसामू नाङिएर जाच्न दिनु डक्टरको इज्जत हो भन्ने उदाहरण अपाच्य लाग्यो। यो त डक्टर- विरामीको सम्बन्धको, विश्वासको एउटा पाटो हो। अनी नभुल्नुपर्ने अर्को कुरा के हो भने सबै डक्टरले विपरित लिङको विरामीको जाच गर्दा विरामी पुरुष भए पुरुष र विरामी महिला भए महिला सहयोगी राख्नुपर्छ र राख्ने पनि गर्छन्। यो महिला, पुरुष डक्टर दुवैको हकमा लागू हुन्छ। सर्वसाधारणले यो बुझ्नु जरुरी छ र आफ्नो जाचको बेलामा विरामीले त्यसको माग राख्न पाउछन्।

अर्को मन नपरेको उदाहरण हो- “डक्टर खान नपाउने हुँदैनन्, खाए लाएको परिवारबाट आएको हुन्छ, झन खाएलाएको हुन्छ, त्यसैले उ सम्वेदनशील हुनुपर्ने, सभ्य हुनुपर्ने।“
भावको हिसाबले उहाका कुरा ठिकै हुन् तर ४०-५० लाख खर्च गरेर एमवीवीएस पढेर, १ करोडसम्म खर्च गरेर एमडी सकेपछी अब म यो समाजलाई के दिनसक्छु, देशलाई के दिनसक्छु भनेर सोच्नुपर्छ भनेर तपाईं वा यो समाजले सोच्छ भने त्यो दिवास्वप्न बाहेक केही हुँदैन। हो छात्रव्रितीमा पढेको डक्टरसँग यो आशा राख्नु ठीक हो, देशले पढाएको छ भने त्यो गुन तिर्नु उस्को जिम्मेवारी नि हो। मन्त्रालयबाट छात्रव्रितीमा एमबीबीएस गरेका प्राय: सबैले ‘बोन्ड’ अनुसार गाउगाउमा गएर सेवा नि गरिरहेकै छन्। तर सबै डक्टरलाई एउटै पोल्टामा हालेर “तैले समाजसेवा नै गर्नुपर्छ, तैले देश छोड्न पाउदैनस्, अमेरिका, बेलायत उड्न पाउदैनस्” भन्नु चै हिटलरीपना हो। कि चै देशले, सरकारले उनिहरुको लागि राम्रो सम्भावनाका बाटोहरु बनाउन सक्नुपर्छ हैन भने आफ्नो क्षमता अनुसारका राम्रा मौकाहरु खोज्दै उ कही पनि जान स्वतन्त्र हुन्छ। हो, तपाईंलाई देश छोड्न मन नलाग्ला, मलाई नलाग्ला, अरु केहीलाई नलाग्ला, तर डक्टर भयो भन्दैमा सबैलाई यो भावना आउनुपर्छ भन्ने केही हुँदैन। र त्यो भावना छैन भन्दैमा उ नराम्रो, कम सम्वेदनशील भन्न मिल्दैन। उहाकै शब्दमा “डाक्टरमा अलिकति समाजसेवा, राष्ट्र सेवा, जनताको सेवाको भावना आएन भने डाक्टरी पेशामा सम्वेदनशीलता रहँदैन।“ यही कुरा सबै पेशाकर्मीहरुबाट खोजिनुपर्ने हैन र? कर्माचारी, नेता, इन्जिनियर, प्रहरी, मिडियाकर्मी आदी सबैबाट। यो प्रकारको देशप्रेम, समाजसेवीभाव किन डक्टरहरुसँग मात्र खोजिन्छ भनेर मैले अझैसम्म बुझ्न सकेको छुइन।

डक्टरी पेशा हो कि समाजसेवा?
यो पेशामा गरिने विरामीको सेवा, उपचारको हिसाबले धेरैलाई समाजसेवा हो कि भन्ने लाग्नसक्छ। तर आखिरमा यो पेशा नै हो। सरकारी अस्पतालमा तलव लिन्छन् अनि सेवा दिन्छन्, प्राइभेटमा ओपिडी शुल्क, कन्सल्टेसन शुल्क लिन्छन् अनि सेवा दिन्छन्। हरेक पेशाको आफ्नै जिम्मेवारी हुन्छ र यो पेशाको जिम्मेवारी भनेको विरामीको उपचार हो।
वरिष्ठ पत्रकार रविन्द्र मिश्रले भने झै ‘पेशाको जिम्मेवारी भित्र रहेर गरिने कुनै पनि काम समाजसेवा हुँदैन।‘ डक्टरहरुको काम नै विरामीको उपचार गर्नु हो, त्यसैले कसैको उपचार गरेर निको बनाउनुलाई समाजसेवा भनेर न त समाजले हेर्नु ठीक हुन्छ न त डक्टर आँफैले। त्यो कामको लागि उस्ले शुल्क लिएको हुन्छ र त्यही अनुसार बनेको डक्टर-विरामीको सम्बन्ध भित्र रहेर सबै उपचारका कामहरु गरिन्छ। यसलाई "मैले तपाईंको यो ठीक गरिदिए, तपाईंलाई बचाइदिए" भनेर डक्टरले फूर्ती लगाउनु ठीक हैन, उस्ले त मात्र आफ्नो काम गरेको हो, जिम्मेवारी निभाएको हो।
पूरानो समयमा डाक्टरहरुले गरेका उपचार, अप्रेसनहरुले ठीक भएको, बाच्ने सम्भावना नभएकाहरुको पनि रोग निको भएको देखेर अचम्म मानेर भगवानको दर्जा दिएर सम्मान गर्ने गर्थे। त्यो एक हिसाबले त्यो समयको लागि ठिकै होला। तर समय परिवर्तन भएको छ, यसको माने यो हैन कि अहिले डक्टरहरुले त्यसो गर्दैनन्, तर उस्ले गर्ने कुनै पनि कुरा चमत्कार हैन, दैवी हैन, उस्ले मात्र आफ्नो जिम्मेवारी निभाएको हो, आफूले सिकेको, जानेको कुरा गरेको हो भन्ने सबैलाई थाहा भईसकेको छ। त्यसैले न डक्टरले आफूलाई चमत्कार गर्ने भगवानको रुपमा हेरेर घमन्ड गर्न सुहाउछ न त विरामी, उस्को परिवार र समाजले त्यो दर्जा दिन मिल्छ। बरु एउटा सहयोगी साथीको रुपमा डक्टर-विरामीको सम्बन्धमा एउटै लेभलमा काम गर्नु अहिलेको समय सापेक्ष हुन्छ।

प्राइभेट अस्पतालमा डक्टरले पैसा नभएको विरामीको उपचार गर्दिन भन्न पाउने कि नपाउने?
सुन्दा नराम्रो लाग्ला, तर त्यो डक्टरको अधिकारको कुरा हो। पहिलो कुरा, जल्ले जे भनोस् प्राइभेट अस्पताल पैसा कमाउनकै लागि खोलिएका हुन्, उनीहरु महँगो शुल्क लिन्छन् र त्यै अनुसारको सेवा दिन्छन्, सरकारलाई कर बुझाउछन्। त्यसैले प्राइभेटमा कुनै पैसा नभएका विरामीको उपचार हुन्छ भने त्यो डक्टर वा अस्पतालको निर्णय अनुसार हुन्छ, कसैले ‘यो गर, त्यो गर’ भनेर कर लाउन पाउदैन। प्राय: प्राइभेट अस्पतालहरुले आफ्नो पब्लिसिटीको लागि त्यसो गरिरहेका हुन्छन्। दोस्रो कुरा, गरिव विरामीहरुका लागि सरकारी अस्पतालहरु छन्, त्यहा सरकारले थोरै शुल्कमा र नि:शुल्क पनि सेवा दिने व्यवस्था मिलाएको हुन्छ। पैसा अभाव भएका विरामीहरु सरकारीमा जानुस् न, प्राइभेटमा गएर महँगो लियो भनेर भन्नु उचित हुँदैन। तर यहाँ के कुरा महत्वपूर्ण छ भने सरकारी अस्पतालहरुलाई राम्रो, सुद्रीढ बनाउने र प्राइभेट अस्पतालहरुलाई शुल्क, सन्ख्यामा नियन्त्रण गर्ने, मनिटरिङ्ग गर्ने काम स्वास्थ्य मन्त्रालयले गर्नुपर्छ।

मलाई अचम्म लाग्ने कुरा चै के भने लाखौ करोडौ खर्च गरेर डक्टर बन्न चै दिने, अनी खर्च भएको पैसा काम गरेर उठाउछु भन्दा चै पेशा सेवाको हो, विरामीको गोजीमा प्वाल पर्यो भन्ने? कि उसलाई त्यत्रो खर्च गरेर पढ्नै नदिनुपर्ने वा भनौ पैसा लिएर डक्टरी पढाउनै नदिनुपर्ने, यी यत्रा महङा प्राइभेट मेडिकल कलेजहरु खोल्नै नदिनुपर्ने। अनि आउछ मेडिकल शिक्षामा बढ्दै गएको प्राइभेट मेडिकल कलेजहरुको हालीमुहाली, यसैलाई नियन्त्रण गरिनुपर्छ भन्ने गोविन्द केसी सरको आन्दोलन। यदी मेडिकल शिक्षा यही गतीमा महँगो हुँदै जाने र प्राइभेट मेडिकल कलेजहरु बढ्दै जाने हो भने हामीले सरकारी अस्पतालमा काम गरेर थोरै तलवमा चित्त बुझाउने डक्टर मुश्किलले भेट्टाउने छौ।

अन्तमा कुरा के भने डक्टरी एउटा पेशा हो, यसमा लागेकाहरुको आफ्नै खालको जिम्मेवारी हुन्छ, डक्टर-विरामी सम्बन्धमा रहेर यिनले काम गर्छन्, तर यो समाजसेवा हैन, कसैले आफ्नो काम बाहेक समाजसेवा गर्छ भने त्यो उसको व्यक्तिगत रुची हो, गरेको राम्रो हो (समाजसेवा त हरेक पेशाकाले गरेको राम्रो हो) तर सबैले त्यसो गर्नुपर्छ वा गर्लान् भनेर आस राख्नु चै मूर्खता मात्रै हो। अनि समस्याको जरा भनेको सरकारी अस्पताल, सरकारी मेडिकल कलेजहरुलाई सुधार नगरिनु, प्रोत्साहन नगरिनु र प्राइभेट अस्पतालहरु, प्राइभेट मेडिकल कलेजहरुलाई च्याउ सरह उम्रन दिनु हो। यो समस्याको उर्लदो भेललाई आँखा चिम्लेर यही वातावरणमा हुर्किएका डक्टरहरुमा समाजसेवीको भाव आएन, पैसाको पछी मात्रै दौडिए, विरामीको गोजीमा प्वाल पारे भन्नुको कुनै तुक छैन।

बाँकी पढ्नुहोस् >>

Friday, September 26, 2014

DOCTORS VS AAMIR KHAN


आमिर खानको 'सत्यमेव जयते' त धेरैले हेर्नुभको थ्यो होला, त्यसको भारतीय मेडिकल क्षेत्र सम्बन्धी एपिसोड पनि हेर्नुभएकै थ्यो होला। नेपालको स्वास्थ्य अवस्था पनि झन्डझन्डै उस्तै छ, वा भविष्यमा उस्तै होला। तर जसरी मिडियाले 'धेरै बेलामा पूरा सत्य बोल्दैन' भनेजस्तै उक्त कार्यक्रम हेरेर मात्रै मेडिकल क्षेत्र बारे अनुमान लगाउनु गलत हुन जान्छ। उक्त कार्यक्रमपछी आमिर खानलाई लेखिएको एउटा खुला पत्र। यो पत्र डा. शारदा जैन को फेसबुक पेजबाट लिईएको हो। 

A letter to an Ignorant Perfectionist

Dear Mr.Aamir Khan,

I have been trying hard but cannot get over the fact that you can 'sell' ignorance with such ease and honour. Though I agree to 'parts' of your show, Lets first get the facts right.

1) You said patients on dialysis live upto 15-20 years. 
Fact - The 5-year survival rate of patients on dialysis is about 25-30 % (less than many cancers). Renal transplant remains the best available treatment option for chronic kidney disease. (I hope you take responsibility for people who after watching your show plan to not go for kidney transplant and die in less than 5 years)

2) An overenthusiastic girl from the audience said that her father was forced for an emergency liver transplant '6-7 years' ago for gastroenteritis. 
Fact- Even today there are 'a handful' of hospitals in India offering liver transplants. To think that 6-7 years ago, just a gastroenteritis patient was offered liver transplant is not only improbable but technically impossible.

3) A diabetic patient blamed a doctor for losing a toe. 
Fact- Lakhs of diabetic patients per year lose entire limbs due to diabetic foot (cellulitis and gangrene). Doctors go about step wise cutting off toes, then foot, even the leg upto above knee level in order to save as much limb as possible. The patient in your show might still be able to walk just because of the timely action taken by the surgeon.

Mr. Aamir Khan i am not getting back at you because i took your show personally. Yes, I agree that there are doctors indulging in shameful malpractices and even i know a few of them. But i can proudly say i am surrounded by more doctors who work day and night just to ensure that their patients get the best possible treatment. The 'BAD' doctors should be punished and we all can come together to ensure we do not encourage such malpractices.

Secondly, 
I would have appreciated if you would have thrown some light on the entrance examinations and the hard work, dedication and sacrifices a doctor needs to clear his MBBS, MD, DM etc examinations. I wish you had spent half a day in the emergency department and OPD of a Govt. Hospital and realized that the work timings, working conditions, lunch breaks, doctor:patient ratio, hours of sleep per week, living conditions in the hostel and the stipend is worse than a class 4 labourer. You would have also surprisingly realized that the 'DOCTORS' are the only 'FUNCTIONAL' part of a Govt. Hospital which still caters to thousands of patients in a day. When you compared statistics of U.K and India, why didn't you include the salaries, living standards and the doctor:patient ratio the doctors have in developed countries?

Coming to generic drugs, 
Yes, a large amount of rural population should have access to cheap generic drugs. But one should not forget the pharma companies that charge more for the drugs are the ones that spend crores of rupees for research and development of new drugs. Had there not been drug trials no new drugs would have been invented and we would have mortality rates compared to stone age. Also i agree that most doctors endorse certain brands of drugs (which i do not deny may be for some financial gains also) because they have faith in the quality of the 'active drug' of certain companies. Yes many local companies manufacture generic products (which is a copy of the original molecule discovered by the expensive company which can be used for unaffordable patients. But you did not mention that many of these generic drugs are of substandard quality and are the reason of many uncalled for deaths due to drug reactions. Most doctors would not want to take responsibility of the quality of the 'generic' drugs.

Lastly, 
What do you mean when you say 'People of high IQ and desire to earn money should not become doctors'. Why aren't doctors allowed to have an ambition?? How can a person who earns 4 crores for an episode of a so called 'social' show decide on what should be an individual's ambition and financial status !! 
Why can there be no doctors who earn well for their professional skills and do not indulge in malpractices? 

It just reflects your hypocrisy. I would like to offer a few solutions to the problem.

a) ' BAD' doctors indulging in malpractices should be suspended for life. We need a strong regulatory authority to publish expected treatment 'protocols' and punish doctors found to be doing unethical practices.
b) Regulatory authorities should also keep a check on the quality of drugs being manufactured and at the same time 'sold' at the local chemist.
c) Govt. medical colleges and hospitals should multiply several folds, increasing the number of doctors in each department, improving the doctor:patient ratio. Doctor's salaries and living conditions should be looked after and should be comparable to other professionals.
d) Regular CME'S and licensing exams (like other countries) every 5-10 years.
e) The Govt. should spend 6-8% of GDP ON HEALTHCARE and a part of which should also be committed to the research and development of newer drugs.
f) No politician should be allowed to be associated with any private medical colleges.
g) The general public should be educated well about common diseases and the 'acceptable' qualifications of the doctors.

These are just a few points i can think of at the moment. I am sure had you bothered to have a panel discussion and find solutions in a healthy way, we could come up with a lot more viable solutions. However you chose to sensationalize your show, by hiring 'few' people with 'fake' or 'amplified' problems and shed a few tears. 

Hope you understand that your allegations like 'HAMARE DESH KE DOCTORS ITNE BIMAAR KYUN HAIN' and 'MAUT KE SAUDAGAR' are as serious as calling all actors 'Rapists' (after the shiney ahuja incident) and all Muslims 'Terrorists'. Knowing that you twisted not one but not many known medical 'facts' to strike a chord with the 'ignorant' 'naive' audience. How do you expect me to have faith in you and the stories you would project in the upcoming shows. You have betrayed a large segment of the 'classes' as well as 'masses'.

All i can say is i feel sad for the death of the 'image' you created in our minds and hearts. An unbiased Aamir who strives for nothing but the truth and the betterment of the society was after all a MYTH.

Condolences,
An honest Doctor.

Note:- This letter is copied from the facebook page of Dr. Sharda Jain posted in 
WORLD CONGRESS OF OBSTETRICS & GYNECOLOGY FORUM.
बाँकी पढ्नुहोस् >>

Tuesday, September 9, 2014

डाक्टर: आज र भोली

DOCTORS SOCIETY OF NEPAL( DSON) फेसबुक ग्रुपमा 'Kiran Acharya' द्वारा लेखिएको पोस्ट। सबैमा सबै कुरा लागु नहोला तर धेरै हदसम्म सही। मनपर्‍यो र यहाँ शेयर गरेको छु।

मन छुने यथार्थता....(SORRY TO ALL CONSULTANT BUT IT'S A REALITY)

..................जब म मेडिकल अफिसर थिएँ..........
१) रोगको बारे धेरै अनुभव हुँदैनथ्यो तर म बिरामीको DIAGNOSIS गर्न चाहन्थे।
२) बिरामीको आर्थिक अवस्था/पिडा बुज्थे र सकेसम्मको कम खर्च गरिदिन्थे।
३) ५० हजार मेरो लागि ठुलो रकम हुन्थ्यो।
४) MR ले दिएको पेन अनि कहिले काही दिने पार्टी मा पुग्दा मजा लाग्थ्यो।
५) अस्पताल घर जस्तो र क्लिनिक जेल जस्तो लाग्थ्यो।
६) CONSULTANT हरु महिनामा कति कमाउंदा रहेछन भनेर हिसाब गर्दा रमाइलो लाग्थ्यो।
७) सकेसम्म धेरै डाक्टरको संगत र राम्रो दोस्ती गर्न मन लाग्थ्यो।
८) ठुलो डाक्टर बन्ने सपना हुन्थ्यो,पैसा भन्ने केहि ठुलो लाग्दैनथ्यो।
९) मलाई LAB/ XRAY/ USG/ CT मा कमिसन पाइन्छ भन्ने थाहा नै हुन्नथ्यो।
१०) ब्यापारीलाइ घृणा गर्थे र सबैलाई आफुले जस्तो समाजसेवा गर्नुपर्छ भन्थे।


...............आज म PG पुरा गरेर CONSULTANT बनेको छु............
१) रोगको बारे धेरै अनुभव छ, तर बिरामीलाई राम्रो संग हेर्न मन/फुर्सद हुँदैन।
२) बिरामीको पिडा वा आर्थिक अवस्थासंग धेरै मतलब हुँदैन।
३) ५० हजार त मेरो लागि कुनै रकम नै होइन।
४) MR हरुसंग सिधै बार्गेनिङ गर्न सक्छु।
५) अस्पताल जेल जस्तो लग्छ, क्लिनिक घर जस्तो लाग्छ।
६) अन्य CONSULTANT हरु मैले भन्दा कति कम वा बढी कमाउछन् भनेर हिसाब गर्छु।
७) सकेसम्म अन्य डाक्टरसंग कमै संगत गर्छु।
८) अब म ठुलो डाक्टर भएँ जस्तो लाग्छ र अब काम भनेको पैसा कमाउने मात्रै हो जस्तो लाग्छ।
९) कहाँबाट कति कमिसन बाकी छ भनेर हेर्छु, नल्याए माग्न पठाउछु।
१०) ब्यापारीलाई सबैभन्दा सम्मान गर्छु र आफु पनि ब्यापारी नै हुँ जस्तो लाग्छ।


.......................हाम्रो समाज.......................

१) बाटोमा कोहि सुट टाई लगाएको मान्छे देख्यो कि- यो डाक्टर नै हो, अरु यति चट्ट परेर हिड्दैनन्।
२) कतै भब्य घर देख्यो कि -या त ब्यापारीको या त डाक्टरको घर हुनुपर्छ।
३) कतै महँगो गाडी देख्यो कि- या त ब्यापारीको या त डाक्टरको गाडी हुनुपर्छ।

.......................हाम्रो परिवार........................
१) बुवा- त्यो डाक्टर त ३०लाख हालेर DM पढ्न गएछ, त कहिले जाने होस्?
२) आमा- त्यो डाक्टर त अमेरिका घुम्न गएछ, त कहिले जाने होस्?
३) श्रीमती- यो गाडी पुरानो मोडेल भयो, नया किन्नुपर्यो।
४) छोरा- मलाई भिडिओ गेम खेल्न नया LED टिभी चाहियो।
५) छोरी- आज iphone-6 निस्केछ, मलाई किन्नुपर्यो।

......................हाम्रो आफन्तजन...................
1) हैन कति छ कमाई, ३-४ लाख त कम्तिमा होला नि।
२) हैन कता राख्छौ हो! तेत्रो धेरै पैसा??
२) तिम्रो छोरो त डाक्टर भयो, हामीलाई २-४ लाख सापट चाहियो।
३) ल तिमि नै डाक्टर छौ, मेरो अपरेसन फ्रीमा मिलाउनु पर्यो।
४) यो सहकारी/बैंक/संस्था/इन्सुरेन्स/मन्दिर/बाटो/कार्यक्रम....मा पैसा हालिदिनुपर्यो।

......................हाम्रो साथी भाई............................
१) डाक्टर भईस यार, अब त केहि टेन्सन नै छैन, अस्पतालमा सब फ्री।
२) अब डाक्टरसाथ मा हुदाँहुँदै हामीले रेस्टुराको बिल कहाँ तिर्नु नि?
३) तेरै गाडी छ नि यार, जहाँ जान परे पनि।
४) मैले बिजनेस गर्न थालें, २-४लाख पैसा लेन।

......................हाम्रो देश......................
एकाबिहानै देशको समाचार पढ्न पर्यो भनेर कान्तिपुर र नागरिक किनेर ल्यायो, फर्स्ट पेजमै येत्रो भोल्टे अक्षरमा मेन न्युज - 'डाक्टरले बिरामी तान्न दलाली, बिरामीबाटै कमिसन'

जब हाम्रो समाज, परिवार, आफन्तजन र साथीभाई सबैले डाक्टरमाथि सुट लाएर हिड्नुपर्ने, भब्य घर बनाउनुपर्ने, महंगो गाडी चढ्नुपर्ने, घरमा अथाह पैसा खर्चनुपर्ने र जसरि पनि धेरै पैसा कमाऊनै पर्ने बाध्यता पार्छन, तब हाम्रो सामु दुइवटा बाटो हुन्छन् -

१) यही लोभीपापी र भ्रस्ट समाज र आफन्तहरुको चंगुलमा फसेर आफु पनि भ्रस्ट हुदै अनैतिक काम(MALPRACTICE) गरि धेरै पैसा कमाउने वा
२) यी सबको प्रबाह नगरी, केवल पैसाको पछी नलाग्ने, कुनै पनि अनैतिक काम (MALPRACTICE ) नगरी इज्जत साथ जे जति सकिन्छ कमाउने, घरपरिवारलाई त्यस्तै बनाउने।

उत्तर- ??????

याद गरौँ, हाम्रो समाजमा अझै पनि धेरै नया र पुराना डाक्टरहरु छन्, जसको कमाई औसत एक/डेढ लाख (कसैको धेरै बढी पनि होला) छ, जसले आजसम्म कुनै एकदिन पनि MALPRACTICE गरेको छैन, तर पनि इज्जत, खुसि र सुखी भएर बाचेका छन्। सबै जना डा. गोविन्द के. सी. हुन सकिदैन, तर डाक्टरकै बेइज्जत हुने गरि अनैतिक काम नगरी प्राक्टिस गर्न सकिन्न र? डाक्टरको अनैतिक काम देशको प्रमुख समाचार पत्रको प्रमुख समाचार हुनु लज्जाजनक हैन र??

अस्तु
बाँकी पढ्नुहोस् >>